“आनन्द, सौन्दर्यबोध र हृदयशिक्षण काव्य कलाको प्रयोजन हो ।” यही प्रयोजनको आपूर्तिमा काव्य सर्जकहरू आफ्ना मनोभाव पाठकहरूमा समर्पित गरेर पुण्य कमाइरहेका हुन्छन् । “ब्रह्मले अनुभूत प्रस्फूटनको एक वाक्य नै काव्यका संरचनामा आबद्ध छन्” भन्ने देवकोटाको भनाइ यस प्रसङ्गमा सार्थक लागेको छ । यहाँ अगाडि रहेका कवि तीर्थराज अधिकारीका काव्य सृजना पल्टाउँदा पल्टाउँदै अनायासै देवकोटा उभिएका कारण यो प्रसङ्ग आएको हो ।

मूलतः कवि तीर्थराज वयको किशोरकाल अर्थात् अध्ययनकालदेखि अध्यापन  कालसम्ममा  आएर  पनि निरन्तरताको रश्मि फैलिरहनु सबभन्दा उल्लेख्य पक्ष मान्न सकिन्छ । अर्को पक्ष के छ भने उनको लेखन पद्य र गद्य दुवैमा उत्तिकै सशक्त रहेको छ । स्वभावतः परम्परा नै ठानौँ फुटकर रचनाबाटै स्रष्टाहरू प्रकाशनको आलोकमा देखा पर्दै आएका छन् । अनेक खुड्किलाहरू पार गर्दै पुस्तकाकारमा संयमित भइरहेका छन्, त्यसमा पाठकहरूले डुबुल्की मार्न पाउने गर्छन्, जसबाट स्रष्टाहरूका सृजना पहिचानको साथै काव्य प्रयोजनको लक्ष्याधार पनि बुझ्न पाइने हुन आउँछ ।

कवि तीर्थराजको साहित्यिक यात्रा पनि यसको अपवादमा छैन नै । यसका अतिरिक्त गीतिकाव्य विशेष गरेर राष्ट्रिय र बालगीतका अनि सम्पादनका पक्षमा पनि दखल राखेको अर्को व्यक्तित्व कार्यक्रम प्रस्तोता पनि देखिनाले उनको बहुमुखी व्यक्तित्व उजागर हुन पुग्दछ । उनको प्रथम सङ्गालो ‘सपनामा हराएको बिपना’

(२०६६) मा प्रकाशित भएको देखिन्छ भने दोस्रो ‘सत्ताका किनाराहरू’ (२०७०) । यी उनका पद्य कविता कृति हुन् । यी दुवै सँगालोपछि –‘टाँक’ (२०७१) अनि पछिल्लो —‘जङ्गल’ (२०७२) रहेको छ । यी दुवै गद्य कविताका सङ्ग्रह हुन् । यसैगरी स्तम्भ लेखन एवम् अन्य लेखनमा पनि उनको हात चलेको देखिन्छ । अधिकारीका काव्य प्रवाहमा प्रायजसो राष्ट्रियताबोध, नैतिक सत्य र जीवन सौन्दर्यको त्रिधार प्रवाहित रहेको पाइन्छ । महाकवि देवकोटालाई मूल प्रेरणास्रोत मानिएको काव्यकारका काव्यमा नवीन भाव छचल्किएको पाइन्छ । यहाँ अन्ततिर नगई उनकै चार कवितासङ्ग्रहमा केन्द्रित रहेर तिनमा रहेका कवित्व र कला पर्गेल्ने प्रयास गरिएको छ ।

उनको प्रथम सङ्ग्रह –“सपनामा हराएको बिपना” (२०६६) मा सैँतीसवटा पद्य कवितापुष्प आबद्ध छन् । जसमा पहिलो रहेको छ— शरद्का सृजनाहरू । यहाँ बढी उल्लेख्य के छ भने उनले आफ्नो पद्य रचनाहरूमा छन्दको नाम पनि राखेर पाठक (विशेष गरी अध्ययनकर्ता) लाई सहजताको वातावरण बनाइदिएका छन् । जसअनुसार उनले यसमा मन्दाक्रान्ता छन्दलाई उचालेका छन् । स्वभावतः शरद्भावका साथै यसमा राष्ट्रप्रेम सहजरूपमा प्रकट भएको छ । उनले भनेका छन् —

बस्ती आफ्नै अब सकलले गर्नुपर्नेछ माया

कुल्ची छाया पथिकहरूले उठ्नुपर्नेछ काया ।

यसपछिको–वाणीपुत्र–साह्रै प्रचलित अनुष्टुप्् छन्दमा आबद्ध छ । यो भाव महाकविमा समर्पित छ । महाकविका रचना र व्यक्तित्वप्रति विचारको प्रपात झराइएका छन् र एउटा आशा एवम् विश्वासका साथ महाकविको यात्रा अपुरो रहेको प्रति यसमा सङ्केत गरिएको छ ।

शब्दको जग हालेर भाव सोपानमा चढी

धर्तीमा कवि फर्कन्छन् नभको चन्द्रमा चुमी ।

यसरी यस रचनामा कविको निजी आकाङ्क्षा समेत यसमा समेटिएको छ भने अर्को फेरि अनुष्टुप्मै

‘वीरप्रति’ श्रद्धाभाव व्यक्तिएको छ । ‘मेरो लप्सीबोट’मा वंशस्थ छन्दको सबल एवम् कञ्चन काव्य वहावमा जन्मस्थलको उच्चगान गाइएको छ । यसमा भनिएको छ —

म पूmल माटो यसमै उचालिएँ

गरेर ताते तन तन्किँदै गएँ ।

यसमा उपमा अलङ्कारकोे मौलिकता मिठासपूर्ण स्वरूपमा उर्लिएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको –मेरो प्यारो ओखलढुङ्गा–कविताको झझल्को यसमा पाइन्छ । प्रतीक्षा— शीर्षकको कविता अनुष्टुप् छन्दमा आबद्ध छ र यसमा वैचारिक दृढताको छनक अनि केही दनक समेत मौलाएको देखिन्छ ।

तरङ्ग रङ्गमा जो छ समाधि भित्रभित्र छ

अव्यक्त मुटु सञ्चार देख्नेले मात्र देख्दछ ।

फेरि अनुष्टुप्् छन्दमै उतार भएको ‘काव्यजोति’ शीर्षकको कवितामा काव्य महिमा मात्र गाइएको छैन मर्मसमेतको आग्रह गरिएको छ जुन उच्च मूल्याङ्कनको क्रमबद्धतामा आबद्ध हुनपुगेको छ । फेरि पनि अनुष्टुप्मै सँगालिएको भाव लहरमा ‘आरोहीप्रति’ शीर्षकले कर्तव्य पथमा लम्किएका प्रति हार्दिक भाव प्रकट गरेको छ । दृष्टान्तमा हेरौँ —

कुनै सङ्ग्रामको खेलबिना बन्दैन जिन्दगी

आरोही उठ्न सक्दैन मृत्युलाई जपीजपी ।

यहाँ सकेसम्म सरल शब्द छानिएका छन् । सरलभन्दा सरल शब्द छनौट अधिकारीको काव्यिक विशेषता नै हो । वसन्ततिलकासँग खेल्दै कविले अर्को कविता सञ्चयन गरेका छन् ‘जीवनपथ’ शीर्षकमा । यस कवितामा देवकोटा कतै प्रवेश भएको भान पर्दछ ।

को थ्यो कहाँ हृदय जन्मनसाथ पूर्ण

उद्योगले सब बने पछिबाट पूर्ण ।

सकारात्मक सोचका काव्यकारमा चिन्तन उत्साहका तन्नेरीपनाको पदचापले काव्यमा छुट्टै विशेषता बोकेको छ ।

दिएर रसिलो भाषा दिएर ज्ञान मञ्जरी–

त्यसैले त बनेको हो– भानु आज अजम्वरी ।

अनुष्टुप् छन्दमै ‘अजम्मरी भानु’ शीर्षक र माथिकै पङ्क्तिबाट भानुप्रतिको भाव झल्काइएको प्रस्टै देखिन्छ ।

अनुष्टुप्मै अर्को ‘जुनेली रूप’ कविता छ र यसमा कविले आफ्नो सामथ्र्यमा जोड लगाएकै देखिन्छ र विचारलाई सन्तुलित एवम् सौहाद्र्र तुल्याउँदै जूनलाई जूनकै रूपमा मात्र नहेरी जीवनको सार्थकताको उदाहरण दिन कवि सफल भएका छन् ।

छैन सम्मानको भोक गति चाल्छौ शनैः शनैः

पक्षका पथमै हुन्छ्यौ यौवना अनि बालिकै ।

(कर्मको सोपान यहाँ छ, जीवनको ज्यान यसमा छ ।)

क्रममा बल्ल आइपुगेको छ पुस्तकको शीर्षकीय आधारको मन्दाक्रान्ता छन्दमा रचित ‘सपनामा हराएको बिपना’ कविता । अघिसम्म जून निरपेक्ष सौम्यरूपको अँगालिएको थियो त्यसलाई चटक्क छोडेर निरपेक्ष कविकर्म बिउँझाउँदै प्रथम पङ्क्तिमै कवि बोलेका छन्

— स्वभाषा र स्वशैलीमा —

अग्ला सेता हिमगिरि यहाँ होचिए वाद अग्ल्यो

कस्तो आयो नवयुग अहो ! बाजले बुद्ध च्याप्यो ।

 

यहाँ कतै कतै गजलीय बिम्ब छन्, स्वाभाविकता सौम्यताको हेक्का पनि छँदै छन् । स्वदेश प्रेम छँदै छ, माटोको माया छँदै छ । त्यसैले त्यै चेतन ज्योति कलम मसी तुल्याएर कवि भन्छन् —

कस्ता कस्ता गिरिवर झुके लत्रिए वीरसामु

स्वार्थी बन्दै नभज सपना गर्न क्यै लम्क आफू ।

यहाँ समय बोलेको छ, चिन्तन चिच्याएको छ । अनुष्टुप्कै लहरमा अर्को छ – ‘बुद्धिजीवी ः अनौठो किंवदन्ती–’ । स्वलाई अगाडि राखेर बुद्धिजीवीप्रति व्यङ्ग्यात्मक पाराको मार्मिक प्रहार यसरी गरिएको छ —

(झोला त्यो कपडा थैलो बोकेको छु भरिया बनी

त्यस्तै कागत बोकेछु कापी किताब क्यै भनी)

यहाँ बिम्ब र प्रतीक भरियाले यथार्थ प्रस्ट पारेको छ । समयको यस्तै अर्को बिम्ब उही छन्दमा– बाघले माला जपेपछि– शीर्षकमा लम्बित छ । हृदय किन बोल्दैन उसको यो शीर्षक राखिएको भए मात्र यो प्रणय गीतमा सीमित रहने थियो । तर शीर्षक त्यो छैन रहेको छ त –अभिशापित धर्तीको कथा । प्रणय धरातलमा रहेर प्राणको खोजी यसमा भएको छ । स्वमा नअडिएर समष्टिमा सोचिएको पाइन्छ । छन्दचाहिँ शिखरिणी रोजिएको छ । ‘सपनामा हराएको बिपना शीर्षकीय क्रमपछि लाग्दछ माटो दर्पण खोल्ने समय वायु प्रवाह नाप्ने चेतन मापक कलम कविले यसमा समाएका छन् । अनुष्टुप् छन्दमा रहेको प्रलयपथ— पनि हाराहारीमा देखापरेको छ । सुरुकै पङ्क्तिमा यस्तो छ संयोजन—

आँतमा दाँत बोकेका हिँड्छन् जल्लाद लस्कर

यिनैको चालले गर्दा म बनेँ डरको घर ।

यसमा पनि गजल प्रभाव झल्केको छ । शब्द प्रयोग र विचार प्रवाहको बनोटमा ‘सपनामा हराएको बिपना’ भन्दा उम्दा देखापरेको छ । यसैमा अर्को हरफले कटुसत्य यसरी बोलिरहेको छ –

ननिभ्ने भुसको आगो भित्रै छ दन्दनी

अझ त्यै खोस्रिँदै ताप्छन्

सत्ता शासनका धनी ।

समय नै साक्षी छ ‘कविता कसका लागि’मा पनि यही भाव देखापर्दछ । उनले चेतनशील मन जति हिंसाकै सिकार भएपछि —कविता कसका लागि ? भनेर यसरी चिन्ता व्यक्त गरेका छन् —

उपहास बनेको छ मेरो शान्त सुशीलता

घामलाग्दा पनि देख्छु म त रातै जतातता

कटुसत्यलाई उजागर गर्ने कविको यहाँ बेग्लै तरिका देखिन्छ । यो तरिका उनी स्वयम्को विशेषता पनि हो । हेरेर मात्रै होइन, छोएरै चिम्ने आग्रह यी कवितामा देखिन्छ । तर पनि अभिलाषा, यात्राका विधानहरू क्रमशः उही उही तरिकामा अलि सादा देखिने भए पनि मर्मचाहिँ यथावतै देखिन्छ । यी दुई कविताबाट उनी आफूलाई सकेसम्म संयमित देखाउने प्रयासमा उभिएको देखा पर्दछन् ।

चार वर्षपछि कवि तीर्थराजका गद्य आकाङ्क्षा गर्दागर्दै पद्यमै न्वारान हुन पुगेको कुरा उनैले सकारेका छन् आफ्नो दोस्रो सङ्ग्रह ‘सत्ताको किनाराहरू’मा । यस सङ्ग्रहमा पैँतीस पद्य कविता सङ्ग्रहित छन् । यसमा प्रकृति प्रेम, स्वदेशगान, दर्शनका बाटाहरूका साथै समसामयिक चिन्तनका बगाइहरू पाइन्छन् । बिम्ब, अलङ्कार, शिल्प आदि कुरा अझै परिष्कृत भएका छन् । यहाँ चाहिँ पहिलो झैँ विसद चर्चा नगरेर केहीको मात्र विवेचना गर्न खोजिएको छ । उनमा शीर्षकीय छनोट त्यतिविधि देखिन्न । यदि कविताको शीर्षक अलिकति रहस्य चोपमा डुबाउन सकिएमा पाठकको उत्कण्ठा अझ तीव्र पार्न सकिन्थ्यो । दोस्रो प्रस्तुतिको पहिलो कवितामै ‘यो फूलबारी सबले सजाऊँ’ शीर्षकबाट कुनै कुतूहलता जगाउँदैन, जहाँसम्म लाग्दछ पढूँपढूँ लाग्ने खालको शीर्षक आजको अनिवार्यता हो । उदाहरणको रूपमा हेरौँ कविताको अंश—

त्यै रक्तको अंश र वंशलाई

के गर्न लाग्यो कसले जुधाई

नशा नशा त्यो किन होस हुन्न

धरा गरामा किन छिन्न भिन्न !!

 

हुन त विजय मल्लजस्ता सिद्धहस्त कविले पनि मलाई शीर्षक राख्न आउँदैन भनेका छन्, हो उनको काव्यमा गहनता छ, सामथ्र्य छ । यति हुँदाहुँदै पनि केही परम्परावादी सोचाइहरू पनि गढिएको देखापर्दछ । हो, कटुसत्य उनी बोल्दछन् व्यङ्ग्यको चोटिलो प्रहार उनमा आबद्ध छ । हो कि होइन भन्दा भन्दै चटकदार चमक प्रभावोत्पादक रूपमा उजिल्याउने सामथ्र्य उनको काव्य धारमा देखापर्दछ । यस्तो तरिका ‘नायक’ शीर्षकीय कवितामा देखापरेको छ । दैवज्ञराज न्यौपानेको स्वरूप उघारेर लेखिएको कविता हो भनेर थाहा पाउन पढेर मात्र पत्ता लाग्छ ।

जालको मृगझैँ प्राण देख्दा लाग्छ विडम्बना

देवकोटा तिमी उस्तै वाणीमै किन मूच्र्छना ?

जित्यौ जीवनको खेल हराई खलनायक

पर्दा झर्दै गरोस् किन्तु युद्ध हार्दैन नायक ।

नायकको रूपमा उभ्याइएका दैवज्ञराजको वर्णन यहाँ अरूले गरे भन्दा मार्मिक एवम् चित्रण पक्षमा समेत आफ्नै प्रकारको मात्रै नभएर वैशिष्ट्य राख्न पुगेको छ । ‘महाज्योति’ कविता देवकोटामा समर्पित छ । यस्तै रसका पारखीका रूपमा अधिकारीलाई ‘स्वतन्त्रताको सुसेली’बाट लिन सकिन्छ । यसमा परेका कुराहरू सरल छन् तर गड्नु सम्झिनुपर्ने छ । ‘शान्ति हाम्रो संस्कार’ को आदर्श चेतन खुलाउने प्रयत्न पनि ठाउँठाउँमा भेटिन्छ भने ‘वानरलीला’ जस्ता यताउता कतै नछोई यहाँ कसलाई भन्न खोजिएको छ भन्ने सोझै शब्द उराल्ने क्षमतावान्को शालीनपूर्ण कलम पनि यहाँ भेटिन्छ —

उक्ली मन्दिरका छाना आफैँ गजुर बन्दछन्

सधैँ हजुर भै बाँच्ने आँतमै दाँतदाँत छन् ।

कति सुन्दर छनौट आहा ! निस्कने काव्य बनौटका धनी तीर्थराजका प्रकृतिमात्र होइन ‘प्रकृतिका रङ्ग’ पनि सामथ्र्यवान् छन् । ‘जित्यौ कहाँ वीर बनी लडाइँ !’ को तीतोसत्य दलाई दल्न सक्ने उनमा क्षमता भैकन पनि कतै कुनै उहापोह ‘सत्ताका किनारहरू’ मा भेटिन्छ नै ।

यिनै तीर्थका दोस्रो सङ्ग्रह (२०७०) लाई बिदा गर्दा नगर्दै नयाँ फड्को मारेर अगिल्ला दुई कृतिको विपरीत तर आफूले इच्छाएअनुसार गद्य धारमा आफूलाई उभ्याउँदै ‘टाँक’ शीर्षकीय सङ्ग्रह देखाप¥यो । यसमा चवालीसवटा गद्य कविता समावेश छन् । यो कृतिले आफ्नो क्षमताको नवीन रूप लिएर आएको देखिन्छ । नवीनताको रस सोपानमा उनको लेखन धार मात्र नभई विचारमा पनि परिपक्वता छ र नौलोपन देखापर्दछ । अगिल्ला दुई कृतिमा नदेखिएका रङ्गहरू यसमा थपिएका छन् । नौलोमा पनि आफ्नो आस्था र विश्वास स्वस्थानमै राखेको स्पष्ट भेटिन्छ । ‘म र मेरो देश’ ‘देश आस्था र दृष्टिकोण’, ‘वास्तविकता’, ‘आगमन’, ‘शिखर चुम्ने पैतालाहरू’, आदि यसका उदाहरण हुन् । ‘अक्षरहरू’, ‘शताब्दीको रङ्गमञ्चमा’, ‘शिशुहरू’, ‘छोराको खेल’, ‘रत्नपार्क’, ‘योद्धा हो फेरि पनि युद्ध गर’, बी पी. र स्वतन्त्रता’, ‘टाँक’ आदि नवीनताका सोपान हुन् । उनको गद्य कवितामा सर्वप्रथम अक्षरहरूलाई हेरौँ । आरम्भमा के–के लाग्ने अन्तमा आएर चमत्कारपूर्ण बिसौनी —

फाइदामा फाइदा !

फेरि यसको अर्को पनि बिल बन्ला !

विसङ्गतिका अक्षरहरू राम्ररी कोरिएका छन् । ‘शताब्दीको रङ्गमञ्चमा सपनामा मडारिएका तुवाँलाहरू चित्रित छन् । वर्तमानको गतिविधिको प्रभाव भविष्य कता डोरिने हो भन्ने चिन्तन छ ।

मेरो सानो छोरो पनि अचेल निकै सक्रिय हुन थालेको छ ….बाट सुरु भएर मार्मिकता प्रवाह गर्दै —

म डरले काँतर छु

कुनै दिन रिसले मेरै

पुत्ला जलाउने हो

छोराको यो खेलमा

म घरभित्रै

आफ्नो मृत्युको

ननिको सपना देखिरहेछु ।

अहा ! कति संवेदनशील ! यहाँ एउटा कथाको प्लट बोकेर वर्तमानबाट सृजित परिपञ्चको कति सन्निकट तानावाना कोरिएका छन् । यहाँ लाग्दछ आफ्नै प्रकारको शिल्प छ, सम्प्रेषणीयता छ, अरूभन्दा बेग्लै स्वपहिचान छ । ‘योद्धा हो फेरि पनि युद्ध गर’ पछिल्ला सिर्जनाहरूका शीर्षक स्वपहिचान गरेभैmँ देखा पर्दछ । यहाँ भनिएको छ —

बी पी. कुनै किंवदन्ती कथाको पात्र होइन

बी पी कुनै अलौकिक संसारको दैवी पुरुषको नाम होइन

उसले सालिक खोजेको छैन

दासता झाङ्गिएको छ

उठ विरुद्धमा

योद्धा ! अब तिमी

अन्तिम युद्ध लड !

यस्तै ‘बी.पी. र स्वतन्त्रता’ यही नवीन सोचमा रचित छ । यही नवीन सोचका बीच सङ्ग्रहको शीर्षकीय ‘टाँक’ पनि नवीनतामा एउटा दर्शन, एउटा नछोइएको स्पन्दन, एउटा बिम्बको चड्कन, एउटा नवीन आस्वादनको प्रतीकात्मक स्पन्दन स्वरूपमा बान्की बनेर आएको छ –

शिक्षा के घर आयो ?

बन्दुक नाच्न लाग्यो

कालो रातले निल्न खोज्यो

मनमा असावधान असङ्ख्य पहिरो चल्यो

… केवल सान्त्वना

व्यथा बोकेर

चिलिम विस्तार जल्दै गयो ।

लयमा पनि विलय गराउन सक्ने क्षमतापूर्ण अभिव्यक्तीय कला ‘टाँक’ मा पाइन्छ । काव्य के हो, काव्य कसरी लेखिनुपर्दछ ? भन्ने कुरा ‘टाँक’ सङ्ग्रहले राम्ररी दिएको देखिन्छ ।

बेग्लै  आस्वाद  पस्कने  व्यग्रता तीर्थराजमा रहेको कुरा पछिल्लो सङ्ग्रह –जङ्गल–ले पनि देखाएको छ । त्रिचालीस गद्य कविताहरूको यस सङ्ग्रहमा दृष्टिहरू, विचारहरू फेरिएका छन्, सुगाका रटौती बोली भाका फेरेर यथार्थतामा कोल्टाहरू फेरिएका छन् । आरम्भमा ‘मेरो जन्मस्थल’ मा यसरी बिम्बित हुनपुगेको छ ।

मेरो लप्सीको बोटमा अब फल फल्न सक्दैन,

ठुटाहरूका जरा पनि बलिसकेका छन् ।

सधैँ ग्रसित र उपहासित छु –यिनैबाट

हाडको टुक्राको सत्ताको स्वादमा

मेरो बस्ती बादलभित्रै हराइरहेको छ,

इतिहास लेखिएको छैन ।

मेरो भूगोल कतै देखिएको छैन ।

यस्तै ‘चिडियाखाना’ फेरि झुल्केको छ तर अघिल्लो जस्तै होइन दुष्टहरूको पासोभित्र निरीह फस्न पुगेका छन् । उदाहरण स्वरूप ‘मनको धरातल’ ‘धनबहादुर’ ‘समय’ समयकै अर्थमा, पानी, ‘नवजीवनको प्रतीक्षामा’ ‘बाज’ ‘सगरमाथा र बुद्ध’ ‘मनयात्रा’ ‘राजनीतिका जुवाडेहरू’ ‘बग्गीका घोडाहरू’ ‘ऊ’ जताततै दुखेको छ । ‘पराजित विजेताहरू’ नेता आदि भित्र नवीनता मात्र छैनन् पहिलेको आस्था र आदर्शलाई त्याज्य नबनाउँदै समयसापेक्ष स्वरूपमा उभ्याएर स्वाभिमानका साथ जङ्गलमा उज्यालो फैलाउन समर्थवान् बनाएका छन् कविले आफूलाई ।

अन्तमा सङ्ग्रहको शीर्षकीय प्रसङ्गमा भन्ने हो भने आफ्नो पाटोको परिधिमा मात्र सीमित नरही व्यापकतातिर कवि अग्रसर देखिन्छन् । संसारलाई एउटा घना जङ्गलको रूपमा चित्रित गरेर उनले भनेका छन् —

मत्स्यन्याय–जलको

स्थलमा उस्तै छ !

सिकारीका गुलेलीहरू

विज्ञान बजारमा

अणु–परमाणुमा रूपान्तरित छन् ।

 

यसप्रकार तीर्थराजका काव्यधारमा कतै बालधारका सुरिला मुरली बजेको देखिन्छ भने पछिपछि पनि त्यो उकालिँदै उसरी नै बजिरहेको प्रतीत हुन्छ ।

यी चारै कृतिले उनको क्षमता पहिचान राम्रोसँग हुन जान्छ र काव्य सफल हुन सक्षम देखिन्छ । छन्दमा टिलिक्क परेका भाव, उपमा अलङ्कार आदिका संयोजन शिल्पले समकालीनमाझ उनी रामै्र भेटिन्छन् । हो, एकदुई ठाउँमा भने अग्रज महाकवि देवकोटा, युगकवि सिद्धिचरण र राष्ट्रकवि माधव घिमिरेका काव्य भावको प्रभाव रहेको आभास पनि हुन्छ तर यसलाई स्वाभाविकै मान्न सकिन्छ ।

यी चार कृतिका आधारमा हेर्दा तीर्थराज अधिकारीका कवित्वभित्र माटो, समाज, स्थिति मात्र होइन बदलिँदो परिस्थितिलाई सहजै उचालेर देखाउन सक्ने क्षमता रहेको स्पष्ट देख्न सकिन्छ र उनलाई काव्यगत पहुँचको सेरोफेरोमा चनाखो भएर शुद्धीकरणको पक्षपातीको रूपमा पनि चिन्न सकिन्छ । निष्कर्षका रूपमा सङ्क्षेपमा के भन्न सकिन्छ भने यी कृतिहरूले तीर्थराजभित्रका काव्यिक क्षमता राम्रोसँग परिलक्षित गरेका छन् र युगीन चेतना तथा समाजप्रतिको सर्जकको दायित्व पनि उनका उल्लिखित कृतिमा सजीव रूपमा अभिव्यक्त भएको पाइन्छ ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments