लाठे छोरोले डाँको छाडेर रोएको मैले सहनै सकिन । छाती नै चिरिएको पीडाबोध भयो मलाई । बालकलाई जसरी उसलाई मैले अँगालो हालें । तन्नेरी छोरोकी दुलही अर्कोतिर फर्केर रोइरहेकी थिई । रुवाईको कारण जान्न मैले दशौँ पटक सोधेँ छोरा बुहारीलाई तर दुबैले मुख खोलेनन् । मलाई डर लाग्न थाल्यो कतै कुनै ठूलै दुर्घटना त घटेन ? कतै पूर्ति नै हुन नसक्ने आर्थिक क्षति त भएन ? तर न त छोराले नै केही भन्यो, न तः बुहारीले नै मुख खोलिन् ।

श्रीमती बजारबाट फर्किएकी थिइनन् । त्यसैले फ्रिजबाट चिसो पानी ल्याएर छोराबुहारीलाई दिएँ । मैले पटक पटक रुवाइको कारण सोधेपछि बल्लबल्ल छोरो सजलले घोसेमुण्टो लाएर सुस्तरी भन्यो—“बाबा, हाम्रो सन्तान नहुने रहेछ ।” छोरोको कुरा सुनेर मेरो मनमा पनि गहिरो धक्का लाग्यो । सजल, मेरो एक्लो छोरो । उसकै सन्तान भएनभने मेरो वंश कसरी अगाडि बढ्छ ? मैले चारैतिर अध्यारोमात्रै देखें । केही बेरपछि मैले आपूmलाई बलैले सम्हालें ।

“काँ जँचाएका नि तिमेरले ? के भन्यो र रिपोर्टमा ?”—सजलको हात समाएरै मैले सोधेँ ।

“बसुन्धरा अस्पतालमा जचाएको, बाबा । सन्तान हुने सम्भावना छैन नै भन्छ डक्टरले ।“

“विज्ञानले धेरै प्रगति गरिसक्यो नि छोरो । किन चिन्ता गर्छस् ? देशदेखि विदेशसम्मका राम्रा डाक्टरहरूलाई देखाएर उपचार गरौँला । त्यत्तिले नि भएन भने सबरिनासँग सल्लाह गरेर तेरो अर्को विहे गरौँला नि । त्यस्तो अवस्थामा हामी सबरिनालाई बुहारीको रूपमा हैन बरु छोरासरह नै छुट्टै अंश पनि दिउँला ।” मेरो सान्त्वनाले पनि सजलको आँसु रोकिएको थिएन र मेरो कुराको उसले कुनै जवाफ पनि दिएन । त्यत्तिञ्जेलमा बजारबाट शर्मिष्ठा पनि आइसकेकी थिइन् । यथार्थ कुरा थाहा पाएपछि उनी पनि भक्कानिएर रुन थालिन् । सबैलाई समाल्न मलाई गाह्रो भैरहेको थियो ।

“चिन्ता नगर बुहारी, तिमीहरूको सन्तान भएन भन्दैमा हामीले तिमीलाई हेलाहोचो गर्दैनौँ । तिमीलाई बुहारी हैन छोरो बनाएर राखौँला तर समस्या कसमा देखियो ? ”— शर्मिष्ठाले सबरिनालाई सान्त्वना दिंदै सोधिन् । शर्मिष्ठाको प्रश्नले दुबै छोराबुहारी मौन भए । दुबै जनाले एकअर्कालाई हेराहेरमात्र गरिरहेका थिए । उनीहरूको मौनता हामीलाई असह्य भैरहेको थियो । अब भन्लान् छैन, तब भन्लान् छैन । दुबै जना मौन छन् । यो मौनतालाई मैले नै ता्दै सोधेँ—“ खै, तिमेरुले जवाफ दिएनौँ त । कमजोरी कसको रहेछ ? भनन, अब लाज मानेर र अप्ठ्यारो मानेर त भएन त । ”

“बाबा, सन्तानलाई जन्म दिनका लागि सबरिना पूर्ण सक्षम रैछिन् बरु म पो…।”— छोरोले वाक्य अधुरो छाडेर मलाई अँगालो हाल्यो ।—“ सरी बाबा, रियली सरी ।”

“लाटा, किन सरी भन्छस् ? यो तैंले चाएर भ’को हो र ? त्यो डाक्टरसँग भोलि नै समय मिला । तँ र म ग’ र फेरि एक पटक सल्लाह गर्नुपर्छ । फेरि पनि सकारात्मक जवाफ आएनभने दिल्ली वा बैंकक काँ’ हुन्छ, जानुपर्छ । भो तिमेरु धेर पीर नगर ।”

भन्न त मैले भनेँ र छोराबुहारीलाई सम्झाएँ तर मेरो मनलाई कसले सम्झाई दिने ? नातिनातिना खेलाउन हतारिएको शर्मिष्ठाको हजुरआमा मन र हजुरआमा भएर नातिनातिनासँग रमाउने चाहनालाई नियन्त्रणमा राख भनेर शर्मिष्ठालाई कसले सम्झाई दिने ? आज साँझ चुलो चिसै रह्यो । हामी कसैलाई केही खाने इच्छा नै थिएन । काम गर्ने देशी केटो ललनवालाई शर्मिष्ठाले केही बनाएर खाओ भनेर अराइन् । अाँसु त हामी दुई बुढाबुढीको आँखाबाट हैन मनबाट बगिरहेको थियो । सन्तान नै भएनन्भने जिन्दगी गालेर मैले कमाएको यत्तिको सम्पत्तिको उत्तराधिकारी खै त ? टाउको दुखेर मलाई बान्ता होलाहोलाभैmँ भयो । छोरोको सन्तान भएनन् भने एकातिर उत्तराधिकारीको अभाव अर्कोतिर समाजले थाहा पायो भने सजललाई सबैले हेय दृष्टिले हेर्ने समस्या । आफ्नो प्राणभन्दा प्यारो छोरो । प्राणभन्दा प्यारो गरेर हुर्काएको एक मात्र छोरोले बिना कारण समाजको व्यङ्ग्यवाण सुनेको म कसरी सहन सकुँला र ?

हाम्रै समाजमा आमाबाबु नभएका कत्ति केटाकेटी हुन्छन् तिनैमध्ये एक जनालाई ल्याएर राम्रोसँग लालनपालन ग¥योभने उसको पनि जिन्दगी सप्रिने हाम्रो पनि सन्तानको चाहना पूरा हुने हो । तर यो विकल्पको बारेमा शर्मिष्ठाले मान्नुको के कुरा, उनले यो विकल्पलाई सुन्नै चाहन्नन् भन्ने मलाई रामैसँग थाहा छ । सजलले पनि यो विकल्पलाई स्वीकार गर्ने छैन । के त्यसोभए मेरो वंश अगाडि बढाउन कसैको वीर्य सापटी लिनुको विकल्प छैन त ? धत्, मैले आफ्नै मनलाई हकारेँ । कति अगाडिसम्मको सोचेको मेरो मनले, पहिला डाक्टरसँग सल्लाह त गरौँ । त्यसपछि पनि भएनभने विदेशका नामी डाक्टरहरूसँग पनि जचाउँला नि ।

”शर्मु, भो पीर नगर । सबै सम्भावना सकिएका छैनन् । प्रयास गरौँ, केई न केई समाधान कसो ननिस्केला त ? भो, अब सुतौँ ।” हामी सुत्दा पनि छोराबुहारीको कोठाको बत्ती बलिरहेको थियो ।

भोलिपल्ट त्यही रिपोर्ट दोहो¥याएर डाक्टरलाई देखाइयो । दोहो¥याएर तेह¥याएर पनि अन्य डाक्टरहरूसँग पनि जाँच गराइयो । तर परिणाम आशा गरेजस्तो आएन । दिल्ली गइयो । बैङ्कक पनि गइयो । तर जवाफ नेपालमा भन्दा फरक आएन । सन्ताको रूपमा कुनै अनाथ बच्चालाई घर ल्याउने सन्दर्भमा कोही तयार भएनन् । सन्तान प्राप्तिका लागि अब कसैको वीर्य सापटी लिनुको विकल्प थिएन । यस सन्दर्भमा पनि डाक्टरसँग पटक पटक सल्लाह गरियो । डाक्टरको सुझाव पटक पटक सुनियो । तर अरू कसैको बीर्य सापटी लिने कुरा सबरिनालाई मन परेन । को हो को हो नचिनेको मान्छेको सन्तान कसरी आफ्नो शरीरमा हुर्काउनु भनेर सबरिना तयार नै भइनन् । अब के गर्ने त ? सम्भावित विकल्पमध्ये घरका सदस्यहरू मध्ये कसैलाई कुन मन नपर्ने त कसैलाई कुन मन नपर्ने । नभएको र नदेखेको विकल्प खोज्न कता जाने त ? जत्ति पटक सामुहिक छलफल गरे पनि कुनै समाधान निस्कन सकेन ।

एक दिन शर्मिष्ठाको प्रस्ताव सुनेर मेरो अगाडि हजारौँ बम पडकियो ।

“तिमी होसमा त छ्यौ शर्मु ? यस्तो सोचाइ पनि तिम्रो दिमागमा कसरी आयो ?”

“तपाईंको वंश चलाउनका लागि योभन्दा अर्को विकल्प नै छैन । त्यसैले यो विकल्पमा तपाई राजी हुनुको अर्को विकल्प छैन ।”— शर्मिष्ठाले वाइनको चुस्की लिँदै भनिन् ।”— यसमा मेरो वा तपाईंको रहर वा इच्छाको कुरा हैन । हामीलाई सधैँ एउटै कुराले लखेटिरहेको हुन्छ— यो समाजले के भन्छ भनेर । त्यसैले हामी हाम्रो चाहना, रहर वा इच्छालाई मारेर भए पनि समाजले के भन्छ भन्ने कुरामा ध्यान दिइरहेका हुन्छौँ । हिजोका दिनमा तपाईंले मेरो माइजूको उद्धार गरिदिनु भयो, आफ्नै काकीलाई मद्दत गर्नुभयो भने अब तपाईंकी आफ्नै बुहारीलाई मद्दत गर्नु तपाईंको कर्तव्य हैन र ? ”— वाक्य समाप्तिपछि शर्मिष्ठाको चर्को हाँसो घरभरि प्रतिध्वनित भएर गुञ्जियो । मलाई कहाली लागेर आयो । डर लागेर आयो । अबुई ! यस्तो कुरा कसरी सम्भव हुन्छ र ? जाडो महिनामा पनि मलाई खलखली पसिना आउँछ ।

“शर्मु, अलि बिस्तारै बोल । मान्छेले सु्न्लान् ।” म शर्मिष्ठाको अघिल्तिर निरीह भएर उभिरहेको थिएँ । मलाई यो बेलामा शर्मिष्ठाकी छोरी सानियाको निकै सम्झना आइरहे्को थियो ।

मेरो लागि सधैं ललनवाले चिया लिएर आउँथ्यो तर आज सबरिनाले लिएर आइन् । शर्मिष्ठाको बिहान त दश बजेपछि मात्र हुने भएकोले उनले बिहानको चिया पकाएको र पिएको मैले आजसम्म देखेको छैन । दश बजेपछि उठेर खाना खाएर घरबाट निस्केको उनको घर फर्किने निश्चित समय नै हुँदैन । त्यसैले घरको सबै काम ललनवा र उसकी श्रीमती बड्कीले नै गर्ने गरेका छन् । तर अचेल मेरा अधिकांश कामहरूको जिम्मेवारी स्वतःस्पूmर्त रूपमा सबरिनाले गर्ने गरेकी छिन् । उनले निकै आग्रह गरेर हाम्रो अफिस पनि आउन थालिन् । मैले उनलाई लेखा विभागको काम सिक्नेगरी व्यवस्थापन गरेँ । घरबाट कार्यालय जान हामी ससुरा र बुहारीसंँगै निस्क्न्थ्यिौँ । सजलको कार्यालय आउने र घर फर्किने समयको ठेकान हुँदैनथ्यो किनकि मार्केटिङको सम्पूर्ण जिम्मेवारी उसैले सम्हाल्थ्यो । कहिलेकाहीँ घरबाट छिट्टै कार्यालय जानुपरेको बेलामा सबरिना र म रेस्टुराँमा गएर लञ्च सँंगै खान्थ्यौँ । लेखा शाखाको काम सबरिनाले अपेक्षा गरेभन्दा निकै छिटो सिकिरहेकी थिइन् जवकि शर्मिष्ठालाई हाम्रो पुस्तैनी पेसाप्रति कुनै मतलब नै थिएन । यो जुत्ता फ्याक्ट्री मेरा बाजेको पालादेखि दैनन्दिन अपडेट हुँदै आजको अवस्थामा आइपुगेको थियो ।

त्यत्ति धेरै माइत नजाने शर्मिष्ठा अचेल छोरोलाई समेत लिएर बाक्लै माइत जान थालेको कारण मैले बुझ्न सकिरहेको थिइन । मैले यसबारेमा निकै पटक उनलाई सोधे तर मेरो प्रश्नको जवाफ दिनुको सट्टामा उनी बारम्बार मेरो कर्तव्यको बारेमा मलाई झक्झकाइ रहन्थिन् । तर मलाई त्यो सुन्दा नै असजिलो लाग्थ्यो । असजिलोभन्दा पनि मलाई झ्वाम्मै एकैचोटि लाज र डर लागेर आउँथ्यो ।

“खै, आफ्नो कर्तव्य अलि छिटो पूरा गर्नुस् है ।” आज पनि माइत जानुअघि शर्मिष्ठाले त्यही कुरा दोहो¥याइन् ।

“शर्मु, यो कुरा छाड बरु कुनै अनाथ बच्चालाई एडप्ट गरौँ र उसलाई राम्रो शिक्षादीक्षा दिएर पालौँ, हुर्काऔँ । हैन भने डाक्टरसँग सल्लाह गरेर कसैको वीर्य लिऔँ । कसको वीर्य लियौँ भनेर हामी लिनेलाई पनि थाहा हुँदैन र दिनेलाई पनि मेरो वीर्य कसलाई दिएँ भनेर थाहा हुँदैन । त्यसैले यही तरिका नै सजिलो, भरपर्दो र गोप्य रहने खालको हुन्छ ।” — मैले फेरि पनि विकल्प दोहो¥याएर शर्मिष्ठालाई बुझाउने प्रयास गरेँ ।

“भो भो, त्यो कुरा नगर्नुस्, मलाई त यो वंश अगाडि बढाउन आफ्नै रगत चाहिन्छ ।”— आफ्नो निर्णय सुनाएपछि शर्मिष्ठा सजलको हात समातेर घरबाट निस्किन् ।

निकै लामो समय बित्यो । तर निर्णय हुन सकेन । समस्याको समाधान पनि निस्किन सकेन । शर्मिष्ठाको हठमा अब छोरोको समेत मौन समर्थन भएको मैले बुझिरहेको थिएँ । बिस्तारै बिस्तारै दुईको रहरमा सबरिनाको पनि रहर मिसिन आएभैंm लाग्यो मलाई । मलाई लाग्यो, म ऊँटमुनि हैन बरु सगरमाथालाई टाउकोमा बोकेर अर्को सगरमाथामुनि एक्लै हिँडिरहेछु ।

धेरै समयपछि यो घरमा बाजा बज्यो । पण्डितले शुभ अनि मङ्गल ध्वनि गुञ्जाए । भोजमा रमाइरहेका आफन्त, इष्टमित्र, पाहुनापासाहरूको प्रफुल्लित अनुहार । हामीलाई बधाई थाप्दाथाप्दा नै फुर्सद छैन । सबै पाहुना बिदा भइसकेपछि म छतको बगैँचामा राखिएको आराम कुर्सीमा बसिरहेको थिएँ । के यो मैले ठिक गरेँ त ? मेरो प्रश्नको मसँग नै कुनै जवाफ थिएन । के ऐना अगाडि उभिएर मैले आपैmसँग नजर मिलाउन सकुँला त ? यो के भयो ? यो सही थियो कि यो गलत थियो ? के थियो यो ? मलाई उकुसमुकुस हुन थाल्छ ।

“थ्याङ्क यु, बाबा ।”— त्यही बेलामा छोरोले आएर मलाई अँगालो हाल्दै भन्यो ।—“हजुरले हाम्रो परिवारको इज्जत बचाउनु भयो । हजुर साँच्चै नै मायालु र दयालु मात्रै हैन बाबा, हजुर महान् हुनुहुन्छ ।”

“खै, छोरा, धेरै वर्ष पहिले तेरी मामुको इज्जत बचाएको थिएँ । तेरी मामुले सानियालाई बिर्से पनि मैले बिर्सेको छैन जबकि ऊ मेरी छोरी पनि हैन । तैपनि मैले तेरी मामुसँग उसको विगत कहिल्यै कोट्याइन । त्यसपछि तेरी मामुको करले उनकी माइजूको घर मैले नै आवाद गरिदिएँ । तेरी मामुले अति कर गरेपछि मैले काकीको घर पनि आवाद गरिदिएँ । त्यही क्रममा आज आएर आफ्नै छोरा–बुहारीको घर पनि मैले आबाद गरिदिएँ । बाँकी जीवनभरि म तिमीहरूको अगाडि आँखा उठाएर बाँच्न पनि सक्छु कि सक्दिनँ । म यसै भन्न सक्दिनँ । बाबु, मेरो छोरा, तेरी मामुको अगाडि म जीवनभरि यसरी लाचार बन्दै र हार्दै आएको छु । किनकि तेरी मामुको बाबालाई मैले शर्मिष्ठालाई सधँैं खुसी र सुखी राख्ने वचन दिएको थिएँ ।”

मेरा आँखाहरू शून्यमा टोलाइरहेका थिए । छोरो कतिखेर त्यहाँबाट गयो भन्ने मैले थाहा पाइनँ । त्यही बेला शिवरात्रिको मेला भर्न आएका जोगीहरूको “अलख निरञ्जन” को ध्वनिले अरू सबै ध्वनिलाई जितिरहेको थियो । खै, कसोकसो तिनै जोगीहरूको सामूहिक स्वरमा मलाई आफ्नो पनि स्वर मिसाउन मन लागेर आयो… । खै किन हो स्वतःस्पूmर्त रूपमा मेरा पाइलाहरू त्यत्तै बढ्न थाले…।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments