‘मझुवाबासी’ भेटन आउनेहरूको सूचीमध्ये सबैभन्दा माथि स्टिच गरिएको कागजको सानो टुक्रो थियो त्यो । यसबाट अनुमान लगाउन सकिन्थ्यो भेट्न आउने समूह हुनुपर्छ व्यक्ति होइन ।

मझुवा–राजमार्गबाट केही किलोमिटर दक्षिण झरेपछि पूर्व लाग्नुपर्छ । करिब पन्ध्र मिनेट धूले सडकमा गुडेपछि एउटा कल्भर्ट भेटिन्छ । कल्भर्ट तरेपछि भेटिने बस्ती हो मझुवा ।

कच्ची सडक, सडकको एकातिर पैनी, कलकल बगिरहेको पानी, पानीमा पौडी रहेका हाँस । अर्काेतर्फ भने पानी चुहेर बनेको हिलो, भ्यागुत्ताको टरटर आवाज । कतै कतै रङ्गीचङ्गी स–साना माछाका भुरा । सुपारी, नरिवल, आँप, कटहर लिचीका रूखहरू कतै कतै बाँस झ्याङ् । हिजो आज इपिल र अन्य झ्याङ्गिला वनस्पति पनि भएको गाउँ ।

सडकसितै जोडिएका कच्ची घरहरू, फुस्रो माटोको लिउनले पोतिएका थिए ती । आजभोलि पक्की घरहरू पनि फाट्टफुट्ट देखिन थालेका छन् तर तिनले भने आफूलाई सडक किनाराबाट अलिकती टाढा राखेका छन् । हरियो फाँट, कतै कतै पोखरी, सडक किनारामा बिजुलीका जीर्ण पोल त्यसबाट बस्ती पुरानो भएको अनुमान लगाउन सकिन्थ्यो । झिकिदे गाँडभन्दा थपिदे गाँड भने झैँ आफ्नै भारी बोक्न धौ धौ परेका बिजुलीका पोललाई टेलिफोन, केवुल, होडिङ बोर्ड आदिको थामिनसक्नुको भारी ।

गाउँको बीचतिर एकाध चिया पसल, फलैँचा, पम्चर बनाउने ठाउँ । करिब दुईतीन किलोमिटर लामो होला त्यो बस्ती । सडक आँगनमा केटाकेटी खेलिरहेका, एकाध गाडी आउँदा तिनको पछिपछि धूलोमा दौडन्थे ती । बाख्राका पाठा उफ्रिरहेका, बस्तुभाउको गोबर गनाइरहेको, छरपष्ट चल्ला लिएर चारोको खोजीमा हिडेकी कुखुराकी पोथी । परिवेश परिवर्तन हुँदा क्याँकक्याँक आवाज निकाल्दै चल्लाको सुरक्षा गर्थी त्यो पनि ।

हरियो टिनको पाताले छाएको स्कूल सडकभन्दा थोरैभित्र देखिन्थ्यो । रातो रङको मन्दिर यदाकदा घण्टी बजेको सुनिन्थ्यो । एक प्रकारले शान्त र सहज अनुभव गर्न सकिन्थ्यो त्यो गाउँ ।

के प¥यो होला त्यति सरल बस्तीका मान्छेहरूको अड्डा धाउने काम ? मैले सिसी टिभीमा नजर पु¥याएँ, भेट्न आउनेको सङ्ख्या निकै थियो । मेरो कार्यकक्ष त्यति ठूलो थिएन तसर्थ केही प्रतिनिधि बोलाउने सोच बनाएँ तर मनले मानेन । किन आए होलान् त्यतिका मान्छे ? मान्छे आफ्नो कुरा अरूलाई सुनाउन र अरूको कुरा आफूले सुन्न त जाँदो हो मान्छेलाई भेटन । मैले माथिल्लो तलाको मिटिङ हलमा बसाउन अह्राएँ ।

‘नमस्ते’ पचास जना मान्छे अटाउने बैठक कक्ष झन्डै भरिएको थियो । मर्यादाक्रममा नागरिक सबैभन्दा माथि हुन्छन् भन्ने लाग्दथ्यो मलाई । त्यसैले आदरार्थी शब्दसँगै पहिले हात जोडिएको हुनुपर्छ मेरो । मैले आफ्नो परिचय दिएँ र सबैबाट लिएँ पनि ।

“के अपेक्षा लिएर पाल्नुभयो यहाँसम्म ?” सामूहिक प्रश्न तेस्र्याउँदै कुराको उठान गरँे मैले । को बोल्ने को बोल्ने जस्तो अवस्थामा देखिए तिनीहरू । मैले अनुमान लगाएँ, उनीहरू आफ्नो कुरा दर्बिलो ढङ्गले राख्न चाहन्छन् तर कसरी उठान गर्ने अल्मलिएका छन ।

“न्याय दिनुप¥यो, हामी अन्यायमा परेका छौँ”– त्यस मध्येको एक जना बोल्यो ।

“कानूनी राजमा न्याय पाइन्छ, न्याय निरुपण नभएसम्म अन्यायमा बस्नु पर्दैन, यो कार्यालयले कसैलाई मार्कामा पर्न दिँदैन”– मैले आश्वास्त पार्न खोजेँ ।

“छोरी घर पठाउँदा भिœयाउन मान्दैनन् कुटुम्ब ।”

“किन ?”

“नाक काटियो, इज्जत गयो, सम्बन्ध विच्छेद गर भन्छन्”– उदेक लाग्दो समस्याले उदेकिएँ म ।

“बुहारी घर भिœयाउँदा कसरी नाक काटिन्छ ? लोग्ने स्वास्नीले सम्बन्धविच्छेद गर्दा कसरी इज्जत जोगिन्छ ? अचम्मको कुरा गर्नुहुन्छ तपाईहरू । बुहारी भनेकै भिœयाउनका लागि हो, बुहारी भिœयाउनु भनेकै वंश विस्तारका लागि हो, वंश विस्तार भनेकै हामी हुनु हो । किन मान्दैनन् बुहारी भिœयाउन ?”

“त्यो त उनीहरू नै जानुन् । झिकाई बुझी चेली घर पठाउने व्यवस्था मिलाई पाउँ ।”

मझुवावासीको तर्फबाट अर्काे समूह पनि भेट्न आएको जानकारी भयो मलाई । उसैगरी भेट भयो अर्काे समूहसित । त्यो समूह अझै ठूलो थियो ।

“के भयो मझुवामा ? साराका सारा गाउँ उल्टिएर आउनुभएको छ । तपाईंहरूको समस्या के हो ?” सामूहिक जिज्ञासा नै उपयुक्त ठानँे मैले ।

“नाक काटियो, इज्जत जाने भयो । हाम्रो घर, हाम्रो परिवार, हाम्रो गाउँ, हाम्रो समाज सबैको बेइज्जत हुने भयो ।”– त्यसमध्येको एक बोल्यो–“सम्बन्ध विच्छेद गर भन्दा मान्दैनन्, घरमा भिœयाउन सकिँदैन, इज्जत जोगाइदिनुप¥यो ।”

“कुनै कुरा हो यो ? पूराका पूरा बस्ती उल्टिएर आउनुभएको छ । समस्या भनेको बुहारी भिœयाउने र नभिœयाउने । किन नभिœयाउने बुहारी ? अर्काकी छोरी ल्याउने अनि भिœयाउँदिनँ भन्ने ?” मेरो स्वर आदेशात्मक र कठोर बन्दै थियो । मैले बुझेको थिएँ झुलो सल्काउन चकमक चाहिन्छ ।

घडीमा घण्टीले पाँच पटक ट्वाङ् ट्वाङ् हिर्कायो । कार्यालय समय सकियो । काम नसकी मैले कहिल्यै पनि कार्यालय छोडेको थिइनँ र आज पनि छोड्ने पक्षमा थिइनँ । समस्या थाती राख्नु भनेको समाधान टाढिनु हो भन्ने बुझाइ थियो मेरो ।

“अर्कासित लसपस भएकी आइमाई भिœयाउन सकिँदैन”–एउटा पुरुष आवाज तिखारिएर आयो । “अर्काको सिसोबासो जिम्मा लिन सकिँदैन”– अर्काेले निर्णय सुनायो ।

“ए त्यसो पो ? को हो त्यो केटी ? को हो त्यो केटो ? को हो त्यसको लोग्ने ?” –मैले तीन जनालाई उपस्थित गराउन आदेश दिएँ । हुल जतिसुकै ठूलो भए पनि समस्या तीन जनामा समेटियो । समाधान समस्यामै खोज्नुपर्छ भन्ने निष्कर्षमा पुगेँ म ।

कोठामा लोग्ने स्वास्नी मात्र उपस्थित भए, तेस्रो मान्छे थिएन । “अर्काे खै ?” मैले झपारेँ, कोही बोलेन । “कुरा के हो ?” मैले लोग्नेलाई हपारे । “साब, दुई वर्ष अगाडि विदेश गएकी थिई, अहिले खै ऊ त्यस्तो”– अँध्यारो अनुहार पार्दै घोसे मुण्टो लगायो उसले । मैले सोझै केटीतिर आँखा पु¥याएँ । कल्कलाउँदो अनुहार थियो उसको । बदलिँदो परिदृश्यले स्तब्ध भएँ म पनि । मेरो मनमनै सल्कन थालेको क्रोधको आगो झ्याप्प झुप्प निभ्यो । खै किन हो कुन्नि ? एक्कासि भावुक बनँे म ।

“यिनलाई कसले विदेश पठाएको ?”– मैले सोझै लोग्नेको आँखामा हेरेँ । ऊ अल्मलियो र केही हच्कियो पनि । “तिम्रो सहमति थियो कि थिएन ?”

“जान्छु भन्दै खुट्टा उचाली अनि…।”

“जान्छु नभनी कतै गइँदैन तर खुट्टा उचाल्दैमा जान सकिँदैन । विदेश जाने प्रकृया उति सजिलो पनि हुँदैन । कागजपत्र मिलाउने, खर्चबर्च जुटाउने कसले ग¥यो ? उडाउन को गएको थियो ?”– मैले ठूलो स्वरमा सोधेँ, केटोले सम्मत स्वरूप टाउको हल्लायो र तत्काल निहु¥यायो पनि । ममा भने कुनै द्विविधा बाँकी रहेन । मलाई मेरो परिवेश अघि नै धरमराए जस्तो लागेको थियो अब भासियो । झ्यालबाट हेरेँ ठूलो समूह मेरो निर्णय पर्खेर बसिरहेको थियो । निर्णयमा पुग्नु अघि नै अनिर्णित हुन थालिसकेको थिएँ म ।

मैले केटीलाई सोधेँ– “कसले विदेश पठाएको तिमीलाई ?” “उहाँले” सुक्क सुक्क गर्दै थिई । बाँध बाँधेकी रहिछ, अब भल बगाउन थाली डाको छोड्दै बोली–“छोराछोरी देख्न पनि पाएकी छैन ।”

“खर्चबर्च कसले जुटायो ?”

हिक्क हिक्क गर्दै बोल्न थाली–“नाक कान बेचियो, नपुग उहाँले धितो बन्धक राख्नुभयो ।” रुँदै थिई ऊ, लोग्नेको अनुहारमा पनि झरीको अवस्था देखिन्थ्यो ।

कुरोको चुरो बुझेर हो वा समस्याको जटिलता म पनि बस्ने अवस्थामा रहिनँ । टाढा हेरेँ क्षितिजमा बादल आकाश र धरतीलाई जोड्दै रहेछ ।

कसको नाक काटियो ? र क–कसको इज्जत जाने भयो ? को अन्यायमा प¥यो ? र कसले न्याय पाएन ? कुनै निक्र्यौल निकाल्न नसक्ता असमञ्जस बनँे म बरु बिस्तारै उनीहरूको विगतमा हराएँ ।

धूले सडक, सडक किनाराको झुप्रे घर, अलिकति सडकतिर अलिकति नम्बरीतिर परेको थियो त्यो । सडक निर्माण हुँदा आधा घर भत्किन्थ्यो, विस्तार भएमा भूमिहीन । अरूकै ठेक्का अधिया र ज्याला मजदुरीबाट जीवन निर्वाह गर्दै हुर्काएका रहेछन् बाक्ला छोराछोरी बाबु आमाले । त्यसैमध्येकी एक छोरी रहिछ आशा । सम्पत्ति हुनेहरू महलमा बस्ता हुन्, नहुने झुपडीमा । त्यो पनि नहुने मान्छे छन् । ती पनि घामपानीबाट जोगिएकै छन् हुरी बतासबाट बाँचेकै छन् तर सबैको बस्ने र बाँच्ने आधार धरती नै हो भने झैँ पैनीमा डुबुल्की मार्दै र फाँटमा बुर्कुसी मार्दै हुर्किएकी रहिछ आशा । अरू जस्तै उमेर पुगेपछि गाउँमै विवाह गरेर भित्रिएकी रहिछ त्यो ।

उस्तै उस्तै रहेछ असितको घर । घर र थर परिवर्तन भयो तर दैनन्दीय परिवर्तन भएन । अझ छोरीबाट बुहारी बन्नुपर्दा बेहोर्नुपर्ने दुःख र प्राप्त हुने सुख त्यो पनि भोगेकी रहिछ उसले । सदियौँदेखि चलेर आएको यो क्रम चलेकै थियो तर त्योभन्दा माथि उठेर सुख पाउने अभिलाषा थपिदियो कसैले । “थप्ने को थियो ?”– मैले जिज्ञाशा राखेँ । याद रहेनछ उनीहरूलाई दुवैले टाउको हल्लाए सायद त्यो हुन सक्थ्यो–समय ।

गाउँका युवा विदेशिएको, पैसा पठाएको र सुकिलामुकिला देखिदा सुख भोग गर्ने अभिलाषामा लोभिएछ असित । अलि धेरै हाटबजार र मेलापात अनि अलि थोरै सदरमुकाम र राजमार्गतिरका सहरोन्मुख बस्तीसम्म पुगेका रहेछन् ती जोडी । त्यस्ता ठाउँमा देखिने सहरिया तामझाम, सुख र खुसीको आवरण भने भुलेका रहेनछन् तिनीहरूले । ज्याला मजदुरीले पेट पाल्न मुस्किल, ठेक्का अधियाले साहू बुझाउन धौ धौ । बालबच्चा पढाउन लेखाउन, हुर्काउन बढाउन, बिहेदान गर्न पैसा चाहिन्छ भविष्यको चस्का लागेछ उनीहरूलाई ।

विदेश जान मसक्क आँट ग¥यो असितले तर सम्मति दिन हिच्किचाइछ आशा । “उहाँ विना कसरी बाँच्न सक्छु र ?– जस्तो लाग्यो”–थोरै झुकेर बोली ऊ । तर थोरै दिनमा फकाएछ लोग्नेले स्वास्नीलाई ।

“विदेशमा  कामदार  सशुल्क पठाइन्थ्यो वा निःशुल्क, सस्तो थियो वा महँगो ? त्यो त थाह थिएन तर यति धेरै मान्छे विदेश जान्छन् तैपनि जाने तरिका र गर्ने कामको बारेमा साँचो कुरा बताइदिने कोही थिएन । एकातिर घर परिवार छोड्नुपर्ने पीडा, अर्काेतिर भएको श्रीसम्पत्ति स्वाहा अझ साप्रोमाथि पिडो भने झैँ चक्रवृद्धि व्याजसहितको ऋणको भार, त्यसमाथि पनि सही जानकारीको अभाव निकै छटपटिएको थिएँ म”–आफ्नो पीडा सुनाउँदै थियो असित ।

“दुई चारवटा विदेश पठाउने ठाउँमा गएँ, बसस्टप जस्तै रहेछ त्यो । यात्रु तान्ने पैसा असुल्ने । बाटोमा बिग्रिए आफ्नो व्यवस्था आफै गर भन्ने । निकै ढोका चहारे । कसैले जाने पैसा धेर भने, कसैले पाउने तलब थोर । विदेश जाने लाइनमा केटीहरू पनि भेटिए । मेरो मनले आशालाई पनि लिएर जान खोज्यो”–ऊ भन्दै थियो ।

“आम्मै ! लामो जिब्रो निकालेँ मैले त, शरीरै कुत्कुत्याए जस्तो । के रे ? छोरी मान्छे पनि विदेश”– आँखा चम्किए आशाका । “तर उहाँले धेरै जाँदा रहेछन् सँगै जाऊँभन्दा जान मन लाग्यो, साँच्चै साथ नछुट्ने अभिलाषाले सहमत भएँ म । आखिर लोग्नेस्वास्नी भनेकै सँगै बाँच्न सँगै मर्न त हो नि”–पीडा भुलेको स्वरमा बोल्न थाली ऊ– “निकै कोसिस ग¥यौँ हामीले तर मेरो भिसा लाग्यो, उहाँको लागेन ।”

“जे नहुनुपर्ने थियो त्यो भयो, जे हुनुपर्ने थियो त्यो भएन भने समस्या आउँछ होइन त ?”

मैले उनीहरूतिर हेरेँ । असितले टाउको हल्लायो, खुइøय गरी आशाले ।

“बरु मेरो पनि नलागेको भए हुन्थ्यो ।” एक्कासि रुन पो थाली ऊ । सायद लक्ष्य प्राप्तिको खातिर लोग्ने स्वास्नीले गरेको कठोर सङ्घर्ष सम्झिरहेकी थिई ऊ । “माइतीमा त निर्णय मात्र सुनायौँ, आमा धेरै रुनुभयो, जा भन्नु भएकै थिएन ।”

“बल्लतल्ल लागेको भिसा छोडनु हुँदैन, फेरि मेरो पनि लागिहाल्छ भनेँ, दुवै जना उतै भेटिन्छ भन्ने ठानेर पठाएँ । विमानस्थलसम्म गएँ र उडाएँ”– थाप्लोमा हात लगायो असितले । उसको गला पनि अवरुद्ध हुँदै थियो ।

“छोरो तोते बोल्दै थियो, छोरी बामे सर्दै थिई दुवैलाई सुताएर हिँडेकी थिएँ म”– रुन थाली ऊ ।

“झिलिमिली थियो विदेश तर मेरो मन अडेन । न भाषा न भेष न रीतिथिति न परिवेश, अक्क न बक्क परेँ म त । आफ्ना नभएका ठाउँमा आफन्त हुँदा रहेनछन्, आफन्त नभएका ठाउँमा आफ्ना हुँदा रहेनछन् तर जे भए पनि बाँच्नु थियो, कमाउनु थियो, पठाउनु थियो काखका दूधे बच्चाको भविष्य बनाउनु थियो र सबैभन्दा धेरै त श्रीमान् आउने बाटो कुर्नु थियो ।”

“तर मेरो भिसा लागेन”– असित भन्दै थियो ।

मैले अनुमान लगाएँ– घरेलु कामदारको रूपमा परदेशिएकी रहिछ आशा ।

मालिक्नीको करकर र गनगन, रिसाउने र झर्किने बानी, गाली गरेको महसुस गर्थी ऊ तर गालीको स्तर भने बुझ्दी रहिनछ । श्रव्य भाषाभन्दा साङ्केतिक भाषा पाको हो कि किन हो ? मालिक्नीको सङ्केत र मालिकको नजर भने बुझ्दी रहिछ ऊ ।

“मालिक्नी कहिले कपाल भुत्ल्याउँथी, कहिले धक्कामुक्की । यति हुँदा पनि उसकै नजिक सुरक्षित ठान्थेँ म”– ऊ भन्दै थिई ।

मेरो आँखा असितको अनुहारमा ठोकियो । एकटकले सुनिरहेको थियो ऊ । सायद पारिवारिक कारण र सामाजिक दबाबले गर्दा उसलाई पनि आशाको कुरा सुन्ने मौका परेको थिएन ।

“चेपुवामा परेको महसुस गर्थें म । हजारौँ पटक धिक्कारेँ आफैलाई, दोष कसलाई दिने, भाग्य, कर्म वा अरू कोही ? जसले वचन र कर्मले कुटिरहन्थ्यो उसैसित नजिकिनुपथ्र्याे मैले तर आशाको उज्यालो किरण भने ढाकिएको थिएन, उहाँको आगमन ।”– ऊ भन्दै थिई”– “तर भिसा लागेन । हुन त गएकै भए पनि एकै ठाउँमा नहुन सक्ने रहेछ ।”

“फर्किन्छु भनेकी थिई”– असित बोल्न थाल्यो– “भएका गहना बिकेका थिए, जग्गा जमिन धितोबन्धक । ब्याज बढदै थियो, साहूको धम्की आउँदै थियो । ऊ त गएकी थिई, मलाई पठाइदिन्छु भनी लिएको पैसा पनि फर्किएन । दोहोरो ऋणको चेपाइमा जे पठाएकी थिई, साहूको मुखमा बुझो लागेको थियो ऋण बढ्न पाएको थिएन, त्यसैले फर्किनु भनिनँ ।”

“त्यो दिन घरमा एक्लै थिएँ, मालिक आइपुग्यो तर मालिक्नी आइन । हुन त लोग्नेस्वास्नी पनि सधैँ सँगै हुन्छन् भन्ने होइन, उन्नाइस बीस हुन्छ नै तर मेरो मन चिसो भयो । बिरानो त्यो बस्तीमा भाग्ने ठाउँ थिएन, सुनाउने भाषा थिएन, अझ सुनिदिने मान्छे त कोही पनि थिएन”–अतीततिर डोहो¥याई आशाले –“मालिकले पकवान र मिष्टान्नको आदेश गरिरह्यो, आफू भने सुरापान गर्न थाल्यो । म डराएँ, एक्कासि झम्टियो र च्याप्प समात्यो मलाई । घाँटीमा हात राखेर रेटेको सङ्केत गर्दै मुखमा औँला ठड्यायो । सायद बोलिस् भने काट्छु भन्ने सङ्केत गरिरहेको थियो ऊ । अस्मिता रक्षा मान्छेको प्राथमिकतामा पर्दाेरहेछ । भनिन्छ पनि ज्यान जावोस् इज्जत नजावोस्, उसको धम्कीको प्रतिकार गरँे मैले । आफ्नै भाषामा कराएँ, चिच्याएँ तर कोही आएन । शारीरिक रूपमा प्रहार गरँे तर मभन्दा बलियो थियो ऊ, किनभने ऊ पुरुष थियो म नारी, ऊ आफ्नो घरमा थियो, म उसको घरमा । भनिँदो पनि रहेछ आफ्नो घरमा स्याल पनि आफूलाई बाघ ठान्छ ।”

“उसले काट्न त काटेन तर … भो नसुन्नुस्… रक्सी र गुटखाको नमीठो गन्ध… झ्यालढोका लगाएको कोठा… उकुसमुकुस वातावरण… यमराज जस्तो मान्छे… अग्राख जस्ता हात पाखुरा… जुवाले रगेटेको गोरुको काँध जस्तो छाला… जरखरिएका काला ओठ… जगर जस्ता रौँ… फलाम जस्तो शरीर… भन्न सक्तिनँ म …कसैलाई नआवोस् त्यस्तो दिन… कसैले पनि बेहोर्नु नपरोस् त्यो क्षण ।” आवाज ठूलो पार्दै मुड्की बनाई र टेबुलमा हिर्काई । ड्वाङ्ङ आवाज आयो, झ¥यामझुरुम सिसा फुट्यो र उसको हातबाट रगत बग्न थाल्यो । सायद घरमा बाघ हुँदै थिई ऊ पनि तर एक्कासि डाको छोडेर पो रुन थाली । मैले अनुमान लगाए कुण्ठा बनेर बसेको क्रोधको ज्वाला आफ्ना र आफन्त देखेर दन्कियो होला ऊभित्र ।

मैले असितको अनुहारमा हेरँे ऊ पनि पग्लिन थालेछ । सायद सुनौलो सपना देखेर परदेशिन खोजेको उसको सोच, परिजनसितको बिछोडको पीडा, परदेशिन गर्नुपर्ने दौडधूप, खर्चबर्चको जोहो, विमान स्थलसम्मको यात्रा, विदेशमा पुनर्मिलन हुने अभिलाषा र स्वोदेश फिर्तीपछिको खुसी जीवनको कल्पनाका बीच परेको बज्रपातको कारण उसले पनि बुझेको थिएन ।

“अब भने म धेरै जसो”–ऊ बोल्न थाली– “दिनभरिको भ्याइनसक्नु काम, मालिक्नीको शारीरिक र मानसिक प्रहार, उसको आँखा छल्दै त्यो दुष्ट र कहिले त उसका साथीको पनि आक्रमण । न भान्छा न ओछ्यान, न साँझ, न बिहान, बस् त्यसकी स्वास्नीको आँखा छले पुग्थ्यो । दुईखुट्टे पशु थियो त्यो असत्ती । त्यस्ता पशुलाई…”– उसको अनुहार फेरि बिग्रियो । दाराकिटी, आँखा राता देखिए । “प्रकृतिले सृष्टि गर्छ, माटोले बीउ उमार्छ”– केही क्षण रोकिएर भन्न थाली– “नारी प्रकृति हो, सृष्टिमा सहभागी हुन्छे, नारी श्रष्टा हो सृजना गर्छे । मेरो शरीरमा परिवर्तन आउन थाल्यो । सृष्टि गर्दा श्रष्टा खुसी हुन्छन् तर मलाई भने जीवन सकिएजस्तो लाग्यो । मार्छन् कि फाल्छन् ? मर्नुभन्दा बौलाउनु निको भन्छन्, हात पसार्दै र भिक्षा माग्दै घर आइपुगेँ तर यहाँको पीडा…? कहाँ जाउँ म ? … को छ मेरो ? …कहाँ छन् मेरा मुटुका टुक्रा… एकझल्को पनि हेर्न पाएकी छैन ।” कहालिँदै उठी, चुल्ठो खुस्किएछ, छरिएको कपाल मिलाउन थाली, हातको रगत अनुहारमा छरियो । घाइते सिंहजस्तै देखिइ ऊ, कपाल मिलाउँदा मिलाउँदै रुन थाली र रुँदै सोफामा ढली । सायद आफ्नाप्रति आफन्तको दायित्व सम्झाइरहेकी थिई ऊ ।

मैले निधार नाडी छामेँ, पानी छम्किएँ, बिस्तारै उठी, पानी दिएँ र मल्हमपट्टी गरिदिएँ । “डाक्टरी जाँच गराएकी छौ ?”–“अहँ” उसले टाउको हल्लाई । मैले डाक्टर उपाध्यायलाई फोन लगाएँ, उसले सकारात्मक जवाफ दियो । एम्बुलेन्स बोलाएँ, आशा निस्किई । असितका आँखा उसका पछाडि लागे । “असित तिमी अस्पताल जान्छौ ?” ऊ बोलेन तर पुलुक्क मतिर हेर्दै उठ्यो मैले प्रतिक्रिया दिइनँ । मैले झ्यालबाट देखेँ– आशा पर सडकमा गाडी नजिक पुगेकी थिई, असित ढोकाबाट निस्कँदै थियो, सडक र ढोकाको बीचमा ठूलो समूह मेरो निर्णय पर्खेर बसिरहेको थियो ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments