निकै बेरदेखि एक जना सेतै फुलेका ज्येष्ठ नागरिक बस कुरिरहेका थिए । बस्ने सानो बेञ्चीसमेत नभएको बस बिसौनीमा लठ्ठीको भर लिएर उभिएका वृद्ध निकै बेरपछि बस आयो । उनी धर्मराउँदै अग्ला खुड्किला चढेर माथि पुगे ।

बसमा सिट खाली देखिएन । सबै सिट लगभग भरिएको थियो । उभिने ठाउँ पनि भरिँदै थियो । यात्रुमा महिला र पुरुष लगभग बराबर थिए । अगाडिको कुनोमा एउटा खाली सिट देखेर वृद्ध मानिस त्यसैमा बसे । सिटमाथि महिला लेखिएको थियो । त्यता उनले हेक्कै राखेनन् । खाली हुनुको कारण पनि सके त्यही थियो होला । महिला सिट भएकोले वरिपरि उभिएका पुरुष यात्रीले त्यसमा बस्ने आँट गरेका थिएनन् ।

यात्रु चढ्ने क्रम सकिएको थिएन । एक जना युवती त्यही सिट नजिकै आइपुगिन् । सिटमाथि महिला लेखिएको देख्नासाथ तिनको च्याँठ्ठिएर स्वर सुनियो, “ए बाजे …त्यो महिला सिटबाट उठ्नोस् त !”

त्यसको अर्कोतर्फको लहरमा पनि सिटमाथि ज्येष्ठ नागरिक लेखिएको थियो । त्यसमा भने एक जना अधवैंसे महिला र अर्का जवान पुरुष बसिरहेका थिए ।

ती महिलाको कर्कश स्वरले होला वृद्धको ध्यान तानियो । बसको अग्लो सिँढी चढ्दा फुलेको दमका कारण स्वाँ स्वाँ गर्दै आँखा चिम्लिएर बसेका ती वृद्धले आँखा खोले । कान कम सुन्ने भएर होला कुरा के हो, राम्ररी ठम्याउन सकेनन् । त्यसैले उनी त्यहीँ बसिरहे ।

आफ्नो आदेश विपरीत वृद्धले सिट नछाडेको देखर युवतीको रिसको पारो चढ्यो “ए कन्डक्टर यी बूढालाई उठाउँछौँ कि, पुलिस बोलाऊँ ।”

उता ज्येष्ठ नागरिक लेखिएको सिटमा बसेका तन्नेरी, प्रौढा र बसका सबै यात्री तटस्थ थिए, संवेदनाहीन !

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments