“लौन नि त्यो बुढीको पेट कत्रो ठूलो रैछ ! बच्चा पाउने छ कि क्याहो ?” एउटीले भनी ।

“नकराऊ, त्यस्ती बुढीले नि भुँडी बोक्छन् ? नचाहिने कुरा नगर” अर्कीले भनी ।

“नभए त्यति ठूलो पेट कसरी हुन्छ त ?” प्रश्न थपी अर्कीले । त्यसरी वृद्धाश्रममा पहिलादेखि आश्रय पाइरहेका सबै वृद्धाहरूको मनमा एक प्रकारको खुल्दुली मच्चियो कान्छी कटुवाल भर्ना भएर आएको दिनमा ।

आश्रमकी सिनियर दिदी शान्तिले कान्छीलाई तीन नंवर कोठामा लगिन् र एउटा ओछ्यान देखाउँदै भनिन् “ल यो बेड अबदेखि तिम्रो भयो । यसैमा बस ।” कान्छीले हुन्छ भनेर टाउको हल्लाई ।

शान्ति दिदी यो आश्रम स्थापना भएदेखि यहीँ बस्दै आएकी छिन् । यिनैले नयाँ भर्ना भएका वृद्धाहरूलाई आश्रमको नियम सिकाउनुको साथै उनीहरूको रेखदेख समेत गर्थिन् । कान्छीको ठूलो पेट देखेर उनको मनमा पनि खिचडी नपाकेको कहाँ हो र ? तैपनि प्वाक्क बोलिहाल्न चाहिनन् ।

भोलिपल्ट पनि कान्छीको ठूलो पेटको विषयलाई निहँु बनाएर आश्रमभित्र हल्ली खल्ली मच्चियो । कसैले भने “राम राम राम यस्तो वृद्धाश्रममा पनि गर्भवती आइमाई राख्न थालियो । अब यहाँ बसी नसक्नु हुने भयो” । कसैले भने “त्यो आइमाईले कसको पाप बोकेर यहाँ बिसाउन आई…” इत्यादि । कान्छी आएदेखि त्यहाँ एक प्रकारको अशान्त वातावरण सुरुआत भयो ।

आश्रम सञ्चालिका कल्याणीलाई के गर्नु र कसो गर्नुभयो । उनले सबै वृद्धाहरूलाई एकै ठाउँमा भेला पारेर शान्त हुन अनुरोध गर्दे भनिन् “हेर्नुस्, तपाईंहरूले आफ्नो घर छोडेर यो वृद्धाश्रममा आश्रित हुन आउनुको पछाडि आफ्नै कथा, व्यथाहरू छन् । बाध्यताहरू छन् । त्यस्तै यिनी कान्छी कटुवालको पनि छ । ल सुन्नुहोस्, यिनको कथा व्यथा ।

त्यहाँ जम्मा भएका वृद्धाहरूले कल्याणीको मुखमा बडो उत्सुक भएर हेरे । उनले यसरी सुरु गरिन् कथा ।

“कान्छी पाँच वर्षको सानो बालक छँदै बुवाआमा गुमाएर टुहुरी हुन पुगी । उसको हेरविचार गर्ने कोही नहुँदा त्यहीको टोल छिमेकीको मद्दतबाट जर्नेल्नी साहेबको घरमा ल्याइएकी थिई । उसको बाल्यकाल जर्नेल्नी साहेबकै न्यानो काखमा बित्यो । उहाँकै घर आँगनमा खेलेर ऊ हलक्क बढी । सोह्रवर्षे जवान भई । कान्छीले त्यो घर आफ्नै घर र जर्नेल्नी साहेबलाई आफ्नै आमा सम्झन्थी । ऊ मेहनती पनि उत्तिकै थिई, ज्यानले भ्याएसम्मको काम एक्लैले गरी सक्थी । बिहान सबेरै उठ्नु कुचो लाउनु, भुइँ पुछ्नु, कोठाहरू सफा गर्नु, लुगा धुनु उसको दैनिकी बनेको थियो । उसले गरेको कामबाट जर्नेल्नी साहेब सन्तुष्ट हुनुहुन्थ्यो । घरमा अरू काम गर्नेले भन्दा कान्छीले धोएको लुगा, माझेको भाँडा मात्र उहाँलाई मन पथ्र्यो ।

जर्नेल्नी साहेबले जतिबेला नि यसो गर कान्छी उसो गर कान्छी भनेर उसकै नाम लिइरहने र काम अह्राइरहने गरेको दखेर घरका अरू काम गर्ने मान्छेहरूले कान्छीको ईष्र्या गर्थे । अनि उसको खोट खोजीखोजी जर्नेल्नी साहेबलाई कुरा लाउन पछि पर्दैनथे ।

कान्छीको रूप, जीउडाल, भने खासै राम्रो र आकर्षक थिएन त्यो उमेरमा पनि । अनुहार भकुण्डोजस्ता गोलो, निधार सानो, नाक छोटो, अलि बढी नै उठेका गाला, चिम्सा आँखा, गठेरो परेको जीउ, गोज्याङ्ग्रे हिँडाइ, प्रस्ट नबुझिने बोली थियो । तैपनि बैँसमा स्याल पनि घोर्ले हुन्छ भनेझैं राता राता गाला कुरकुरे बैँसयुक्त थिई कान्छी । त्यसैले ऊ बिस्तारै विपरीत लिङ्गीतर्फ आकर्षित हुन थाली । कोही लोग्ने मान्छे देख्यो कि हिहिहि गरी हाँस्थी ऊ ।

जर्नेल्ली साहेबको एक मात्र छोरा थिए मनोज बाबु । उनले ट्राभल एजेन्सी खोलेर व्यवसाय सञ्चालन गरेका थिए । आकर्षक व्यक्तित्व नाम र दाम दुवै थियो उनीसँग । मुमाको र मनोज बाबुको कोठा कान्छीले नै सफा गर्दथी । अब कान्छीलाई अरू कामभन्दा मदनबाबुको कोठा सफा गर्दा आनन्द लाग्न थालेको थियो । मदन बाबुको कोठामा पसेपछि बाहिर निस्कन घण्टौँ लगाउँथी । एकदिन मदनबाबु अफिस गएपछि कोठामा पसेकी कान्छीले त्यहाँ सजाइएको ठूलो ऐना अगाडि उभिएर आफ्नो टाउकोदेखि खुट्टासम्म हेरिरही । उसले आफूलाई एउटा सुन्दर परीभन्दा पनि राम्री देखी । त्यसपछि कता कता काउकुती लागेको महसुस गरी अनि अलि लजाएजस्तो गरी मुख छोपेर खितीखितीखिती हाँसिरही ।

त्यही बेला मदन बाबु टुप्लुक्क आइपुगे । कोठाभित्र पस्दा कान्छीको चाला देखेर छक्कै परे । मदनबाबुलाई देखेर ऊ हिहिहि गर्दै ढोकाबाट बाहिर गई । बिहान अफिस जाँदा मोबाइल टेबुलमै छुटेछ । त्यही लिन फर्केर आएका रहेछन् उनी ।

दुईचार दिनपछि पनि मदनबाबु त्यसै गरी छिटो घर आए । कारण थियो अफिसमा लानुपर्ने कागजात कोठामै छुटेछ । अस्ति जस्तै कान्छी ऐना हेर्दै हाँस्दै गरिरहेकी थिई । कान्छीको चाला उनलाई निको लागेन त्यसपछि ढोकामा ताल्चा लाएर हिँड्न थाले ।

पहिला जस्तो मदनबाबुको कोठा खुला नभएपछि ऊ भीमे (गेटपाले), बले (बगैँचे) को नजिक हुने मौका खोज्न थाली । घरीघरी उनीहरू छेउ पुगेर हिहिहि हिहिहि गरी हाँसिरहन्थी ।

उखु बाङ्गो भए पनि रस बाङ्गो हुँदैन भने जस्तै कान्छीको रूप र जिउडाल राम्रो नभए पनि ऊभित्रको जवानी कुनै विश्व सुन्दरीको भन्दा कम थिएन । उसको पनि मन थियो । इच्छा–आकाङ्क्षा थियो । दुलही बन्ने, आमा हुने चाहना थियो । प्रकृतिको नियम नै हो स्त्री जातिको रूपमा जन्म लिएपछि मनमा ती कुराहरू पाल्नु गलत होइन ।

भवानी बजै (भान्छे) लाई कान्छीको चालामाला मन पर्दैनथ्यो । कतै केही भइहाल्छ कि भनेर सतर्क रहन्थिन् । उसको विषयमा एकदुई पटक जर्नेल्नी साहेबलाई नभनेकी पनि होइन । एउटा केटा खोजेर छिटो बिहा गरिदिबक्सियोस् भनेर सुझाव पनि दिएकी थिइन् । तर उहाँले सुनिदिएको भए पो ।”

कान्छीको यौवनावस्थाका कुरा सुन्दा वृद्धाहरूले पनि आफ्ना बैँसालु दिनहरू सम्झेर घुटुक्क थुक निले । अनि के भयो ? एक जना वृद्धाले सोधिन् । कस्तो जवाफ आउँछ होला भनेर अरू वृद्धाहरूले कान ठाडो पारे । कल्याणीले फेरि भनिन् “भीमे (गेटपाले) कान्छीसँग गफ गर्न रुचाउँथ्यो । कान्छी पनि फुर्सद निकालेर भीमेसँग गफिन पुग्थी । केही मीठो खानेकुरा पायो कि हत्तनपत्त भीमेलाई लगेर दिइहाल्थी । उसले पनि कान्छीले लगिदिएको खानेकुरा मीठो मानेर खाइदिन्थ्यो अनि आँखा सन्काएर कुरा गथ्र्यो । कान्छी दङ्ग पर्थी ।

एकदिन रातको १२ बजेतिर एक्कासि ढोका घचघच्याएको आवाजले भीमे मस्त निद्राबाट ब्युँझियो । यति राती कसले ढोका घचघचायो ? जर्नेल्नी साहेबलाई विसन्चो पो भयो कि भन्दै मनमा नाना थरिका कुरा खेलायो । त्यसपछि भीमे जीउ तन्काउँदै उठेर ढोका खोली हेर्दा कान्छीलाई देखर ऊ झस्कियो । यति राती यहाँ किन आएकी ? भन्न नभ्याउँदै कान्छी हुत्तिएर ढोकाभित्र छिरिहाली । हातमा लिएर आएकी पकाएको मासुको कचौरा भीमेको हातमा थमाएर उसैको ओछ्यानमा डङ्ग्रङ्ग पल्टिई । कान्छीको जीउ तातेर खलखली पसिना आइरहेको थियो । सास बढेर स्वाँ स्वाँ भएको थियो । उसको कामुक नजरले भीमेलाई एकोहोरो हेरिरह्यो । कान्छीको चाला देखेर भीमेलाई के गरुँ कसो गरुँ भयो । उसको पुरुष मनले भन्यो “मैले बोलाएको होइन, ऊ आफै आएर मेरो ओछ्यानमा कुमारी बैँस ओछ्याएर मबाट यौनआकाङ्क्षा राख्दछे भने यस्तो मौका किन चुकाउनू ? उसको इच्छा पूरा गरिदिनु मेरो कर्तव्य हो । भन्दै कान्छीलाई गम्लङ्ग अँगालो मार्दा कान्छीको पसिनाको स्पर्शले भीमेलाई नराम्ररी झस्कायो । त्यसपछि हत्तेरिका भन्दै उठेर त्यहीँ नजिकै भएको जग उठाएर कान्छीको टाउकोदेखि खुट्टासम्म पानी खन्याइदियो । जवानीको आगोले रापिएकी कान्छी चिसोपानीले भिजेपछि हुँहुँहँु गरी रुँदै बाहिर निस्की ।

भीमे परिवारप्रति इमानदार थियो । जर्नेल्नी साहेबप्रति बफादार सेवक थियो । उसले मनमनै भन्यो “मैले १८ बर्र्से सैनिक सेवामा घरबाहिर धेरै समय बिताएँ । उतिखेर जवान थिएँ तापनि कुनै नारीप्रति कुदृष्टि लगाइनँ । यत्र पुज्यन्ते नारीः, तत्र रमन्ते देवताः मा विश्वास राख्ने मान्छे आज जीवनको उत्तरार्धमा आएर झन्डै फँसिनँ । त्यो पनि आफ्नै छोरीसमानकी केटीसित । समाजमा हुन सक्ने ठूलो बदनामीबाट मलाई बचाइदियौ भगवान् तिमीलाई कोटीकोटी धन्यवाद ।”

घरमा मदनबाबुको बिहेको कुरा चल्यो । उनकै अफिसमा काम गर्ने रीमासँग बिहा हुने पक्कापक्की भयो । बिहाका लागि आवश्यक सरसामान जुटाएर शुभ लग्नको दिनमा भएभरका लोग्ने मान्छेहरू जन्त गए । स्वास्नीमान्छेहरू जति जम्मा भएर साँझ रत्यौली खेले । त्यस दिन घरका सबै जना हाँसीखुसी देखिन्थे । कान्छी भने पुक्क गाला फुलाएर ठुस्स रिसाएर अँधेरो मुख लाएर बसी । जर्नेल्नी साहेबले देख्नुभयो र उसको हातमा समातेर तान्दै ल्याई आफूसँगै नचाउनुभयो । त्यो देखेर भवानी बजैले ओठ लेप्राएर मनमनै भनिन् “कुन दिन नाक काटी दिन्छे लठेब्रीले अनि ठिक्क पर्छ ।”

भोलिपल्ट मदनबाबुले घरमा दुलही भि¥याए । नयाँ दुलहीको स्वागतमा रीतअनुसार कसैले आरती उतारे । कसैले चुल्ठोपाथीका लागि सामान ढोकामा ल्याए । सबै जनामा हर्ष खुसी छाएको थियो । कामको चटारो पनि उत्तिकै परेको थियो । कान्छी भने नङ टोक्दै अँधेरो मुख लाएर हेरिरहेकी थिई । उसले मनमनै भनी “मदनबाबुसित बिहे गर्न पाएको भए ती दुहलीले जस्तै मैले पनि झिलिमिली लुगा, सुनका गहना, हरियो पाल्कीदार पोतेमा उनेको ठूलो तिलहरी लाउन पाउने थिएँ । खै कहिले हुन्छ मेरो बिहा ?” आफूले आफैलाई प्रश्न गरी उसले ।

दुलही भिœयाएपछि फेरि मुख हेर्ने काम सुरु भयो । नातेदारहरू, घरपरिवार, सहयोगीहरू सबै जना आआफ्नो क्षमताअनुसार असर्फी, कपडा, दाम राखेर नयाँ दुलहीको मुख हेरे । कान्छीलाई भवानी बजैले दुई रुपियाँको सिक्का दिएर मुख हेर्न लगाइन् । त्यसपछिको खानपिन रमाइलोमै दिन बितेको कसैलाई पत्तो भएन । कान्छीको मनमा भने एक प्रकारको गह्रुङ्गोपनले थिचिरह्यो । रातभरि निद्रा पनि लागेन । उसले घरी आपूmलाई मदनबाबुको दुलही भएको कल्पना गर्थी । घरी बलेको दुलही भएको कल्पना गर्थी । घरी भीमेको दुलही …ओहो भीमेलाई सम्झने बित्तिकै चिसोपानी खन्याइदिएको सम्झेर ऊ झसङ्ग भई ओछ्यानबाट जुरुक्कै उठी । एक प्रकारको उकुसमुकुस र गर्मी महसुस भयो । जिरो वाटको मघुरो बत्ती बलिरहेको कोठामा कुन सामान कता छ भनेर सर्लक्क देख्न सकिन्थ्यो । त्यस कारण झटपट पङ्खामा हात पु¥याएर बटन थिची । त्यस रात आँखा झिमिक्कै नगरी बिहान उठेकी थिई कान्छी ।

मदनबाबु नियमित आफ्नो र्मिर्नङ्वाक जान घरबाट निस्किए । त्यही मौका छोपेर कान्छी लुसुक्क कोठाभित्र छिरिहाली । नयाँ दुहली रीमा कान्छीलाई देखेर मुसुक्क हाँसिन् र आफ्नो छेउमै बस्न भनिन् । कान्छीले च्वच्वच्व गरी राम्लो छ भन्दै चोर औँला हल्लाई अनि हरियो पाल्कीदार पोतेमा उनेको ठूलो तिलहरी हातमा खेलाउँदै लाम्लो छ । लाम्लो छ भनिरही । रीमालाई उसको बोली लठेब्रो छ भन्ने कुरा थाहा हुने कुरै भएन । किनभने पहिलो पटक त्यस घरमा भित्रिएकी थिइन् उनी । त्यस कारण कान्छीको बोली सच्याउने प्रयास गर्दै भनिन्– “लाम्लो होइन राम्रो छ भन न ।”

कान्छीले हाँस्दै फेरि पनि लाम्लो छ लाम्लो छ भनिरही । त्यसपछि यिनको बोली नै यस्तै रैछ भन्ने थाहा पाइन् । रीमाले “भोलिपर्सि म बजार गएको बेला तिमीलाई पनि यस्तै पोते ल्याइदिउँला ल…” भनिन् । कान्छी खुसी हुँदै त्यहाँबाट बाहिर निस्की ।

केही दिनपछि रीमा बजार गएको बेला आफूले कान्छीलाई वचन दिएको कुरा सम्झेर रेडिमेड एक झुप्पा हरियो पाल्कीदार पोते किनेर ल्याइदिइन् । त्यो पाल्कीदार पोतेलाई पोल्टामा (कम्मरमा बाँधिराखेको पटुकाभित्र) जतनसँग राखेर दिनभरि आफूले गर्नुपर्ने काममै व्यस्त भई कान्छी । राती सुत्ने बेलामा भने पोतेलाई हातमा लिएर धेरैबेरसम्म ओर्काइफर्काई हेरी । त्यसपछि उसको मनमा के आएछ कुिन्न पोतेलाई खुरुक्क नि गलामा लगाई । खोपाबाट जर्नेल्नी साहेबले हरिद्वार जाँदा ल्याइदिएको प्रसाद रातो अबिर टीका झिकेर धमाधम सिउँदो रङ्गाई । त्यसपछि ट्याङ्का खोलेर उहाँले नै दिएको झिलझिले पछ्यौरा झिकेर घुम्टी बनाई ओढी पुनः ऐना हेरी । आफूलाई दुलहीजस्तै भएको देखेर अलिकति लजाई पनि । त्यही बेला दुलाहाले हात समातेर तानेको, म्वाइँ खाएको कल्पना गरी र मसक्क मस्किई कान्छी ।

भोलिपल्ट बिहान उठेर कान्छी जर्नेल्नी साहेबको कोठामा गई । ऊ सिन्दूर पोतेमा सजिएर आएको देखेर जर्नेल्नी साहेब छक्क पर्दै भन्नुभयो “कान्छी तिमीले यो के गरेको ? सिन्दूर–पोते त बिहा गरेपछि दुलहीले पो लगाउने हो त । तिम्रो बिहा भएको छैन । किन लगाएको सिन्दूर–पोते ?”

कान्छीले पुक्क गाला फुलाएर रिसाउँदै भनी “मेरो बिहा कहिले हुन्छ ? म कहिले दुलही हुने ?”

कान्छीको प्रश्नले जर्नेल्नी साहेबको मन चसक्क भयो । तापनि उसलाई अल्मलाइराख्ने उद्देश्यले भन्नुभयो “तिमीलाई बिहा गर्ने केटा अमेरिका गएको छ । भोलिपर्सि ऊ धेरै लुगा गहना लिएर आउँछ अनि उसैसित तिम्रो बिहा गर्ने हो । अहिले नरिसाइ राम्ररी काम गर ल… ” भनेर सम्झाएपछि एकाएक कान्छीको मुहार उज्यालियो । ऊ त्यही काल्पनिक दुलाहाको प्रतीक्षामा उमेर बिताइरही । बेलाबेलामा जर्नेल्नी साहेबसँग सोध्थी पनि “मेलो दुलाहा कहिले आउँछ ? मेलो बिहा कहिले गर्ने ?”

जर्नेल्नी साहेबलाई कान्छीले घरको काम गर्दिन कि भन्ने चिन्ता थियो । त्यस कारण झुट्टा आश्वासन दिँदै भन्नुहुन्थ्यो “तिम्रो दुलाहा अब छिट्टै आउँछ । ऊ आएपछि झ्याइँझ्याइँ बाजा बजाएर तिम्रो बिहा गरिदिउँला ।”

दिन बित्दै गयो । महिना बित्यो । वर्ष बित्यो कान्छीको उमेर ढल्किँदै गयो । जर्नेल्नी साहेब पनि वृद्ध हुनुको साथै दमको रोगी भई थला पर्नुभयो । कान्छीले दिलोज्यान दिएर सेवा गरी । एकदिन उसले जर्नेल्नी साहेबसँग फेरि सोधी “हजुल बिरामी भइस्यो । मेलो बिहा कहिले गर्ने ?”

जर्नेल्नी साहेबले कान्छीको कपाल मुसार्दै “बिहाको चिन्ता नगर, अमेरिकाबाट केटा आउनासाथ तिम्रो बिहा गरिदिन्छु” भन्नुभयो । त्यही नै कान्छीलाई दिएको उहाँको अन्तिम आश्वासन थियो । त्यसपछि त झन् बोल्नै नसक्ने भएर केही दिनमै जर्नेल्नी साहेबको मृत्युु भयो । कान्छीले लासलाई अँगालो मारेर भक्कानिँदै क्वाँ क्वाँ रोएर भनी “मेलो बिहा कहिले गर्ने ? अब मेलो बिहा कसले गरिदिन्छ ।”

जर्नेल्नी साहेबको देहावसानपछि कान्छी विक्षिप्त भई । ऊ एक्लै बर्बराउने, रुने कराउने गर्न थाली । सानैदेखि आफ्नो घरमा हुर्किएकी कान्छीको अवस्था देखेर मदनबाबुलाई पीर प¥यो । उनले मानसिक अस्पतालमा भर्ना गराएर उपचारको व्यवस्था मिलाइदिए । औषधीको प्रभावले केही सुधार देखिए पनि पहिलाजस्तो मानसिक रूपले स्वस्थ हुन सकिन । तापनि एउटी दासीले जस्तै त्यस घरमा सेवा गरी । कान्छीको बल उमेर घटेर काम गर्न नसकेपछि उसलाई यो आश्रममा ल्याएर भर्ना गरिएको हो ।”

कान्छीको कथा–व्यथा सुनेर सबै वृद्धाहरूको आँखा रसायो । त्यही बेला एउटी वृद्धाले प्वाक्क सोधिहालिन् “अनि त्यो ठूलो पेट ?”

त्यो त कान्छीको तृष्णाको पोको हो । विवाह गर्ने तृष्णा । उमेरले नेटो काटी सकेर डाँडामाथिको घाम भइसक्दा पनि कान्छीको विवाह गर्ने धोको बाँकी नै छ । रीमाले दिएको पाल्कीदार पोते पोल्टामा बोकेर जर्नेल्नी साहेबले भनेको अमेरिकाबाट आउने काल्पनिक दुलाहालाई पर्खिरहेकी छ । नपत्याए ल हेर्नुस्” भनेर कल्याणीले कान्छीको पटुका फुकाउन लाइन् । पटुकाभित्रको पोकोमा हरियो पाल्कीदार पोते, सिन्दूरको बट्टालगायत विवाहमा दुलहीले लगाउने थरीथरीका आभूषण देखेर सबै जना छक्क परे । á

कपन, काठमाडौँ

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments