असङ्ख्य सपनाहरू हृदयकै कन्तुरमा थुनेर एउटा व्यग्र भोकसहित राजधानी छिरेको दुई महिना चल्दै थियो । यसर्थ राजधानीसँग सामान्य चिनाजानी हुँदै थियो । हरेक बिहान ५ बजे उठेर भाषाको कक्षामा जाने र फर्कने मेरो दैनिकी थियो । कक्षाजाँदा रहस्यमयी लाग्ने एउटा मान्छे बाटोछेउको पाटीमा सुतिरहेको देखिन्थ्यो । बेपरबाह सुतिरहेको अग्लो कद, जिङ्रिङ्ग कपाल, ख्याउटे अनुहार भएको अधबैँसे बिउँझनासाथ एउटा मैलो झोला बोकेर हतारिँदै कुद्ने गथ्र्यो ।

कक्षा पुग्न जति हतारिए पनि यहाँ पुगेपछि मेरा खुट्टा लुला बन्थे ।

सधँैझैँ पत्थरको सिरानी र ताराहरू ओडेर सुतिरहेको छ, त्यो मान्छे । पैदलयात्रीको हेय र उपेक्षाको दृष्टि ओछ्याएर । मैले उसलाई देख्न थालेको पनि आज २१ दिन भयो । मनमनै अनुमान जन्मन्थे, कुनै ठूलो महŒवाकाड्क्षाले गलाएको पथिक  या  सपनाको  सफलताले सम्बन्धविच्छेद गरेको बिम्ब या प्रेमको बहावमा पौडन नसकेर किनारमा थिग्रिएको असफल  प्रेमी  या  नवीन  दर्शनको ओभरडोजले ग्रस्त उत्तरआधुनिक आगन्तुक या यस्तै केही ।

म नजिकै गएर उसलाई एक तमासले हेर्छु । रौँ झरेर रातो छाला टल्किएको कुकुरले पैतालामा चाटेपछि ऊ बिउझिएको थियो । बिउँझेर हेरेको थियो कुकुरलाई र मलाई । यो कस्तो हेराई ? मभित्र अकर्मण्यताले घर ग¥यो । गल्यो दर्शनका ठेलीहरूको कण्ठस्थ, गले सबै ज्ञान जसले मलाई दोहोरो स्नातकोत्तरको उपाधि दिएका थिए । गले, कसैको हेराइ पढ्न नसक्नुको नियतिसँग ।

यथार्थको आँगनमा एउटा ठूलो विषय उपस्थित थियो । यसै शीर्षकमा विद्यावारिधि गर्नेसम्मको अवसर पनि । मेरा नजरहरू सचेततापूर्वक हेर्दै थिए कि नजरहरू तीर नदेखिऊन् । ऊ अचम्मित थियो र मौन पनि । ऊ एक्कासी उठेर लम्किँदै हिँड्यो । म चुपचाप फर्किएँ ।

भोलिपल्ट बाटोमा हिँडिरहेकी चौथाइ बस्त्र लगाएकी, गाजलु आँखा, छोटो केस भएकी बच्चीजस्ती देखिने तरुनीले खोकेको आवाजले बिउँझिएको थियो ऊ । बिउँझनासाथ ऊ फिस्स हाँसेको थियो । ‘यो दर्द हाँसेको हो’ सम्म मलाई थाहा थियो । वेदना र बाध्यता बोल्छ कि बोल्दैन त्यो थाहा पाउनु थियो ।

“ए दाइ !” मैले पहिलोपटक उसैतिर आँखा फर्काएर बोलाएँ ।

यताउता हेर्दै ऊ चुप बस्यो ।

“दाइ तपाईंलाई नै बोलाएको हो ।” मैले थपेँ ।

उसले एकोहोरो हरिरह्यो । मानाँै ऊ भाषाहीन छ, निष्क्रिय छन् उच्चारण अवयवहरू ।

मैले धैर्यताको सयरमा लगाम लगाउँदै संवाद जोडेँ ।

“दाइ हजुरको घर कहाँ ?”

“नाम ?”

“के गर्नुहुन्छ ?”

उसले मेरो प्रश्नलाई उपेक्षा गर्दै आफ्नो मैलो झोला बोकेर सरासर हिँड्यो ।

मलाई कोठा फर्कन मन लागेन ।

ऊ हत्तारिँदै नजिक रहेको सरकारी हस्पिटल पुग्यो । न्यूरोलोजी वार्डको बेड नं. १५ मा निदाइरहेकी युवतीको निधारमा हात उल्टो पारेर छाम्यो । लगत्तै पछिल्तिर फर्किएर एक भुल्को आँसु खसायो । त्यसै बेडको एक छेउमा गोरो छाला, चुच्चो नाक, गाढिएका आँखा, क्षीण शरीर भएकी महिला पनि थिइन् । उनीहरूको संवाद केही अगाडिसम्म सुनिन्थ्यो ।

“ए  शर्मिला  !  के  ख्वायौ  त नानीलाई ?”

“छैन, केही थिएन खुवाउनलाई ।”

“ल, बस्दै गर है म लिएर आउँछु ।” ऊ गोजी छाम्दै बाहिरियो ।

“सुन्नुस् त, स्याउको जुस ल्याउनु ल खान्छे कि ।” उसले ठूलो स्वर निकाल्न प्रयास गरी ।

नर्सहरूसँग गफ गर्दै आएको हँसिलो मुहारको डाक्टर मेरो अगाडि रोकियो र सोध्यो ।

“तपार्ईं बेड नं. १५ को बिरामीको आफन्त ?”

म किंकर्तव्यविमुढ भएँ । थाहा छैन यो प्रश्नको सही उत्तर के हुन सक्छ । अन्तर्यका प्रश्नहरूको बाढीलाई पन्छाउँदै मैले भनेँ “हो डा साब, यो बिरामीको बाबुको हालत देखेर केही मानवीय धर्म गर्न सकिन्छ कि भनेर ।” मुखबाट मिश्रित भावको सन्तुलित जवाफ निस्कियो ।

“ए, ए चिनजान पहिलेबाटै कि ?”

मैले डाक्टरलाई जवाफ दिँदै गर्दा ऊ खाजा बोकेर कोठामा छिरेको थियो । डा.साब केही जानकारी पाउन सकिन्छ कि बिरामीको बारेमा ? मलाई उहाँहरूलाई नै सोध्न अप्ठ्यारो लाग्यो, यस्तो अवस्थामा । डाक्टर हतारिन्छन् । यसो गर्नुस् अबको एक घण्टापछि मलाई कोठा नं. २८ मा भेट्नुस् है ।

“हुन्छ ।” म जवाफ फर्काउँदै बेड नं. १५ तर्फ नियाल्छु । उनीहरू बिरामीलाई स्याउको जुस पिलाउँदै थिए । बिरामीले पिउँदा  बूढाबूढीले  मुस्कान  साटासाट गरेका थिए । एक्कासी बिरामीको बान्ताले उनीहरूको मुस्कान निमेषभरको बनाइदियो ।

डाक्टरलाई भेट्न एक घण्टा बाँकी भएकाले मलाई छतमा गएर समय बिताउने सोच आयो ।

बिरामीका  आफन्तहरू  छतमा सटरपटर गरिरहेका थिए । छतबाट तलको ब्यस्त बाटो र फुटपाथ प्रष्ट देखिथ्यो । मोटरहरू धुलो उडाउँदै जोडसँग गुडिरहेका थिए । फुटपाथको चापले गर्दा पैदलयात्रीहरू बाटो मिचेर हिँडिरहेका थिए । भीडबिच कलिला फोटा भएका पोस्टरका छेउमा माइकहरू बजिरहेका थिए । सेवा गरौँ पुण्य कमाऊँ । रामेछाप जिल्ला …….. वर्ष ९ का ………. ब्लड क्यान्सर ……. सहयोग गर्नुहोला । आफू पनि बाँचाँै, अरूलाई पनि बचाऊँ ।

दुबै हातखुट्टा नभएकाहरू, आधा शरीर कुहिएकाहरू यत्रतत्र बसेर कारुणिकता बेचिरहेका थिए । यी सबै दृश्यले मन अमिलो बनेपछि अर्को विकल्प, मोबाइलमा न्युज साइट खोल्छु ।

समचार १

प्रधानमन्त्रीलाई खानामा अरूचि भएपछि उपचारका लागि स–परिवार अमेरिका प्रस्थान ।

समचार २

प्रजातान्त्रिक पार्टीका केन्द्रीय सदस्य आकाश थापाको सडक दर्घटनामा खुट्टा भाँच्चियो । उपचारका लागि ३ बजे एयर एम्बुलेन्समा भारत प्रस्थान गर्दै, सम्पूर्ण खर्च सरकारले बेहोर्ने ।

समचार ३

सरकारद्वारा फुटपाथ खाली गर्न निर्देशन, अटेरी गरे २० हजार जरिवाना हुने ।

समाचारले समेत बेस्सरी झापड हानेपछि म कोठा नं. २८ तिर गएँ ।

हँसिला डाक्टर त्यहीँ थिए । उनी मलाई सङ्केत गर्दै अर्को साथीसँग बोल्दै थिए । नजिकै पुगेपछि चिनाजानी भयो ।

“म  डाक्टर  भरत,  सिनियर फिजिसियन ।”

“म डाक्टर ऋतुराज, न्युरोलोजिस्ट ।” हाँस्दै बोल्दा उनको सुनको दाँत टलक्क टल्किएको थियो ।

“म सौरभ भोजपुरबाट, भाषा पढ्न आएको । डा. साप कस्तो बिरामी हो बेड नं. १५ को ? किन उहाँ त्यति विक्षिप्त जस्ता ?” मलाई उहाँलाई नै सोध्न अप्ठ्यारो लाग्यो ।

“सुनाउनुस् त ” डाक्टर भरतले आग्रह गरे । डा. ऋतुराज कहानी बताउन सुरु गर्छन् ।

करिब १८ वर्ष पहिले तेह्रथुमको मनोज के.सी र इलामकी शर्मिला भट्टराईको लोकसेवाको फारम भर्ने क्रममा धनकुटामा भेट भएको थियो । फारम भर्ने क्रममा सहयोगको निउँ पारेर मनोज शर्मिलासँग बोलेको थियो । एकै नजर र कुराकानीमै उसले मनोजको मन खिचेकी थिई । फर्कंदा उनीहरूले आफ्नो मनको फारममा एक अर्कालाई भरेका थिए । उनीहरू दिनदिनै फोन र म्यासेजमा धेरै नै बोल्न थालेका थिए ।

असार ९ गते शर्मिलाको जन्मदिनमा बिहानै मनोजले फोन ग¥यो । “सर्मी, जन्मदिनको धेरै शुभकामना छ है । सधैँ यस्तै प्यारी हुनू, ठूलो प्रगति गर्नू । ट्रिटपछि है गिफ्ट पनि पछि ।”

“अनि सर्मी, गिफ्ट के दिऊँ ? तिम्रै रोजाइको दिन्छु ।”

उसले घुमाउरो पारामा मनोजलाई नै मागेकी थिई ।

ऊ मनमनै फुर्केको थियो ।

समय घर्किरहेको थियो । उनीहरूका सपनाहरू साझा बन्दै थिए । एक दिन खाना खाएर शर्मिला घाम ताप्दै थिई । छेउमा रेडियो बजिरहेको थियो ।

रेडियोले नतिजा प्रकाशनको सूचना फुक्यो । उसले फोन डायल गरी ।

“हेल्लो, के गर्नुहुँदै छ ?”

“बसिरा’छु, तिमी नि ?”

“सुन्नु न, रिजल्ट आएछ त हाम्रो हेर्नु भो ?”

“हो र ?”

“भर्खरै रेडियोमा सुनेको ।”

“एकछिन है ।” मनोजले फोन राख्यो । उसले धनकुटामा भएको साथी समिरलाई सिम्बल नम्बर पठायो ।

केही बेरमा म्यासेजको घन्टी बज्यो । दुबैको नतिजा एउटै आयो ।

शर्मिला धेरै निरास भई । उसले भोलिपल्ट बिहानै मनोजलाई फोन गरी ।

मेरो रिजल्ट बिग्रिएको थाहा भएपछि घरमा हिजै मेरो बिहेको कुरा चल्यो ।

“हो र ? हिजै पो ? अचम्म । के–के गर्छन् हौ तिम्रो घरमा पनि ।”

“अँ त नि, फोटो देखाउँदै हुनुहुन्थ्यो दादाले, यही महिना बिहे गर्नु रे !” ऊ निरास भएर बोली ।

“तिमी बिहेका लागि तयार छौ ?”

“कहाँ हुनु त्यो चिन्दै नचिनेको मान्छेसँग ।” उसले थपी, “तपार्ईं नभएको भए त एउटा कुरा ।”

“होइन, मसँग क्या ।” उसले हाँस्दै भन्यो ।

उसले  अविश्वास  पोख्दै  भनी “साँच्चै ? तर मलाई त्यही मान्छेसँग बिहे गरिदिन्छन् घरबाट ।”

“ल, ल सोच्दै गर, अब छिट्टै हामी नै बिहे गर्नुपर्छ ।” उसले फोन राख्यो ।

त्यसको चार दिनपछि शर्मिलालाई जानकारी दिएर ऊ इलाम गयो । उनीहरूले त्यहीँको गणेश मन्दिरमा विवाह गरे । दोबाटोमा भेटिएका अन्जान यात्रीहरूले एउटै यात्रा तय गरे ।

सानैमा बाबुआमा सवारी दुर्घटना बितेपछि मनोज एक्लो थियो । उसको जीवनमा दीपावली आएको थियो । मनोजको आर्थिक अवस्था नाजुक भएकोले दीपावली सधँै दीपावली रहेन । दुई जनाबाट तीनजना हुने भएपछि मनोज विदेशा जानैपर्ने निर्णयमा उनीहरूपुगे । मनोज विदेश जाने अघिल्लो रात ऊ खुब रोई । तीन वर्षपछिको कल्पनाको सुन्दर सिरानी लगाइदिएपछि ऊ निदाई ।

मनोज विदेश गएको सात महिना भएको थियो । एक बिहान शर्मिलालाई प्रसव वेदनाले च्याप्यो । छिमेकीहरूले अस्पताल पु¥याए । सुन्दर शरीर, ठूलाठूला आँखा, जाज्वल्यमान् मुहार, ठूलो निधार भएकी छोरी जन्मिई । सबैले भन्ने गर्थे यो निकै भाग्यमानी छे, तिमीहरूको भाग्य यसैले खोलिदिन्छे । मनोज यो खबर सुनेर खुसीले बुरुक्क उफ्रँदा टाउकामा टुटुल्कै उठेको थियो ।

नानीको न्वारान भयो । नाम रह्यो ‘सपना’ ।

मनोजले विदेशी भूमिमा घर र देश सम्झँदै पसिना बगाएको तीन वर्ष भयो । अब देशमै केही गराँै भनेर शर्मिलाले बोलाउन थालेको पनि एक वर्ष भएको थियो । उसले घर जाने बिदा माग्यो । कम्पनीले आन्तरिक कारण देखाउँदै दुई वर्ष बिदा दिएन । त्यो दुई वर्ष उनीहरूका लागि दुई शताब्दीजस्तै भयो ।

डा. ऋतुराज पानी पिउँछन् ।

अन्ततः ऊ फर्कने दिन आयो । सबै खुसीले फुरुङ्ग थिए ।

सपना सानैबाट सबैले अनुमान गरेझैँ अब्बल बन्दै थिई । कक्षा ६ मा पढ्दै गर्दा एक दिन प्रधानाध्यापकले उसलाई अफिसमा बोलाए । कडा स्वभावका उनले विद्यार्थीलाई पिट्न मात्र अफिसमा बोलाउँथे । आज मलाई किन बोलाउनु भयो होला, बदमासी त केही गरेको छैन । सपनाको मनमा कुरा खेलिरह्यो ।

“सपना ! तिमी नाम मात्रको सपना होइन रहेछौ ।” प्रधानाध्यापकले आउने बित्तिकै भने– “तिमी तिम्रो मात्र सपना होइन, परिवारको सपना हौ, स्कुलको सपना हौ, समाजको सपना हौ, सिँगो देशकै सपना बन्नेछौ ।” सपना चुपचाप सुनीरही ।

“हिजो हाम्रो बिद्यालय व्यवस्थापन समितिको बैठक बसेको थियो । त्यहाँ भएको एउटा  निर्णय  सुनाउन  तिमीलाई बोला’को ।” प्रधानाध्यापकले कुरा अगाडि बढाए ।

“सपना, तिमी हाम्रो स्कुलमा कक्षा १० सम्म निःशुल्क पढ्ने छौ ।”

“साँच्चै सर !” उसले अविश्वासजनित प्रश्न गरी । विद्यालय महँगो भएकोले सानो तहमै पनि बाबाले कमाएको धेरै खर्च उसको पढाइमा लाग्थ्यो ।

“हो सपना ! यो कुरा तिम्रो बाबा ममीलाई पनि सुनाउनू ।” प्रधानाध्यापकले मुस्कुराउँदै भने । सपना हाँस्दै बाहिर निस्की ।

सबै कुरा सपनाले सुनाएपछि खुसीले फुरुङ्ग भए उनीहरू । स्कुल तहमा लाग्ने खर्च बच्ने भएपछि सजिलै स्नातकोत्तरसम्म पढाउन सकिने विश्वास उनीहरूलाई थियो । समय आफ्नै गतिमा चल्दै थियो । सपना आठ कक्षामा समेत स्कुल प्रथम भई । ऊ स्कुलका प्रायः कार्यकलापहरूमा प्रथम हुन्थी ।

एकदिन स्कुलमा पढिरहेको बेला सपनाको टाउको बेस्सरी दुख्यो । साथीहरूले पानी छ्यापिदिए । मालिस गरिदिए । दुखाइ कम गर्ने औषधि ख्वाएर घर पुर्याइदिए ।

हरेक १०÷१५ दिनमा सपनाको टाउको अत्यन्तै धेरै दुख्न थाल्यो । स–साना उपचार गर्दै दुखाइ कम गर्ने औषधि खाँदै ऊ एस.एल.सी परीक्षामा ९२ प्रतिशत अङ्कसहित जिल्ला प्रथम भई ।

डा. ऋतुराज पानी पिउँदै रोकिन्छन् । चस्माभित्र आँसु टिलपिल देखिन्छ । हामी टुलुटुलु हेर्छौं ।

यो नतिजाले सपना र स्कुलको चर्चा जिल्लाभरि  भयो  ।  जिल्लाका  राम्रा क्याम्पसहरूले उसलाई प्लस टु निःशुल्क पढाइदिने भए ।

“तपाईंलाई त मैले सुनाएको थिएँ है ?” डा. भरतलाई हेर्दै डा. ऋतुराज बोल्छन् ।

“अनि ?” म चनाखो बनेर जिज्ञासा राख्छु ।

उनीहरूले जिल्लामा बसेर किराना पसल चलाए । सपनाले मानविकी पढ्न थाली । विज्ञान नपढेको देखेर सबै अचम्मित थिए । ऊ बेलाबेला प्रस्टीकरण दिन्थी । “म सामान्य प्रशासनमा स्नातकोत्तर गर्छु । निजामती सेवामा प्रवेश गर्छु । यो मेरो मात्र होइन मामुबाबाको पनि सपना हो ।” उसले प्लस टु उत्कृष्ट अङ्कसहित पूरा गरी ।

स्नातक र स्नातकोत्तर गर्न ऊ राजधानी जाने भई । उनीहरूलाई छोरीप्रति पूर्णविश्वास थियो तर बेलाबेला अत्यन्तै धेरै टाउको दुख्ने घटनाले तर्साइरहेको थियो । बाबामामुको सान्त्वनाकै लागि भए पनि ऊ एकपटक ठूलो अस्पतालमा जँचाउनै पर्ने निष्कर्षमा पुगी ।

यहाँ जँचाएपछि त ढुक्क हुन्छ ।

“आफूले केही गर्न सकिएन, छोरी हाम्रा सपनासमेत पूरा गर्न लागिपरेकी छे । नामजस्तै ।”

“कसले जुराएको नि ?”

शर्मिला र मनोज गफ गरिरहेका छन् । डाक्टरहरू हातमा रिपोर्ट बोकेर आउँछन् ।

“हाम्री छोरीलाई के भएको रहेछ डा.साब ?” सिनियर डाक्टर चुपचाप सहयोगी डाक्टरलाई रिपोर्ट थमाएर जान्छन् । उनीहरूमा शङ्का पैदा हुनै लाग्दा डाक्टर बोल्छन् “तपाईहरूकी छोरीको ब्रेनमा ठूलो ट्युमर देखिएको छ ।”

डा. ऋतुराज अश्रुमय भएर थप्छन् “ती दम्पतीलाई के थाहा समय यति क्रूर बन्ला । सपना स्वाट्टै उडाउने हुरी एक्कासि आउला ।”

हृदयको हिमतालमा डिल लगाउँदै म सोध्छु “अनि यो अस्पतालमा आएको चाहिँ कति भयो नि ?”

“करिब एक महिना । उहाँहरू पहिले निजी अस्पताल जानुभएछ । अपरेसनमै सबै जायजेथा सकिएछ । धेरै खर्च गर्दा पनि अप्रेसनपछिको अवस्था नसुध्रिएपछि यहाँ आइपुग्नुभएछ । तर अब गाह्रो छ ।”

“लौ अब म जानुपर्छ ।” डा.ऋतुराज जान्छन् ।

डा.भरत मसँग प्रश्न गर्छन्, “कसरी थाहा भयो यो सब डा. ऋतुराजलाई कुनै अनुमान गर्नुभयो ?”

“सोध्नु नै भयो होला नि ?”

“कुरो अर्कै छ ।”

अस्मिता नाम गरेकी केटीसँग डा. ऋतुराज प्रेममा थिए । उनीहरूकी छिमेकी । उसले नै यो सब बताएकी थिई । तर अहिले ब्रेकअप भइसक्यो ।

“भेट्दै गरौँला है ।” डा. भरत जान्छन् ।

रहस्यको गर्भबाट केही उत्रिएको उसको आकृति कल्पँदै पाइला बेड नं. १५ तिर मोडिन्छन् । नजिकै एउटा दृश्यले म रोकिन्छु । करिब १६÷१७ वर्षको केटोलाई पहँेलो बस्त्रले छोपिएको छ । नजिकै उसकी आमा मुर्छित छिन् । सपनाका आमाबुबा झलक्क उसलाई र छोरीलाई हेरेर घोप्टिएका छन् । त्यहाँ भयानक त्रासदीको उपस्थिति देखिन्छ । यस्तो अवस्थामा उनीहरूको नजिक पर्नु ठूलो हिम्मतको कुरा हो । जो मसँग थिएन ।

डा. ऋतुराजले जाने बेलामा आजभोलि नै दश लाख जति जोहो हुन सके देशकै महँगो निजी अस्पतालमा भएको प्रविधिले उपचार गर्न सकिने एक मात्र उपाय भएको बताएका थिए । म त्यसैको लागि प्रयास गर्ने निष्कर्षमा पुग्छु र मर्दापर्दा जस्तोसुकै सहयोग गर्ने वचन दिएका, आपँैmले भोट हालेका नेतालाई भेट्छु ।

“नमस्कार नेताज्यू ।”

“नमस्कार । के छ भाइ, गाउँतिरको खबर ?”

“म त काठमाडाँैमा छु । कोरियन भाषाको तयारी गर्दै ।”

“ए, ए अनि कति कामले यहाँ आउनुभयो ?”

मैले सङ्क्षेपमा घटना बताउँदै भनेँ । “लौ न नेताज्यू केही त गर्नुप¥यो ।” मभित्रको निर्दोष अनुरोध पोखिन्छ ।

“हेर भाइ ! हस्पिटलमा त्यस्ता मान्छे कति छन् कति । फेरि तपाईंको आफ्नो मान्छे पनि होइन रहेछ । नदुखाउनुस् टाउको ।” ऊ बोल्छ ।

खल्लो प्रतिक्रिया पिउँदै विवसताको धमिलो पछ्यौरी ओडेर म अर्को नेतासम्म पुग्छु । ऊ प्रस्ट छ । उसले सिधैँ भन्छ । “हेर्नुस् चुनाव आउन अझै पाँच वर्ष छ । अहिले हामीले सबै खाले सहयोगका कार्यक्रमहरू स्थगन गरेका छौँ ।”

म आफूभित्र दन्किएको क्रोधको ज्वाला उसलाई खन्याइदिएर फर्कन्छु ।

चिनजानका  केही  समाजसेवी, पत्रकार र प्रशासकहरूलाई भेट्छु । सबैले मेरो प्रयासलाई पाखेपनको कारक मान्छन् । म रन्थनिँदै रत्नपार्कको एउटा रूखमा अडेस लाग्न पुग्छु । मोटोमोटो जीउडाल, हँसिलो चेहराको एउटा अपरिचित आएर बोलाउँछ ।

“लडिएला है बन्धु ।”

“कतै देखे जस्तै लाग्यो । घर कता ?”

“भोजपुर ।”

“तपाईंको नि ?”

“सिन्धुली ।”

“के गर्नुहुन्छ ?”

“कोरियन भाषाको तयारी गर्दै छु ।”

केही बेरको परिचयपछि उसले चिया खाने प्रस्ताव गर्छ । म उसको पछिपछि डोहोरिन्छु । ऊ माओवादीको पूर्वलडाकु रहेछ अनि कवि पनि ।

चिया अर्डर गर्दै उसले भन्यो– “निरास जस्तो देखिनुहुन्छ नि ?”

मैले घटना सङ्क्षेपमा सुनाएँ ।

ऊ गम्भीर बन्यो ।

“हेर्नुस्, व्यवस्था परिवर्तनका लागि भनेर जीवन दिएर लागियो । परिवर्तनको आभास गर्नै नपाई कयाँै सपनाहरू तुहिए । अब बल्ल सपनाले सार्थकता पाउला कि भन्ने लाग्छ फेरि कति घटनाहरूले झन् निरास बनाउँछन् ।”

चिया लिदँै उसले भन्यो– “तपाईमा साहित्यिक हृदय रहेछ ।” उसले थप्यो “त्यसैले त भावुक बनायो । हेर्नुस् यही बाटो कैयौँ पटक राज्यसञ्चालकहरू हिँड्छन् तर तिनीहरूलाई कसैले कहिल्यै देख्दैनन् ।” ऊ निकै लयात्मक तरिकाले बोल्दो रहेछ । मलाई उसको कुरा चियाभन्दा मिठो लाग्यो ।

मनहरू क्रमशः नजिक बन्दै थिए । ऊ हत्तारियो । हामीले फोन नम्बर साट्याँै । शरीरमा गोलीले छेडेका दाग देखाउँदै बोल्यो “धन्न मुटुमा गोली लागेन र कवि बन्न पाइयो ।”

“भोलिको पत्रिकामा हेर्नुस् है म कविता लेख्छु । सपनाको समाधि ।” ऊ जाँदाजाँदै बोल्यो ।

ऊ गएपछि अर्को एक कप चिया समाएर म लोलाउन पुगेछु ।

“मृत्यु, आफ्नै मृत्यु सबै–सबैको मृत्यु, आत्मिक मृत्यु, भौतिक मृत्यु”, एउटा बिलकुल मेरै आकृतिको पागल मलाई नै इङ्कित गर्दै बोल्छ । “हा हा हा… मरिस् हैन तँ पनि । हिजोसम्म त खुब बचाँउछु भन्थिस् सपना । खोइ कुन सपना बचाइस् ? कुन सपना ? मरे सब सपना मरे । ऊ घुँक्कघुँक्क रून थाल्छ । सबैको सपना बचाउन अब अर्को जुनी सपनाको सारथी भएर आउँछु ।” ऊ अचानक बाटोमा घोप्टिन्छ । म झसङ्ग बन्छु । चिया टेवलमा बगिरहेको छ ।

म थकित प्रयत्नसहित बेड नं. १५ तिरै पुग्छु र सँगैको बेडमा बस्छु । “सपना मेरी सपना हाम्री सपना सुन्दर र स्वस्थ सपना, आज नियतिको क्रुर पन्जाले निमोठेकी सपना । के सपना जन्माउने, हुर्काउने र सजाउने अधिकार पनि छैन यहाँ ? किन पाइलैपिच्छे मर्छन् सपनाहरू? सपनाको हत्या हुन्छ बाबु यहाँ त । भन न बाबु सपनाबिना पनि कुनै जीवन रहन सक्छ र ?”

म निःशब्द एकोहोरो हेर्दैै छु ।

“किन प्यारो मान्छ बाबु यो घाटले हाम्रा कलिला सपनाहरू ? म मनमनै भगवान् सम्झन्छु । भगवान्लाई पनि खाइसक्यो बाबु यो घाटले । अब सबैका सपना खान्छ पालैपालो । गरिबीका नाममा, बाध्यताका  नाममा,  सहनशीलताका नाममा । हरेक निर्दोश मनलाई प्रताडित बनाएर कालो धुवाँ हाँस्दो रहेछ बाबु यो दुनियाँमा । त्यसैको पानमा लट्ठ बन्दा रहेछन् शासक प्रशासकहरू । ऊ यस्तै अलाप्दै बेस्सरी चिच्याएझैँ लाग्छ ।

हेर्दाहेर्दै सपना हिक्कहिक्क गर्दै तनक्क तन्किन्छे । आमा अत्तालिँदै डाक्टर बोलाउन जान्छिन् । ऊ सपनाको पैतालामा बेस्सरी रगड्छ । डाक्टर आएर नाडी छाम्दै टाउकासम्म कपडाले छोपिदिएर जान्छन् ।

उनीहरू सपनामाथि घोप्टिएर हलचल नगरी बस्छन् । आसपासका सबै जम्मा भएर हेर्दैछन् । देशका अनेकन सपनाहरू साकार हुने चर्चा भएकै बेला सपना मृत्युसँग पराजित भएको गाइँगुइँ चलिरहेको छ । कोही बूढाबूढी नै मरेका हुन् कि भन्ने लख काट्दै  छन्  ।  म  प्रचण्ड  वेगसहित चिच्याउँछु । “सपना जन्माउनेहरू त्यति सजिलै मर्दैनन् । सपनाका हत्याराहरूलाई सजाय दिने काम पनि तिनीहरूकै हो । ए ! सुन्यौ ? सपनाको इन्द्रेणी बगान बनाउने हिम्मत गर जहाँ अनन्त सपनाहरू रमाउँदै पूरा आयु बाँच्न सकून् । तब अरू कसैका सपनाहरू तुहिनु पर्ने छैन । “लाखाँै सपनाहरूले देशलाई मुटु मस्तिष्कमा राखेर अस्ताएका छन् ।” मलाई आफू जीवित भएको आभास छैन । मुखबाट अन्तिम वाक्य निस्कन्छ । “यसरी नै नवजात सपनाहरू देशको घुर्मैलो आकृति बोकेर मर्छन् भने देश कहाँ बाँचेको छ ?”

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments