ऊ आउने बेला भएको थिएन । ऊ अवश्य आउने छ । म सुत्नुअधि । हुन त ऊ सहजै कहाँ आउँछ र ? ऊ आउन त पूर्व तयारी हुनुपर्छ, अत्यन्त चकमन्न रात हुनुपर्छ । एउटा मौकाको प्रतीक्षामा लुसुक्क आउने ऊ अनुकूलता साँचेर मात्र आँउछ । ऊ घरीघरी आइरहेकै छ मेरो कोमल प्रतीक्षा भत्किनु अघिसम्म ।

म घरको सबैभन्दा माथिल्लो तल्लामा छु । मेरो छाना माथि मात्र खुल्ला आकाश व्याप्त छ । अहिले म जुन घरमा छु, यो घरको कतिपय भागलाई मेरा पैतालाहरूले स्पर्शसमेत गरेका छैनन् । यदि गरेका छन् भने पनि निकै कम मात्र ।

मेरो हल्केलामा महेन्दीको रङ अझै बाँकी छ । पातलिएको छ भने त्यसको गाढापन मात्र मैले लगाइरहेका वा थन्काइएका गहनाहरूको चमकको निखार यथावत नै छ । मेरा ओछ्यानका तन्नाहरू अलिकति पनि खुजमुजिएका छैनन् । म त्यही ओछ्यानको एकछेउमा सलक्क सुत्छु नवदुलही आभा ओढेर । चलायमान हुनलाई मसँग अहिले विषय छैन ।

आलमारी नयाँ छ । सोफा पनि उत्तिकै नयाँ भुइँ कार्पेटमा धूलोहरू लुकामारी गर्न भ्याएका छैनन् । कैयौँ नयाँ वस्त्रहरूलाई मैले लगाई सकेको छैन । लगाइएका वस्त्रहरू पनि पूर्णत मैलिन भ्याइसकेका छैनन् ।

यहाँ सबै कुराहरू नयाँ छन् किनकि म नै नयाँ छु । मेरो दुलही आभा निभिसकेको छैन । सायद भण्डार कोठामा सेलरोटी र कसारका डल्लाहरू अझै बाँकी होलान् । अब भनिरहनै परेन कि म यो घर भित्रप्रवेश गरेको धेरै दिन बितेकै छैन र म अझैसम्म पनि नयाँ दुलही नै छु ।

एक्काइस र एकतिस जम्मादशै वर्षको फरक न हो उमेर । केटो जति पाको भयो उति परिपक्व र व्यवहारिक हुन्छ । विदेशमा राम्रो कमाइ छ । सहरमा घर छ । परिवार खान्दानी नै हुन् । के चाहियो र ? बिहेको लागि यति र यस्तै कुराहरू पर्याप्त भइदियो । अझै केही महिना वा वर्षभित्र स्नातकोत्तर गर्न ऊसँगै मलाई पनि विदेश जाने अवसर मिल्ने सम्भावित आशा सबैले लिएका थिए ।

शुभचिन्तकहरूका सकारात्मक आशाहरूलाई मैले त्यसै लतार्न कहाँ पो सकेँ र ! सम्झाउने र फकाउने धेरैका शब्दहरूले ठेलेपछि मेरो टाउको हल्लियो । सायद मैले हुन्छ भने त्यही हुन्छ भन्ने शब्द उत्सव बन्यो । पन्ध्रदिनको बिदामा आएको उही केटोसित मेरो बिहे भयो । बिहेको पर्सिपल्ट उनी विदेश फर्किए ।

म कोठामा एक्ली छु । साँझैदेखि उताबाट म्यासेन्जरमा फोन आउन थाल्छ । मेरो कोठा भान्छा कोठानजिकै छ । भान्छा कोठामा दुईवटा ढोका छन् । मेरो कोठामा जस्तै । भान्छा कोठातिरको एउटा ढोका बन्द गरेपछि मेरो कोठा नितान्त निजी कोठा बन्छ । तर साँझैदेखि त्यो ढोका बन्द गर्नु पनि स्वाभाविक लाग्दैन संयुक्त परिवार भएकोले घर भने शून्य छैन श्रीमान्सँग म म्यासेन्जरमा छोटोछोटो च्याट मात्र गर्छु । सायद म लजाउँछु उनीसितै वा उनको परिवारसँग पनि ।

बेलुकाको भात भान्छा छिटै सकिन्छ । सबै जना सुत्न तल्लो तल्लामा ओर्लिएपछि एकान्त पाउँछु म सुत्नुअघि लेखपढ गर्ने मेरो बानी छ । भुँइ कार्पेटमा खुट्टा पसारेर बस्छु सोफामा अडेस लाग्दा सहज लाग्छ । यतिबेला बिछ्यौनामा तकियाहरू खाली हुन्छन् । किनकि ती तंकियाहरू मेरो वरिपरि हुन्छन् । एउटा तकिया काखमा त अर्को तकिया ढाडमा अडेस लगाएको हुन्छु । ती तकियाहरूलाई बल्टाइपल्टाई पारिरहन्छु म हात तकियाहरूमा खेलिरहन्छ । म आफ्नै तालमा हुन्छु ।

लेखेका कवितांशहरू काटछाँट गर्छु । सोच मग्न हुन्छु र फेरि लेख्छु । ती तकियाहरूभन्दा बढी ठाउँ सर्छन् मेरा परेलाहरू । म कहिले माथि छानोतिर हेर्छु । कहिले आफू बसेको भुँइकार्पेटका बुट्टाहरू हेरिरहेको हुन्छु अनि कहिले बन्दआलमारी त कहिले खालीओछ्यान ।

हेरेको त ती बाहिरी चिजहरू हुन् । मेरो भित्री आँखाले सृजना भाव खोजिरहेको हुन्छ । कल्पनाको परेली पटकै पटक झिकी सकेको हुन्छ । जब मन लागे जति लेख्ने मेसो सक्छु, मलाई नितान्त एक्लो अनुभव हुन्छ । चियाउतो लाग्छ । मात्र शून्य कोठा । सायद म छट्पटाँउछु ।

बेलुकी अबेर सुत्ने र बिहानी अबेर उठ्ने मेरो बानी बदलिदै छ । बुहारी भएँ । अप्ठ्यारो भइदिन्छ सबैभन्दा पछाडि उठ्न । म बेलैमा सुत्न खोज्छु । निन्द्रा लाग्दैलाग्दैन । बेला बेलामा हातका चुराहरू छिन् छिन् गरेर बज्छन् । उसले लगाइदिएको मंगलसूत्र छातीको बीचमा झुण्डिरहेको छ । मेरो सिँउदोमा उसले छरिदिएको रातो सिन्दूर लामो धर्को बनेर बसेको छ । एउटा रङ्गिन गोरेटो जस्तै । तर मेरो लोग्ने बनेको ऊसित अतीतको गोरेटोमा कुनै रङ्गहरू नै छैनन् । स्मृतिहरू छैनन् । सम्झनु पर्ने विशेष त्यस्तो कुनै कुराहरू नै छैनन् । हतारमा बिहे र हतारमा परदेश । स्पर्शको प्रवेश मात्र ।

उसलाई नै सम्झिएर धेरै बेर भुलिरहन सक्दिनँ । भुलिनँ पनि । केही भूलहरू चाहिन्छ । घटनाक्रमहरू हुनुपर्छ । माया प्रेम वा प्रसङ्ग अनुसारको ठुस्क्याइँ, फुक्र्याइँ र फकाइ हुनु पर्छ । अहँ त्यस्तो केही हुन भ्याएकै छैन ।

सम्झिए त्यही भेट हुने दिनको कल्पना न हो । त्यो दिन सम्झनलाई पनि त कैयौँ दिनहरू अझै शेष छँदै छन् । सायद अहिलेलाई जोडिएको यो नयाँ सम्बन्धबाट पनि फुर्सदिलो भएको छु म ।

बन्द कोठाभित्र म छरितो लुगामा छु । ग्रीष्म ऋतुका दिनहरू गुज्रिरहेका छन् । म अहिले पनि सोफामा अढेस लागेर बसेकी छु । तकियामाथि कापी खुल्लै छ । म कलमको बिर्कोले निधार कन्याई रहेको छु । कहिले आँखा चिम्लन्छु त कहिले खोल्छु । विशेष केही फुरी हाले म लेखी हाल्छु । होइन भने कलम मेरो अनुहारतिर नै खेलिरहन्छ एकतमास् ।

म मौन छु । अनायास मेरो मौनता भत्कन्छ । म देख्छु झ्यालमाथि कुनामा एक जोडी चतुरो आँखाले हेरिरहेको छ । म झस्कन्छु । शरीर सिरिङ्ग हुन्छ । झण्डै कराउँछु । होइन, म समालिन्छु ।

भोलिपल्ट पनि म उही सोफामा अडेस लागेर उसै गरी बसेको छु जसरी हिजो बसेको थिएँ । म लेख्दै छु । नलेखी बस्नै सक्दिनँ । बस्नु पनि हुँदैन । सृजनामा मन रम्नेहरूले । भनँे नि म लेख्दै छु । अझै भनौ म लेख्नका लागि सोच्दैछु ।

फेरि ऊ आयो । थाहा पाएँ । आफू आएको सङ्केत दियो । त्यही आँखीझ्यालबाट । उसले लुकामारी गर्दै मलाई हेरी रह्यो । म जुरुक्क उठेँ । सुस्तरी अघि बढेँ । आफ्नै पैतालाको आवाज आफैले नसुन्ने गरी ।

अहिले ऊ त्यहाँ देखिएन । मलाई उसको चियो बुझ्न मन लाग्यो । मेरो हातमा कलम थियो । सायद हतियार । यही तिखो कलमले मौका मिले उसलाई घोच्नसम्म सक्थ्येँ ।

अघि उसले पुलुक्क चियाएको ठाउँमा हेरेँ । खाली थियो । साँच्चै ऊ त्यहाँबाट गयो वा गएन । मेरो चासो त्यति मात्र थियो । मैले त्यो आँखीझ्यालको भित्तामा कान टाँसे । आँखा चिम्लिए र ध्यान दिएर आवाज सुन्न खोजेँ ।

अनायाश प्याट् मेरो गाला छोइयो । अहो ! झस्किए म । एक किसिमको चिसो महसुस गरेँ । गालाको त्यो स्पर्शित ठाउँ मुसार्दै अब पो म झन जिल्ल परेँ । त्यति बेलासम्ममा ऊ त्यहाँबाट भागिसकेको थियो ।

साँच्चै भनू अब मलाई बानी परिसकेको थियो । हो उसको ।

मलाई ऊ आउनु झर्को नभई रमाइलो भइरहेको थियो । उसका लागि म केही खाने कुराहरू तयारी गरेर राख्थँे । ऊ हृष्टपुष्ट थियो । उसको भरिलो जीउ मलाई मन पथ्र्यो । ऊ जवान थियो । गर्दन मोटो र जीउ सुडौल थियो ।

त्योभन्दा पनि बढी मन प¥यो उसको त्यो तिखो हेराइ । चतुरो आँखा । चञ्चले स्वभाव तर निशब्द थियो ऊ । भेट दिनहुँ जस्तो हुन्थ्यो । सायद उसलाई नभेटेको दिन एक किसिमको न्यास्रो भइरहन्थ्यो ।

मैले राखिदिएको खानेकुरा ऊ मेरै अगाडि खाओस् निर्धक्क भन्ने लाग्थ्यो । तर ऊ मेरो आँखा छलेर मात्र खान रुचाउँथ्यो । प्राय ऊ आएको थाहा पाएपछि म कोठामा मधुरो बत्ती बाल्थ्यँे । सायद उसलाई पनि सहज हुन्थ्यो भित्र पस्न । चााहेको भए ऊभित्र पस्ने त्यो झ्याललाई म बन्द गर्न सक्थ्यँे बलियोसित । तर बन्द पनि किन गर्नु र ? आखिर अरू को छ र मसित ? मेरो एकान्तीय चियाउतोपनलाई क्षणभर भए पनि भुलाई दिने ऊ नै त हो ।

ऊ आउनु अघि म मेरो श्रीमान्लाई मेसेन्जरमा शुभरात्रि लेखिसकेको हुन्छु । सायद उनले उताबाट यस्तै सोच्लान् छिटै सुत्ने बानी रै छ ।

बानी त जे बनायो त्यही हुन्छ । ऊसँगै जिस्कने अब मलाई पनि बानी परिसकेको छ ।

उसको त्यो एउटा बानी भने पटक्कै मन पर्दैन मलाई । उसलाई राखिदिएको खानेकुरा सबै खादैन । आधाआधी खान्छ । जुठो हालेर मात्र छाडिदिन्छ । रिस त उठ्छ नि, के गर्नु काखमा राखेर गाला चट्काउनु भएन ।

यस्तै यस्तै उटपट्याङ कुराहरू पनि सोचिरहन्छु म । उसको बारेमा । ऊ आउँछ आफ्नो मनोमानी गर्छ । तर रातभर मसँगै बसिराख्दैन । आफ्नो तन मन भरिएपछि ऊ लुसुक्क बाहिरिन्छ । आफ्नै बास स्थानतिर । म पनि कहाँ रातभर ऊसँगै रम्न चाहन्छु र । जाओस् । तर भोलि फेरि आओस् ।

ऊसँग केही समय बिताउनु मेरो निजी अनुभव थियो । मेरो एक्लो पनको साथी थियो ऊ ।

सायद नवदुलही म, मेरो अन्तरहृदयले नवदुलाहासँगको एकान्त खोजिरहेको थियो । तर आफ्नो इच्छाअनुसार गर्ने सौभाग्य जो कोहीलाई सजिलै मिल्दैन । मिलेन मलाई पनि । ऊसँगको एकान्त मेरो लागि भूल थिएन ।

म लेख्थँे । यो एकान्तले मैले लेख्ने अवसर पाएँ तथापि मलाई उसको पनि हरपल आवश्यकता थिएन । म यो रात्रिकालीन समयको एक अङ्ग मात्र ऊसँगै खेलेर बिताइरहेको थिएँ । झ्यालबाट प्रवेश गर्नुअघि उसले मलाई घुरेर हेरिरहन्थ्यो सधँै झैँ । मैले वास्ता नगर्दा पनि ऊ त्यही समयमा आइपुग्थ्यो । उसको गर्दन माटो र कान गुलाबी रातो थियो । खाने मुख पनि कानको रङ्गसँगै मिल्न खोज्थ्यो । उसको पेट लुदाले टमक्क भरिएको थियो । उसलाई छुन मन लाग्यो मलाई तर सजिलै आँट आइरहेको थिएन । हरदिन आउन त थालेको थियो नि ऊ । साँच्चै फेरि पनि उसकै बारेमा भनिरहेकै छु ।

ऊ हृष्टपुष्ठ र जवान थियो । उसका तिघ्रा बलियो र मोटो देखिन्थो । उसको ढाड र गर्दन खदिलो थियो । कहिलेकाहीँ त लाग्थ्यो थपक्क काखमा राखेर सबैतिर छुँदै मुसारूँ उसलाई । त्यत्रो आँट त कहाँ थियो र ? एक त परिवारले देखे के भन्लान् भन्ने डर अर्को ऊसितै पनि त डराउँथेँ म ।

त्यो रात एकतमास पानी बर्सिरहेको थियो । मेरो कोठाको छानोमाथि बर्सिएको पानीको आवाज सुन्थेँ म । म बस्ने कोठापछि थपिएको थियो । माथि आधुनिक जस्ता हालिएको र भित्रबाट मोटा प्लाई बोर्ड ठोकिएको थियो । रङले चिटिक्क पारेको मेरो कोठा भित्रबाट हेर्दा अरूकोभन्दा फरक थिएन । झ्यालभन्दा माथिको केही भागमा पनि प्लाई बोर्ड ठोकिएको थियो ।

म प्रतीक्षामा थिएँ । तर छानोको पानी सोहोरिदै बलेसीको एक कुनाबाट झरे झै म पनि पोखिइसकेको थिएँ अब । ऊ आउने आशाको प्रतीक्षाबाट । ऊप्रति यति बिघ्न चासो राख्नु पनि सायद स्वभाविक थिएन । तर मेरो एकान्तमा मन बहलाउने प्रिय साथी ऊ जो बनिसकेको थियो । निथुक्क भिज्दै आउन सक्ने छैन ऊ । थाहा छ ऊ आउदैन पनि । भोलिपल्ट ऊ आयो । लगभग त्यही समयमा आयो । भान्छाघर शून्य भएपछि । मेरै कोठाको त्यो आँखीझ्यालबाट पुलुक्क चियायो । सायद म खुसी भए । मैले ऊ आएको चाल नपाएझै गरेर किताब पढी रहेँ ।

खœयाकखुत्रुक्क गरेर आफू आएको सङ्केत छाड्दै थियो ऊ । मैले अटेरी गरँे । ऊतिर हेर्दै हेरिनँ ।

मेरो बेवास्थाको केही क्षणपछि ऊ मेरो नजिकै आइसकेको रहेछ । त्यही मौका पारेर उसले मेरो गोडा हुँदै तिघ्रासम्म स्पर्श गर्न भ्याइसकेको थियो । मेरो सातो उड्यो । हातको कापीकलम फालेर जुरुक्कै उठेँ म । ग्रील र जालीखापा नभएको त्यो झ्यालबाट भित्र छिर्न उसलाई कुनै कठिनाइ थिएन ।

मेरो मौनता र ऊप्रतिको अस्वाभाविक चासोले उसले मलाई हेपिसकेको थियो सायद । नजिक आउन ऊ डराएन । म डराएँ । झण्डै चिच्याएँ । मेरो शरीरमा उसले एक्कासी सलबलाउँदा ।

हतारिएर उठ्दा टेबुलका किताबहरू खसे । पानी राखेको जग घोप्टियो । त्यो खन्द्रयाङ्गखुन्दुङ्गको आवाज तल्लो तल्लासम्म सुनिएछ । ट्वाइलेटबाट निक्लदै गर्दा मेरो ससुराबा बोलेको सुनँे । के भयो दुलही ? म एकछिन अकमक्किएँ । चुपलागेर बसे ससुरा बामाथि नै आइपुग्ने हुन् कि भनेर हतपत्त ढोकाबाट चियाउँदै भनँे केही पनि भएको छैन । केही मिनेटमा नै तल्लो तल्ला अब शून्य भयो ।

म भने सुत्न सकिनँ । पूरै जीउ सिरिङ्ग भएको थियो । सायद मेरो उमेर नै यस्तै थियो निकै बेर त्यो स्पर्शले जीउ सकसकायो । पिडुलाहँुदै दलिएको उसको शरीरका केही मसिना रौँहरू मेरो खुट्टामा छुटेका थिए । म सिकसिकाएँ । मैले त्यही तकियाले नै आफ्नो शरीर पुछेँ ।

मैले फेरि त्यो आखाँझ्यालतिर हेरे । त्यहाँ ऊ थिएन । सायद म आतिएकोले ऊ भागी सकेको थियो ।

ऊ आएको सुइँको परिवारले पाइसकेका थिए । ऊ आउनुको सङकेत उसले केही न केही आफै छाडिहाल्थ्यो । म सावधानी अपनाउन त खोज्थ्ये तर चुकिहाल्थँे ।

अब उसलाई समात्ने तयारी भयो । मेरो कोठाको भान्छापट्टिको ढोका खुल्लै रह्यो । म चाहन्थ्येँ ऊ नआओस् । आउँदै नआवोस् । कमसेकम त्यति समय जति बेलासम्म परिवारमा उसको चासो रहन्छ ।

साँच्चै ऊ आएन । थाहा पाएझैं । सायद आउदै गर्दा उसले मान्छे बोलेको आवाज सुनिसकेको हुनुपर्छ ।

अस्वभाविक तवरले म नै ठूलो स्वरले बोल्दै थिएँ । किनकि उसले थाहापाओस् मेरो कोठामा अरू पनि छन् ।

भोलिपल्ट पानी पर्न थाल्यो । म ढुक्क भएँ । ऊ आउने छैन । तर पानी सधँै परेन । पर्दैन पनि । ऊ आयो फेरि त्यही झ्याल हँुदै । मन्दबत्ती बलिरहेको थियो निर्भय हुँदै ऊभित्र पस्यो । खुत्रुक्कझ्यालबाट झरेर मेरो नजिकै आयो । कुनै आनाकानीबिना नै ।

तयारीमा राखिएको उसको मन पर्ने खाना नजिकै थियो ऊ । ऊ आयो वा आइसकेको छैन भनेर चियो बुझिरहेका घरका सबैले उसलाई समाउन खोजे । ऊ फुत्कियो । तर ऊअघि आएको झ्याल बन्दभइसकेको थियो । ऊ त्यहाँबाट उम्कन भने सकेन । मैले उसलाई लुकाउन सकिनँ । ऊ ढोकामा नै यताउतागर्दै थियो । मौका छोपेर जेठाजूले आग्लाले उसको गर्दनमा नै बजाए । ऊ छट्टपट्टियो । सासूआमा ढोकामा बसेर गनगनाउदै थिइँन् । हेर यसले झण्डै सत्यानास पारेको !

अझै उनको चर्को स्वर थियो । यसरी दुःख दिनथालेपछि भन्नु पर्दैन । उनको आँखामा भरिएको असन्तुष्टि पोखियो मतिर ।

दुःखी थिए र ? मौन प्रश्न गरे आफँैसित ।

ऊ त मेरो प्रिय बन्दै थियो । यो घरका मान्छेहरूभन्दा पनि प्रिय । मेरो एकान्तको साथी । रात्रिकालीनका केही पलहरूको चियाउतोपनबाट जोगाउने ऊ नै त थियो ।

म लाचार भएर ऊतिर हेरिरहेको थिएँ । छोटो समयमा नै हाम्रो सामीप्यता बढिसकेको थियो । पछिल्लो समयमा न म ऊसित डराउँथ्ये, न ऊ मसित डराउँथ्यो । उसको प्राकृतिक निर्दोष चञ्चलतामा रमाउँथेँ म । लुसुक्क शून्यताको चियो गर्दै त्यो आँखीझ्यालमा टप्कन्थ्यो ऊ । प्राय निश्चित समयमा । ऊ आउने र फर्कने बाटो भने सधँै एउटै हुन्थ्यो उसको ।

ऊ आज पनि आयो । तर फर्कन नसक्ने गरी घाइते हुँदै थियो । उसको नाकबाट रगत बग्न थाल्यो । पिटाइको पीडाले थाकेर केही क्षणमा नै बेहोस होलाझै भएको थियो ऊ । ससुरा बा जेठाजुलाई सघाइरहेका थिए । जेठाजुले उसलाई घिच्याउदै ढोकातिर लगे ।

म अवाकभएर उभिरहे । उसको गर्दन र टाउकोमा चोट लागेको थियो । ऊ शिथिल थियो । तर पनि लाग्थ्यो ऊ मलाई नै हेरिरहेको थियो । उसका ती एकजोडी आँखा अझै बन्द भएका थिएनन् ।

मेरोछेवैमा उसलाई समाउनका लागि हिजो अस्तिदेखि नै तयारीमा राखिएको त्यो मुसे साँचो भने रित्तै लडिरहेको थियो

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments