लेखसार

नेपाली समाजमा पहिलो मधेस आन्दोलनले कसैले नसोचेको प्रभाव पा¥यो । अन्तरिम संविधान २०६३ लाई तुरुन्तै संशोधन गर्न बाध्यबनायो । राज्यका हरेक तह र तप्कामा समावेशिताको नियमानुसार सबै वर्ग र समुदायलाई समावेश गर्ने व्यवस्था कायम ग¥यो । लैङ्गिक, जातीय, क्षेत्रीय, आर्थिक, सामाजिक आदि रूपले पिछडिएका सामान्यभन्दा सामान्य वर्ग र समुदायको समेत पहुँच सुनिश्चित गराउन शासक वर्गलाई घच्घचायो ।

यस्तो परिवर्तनकारी आन्दोलनका क्रममा राम्रा काम मात्रै भएनन् । उछृङ्खल वर्गको घुसपैठ भई धनजनको क्षति समेत हुन गयो । तराई मधेसका कतिपयस्थानमा सामाजिक सद्भावमा खलल हुन गई पहाडेमूलका जनताले थाँतथलो कौडीको मूल्यमा बेचबिखन गरी रातारात उत्तरी भागतिर बसाइँ सर्नुप¥यो ।

यी अनेकन वास्तविकतासँगै आन्दोलनकै क्रममा जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक उतारचढाव र उत्पीडन भएको, आन्दोलनकारीको पहाडेमूलका मधेसी र तराईबासी मधेसीलाई हेर्ने दृष्टिकोण काखा र पाखा रहेको भण्डाफोर गर्ने काम उपन्यासकार धीरकुमार श्रेष्ठको ‘घुर’ले  गरेको  छ  ।  उपन्यासमा आन्दोलनकर्मीहरूमै आन्दोलनको दिशा र दशाबारे फिल्डमा एक थरी दृष्टिकोण रहेको र पारिवारिक वातावरणमा भने पूर्ववत सौहाद्रपूर्ण वातावरण र सोचसमझ रहेको परिदृश्यको साक्षात्कार गराउने मधेस आन्दोलनको पहिलो साहित्यिक कृति साबित भएको छ ।

पूर्वीय साहित्य÷दर्शनमा ज्ञानी–ध्यानी नायक वर्गले समाजका उत्पीडित पक्षको रक्षा गरेका घटना छन् । खलनायक वर्गले समाजमा द्वन्द्व सिर्जना गरिरहेका छन् । समाजको विकृत व्यवस्था हटाउने वा संस्थागत गर्दै जाने भन्ने बारेमा समाज दुई भागमा विभक्त भएका अनेकन घटनाक्रम छन् । रामायणमा भएको ‘राम र रावण बिचको द्वन्द्व’, महाभारतमा भएको ‘कृष्ण–कंश लडाइँ’, ‘पाण्डव–कौरव युद्ध’ जस्ता घटनामा समाज दुई भागमा विभक्त थियो । अन्ततः सत्यको जित भयो । सत्य संस्थागत भयो । ‘घुर’मा समेत निमुखा जनताको जित र अहङ्कारी शासकीय सोच र अराजक शैलीको हार हुनुपर्छ भन्ने कुरा प्रत्यक्ष–परोक्ष अभिव्यक्ति छ ।

मधेस आन्दोलनको प्रतिफलस्वरूप निमुखा वर्गले राहत पाएका छन् । शोषक÷सामन्ती अहंकारी वर्गको हात तल परेको छ । आन्दोलन, युद्ध र संघर्ष सोझो बाटोमा मात्रै हिँड्दैन । टेढोमेढो बाटो नहिँडी गन्तव्य प्राप्त गर्न सक्तैन । भनिन्छ–युद्ध र मायामा सबै कुरा सर्वस्वीकार्य हुन्छ । रावणलाई घोर अत्याचारी बनाउन अनेकौँ साधुसन्त र लंकाबासी सोझासीधा नरनारी बलीको बोको बन्नुपरेको थियो । सीता, द्रौपदी, अहिल्याहरूले सहनै नसक्ने कहर खेपेका थिए । उनीहरूको विद्रोही भावना बुलन्द भएर नै रामायण, महाभारतका युद्ध भएर शान्ति स्थापना भएको थियो ।

त्यस्तै ‘घुर’मा वर्णित समाजमा समेत जाँतोमा घुन पिसिएसरह सर्वसाधरण पिसिएको कहिरन उतारिएको छ । रगतको खोलो उर्लेको, वेदनाको पोखरी जमेको र कल्पना यादव–अविदिता मण्डलहरू विपरीत किनारामा उभिएका, बेचनी बाँतर–बुधनीदेवी थारूहरू अलमलमा परेका, सङ्घर्ष झेल्न गाह्रो त्यसपछिको फल कमलो भएको, अपेक्षाकृत सर्वसाधरणको हातमा अझै आन्दोलनको फल पुग्न नसकेको चित्रण प्रत्यक्ष–परोक्ष रूपमा ‘घुर’ मा गरिएको छ ।

विशेष शब्द– घुर, मधेस, समावेशी, प्रयोगवादी, तटस्थ, अध्येता, प्रतीकात्मक, यथार्थपरक ।

 

१. विषय परिचय

‘साहित्य, सङ्गीत, कलाविहीन समाज पुच्छर र सिंह नभएको साक्षात् पशुझैँ हुन्छ ।’ अर्थात् साहित्य, सङ्गीत, कलाले विहीन समाज पुच्छर र सिङ नभएको साक्षात् पशुझैँ हुन्छ ।

समाजको सदस्य भएको नाताले लेखकले आफ्ना कृतिमा आफूले देखेका, सुनेका, भोगेका तथा अनुभव गरेका सामाजिक कुरालाई नै साहित्यमा अभिव्यक्त गर्दछ । समाजभित्रका विषयवस्तु, चालचलन, रीतिरिवाज, रहनसहन, परम्परामा विविधता पाइन्छ ।

विश्व साहित्यलाई हेर्दा पनि समाजमा भएका सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, धार्मिक, मानसिक÷बौद्धिक आदि पक्षले साहित्यिक कृति सिर्जनामा प्रत्यक्ष वा परोक्ष प्रभाव पारेको पाइन्छ । त्यसैले साहित्य समाज सापेक्ष हुन्छ, निरपेक्ष कहिल्यै हुनै सक्तैन ।

निबन्ध र आख्यान फाँटमा बलियो छबि बनाइसकेका स्रष्टा धीरकुमार श्रेष्ठ नेपाली साहित्याकाशमा परिचित नाम हो । अन्य विधा र क्षेत्रमा समेत एक दर्जन पुस्तक÷कृति प्रकाशन गराइसकेका श्रेष्ठका आख्यान जगत्मा मात्रै ‘आरम्भ अर्थात् सुरुआत’ र ‘नजन्मनुपर्ने मान्छे’ नामक दुई कथा सङ्ग्रहका अतिरिक्त ‘घुर’ उपन्यास प्रकाशित छन् ।

समसामयिक राजनीतिक यथार्थलाई ‘घुर’ उपन्यासमा समेटिएको छ । यसमा मधेस आन्दोलन र त्यसको प्रभावलाई सकेसम्म तटस्थ रहेर आन्दोलनको चिरफार गर्ने काम गरिएको छ । प्रयोगशील शैलीमा वस्तुपरक ढङ्गले लेखिएको कारण ‘घुर’ समसामयिक प्रयोगवादी उपन्यास कहलिएको छ ।

कुनै बेला नाटकजस्तो, कुनै बेला कथाजस्तो त कुनै बेला राजनीतिक पुस्तकजस्तो भएर अगाडि बढेको प्रस्तुत उपन्यास वर्तमानमा चलेको उत्तरआधुनिक शैलीबाट पनि प्रभावित देखिन्छ । समाजमा घटेका प्रत्यक्ष घटनालाई उपन्यासको शैली दिनु धीरकुमारको औपन्यासिक वैशिष्ट्य हो (आचार्य, २०६५, पृ. ३३) ।

नन्दलाल आचार्यले उच्च तहका राजनीतिज्ञले गद्दारी खेल खेलिदिनाले जनताहरू ठगिएकोे निष्कर्ष ‘घुर’ उपन्यासमा निकालिएको छ भनेका छन् । आपसी सहिष्णुता कायम गरी नेपाललाई अखण्ड पार्नु र हरेक नेपाली अखण्डतामा रमाउनु आवश्यकता भएको विचार सम्प्रेषण भएको उपन्यास भनी ‘घुर’ लाई चिनाएका छन् (आचार्य, २०६४, पृ. ३) ।

त्यसै गरी धिरज गिरी कल्पितले मधेस आन्दोलनको भावभूमिमा लेखिएको औपन्यासिक शैलीको रिर्पोटाज वा दैनिकी हो भनेका छन् । (गिरी, २०६४, पृ. ६) औपन्यासिक प्रवृत्तिलाई तोड्दै पाठकलाई समसामयिक यथार्थसँग मितेरी लगाउन उद्यतभएको उपन्यास भनी समीक्षक विमलले ‘समसामायिक उपन्यास’ शीर्षकमा शारदा मासिकमा लेखेका छन् । उनले मधेसको समस्यामा आधारित प्रत्यक्ष प्रसारण शैलीको उपन्यासले भनेर ‘घुर’ लाई ठह¥याएका छन् ।

ईश्वरी ज्ञवालीले भने यथार्थवाद र आञ्चलिकतालाई समेटेर लेखिएको समसामायिक विषयवस्तुलाई उठान गरी नवीनताको खोजी गर्ने उपन्यास भनी ‘घुर’ को विवेचना गरेका छन् । (ज्ञवाली, २०६४, पृ. ५०) घुर सरह मधेसलाई आगो बाली ताप्ने प्रवृत्तिको सजीव चित्रण हो भनेर ‘घुर’ उपन्यासका बारेमा धीरेन्द्र प्रेमर्षिले उल्लेख गरेका छन् । (प्रेमर्षि, २०६४, पृ. ५७) रमेश शुभेच्छुले मधेश आन्दोलनलाई विषयवस्तु बनाएर लेखिएको प्रस्तुत उपन्यासमा पहाडे, मधेसी, सरकार, आदिवासी कसैको पनि पक्ष नलिनु तर यथार्थ पक्षलाई देखाउन खोज्नुले यस उपन्यासलाई महŒवपूर्ण बनाएको कथन अगि सारेका छन् । (शुभेच्छु, २०६४, पृ. ६)

समाजका विविध पक्षमाथि विस्तृत अध्ययन नगरीकन सिर्जित साहित्यले सामाजिक नजरमा लङ्गडो सावित हुन्छ । यसरी पूर्व समीक्षक÷विश्लेषक तथा अध्येताहरूले ‘घुर’ उपन्यासलाई अनेकन कोणबाट अध्ययन गरे पनि यसको पूर्वीय कोणबाट ‘घुर’ उपन्यासको सामाजिक पक्षको विल्कुलै अध्ययन भएको छैन । यसै पृष्ठभूमिका  आधारित  रहँदै  तल उपन्यासकार धीरकुमार श्रेष्ठको उपन्यास ‘घुर’ (२०६४) को सामाजिक पक्षको अध्ययन गर्ने क्रममा विभिन्न सैद्धान्तिक मापदण्ड र परिसूचकको प्रयोग गरिएको छ ।

 

२. अध्ययनको उद्देश्य

यस लघु अध्ययनमा निम्नानुसारका उद्देश्यमा केन्द्रित रही विवेच्य कृति ‘घुर’ को अध्ययन गरिएको छ ।

(क) पूर्वीय साहित्य÷दर्शनमा आधारित समाजको सामान्य पहिचान गर्नु ।

(ख) सोही बमोजिम ‘घुर’ उपन्यासको समाजिक पक्ष पर्गेल्नु ।

३. अध्ययनको विधि

यस अध्ययन कार्यका लागि मूलतः पुस्तकालयीय अध्ययन विधि उपयोग गरिएको छ । यसका लागि विभिन्न पुस्तक, पत्रपत्रिका तथा विषयसँग सम्बन्धित लेख रचनाहरूबाट आवश्यक सामाग्री सङ्कलन गरिनुका अतिरिक्त पूर्व शोधकर्ता, कृति–सर्जक, गुरुवर्ग, पूर्वीय साहित्य÷दर्शनका अध्येता÷विशेषज्ञहरूको राय, सुझाव लिई अन्तर्वार्ता विधिबाट सामाग्री सङ्कलन गरिएको छ ।

 

४. सामाजिक पक्षको विश्लेषण

‘घुर’ धीरकुमार श्रेष्ठकोे पहिलो औपन्यासिक कृति हो । लघुआकारको यस उपन्यासको संरचनालाई अध्ययन गर्दा उपन्यासमा ९८ पृष्ठ, पूर्वाद्र्ध, मध्यान्तर र उत्तरार्ध नामकरण गरी तीन खण्ड, लामा छोटा अनुच्छेदहरू छन् । आवरण पृष्ठमा घुर बालेकोे धुँवाले वरपर धुमिल भएको र पर कलिलो सूर्य उदाइरहेको दृश्य प्रतीकात्मक छ । यसले अनेक थरीका फोहरले ढाकिएको तराई मधेसमा त्यस्तो विकृत पाटोलाई जलाउन सके समुन्नतिको सूर्योदय हुने आशावादी स्वर मुखरित गरिएको भेटिन्छ । यसैगरी मीना भण्डारीले यात्रालाई प्रधानता बनाएर लेखिएको हुनाले यस उपन्यासलाई यात्राप्रधान उपन्यासको दर्जा दिएकोे पाइन्छ । (भण्डारी, २०७२, पृ.४७)

यस उपन्यासले पहिलो मधेस आन्दोलनलाई समेटेको छ । उपन्यासकार स्वयम् त्यसमा प्रत्यक्ष–परोक्ष संलग्न भएको हुँदा उपन्यासको विषय, पात्रचयन र प्रस्तुति यथार्थको नजिक देखिन्छ । घटना र चरित्राङ्कनमा पनि यथार्थवादी दृष्टिकोण अवलम्बन गरिएको पाइन्छ । उपन्यासकारले आन्दोलनताका सोझासीधा नागरिकले भोग्नुपरेका समस्याको कहिरन उतारेका छन् । अर्कातिर आन्दोलनरत् वर्गको आस्था र विश्वासलाई समेत मलजलसहित चित्रण गरेका छन् । आकारका दृष्टिले मझौला देखिने ‘घुर’ मा आन्दोलनताका ‘म’ पात्रले दैनिक जीवनमा भोगेको समस्या, दुःख, पीडा र आरोह–अवरोहलाई यथार्थपरक ढङ्गले देखाइएको छ ।

आन्दोलनताका समाजमा घटेका विभिन्न घटना, विकृति र विसङ्गतिका विरुद्ध क्रान्तिको विगुल फुक्न चाहने सहायक पात्र कल्पना यादवको बुझाइले धेरै ठाउँ ओगटेको छ र ‘घुर’ को ओजन बढाएको छ । यस उपन्यासले देश, काल र परिस्थिति अन्तर्गत काठमाडौँदेखि राजविराज, विराटनगरसम्मको तराई मधेसको सेरोफेरो ढाक्न पुगेको छ । उपन्यासले समाजमा देखिने भेदभाव निर्मूल पारी अग्रगामी परिवर्तन ल्याउने बाटो देखाएको छ ।

यहाँ उपन्यासमा भएको कथावस्तु, परिवेश, जातजाति, भाषा, पेसा, आर्थिक अवस्था, शैक्षिक पक्ष, लैङ्गिक अवस्था, राजनीतिक अवस्था, पारिवारिक अवस्था, सामाजिक समस्या आदिको आधारमा सामाजिक पक्षको विश्लेषणको गरिएको छ ।

४.१ कथावस्तु

आख्यानमा घट्ने घटनाहरूको योजनाबद्ध घटना कथावस्तु हो । यसमा आउने घटनाहरू कार्यकारण सम्बन्धद्वारा कसिएका र व्यवस्थित गरिएका हुन्छन् । कथावस्तुमा चरित्र, विचार, कल्पनाजस्ता कुराहरू समाबिष्ट हुन्छन् । कथावस्तुले नै उपन्यासको मूल ढाँचा निर्माण गर्ने प्राथमिक तत्वको काम गर्दछ (बराल र एटम, २०६६ पृ. २०÷२१) ।कथानक उपन्यासको प्रारम्भिक आधारभूत तत्व हो । सामान्यतया कथानकविना उपन्यासले आफ्नो स्वरूप निर्धारण गर्न सक्दैन । रचनामा देखापर्ने यावत् घटनाहरूको शृङ्खलाबद्ध संयोजन नै कथानक हो (बराल, २०५८, पृ. २८) । घटनाक्रमलाई कार्यकारण शृङ्खलामा बाँध्दै संयमित ढंङ्गले अगाडि बढाउनु नै कथानकको मुख्य कार्य हो (प्रधान, २०६१, पृ. ७)

माथिका कथनबाट कथानक भन्नासाथ आख्यानको गति हो भनेर बुझिन्छ । यसले आख्यानमा आइपर्ने विविध घटनाहरूलाई तारतम्य मिलाएर व्यवस्थित तवरले समेट्छ । जीवन नियोजित र शृङ्खलाबद्ध हुँदैन भनेर कतिपय सर्जकले यसलाई महत्व नदिएको पनि पाइन्छ । यद्यपि आख्यानलाई नियमबद्ध पारी निश्चितता र संयमितताभित्र बाँध्न सके मात्र त्यो पठन र श्रवणका हिसावले दमदार हुने हुनाले कथानकलाई नकार्नु मनासिव हुँदैन । तसर्थ प्रमुख रूपमा होस् वा गौण रूपमा उपन्यासमा कथानकको अनिवार्यतालाई नकार्न मिल्दैन । विविध प्रयोग गरिएका उपन्यासको विकाससँगै कथावस्तुको महत्व घट्दै गए पनि अझसम्म औचित्य भने समाप्त भएको छैन ।

‘म’ पात्र, कल्पना यादव, अविदिता मण्डल, बेचनी बाँतर, सूर्यनारायण यादव, सहयात्री, बुधनीदेवी थारू, दक्षनारायण श्रेष्ठ जस्ता निम्न र मध्यमवर्गीय पात्रहरू भेला पारी तिनीहरूले खेलेको भूमिकालाईं मूल कथावस्तु बनाइएको ‘घुर’ उपन्यास श्रेष्ठको पहिलो औपन्यासिक कृति हो ।

पात्रको केन्द्रीयता अस्वीकार गर्दै आन्दोलनलाई नै केन्द्रीयता राखी कथानक अघि बढाइएको छ । आरम्भमा ‘म’ पात्र २०६२ माघ २ गते काठमाडौँबाट राजविराजसम्मको यात्रा गरिरहेका हुन्छ । सोही क्रममा मधेस आन्दोलनको सुरुआत भएको भनी रातको समयमा गाडीहरू रोकिन्छन् । आगजनी, लुटपाटजस्ता कुकृत्य हुन्छन् । ‘म’ पात्रसँगै बस्ने सहयात्री सहेली साह्रै असहजिली देखापर्छे । जति आफूलाई नियन्त्रण गर्दा पनि उनी सहयात्रीसँग आकर्षित हुन पुग्छन् । कानको कुन्डलले तानेको कुरा गर्नु, ऊ आँखाबाट ओझेल पर्दा आत्तिनु, लाम्घारे र एयरफोन लोडेडसँग झाँडीतिर हराउँदा भित्रभित्रै जल्नु, उसको उद्दण्ड स्वभाव र अपच्य बोलीलाई सहजै पचाउनु, छुट्टिने बेला सौहाद्रपूर्ण व्यवहार गर्ने चाहना राख्नुजस्ता ‘म’ पात्रका कार्यकलाप हुन्छन् । यी सबै काम अवचेतन यौनमनोविज्ञानमा आधारित छन् ।

दोश्रो मध्यान्तर खण्डमा ‘म’ पात्रको टोली तीन दिन पैदल यात्रा गरी राजविराज पुग्छ । सहयात्रीसहित सबैसँग छुट्टिएपछि ‘म’ पात्रको भेट न्याय भन्ने बिरामी पात्रसँग हुन्छ । ओभरडोज ओखती खाएकाले बेहोस भई ऊ राजविराज अस्पतालको इमरजेन्सी वार्डमा भर्ना भएको, निको हुन नसक्ता थप उपचारार्थ विराटनगर लगिएको, त्यहाँ उपचार गरेपश्चात् खतरामुक्त भएपछि डाक्टरको सल्लाहले न्यायलाई अरू उपचार गर्न पुनः राजविराज फर्काइएको चर्चा छ ।

न्यायलाई भेट्यौँ । प्रतिक्रियाविहीन थियो । संवेदना टुसाउन सकेन । अथक प्रयासमा पहिरो जाँदै थियो (श्रेष्ठ, २०६४, पृ.४०) भनेबाट राजविराजमा पनि न्याय निको हुनसकेको छैन । अन्ततः ‘म’ पात्रले न्याय विसेक हुने आश मार्न पुग्छन् ।

यहाँ वर्णित न्याय पात्र प्रतीकात्मक छ । मधेसमा न्याय बिरामी हुनु भनेको मधेसी जनताले पर्याप्त हकअधिकार नपाएको अर्थ लाग्छ । त्यसकै विरुद्धमा आन्दोलन चर्केको स्पष्ट छ ।

अर्कातिर यसै खण्डमा कल्पना यादव पात्र अस्पतालमा भेट भएकी छिन् । उनी सहेलीको उपचारार्थ कुरुवा बनी अस्पताल आएकी हुन्छिन् । म आज पनि कल्पना यादवहरूलाई सलाम गरेर थाकिरहेको छैन (श्रेष्ठ, २०६४, पृ.४०) भनेबाट उनी उपन्यासकारकी मुख पात्र हुन् भन्ने स्पष्ट हुन्छ ।

आन्दोलनलाई साँच्चै बुझेर लागेकाहरू, साम्प्रदायिक रिस फेर्न लागेकाहरू, मधेसी भावना पँुजीकृत गर्न चाहनेहरू, छुट्टै राष्ट्र खोज्नेहरू र आफ्नो सुझबुझ नभई अरूको लहैलहैमा लाग्ने सोझासीधाहरूको संयुक्त जमघट नै मधेस आन्दोलन हो भन्ने ठहर कल्पना यादवको थियो ।

कल्पना यादवले स्वार्थपूर्तिका लागि साम्प्रदायिक हुलदंगा फैल्याउने वर्गप्रति रुष्ट भएको अभिव्यक्ति दिएकी छिन् । पहाडे र मधिसे जनता बिच अविश्वासको खाडल खनी आपसमा लडाएर रमिता हेर्ने नेता समाजका दुस्मन भएको बोध गराएकी छिन् । देश र अस्पताल बिरामी भए पनि कल्पना यादवहरू स्वस्थ रहेछन् (श्रेष्ठ, २०६४, पृ.३७) भनेबाट कल्पनाको बुझाइ नै उपन्यासको बीजबिचार भएको स्पष्ट हुन्छ ।

पृष्ठ ४१–९६ मा उत्तरार्ध खण्ड समेटिएको छ । यसमा अविदिता मण्डल, बेचनी बाँतर, बुधनीदेवी थारूहरू मुख्य चरित्रका रूपमा देखिएका छन् । यसै खण्डमा आन्दोलनको असली वयान गरिएको छ ।

‘पहडिया कानुन’ अनायसै अविदिता मण्डल ठूलो स्वरमा कराई । ‘नई चलत–नई चलत’ बेचनी बाँतरसहित सबै जना एकै स्वरमा कराए (श्रेष्ठ, २०६४, पृ. ४७) । यसबाट अविदिताको उग्र विचारमा बेचनी लगायत अरूको मौन समर्थक रहेको बुझिन्छ ।

‘म’ पात्र बेचनी र अविदितासँग संवाद गर्न चाहन्छन् । वाल्यसखी भएर पनि बेचनीले ३५ वर्षपछि भेटेको मित्रलाई वेवास्था गर्छिन् । उता अविदिता पनि तिलको जति पनि महŒव दिन्न ।

भीडको मनोविज्ञानले सही र बेसही छुट्याइरहँदैनथ्यो । ‘हो–हो’मा लाग्ने स्वभाव भीडको हुन्छ । ठीक–बेठीक छुट्याउने तन्तु खुस्केको हुन्छ त्यति बेला । पछि चुकचुकाउनु परे चुकचुकाउँछ, तर तत्काल वेद पढिरहँदैन (श्रेष्ठ, २०६४, पृ. ४७) भनेबाट ‘म’ पात्रलाई साम्प्रदायिकता विरोधी नारा लाग्दा प्रतिकार गर्ने मनसुवा हुन्छ तर भय आफ्नै वरपर रहेको ठानी चुप लागेर टुलुटुलु हेरिरहन्छन् । आफू पनि सप्तरीको सोनारामा जन्मीहुर्की, बढीपढी गरेकाले उनमा आफू आन्दोलनकारीले सम्झेजस्तो खाट्टी पहडिया नभएको बुझाइ छ ।

हामीले जतिक्कै तिमीहरूले पनि यस माटामा रगत, पसिना बगाएका छौ(श्रेष्ठ, २०६४, पृ. ५८) रातको १२ बजे पति दीनकर लिम्बूका साथमा लागेर भेट गर्न आएकी बेचनी बाँतरको यस्तो कथन सुनेर ‘म’ पात्र प्रफुल्ल हुन्छन् । उनी आफूलाई पहाडेमूलको मधिसे भन्न रुचाउँछन् ।

मुलुकका कतिपय भूभागमा साम्प्रदायिक दंगा फैलन गएको तर धेरै समय डढेलो सरह फैलन नपाएको प्रसङ्ग आएको छ । ‘हिमाल, पहाड, तराई, कोही छैन पराई’ भन्ने नारा लगाउँदै ठाउँठाउँमा सद्भाव जुलुस निस्केर अविदिता मण्डलजस्ता उग्रतातिर ढल्कनेहरूलाई मत्थर पारेको कुरा छ । प्रधानमंत्री गिरिजाप्रसाद कोइरालाले माघ १६ र २४ गते गरी दुई पटक सम्बोधन गरेपश्चात् आन्दोलन थामिएको चर्चा आएको छ । फर्कनबेलामा पनि सवारी साधन अग्निदहन गरिदेलान् भन्ने जगजगी भएको र अन्ततः ‘जे जति पाएँ, यहीँ पाएँ, यहीँ छाडेर जाने त हो ।’ भन्ने सोच सार्वजनिक गर्दै उपन्यास समाप्त भएको छ ।

४.२ परिवेश

आख्यानमा विभिन्न घटनाक्रमहरू विकसित हुन्छन् । त्यसका लागि खास समय, अवस्था र वातावरणको आवश्यकता पर्छ, त्यसलाई नै परिवेश भनिन्छ । कथानकले परिवेश माग्छ । रचनाकारले मागेअनुसारको परिवेशको निर्माण गर्न सक्नुपर्छ तबमात्र त्यो आख्यान सार्थक बन्दछ ।

उपन्यासमा समेटिएको घटनाक्रम र पात्रहरूले काम गरेको तत्कालीन समय, त्यसबेलाका धार्मिक, सामाजिक, राजनैतिक, आर्थिक पृष्ठभूमि र परिणामहरूको सजीव चित्रण उतार्न सके मात्रै उपन्यास सबल र सफल देखिन्छ (न्यौपाने, २०५८, पृ. १९६) । यसरी सफल परिवेश चित्रणले पाठकमा मूर्तता र संवेद्यताको भाव आउँछ । स–साना घटना वा स्थानहरूको सजीव वर्णनले पाठकमा छुट्टै प्रकारको तरङ्गको सृजना गर्छ । त्यसैले परिवेश उपन्यासको एक अनिवार्य तŒव हो । उपन्यासको विषयवस्तुलाई विश्वसनीय बनाउन परिवेशको गहकिलोे भूमिका हुन्छ ।

उपन्यासकारहरूले उपन्यासमा कथावस्तु र चरित्रको संयोजन गर्दा खास समय, स्थान र परिस्थितिको निर्माण गर्दछन् । यसरी लेखकले आफ्नो अनुभवबाट प्राप्त स्थान, समय र परिस्थितिलाई उपन्यासको कथानकमा प्रयोग गर्ने कार्य परिवेश हो (बराल २०६६, पृ. ५५) । उपन्यासमा पात्रहरूको क्रियाकलाप गर्ने वा घटनाहरू घट्ने स्थान, समय र त्यसको मानसिक प्रभावलाई पर्यावरण भनिन्छ । पर्यावरणलाई परिवेश भनिएको पनि पाइन्छ (बराल र एटम २०६६ः ६६) । त्यसकारण परिवेश भन्नाले उपन्यासमा व्याप्त देश, काल, समय, स्थान र परिस्थिति वा वातावरण भन्ने बुझिन्छ ।

‘घुर’ उपन्यासको समयावधीको सेरोफेरो लगभग २०६३ माघमा प्रारम्भ भएको मधेस आन्दोलनको समयावधि रहेको देखिन्छ । उपन्यासमा हकअधिकारको खोजी गरिरहेका नेपालका मधेसी जनता सुरु गरेका आन्दोलनको रौद्ररूपको समयावधि कालीक परिवेशको रूपमा आएको छ । उपन्यासको कथावस्तुले समेटेको स्थान वा ठाउँ नै स्थानिक परिवेश हो । प्रस्तुत ‘घुर’ उपन्यासमा घटनाहरू घटित भएका तराई मधेसका स्थानहरू धेरै छन् । राजविराज,  विराटनगरका  अतिरिक्त झल्याकझुलुकरूपमा आएका लहान, नेपालगञ्ज, वीरगञ्ज, सर्लाही, जनकपुरजस्ता ठाउँहरू स्थानिक परिवेशका रूपमा उल्लेख गरिएको छ । टायर बालेको कालाम्य सडक, उराठलाग्दो र सन्त्रस्त ठाउँ, अव्यवस्थित अस्पताल आदि परिवेशको रूपमा उपन्यासमा आएको छन् । मधेस आन्दोलन भएका तराई मधेसका स्थानहरू, सगरमाथा र कोशी अस्पतालहरू सबै स्थानिक परिवेशका रूपमा आएका छन् । बारी र खेत बाँझिएका र सन्नाटा–त्रास बोकेर बाँचेका गाउँ, परिवर्तनको आश गर्दै रहेका ठाउँहरू पनि स्थानिक परिवेश हुन् ।

त्यस्तै आन्दोलनकारीको जीवनशैली, मैथिल जनताको परम्परागत चालचलन र रहनसहन पनि उपन्यासमा प्रस्तुत भएका छन् । बन्दले गाडी अड्केपछि लोकमार्ग छेउबाट देखिएका पातला घरहरू, किराना पसल, कपडा पसल, झाडी र भट्टीपसल पारिस्थितिक परिवेशका रूपमा आएका छन् ।

उपन्यासमा आन्दोलन र आन्दोलनपश्चात्को परिवेश चित्रण गरिएको छ । उपन्यासमा मुक्तिकामी मधेसी जनताको विगत र वर्तमान अवस्थाको चित्रण गरिएको छ । आन्दोलनमा भएको दमन, हत्या, नृशंसताको यथार्थ प्रस्तुतिका साथै ठूला भनाउँदा र पढेलेखेकाले निम्नवर्गीय जनतामाथि गरेको अमानवीय व्यवहारको पनि चित्रण गरिएको छ । सङ्घर्ष र क्रान्तिको निरन्तरताबाट नै जीवन सफल हुन्छ भन्ने उपन्यासमा देखाइएको छ । समग्रमा भन्नुपर्दा उपन्यासमा तराई मधेसको ग्रामीण र सहरीया दुवै परिवेशको सफल चित्रण गरिएको पाइन्छ ।

४.३ जातजाति

‘सयौँ थुँगा फूलका हामी, एउटै माला नेपाली । सार्वभौम भई फैलिएका मेची महाकाली ।’ बोलको हाम्रो राष्ट्रिय गीतले पनि हामी अनेकौँ जातजाति, भाषाभाषी र रहनसहनमा अपनाउँछौँ, यद्यपि हाम्रो सार एउटै छ, हामी नेपाल आमाका गर्विला सन्तती हौँ भन्ने बोध गराएको छ ।

निश्चय नै नेपाली समाजमा विभिन्न जातजातिहरू मिलीजुली बसेका छन् । लयप्रसाद कोइरालाले समेत प्रत्येक जातिको आ–आफ्नै संस्कति, मूल्य, मान्यता, प्रथा, विश्वास, परम्परा, सभ्यता आदि सामाजिकता रहेको उल्लेख गर्दै हाम्रो देश नेपाल बहुजातजातिको बसोवास भएकाले अनेक प्रकारका रीतिरिवाज र जीवन शैली रहेको पाइन्छ भनेर उल्लेख गरेका छन् (कोइराला, २०७०, पृ. ६०) ।

साहित्यकार स्वयम् समाजको सदस्य भएका कारण उसको कृतिमा विभिन्न जातजातिहरूको प्रयोग हुनु स्वभाविक हो ।‘घुर’ को परिवेशभित्र समेत विभिन्न जातजातिको बसोवास भएको पाइन्छ । हुन त उपन्यासको मुख्य कथावस्तु मधेस आन्दोलनकोे बलिदानीपूर्ण इतिहास र त्यसले समाजमा पारेको सामाजिक पक्षमा आधारित छ । आन्दोलनमा जातभन्दा पनि एजेन्डाको चर्चापरिचर्चा हुन्छ ।

‘घुर’ मा उल्लेख भए अनुसार अन्तरिम संविधान २०६३ ले मधेसी जनताको अधिकार निमठेको ठहर गरी पैदा भएको असन्तोषको सेरोफेरोको समाज सडकमा आएको छ । आमूल परिवर्तन ल्याउनका लागि आन्दोलनले जन्माएका ‘म’ पात्र, कल्पना यादव, अविदिता मण्डल, बेचनी बाँतर, बुधनी थारूजस्ता पात्रहरू आन्दोलनमा प्रत्यक्ष परोक्ष लागेका छन् । आन्दोलनमा भौतिक रूपले चारजात छत्तीस वर्णकै उपस्थिति नरहेपनि मुक्तिकामी नेपाली जनताको उपस्थिति छ । उपन्यासकारले उपन्यासमा समाजका सकारात्मक र नकारात्मक प्रभावलाई तटस्थ भएर राम्रोसँग उतारेका छन् ।

बाँतर मधेसी दलित, दीनकर लिम्बू, कल्पना मण्डल, श्रेष्ठ, थारूहरू जनजाती, यादव अन्यवर्गभित्र पर्दछन् । यी सबै पात्रहरूले जातीयता रंग घोलेका छैनन् । जन्मको मूलका आधारमा साम्प्रदायिक सद्भाव स्खलित हुने खालको भाषणबाजी र नाराजुलुस भने लागेको थियो ।

पूर्वीय साहित्यमा दलित वर्गमा पर्ने सबरीलाई रामले आफ्नो परम भक्तिनी ठानी स्वीकार गरेका छन् । उपन्यासमा पनि बेचनी बाँतरलाई दीनकर लिम्बूले भागिविवाह गरी दलितलाई स्वीकारेको प्रसङ्ग आएको छ । यद्यपि अझसम्म पनि हाम्रो नेपालमा दलितलाई हेर्ने समाज परिवर्तन भएको छैन । तर, ‘घुर’ मा भने दलितले दाइजोविरुद्ध युद्ध छेडेकी छन्, त्यसलाई जनजातिले साथ दिएका छन् ।

रामायणमा एक दलित अधबैंसेले बाध्यताबस् अन्तै एक रात बास बसेर आएकी श्रीमतीलाई लात हानेर घर निकाला गरेको प्रसङ्ग आएको छ । हाम्रो नेपाली समाजमा अहिले पनि प्रचलित छुवाछुत प्रथाले गर्दा दलितहरू क्रुर र पशुवत् व्यवहार भोग्दै र अपहेलित हुँदै बाँचिरहेका छन् । यद्यपि उपन्यासमा भने दलित समस्या गौण छ, जायज मागलाई उछृङ्खल तवरले पूरा गराउने कसरत किमार्थ मानोवोचित नभएको कुरो अघि सारिएको छ ।

टाठाबाठा भनाउँदाहरू, सुझबुझ भएकाहरूले हुलमुलमा स्वार्थको खोल ओढी सर्वसाधरणको रगत र पसिनामाथि कतिसम्म रजाइँ गर्न सक्छन् भन्ने सामाजिक विकृति यस उपन्यासमा वर्णित छ । यसरी ‘घुर’ उपन्यासका मुख्य, सहायक पात्रहरू जनजाति र दलित जानजातिका भएपनि अन्य गौण पात्रहरू भने विविध जातिका छन् । उपन्यासमा दीपक पौडेल, रञ्जित खडकाहरूले चार जात छत्तिस वर्णकै प्रतिनिधित्व गरेका छन् । समग्रमा मध्यमवर्गीय नेपाली समाजका पठित अपठित, शोषित, पीडित, गरिब, निमुखा, परिवर्तनप्रेमी बहुजातीय नेपाली समाजको प्रस्तुति यस उपन्यासमा पाइन्छ । यस उपन्यासमा समाज र जातिको सम्बन्ध सुमधुर देखाइएको छ । आन्दोलन गर्ने, सवारी हाँक्ने र खेतीपाती गर्ने समाजमा प्रायः जनजाति नै रहेको देखाइएको छ ।

४.४ भाषा

भाषा मानवीय विचार विनिमयको एक उत्तम माध्यम हो । भाषा मानव सृष्टिको महŒवपूर्ण प्राप्ति हो । समाजमा विभिन्न धर्म, वर्ग, लिङ्ग, जात, पेसा र समप्रदायका बासिन्दाहरूको बसोबास हुन्छ । शिक्षित, पठित, सभ्यवर्गले स्तरीय र सभ्य भाषाको प्रयोग गर्दछन् । यस्ता वर्गका भाषामा संस्कृत तत्सम् शब्दको अधिक प्रयोग गर्ने हुनाले सर्वसाधरणका लागि दुर्वोध्य र कठिन हुन्छ । यिनीहरूको भाषा औपचारिक हुन्छ ।त्यस्तै निम्न, असभ्य, अपठित वा अशिक्षित वर्गले प्रयोग गर्ने भाषामा तत्भव र झर्रा शब्दको अधिकता हुन्छ ।

बोलचालमा सीमित रहनेहरूको भाषा सामान्य स्तरको हुन्छ । यसमा थेगोको साथै अपूर्ण वाक्यको प्रयोग प्रशस्तै रहन्छ । मध्यम वर्गले बोल्ने भाषामा भने दुबै थरिका विशेषताहरू रहेका हुन्छन् । उपन्यासमा मूर्तरूपमा प्रकट हुने माध्यय नै भाषा हो (बराल र एटम, २०५९, पृ. ५४) ।

उपन्यासमा यथार्थको अभिव्यक्ति गर्दा प्रत्यक्ष कथनमा पात्रहरूले प्रयोग गर्ने भाषा उनीहरूको स्तर अनुसारको बोलिचालीको कथ्य भाषाको प्रयोग गरिन्छ । अन्य स्थानमा स्तरीय लेख्य भाषाको प्रयोग गर्ने गरिन्छ । उपन्यास पाठ्य विधा हो । पाठक समक्ष सम्प्रेषण गर्नका लागि भाषा एक मात्र माध्यम हो ।

उपन्यासको प्रस्तुतिकरणसँगै आउने घटना, दृश्य, परिवेश आदि सम्पूर्ण कुराहरू भाषाकै माध्यमबाट अभिव्यक्त हुने गर्दछ । उपन्यासलाई कलात्मक वा सौन्दर्ययुक्त बनाउन विचलनयुक्त साहित्यिक तथा आलङ्कारिक भाषाको प्रयोग समेत हुन सक्छ । उपन्यासमा भाषाको प्रयोग मूलतः उपन्यासकारले आफँै प्रयोग गरेका भाषा र पात्रहरूका माध्ययमबाट प्रयोग गरिएको भाषा गरी दुई किसिमले प्रस्तुत भएका हुन्छन् ।

‘घुर’ उपन्यासमा सरल, सरस, सम्प्रेषणीय, तत्सम, तत्भव र आगन्तुक तीनै स्रोतका शब्दहरूको प्रयोग भएको छ । वाल्यकालीन चर्चा पूर्वदीप्ति तथा अन्य लेखकीय वर्णनात्मक शैली रहेको यस उपन्यासमा कतिपय स्थानमा संवादात्मक भाषाको प्रयोग गरिएको छ ।

‘दुर्भाग्यवस डकैती गरिएको बस राजविराजकै परेछ । डाकाहरूलाई पेसेन्जर र गाडी स्टाफहरू मिलेर धुलैया दिए । पक्राउ परेका ती डाका ऐले जेलमा छन्…।’ अनायासै देवधारले घोषणा ग¥यो । (श्रेष्ठ, २०६४, पृ. ९३) ।

‘घुर’ मा नेपाली समाजमा निम्न मध्यम वर्गले बोल्ने नेपाली जनजिब्रोमा भिजेका बोधगम्य र सरल भाषाको प्रयोग गरिएको छ । उपन्यासको मूल कथावस्तुमा भने मधेस आन्दोलन सफल पार्नका लागि होमिएका अविदिता मण्डलजस्ता आन्दोलनकारीले प्रकट गरेको आक्रोशपूर्ण भाषा समेत बोलेको भेटिन्छ । ‘म’ पात्र स्वयम्का मनका तर्कना उल्लेख गरिएको भाषामा बेग्लै स्वाद भेटिन्छ । त्यसमा वर्णनात्मक शैली तथा आत्मकथात्मक शैलीको बाहुल्यता पाइन्छ । कतिपय स्थानमा काव्यात्मक शैलीको प्रयोगले गर्दा उपन्यासको भाषा कलात्मक बनेको छ । समाजमा उच्च आदरार्थी भाषाको प्रयोगले सकारात्मक प्रभाव पारेको हुन्छ भने अनादार्थी भाषाले समाजमा नकारात्मक असर पारेको छ । ‘घुर’ उपन्यासमा समेत यस कुरालाई हेक्का पु¥याएको भेटिन्छ ।

यात्रा विवराणात्मक शैलीमा लेखिएको प्रस्तुत उपन्यासमा धेरै स्थानमा लेखकीय वर्णनात्मक तथा कतैकतै छोटा–लामा नेपाली–मैथिली संवादात्मक शैलीको प्रयोग गरिएको छ । लेखक जन्मिएको र हुर्किएको मैथिल समाजको भाषिकागत सूक्ष्म प्रभाव देखिए पनि कतिपयले शुद्ध नेपाली भाषाको प्रयोग गरेका छन् । उपन्यासका अपठित पात्रले भने आपसमा मैथिलीमै संवाद गरेका छन् । लामा भाषण र कुराहरू नेपालीमा छन् भने प्रायः ससाना संवाद मात्रै मैथिलीमा छन् । अधिकभन्दा अधिक कुरा ‘म’ पात्रबाटै अभिव्यक्त गर्ने भिन्न शैलीको प्रयोग भएको छ । स्नातक अध्ययन गरेका र गरिरहेका नारी पात्र बेचनी, कल्पनाहरूमा भाषिक कमजोरी कम छ ।

‘यी पहडियाके धियापुता हम गरिव सभके जियै नै देतै । जे देखैछै, स्याहा उठ्या लैछे । आइ नई छोडबै एकरा ।’ दुबै कराउँदै थिए । (श्रेष्ठ, २०६४, पृ. ४५) ।

४.५ पेसा

हामीले आफ््नो व्यवहार चलाउन अर्थात् जिउनका लागि गर्ने कार्य नै पेसा हो । नेपाली समाजमा विभिन्न पेसा अबलम्वन गर्ने मानिसहरूछन् । शिक्षण, चिकित्सा, कृषि, पशुपालन, होटल व्यवसाय, सरकारी÷निजी सेवा आदि थरीथरीका पेशा अपनाएको पाइन्छ । कृति र कृतिकार पनि समाजकै उपज भएकाले कृतिमा प्रयुक्त पात्रहरूको चरित्रचित्रणका अतिरिक्त पेशागत कुराहरू समेत प्रत्यक्ष–अप्रत्यक्ष आएका हुन्छन् ।

व्यक्ति आफ्नो पेसा अबलम्वन गर्नमा जाति, धर्म, शिक्षा, भौगोलिक आदि कुराले प्रभाव पारेको हुन्छ । यद्यपि समयको गतिशीलतासँगै शिक्षा र दक्षताका आधारमा पनि पेशा अपनाएको पाइन्छ (कोइराला, २०७०ः ६६) ।

‘घुर’ उपन्यासमा विभिन्न पेशा अबलम्वन गर्ने पात्रहरूको उपस्थिति वा वर्णन भएको छ । यस उपन्यासमा मूलतः मधेसको असन्तुष्ट राजनीतिक घटनावलीको व्याख्या गरिएको छ । नेपाली समाजमा व्याप्त बेरोजगारी, भेदभाव, अनिश्चित भविष्यका कारण विद्रोही स्वर सुसेल्नुु परेको बाध्यता यस उपन्यासमा व्यक्त भएकोे यथार्थ हो ।

यहाँ केही स्थानीय क्याम्पसमा पढ्दै गरेका विद्यार्थीहरू छन् । केही पढिसकेका र गृहस्थ जीवन चलाइरहेका छन् । बुधनीजस्ता स्कूलको मुहारै नदेखेका र आफ्नै घरखेती मात्रै विश्व भएको ठान्ने साँघुरो सोचाइका निरीह पात्रको जीवनशैलीको चर्चा पनि छ ।

४.६ आर्थिक अवस्था

व्यक्तिलाई जीवन संचालनका लागि नभई नहुने कुरा भनेकै आर्थिक अवस्था हो । आर्थिक अवस्था कमजोर हुने मानिसलाई समाजमा जीवन जीउन समेत गाह्रो हुन्छ । आर्थिक अवस्था राम्रो हुनेको जीवन भोगाइ र सामाजिक हैसियत पनि उच्च हुन्छ (कोइराला, २०७० ः पृ. ३७) ।

यस उपन्यासमा सदियौँदेखिको राजनीतिक कारण र भौगोलिक विभेद भयो भन्दै असन्तोष चर्किएकोे देखाइएको छ । आन्दोलनरत् मधेसीहरूको मतानुसार सोझासीधा जनतालाई शोषण गरेर सामन्त र ठूलाठालुले एकछत्र राज गरेको कारण पनि असन्तोष प्रकट गर्नुपरेको हो । नेपाली समाजका अभावका कथादेखि घोर अत्याचार व्यथासम्म रहेको यस उपन्यासका पात्रहरूको आर्थिक स्थिति पनि जर्जर रहेको छ । निम्न, निम्न मध्यम र उच्च वर्गबीचको आर्थिक असमानताका कारण सिर्जित तीव्र असन्तोषले निम्नवर्गको पक्ष लिएको छ ।

आर्थिक÷सामाजिकरूपले उच्च पहडिया शासक वर्गको अहङ्कारको समूल नष्ट र शोषक कूलीन वर्गको अन्त्य तथा गरिब÷निम्न वर्गका जनताको उज्वल भविष्यको सङ्केत उपन्यासले गरेको छ । मधेसी जनता गाँस, बास र कपासका लागि छट्पटिएका र जसले जे भन्यो, केवल पैसाकै लागि उत्तै दगुर्न बाध्य भएको मार्मिक कथा बुधनी थारू मार्फत यस उपन्यासमा प्रस्तुत भए तापनि समाजमा जनताको आर्थिक अवस्थामा भने कुनै सकारात्मक परिवर्तन नभएको अवस्था छ ।

४.७ शैक्षिक पक्ष

सर्जकको सिर्जनाको बीजभूमि समाज हो । समाजको शैक्षिक पक्षले सर्जकलाई प्रभाव पारेको हुन्छ । कृतिमा वर्णित समाजको शैक्षिक अवस्थाको चित्रण धेरथोर रूपमा भए पनि गरिएकै हुन्छ ।

यसै सन्दर्भमा लयप्रसाद कोइरालाले साहित्यकारले समाजमा जे देख्छ, अनुभव र अनुभूति गर्छ, त्यसैका आधारमा पात्रको शैक्षिक पृष्ठभूमिको चयन हुने कुरा बताएका छन् । उनले पात्रहरूका माध्यमबाट लेखकले कुनै खास सन्देश दिनुका साथै अशिक्षित समुदायभित्रका साहित्यिक कृतिमा पात्रहरू पनि अशिक्षित नै हुन्छन् भनेका छन् ।

(कोइराला, २०७०ः ५०) ।

प्रस्तुत ‘घुर’ उपन्यासका पात्रहरू पनि शिक्षित, बौद्धिक र चेतनशील रहेका छन् । पढेर नभए परेर जानिन्छ भन्ने लोकोक्ति यहाँ बुधनीदेवी थारूको जीवनमा आएको सामाजिक परिवर्तनले पुष्टि गर्दछ । उनले औपचारिक शिक्षा ग्रहण गरेकी छैनन् तर ‘परेरै’ जीवनरथ हाँकिरहेकी छन् ।

४.८ लैङ्गिक अवस्था

सृष्टिका अभेद्य अङ्ग पुरुष र महिलाबिचको सामाजिक अवस्था नै लैङ्गिक अवस्था हो । हाम्रो नेपाली समाज पुरुष प्रधान समाज हो । यहाँ भने महिलाको स्थान पुरुषको तुलनामा महान् छ । समाजका आर्थिक, राजनीतिक, प्रशासनिक, शैक्षिक आदि जस्ता हरेक क्षेत्रमा पुरुषको एकाधिकार अनादिकालदेखि नै चलिआएको पाइन्छ । यसरी पुरुषको तुलनामा महिलाको दयनीय स्थिति रहेपनि उपन्यासमा भने कल्पना यादव, अविदिता मण्डल, बेचनी बाँतरजस्ता महिलाहरूले आफ्नो अधिकारका लागि राज्यको ढोका ढक्ढकाउन थालेका छन् ।

नेपाली समाजमा अझै पनि महिलालाई कुनै पनि महŒवपूर्ण सामाजिक कार्यमा सहभागी गराइँदैन । उनीहरूलाई घरायसी कामकाजमा मात्र सिमित गराइन्छ । आर्थिक हिसाबले उनीहरू सम्पूर्ण रूपमा पुरूषमाथि नै निर्भर रहनुपर्ने बाध्यता छ (सुवेदी, २०६८, पृ. ४७) ।

‘घुर’ उपन्यासमा पनि भने नारी पात्रहरू अघि सरेका छन् । पूर्वाद्र्ध खण्डमा सहयात्री सँगिनीले भूमिका निर्वाह गरेकी छे । मध्य खण्डमा भने कल्पना यादवको समझदारीपूर्ण व्यवहार र विचार सुन्न पाइन्छ । अविदिता मण्डलले उपन्यासको उत्तराद्र्ध खण्ड ओगटेकी छ ।यसरी ‘घुर’ उपन्यास नारी बोली र विचारले एकछत्र राज गरेको महत्त्वपूर्ण दस्तावेज सावित भएको देखिन्छ ।

४.९ राजनीतिक अवस्था

राजनीतिक व्यवस्था र अवस्थाले व्यक्ति, समाज र राष्ट्र नै प्रभावित हुन्छ । मुलुकमा विद्यमान राजनीतिक अवस्था, संरचना, संयन्त्र आदिले शासकको व्यवहार र आचरणको प्रतिनिधित्व गरेको हुन्छ ।शासकले शासितसँग गर्ने व्यवहारले साहित्यिक कृतिमा प्रत्यक्ष वा परोक्ष प्रभाव पारेका हुन्छन् । यसबाट ‘घुर’ उपन्यास पनि अछुतो रहन सकेको छैन ।

लेखकले राजनीतिमा देखा पर्ने कुरीति, कुसंस्कार, भ्रष्टाचार, अपराधको राजनीतिकरण र आपराधीकरण जस्ता अनेक गलत प्रवृतिलाई आफ्ना साहित्यिक कृतिमार्फत व्यङ्ग्य गरेको हुन्छ र यसको सुधारको प्रत्यक्ष वा अप्रत्यक्ष वकालत गरेको हुन्छ (सुवेदी, २०६८, पृ.४६)।

‘घुर’ शीर्षकबाट नै यो राजनीतिक उपन्यास हो भन्ने अनुमान लगाउन सकिन्छ । उपन्यासको कथानक राजनीतिक असन्तोषबाट बनेको छ । अन्तरिम संविधान कार्यान्वयनमा आए लगतैदेखि पैदा भएको राजनैतिक असन्तुष्टीको डढेलो मधेसभरि फैलिएको आधार ‘घुर’ निर्माण गरिएको देखिन्छ । अर्कोतर्फ जनताको नाममा राजनैतिक सम्बोधन र बाचा सार्वजनिक भएपछि आन्दोलन निष्कर्षतिर ओरालो लागेको र ‘घुर’ उपन्यास समापनतर्फ ढल्केकोे भेटिन्छ । त्यसैले ‘घुर’ लाई मधेसको साँचो राजनैतिक दस्तावेज भन्दा पनि अत्युक्ति ठहदैन ।

४.१० पारिवारिक अवस्था

परिवारले नै सामाजिक संरचना निर्माण गर्दछ । परिवार समाजको एक महत्त्वपूर्ण एकाइ हो । परिवारविना मानिसहरूको कल्पना हुन्न । मानिस कुनै न कुनै परिवारको सदस्य हुन्छन् । परिवार जैविक सम्बन्धमा आधारित सामाजिक समूह हो । परिवारमा बाबुआमा, छोराछोरी हुन्छन्, भाइ–भतिजा हुन्छन् ।अग्रजले अनुज वर्गको सामाजिकीकरण तथा शिक्षा जस्ता कुराहरू जुटाएका हुन्छन् । ‘घुर’ उपन्यासमा मुख्यतया पारिवारिक गन्थनलाई मूल आधार बनाएको देखिन्न । यद्यपि ‘म’ पात्रको वाल्यकालीन अवस्थाको चर्चा गर्दा पारिवारिक अवस्थाको वर्णन गरिएको छ । बेचनी र ‘म’ पात्र नाङ्गै खेल्ने, शृङ्गारपटार गर्ने गराउनेजस्ता रोचक, मननीय र संवेदनशील प्रसङ्ग आएका छन् ।

४.११ सामाजिक समस्या

हरेक समाजको जीवनशैलीको भिन्नतासँगै सामाजिक समस्या पनि पृथक हुने गर्दछन् । पारिवारिक, धार्मिक, राजनीतिक, भौगोलिक, जातीय चालचलन, संस्कार, अवस्था र परिदृश्यका आधारमा सामाजिक समस्याहरूपैदा हुन्छन् । संसारमा समस्यामुक्त समाज भने कहीँ पनि हँुदैन । सर्जक समाजको सदस्य भएको नाताले उसकोसिर्जनामा समाजमा विद्यमान समस्याहरू आएकै हुन्छन् । समस्याले द्वन्द्व जन्माउँछ । त्यही द्वन्द्व निर्मूलको बाटोमा अग्रसर हुँदाहुँदै समाज अघि बढेको हुन्छ तर पूर्णतः समस्या कहिल्यै निर्मूल हुन्न ।

बाहिरबाट हेर्दा सुखी र सम्पन्न देखिएपनि समस्या रहित समाज कहीँ पनि हुन्न । मान्छे सामाजिक प्राणी भएको र समाजमै बस्ने भएकोले समाजसँगै मानिस पनि समास्याले जेलिएको हुुन्छ । यत्ति हो कुनै समाजमा कम समस्या हुनसक्छन् भने कुनैमा बढी ।

यस ‘घुर’ उपन्यासमा वर्णित समाजमा पनि अनेक समस्याहरू देखिएका छन् । प्रमुख सामाजिक समस्याको रूपमा राजनीतिक समस्या मुखरित भएर आएको छ । यसका अतिरिक्त केलाउँदै जाँदा आर्थिक समस्या, पारिवारिक समस्या, सामाजिक जस्ता थुप्रै समस्याहरू रहेका छन् । बालविवाह तथा दाइजोप्रथा जस्ता अन्धविश्वासी प्रवृत्तिबाट मधेस ग्रस्त भएको देखाइएको छ । मधेस आन्दोलनकालमा नेपाली सर्वसाधरण जनताले अवसरवादीहरूबाट भोग्नुपरेको अन्याय, अत्याचार, शोषण, दमन र उत्पीडनको सजीव चित्रण उपन्यासले गरेको छ ।

‘घुर’ मा नेपाली समाजमा व्याप्त राजनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक तथा जातीयजस्ता सामाजिक समस्याले ग्रस्त समाजमा परिवर्तन र चेतना ल्याउनुपर्ने सन्देश छ । समाजका असल चरित्र र विचारलाई दबाउने सामाजिक समस्याको रहस्योद्घाटन गर्ने काम पनि भएको छ ।

 

५. निष्कर्ष

नेपाली साहित्यमा मधेसको रीतिथिति, रहनसहन, सोच समझ र परिवेश समेटेर तुलसीराम कुँवरले २०१८ सालमै थालनी गरेका थिए । त्यसपछि विजय मल्लको ‘अनुराधा’ (२०१८), विश्वेश्वरप्रसाद कोइरालाको ‘नरेन्द्र दाइ’ (२०२६), दौलतविक्रम विष्टको ‘एक पालुवा अनेकौँ याम‘ (२०२६), धच गोतामकोे ‘घामका पाइलाहरू’ (२०३५) र ‘यहाँदेखि त्यहाँसम्म’ (२०४२), ध्रुवचन्द्र गौतमको ‘अलिखित’ (२०४०), नयनराज पाण्डेको ‘उलार’, (२०५६), इस्मालीको ‘जिरो माइल’, (२०५६) प्रकाशन भएको पाइन्छ । त्यसै सिलसिलामा धीरकुमार श्रेष्ठको ‘घुर’ (२०६४) प्रकाशन भएको हो ।मधेश आन्दोलनको विषयवस्तुको ताजा रिपोर्टका रूपमा भने ‘घुर’ पहिलो उपन्यास हो । नेपाली साहित्याकाशमा पछिल्लो पटक झुल्किएका मधेस केन्द्रित उपन्यास भने गणेश अधिकारीको ‘मालिकहरूको मधेस’, नन्दलाल आचार्यको ‘गरुराहा’ (२०७६) आदि हुन् । कृष्णराज सर्वहारीले समेत मधेसकेन्द्रित आञ्चलिक उपन्यास लेखेका छन् ।

उपन्यासको पूर्वार्धमा वर्णन गरिएको ‘म’ पात्र तथा सहयात्रीको क्रियाकलापले पाठकका मनमा एक प्र्रकारको यौन मनोविश्लेषणात्मक उत्सुकता प्रार्दुभाव गराउँछ । मध्यान्तरमा भएको सामाजिक अव्यवस्था र राजनीतिक अन्योलताको सजीव चित्रणले मधेसमा पर्याप्तमात्रामाविसङ्गति रहेको झलक दिन्छ । त्यसैगरी उत्तरार्धमा गरिएको आन्दोलनको नियात्रात्मक वर्णन र ‘म’ पात्रको अनुभूतिलेपाठक हृदयमा उत्सुकता जन्माउनुको साथै नेपालको अबको मधेसको अनुहार कस्तो होला भनेर जिज्ञासा पैदा गराउँछ ।

समग्रमा ‘घुर’ ले प्रतीकात्मक तवरले थोरै शब्दमा धेरै कुरा भनेको छ । यसलाई अभिधात्मक शब्दशक्तिका आधारमा मात्र अर्थबोध मात्र गरिनुहुन्न, व्यञ्जना र लक्षणा शब्दशक्तिको समेत उपयोग गरेमा ‘घुर’ ले समग्र तराई मधेसको विविधतामा रहेको र रमेकोे समाजको आधुनिक सोच र समझको प्रतिनिधित्व गर्दछ । तराई मधेसमा सुव्यवस्था र सुसंस्कृतिको सूर्योदय हुन सके यसले नेपालकै प्रतिष्ठाको उचाइ सगरमाथा जत्तिकै बनाउँछ भन्ने सङ्केत ‘घुर’ ले गरेको देखिन्छ ।

 

सन्दर्भ सूची

अधिकारी, कृष्णराज. (२०७३). ‘पहेँलो घाम’को मधुरो किरण’. गरिमा, साहित्यिक मासिक, वर्ष ३५, पूर्णाङ्क ३८४, पृ. ९७, ललितपुर ः साझा प्रकाशन ।

आचार्य, नन्दलाल (२०६४) ‘मधेसको आन्दोलनको ज्यूँदो दस्तावेज’, राजविराज टुडे (वर्ष ६, अङ्क ४६, जेठ, पृष्ठ ३), राजविराज ःः कम्प्याक्ट कम्युनिकेशन ।

आचार्य, नन्दलाल  (२०६५) ‘मधेस आन्दोलनले जन्माएको उपन्यास घुर’, अभिव्यक्ति, द्वैमासिक मासिक, (वर्ष ः ३९, पूर्णाङ्क १३७, पृ. ३३) काठमाडौँ ः नगेन्द्रराज शर्मा।

कोइराला, लयप्रसाद. (२०७०), उपन्यासकार रामप्रसाद ज्ञवालीका उपन्यासहरूमा सामाजिक पक्ष, स्नातकोत्तर शोधपत्र, काठमाडौँः त्रिविवि, पशुपति बहुमुखी क्याम्पस ।

खनाल, हरिहर. (२०६५). उज्यालोको खोजीमा, काठमाडौँः भँुडीपुराण प्रकाशन ।

गिरी कल्पित, धिरज (२०६४) ‘राजविराजमा ‘घुर’ ताप्ने धीर’, राष्ट्रिय बहस साप्ताहिक (वर्ष ३, अंंक २, २०६४ बैशाख ३२ पृष्ठ ६), काठमाडौँ ।

ज्ञवाली, ईश्वरी (२०६४)‘मधेसको कथा’ नेपाल (वर्ष ७, अङ्क ३९, २०६४ बैशाख पृष्ठ ५०) काठमाडौँ ः कान्तिपुर पब्लिकेशन ।

ढकाल, घनश्याम लगायत अरू (२०६७) (सम्पा.). माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य, काठमाडौँ ः अखिल नेपाल लेखक संघ ।

न्यौपाने, टंकप्रसाद (२०५८) साहित्यको रूपरेखा, ललितपुर ः साझा प्रकाशन ।

प्रधान, कृष्णचन्द्रसिंह. (२०५२). नेपाली उपन्यास र उपन्यासकार, (चौ.सं.), ललितपुर ः साझा प्रकाशन ।

प्रधान, प्रतापचन्द्र. (२०४०). नेपाली उपन्यास परम्परा र पृष्ठभूमि, दार्जिलिङ, दीप प्रकाशन ।

प्रेमर्षि, धीरेन्द्र (२०६४), ‘आञ्चलिकता स्वाद’, हिमाल खबर पत्रिका (वर्ष १७, अङ्क ७, २०६४ जेठ १–१५, पृष्ठ ५७) काठमाडौँ ।

बराल, ऋषिराम (२०६३), उपन्यासको सौन्दर्यशास्त्र, (दो. सं.) ललितपुर ः साझा प्रकाशन ।

बराल, कृष्णहरि र नेत्र एटम. (२०६६). उपन्यास सिद्धान्त र नेपाली उपन्यास. (ते.सं.). ललितपुर ः साझा प्रकाशन ।

भट्टराई, वासुदेव (२०५२) (अनु.), श्रीमद्भागवत महापुराण (दो.सं.), प्रथम खण्ड १–७ स्कन्द, काठमाडौँ ः साझा प्रकाशन ।

भट्टराई, वासुदेव (२०५२) (अनु.), श्रीमद्भागवत महापुराण (दो.सं.), द्वितीय खण्ड ८–१२ स्कन्द, काठमाडौँ ः साझा प्रकाशन ।

भण्डारी, मीना (२०७२), उपन्यासकार धीरकुमार श्रेष्ठको जीवनी, व्यक्तित्व र कृतित्व, स्नातकोत्तर शोधपत्र, (अप्रकाशित), काठमाडौँ ः त्रिविवि, त्रिचन्द्र क्याम्पस ।

विमल, (२०६४) ‘समसामयिक उपन्यास’ शारदा (वर्ष १, अङ्क ४, बैशाख), काठमाडौँ ।

शुभेच्छु, रमेश ‘धीरकुमारको घुरमा एक फन्को मार्दा’, फरक विचार साप्ताहिक (वर्ष २, अङ्क २१, २०६४ असोज ४, पृष्ठ ६), काठमाडौँ ।

श्रेष्ठ, धीरकुमार (२०६४), घुर, काठमाडौँ ः भवानी श्रेष्ठ ।

सुवेदी, राजेन्द्र. (२०६४). नेपाली उपन्यास ः परम्परा र प्रवृत्ति, ललितपुर ः साझा प्रकाशन ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments