“देवेन्द्र तेस्रो भएछ” –भर्खर रिजल्ट सुनेर आएको रामेले पसलमा आएर भन्यो । सबका कान ठाडा भए ।

“को देवेन्द्र भन्या, कसको छोरा” —रामदल बुढाले सोधे ।

“त्यै के त दोबाटे काइँलाको छोरा, देवे” —भीडको माझबाट रूपकेले भन्यो ।

“कत्ति कक्षामा रे त्यो अहिले ?” —ऋद्धि बुढाले सोधे ।

“आठमा, अब नौमा जाने” —रामेले नै उत्तर दियो ।

“ए त्यो नै मा पुगिसक्यो सानै पो छ त” —रामदल बुढाले आश्चर्य मान्दै भने । “अनि उसो भए तेस्रो पनि भयो, केटो त तगडा पो रहेछ त ।”

“ओहो देवे तेस्रो भयो, हैन होला”, माथ्लाघरे कृष्णेले शङ्का व्यक्त ग¥यो ।

“हो भन्या हाम्ले त मार्कसिट हे¥या” —द्वारेले ठोकुवा गरेर भन्यो ।

“अचम्मै ग¥यो त कसरी पढेछ हँ त्यसले, पहिला त पास मात्र हुन्थ्यो” —कृष्णलाई सकसक लागिरह्यो ।

अहिलेसम्म कसैले त्यसरी पढेका थिएनन । यसरी तेस्रो हुने पहिलो व्यक्ति त्यै भयो यो गाउँमा । गाउँभरि हल्ला फैलियो । दोबाटे काइँलाको छोरा तेस्रो भएछ । सबैलाई रमिता जस्तो भयो । गाउँमा कसैले गर्न नसकेको काम ग¥यो देवेले । गाउँमा चर्चाको पात्र बन्यो देवे ।

देवेन्द्रको भने भुइँमा खुट्टा थिएन । अझ सबै जनाले स्याबासी दिदा त के हर्षको सीमा रहेन । जता जाउ उसकै कुरा गरिरहेका ।

देवेन्द्र पहिलादेखि त्यति मिहिनेती त होइन नि । स्कुल नजाउञ्जेलसम्म सडकमा गएर गुच्चा खेलेर बस्थ्यो । स्कुलबाट फर्केपछि भकुण्डो खेल्न जान्थ्यो । किताब समाएको त्यति देखिँदैनथ्यो । ६, ७ कक्षा पढुञ्जेलसम्म हाउडे जस्तो लाग्थ्यो । पछि हँुदै जाँदा पढ्न मन गरे जस्तो पनि गर्दथ्यो । हरेक दिन भकुण्डो गुडाउँदै चौरमा एक चोटि त पुगेकै हुन्थ्यो । त्यै भएर देवेन्द्र तेस्रो हुँदा गाउँलेहरू छक्क परेका थिए ।

त्यो गाउँबाट कत्ति जनाले एसएलसी पास गरी सके तर कसैले पनि राम्रो नम्बर ल्याएर पहिलो दोस्रो भएर पास हुन सकेका थिएनन् । यसपालि देवेन्द्र तेस्रो भयो, अब राम्रो नम्बर ल्याएर एसएलसी पास गर्ला भनेर सबै गाउँलेहरूले सोचे ।

त्यो गाउँबाट प्रायः सबैको घरबाट बच्चाहरू स्कुल जान्थे । स्कुल गाउँबाट झन्डै २० मिनेट जत्ति टाढा थियो । स्कुल जाँदा आउँदा सबै जना सगै हिँड्थे । ऊ सरहकाहरूले देवेन्द्रलाई देवे भन्थे । ऊभन्दा सानाहरूले देव दाइ भन्थे । स्कुल जाँदा आउँदा गाउँका अरू केटाहरू ससाना बच्चाहरूलाई पछाडि नै छाडेर अघि अघि जान्थे । देवेन्द्र भने ती बच्चाहरूलाई अघि लगाएर लेराउँथ्यो । त्यै भएर बच्चाहरू देवेन्द्र भनेपछि हुरुक्क हुन्थे ।

देवेन्द्र दोस्रो भएछ, नौबाट दशमा जाँदा उसको मिहिनेत देखेर सबै जनाले पहिला हुन्छ कि भन्ने सोचेका थिए तर भएन । तापनि ठिकै छ । दोस्रो हुनु पनि कम ठूलो हैन । गाउँका अरू तीन जना फेल भएछन् । ऋद्धिका दुवै नाति फेल भएछन् । एउटा त देवेसँगै एउटै कक्षामा पढ्थ्यो ।

रिजल्ट सुनेर आएको दिन बुढाले दुवै जनालाई भातसमेत खान दिएनन् ।

त्यस दिनदेखि केटाहरू बुढाको सम्मुख नै नपर्ने भए । हजुरबा नभएको मौका पारेर आउँथे, खाना खान्थे अनि हिँडिहाल्थे । अनि अचानक कतै आमने सामने हुने बित्तिकै बुढा गाली गर्न थाल्थे –“थुक्क बजिया हो लुकी लुकी हिँड्छौ तिमीहरूले अन्न खा’को त कुकुरको गुहु खा’को सरह हो, जाओ बरु त्यो देवेको गुहु खायो ।” केटाहरू घोसेमुन्टो लाएर बस्थे । हजुरबा दायाँ बायाँ लाग्ने बित्तिकै ती खेल्न दौडिहाल्थे ।

गाउँमा कसैले अर्ती उपदेश दिन प¥यो भने बुढाहरू दोबाटे काइँलाको छोरा देवे कत्ति मिहिनेती छ, कत्ति पढ्छ, तिमीहरू पनि त्यसको सङ्गत गर भन्थे । सबैको घरमा देवेको चर्चा हुन्थ्यो ।

ससाना नानीहरू स्कुलबाट फर्केपछि खाजा खाएर देवेन्द्रको घरमा आउँथे । देवेन्द्र खाजा खाएर पढ्न बस्थ्यो र तिनीहरूलाई पनि पढ्न सिकाइदिन्थ्यो । घरभरि स–साना बच्चाहरू थुप्रिरहेका हुन्थे, यसो हेर्दाखेरि स्कुल जस्तै लाग्थ्यो ।

गाउँका मानिसहरू देवेन्द्रलाई भेट्यो कि हाम्रा छोराछोरीलाई पनि पढ्न सिकाइ दे है भन्थे । तर देवेन्द्रको बुबा भने घरभरि केटाकेटी थुपारेर आफूचाहिँ नपढी अरूलाई सिकाइरहेको देखेर मुर्मुरिन्थे ।

तर पनि बिहान साँझपख पसलतिर ग’को बखत गाउँलेहरूले तेरो छोरो त साह्रै पो पढ्छ त, देवेले गाउँको इज्जत राख्ने भो भनेर कुरा गर्दा काइँला बहुतै खुसी हुन्थ्यो, आफूले नपढे पनि छोरालाई पढा’को छु, छोरा पढेर ठूलो मान्छे बन्ला, राम्रो जागिर खा’ला, सुख देला भनेर काइँला मख्ख पर्दथ्यो ।

गाउँबाट एसएलसी दिने चार जना थिए, यसपटक । देवेन्द्र साथमा भएको हुँदा पास हुन सकिन्छ भन्ने सबैलाई लागेको थियो । हरपल तीसँगै हुन्थेँ, सँगै पढ्थे । महेश र दिनेश त पढ्नमा ठिकै ठिकै थिए, रवीन अलि कमजोर जस्तो लाग्दथ्यो ।

तर सबैले मिहिनेत गरेर पढे र जाँच राम्रो नै भयो ।

रिजल्ट निस्कँदा सबैले जे सोचेको थिए, त्यै भयो । देवेन्द्र प्रथम श्रेणीमा पास भयो अरू तीन जना तेस्रो श्रेणीमा । तर पनि तिनीहरूलाई यसमा ठूलो खुसी लागेको थियो ।

गाउँभरि ठूलो हर्षोल्लास भयो । सबै जना खुसी देखिन्थे । कहिल्यै नभएको कुरा भयो । देवेन्द्र प्रथम श्रेणीमा पास भयो । सबैको मुखबाट यही सुनिन्थ्यो ।

सबै जनाले देवेन्द्रलाई बधाई दिए । महेश दिनेश र रवीन पनि देवेन्द्रकै कारणले पास भएको भनेर उनीहरूका बाबुआमा देवेन्द्रसँग खुसी भए ।

सबैतिरबाट बधाई पाउँदा देवेन्द्रको हर्षको सीमा रहेन । घरमा बाबु आमा साह्रै खुसी देखिन्थे । कसैले गर्न नसकेको काम आफ्नो छोराले गरेर देखाइदियो, दोबाटे काइँलाले गाउँमा आफ्नो इज्जत अझ बढेको महसुस गरे । गाउँघरमा उनको छुट्टै स्थान रहेको उनले अनुभव गरे ।

यस सफलताको चहलपहल गाउमा झन्डै एक हप्तासम्म रह्यो । अब भविष्यमा के गर्ने, के पढ्ने, कहाँ पढ्ने जस्ता कुराले देवेन्द्र लगायत उसका साथीहरूमा अन्यौलता छायो ।

एसएलसीमा राम्रो नम्बर ल्याएको हँुदा डाक्टरी पढ्नुपर्छ भनेर गाउँलेहरूले देवेन्द्रलाई उक्साउँथे । कोही इन्जिनियरिङ पढ्नुपर्छ भन्थे । कोही चाहिँ अब पढनु पर्दैन, जागिर खानुपर्छ, बुढा भएका बाबुआमालाई पाल्नुपर्छ, अनि खेतीपातीको काम पनि हेर्नुप¥यो नि अब त भनेर सल्लाह दिन्थे ।

धेरै थरी मान्छेका धेरै किसिमका कुरा सुन्नुपर्दथ्यो । के गर्ने के नगर्ने साह्रै दोमनमा प¥यो देवेन्द्र ।

एसएलसी सकेपछि प्रायः सबैलाई यस्तै हुने गर्छ । आफ्नो बुद्धि विवेकले नभ्याउने अनि अरूहरूले पनि राम्रो सुझाव नदिने हँुदा साह्रै अन्योलमा परिने हुन्छ । ठिकसँग निर्णय गर्न सकिएन भने भविष्यमा ठूलो अप्ठेरो आइपर्ने ।

सँगै एसएलसी पास भएका महेश, दिनेश र रवीन काठमाडौँ छिरे पढ्नका लागि अनि मौका मिले काम पनि गर्न । तर देवेन्द्रले यति ठूलो निर्णय गर्न सकेन । डाक्टरी पढ्न त के काठमाडौँ जानसमेत उसलाई उपयुक्त लागेन । यसमा आफ्नै केही कारण होलान्, केही बाध्यता होलान् ।

गाउँ नजिक बजारमा हालसालै खुलेको नयाँ क्याम्पसमा देवेन्द्र भर्ना भयो । त्यहाँ बिहान पढाइ हुन्थ्यो । बिहान क्याम्पस गयो, दिउँसो खेतीपातीको काम ग¥यो, देवेन्द्रको समय राम्रैसँग बित्ने भयो ।

देवेन्द्रले गरेको यो निर्णयलाई सबैले मन पराए । हुन त त्यति राम्रो पढ्ने मान्छे डाक्टरी वा इन्जिनियरिङ पढ्नुपर्छ भनेर गाउँलेहरूले जोड नगरेका होइनन् तर सोचेजस्तो किन हुन्थ्यो र ?

समय हिँडिरह्यो । समयको गतिसँगै देवेन्द्रले आफूलाई अभ्यस्त गराउँदै लग्यो । क्याम्पसलाई धेरै समय दिइरहनु पर्दैनथ्यो र खेतीपातीको समय पनि सधैँजसो हुँदैनथ्यो । कहिले त दिन काट्न पनि साह्रै गाह्रो हुन्थ्यो ।

तर पनि गाउँका ससाना नानीहरूदेखि ठूलठूला केटाकेटीहरू पनि ऊसँग सिक्न आउँथे । घरभरि विद्यार्थीहरूको भीड हुन्थ्यो । आफ्नो स्कुले जीवन सकिए तापनि अहिले फेरि स्कुलमै पढिरहेको भान हुन्थ्यो उसलाई । सबैलाई दया माया गर्ने, नआएको कुरा सिकाइदिने हुँदा सबै जनाले उसलाई मन पराउँथेँ ।

पसलतिर जाँदा होस् या गाउँघरतिर डुल्दा ससाना नानीहरू देव दाइ भनेर बोलाउँदै पछि लाग्दथे ।

गाउँघरतिर आइपर्ने हरेक किसिमको समस्या समाधान गर्न देवेन्द्र अघि सर्दथ्यो । हरेक किसिमको सामाजिक कार्यमा देवेन्द्र सरिक हुन्थ्यो । त्यस्तै सकनसक परेको बेलामा सरसहयोग एवं सल्लाह दिने गर्दथ्यो ।

त्यस कारण सबैले देवेन्द्रलाई मन पराउँथेँ । फरासिलो स्वभावको हसिलो देवेन्द्र सबैको मन जित्न सफल थियो ।

यस पटक पनि एसएलसी दिनेहरू त्यो गाउँमा चार जना थिए । ऋद्धि बुढाका दुवै जना नातिहरूले यसपटक एसएलसी दिएका थिए । ऋद्धि बुढाले दुवै जनालाई देवेन्द्रकहाँ पढ्न पठाएका थिए । देवेन्द्रले पढाएपछि त पास हुन्छन् नै भन्ने सोचाइ थियो ।

नभन्दै एसएलसीको रिेजल्ट हुँदा ती दुवै जना पास भए । ऋद्धि बुढा साह्रै खुसी भए । गाउँमा देवेन्द्रको फेरि चर्चा भयो । सबैले देवेन्द्रलाई मानसम्मान गरे ।

यस प्रकार गाउँमा देवेन्द्र सबै जनाको आँखाको नानी बन्दै गयो । गाउँको चिया पसलतिर देवेन्द्रको चर्चा भैरहन्थ्यो । गाउँका बूढाबूढी युवा युवती सबैले देवेन्द्रलाई मास्टरबाबु भनेर बोलाउँथे ।

देवेन्द्र यसैमा रमाइरह्यो । त्यो गाउँ, त्यो ठाउँ पाखापर्वत भीर खोल्सा खहरेमा रमाइरह्यो । त्यसलाई यो गाउँ छोडेर कतै जाने रहर पनि भएन ।

ऋद्धि बुढाले नातिहरूलाई काठमाडौँ पढ्न पठाए । एसएलसी पास भएका जत्ति सबै काठमाडौँ जाने हो भने गाउँको विकास कसले गर्ने पढेगुनेका केटाहरू त गाउँमा पो बस्नुपर्छ, यस्ता कुरा पनि समाजमा उठ्ने गर्दथ्यो । अगाडि वर्षमा गएका महेश, दिनेश र रवीनको कुनै स्पष्ट खबर आएको थिएन । काम गर्दै पढ्दै छन् भन्ने सुनिन्थ्यो ।

अनि कुरै कुराको सिलसिलामा देवेन्द्रको नाम आउँथ्यो । देवेन्द्र एउटा चाहिँ गाउँको सच्चा सेवक भयो भनेर कुरा हुन्थ्यो ।

यो कुराले देवेन्द्रलाई मनमा सन्तोष हुन्थ्यो । सँगै पढेका साथीहरू साथमा नभएर के भो सारा गाउँलेहरू उसको सम्मान गर्दछन् अनि स साना नानीहरू ऊ भने पछि हुरुक्क हुन्छन् ।

देवेन्द्रकहाँ सिक्न जाने विद्यार्थीहरूको सङ्ख्या दिनानुदिन बढ्न थाल्यो । उसको घरमा त अटाइनअटाई हुने भो त्यै भएर गाउँलेहरूले मिलेर गाउकै बीचमा पर्ने पर्ती जग्गामा एकतल्ले घर बनाइदिए ।

साँझपख दुई घण्टा त्यो घरमा देवेन्द्रले सबैलाई पढाइदिनुपर्ने भयो । यसबापत देवेन्द्रले गाउँलेबाट केही नगद एवम् जिन्सी पाउने व्यवस्था पनि भयो । यसबाट देवेन्द्र खुसी भयो । देवेन्द्रको आमाबुबा पनि खुसी भए । देवेन्द्रको जीवन गाउँकै सेरोफेरोमा बित्ने भयो ।

महेश, दिनेशलगायत रवीन काठमाडौँबाट गाउँ फर्केका छन् भन्ने खबर गाउँभरि फैलियो । साँझपख देवेन्द्र पढाउन भनेर गएको त कोही पनि रहेनछन् । कृष्णे द्वारे त्यतैबाट भन्ज्याङतिर जान लागेका रहेछन् । देवेन्द्रलाई एक्लै धुमधुम्ती बसेको देखेर कृष्णेले भन्यो– “मास्टर बाबु आज विद्यार्थी पढ्न आउँदैनन्, महेशहरू सहरबाट फर्केका रहेछन्, विद्यार्थीहरू सबै त्यही होलान् । मास्टर बाबु पनि उनीहरूलाई भेट्न जाने होला नि, कि नजाने ?”

“महेशहरूले मिठाइ ल्याएका रहेछन्, केटाकेटीहरूलाई बाँड्दै थिए, सब विद्यार्थी त्यही छन्” —द्वारेले भन्यो ।

त्यसपछि तिनीहरू आफ्नो बाटो लागे । देवेन्द्र त्यत्तिकै टोलाएर बस्यो । मनमा अनेकथरी कुरा खेल्न थाल्यो । म उनीहरूलाई किन भेट्न जाने, आफै यहीँ आउलान् नि ।

भोलिपल्ट ऊसँग सिक्न आउने आधाभन्दा कम थिए । अरू किन नआएको भन्दा महेश दाइहरूसँग बसिरहेका छन् भन्ने सुनाए ।

बेलुकी घरतिर जान लाग्दा बाटोमा देवेन्द्रले महेशहरूलाई भेट्यो । उसले तिनीहरूमा धेरै परिवर्तन देख्यो । बोलीचाली भाषा–भेष सबैमा नौलो लाग्यो । सायद तिनीहरू हतारमा थिए, भोलि भेटेर कुरा गर्ने भनेर तिनीहरू बाटो लागे ।

देवेन्द्र एक्लै घर फक्र्यो ।

यहाँबाट काठमाडौँ पुगेपछि तिनीहरू क्याम्पस भर्ना भएछन् तर पढ्न सकेनछन् । त्यसपछि काम खोज्दा एउटा फ्याक्ट्रीमा राम्रै काम पाएछन् । खान बस्नको राम्रो सुविधा रहेछ र तलब पनि राम्रै रहेछ ।

यो कुरा तिनीहरूले देवेन्द्रलाई सुनाए । देवेन्द्रलाई खुसी नै लाग्यो । आफूले पढ्न सिकाएका साथीहरू जागिरे भएछन् । त्यति बेलासम्म देवेन्द्रले आईए पास गरिसकेको थियो । अब बी.ए. पढ्ने कि नपढ्ने भनेर दोमन भइरहेको थियो ।

गाउँमा महेशहरूको आगमनपछि ठूलो चहलपहल भयो । त्यो गाउँबाट त्यसरी काठमाडौँसम्म गएर जागिर खानेहरू उनीहरू नै पहिलो थिए । त्यस कारण तिनीहरूको छुट्टै स्थान बन्यो । काठमाडौँमा गएर जागिर खाएर आउने लाहुरेहरू भनेर उनीहरूको चर्चा हुन्थ्यो ।

त्यसपछि देवेन्द्र छायाँमा प¥यो । जता गए पनि गाउँलेहरू महेशहरूकै कुरा गरी बस्दथे । महेशले यति पैसा कमाएछ, रवीनले यति पैसा घरमा दिएछ भनेर पसलमा कुरा गरी बस्दथे ।

एक दिन देवेन्द्र र महेश पसलतिर कुरा गर्दै जाँदै थिए । पसलमा चिया खाइरहेको कृष्णेले भन्यो –“ए महेश ! देवेन्द्रलाई पनि काठमाडौँ लैजा घुमाउन, कत्ति गाउँमा मात्र बसिरहने ।”

उसको कुरा नसकिँदै रामेले भन्यो– “देवेन्द्र पनि काठमाडौँ गयो भने बालबच्चालाई कसले पढाउँछ नि ।”

देवेन्द्रले केही भनेन, तिनीहरू सरासर अगाडि बढे । देवेन्द्रलाई आज नरमाइलो लाग्यो । महेशले देवेन्द्रलाई बिए पढ्न काठमाडौँ जानु राम्रो भन्यो ।

तर देवेन्द्रले यसै गर्छु भन्न सकेन ।

कटेरोको छानो मर्मत नगरेको धेरै भइसकेको थियो । पानी पर्दा चुहिने गर्दथ्यो । छानो मर्मत गर्न उसले गाउँलेहरूसँग छलफल ग¥यो तर कसैले पनि चाख दिएनन् । छानो चुहिन थालेपछि केटाकेटीहरू पढ्न आउन छोडे । कोही चाहिँ घरमै सिक्न आउने गर्दथे ।

केटाकेटीहरू पढ्न आउन छोडेपछि गाउँलेहरूले उसलाई दिँदै आएका नगद एवं जिन्सी पनि दिन छाडे ।

यो कुराले देवेन्द्रलाई त्यति दुःख लागेन तर दुःख लाग्दो कुरा के भने ती गाउँलेहरूले पढाउन भनेर त्यो छाप्रो बनाइदिए तर आज आएर तिनीहरूले नै वास्ता गरेनन् । यो कुराले देवेन्द्रलाई नरमाइलो लागिरह्यो ।

घरमा पनि अनेक समस्याहरू बढ्दै थिए । देवेन्द्रले कुनै न कुनै इलम गर्नु पर्दथ्यो नै । हुन त घरायसी काम खेतीपातीको काम उसले नै गर्दै आएको छ । स्कुलतिर काम पाइन्छ कि भनेर स्कुल चाहर्न थाल्यो । तर आवश्यक परेको बेलामा कहाँ पाइन्थ्यो र ?

ऋद्धिका नातिहरू पनि काठमाडौँबाट गाउँ फर्के । उनीहरू दुवैले आइ.ए. पास गरेछन् । त्यो गाउमा आइ.ए. पास गर्ने देवेन्द्र पछि ती दुई जना नै भए ।

आइ.ए. पास भएको उपलक्ष्यमा ऋद्धि बुढाले भोजको आयोजना गरे । गाउँका सबै जनालाई निम्ता थियो । देवेन्द्रलाई यसमा विशेष निम्ता थियो । भोजको अवसरमा ऋद्धि बुढाले भने –“देवेन्द्रले पढ्न छोडिहाल्यो अब बिए पढ्ने मेरा नातिहरू मात्र हुने भए ।”

साँझ घर फर्केपछि देवेन्द्रको मन एकतमासको भयो । आफूभन्दा कमजोर उनीहरूले बिए पढ्ने भए, मैले प्रथम श्रेणीमा एसएलसी पास गरीकन पनि बिए पढ्न नसक्ने भएँ । अब के गर्ने होला, कि काठमाडौँ जाने हो, त्यो बडो सोचमग्न भयो ।

अब यो अवस्थामा काठमाडौँ जान पनि भएन । खेतीपाती छ, घरजग्गा छ, बुबा बुढा हुँदै जानुभएको छ, आमा पनि काम गर्न सक्नुहुन्न । सकेसम्म गाउतिरकै स्कुलमा मास्टरी गर्न पाए हुन्थ्यो ।

एक दिन देवेन्द्र गाउँतिर डुलेर फर्कदै थियो । उसका बुबा ऋद्धिसँग कुरा गरिरहेका रहेछन् – “के गर्नु काका, तपाईंका नातिहरू काठमाडौँ गईकन आइ.ए. पास गरे, अब छिट्टै जागिरे होलान्, देवेन्द्रले केही गर्न सकेन, स्कुलको मास्टरीसमेत पाउन सकेन ।”

“बरु सँगै पढेका महेश दिनेशहरूले एसएलसी पढेको भरमा जागिर खाए ।”

“चिन्ता नगर काइँला, देवेन्द्र इमानदार छ, काठमाडौँ गयो भने त सानोतिनो काम पाइहाल्छ नि तर त्यो काठमाडौँ जान किन मन गर्दैन” —ऋद्धि बुढाले भने ।

“खै के जानौँ काका, जागिर खाएर हामीलाई पाल्ला भनेको त उसैलाई पो पालेर बस्नुपर्ने भो । अस्तिसम्म बच्चाहरूलाई पढाउँथ्यो, अलि अलि कमाउँथ्यो, खै पढाउन नजानेर हो कि किन हो केटाकेटीहरू पढ्न पनि आएनन्” —काइँलाले दुखेसो पोखे ।

अहिले एकाएक गोडा जमिनमा भास्सिएको जस्तो लाग्यो उसलाई, मन नराम्ररी क्षतविक्षत भयो । अब के गर्ने कसो गर्ने कहाँ जाने त्यो साह्रै दोमनमा प¥यो । कोही पनि मानिसलाई उसको कारण दुःख नपरोस् भनी ऊ सजग रहने गर्दथ्यो । तर उसकै बुबा समेत ऊबाट दुखित रहेछन् ।

गाउँमा बसेर खेतीपातीको काम गरेर केटाकेटीहरूलाई पढ्न सिकाएर, गाउँलेहरूलाई सकनसक परेको बेला सहयोग गरेर सबैको मन जितेको छु भन्ने ठान्थ्यो, देवेन्द्र तर खै उसकै कारणले घर परिवारसमेत निराश रहेछन्, त्यति धेरै काम गरेर पनि आइ.ए. पास ग¥यो । यो कुराले पनि कसैको मन जितेको रहेनछ, देवेन्द्र यस्तै यस्तै सोचेर बसिरह्यो ।

ऋद्धिका नातिहरू काठमाडौँ जाँदा अरू चार जना केटाहरू पनि काठमाडौँ गएछन् । त्यहाँ होटलमा काम गर्न गएका हुन् भनेर गाउँमा हल्ला चलेको थियो ।

देवेन्द्र पसलतिरबाट आउँदै थियो । चौतारीमा बुढाहरू गफ गरेर बसिरहेका रहेछन् । देवेन्द्रलाई देख्ने बित्तिकै एक जनाले भने –“गाउँका सब केटा काठमाडौँ हिँडिहाले, अब तँ एउटा छस्, कति गाउँमा बस्छस्, जा काठमाडौँ घुमेर आइजो, कति कुवाको भ्यागुतो भएर बस्छस् ।”

देवेन्द्र फिस्स हाँस्यो मात्र केही भनेन ।

समय बित्दै गयो । गाउँमा परिवर्तन आए । मानिसहरूमा परिवर्तन आए । पहिले गाउँतिर डुल्न निस्कँदा स–साना बच्चाहरूले घेरेर हिँड्नै दिँदैनथे, देवदाइ आउनुभयो भनेर रमाउँथे अनि उसको हात समाएर हिँड्थे । आजकल ती टाढा टाढा भए । सँगैका साथीहरू सब लाखापाखा लागे । बूढा र प्रौढहरूको समाजमा देवेन्द्र एक्लो भयो । आफ्नो घरमा समेत ऊ परदेशीजस्तै भयो । ती हरिया पाखापर्वतमा रमाएर हिँड्ने त्यो देवेन्द्र ओइलाउँदै गयो ।

यी सारा व्यवहारबाट वाक्क भएको देवेन्द्रले एकदिन एउटा असाधारण निर्णय ग¥यो ।

देवेन्द्रले हिजै राती गाउँ छोडेछ । साँझपख गाउँको चौतारीमा ठूलो जमघट भयो । साँझ अबेरसम्म पनि घर नफर्केकाले ऊ काठमाडौँ नै गएछ भनेर सबैले लख काटे । यसलाई तिनीहरूले सामान्य नै ठाने, हुर्के बढेका छोरो, घर मात्र बसेर हुँदैन, देश परदेश घुम्नुपर्छ भन्ने मान्यता थियो ।

तर यो सामान्य घटना थिएन । हिजोसम्मसँगै काम गर्ने हाँस्ने बोल्ने मान्छेहरूले उसको याद नगरेर के भो उसलाई ती पाखापर्बत भन्ज्याङ चौतारीले कहिल्यै भुल्ने छैन । उसले पढाउने गरेको त्यो खण्डहर भइसकेको कटेरोले सदा उसलाई सम्झनेछ ।

सदैव गाउँको माया गर्ने देवेन्द्र गाउँबाट हराएको धेरै भइसक्यो, अझसम्म घर फर्केर आएन । ती बुढा हुँदै गएका उसका बाबुआमा उसलाई सम्झेर सदैव रुने गर्छन्, एक दिन हराएको छोरा फर्केर आउनेछ भनेर भन्ज्याङतिर आँखा लगाइरहन्छन् ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments