उपन्यासकार राजेश आचार्य पिता रामचन्द्र आचार्य र माता वृन्दा आचार्यको कोखबाट जोरपाटी ३ किनिदोबाटोमा ९ मार्च १९८३ इ. संवत् मा जन्मिएका हुन् । दुई हजुर आमाहरू, दुई बहिनीहरूसहितको संयुक्त परिवारमा हुर्किएका राजेश आचार्य एउटा नवोदित उपन्यासकार हुन् । स्वदेश तथा विदेशमा घुम्न मन पराउने पर्यटक हुन् राजेश । ट्राभल्स एन्ड टुरिजम विषयका विद्यार्थी राजेश आचार्यको पहिलो उपन्यास छाउ धारो प्रकाशनको लगत्तै हात परेको थियो । नवोदित लेखकको उपन्यास भएकोले हात पर्नासाथ एकै बसाइँमा पढिसके पछि उपन्यासका बारेमा केही समीक्षात्मक टिप्पणी गर्न मन थियो । तर कार्य व्यस्तताको कारणले सकेको थिइन । कोरोना भाइरसको कारण लक डाउनमा बसेका बखत त्यो इच्छा फेरि जुर्मुराएर उठ्यो । र उपन्यास दोहोर्याएर पुनः पढेँ । सुरु गरेपछि पढि रहन मन लाग्ने यो उपन्यास सरल र कारुणिक भएकोले पढ्न निकै गाह्रो भयो । भावुकताले गर्दा आँखा रसाएको रसाई गर्यो ।२००४ सालको राणा शासनको बेलामा पहिलो पटक रजश्वला भएकी किशोरी साइँलीलाई छाउगोठमा बस्दाको पीडा, रुढीवादी परम्परा, अन्धविश्वास र अन्यायको विरुद्ध जुर्मुराएका साइँलीका लोग्ने मनोहरको जीवनीमा आधारित यो उपन्यास निकै कारुणिक छ । उपन्यासले २००४ सालको राणा कालीन परिवेशमा सुदुर पश्चिम नेपालको सेती अञ्चलको उत्तरी पहाडी क्षेत्रमा रहेको साइपाल र अपि हिमाल छेउछाउका पहाडी गाउँले जन जीवनको बारेमा राम्रो चित्रण गरिएको छ । ११ वर्षको उमेरमा १५ वर्षको मनोहरसँग साइँली दिदीको विवाह हुन्छ । नेपाली पहाडी ग्रामीण समाजको तत्कालीन अवस्थामा साइँली दिदी र मनोहरको माया प्रेम, दुःख, कष्ट, बुहार्तन, तत्कालीन अवस्थामा समाजमा विद्यमान अन्ध विश्वास आदिको बारेमा मिहिन तरिकाले चिरफार गरिएको छ । निम्न वर्गीय परिवारमा जन्मिएका नरे, डिले दाइ, बेली, साइँली दिदी, लक्ष्मी जस्ता पात्र पात्राहरूको जल्दोबल्दो कहाँनी हो छाउ धारो उपन्यास । यस उपन्यासलाई ग्रामीण बस्तीको सहयोगी भावनाले सिँगारेर सजीव जस्तै महसुस हुने गरी उनेका छन् लेखकले । सासुको अर्घेल्याई देख्दा देख्दै स्वास्नीको ज्यादतीको विरुद्ध चु पनि बोल्न नसक्ने ससुरा (मनोहरको बाबु) को निरिह पन, आमाको श्रीमती प्रति चरम बुहार्तन देख्दा पनि केही बोल्न नसक्ने मनोहरको किशोर अवस्था, बाबु नभएकी टुहुरी बालिकालाई छोराछोरी नभएका पूर्व गोर्खा सैनिक डिले दाइको ममता आदिको बारेमा स्पष्ट रूपमा वर्णन गरिएको छ । बा आमाको अगाडि बोल्न नसक्ने मनोहर आमा बाबुको आँखा छलेर लुकी लुकी घ्याम्पेडाँडामा गोठालो जाँदा साइँली दिदीलाई सधैँ प्रेमभाव प्रकट गर्दछ ।बाँसुरी बजाएर साइँलीलाई भगवान कृष्णले राधालाई लट्ठ पारे झैं लठ्ठ पार्दछ । साइँलीको रहर मेट्न आफ्नो बाल साथि भक्तराजलाई घ्याम्पे डाँडामा गाई हेर्न लगाएर खुसुक्क हर्कपुरको मेला हेर्न लैजान्छ ।

घटना र पात्रहरू अत्यन्त स्वाभाविक जस्ता लाग्दछन् ।

विक्रम संवत् १९९० सालको महाभूकम्पमा हुर्किएका दुई दाजुहरू र बाबु घरले थिचिएर मरे पछि जन्मिएकी गर्भे टुहरी साइँली अत्यन्त लजालु किशोरी हो । आमा सङ्गै खाने, खेल्ने, दूध बेच्न जाने, गाई गोठालो जाने उनको दिनचर्या थियो । दूध बेच्न जाने बाटोमा कहिले काँही पानी खान जाने घरका डिले दाइ उनलाई आफ्नी छोरी जस्तै माया गर्थे । दुई जना मात्र जोई पोई भएका सन्तान विहिन गोर्खा लाहुरे डिले दाइले गरेको मायाले पाठकलाई भावुक बनाउँछ । यस्तै अवस्थामा छिमेकी भगबती काकीले उनलाई मनोहरको लागि विवाहको प्रस्ताव राख्छिन् । आफूले पाएको दुःख सम्झेर पहिलो पटक रजश्वला नभई छोरीको विवाह नगर्ने सोचाइमा रहेकी गीता मनोहर र उसको बा आमा घरमा नै आएर मागेपछि सासू–ससुरा र केटा सीधा र सज्जन परिवार नै सम्झेर पग्लिन्छिन् । आफ्नो एक्ली छोरीको विवाह गर्न छोरीको सबैभन्दा मन पर्ने छिर्बिरे गाई बेचेको र गाईको दाम्लो समातेर साइँली रोएको दृश्य सम्झँदा पाठकको मन कटक्क खान्छ । छोरीको विवाहको तयारीमा भगबत्ती काकीको बूढाबूढी र अरू गाउँलेहरूले तयारीमा सहयोग गरेको, दुलही अन्माएर पठाएको दृश्य, बेहुली भिœयाएको दृश्य, भोलिपल्टदेखि सासूको बुहारीप्रतिको बुहार्तन । स्वास्नीको ज्यादतीको विरुद्ध बोल्न नसक्ने निरीह साइँली दिदीको ससुरा, मन भएर पनि आफ्नो मन परेको स्वास्नी साइँलीप्रति खुल्ला माया प्रेम दर्शाउन नसक्ने मनोहरको अवस्थाले यस उपन्यासलाई जीवन्त बनाएको छ । साइँलीकी आमाले आफूले पहिलो पटक रजश्वला नहुँदै विवाह हुँदा पाएको दुःखको अनुभवको आधारमा विवाह गर्न अनकानाएकी साइँलीकी आमा आफ्नो लोग्ने जस्तै मायाँ गर्ने व्यक्ति छोरी साइँलीको पोई परोस् भन्ने अपेक्षा गरेको हुन्छिन् । त्यसैले मनोहरको परिवार सज्जन ठानेर नै छोरी दिन तयार भएको थिइन् ।

साइँली पहिलो पटक रजश्वला भएको बेलामा अनकन्टार ठाउँमा रहेको छाउ गोठमा कुनै ओढ्ने ओछ्याउने बिना सासुले जबर्जस्ती एक्लै बसालेको, लोग्ने मनोहरले घर परिवार, छरछिमेकी समाजको आँखा छलेर ओढ्ने ओछ्याउने र पौष्टिक खाना खान दिएको, साइँलीको आग्रहमा रातिसँगै बसेर सुरक्षा दिएको, राणा र गाउँका राणा शासनको सहयोगी दुष्टहरूले मनोहरको तत्कालीन समाजको मूल्य मान्यता विपरीतको व्यवहार बारे सबै कुरा थाहा पाएको । मनोहरले तत्कालीन समाजमा ब्याप्त छाउ प्रथा, छोई छिटो, भूतप्रेत आदि सबै खाले अन्धविश्वासको बिरोध गरेका कारण स्थानीय फटाहाहरूको चुक्लीमा राणाका सिपाहीहरूले छाउ गोठमा स्वास्नीको सुरक्षा हेतु जाने क्रममा नै बाटोमा पक्रेर छाउ धारोमा कुटेर र चक्कु प्रहार गरी घाइते पारेको मनोहर घसिँ्रदै छाउ गोठको ढोका ढकढकाउँछन् । ढिलो गरी ढोका खोलेकी साइँलीको काखमा पुगेर सबै कुरा बताएर प्राण त्याग्छन् । लोग्नेको हत्या गरिएको अवस्थामा साइँलीलाई सान्त्वना दिने त कहाँ हो कहाँ उल्टो पोई टोकुवा र बोक्सीको आरोप लगाएर क्रिया पनि राम्रोसँग बस्न नदिई सासू र अरू अबुझ गाउँलेहरूले साइँलीलाई चुरापोते फुकाली छाउ धारोबाट नै माइतीतिर कोरा लुगामा नै निर्ममतापूर्वक घरबाट लखेट्छन् । बाटोमा केटाकेटीहरूले बोक्सीको आरोप लगाएर थाल ठटाएर ढुङ्गा मुढा गरेको दृश्यले पाठकको मुटु चरक्क चिरिन्छ । १४–१५ वर्षकी अबोध किशोरी साइँली लोग्ने–स्वास्नीको व्यवहार बुझ्न नपाउँदै बाल विधुवा हुन्छिन् ।

साइँली दिदीको जागरण उन्मुख प्रगतिशील पतिको १८ वर्षको उमेरमा नै नृशंस हत्या भएपछि लोग्नेको प्रगतिशील विचारबाट प्रभावित साइँली लोग्नेको पथमा जीवनभर अग्रसर हुने सङ्कल्प गर्छिन् । साइँलीले गरेको छिपछिपे समाज सेवा, भोग्नुपरेको दुःख कष्ट र दयनीय अवस्थाको यथार्थ चित्रण नै छाउ धारो नामक यस उपन्यासको मूल मर्म हो । नवलपुरमा मामाघर गएको म पात्रले देखेको, भोगेको र सुनेको कुराहरूलाई समेटेर तयार गरिएको यो उपन्यास निकै मार्मिक र रोचक छ । पाठक उपन्यास नसकी छोड्न चाहँदैन । भाषा शैली सरल र मीठो छ । आत्मपरक शैलीमा सरल भाषामा लेखिएको यो उपन्यास कालजयी छ ।

अझ अन्याय अत्याचार गर्ने दुष्टहरूलाई अन्तमा कुनै बदला नलिई त्यतिकै छोडी उपन्यास सकिएकोमा पाठकलाई अत्यन्त खल्लो महसुस हुन्छ ।

नेपाली समाजको तत्कालीन अवस्थामा साइँली दिदी र उनी जस्तै जीवन भोग्ने महिलाहरूको जीवन्त कथा हो छाउ धारो उपन्यास । आफ्नो विरुद्ध चेतनाको स्तर अलिकति पनि नउठोस् । उठे पनि तुरुन्त निमोठेर मिल्काई हाल्न सकियोस् भन्ने चाहना राख्ने तत्कालीन राणा शासनको मनोवृत्ति लेखकले राम्रोसँग उधिनेका छन् । १९९७ सालको सहिद पर्वले आतङ्कित तत्कालीन अवस्थामा ग्रामीण समाजमा कस्तो स्थिति थियो । त्यो बारेमा प्रस्ट पारिएकोले यस उपन्यासलाई ऐतिहासिक उपन्यास पनि भन्न सकिन्छ । समाजलाई अँध्यारोमा राख्न चाहने र शोषण दमन समाप्त पारेर उज्यालो बनाउन चाहने बीचको सङ्घर्ष पूर्ण द्वन्दको बारेमा लेखिएको कथा हो यो उपन्यास । किशोरी अवस्थामा आफ्नो लोग्ने मनोहरले भरिदिएको सामाजिक जागरणका आभामा जिएकी छन् साइँली दिदी । उनी आजीवन आफ्नो लोग्नेको पथमा हिँड्न कृत्सङ्कल्पित छिन् ।

आज पनि हाम्रो समाजमा महिलाको अवस्था त्यो बेलाको साइँली दिदीको भन्दा फरक छैन । अहिले पनि सेती अञ्चलको अथवा सुदुर पश्चिम प्रदेशका छाउ भएका महिलाहरूको अवस्थामा कुनै सुधार नआएपछि सरकारले कानून बनाएरै छाउ गोठ भत्काउने अभियान सञ्चालन गरेको छ । तर पनि जनताको मनको छाउ गोठ नभत्केसम्म छाउ गोठ भत्काउने अभियान अधुरो नै रहन्छ । यसकारण लेखक राजेश आचार्यको पहिलो उपन्यास छाउ धारो एउटा सफल ऐतिहासिक उपन्यास हो । उपन्यासका म पात्रले आफनो मामा घरमा जाँदा अनुभूति गरेको कुरामा आधारित भएर लेखिएको काल्पनिक कथा भए पनि यथार्थको धेरै नजिक छ यो उपन्यास । पहिलो प्रकाशित यो उपन्यासले लेखकलाई सिद्धहस्त लेखकको रूपमा स्थापित गरि दिएको छ । पाठकलाई सिकारु लेखकको उपन्यास पढेको कतै अनुभूति नहुनु यस उपन्यासको सफलता हो । लेखकको कलम अझ तिखारियोस् । अरु यो भन्दा पनि सशक्त उपन्यासका पुस्तकहरू लेख्न प्रेरणा मिलोस् । अस्तु । á

जोरपाटी मडगाल, काठमाडौँ

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments