न्यानो सोफामा बसेर समय काट्ने, सधैँ भोजनमा हाड–मासु खाने, चिल्लो बाथ टबमा महँगो शैम्पुले नुहाउने टाइगर आज विरामी छ । उसले बिहानदेखि केही खाएको छैन । न त मन्त्रीज्यूसित बिहान मर्निङ वाक्मा नै जान सक्यो ।

छोरीको दबाबमा मन्त्रीज्युले वरिष्ठ पशु चिकित्सकलाई फोन गरेर टाइगरको अवस्था बताएपछि डाक्टरले टाइगरलाई तुरुन्त पशु अस्पताल पठाइदिनु होला भनेका छन् । मन्त्रीज्यू स्वकीय सचिवलाई माली मने आउन साथै टाइगर बोकाएर अस्पताल पु¥याउनु भन्ने आदेश दिएर मन्त्रालयतिर लागेका छन् ।

उता मनेकी स्वास्नीलाई महिना लागेकोले रातीदेखि पेट दुखेको छ । “मने तेरी स्वास्नीलाई बेथा लागेको जस्तो छ तुरुन्त स्वास्थ्य केन्द्र लिएर गइहाल् ।” घरवेटीको कुराले मने सङ्कटमा परेको छ । ऊसित स्वास्नीलाई स्वास्थ्य केन्द्र लग्ने पैसा समेत छैन । यसैले मने मन्त्रीज्यूलाई हजार रुपैयाँजति पेश्की मागेर फर्किहाल्नु प¥यो भनी कोठाबाट निस्कन्छ ।

“छोरा होला कि छोरी ? म गरिबलाई त छोरा नै होस् है प्रभु ।” मनमा यस्तै तर्कना लिएर ऊ मन्त्रीज्यूको निवासमा पुग्छ । स्वकीय सचिव निकै बेरदेखि मनेकै प्रतीक्षा गरेर बसेका हुन्छन् । अदालतले सजाय सुनाएको अपराधी जस्तो भयभीत मुद्रामा मनेले सचिवलाई अभिवादन गर्दै भन्छ “ हजुर ! आज बूढीलाई अलिक सञ्चो नभएकोले अबेर भयो । मालिक साप कता हुनु हुन्छ होला ?” उसले चारैतिर नजर दौडाउँछ ।

“तँलाई किन चाहियो मालिक साप ? टाइगरलाई सञ्चो छैन । तँ टाइगरलाई लिएर तुरुन्त अस्पताल गइहाल् । ” स्वकीय सचिवले ठाडो आदेश दिन्छ । मालिकसित रुपैयाँ सापट मागेर फर्किहाल्छु भनेको मनेलाई कुकुर बोकेर अस्पताल जानुपर्ने भएपछि ऊ असमञ्जसमा पर्छ । ऊ केही क्षण घोरिन्छ । मनेलाई यसरी घोरिएको देखेपछि स्वकीय सचिवले कडा स्वरमा भन्छ “एई मने ! टाइगर बोकेर अस्पताल जा भनेको सुनेनस् ? ” प्रत्युत्तरमा मनेले आफ्नो समस्या राख्न खोजेको मात्र के हुन्छ सचिवले अहिले भने उसको सातो–पुत्लो उड्ने गरी हप्काउँदै भन्छ “मने ! तँ के सोचिरहेको छस् हँ ? तँलाई जागिरको माया छ कि छैन ? भरै टाइगरलाई केही भइहाल्यो भने तेरो जागिर जान्छ नि याद राख् । ” अहिले भने मने स्वास्नीलाई अरूको भरमा छोडेर ज्यानभन्दा जागिर ठूलो भने जस्तो गरी मन्त्रीज्यूको  कुकुर  टाइगर  बोकेर अस्पतालतिर दौडिन्छ ।

निजगढ बारा । हाल ः काठमाडौँ

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments