‘नाना गो, हमहुँ भोज खाइल जेबै । हमर साथी सकुनके ओकर बाबा बोइकके लगेलै । हमरो जल्दी लचल्नँ ।’ आफ्नो साथी सुकुनलाई उसका बाबाले बोकेर भोज खान लगेको देखेर एक बालकले रुँदै कराउँदै आफूलाई पनि भोजमा सामेल गर्न अनुनय–विनय गरेको आवाज मेरो कानमा ठोक्किन आइपुग्यो ।

म एक कुनामा उभिएर भोजभातको दृष्य अवलोकन गर्दै थिएँ । बालरुवाइ बन्द भएन, अझ बढ्दै गयो । भोज स्थलमा सामेल भएका सबै बालबालिकाहरू खुसी थिए । के भएर रोएको रहेछ भनेर जान्ने मन भयो । त्यस दुःखी बच्चोवरपर नजर दौडाएँ ।

ऊ उत्तर–दक्षिण लम्केको डगरको पश्चिमी किनारमा रहेको पराले झुप्रोनेर उभिएको थियो । उसलाई पक्रेर एक वृद्ध घोसे मुन्टो लगाएर खडा थिए । छेवैमा गाई बाँध्ने किलो थियो । गाई भने खोलातिर चर्दै थियो ।

वृद्ध बच्चालाई फकाउने प्रयास गरिरहेका थिए । बच्चाकी आमा भने अर्कातिर फर्केर बाबियोको डोरी बाट्दै थिइन् । छोराको जिद्दी बढ्दै गएकोमा उनलाई चिन्ता थपिएको थियो । उनी घरिघरि टाउको उठाएर हेर्थिन् । केही बोल्न भने सकिरहेकी थिइनन् ।

वृद्धले धोतीको फेरोमा बाँधेको पोको खोले र चकलेट निकालेर हातमा राखिदिए र जिद्दी नगर्न सुझाव दिँदै भने, ‘बौबा, जिद नही कर । हमर–तोहर भोज नही छियै । दोसरसभके भोज छियै ।’

त्यो भोज आफ्नो हैन, अरूको मात्रै हो भन्ने कुरा त्यस बच्चाले के बुझ्थ्यो ! मुखमा चकलेट छँउजेल चुप रह्यो । चवाइसकेपछि फेरि भोज खान लग्नका लागि जिद्दी गर्न थाल्यो । वृद्धलाई सकस प¥यो । उनी बच्चालाई सम्झाउन सकिरहेका थिएनन् । बच्चामाथि हात उज्याएर तर्साउन चाहिरहेका पनि थिएनन् । सायद बच्चाको मनलाई अझ रुवाउन पनि चाहँदैनथे । त्यसैले छानामाथि केही घुसारेको छ कि भनी नियाल्न थाले ।

टाढैबाट पनि नियाल्न सकिन्थ्यो, उनको घरको छानाबाट पूरै घामजून देखिन्थे । ठाउँको ठाउँ टुक्रुक्क बसेर वृद्धले कन्पारामा हात लगाए । केही बेरपछि जमीन केर्न थाले । उता बच्चाको रुवाइ र जिद्दीपनले रुक्ने नामै लिएको थिएन । त्यसलाई भुल्न वुद्ध हरसम्भव प्रयास गरिरहेका थिए ।

हेर्दाहेर्दै र सुन्दासुन्दै अनायास मेरा गोडाहरू त्यस झुपडीतर्फ लम्केछन् । बच्चाको हात समाउन पुगेँछु । बृद्ध वाल्ल परेर हेरिरहे । उनकी अधबैँसे छोरी पनि छक्क परिन् । बच्चो रुन छाडेर ठूलो आसले मेरो अनुहारतिर हेर्न थाल्यो । केहीबेर कोही पनि बोलेनौँ । वातावरणमा पूरै सन्नाटा छाएको थियो ।

‘बाजे, यत्ति नजिकको मान्छे भएर पनि तपैँ किन भोजमा नजानुभा’को ?’ मेरो प्रश्नले उनलाई कुनै असर गरेन ।

‘आफूले नखाए पनि बच्चालाई त खुवाउनुस् । बच्चाको मनलाई मार्नुहुन्न । बच्चाको जायज इच्छा–आकांक्षालाई सम्बोधन गर्नुपर्छ । तब त हामी अभिभावक, नत्र केको अभिभावक ?’ उल्टै मैले नै प्रश्न राखेँ ।

त्यस  इलाकाभरिकै  गाउँलेहरू भोजस्थलमा आएका थिए । अलिक टाढाबाट हेर्दा भोजस्थल कुनै मेलाको भेलाजस्तो प्रतीत हुन्थ्यो । बस्नका लागि दरी ओछ्याउनेहरू ओछ्याउँदा थिए । पानी ओसार्ने ओसार्दा थिए ।

‘प्रसाद तयार भ’गेलै ! प्रसाद आ बैकुण्ठीके गाडी यत सँ चलगेलै !’ भोजन तयार भएको र बाँड्न सुरु गरिएको जानकारीे माइकबाट दिने काम भइरहेको थियो ।

हातहातमा लोहोटा लिएर बुढापाका मानिसहरू एउटा लाइन बसेका थिए । अर्को लाइनमा स–साना बालबच्चाहरू मात्रै थिए ।

कण्ठा बाहुनहरू, वैष्णवहरू र अन्य शाकाहारीहरूको समूह अलग्गै थियो । पछि बनेको लाइनमा भने बालक, किशोर र वृद्धहरू मिसिएर बसेका थिए । गाउँका दलित भनिएका समूहहरू पनि बेग्लाबेग्लै समूह बनाएर बसेका थिए । ंं

भोजमा सामेल हुनेहरूको भीड बढ्दो थियो । काम गर्नेहरूलाई भ्याइनभ्याई थियो । वरपरका रमित हेर्नेहरू कम्मरमा हात लगाएर हेर्दा थिए । मानिसहरू भोज खानका लागि पात बाँडिरहेका थिए । त्यस बालकका साथीहरू भोज खानका लागि आउन इशारा गरिरहेका थिए ।

‘म पनि अभिभावक नै हुँ । हिँड बाबु, म तिमीलाई भोज खुवाउँछु । आनन्दले खाएर खाऊ !’ मैले बालकलाई डोहो¥याउँदै भने ।

वृद्ध हेरेका हे¥यै भए । मेरा कुरा सुनिरहे मात्र । जवाफ फर्काउने नाममा एक वाक्य पनि चुहाएनन् । म छक्कै परेँ ।

बच्चालाई उसका साथीहरूसँगै लगेर बसाइदिएँ । खाना खान पात समेत दिलाइदिएँ । र, खाएर घर आउन अह्राउँदै म वृद्धकहाँ पुगेँ । उनी गहभरि आँसु पारेर बसेका रहेछन् । म पुनः पुग्नासाथ उनले फिस्स हाँसे तर केही बोलेनन् ।

‘बाजे, अघि सोधेको मेरो प्रश्नले जवाफ पाएन त ! तपाईं अनगिन्ती पीर–व्यथा च्यापेर बसिरहनु भएजस्तै लाग्यो । केही त बोल्नुस् । मन खोल्दा पनि मन हलुको हुन्छ । मनमा कुरा पकाइरहे, आफैँलाई समाल्न गाह्रो हुन्छ । मनोरोगी भइन्छ र चाँडै चिताको बाटो देखिन्छ ।’ म नै अघि सरेर बोल्दो भएँ ।

उनी मेरा कुरा ध्यान लगाएर सुन्थे तर बोल्न भने पछि पैसा पर्छ जस्तो गर्थे । मैले नाना थरीका कुरा भनेर उकासेँ । ढुङ्गो बोल्ला तर वृद्ध बोलेनन् । अघि बालकसँग बोल्दाखेरी आवाज त सुनेकै हो । अहिले मैले जति घच्घच्याउँदा पनि उनी नबोल्दा रिस उठ्यो । र, उठेर हिँड्नका लागि गेट बाहिर निस्किएँ ।

म सप्तकोशी किनारदेखि १० कोस पश्चिम  लोकराजमार्गमा  टाँसिएको खरचुहिया बजार नजिकको गाउँमा आइपुगेको थिएँ । भोजमा सामेल हुन मौखिक निम्तो आएको थियो । सामाजिक कार्यकर्ताको हैसियतले त्यस्ता सभाभोजमा सामेल हुनु आफ्नो कर्तव्य नै ठानेको थिएँ । टाढाटाढाबाट थरीथरीका निम्तालुहरू आउने र भेटघाट हुने हुनाले पनि मेरालाई भोजले विशेष अर्थ राख्दथ्यो ।

त्यसैले पनि म भोज भनेपछि निम्ता पाउनासाथ पुगिहाल्थेँ । मान्छेहरूको चालढाल नियाल्थेँ । चाम्रो पेटमा आएका मान्छे हावा भरिएको भकुण्डो जस्तो पेट बनाएर उठ्दा उनीहरूलाई भन्दा बढता मलाई आनन्द लाग्थ्यो । अझ भोजपछिका उनीहरूका रसिला संवाद सुन्न र त्यो खुसी टिप्न पाउँदा मन आनन्दित हुन्थ्यो । थरीथरीका मानिसका अनेक थरीका समस्या सुनेर र बुझेर सामाजिक क्षेत्रमा कार्य गर्न स्रोत मिल्दथ्यो ।

म थरीथरीका कुरा खेलाउँदै त्यहाँको माहोल निरीक्षण गर्दो थिएँ । बालक जुठै हात दगुर्दै आयो । उसकी आमा चाहिँले हात धोई दिइन् । बालकलाई काखमा राख्दै वृद्धले हँसिलो मुहार बनाए । र, भोज कस्तो लाग्यो भनेर जान्नका लागि सोधे, ‘बौवा, खेलही त ! केहेन लागलो भोज ?’

यसो भनिरहँदा उनको अनुहारमा अर्कै चमक थियो । खुसीसाथ बालक काखमा बसेपछि उनले मलाई बस्ने पिरा दिन अह्राउँदै छोरीसँग भने, ‘दाइगे, मेहेमानके बजाके बैठकी देही न । गफ करबै । बाहरमे खडा छौ ।’

नभन्दै छोरी मकहाँ आइन् । उनले बोल्न नपाउँदै म स्वविवेकले चुपचाप गएर वृद्ध नजिक पिरा तानेर बसेँ । यस पटक पनि वृद्ध मुस्कुराए मात्र तर निकैबेरसम्म पनि बोलेनन् ।

केहीबेर पछि मैले नै मुख खोलेँ, ‘हैन बाजे, तपाईं कस्तो मान्छे ! गफ गर्न बोलाउनुहुन्छ तर केही पनि भन्नुहुन्न । कि मलाई  कतैबाट  आएको  फटाहा सम्झनुभएको !’

यस पटक पनि वृद्ध टोहोलाए मात्र । बच्चो खुसी हुँदै दलानमै गट्टा खेल्न थाल्यो ।

‘म त पल्लो गाउँको ठिटो हुँ । प्रायः सदरमुकाम राजविराजतिरै रहन्छु । त्यसैले मलाई नदेखेर नचिन्नु भएको होला । यहाँ सुशील चौधरीकहाँ भोज खान आएको हुँ ।’ मैले आफ्नो वास्तविकता खोल्न खोजेँ तापनि वृद्ध चुप नै रहे ।

‘म मान्छेलाई पीडा थप्न होइन, मान्छेको पीडा कम गर्दै हिँड्ने मान्छे हुँ । म तपाईंको पीडा बुझेर खिल्ली उडाउन आएको हैन । समाजलाई खबरदारी गर्ने खुराक मिल्छ कि भनेर भलाकुसारी गर्न आएको !’ यस पटक मैले अझ खुलस्त कुरा राख्ने साहस गरेँ ।

उनले मलाई हेरिरहे मात्र । म भन्दै गएँ, ‘विश्वास गर्नुस् बाजे, मबाट आफ्ना बाबु–हजुरबाजस्ता मान्छेको अन्तस्करण चिमोट्ने काम कदापि हुन्न ।’

मैले जति फकाए पनि कुनै प्रतिक्रिया नदेखाएकाले अलिक झर्केर भनेँ, ‘नबोले नबोल्नुस् । आइन्दा आसचाहिँ नदेखाउनुस् । यी पहिलेका मान्छे, अहिलेका मान्छेलाई विश्वासै गर्दैनन् । र, पो समस्या बढ्दो छ । आफ्नो जिद्दीमा अडिरहन्छन् । र, पो समाजमा कहिल्यै परिवर्तन आउँदैन । आफ्नो मात्रै मनोकाङ्क्षाकोे कदर होस् भन्ठान्छन् । र, पो समाज पनि एकलकाँटे बन्दैछ ।’

म उठ्न खोजेँ । वृद्धले हात समाएर बसाए । र, भने, ‘म जयलालको घरमा चिया पिउन सक्छौ, बाबू ?’

‘किन नसक्नु । भातै खुवाए पनि खान्छु । घरभित्रै पस् भने पनि खुसीसाथ पस्छु ।’ मैले पनि खुसीसाथ तत्कालै जवाफ फर्काएँ ।

कुरै कुरामा चिया पनि आयो । म चियाको चुस्की लिन थालेँ ।

वृद्ध भट्याउन थाले, ‘के कुरा गर्नू बाबु ! तिमी त मेरी छोरीको उमेरका रहेछौ । दुःख–पीडा, अभाव र दरिद्रताको मेलोमेसो नै थाहा पाएका छैनौ क्यारे । हामी बूढा पुस्ता अलिक बाङ्गा छौँ । हत्तपत्त आफ्नो दुःख बिसाउन चाहँदैनौँ । आफ्नो दुःखले अरू कोही पनि दुःखी नहोऊन् भन्ने ठान्छौँ । फेरि मेरो दुःख सुनिदिन कोही पनि मेरो घरदलानमा आएको थिएन । तिमीजस्तो जिद्दी गरेर कसैले पनि अडान लिएको थिएन ।’

मैले भन्न अनुरोध गरिरहे । उनी बिस्तारैबिस्तारै खुल्दै गए । भन्दै गए, ‘मेरी फूलकुमारी पाँच वर्षअघि मरी । विचरीले मसँग बिहे गरेर कुकुरले नपाएको दुःख भोगी । बाँचुञ्जेल गधाझैँ जोतिई । भेटेका दिन पेटभरि खाई । नभेटेको बेला पानी मात्र पिएर सुती । कहिल्यै कुनै गुनासो गरिन । मसँग बिहे गरेर जीवनमै भूल गरेँ भनेर कहिल्यै पछुताइन् ।’

यसो भनिरहँदा वृद्धले मुन्टो बटारे र आँखाको आँसु पुछे । ख्याक्क खोके र जुठ्यानतिर थुके । म भने चुपचाप सुन्दो र नियाल्दो भएँ ।

‘ऊ समाजसँग कठोर थिई । जुझारु प्रवृतिकी थिई । कसैको धाक र धम्कीले गल्दिनथी । समाजले घर वरपर बाँसले बारिदिँदा पनि झुकिन । सयौँको सङ्ख्यामा गाईमाल ल्याएर दलान टेकाइदिँदा पनि यो ठाउँ छाडिन । अज्ञात मानिसहरू आएर घर जलाउन खोज्दा खुकुरी लिएर छोपी । कहिल्यै डरले खुट्टा कपाइनँ । बरू आँसु पिएर बाँची तर एक घैला पानी देऊ न भनेर कसैकहाँ हात फैलाइन ।’

बोल्दाबोल्दै वृद्धले फेरि गहभरि आँसु पारे । जुरुक्क उठे र खोलातिर गए । मन स्थिर भएपछि केहीबेरमै पुनः फर्के ।

आफ्नो भनाइलाई जारी राखे, ‘के सुन्छौ बाबु । मसँग भन्ने कुरा नै के छ र ! तिमीहरू आजका युवाले पाठ सिक्ने कुरा नै के होला र ! मन खोल्न खोजे भक्कानिन्छ । फूलकुमारीले थेगेको पीडाको पहाडले अहिले म स्वयम् थिचिएको छु । ऊ छउञ्जेल मैले कुनै दुःख गर्नु परेन । दिनभरि उः परको गाउँमा पस्यो, घरेलु कामकाज गर्दियो । पाएको बनी ल्याएर उसकै जिम्मा लगायो । खोलामा गएर कुवा खन्यो । त्यहीँको पानीले काम चलायो । यस्तै थियो त्यसबेला । अहिले पनि उस्तै छ ।’

म छक्क परिरहेको थिएँ । प्रश्न सोध्न सकिरहेको थिइनँ । उनी नै धाराप्रवाहरूपमा भट्याउँदै गए, ‘हामीले अन्तरजातीय विवाह ग¥यौँ भनेर हाम्रै आँगनमा यस क्षेत्रको बैठक बस्यो । दण्डस्वरूप हामीले क्षेत्रभित्रका सात गाउँका सबै जातजातिलाई क्षेत्रीय भोज खुवाउनुपर्ने भयो । त्यसलाई यतातिर प्रगाना भोज भन्छन् । त्यत्तिले पनि नपुगेर समाजलाई सात हजार नगद दण्ड तिर्नुपर्ने भयो ।’

वृद्धको कथन थियोे– म केही पनि बोल्न सकिरहेको थिइनँ । सभामा ऊ नै अघि सरेर भन्न थाली, ‘ए समाजकांंंं भद्रभलाद्मीहरू ! म हात जोडेर विन्ती बिसाउँछु । हामीलाई आर्थिक दण्ड नदिइयोस् । म छुत मानिएकी फूलकुमारी गोइत र उनी अछुत मानिएका जयलाल मोचीले बिहे गरेर समाजमा पुरस्कार पाउने काम गरेका छाँै । हामीलाई पुरस्कार नदिए पनि सडकछाप नबनाई दिनुस् । यत्रा सारालाई भोज खुवाउँदा खुवाउँदै र सात हजार नगद दण्ड तिर्दातिर्दै जयलालले पाउने अंश पनि सिद्धिन्छ । अनि हामी न घरका हुन्छाँै, न घाटका नै रहन्छाँै । तसर्थ फेरि पनि विन्ती बिसाउँछु– हामीलाई यत्तिमै छाडिदिनुस् । आनन्दले गरी खान दिनुस् । हामीलाई पनि समाजको एउटा अंश ठानिरहनुस् ।’

वृद्धका गफ सकिएका थिएनन्– मैथिल समाजमा पुरुषहरूको सभामा आएर नारीले आफ्ना कुरा राख्नु आफैँमा एउटा अपूर्व कदम थियो । फूलकुमारीका कुरा मन पराउने मान्छेहरू न्यून भए । विपक्षमा बहुमत भयो । तिनै विपक्षीमध्ये अँगारमुखे बूढो कुर्लियो, ‘ए फूलकुमारी नानी, तिमी नारी भएर पुरुष सभामा ठूलो बोली बोलेको सुहाएन । गल्ती गरेपछि समाजले जे भन्छ, अक्षरशः पालना गर्नु तिमीहरूको कर्तव्य हुन आउँछ ।’

अरू सुनिरहे अँगारमुखे बूढो अघि भन्दै गयो, ‘समाजले जे तोक्यो, तोक्यो । अपराधको तुलनामा एकदमै न्यूनतम दण्ड तोकेको छ । जोईपोइ मिलेर चाँडो काम सुरु गर । तिमीहरूको कल्याण यसैमा छ । नत्र समाजले तिमीहरूलाई बहिष्कार गर्छ । गाउँमा बस्न त के गाउँमा पस्न समेत मनाही गर्न सक्छ । समाजका हरेक गतिविधि र सुविधाबाट सदाका लागि बञ्चित गर्न सक्छ । समाजको सदस्य हैन, समाजको दुश्मन ठान्न सक्छ ।’

सुनाउँदासुनाउँदै वृद्ध रातापिरा भए तर बोल्न छाडेनन्– अँगारमुखेका कुरा सुनेर म नै अघि सरेँ । र, भनिदिएँ, ‘म बाध्यताको भोज खुवाएर समाजमा कुसंस्कृतिलाई मलजल गर्न चाहन्नँ । अशोभनीय आर्थिक दण्ड तिरेर भावी पिँढीको नजरमा गद्दार बन्न सक्तिनँ । बरु शारीरिक श्रम गर्ने खालको दण्ड दिनुस् । बाटो खन्न, चौतारो बनाउन वा त्यस्तै प्रकृतिका सार्वजनिक काममा दलाउनुस् । बरु त्यस्ता काममा निःशुल्क खट्न तयार छु तर आफ्नो अन्तस्करणलाई लात हानेर अराजक नीति सामु घुँडा टेक्न राजी छैन ।’

वृद्धले अनुहारमा हात पु¥याए, दुबै आँखा मिचे । र, धाराप्रवाह शैलीमा भन्न थाले–  सभाले  मेरा  कुरा  मानेन । फूलकुमारीका कुरामा पनि बहस गरेन । एकै छिनमा निर्णय सुनायो– जयलाल र फूलकुमारीले अन्तरजातीय विवाह गरेर समाजका नीतिनियम कुल्चने काम गरे । समाजले तोकेको सजाय लत्याएर उल्टै आफ्नो मनोकाङ्क्षा लाद्ने प्रयत्न गरे । तसर्थ यी दुबै नवदम्पतीलाई आजका मितिदेखि लागू हुने गरी समाजका हरेक गतिविधि र सुविधाबाट बञ्चित गरी गाउँ निकाला गरिने निर्णय सर्वसम्मतिले पारित गरियो । निजहरूलाई पुर्खौली सम्पत्तिबाट बेदखल गर्न जयलालका पिता हरेलाललाई यो समाज आदेश दिन्छ । समाजका कुनै सदस्यले पनि निजहरूलाई सहयोग गरे उसको पनि तत्कालै सोही प्रकृतिको सजाय दिलाउने बेहोरा सरोकार वर्गलाई सुचित गरिन्छ ।

उनको बोली बन्द भएन– हेर बाबु, हामी आफ्नै परिवार र समाजका हरेक सुविधाबाट बञ्चित भयौँ । सबैले हामीलाई असहयोग गरे । यहाँसम्म कि किराना दोकानमा समेत हाम्रो पैसा चलेन । खानेपानी लिन खोला धाउनुप¥यो । दिशापिसाब फेर्न एककोश टाढाको सरकारी जङ्गल पुग्नुप¥यो । कसैको खेत टेक्न पनि पाइएन । डगर किनाराको ऐलानी जग्गामा झुप्रो उभ्याउनुप¥यो । काम गर्न पाँच कोस टाढाको गाउँ पुग्नुप¥यो । मर्दापर्दा गुहार गर्दा पनि सुनिदिने कोही भएनन् । सिर्फ, एक्लो, फगत एक्लो भएर रहनुप¥यो ।

म अगस्त्यमुनिले जस्तो ध्यानले सुनिरहेको थिएँ । उनी कुमारजीले जस्तो एकोहोरो आफ्नो विगतको बेलिविस्तार लगाइरहेका थिए । भन्दै रहे– छोरी जन्मी । धेरैपछि छोरो जन्मियो । उनीहरूलाई पनि समाजका अरू केटाकेटीसँग खेल्न दौडनबाट बञ्चित गरियो । स्कूल पढ्न पनि दिइएन । छोरीलाई घरमै कखरा सिकाएँ । छोरालाई भने धरान लगेर अक्षर पाठशालामा बोर्डस गरिदिएँ । कहिलेकाँही भेट्न जान्छु । यो अपराधी समाजको हावाले पनि मेरो छोरालाई नछुओस् भनेर तन काटेर खर्च बेहोरिरहेको छु । उसैले एक दिन यस समाजलाई पाठ पढाउला भनी आस गरिरहेको छु ।

‘फूलकुमारीको निधन कसरी भयो, कसैले सहयोग गरे वा गरेनन् ?’ मैले जान्न चाहेँ ।

उनले  अनुहार  बिगारेर  भने, ‘फूलकुमारीको साँझमा प्राण गयो । गाउँलेहरूसँग हारगुहार मागेँ । रातभरि चिच्याएँ, रोएँ, कराएँ । गाउँलेहरूले थाहा पाए तर सहयोग गर्न र शान्तवना दिन कोही पनि आएनन् । भोलिपल्ट आँगनमा लासलाई गुन्द्रीले छोपेर त्यत्तिकै छाडी मलामी जान गाउँलेहरूलाई घरघर गएर खबर दिएँ । पाँच घण्टा पर्खें तर कोही आएन । एक्लै काँधमा लास बोकेँ । देब्रे हातले कोदालो पक्रिएँ । र, खोलामा लगेर रुँदै गाडेर आएँ ।

उनले रुन्चे स्वरमा भनिरहे– घरमा आइपुग्दा शून्य थियो, ह्वाङ्गै थियो । भित्र भुस्याहा कुकुरको रजाइँ थियो । भएकी यही एउटी छोरीको पनि दश कोस टाढा बिहे भएको थियो । त्यस बेला ऊ आफ्नै घरमा थिई । अहिलेको जस्तो मोवाइलको जमाना थिएन । गाउँघरतिर टेलिफोनको सुविधा हुने कुरै आएन । उसलाई खबर दिन आफैँ जानुपथ्र्यो । जान सकिनँ । अन्तिम घडीमा आमाको मुख पनि देखाउन नसकेकोमा पछुतो भइरह्यो ।

उनले चेतावनी दिँदै भने, ‘हेर बाबु, मैले मनपेट दिएँ । म अझै गाउँको घेराबन्दीभित्र थुनिएको छु । मैले नातिलाई भोज खुवाएको हुँदो हुँ त, गाउँलेहरूको लात भेट्ने थिएँ । नैतिकता बेचेर म लुच्चो बन्न कदापि चाहन्नँ । मेरो दुखेसोलाई आधार बनाएर कसैले खिल्ली उडाएको सुन्न पनि चाहन्नँ । समाजमा मेरो पशुको दर्जा छ, तर तिनै अत्याचार लाद्नेहरू मेरा अगाडि जम्ला हात गरेर खडा भएको हेरेर मर्ने मन छ ।’

वृद्धले कुरो सके । म भने गह्रौँ मन बनाएर उठेँ । भोजै नखाई घरतिर फर्कन लागेँ । बाटामा सुशीलसँग जम्काभेट भयो ।

उसले मलाई रोक्दै भन्यो, ‘तपाईं त जयलालका घरमा निक्कैबेर अलमलिएर खाली पेटै हिँड्न लाग्नुभयो त ? जयलालकै पाहुनाजस्तो पो हुनुभयो त ! जाऔँ, खान बसौँ ।’

मैले खान मन नभएको जनाउ दिएँ । उसले कर गरिरह्यो । म हिँड्न खोज्दा हात समाउन आइपुग्यो ।

एक्कासी सोध्न पुगेँछु, ‘केका लागि भोज गरेको ?’

‘पितृको उद्दारको लागि, सन्तानको कर्तव्य पूरा गरेको ! पुन्य कमाउन सभाभोज गरेको !’ उसले जवाफ दिएर मलाई सन्तुष्ट पार्न खोज्यो ।

मैले तत्कालै अर्को प्रश्न राखेँ, ‘हामी कोसौँ, कोस टाढाका मान्छेलाई चाहिँ तपाईंहरू बोलाएर एक छाक खुवाउँदा पुन्य कमाएको महसुस गर्ने ! नजिकैको छिमेकी जयलाललाई चाहिँ पच्चीस वर्षदेखि मर्नु न बाँच्नुपार्ने ? उसका घरका अबोध बच्चालाई रुवाएर सभाभोजको नाटक मञ्चन गरी पुन्य आर्जनको सस्तो ढोँग रचेको मलाई मन परेन ।’

‘त्यो दलित हो । त्यसले अपराध गरेको थियो । र, सजाय पाएको हो । समाजले गरेको बन्देजलाई मैले पनि स्वीकार गर्नैप¥यो । त्यसमा तपाईं मन नदुखाउनुस् । म चाहेर पनि जयरामलाई भोजमा सामेल गराउन कदापि सक्दिनँ । एउटाको कारण यत्रो भोज बिगार्न सक्दिनँ । यो प्रसङ्गलाई यहीँ बिट मारौँ । तपाईंको मनमा चोट लागेकोमा क्षमा माग्छु । कृपया अब खाना खान जाऔँ ।’

मैले प्याच्च भनिदिएँ, ‘जसका कोही छैनन्, जो धेरै दिनदेखि भोकै छ, जो खान लगाउन सकिरहेको छैन, त्यसलाई खुवाए पो पुन्य आर्जन हुन्छ त ! हामी पुगिसरी आएकालाई खुवाएर कहाँ पितृ खुसी हुन्छन् र ! अबोध बच्चाको मन खुसी तुल्याउन सके पो उनीहरूको मुहारको हाँसो देखेर पितृदेव पनि प्रसन्न हुन्छन् त ! तसर्थ सामाजिक निषेधको रेखा कोर्ने कुनै भोज मैले खानुछैन । कृपया, जिद्दी नगर्नुहोस् ।’

सुशीलले निक्कैबेर गम खायो । र, डराएको मन बनाउँदै मेरो कान नजिक आफ्नो मुख लगेर भन्यो, ‘हजुरले भनेका कुरा ठीकै हुन् । म कसैले थाहा नपाउने गरी खानेकुरा जयलालकहाँ पु¥याइदिन्छु । ऊ घरमै परिवारसँगै बसेर खान्छ, हुन्न ?’

मैले केही बोलिनँ । मात्र मुन्टो हल्लाएर स्वीकारोक्ति जनाएँ । ऊ गयो । म भने नजिकैको फलँैचामा बसेर मानिसहरूको आवतजावत हेरिरहेँ । कसैसित बोल्ने मन पनि मरेर आयो । मेरो मन जयलालको पीडा वरपर नै अल्झिरह्यो ।

निकैबेर पछि सुशील मकहाँ आयो र सुस्तरी भन्यो, ‘सुरुमा त जयलालले खानेकुरा लिनै मानेन । उल्टै रिसायो । खिल्ली उडाउन आएको भनेर मेरै बेइज्जत गर्ने कुरा वतायो । मैले तपाईंसँग भएका सारा कुरा बताएपछि अलिक मत्थर भयो तर खानेकुरा लिन चाहिँ अस्वीकार गरिरह्यो । म साह्रै अप्ठ्यारामा परेँ । खाना फर्काएर ल्याउन पनि सकिनँ । उसले कराएर अरूले थाहा पाए म समेत समाजबाट बहिष्कृत हुनुपथ्र्यो । केही बेर पछि हात जोडेर भनेँ– जयराम, मेरो इज्जत बचाई दे । म तँसँग माफी माग्छु । मबाट तँलाई अप्रत्यक्ष सहयोग रहने छ । पहिले पनि तँमाथि गरिएको समाजको अभद्र व्यवहार मलाई मन परेको थिएन । अब मेरा आँखा खुलिसकेका छन् । खानेकुरा स्वीकार गरेर मलाई पुन्यको भागी बना । म फेरि विन्ती गर्छु ।’

सुशील भन्दै गयो– उसले मानेकै थिएन । उसकी छोरीले मान्न दबाब दिई । आमासँग लागेर नातिले पनि मान्न भन्यो । ऊ बाध्य भयो । त्यही मौकामा मैले समाजको अङ्कुश खुकुलो पार्न आफ्नो तर्फबाट दबाब दिने कुरा सुनेपछि ऊ प्रसन्न भएर स्वीकार ग¥यो । र, भन्यो– मलाई तपाईंका कुरामा विश्वास छ । हाम्रो अनुकूल समय पनि एक दिन अवश्य आउँछ ।

त्यसपछि सुशीलले मलाई भोजमा बस्न आग्रह ग¥यो । मैले हात जोडेर भने, ‘माफ गर्नुस्, मैले मृतभोज खान छाडेको बाह्र वर्ष भइसक्यो । म आएँ, हेरेँ, तपाईंसँग आफ्ना कुरा राखेँ । मेरा विचारबाट प्रभावित भई जयलालकहाँ पुग्नुभयो । उसको आर्तनाद गरिरहेको मनलाई सम्बोधन गरी मलहम लगाइदिनुभयो ।’

ऊ छक्क परेर मुख बाइरह्यो । म भन्दै गएँ, ‘मेरा कुरा मान्नुभयो । म आभारी छु । तपाईंका कुरा कुल्चन पुगेँ, क्षमा गर्नुस् । हैन, खानैपर्छ भनेर अडान लिनुहुन्छ र बाह्र वर्षदेखिको मेरो वाचा तोड्नुहुन्छ भने भन्नुस् । म हितैषीको चित्त बुझाउन मुन्टै अर्पण गर्न पनि तयार छु ।’

मेरा कुरा सुनेर उसले ‘पर्दैन, पर्दैन’ भनेर हात र मुन्टो एकै साथ हल्लायो । मेरो मन ढक्क फुलेर आयो । उसले ‘किन भोज नखाने बाचा गरेको ?’ भनेर सोधेजस्तो लाग्यो ।

म नै अघि सरेँ, ‘मान्छे मर्दा दुःखको अनुभव हुन्छ । भोज भनेको उत्सवको प्रतिफल हो । मान्छे मर्नु र त्यसकै उपलक्ष्यमा भोज खानु र खुवाउनु मिल्दो कुरा होइन । हामी नेपालीहरूको आर्थिक हैसियत कमजोर छ, भोज गर्दा ऋण लाग्छ । शोकले पीडितलाई ऋण बोकाउनु किमार्थ उचित होइन । तसर्थ कसैले पनि मृतभोजको आयोजना नगरून्, ऋणको भारी बोकेर अझ पीडित नबनून् । र, मृतभोज गर्न प्रोत्साहित नहोऊन् भनेर मैले नखाने निर्णय गरेको हुँ ।’

ऊ अझै बोल्न सकेको थिएन । म नरुकी अघि भन्दै गएँ, ‘मान्छेलाई नखुवाई पुन्य आर्जन हुँदैन भन्ने लाग्छ भने पितृकै नामबाट वृद्धाश्रम, अनाथालय वा त्यस्तै सामाजिक संघसंस्थालाई सकेको दान गर्दा राम्रो हुन्छ । कुनै सामाजिक कार्यमा लगानी गरे अझ उत्तम हुन्छ ।’

सुशीलले नबोलीकनै मलाई बिदा ग¥यो । पेट भोको भए पनि जयलालले राहत भेटेको र सुशीलको मन फर्केकोमा मेरो मन असाध्यै खुसी भयो ।

म फर्केर जयलालकहाँ गएँ । उनी खुसी देखिन्थे । छोरीको मुहारमा समेत प्रसन्नता छाइरहेको थियो ।

मलाई पुनः देख्नासाथ उनले लामो श्वास फेरेर भने, ‘सुरुआतमा परोक्ष नै सही, सुशीलझैँ मानिसहरू थपिँदै गए म अवश्य लक्ष्यमा पुग्ने छु । र, फूलकुमारीको इरादालाई गन्तव्यमा पु¥याउने छु । भेदभावको समूल नष्ट गरी समतामूलक समाज निर्माण गर्ने छु ।’

‘समय तात्तिँदै छ, अवश्य एक दिन तपाईंको आफ्नो दिन आउँछ । त्यसका लागि समाजमा सुशीलहरू जन्मँदै, हुर्कदै र फैलँदै जानुपर्छ । त्यो हाम्रै पालामा सम्भव छ !’ मेरा कुरा सुनेर जयलाल मन खोलेर हाँसे ।

उनकी छोरीले भनिन्, ‘म यत्री भएँ । बिहे भयो । छोरो जन्माएँ । बुबाले यस्तरी मन खोल्ने मौकै पाउनुभएको रहेनछ । आफ्नो मान्छे भेटे दिल खोल्नु हुँदो रहेछ । बेलाबेलामा तपैँ बुबालाई भेट्न आउँदै गर्नुस् है !’

म घर फर्कंदा पनि जयरामकी छोरीले भनेको त्यो शब्द गुञ्जिरह्यो– ‘आफ्नो मान्छे !’

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments