१. परिचय

शत्रु कथा सूर्यविक्रम ज्ञवालीद्वारा सम्पादित कथा कुसुम (१९९५) मा सङ्कलित एक उत्कृष्ट कथा हो । कोइरालाले यस कथामा समाजमा जस्तोसुकै असल वा सम्पन्न व्यक्ति भए पनि ऊ अजात शत्रु हुन  सक्दैन  भन्ने  कुरा  कथापात्र कृष्णरायका माध्यमबाट देखाउन खोजेका छन् । यसमा सामाजिक र मनोवैज्ञानिक दुवै पक्षलाई अत्यन्त कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ ।

 

२. कथानक र यसको ढाँचा

शत्रु कथा कथापात्र कृष्णरायकै परिवृत्तमा निर्माण गरिएको छ । यहाँ कृष्णराय असल, गाउँका सबैलाई सहयोग गर्ने, सबैको दुःख बुझ्ने व्यक्ति रहेको छ । उसले यस किसिमको व्यवहार गरेर आफू निकै खुसी भएको महसुस गर्छ । उसका सन्तान नभएकाले भतिजो ल्याएर पालेको छ । सबै सुखमा रहेको तर सन्तानका अभावमा भतिजोबाट त्यो पनि प्राप्त गरेको कृष्णरायमाथि एक दिन निदाएका बेला लट्ठी प्रहार हुन्छ तर त्यो प्रहार ऊ सुतेको छेउमा भित्तामा पुग्छ । यस घटनालाई ऊ अनौठो मान्छ । आफू उठेर हेर्दा प्रहारकर्ता भागिसकेको हुन्छ । यस दृश्यबाट पनि आफ्नो कुनै शत्रु छ भनी कृष्णरायले अझै विश्वास गर्दैन तर लट्ठीको भाँचिएको टुक्रा देखेपछि उसले सबैमाथि शङ्का गर्न थाल्छ । आफ्नो घटनाबारे प्रहरीलाई जानकारी दिने सन्दर्भमा उसले विभिन्न व्यक्तिको नाम दिन्छ तर ऊ पक्का विश्वास गर्न सक्दैन । उसले आफूले गरेको न्यायनिसाफ, रेलको डब्बामा भएको झगडा, काम गर्ने नोकरलाई निकालेको घटना, उसका गरिब र ईष्र्यालु दाजुभाइ, आºनो पोष्यपुत्र (भतिजो) सबैलाई सम्झन्छ । सबैलाई सम्झे पनि ऊ आफूलाई निर्दोष सम्झन्छ । त्यति भएर पनि उसले सामान्य कुराबाट पनि शत्रुता हुने निहुँ दिएको हुन्छ । यस्तै परिस्थितिमा कृष्णरायले प्रहरीसमक्ष आफूलाई शङ्का लागेका शत्रुहरूको नाम दिन्छ र कथानक समाप्त हुन्छ  ।  आफूलाई  अजातशत्रु  ठान्ने कृष्णरायका मानसिक उतारचढावलाई यस कथाको मुख्य कथानकका रूपमा लिन सकिन्छ । आफ्ना कुनै शत्रु नभएको ठान्ने कृष्णरायले एक दिनको सामान्य घटनाबाट आºनो सम्पर्कका सबै मान्छेलाई शत्रु ठान्न पुगेको घटना यस कथामा रहेको छ । यस कथाको कथानकढाँचा आदि, मध्ये र अन्त्यको क्रमिक निर्वाह भएकाले रैखिक प्रकारको छ ।

 

३. चरित्र र दृष्टिबिन्दु

शत्रु कथाको कृष्णराय असामान्य यौनेतर मनोवैज्ञानिक पुरुषपात्र हो । ऊ यस कथाको मुख्य पात्र पनि हो । ऊ कथामा भद्र र नैतिकवान् देखा पर्छ । सम्पूर्ण कुराको सुख भए पनि ४५ वर्षे उसमा सन्तानको अभाव छ र उसले आºनो भतिजोलाई पोष्यपुत्रका रूपमा पालेर त्यसको चाहना पूरा गरेको छ । कथामा ऊ ज्ञान, मान, धन, सेवा, परोपकार, न्याय, नैतिकता, धर्म आदि सबै गुणले सम्पन्न व्यक्तिका रूपमा चिनिन्छ । कोइरालाका अन्य कथाका उच्च वर्गीय पात्रहरू सामन्ती संस्कारका छन् भने कृष्णराय उच्च वर्गीय भएर पनि समाजसेवी छ तर सबै कुराले सम्पन्न भएर पनि आफूलाई अजातशत्रु ठान्नु यसको कमजोरी हो । पछि सामान्य कुराबाट पनि शत्रुता पैदा हुन्छ भन्ने बुझेर सबैलाई शत्रु देख्नु पनि यसको अर्को कमजोर पक्ष हो । मूलतः कृष्णरायलाई शङ्कालु, सहयोगी, गतिशील, विचारशील, भद्र र सम्भ्रान्त व्यक्तिका रूपमा चिन्न सकिन्छ । त्यस्तै जनककुमारी, कैयाँ, इन्स्पेक्टर, रामे, बलभद्र, केदार, गोविन्द, बुधे, पुष्पराज, लीला, रामचन्द्र पराजुली आदि कथामा चर्चा गरिएका अन्य पात्रहरू हुन् । जनककुमारी छोरो मरेर पिरोलिएकी गाउँकी आइमाई हो । रामे कृष्णरायको नोकर हो । कैयाँको झगडा पर्दा कृष्णरायले मिलाएको थियो भने इन्स्पेक्टर कृष्णरायको शत्रु कोको छन् भनेर बुझ्ने व्यक्ति हो । अन्य पात्रहरू कृष्णरायसँग व्यवहार गर्ने उसका कार्यव्यापारमा प्रत्यक्ष सम्बन्ध राख्ने चरित्र हुन् । यसबाहेक अन्य पात्रहरू पनि अप्रत्यक्ष रूपमा कथामा चर्चा गरिएका छन् । यस कथामा तृतीय पुरुष ऊ पात्र कृष्णरायको मानसिक ऊहापोहलाई विश्लेषण गर्न खोजिएकाले यसको दृष्टिबिन्दु बाह्य सीमित रहेको छ ।

 

४. रुचिक्षेत्र

चरित्रप्रधान कथाहरूमा घटनाको कम भूमिका रहन्छ । कथाकारले चरित्रकै सेरोफेरोमा रहेर घटनानिर्माण गर्न थाल्छ । शत्रु कथामा पनि कुनै खास परिवेशलाई बाँधिएको देखिँदैन तापनि कृष्णरायको भद्र र सम्भ्रान्त व्यक्तित्वलाई हेर्दा तराईको ग्रामीण परिवेशलाई कथाको रुचिक्षेत्र बनाइएको अनुमान हुन्छ । कथाको सुरुकै अनुच्छेदमा “तिनीले यता १०÷१२ वर्षदेखि गाउँभन्दा बाहिर पाइलो राखेका थिएनन्, ….. राजद्वारे श्मशाने च तिनी गाउँलेको सहायतामा प्रस्तुत रहन्थे” भन्ने सन्दर्भबाट हेर्दा हामी यस कथाको वातावरण ग्रामीण समाजको परिवेश पाउन सक्छौँ । कृष्णरायले धर्मपुत्र पाल्नु, धर्म र नैतिकताको पाठ सिकाउनु, छिमेकीको सेवा गर्नु जस्ता क्रियाकलापहरूलाई हेर्दा धार्मिक–सांस्कृतिक वातावरणको पनि सङ्केत यसमा पाउन सकिन्छ । असल र सभ्य समाजको चाहना हुँदाहुँदै पनि शत्रुरहित समाज नहुने तथ्य पनि यहाँ भएकाले आन्तरिक द्वन्द्वग्रस्त सामाजिक परिवेश रहेको छ ।

 

५. भाषाशैली

यस कथाको भाषा पात्रअनुकूल सहज र सरल किसिमको छ । यसमा अभिधात्मक अर्थसापेक्षमा नै कथाको शीर्षकचयन भएको छ । तद्भव शब्दको अधिक प्रयोग र केही तत्समशब्दहरूको प्रयोग भएको छ  ।  वर्णनात्मक,  संवादात्मक  एवं मनोवादात्मक शैलीको प्रयोग भएको छ । केही मार्मिक पद, पदावली र टुक्काको प्रयोगले कथा रोचक र सार्थक बनेको छ । बापवैरी साँध्नु, कस्तो अचम्म निर्दोष कुरामा पनि विषालु साँपजस्तो वैरी बनाउने साधन लुकिरहेको देखिन्छ जस्ता आलङ्कारिक गद्यप्रयोगले कथामा अझ सघनता थपेका छन् ।

 

६. सारवस्तु

जस्तोसुकै असल र मानवीय गुणले सम्पन्न भए पनि कुनै पनि मानिस अजातशत्रु हुन सक्दैन भन्ने मार्मिक कथन यस कथाको सारवस्तु हो । मानिसले आफू जति गुणी, धनी, असल भए पनि आºनो दोष केलाउनुपर्छ । सानो कुराले ठूलो क्षति हुन सक्छ । अरूले राम्रो व्यवहार ग¥यो भन्दैमा सम्पूर्ण रूपमा उसलाई विश्वास गर्नु हुँदैन । कृष्णराय यस्तै प्रकारको मानिस हो जसले आफूलाई सर्वगुणसम्पन्न ठानी सबैमाथि विश्वास ग¥यो, फलस्वरूप उसको टाउकामाथि लट्ठी प्रहार भएको छ । तसर्थ मान्छेले जतिसुकै उच्चता प्राप्त गरे पनि सबैतिर विचार पु¥याएर आफ्नो भ्रमनिवारण गर्नुपर्ने सन्देश यस कथाले दिएको छ । á

उपप्राध्यापक, त्रि.वि. पद्मकन्या बहुमुखी क्याम्पस

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments