“नारायन ! नारायन !! बा !, ओम नमो शिवाय भन्नुस् बा ! ओम नमो शिवाय !”

उपल्लो घाटमा कुरिरहेको घाटे वैद्यले उमानाथलाई भने । उमानाथको श्वास अझै गएको थिएन । जीवनको अन्तिम प्रहरमा रहेका उनको वरिपरि कोही आफन्त थिएनन् । घाटे वैद्य केही जडिबुटी पिंधेर उमानाथको निधारमा लेपन लगाइरहेका थिए । सामान्य स्लाइन चढाएर घाटे वैद्य उनको नजिकको आफन्तलाई खबर गर्न छेउ लागेर मोबाइल थिच्न सुरु गरे । निःसन्तान उमानाथको आफ्नै भन्नु सालीको छोरो बाहेक को नै थियो र ?

“बिरामी अन्तिम हुनलाग्यो, छिटो आउनुस !”

“ल ल डाक्टर साब म कागज बनाएर आइहाल्छु, सकिन लाग्यो !”

उता उमानाथको श्वास अड्किरहेको थियो । पीडाले छटपटाइरहेका उनको के कारणले हो प्राण जान सकेको थिएन । बेहोस उमानाथलाई घाटे वैद्यले ठूलो स्वरमा सोधे तर उनले घाटे वैद्यको स्वर सुने या सुनेनन् पत्तो थिएन ।

“हजुरको मान्छे आउनै लागे बा ! हरे राम भन्नुस् बा, हरे राम !”

उमानाथ अझै छटपटीमा थिए । घाटे वैद्य बिरामी हेरिरहेको थियो । त्यत्तिकैमा सालीको छोरो आयो ।

“पापी मर्न नसकेको बूढा, कति छट्पटाइरहेको ?”

घाटे वैद्य त्यो ठिटोको सो वाक्य सुनेर अचम्म मान्दै वाल्ल परिरहेका थिए । उसले मनमनै आफूले आफैलाई प्रश्न गरे ।

“यस्ता पनि सन्तान ?”

रातै पारेर रङ्गाएको अल्का पालेको कपाल ढल्काएर उमानाथको छेउमा उभिरहेको सालीको छोरो केही क्षण ट्वाल्ल परिरह्यो । केही भावुकता र केही रिस मिश्रित भावमा सालीको छोरोले बेहोसजस्तै उमानाथलाई सोध्यो ।

“अन्तिम केही भन्नु छ कि ?”

उनले यसो मुन्टो हल्लाए झैँ गरे । मुखबाट शब्दहरू कुनै निस्केन । त्यसपछि उमानाथ लत्रक्क पर्दै गए । सायद उनले प्राण त्यागे होलान् । उनको अन्तिम वाक्य सुन्न लालायित सालीको छोरोले पनि सकेन । त्यसपछि सालीको छोरोले आफ्नो खल्तीबाट कागज निकालेर अन्तिम भाषामा लेखिएको बेहोरामा मृतप्रायः भएका उमानाथको बूढी औँलाको ल्याप्चे ठोकायो । हेरिरहेको वैद्यलाई चित्त नबुझेर सोधे ।

“के गरेको यो ?”

“बक–पत्रमा सही गराएको !”

“किन ? तपाईं छोरो हैन र ?”

“छोरा त हो तर झड्केलो !”

त्यसपछि झड्केलोले वैद्यलाई उमानाथको जीवनको बेलिविस्तार लगायो । वैद्य सुनिरह्यो । उमानाथलाई उठाएर घाटेहरूले ब्रह्मनालमा राखे । झड्केलो लामो श्वास फेरेर सायद मनमनै अन्तिम भाषा सम्झिरहेको थियो ।

“अब पो सम्पूर्ण सम्पत्ति मेरो त ! मेरो बाबाको स्वर्गवास होस् !”

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments