‘गुडमर्निङ’ सुमु ! तिमी अझै सुतिराखेका छौ ? “ओहो ! ढिला भैसक्यो ।” भन्दै म श्रीमान्लाई घचघच्याउँछु । अघि भर्खर नेपालबाट फोन आएको थियो । उहाँहरूको तीन बजेको उडान छ रे ! उनी अझै सिरकले मुख छोपी सुतिराखेकाछन् । मलाई हल्का रिस उठ्छ तर देखाउँदिनँ । ओढ्ने फालिदिन्छु र काम समात्छु, अनि पुन ः शुभविहानी ‘सुमु’ ! भन्छु । म श्रीमान्लाई माया गरी ‘सुमु’ भन्छु उनी मलाई ‘सानु’ भन्छन् । उनको नाम त ‘सुरेन्द्र शर्मा’ हो ।

नेपालबाट आमाबाको फोन आएपछि उनलाई उठाउन कोठामा गएकी थिएँ । सिरकले मुख छोपेर उनले भने –“अझै समय छ त डार्लिङ किन हतारो ?” “तिमी जस्ती छोरी पाउनु त उहाँहरूको अहो भाग्य हो ।” “के गर्नु ? आफूले त सानैमा बाबु आमा टोकी ………।” वाक्य पूरा नहुँदैँ मैले उनको मुख थुनिदिएँ । उनका आँखा राता राता भएका थिए । सायद राति निद्रा परेन जस्तो छ । मेरा आमा बा आउने कारणले वा खर्च धान्ने कठिनाइले होला निद्रा नपरेको । मलाई कता कता नरमाइलो लाग्यो । तै पनि हाँसेर भने–“सुमु समय छ भनेर चुप लागेर बस्नु भएन नि ! । कोठा सफा गर्नु, भ्याकुम लगाउने काम पनि गर्नु प¥यो । तिमी बजार जाऊ र दाल, चामल चिउरा लिएर आऊ । अनि “गहूँको आँटा पनि ल्याऊ है उहाँहरू पाउरोटी खानु हुन्न ।” सामानकोे जोरजाम त गर्नु प¥यो नि ! म आफ्नै सुरमा सामानको सूचि तयार पार्न थालँे । परार साल आमाबा आउँदा त उनी आफैँ चटारिएका थिए । तर ……. यो साल किन अल्छी गरेका हुन्, म मनमनै तौलन थालेँ उनीलाई ।

हुन पनि हो नि त आफ्नो आमाबाबुलाई पाल्नुको सट्टा श्रीमतीको आमाबुबा पाल्नुपर्ने भएपछि कसका ज्वाँइले जागर देखाउलान् ? आफ्नो मन आफैँले बुझाएँ । मैले आफ्ना सासू ससुरालाई वास्ता नगरी आमाबालाई सहारा दिन खोजेको हैन । उहाँहरूको स्वर्गवास भैसक्यो । म आफ्नो कर्तव्यलाई लत्याएर मायाको पछि लागेको पनि त होइन नि !

मेरा जन्मदातालाई बुढेशकालको सहारा दिनु पनि त मेरो दायित्व थियो नि ! सायद दाजुभाइ भैदिएको भए मेरो उहाँहरूप्रतिको उत्तरदायित्व कम हुनेथ्यो होला । मेरा जन्मदातालाई नेपालमै छोडिदिउँ त ? छोराले सहारा दिन सक्छ भने छोरीले सक्दिन ? यी आदि प्रश्न प्रतिप्रश्न मेरो मानस पटलमा ज्वारमाटाझै एकैचोटि उर्र्लिए ।

उनी उठेर बाथरुम पसिसकेका थिए । पुनः म उठेर भान्छामा गएँ । मेरो सानो पुन्टे छोरो अझै उठेको थिएन । उसलाई स्कुलको निम्ति तयार गर्नु थियो भने श्रीमान्लाई अफिसको तयारी गर्नु मेरो दिनचर्या नै थियो । उक्त कार्यबाट म विमुख हुनै सक्तिनँ । छोरो भविष्यको खम्बा थियो भने श्रीमान् वर्तमानको । यी दुवै वर्तमान र भविष्यका आधारस्तम्भ मेरा जीवनको महŒवपूर्ण हुन्, जुनविना म मेरो जीवनको कल्पना गर्नै सक्तिनँ ।

नेपालबाट आमा बा आउने खबरले म हर्षित थिएँ । मेरा जन्मदाता जसले यस धर्तीमा पाइला टेकाए । हुर्काए, बढाए, पढाए, लेखाए अनि कन्यादान गरी आफ्नो कर्तव्य पूरा गरे । मेरी दिदी मभन्दा दुई वर्षले जेठी थिइन् । उनी नेपाल मै छिन् । अन्तरजातीय विवाह बन्धनमा बाधिएर आफ्नो जन्मघरलाई सदाको लागि त्यागेकी अनि सदाको लागि माइतिघरबाट बिदा लिएकी । दिदी पहिली नातिनी भएकोले सबैको माया पाएर धेरै फुर्किएकी थिई । ऊ मलाई देखिसहदैनथी । मेरो हरेक सामान उसैको हुन्थ्यो । उसलाई कसैले केही भन्दैनथे । तर म भने छोराको चाहना र आसैआसमा जन्मिएकी अलच्छिना छोरी थिएँ । छोराको महŒवाकाङ्क्षाले जेलिएर जन्मिन पुगेकी अभागिनी छोरी थिएँ म । नियतिले ममाथि ठूलो षड्यन्त्र रचेको थियो त्यतिखेर । म आमाकी मात्र प्यारी, सोझी कान्छी छोरी थिएँ ।

समयको गति चक्रझै चलिरहन्छ । तीस वर्षको समयावधिमा के के परिवर्तन भयो । मेरो जीवनमा त्यो मलाई मात्र थाहा छ । तीसवर्ष अगाडि को भयानक, त्रासद स्थितिलाई सम्झना गर्दा त्यति खेरको आमाको निरीह अनुहार अनि उराठ लाग्दो जीवन संझिदा आङ नै जिरिङ्ग गर्छ ।

“ए ! ठूले दुलहीलाई आजै डाक्टरकोमा लैजा अनि जाँच गरी एकिन गरेर आइज ।”

हजुर आमाले बालाई हुकुम गर्नुभो । बा चुपलागेर जुत्ता टकटकाउँदै हुनुहुन्थ्यो । बाको कुनै प्रतिक्रिया नदेखेर हजुर आमाले आपत्ती जनाउँदै फेरि भन्नुभो–“तीन महिना पूरा भैसक्यो ! यसपाली पनि फेरि छोरी नै भई भने त जहाज नै डुब्छ नि ! ठूले ! त्यसैले छोरा हो कि छोरी राम्ररी ठम्याएर आएस् आजै । जति ढिला ग¥यो त्यति गाह्रो हुन्छ बच्चा गिराउन ।” यदि छोरी नै रछे भने भोलि नै लानुपर्छ चिनेको क्लिनिकमा । “चुपलागेर गएस् । अरूले खै गर्लान् नि !” सोधे भने बजार जान लाग्या भन्नु ।” हजुर आमाले आफ्नै भाषामा कलविष ओकल्नु भो । भान्छामा मेरी आमा मोहीमा ढिडो मुछेर खान लाग्नु भएको थियो । हजुरआमाको शब्दले घाटीमै अड्कियो । भित्तापट्टि फर्केर आफ्नो आँसुले निल्न खोज्नु भो तर सक्नुभएन ।

म आमाको गर्भाशयभित्र आमाले निल्नुभाको ढिडोको प्रतीक्षामा थिएँ । म पूर्ण रूपमा आमाले खाएको खानेकुरामा आश्रित थिएँ । त्यसदिन आमाले खाना नखाइकनै डाक्टरकाहाँ गएको हुँदा मेरो पनि उपवास भयो । सायद गर्भभित्र उपवास बस्ने म नै अभागी छोरी थिएँ ।

डाक्टरले आमालाई जाँच ग¥यो । बाले डाक्टरको कानमा खै के खुसुर खुसर गर्नुभो मैले थाहा पाइनँ । त्यसपछि आमालाई बेडमा सुताएर भिडियो एक्सरे गरियो । मेसिनले देखाएको दृश्यलाई मेरा बाले खुब नियालिरहनुभएको थियो । सायद मलाई पहिलोपल्ट आफ्नै आँखाले हेर्ने मेरै बा थिए आफ्नो नाङ्गो शरीर नियाल्ने पुरुष अरू कोही नभएर मेरै जन्मदाता भए पनि मलाई आफैँभित्र लाज लागेर आयो । मेरो अविकसित अङ्गले गर्दा आफूलाई जोगाउने स्थितिमा म थिइनँ । आफ्नो विकसित नभएको गुप्ताङ्ग छोप्न मेरा हात र खुटाहरू पनि असमर्थ थिए । आफ्नो शरीर एवं छोरीको चिह्न जस्ताको तस्तै देखाउन म विवश भएँ ।

बाको अझै आँखा मैमाथि थियो । हजुरआमाको र बाको उद्देश्य, मेरो शरीर विकसित छ कि छैन भनेर हेर्ने होइन । थियो त केवल चिह्न, त्यै पनि छोराको चिह्न भएको होस् ।

एकैछिनमा आमा बेडबाट उठ्नु भो । आमासँगै म पनि उठेँ । अब मलाई बाप्रति शङ्का लाग्न थाल्यो । आमाको उदासीन चेहरा मैले गर्भाशय भित्रबाटै अवलोकन गरेँ । म छोरी नै भएको मलाई पूर्ण रूपमा ज्ञात थियो । तसर्थ म भगवानसँग ती अविकसित हातका औँलाहरू जोडेर प्रार्थना गर्न थालेँ,– “हे भगवान्, म र मेरी आमाको जिन्दगीको भीख माग्छु । मलाई मेरो जिन्दगीभन्दा पनि मेरी आमाको जीवन मूल्यवान् छ ।” किनकि मेरी दुई वर्षकी दिदीको जिन्दगी मेरी आमासँग जोडिएको छ ।

म  छोरी  भएको  थाहा  पाए हजुरआमाले ममाथि त्रूmर भएर मेरो हत्या गर्नु हुनेछ । अनि म गर्भमै तुहिने छु । मेरो गर्भमा कुहिएको लास आमाले कसरी बाहिर ल्याउनुहुन्छ ? आमाको पनि ज्यानको खतरा छ । आदि इत्यादि कुराले म पिरोलिन थाल्छु ।

मेरी आमालाई जाँच्ने महिला डाक्टर थिइन् । जसले गर्दा आमाको मुखको भाव सजिलै पढ्न सकिन् । अनि पुरुषप्रधान समाजको प्रतिनिधि पात्र मेरा बाको पनि मनोविज्ञान पढिछिन् । आखिर पेशाले डाक्टर भए पनि थिइन् उनी पनि एक महिला अनि एउटी छोरीकी आमा । त्यसैलै तिनीले मेरा बा र आमालाई सँगै राखेर भनिन् –“तपाईको गर्भमा छोरी छ ।” यो शब्दले आमाको अनुहारको रङ उड्यो । एकाएक लल्याक लुलुक बन्नुभो । उहाँलाई भाउन्न होला जस्तो भो । घर गएपछि के के दशा खेप्न पर्ने चिन्ताले सतायो । पनि दुःखी हुनुभो । बालाई हजुरआमाको चिन्ता थियो भने मेरी आमालाई मेरो भविष्यको । बा आमा एक अर्कालाई हेरी केही बोल्न सक्नु भएको थिएन ।

एक्कासी बा चिच्याउनुभो, “मलाई छोरी चाहिदैन ! मलाई छोरी चाहिदैन !!” यो सुनेर आमाको होसहवास उड्यो । दुवै हातले पेटलाई छोपेर भन्नुभो–“नाइँ, नाइँ म बच्चा गिराउँन चाहन्नँ ।”

मैले आमाको चीत्कार पेटभित्रबाट सुने । अनि दुवै हातको न्यानो स्पर्शको महसुस पनि गरेँ । तर बा एकोहोरो रट लगाइरहनु भएको थियो । “एबोर्सन ! एबोर्सन !!”

अन्त्यमा कसो कसो ती डाक्टरले सम्झाइबुझाइन् । खै कसरी बाले बुझ्नुभो ? आमाको कुरो त बाले कहिल्यै बुझ्नुहुन्नथ्यो । अन्त्यमा डाक्टरले भनिन् –“अहिलेको छोरीलाई जन्म दिनुहोस् ।” छोरा चाहिएमा अर्को पनि पाउन सक्नुहुनेछ । अँध्यारो मुख लगाएर बाले स्वीकृति दिनुभो । अनि आमाले लामो श्वास तान्नु भो । तब मभित्र पनि बाँच्ने, जीवनको आशा पलाएर आयो ।

हस्पिटलमा त बाले केही भन्नु भएन । घरमा गएर के गर्ने हो भन्ने डर आमालाई थियो । बा आमा घर आएको देखेर हजुरआमाले सोध्नुभो –“ठूले ! के रहेछ ? छोरा ? कि छोरी ?” बा केही बोल्नुभएन आमा घोसेमुण्टो लगाउनु भयो । मैले पेटभित्रबाटै भनिदिएँ –“हजुर आमा म छोरी हुँ क्या ! छोरी तपाई जस्तै ।” मेरो आवाज गर्भाशयभित्र सीमित थियो । बाहिर कसैले सुनेन । बाको अँध्यारो मुख देखेर हजुरआमाले कति चोटी सोद्धा पनि केही बोल्नुभएन । बाको मुखमण्डलले उहाँलाई अनुमान लगाउन सजिलो थियो बुहारीको गर्भमा वंश चलाउने नाति होइन मै अभागिनी नचाहिएकी नातिनी छोरी छु भनेर ।

मेरी आमाले एउटा पुण्यचाँहि गर्नुभएको रहेछ । जसले गर्दा बाले डाक्टरसँगको कुराकानीलाई आफ्नै मनभित्र राख्नु भो । खै कुन्नि किन हजुर आमालाई भन्नु भएन । सायद मलाई नियतिले यस धर्तीमा पाइलो टेकाउनु थियो । मेरो जीवन बाको र हजुर आमाको हातमा थियो । अरूको अगाडि त बाले आमालाई केही भन्नु हुन्नथ्यो आमाको पीडा कम भएको थिएन । बेलुका बा ढिला आउनुहुन्थ्यो, कहिलेकाँहि खाना पनि खानुहुन्नथ्यो । आमाले भात कुरेर बस्दा पेटभित्र मलाई कति भोक लाग्थ्यो छटपटाउँथेँ । रिसले आमालाई एक लात मार्थे तैपनि आमा रिसाउनु हुन्नथ्यो, मायाले दुवैहातले मलाई सुमसुम्याउनु हुन्थ्यो । त्यो आमाको न्यानो स्पर्शले भोकलाई नै बिर्साउँथ्यो ।

एवम् प्रकारले समयक्रम चलिरह्यो । आमाप्रति बाको स्वभाव परिवर्तन भएन । खाना कुराउने, नबोल्ने अनि गाह्रो भएको बखत एकवचन मीठो बोली पनि बोल्नुहुन्नथ्यो । प्रायः आमालाई दुःख दिइराख्नुहुन्थ्यो । मेरो शरीर वृद्धिको कारण आमालाई थप आरामको जरुरत पथ्र्यो तर आरामको सट्टा बाको वासनाको शिकार बन्न हुन्थ्यो आमा । कतिपटक बाको वासनाको शिकार बन्दा आमाले पेटमा हातराखेर मलाई जोगाउन भएको छ । बा यस्तो अवस्था पनि आमामाथि पशुवत व्यवहार गर्न पछि पर्नुहुन्नथ्यो । उहाँलाई न मेरो माया थियो न त आमाको स्वास्थ्यको, चिन्ता थियो त केवल शारीरिक भोक तृप्तिको ।

दिन प्रतिदिन मेरो शरीर वृद्धि हुँदै गैरहेको थियो । शरीरसँगै मस्तिष्कको पनि विकास हुँदै थियो । ठूली हुँदै गएको कारण बाको कारणले मलाई पनि सकस हुन्थ्यो । अनि म मन मनै अठोट गर्न थालेँ, –“हे प्रभु म जन्मूँ मात्रै ! म मेरी आमालाई बाभन्दा टाढा राखेर पाल्नेछु ।” बाको छायाँसम्म पनि पर्न दिने छैन ।

सानु ! ए ! छोरी ? लौ हामी त आइपुग्यौँ नि ! भन्दै बाआमा नेपालबाट टुप्लुक्कै आइपुग्नुभो । मेरो आँखा अतीतका सम्झनाले रसाएका थिए । तत्काल आफूलाई समालेँ र आमा बालाई ढोग गरेँ । उहाँहरूलाई सुमुसँर्गै भित्रीकोठामा राखेर नास्ता बनाउनको लागि म भान्छातिर लागेँ ।

मो .९८४१४२८४७८

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments