भूमिजङ्गका उमेश र दिनेश नामका दुई छोरा थिए । आठ वर्षको उमेरमा उमेश टाइफाइड रोगबाट ग्रसित भए । भूमिजङ्गले छोरालाई अस्पताल पु¥याए । उपचारपछि टाइफाइड त निको भयो । दुर्भाग्य उमेशका दुवै आँखाका ज्योति गुम्न पुगे ।

भूमिजङ्गले आफूलाई युवा नेता ठान्थे । सामाजिक प्रतिष्ठाको नाममा दृष्टिविहीन छोरालाई घरमा लैजान उचित ठानेनन् । उनलाई राम्ररी थाहा थियो अब छोराको आँखामा दृष्टि फर्केर आउँदैन । तैपनि उपचार गर्ने भन्दै आँखा अस्पताल लगेर भर्ना गरिदिए । छोराको नाम उमेश हैन ‘करुण’ लेखाए । आफ्नो नाम, घर ठेगाना, सम्पर्क नम्बर सबै नक्कली टिपाएर उनी लुसुक्क अस्पताल बाहिर निस्के ।

बालक उमेश अब करुण बनेर अस्पतालमा वेवारिसे भए । अस्पतालको सहयोगमा अपाङ्गता अधिकार र विकासकालागि क्रियाशील एक संस्थाले उनको जिम्मा लियो । आवश्यक आर्थिक तथा मानवीय सहयोग प्रदान ग¥यो । उनलाई स्कुल भर्ना गराइयो । ब्रेललिपिको प्रशिक्षण दिइयो । करुणले पनि अथक परिश्रम गरे । दह्रो आत्मबल र दृढ इच्छाशक्तिका कारण उनले पढाइमा सफलता पाउँदै गए ।

सफलता हासिल गर्दै एक दिन उनले विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरे । बालककालका उमेश अब डा. करुण कहलिए । उनले प्रतिष्ठित कलेजको एसोसिएट प्रोफेसरमा नियुक्ति पाए । दृष्टिविहीन भएर पनि उनको साहस र सफलताको सर्वत्र प्रशंसा भयो ।

एक दिन उमेशलाई नागरिक अभिनन्दन गरिने भयो । समयको यस अवधिमा भूमिजङ्ग समाजका एक प्रतिष्ठित व्यक्ति कहलिएका थिए । सबैले उनको सम्मान  गर्थे  ।  उनैलाई  अभिनन्दन समारोहको प्रमुख अतिथिको रूपमा आमन्त्रण गरियो ।

तोकिएको समयमा सम्मान समारोह शुरू भयो । डा. करुणलाई दोसल्ला र प्रशंसापत्र  प्रदान  गरी  सम्मान  गर्न उद्घोषकले प्रमुख अतिथिलाई आग्रह गरे । भूमिजङ्ग मञ्चबाट उठे ।

उद्घोषकले भने, ‘डा. करुण त्यही व्यक्ति हुनुहुन्छ, जसलाई आजभन्दा पच्चीस वर्ष पहिले आठ वर्षको उमेरमा दृष्टिविहीन भएकै कारण उनको परिवारले एउटा अस्पतालमा वेवारिसे छोडेका थिए ।’

भूमिजङ्ग अचानक बेहोस भए र डङरङ्गै ढले ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments