लघुकथा कथाकै छोटो छरितो रूप हो । लघुकथामा पनि कथाका तत्वहरू रहेका हुन्छन् तर सङ्केत रूपमा । लघुकथा चाहिँ कथाको आयामको सापेक्षतामा आकारको सानो हुन्छ । तर आकारगत न्यूनता मात्र लघुकथाको पहिचान होइन । त्योभन्दा महŒवपूर्ण कुरा के हो भने लघुकथामा क्षणभरमा नै विचार वा भावको प्रभावकारी विस्फोटन हुन सक्ने सामथ्र्य रहेको हुन्छ । लघुकथा सूत्रात्मक हुन्छ, विचार वा भावघनीभूत हुन्छ र निकै थोरै मात्र र सानो परिवेश हुन्छ । लघुकथा आफैमा पूर्ण हुन्छ । लघुकथालाई लम्याउँदैमा कथा बन्दैन, न त कथालाई छोट्याउँदै लघुकथा बन्छ । सानो भएर पनि पूर्ण र चोटिलो हुनु लघुकथाको विशेषता हो । लघुकथामा तीन सोपान वा खण्ड हुन्छ – आरम्भ, विकास र समापन । आरम्भ खण्डमा दुई–तीन वाक्यले भाव वा विचारको बीजाधान गरिएको हुन्छ । विकास खण्ड वा मध्ये भागमा तीन–चार वाक्यले अनुकूल परिवेश दिँदै भाव वा विचारलाई उत्कर्षमा पु¥याइएको हुन्छ र समापन खण्ड वा अन्त भागमा एक–दुई वाक्यमा सोच्दै नसोचेको व्यङ्ग्यात्मक आकस्मिक परिणाम वा घटना–दुर्घटना दिएर लघुकथालाई टुङ्ग्याइएको हुन्छ । यस खालको आकस्मिक अन्तले पाठक वा श्रोता आश्चर्यान्वित हुन पुग्छन् । यहाँ पनि उपन्यास र कथाको रचना गरेर गहकिलो कथाशिल्प आर्जन गरिकेका कथाकार रामप्रसाद पन्तले लघुकथाको मर्यादा अनुकूल नै लघुकथाहरूको निर्माण गरेका छन् ।

लघुकथा लेखनलाई धनुर्बाणको प्रहारसँग पनि तुलना गरिन्छ । धनुको ताँदो तानेर (आरम्भ) बाँण प्रहार गर्ने मध्ये र बाँणले लक्ष्यभेदन गर्ने समापन) काम जसरी थालिएपछि अकस्मात् हुन पुग्छन् त्यसरी नै कथालेखन आरम्भ गरेपछि अकस्मात् टङ्गोमा पुग्दासम्म लेखक र पाठक वा श्रोताको रुचिप्रवाह अव्याहत गतिले बिसौनीसम्म नै पुगेको हुन्छ । यसरी कम समयमा नै पढेर सिङ्गो कथाको रसिलो स्वाद प्राप्त हुनेहुँदा साहित्य जगत्मा लघुकथाको लोकप्रियता बढ्दै गएको देखिन्छ ।

कथाकार  रामप्रसाद  पन्तका लघुकथाहरूले  आपूmले  देखे–भोगेको समसामयिक समाज व्यवस्थाको यथार्थ चित्रण गरेका छन्, तर त्यो पनि सकारात्मक पक्षको अपेक्षा सकारात्मक पक्षको चोटिलो व्यङ्ग्य प्रहार हुने गरी । कौतूहलपूर्ण परिवेशबाट लघुकथाको थालनी हुन्छ । उत्सुकताका साथ अनुकूल पर्यावसान हुने गरी कथाले गति लिन्छ । तर झस्काउने चाल अकस्मात् नसोचेको दुष्परिणाम ध्वनित गरी लघुकथा टुङ्गिन्छ । यसरी नकारात्मक परिणाम दिए पनि प्रतीयमान व्यङ्ग्य अर्थमा लघुकथाले सुधारका सङ्केत भने दिएकै हुन्छ । साहित्यमा पाइने यस खालका सन्देशलाई काव्यिक न्याय (पोइटिक्स जस्टिस) भन्ने गरिएको छ ।

यस्तै प्रसङ्गसँग समसामयिक बनेकोे साहित्यकार रामप्रसाद पन्तको ‘दाउ’ लघुकथालाई परिचर्चामा ल्याउन खोजिएको छ ।

नेपाली साहित्यका कविता, कथा, उपन्यास नियात्रा, आत्मसंस्मरण प्रभृति विविध विधामा निरन्तर सिर्जनारत रहेर बहुमुखी साहित्यिक व्यक्तित्वका रूपमा सुपरिचित रामप्रसाद पन्त (जन्म २०१०, गुल्मी, हालः काठमाडौँ) को रुचिकर साधनाक्षेत्र रचनाधर्मिताका साथै साहित्यिक पकारिता पनि रहेको छ । दायित्व वाङ्मय प्रतिष्ठानको संस्थापक अध्यक्ष समते रहेका साहित्यिक पत्रकार रामप्रसाद पन्तको प्रधान सम्पादकत्वमा लगभग दुई दशकदेखि ‘दायित्व साहित्यिक मासिक पत्रिका निरन्तर प्रकाशित हुँदै आएको छ र समयसमयमा यसका प्रतिभा केन्द्रित तथा विधा केन्द्रित विशिष्टाङ्कहरू पनि प्रकाशित भएका छन् । बहु आयामिक साहित्यकारका साथै कुशल साहित्यिक सङ्गठनका रूपमा साहित्यिक वृत्तमा सम्मानका साथ पन्तको नाम लिइन्छ । रामप्रसाद पन्त स्वयं अविश्रान्त–साहित्यकार हुँदै हुन्, अन्य इच्छुकहरूलाई पनि साहित्य–रचना गर्न हौसला प्रदान गर्ने साहित्य सेवी पनि हुन् । दायित्व पत्रिकाले पनि कतिपय कवि, कथाकारहरू जन्माएको देखिएकै छ । यसैगरी दायित्व वाङ्मय प्रतिष्ठानको प्रकाशनमा विविध प्रकृतिका कतिपय साहित्यिक कृतिहरू समेत प्रकाशित भएका छन् ।

तीसका दशकदेखि कविता लेखनको अभ्यास गर्दै रहे पनि प्रकाशनमा भने पहिलो प्रकाशन आख्यानकृति ‘बिरानो बस्तीमा’ शीर्षक उपन्यास २०४४ सालमा प्रकाशन भएसँगै रामप्रसाद पन्तको साहित्यिक क्षेत्रमा आगमन भएको हो । यसको लगत्तै २०४७ सालमा प्रकाशित ‘वेदनाका लहरहरू’ खण्डकाव्यले पनि उनको कविता लेखनको

प्रवृत्तिलाई  सङ्केत  गरेको  छ  । यसपछि भने साहित्यकार पन्तको बढी रुचिक्षेत्र नियात्रालेखन देखा प¥यो र पहिलो नियात्रा सङ्ग्रह ‘जापान भ्रमणका केही सम्झना’ शीर्षकमा २०५८ सालमा प्रकाशित भयो । योसँगै नियात्राकार पन्तका एक दर्जन जति नियात्राकृति प्रकाशित भएका छन् र नियात्रातर्फ ‘अविरल यात्रा’ नियात्रा सङ्ग्रह, २०७२ का लागि आख्यानेतर गद्य लेखकका रूपमा साहित्यकार पन्तलाई ‘उत्तम शान्ति पुरस्कार’ पनि प्राप्त भएको छ । नियात्रा इतर क्षेत्रअन्तर्गत कविता विधामा नैतिक दृष्टान्तका कविताहरू र तीता मीठा कुरा’ सहसङकलितका साथै रामप्रसाद  पन्तका  कविता’  शीर्षक कवितासङ्ग्रह २०७० सालमा प्रकाशित भएको छ ।

आख्यानतर्फ रामप्रसाद पन्तको पहिलो उपन्यासकृति’ बिरानो बस्तीमा ‘कृतिको प्रकाशनपछि दोस्रे उपन्यासकृति २०५७ सालमा’ तीन आमाको छोरा ‘शीर्षकमा प्रकाशित भयो । उपन्यास लेखनले यहीँ पुगेर विश्राम लिन्छ र आख्यानकार पन्तका ध्यान लघु आख्यानतर्फ केन्द्रित हुन्छ । फलस्वरूप समयको अन्तरालमा दुई कथासङ«ग्रह जन्मन्छन् –१) रुक्मी दिदी

(२०६१) र २) पुष्पमञ्जरी (२०६९) । यसपछि मात्र देखापरेको आख्यानको लघुतम रूप हो दाउ (लघुकथासङ्ग्रह २०७२) ।

कथाकार रामप्रसाद पन्तद्वारा लिखित ‘दाउ’ लघुकथा सङ्ग्रह’ २०७२ कार्तिकमा दायित्व वाङ्मय प्रतिष्ठान नेपालबाट प्रकाशित लघुतम आख्यानकृति हो । यसमा केही लघुकथा मधुपर्क, स्पन्दन आदि पत्रिकामा पूर्व प्रकाशित भएका छन् भने धेरैजसो लघुकथाहरू सर्वप्रथम यसै सङ्ग्रहमा देखापरेका छन् । यसमा लघु आयामका ५१ वटा ससाना कथाहरू सँगालिएका छन् ।

प्रस्तुत  लघुकथा  सङ्ग्रहभित्रको शीर्षकमा रहेको ‘दाउ’ लघुकथालाई हेरौँ । क्यासिनोमा जुवा खेलेर पैसा कमाएका जुवाडेलाई हेरेर अजय खत्रीले पनि आफ्नो आर्थिक हैसियत सुधार्न क्यासिनोमा जाने गरेका छन् । जुवाको दाउले साथ दियो । दुईचार दिनमै घरजग्गा बेचेको पैसा जुवाको खालबाट दुगुना पारेर खुला ठाउँमा जग्गा किने अनि भवन पनि बनाए । अब क्यासिनोमा जान्न पनि भनेको थिए । समय क्रममा क्यासिनोकै महिला कर्मचारीको जोडवलले लोभमा फसेर खत्री पुनः क्यासिनोमा जान थाले । सधैँ एकनास हुँदैन । दाउ लागने । बैङ्क व्यालेन्स जग्गा र नयाँ भवन र श्रीमतीको गहना पनि जुवामा हारे । यसरी जुवा खेलका दुष्परिणाम दर्शाएर लघुकथाको अन्त्य भएको छ ।

‘दाउ ’मा सङ्कलित लघुकथाहरूले समसामयिक जीवनका राम्रा नराम्रा पक्षलाई दर्शाएका छन् । नेपालको वर्तमान समाज व्यवस्थामा देखिएको सामाजिक आर्थिक साजनैतिक र पारिवारिक विकृति र विसङ्गतिप्रति यी लघुकथाले चोटिलो व्यङ्ग्य प्रहार गरेका छन् र समाज सुधारको सन्देश दिन चाहेका छन् । गाउँ–सहरको उन्नति गर्ने जिम्मा लिएका जनप्रतिनिधिहरू, देश विकासको ठेक्का लिने राजनैतिक नेताहरू राष्ट्रसेवाको कसम खाएका राष्ट्रसेवकहरू धेरैजसो भ्रष्टाचार र अनैतिक आचरणमा फँसेका देखिएका छन् । यसरी बढ्दै गएको दूषित वातावरणले समाजको मर्यादा नै तहसनहस भएको दुखेसो यी लघुकथाहरूले बताएका छन् ।

सङ्ग्रहको पहिलो कथा ‘अनभिज्ञता’ हो । यसमा समान प्रकृतिका क्यान्सरका दुवै बिरामीले एक अर्कालाई रोगले बढी थलिएको र आफ्नो भने सुधार हुँदै गरेको बताइन्छ । दैवको खेल, दुवैले एकदिन शरीर छाड्छन् । ‘अनैतिक’ कथामा राष्ट्रसेवक भएर अनैतिकताले जोडेको सम्पत्तिप्रति आफ्नै छोराछोरी अचम्मित भएको विवरण छन् । ‘आफ्नै डम्पूm’मा लोडसेडिङ् बढाएर कालो बजारी गर्ने षडयन्त्र देखाइएका छन् । ‘बकोदरी योजना’ कथामा कुर्सीमा पुग्दा भुँडी बढ्ने र कुर्सीबाट हट्नासाथ भुँडी घट्ने विवरण दिएर प्रशासनमा बढ्दै गरेको भ्रष्टाचारप्रति आक्रोश व्यक्त गरिएका छन् । ‘बाहिरजानु भएको छ’ कथामा ढाँट छल गर्ने परम्पराकोे र ‘सानी ’कथामा सहयात्रा गर्दा भीडभाडमा नारीले जोगिनु पर्ने स्थितिको चित्रण छ । बाध्यतामा हाउसमेडका रूपमा इजरायल जान लागेकी अविवाहित युवतीले शारीरिक तुष्टि पनि दिनुपर्ने बाध्यताको उल्लेख छ भने छुवाछूत’ लघुकथामा दलित वर्गहरूबीच नै भात भान्छाको छुवाछूत प्रथा हट्न नसकेको यथार्थ औल्याएका छन् । यसैगरी ‘चोरको खुटा’ लघुकथामा एउटा चोरले अर्काे चोरको कुचेस्टा बुझेको हुन्छ भन्ने सङ्केत छ भने ‘दुई औँलाका अर्थ’ मा बालश्रमिक टेम्पो खलासीको लागि बालअधिकार कानून निष्क्रिय भएको व्यङ्ग्य गरिएको छ । अकुत सम्पत्ति छकाउँदै गरेर पनि दुःखी बनेका बनियाँ गोपाल साहु –(दुःखी कथा) र प्रभाव र चिनजान नभई भूकम्प पीडितले सहयोगको रकम समेत पाउन नसकेको अवस्था ‘प्रभाव कथा’ का साथ रेस्टुरामा चलाइएका अवैध जुवा तास र वेश्यावृति ‘खाल कथा ’जस्ता विविध पक्षहरू यहाँ दर्शाइएका छन् । यसैगरी माया कसको ? मायाको गन्ध, प्रतिद्वन्द्विता, राष्ट्रवादी, सदासय,सहारा गिदी र सिद्धि, साचाइ संस्कार श्रुतिभ्रम अन्तिम सत्य, विकृति, डाक्टरी पढाइ,नङ, जरिवाना शोषण बिचरा आदि लघुकथाले समाजमा व्याप्त अन्याय धोकाबाजी, छलकपट, शोषण वेइमानी ठगी गरिबी बालमजदुरी मृत्यु नाकाबन्दी, कृत्रिम अभाव आदि विकृतिहरूको व्यञ्जनाधर्मी कथन शैली प्रस्तुत गरेका छन् । लघुकथा सङ्ग्रहको अन्तमा ‘साहित्यिक पत्रकार’ शीर्षक नै चारओटा लघुकथाहरू– साहित्यिक पत्रकार –१, साहित्यिक पत्रकार–२ साहित्यिक पत्रकार–३ र साहित्यिक पत्रकार–४ गरी सँगालिएका छन् । लामो समयदेखि साहित्यिक पत्रकारिता गर्दै आएका कथाकार रामप्रसाद पन्तले पत्रकारले बेहोर्नुपरेको समस्यालाई मार्मिक ढङ्गले दर्शाएका छन् । विज्ञापन लिन जाँदा कुनै कुनै वहाना पारेर पन्छिने, घण्टौँ कुर्दा पनि भेट नदिने जस्ता दुखेसाहरू यस क्षेत्रका पत्रकारले भोग्नु परेका तीता अनुभव यी लघुकथाहरूले बताएका छन् । लघुकथाहरूमा सरल बोधगम्य अनि गम्य र भावग्राही भाषाको प्रयोग छ । विचार र भावको सम्पे्रषणीयतामा विशेष ध्यान दिइएको छ । सरल र मिश्रणवाक्यको प्रयोग छ र परस्पर शृङ्खलित वाक्यहरूले प्रस्तुतिमा गतिशीलता ल्याएका छन् ।

लघुकथाको सूत्रात्मकता, गतिशीलता र मिठासलाई उदाहरणका रूपमा प्रस्तुत गर्न यहाँ राष्ट्रवादी शीर्षक लघुकथा उद्धृत गरिएको छ ।–

राष्ट्रवादी

उनी प्रजातान्त्रिक मूल्य र मान्यताप्रति विश्वास राख्ने व्यक्ति र राष्ट्रवादी चिन्तक भएकै कारण सचिव पदमा बढुवा भएका हुन् । राष्ट्रप्रतिका उनका मन्तव्यहरू अत्यन्त चोटिला र सारगर्भित हुन्थे । राष्ट्रले मागेमा राष्ट्रसेवकले ज्यान दिन पनि तयार हुनुपर्छ भन्ने दरिला अभिव्यक्तिहरू दिन्थे उनले ।

यति मात्र होइन, उनी वर्षको एक÷डेढ महिना विदेश गएर बस्ने पनि गर्दथे । भन्थे– हामीले देश विकासमा तौरतरिकाहरू बुझ्न र केही सिक्नका लागि पनि विकसित राष्ट्रको भ्रमण गरिरहनुपर्छ ।

–     – –

उनी सचिव पदमा आसीन भएकै बेला सरकारले एउटा नीति ल्यायो र मिति तोकेर सूचना पनि जारी ग¥यो ।े डिभी पिआर होल्डरहरूले कि त डिभी पिआर छोड्नुप¥यो कि त पद त्याग्नुप¥यो । नत्र डिभी पिआर पनि जान्छ पेन्सन पनि जान्छ ।े

सरकारले दिएको म्याद सकिनै लाग्दा उनले पारिवारिक कारण देखाई राजिनामा दिए ।

यस  किसिमले  मर्मस्पर्शी  र व्यङ्ग्यकेन्द्रित  ५१  लघुकथाहरूका सङ्कलनका रूपमा ‘दाउ’ लघुकथा सङ्ग्रह देखापरेको छ । प्रत्येक कथामा विषयवस्तु अनुकूल रेखाचित्र अङकित गरेर सङ्ग्रहलाई आकर्षक तुल्याइएको छ । कथाकार पन्तका लघुकथामा पनि काव्यिक भावुकता नियात्रात्मक कौतूहल जड्ने काम भएको छ । निष्कर्षमा कथाशिल्पी रामप्रसाद पन्तको लघुकथासङ्ग्रह विशेष आश्वाद्य र पठनीय कृति हुनाका साथै यस क्षेत्रको दिग्दर्शक उदाहरणीय कथाकृति बन्न पुगेको छ । उनका आगामी सिर्जनाहरू पनि यसरी नै सुन्दर बनेर आऊन् भन्ने कामना गर्दछु ।

ज्ञानेश्वर, काठमाडौँ ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments