“गाम त खत्तमै पा¥यो ! के–के ग¥यो के–के ? रगतमा फागू खेल्दै छ मुर्दारहरू !”
चौतारामा एक्लै झोक्राइरहेका जम्दार बिर्खसिंह गुरुङको बोली मेरो कानमा बिझ्यो । टक्क रोकिएँ । र, उनीतिर खुट्टा घुमाएँ ।
मैले नमस्कार टक््रयाएँ, “जेठा बा आराम हुनुहुन्छ ? के छ त नि गामतिर ?”
बूढा झस्के– “आच्या, को भनेको त ठूला पो रै’छ । कैले आइस् ?”
म नजिकै गएँ, “आउँदै छु । किन टोलाइरनुभको हो ?”
“किन हुन्थ्यो ? लाहुरे दिन सम्झेर बसेको छ । उहिले लडाइँमा रगत बग्थ्यो । अहिले गामतिरै काटाकाट छ । साँढेको जुधाई बाच्छा मिचाइ ।”
म केही बोल्न सकिनँ । साँच्चै अचेल गाउँ गाउँजस्तो छैन । हटारुले छोडेर गएको रित्तो बजारजस्तो छ । जहाँ कोही केही किन्न आउँदैनन् । मूल्य सोध्दैनन् । बेच्ने साहूले पनि मूल्य तोक्दैन । बटुवाहरू जसलाई जे चाहियो उठाएर लैजान्छन्, रामराज्य जस्तै ।
बूढा अझै बोलिरहेका थिए ।
“आफ्नो त उमेर गइसक्यो । च्यानडाँडामा माटोमुनि सुत्ने बेला भयो । छोरा–नातिले दुःख पाउँछ कि ! मोराहरू हान्ने र मार्नेमै जाला भन्ने पीर ।”
हरेक चोटि गाउँ आउँदा बूढाका खुब रसिला गफ सुन्न पाइन्थ्यो । उनी आफ्नो लडाइँको इतिहास बयान गर्थे । बर्मादेखि श्रीलंकाको जाप्ना वा मलायाको जड्गलका कथा सुनाउँथे । त्यहाँभित्रका मुटु चस्किने व्यथा लय हाल्थे, दश दिन पानी मात्र खाएर लडेको । अनि एउटै खुकुरीले गोली–बारुदयुक्त दुष्मन लखेटेको युद्धवर्णन बडो रोचक हुन्थ्यो, अझ पल्टने लवजको बान्की छुट्टै ।
आज परचक्रीसँग लड्नुपर्ने तर आफैँ–आफैँ जुधेर मरिरहेको मारिरहेको देख्दा बूढा दिक्क देखिन्थे ।
“लो ठूला धान पाक्ने बेला भयो । मो ता तल खेतमा पानी मारेर आउँछ” भन्दै उनी ओरालो झरे ।
शरद भित्रिएको गाउँ फूलको ताम्दानी जस्तै देखिन्थ्यो । मनमा हर्ष, बतासमा सुगन्ध थियो । समयले रङ्गमञ्चमा फिरफिरे उडाइरहेको भान हुन्थ्यो । सालैजोमा बादलको ताल बजेको हुन्थ्यो । तर, केही समययता कता–कता मादलको तालमा विरसिलो धुन सुनिन्थ्यो । मादल पनि कमै बज्न थालेका थिए ।
खासमा यो रड्गीन प्रकृतिमा बादल लागेको थियो । खुसी पेलेर आँसु निकाल्नुपर्ने समय थियो । मनको गाग्रीमा भरिएको आँसु कहिले पिउन त कहिले मुख धुन काम आउँथ्यो । अचेल गाउँभरि खुसीमा रमाउनेभन्दा आँसु जम्मा गर्नेहरू धेरै छन् ।
म गम खाँदै उक्लिएँ– दसैँको चहलपहल कतै थिएन । वरिपरि बारमा लालुपाते फुलेका थिए । तर, तिनमा सुन्दरता थिएन । ती फूलका पातबाट पनि विरह बगिरहेझैँ लाग्थ्यो ।
तल्लाघरे बाटुली पँधेरा झर्दै रैछ । मलाई बाटैमा छेकी, “ए… दाइ आम्नुभएछ । थाहा छ दाइ, पारि वीरबहादुर पनि पल्टनबाट आछन् । देउरालीमा पिङ पनि हालेका छन् । यसपालि त रमाइलो हुन्छ कि क्या हो !”
बाटुली एकछिन टोलाई । र, मसिनो सुस्केरा फाली, “तर, दाइ गैरारे काकालाई अस्ति मारेछन् । उनको ज्यान मात्र ठूलो वनमा भेटियो । मुर्कट्टा ज्यान ल्याएर सतिगति अरे ।”
मेरा ओठ कलले दोहोरो तेहोरो सिलाएझैँ भए । म अचल भएँ ।
“आमा र बैनी घरमै छन्, दाइ । बस्दै गर्नुस् न । म एक गाग्री पानी लिएर आम्छु ।” यत्ति भनेर ऊ पँधेरातिर खुर्मुरिई । म बारीको कान्लो समात्दै खुड्किलो उक्लिएँ ।
साइँली काकी पिँढीमै थिइन् । म उतै तानिएँ । नजिकै पुगेर काकीलाई ढोगेँ ।
“आइपुगिस्, बस् गुन्द्री तानेर ।”
अनायसै मेरा ओठ फुस्के– काकी यसपालि पनि काका नआउने हुनु भ कि क्या हो !
काकी टोलाइन् । आँखा जलमग्न देखिए ।
पोखिन नसकेका आँसुमा शब्द भरिए, “खै ठूले तीन बर्ख भ घर छोडेको । पत्तो खबर छैन । दलालले भड्खालामा हालेछ । सपना पनि नराम्रै मात्र देख्छु । जिम्दै फर्किन्छन् कि फर्किन्नन् । पोर खाल्टेको रिमेले साउदीमा भेडा चराम्नियाँ पार्ने छ भन्थ्यो ।”
काकीका आँखा आकाशतिर फर्किए । सायद आँखाको पानी नचुहियोस् भनेर छेक्दै थिइन् । छेकेर नछेकिने पानी उनले थाहै नपाई भुइँमा चुह्यो ।
टाउको छोपेको रातो मजेत्रोले आँखा पुछिन् । फेरि बग्दै गइन्– कस्तो दसा, नजाऊ भन्दा मानेनन् । विदेशाँ पैसाकै रूख हुन्छ झैँ अरेर हाम फाले । तेलको करैमा पाक्दै छन् कि आगोको भुङ्ग्रोमा पिल्सेका छन् ! दिन त यिनै छोरीसँ काराम्दा–कराम्दै जान्छ । रात बर्खझैँ हुन्छन् ।
काकीका कुराले विह्वल बनायो । पीडाले आँत भरियो । त्यहाँबाट उम्किन खोजेँ, “काकी बैनीले बाटो हेरई होली जान्छु है भोलितिर झरम्ला ।”
यो पटक गाउँ अझै शून्य भएछ । शरदको मादकता थिएन । कोइलीको मीठो गीत सुनिन्थेन न बसाइँ सरेर आउने क¥याङकुरुङ सुनिँदै थिए । साइँलो, मधु, चिना र बिर्खे पनि अरब गएछन् । मसँगैका उजेली, गितु र तिलसरीको बिहा भइसकेको थियो ।
घाम च्यानडाँडाको थाप्लोमा पुग्दासम्म ठिटाहरूको गाइँगुईं सुनिएन । गाउँमा शान्ति छायो वा सन्नाटा मैले छुट्ट्याउन सकिनँ ।
पार्वती भाउजूसँग उकालोमै जम्काभेट भयो । उनलाई देखेर म अवाक भएँ । भाउजूको परार मात्र बिहा भएको हो । वर्ष दिनमै सिउँदो खाली भएछ, सेतै धोती र चोलो लाएकी । मुहारको चमक उडेको । उड्दो चरी शिकारीको मट्याङ्ग्राले भुइँमा पछारिएजस्तै देखिन्थिन्, उनी ।
भाउजूसँग बोल्न मेरा ओठ खुलेनन् । उनी आफैँ अघि सरिन्– बाबु आउँदै हुनुहुन्छ, कस्तो गोरो हुनुभएछ परार भन्दा ।
‘अँ भाउजू । सन्चै हुनुहुन्छ ?”
मेरो प्रश्नले भाउजूको मुटुमा सुल पसेछ । छिनमै उनको अनुहारमा ग्रहण लाग्यो, “दैव लायो, बाबु । मर्न सकिएन न आँधीमा हेलिन सकियो । मेरा पापले देश फेर्नेहरूको सात पुस्ता पिरोस् । उहाँको आत्माले तिनको सर्वनाश गरोस् ।”
मुटु निचोरियो । मेरा ओठले प्रतिउत्तर फर्काएनन् । गङ्गाराम दाइ दुई वर्षअघि नेपाली सेनामा भर्ती भएका थिए । दोहोरो भिडन्तमा परेको सुनेको थिएँ । तर, छुट्टीमा आउँदा विद्रोहीले घरबाटै उठाएछन् ।
वैशाखमा जनकले फोनमा भनेको थियो, “गङ्गाराम दाइलाई छापामारले चिलाउनेको रूखमा सुली चढाएछन् । गाउँ नआनू दाइ बस्न नसकिने भको छ ।”
घाम च्यानडाँडाबाट लुक्दै थिए ।
“बाबु, दिनभोरि भैंसी भोकै छ । एक डोको घाँस लेर आम्छु है” भन्दै भाउजु पाखातिर तेर्सिइन् । मैले उनको सेतो पहिरन हेरिरहेँ । अधकल्चो मन सेतो धोती र चोलोभित्र लुकाएर उनी हाँस्न खोजिरहेकी देखिन्थिन् । म चार खुट्किलो उक्लेर बारीको बाटो तेर्सो लागेँ ।
भित्रिँदो गोधूलीमा झ्याउँकीरीका आवाजसँगै पाखामा भाउजूको गला बज्दै थियो–
त्यो मयाले जाम लाउर भन्थ्यो
दुःख पाउने करिम के मान्थ्यो …

मलाई देख्नासाथ बैनी उफ्रिँदै आई, “दाइ आउनुभयो … दाइ आउनुभयो …”
ऊ खुसीले दुवै दाइलाई बोलाउँदै थिई । मेरो झोला समातेर झुन्डिन थाली । “खै मलाई के ल्याइदिनु भ” भन्दै झोला खोतल्न थाली ।
झोला राखेर बालाई ढोगेँ । मलाई देखेर बा र भाइहरूको अनुहारमा उज्यालो भरियो । भाइहरू नजिकै आए । झोला खोलेर आँखा झिम्क्याउने घडी झिकेँ र बैनीको हातमा बाँधिदिएँ । ऊ खुसीले आँगनमा फन्फनी नाच्न थाली ।
जनक र कृष्णले पनि आँखा च्यातेर झोलातिर हेरे ।
“तिमोरलाई नि एक–एक वटा सर्ट ल्याछु । बालाई नि त्यै सर्ट हो । अरू केही ल्याइनँ ।”
भाइहरू निकै बुझ्ने भएछन्, “के चाइयो र, हजुर आउनुभयो । भइहाल्यो । भोलिको टीको दाइ आउँदैन कि भन्दै बा पिरलिनुभथ्यो । हाम्लाई नि नरमाइलो भथ्यो । हेर्नुस् त बैनी कति खुसी भएकी ।”
मेरा आँखा भरिए । वाक्य फुटेन । घरभित्र चिहाएँ । त्यहाँ शून्यता नाचेको थियो । आमा नभएको घर, घर नहुँदो रैछ । त्यहाँ मसानघाटमा झैँ सन्नाटा छाउँदो रैछ ।
बैनीको अनुहार हेरेँ– कोपिलाझैँ फक्रिन लागेका उसका गाला, छिप्पिएका दुधे ओठ कलेटी परेका थिए । कटुसका दिउलीझैँ फुटेका बोली । गज्जब छ, दैव पनि । बाँसको मुना जस्ती यसले काखैमा आमा गुमाई ।
रात चिसिँदै थियो । भाइहरूले चुलो तताउन थाले । महिला हुनु र नहुनुले घरमा कत्रो अर्थ राख्दो रैछ । चुलोमा बज्ने चुरा, हृदयका कुरा र भरिपूर्ण घर एकअर्काका पूरक रैछन् । आमाको अन्त्यपछि क्रमैसित दिदीहरूको बिहा भयो । ती चाहेर पनि फर्किन सक्थेनन् । उनीहरूलाई संस्कारको दाम्लोले डो¥याएर नफर्किने बनाइसकेको थियो ।
बैनी मलाई पिङ हाल्दिनू भन्दै पछ्याइरहेकी थिई । मैले भोलि भन्दै टारिरहेको थिएँ । ऊ मेरो बोलीमा भरोसा खोजिरहेकी थिई । भुइँभरि जूनका चम्किला छाया खेलिरहेथे । केराका पातमा शीतका थोपा टाँसिँदै थिए । प्राकृतिक आलोक ज्यादै मोहक थियो । वास्तविकता भने निरश थियो, च्यानडाँडे मसानको कोलाहलले गुमेको बाल–आवाज जस्तो ।
“रौबहादुर मास्टर पनि मरे । घरबाट बोलाएर लगेका उनलाई दोहोरो भिडन्त भन्दै सेनाले गोली हानेछ”, बा केही दिनअघिको घटना सुनाउँदै हुनुहुन्थ्यो, “आतड्ककारी भन्थे । त्यस्तो थिएन । मान्छे असल थियो । आतड्ककारीको सुराकी भन्दै फलामको सुइराले आँखा निकालेर मारे अरे । अपराधी रैछन सेना पनि ।”
अचेल मर्नु, मार्नु र मारिनु पुरानो भइसक्यो । हिजो गाउँमा कालगतिले कोही मरे जिब्रो टोक्नेहरू आज लासका खात लाग्दा पनि उदेक मान्दैनन् । कति निष्ठूर भएछन् मान्छेहरू ? रुने र छटपटिने त मर्नेका आफन्त मात्र रैछ । तिनले अचेल आँसु बगाउँछन् कि रगत छुट्टिन छोडेको छ ।
क्रान्तिका नाममा रुसमा स्टालिनले ग्यास चेम्बरमा हुलेर लाखौँ यहुदी नरसंहार गरे । रक्तपात मच्चाए । तिनको हैकम कालान्तरमा विलय भएर गयो । यता तिनकै पाइला पछ्याउनेहरूले उही सिको गरिरहेछन् । तिनको ‘श्रीपेच’ कहिलेसम्म ठाडो भइरहला ?
परिवर्तनको नाममा दन्केको आगोमा धेरै निहत्था अनुहार पोलिए । डढाइए । तातो पानीमा चोबलेर छाला काडियो । अझै कति यो सूचीमा पर्ने छन्, थाहा छैन । अपराधीहरू भने फलैँचामा उघ्य्राइरहेका छन् । निर्दोषहरू सुली चढेका छन् । न्याय–अन्यायको फैसला गर्ने न्यायाधीशहरू नासिँदै छन् ।
कहिले सेनाले गोली ठोक्छ, कहिले विद्रोहीले रेट्छ । बम र गोली चल्छन् । गाउँघर जल्छन् । कति असहाय, अशक्तहरू चपरीमुनि लुकेर सास जोगाइरहेछन् । सात–सात गाउँसम्म शून्यताको रजाइँ छ ।
बितेका वर्ष दसैँछेक गाउँमा उमड्गको मधुमास छाउँथ्यो । जम्दारका घर सबै जम्मा हुन्थे । उनी खुब मीठा गीतका टुक्का झिक्थे । प्रसाद र कोलडाँडे माइलो खरी झरुन्जेल मादल बजाउँथे । फूलमया र उजेलीहरू रातरातभर नाच्थे । चाँपको छ्याइँछ्याइँ सुनेर सिड्गो रात अनिदो हुन्थ्यो ।
केही वर्षयता पुरानो गाउँ फेरिएको छ । गाउँलेहरू कलिलो साँझमै झ्यालढोका थुनिसक्छन् । मनभित्र औलो (गजबार) लाएर ती सास रोकी–रोकी फेर्छन् । उहिले हरेकका घरमा मादल, खैँजडी र मुजुरा हुन्थे । बारुद, गोली र बमले तिनलाई विस्थापित गरे । भएका मादल र खैँजडी पनि भकारीमा पुर्न थालियो ।
विद्रोहीहरू भन्छन् अरे, “हिजोका शोषक सामन्तको संस्कार र रीतिथिति मास्दै जानुपर्छ । मेट्नुपर्छ । जोगाउनेलाई रेट्नुपर्छ ।”
घरेलु चलन मास्ने को हुन् ? हुँदा छँदाको चौतारो भत्काएर पहिरो चलाउनेहरू अबोध मनहरूलाई सपनाको झिल्को देखाएर मत्याइरहेछन् । अग्निकुण्डमा चरुझैँ होमिरहेछन् । मर्ने सामन्त हुन वा मारिने वा मराउने । कसैले प्रस्ट्याउन सकेको थिएन÷छैन ।

बिहान छिप्पिँदै थियो । टीकाको साइत नजिक सर्दै थियो । गाउँमा ड्याङ्ग बन्दुक पड्क्यो । गुरुङ गाउँमा बन्दुक पड्काएर टीकाको साइत गरिन्थ्यो । केही वर्षदेखि यो चलन हराउँदै थियो । अहिले पड्केको बन्दुक साइतको थियो कि अरू नै थाहा भएन ।
यता घडीमा एघार बज्यो । बाले टीका लाइदिनुभयो । मैले पनि भाइ–बहिनीलाई लाइदिएँ । टीका सकियो । मलाई अचानक आमाको सम्झना आयो । एकपल्ट मन हुँडलियो । मेरा आँखा बाको खाली निधारमा टाँसिए । उहाँलाई टीका लाइदिने कोही थिएन । हजुरबा बितेपछि हरेक दसैँमा बाले आमालाई र आमाले बालाई टीका लाइदिनुहुन्थ्यो ।
बाले आमालाई टीका लाइदिएपछि आमा बाका निधारमा हात पुर्याउन दहकस मान्नुहुन्थ्यो– अबलाले खसमलाई के टीको लाइदिनु ? भो… मेरा ग्रहले हजुरलाई पिर्छ । हजुरको आयु छोटिन्छ ।
आमाका कुरा भैँमा नखस्दै बाको रुद्रघन्टी चर्कै बज्थ्यो, “भो भो …धेरै जान्नी न हो । तैँलै जानइछस् चलन् ! मैले तँलाई लाइदिन हुनी तैँले नहुनी ? मेरो उमेर नि तैँलाई भयो । तँभन्दा मै चाँडै मोर्छु ।” एक मिनेट जति बाआमाबीच को चाँडै मर्नी भन्ने दौड नै हुन्थ्यो । अन्ततः आमा हार्नुहुन्थ्यो र बाको निधार राता अक्षताले भरिन्थ्यो ।
बाले भनेँ झैँ भएन, न आमाले भन्दै आएको पुग्यो । बाभन्दा आमा चाँडै अघि लाग्नुभयो । घरको सह गयो । स्नेह र ममताको गाग्री रित्तियो । त्यो दिन आकाश घोप्टिएर धर्ती पुरिएझैँ भयो । आँखाबाट छरछुन्नेको छहरो बगेको थियो । मैले पहिलो चोटि बा रोएको देखेँ ।
आमाले छोडेर गएपछि बा एक्लो हुनुभएको छ । हरेक दसैँमा बाको निधार खाली हुन्छ । उहाँको निधारमा आमाको अभाव गहिरोसँग देखिन्छ । आज बाका आँखा पनि छचल्किएका थिए । ढोकामा झुन्ड्याइएको आमाको ठूलो फोटोमा बाले टीका लाइदिनुभयो । र, निकै बेर पूर्व फर्केर टोलाइरहनुभयो ।
“हाम्लाई जेउरे रोटी पकाइदिनी कोही भएन, कान्छा । अर्को वर्ष त दिदीलाई बोलार पकाइदिन भनम्ला,” मेरा ओठबाट स्वात्त शब्द खसे ।
“जे छ त्यै खानी त हो नि । नभएको चिज खोजेर क्यार्नी ।”
बुझक्की भाइहरू देखेर म समालिएँ । बैनी भनिरहेकी थिई, “मलाई त भातै मीठो हुन्छ । आमा काँ जानुभको दाइ ?”
बैनीको प्रश्नले झस्कायो । मसँग जवाफ थिएन । भएको पनि मुखसम्म अएर घाटीतिरै फक्र्यो ।
घाम अस्ताउँदै थिए । उज्यालो घामको रङ बिस्तारै पहेँलो हुँदै थियो । च्यानडाँडाबाट सर्दै–सर्दै गएर पहेँला किरण छोपिए । गोधूलीमा कीराहरू कराउन थाले । कीराको किरिरि… मा जूनका शीतल छाया लिपिएको आभास हुन्थ्यो ।
बैनी पिङमा मच्चिँदै थिई । घरी पुतलीको पछिपछि दौडिन्थी । उसलाई पनि आमाको न्यानो खड्क्यो होला । विचरी, दुधे काखमै आमाले छोडेको कति सम्झी होला र… ।
“दाइ जूनको पनि खुट्टा हुन्छ ? ऊ हेर्नु न हिँनेको । आमा पनि त्यैँ हुनुन्छ हो ?” चोरऔँलाले थालजस्तै गोलो आकार लिँदै गरेको जून देखाउँदै बैनीले भनी । मेरा आँखा त्यतै दौडिए । झलमल्ल जूनको उज्यालो त्यसका वरिपरि मसिना ताराहरू, त्यहाँबाट एउटा शून्यताको डल्लो खसेर घरको धुरीमा थपक्क बसेझैँ लाग्यो ।

मान्छेको गुनगुनले मेरा आँखा मोडिए । चार जना ठिटा र तीन जना ठिटीहरू आँगनमा आएर ठिङ्ग उभिए । ती आर्मीको जस्तो टाटेपाटे पोसाकमा थिए । हरेकको हातमा बन्दुक थियो । कम्मरनिर दापमा घुसारेको खुकुरीको बिँड पनि देखिन्थ्यो ।
एउटा ठिटो अघि सरेर बोल्यो, “तपैँ को हो ? खै यो घरका बा कता हुनुहुन्छ ?” उसको बोली खल्लुकजस्तै टर्रो थियो, अझ भनौँ पिँडालुझैँ कोक्याउने । म पक्क परेँ । नबोली उभिइरहेँ ।
‘ठूलो छोरो हो । हिजो मात्र सहरबाट आको’ भन्दै बा नजिकै उभिनुभयो । उनीहरू बातिर फर्के । जुरुक्क मुन्टो उचालेर अर्को ठिटो बोल्न थाल्यो, “बा देश फेरिँदै छ । हाम्रा खुसीका दिन नजिक आइसके । बेवस्था परिवर्तनको उभारमा सबै लागेका छन् । प्रत्येक घरबाट एक–एक जना हाम्रो मिलिसियामा भर्ती भएका छन् । तपैंले पनि छोरो पठाएर सहयोग गर्नुप¥यो ।”
मेरो ज्यान चिसो हुँदै गयो । अनुहार पसिनाले पोतियो । बाका ओठ थर्थरी काम्न थाले । उहाँले दाहिने हातले टाउको समाउँदै भन्नुभयो, “दुई वर्षपछि हिजो मात्र आछ, बाबु । उसलाई देखेर भाइबैनी खुसी भएका छन् । केही दिनपछि जाला कि ! बरु मै छोड्न ल्याम्ला दुई–चार दिनमा ।”
बाको बोली बन्दुकधारीले कसरी बुझे कुन्नि ! नाइके जस्तो देखिनेले भन्यो– ठीक छ, उसो भए आज होस् । हामी पाँच दिनपछि आउँछौँ । फरक नपरोस् । नत्र… जाऊँ कमरेड ।
बन्दुकेहरू बारीको बाटो तेर्सो लागे । शरीर केही हलुका भयो । जून टाउकामाथि आइसकेछन् । म पिँढीमा खुट्टा झुन््याएर घोत्लिएँ– खै, खुसीका दिन आम्छन् कि दुःखको पहाड घोप्टिन्छ ? रगतको मूल फुटेर गैरीखेत भिज्नी भइसक्यो । रगतको आहालमा पौडिएर पहारिला घाम कसरी तापिएला र …
खोरबाट थुतेर बाघको मुखमा फ्याँकेको बाख्रो जिउँदै फर्किन्छ ? हजार पटक दिमागका नसा तलमाथि र दायाँबायाँ घुमाउँदा पनि मलाई यसमा पत्यार लागेन ।
‘दाइ आज म तपैंसँग सुत्छु’ भन्दै बैनी पछि लागी । उसलाई सुताएँ । आफ्नो भने निद परपर भाग्यो, छायाजस्तै । मनको टुप्पामा बादल जम्मा भए । बादलले पानी पार्न थाल्यो । अनि आँखा ओसिला भए । शिरानीमा ओसिला आँखा सुताएर म कोल्टे फर्कें । बैनी मस्त सुतेकी थिई । उसको स्वर्ग यही थियो ।

ड्याङ, ड्याङ, ड्याङ…..आवाजले म झस्केँ । झ्यालबाट ह्वास्स बारुदको गन्ध छि¥यो । फटटटटट गर्दै बन्दुक फड्किरहेको थियो । घरका बार्दली, पिँढी आँगनबाट मानवीय चित्कार गुन्जिदै थियो । हावामा मिसिएको चित्कारले जीवन मागिरहेथ्यो । थप आयु खोजिरहेको थियो– गुहार, गुहार… कोही ह्वा ह्वा रोइरहेको सुनियो ।
निकै बरेपछि बन्दुकको ध्वनि बन्द भयो । बारुद घोलिएको बतास बायुमण्डलमा मडारिएको थियो । झ्यालका चरबाट समेत भित्र छिरिरहेको थियो । कोठाभित्र बाहिरको हावा मिसिँदा सासै रोकिएला जस्तो भयो । यतिकैमा पल्लो घरमा कुखुरो बास्यो । लामो सास तानेँ– उजेलो हुन लागेछ क्या हो !
घ¥याक्क ढोका खोलेर बा भित्र पस्नुभयो ।
“ए छोरा तँ शहर गइहाल बाबु, नबस् । यो बस्ने ठाउँ होइन ।”
भाइहरू पनि आए, “दाइ जानुभो । भोलि तपैंलाई पनि लगे भने क्यार्नी हो ? हामी झन् असाह्यजस्तै हुन्छौँ ।”
आँत भतभती पोल्यो । बा, भाइहरू र बैनीलाई यसै छोडेर म कसरी जाऊँ ? म एक्लो बाँचेर के होला ? आखिर चार दिनपछि ती मिलिसिया आउँछन् । मलाई नदेख्दा तिनले पक्कै बालाई छोड्दैनन् । नभए भाइहरूलाई उठाउँछन् । बा र भाइबैनीको मनमा पीडाको आगो झोसेर मलाई शहर झर्न मन भएन । उहाँहरूलाई आँसुमा पौडिन छोडेर एक्लै पारि तर्नुमा मेरो के पुरुषार्थ ?
मलाई टोलाएको देखेर बाले अलि चर्को बोल्नुभयो, “छिटो अर भनेको । किन ढिलो ?”
“म तपैँ र भाइबैनीलाई छोडेर जान्न बा । सबै जाम । शहर झरेपछि बाँच्ने अनेक उपाय हुन्छन् । आधापेट खाम्ला । पुगेन कुनै दिन पानीले पेट भरम्ला बरु । कमसेकम सँगै भइन्छ । भाइबैनी उतै पढ्छन् । तपैँ पनि क्यै अरेर बस्नोला ।”
मेरा कुरा सुनेर बा गम खानुभयो, “यो घर–गोठ छोडेर कसरी जानी ? छोडेर हिँडेपछि फर्केर आम्न पर्दैन ।”
“बाँचिएछ भने कमाइएला, जोडिएला घर भन्ने । बन्दुकको नालअघि उभिएर यो घरको के मया अर्नु बा । कुन बेला पड्किन्छ र ज्यान चौटा–चौटा हुन्छ । हुर्हुरी बल्छ यो घर, चैतको खरबारीझैँ । के मोह पाल्नु छ र !”
मेरा कुरामा बाको मौन सहमति भयो । भाइहरू पनि तयार देखिए । जनकले बोक्न सक्ने र लैजान मिल्ने लत्ताकपडा पोको पा¥यो । कान्छोले तन्ना र पातला ओढ्ने ओछ्याउनेको कुटुरो बाँध्यो । बाले आल्माडीबाट झिकेर श्रीमत्भागवत गीता र अरू केही किताब झोलामा हाल्नुभयो । लिएर जान सक्ने त्यो भन्दा बढी केही थिएन ।
जनकले घरको मूल ढोका तान्यो । र, कपडाको झोला भि¥यो । कान्छाले ओड्ने ओछ्याउनेको कुटुरो बोक्यो । बाले अर्को झोला । मैले बैनीलाई जुरुक्क उठाएर कन्नामा बोकेँ । देबे्र काँधमा झोला भिरेँ । हामी निस्कियौँ, पुस्तौँदेखिको आफ्नो गुँड छोडेर ।
आँगनमा उभिएर गोठतिर आँखा फ्याँकेँ । पुवाँले र चम्रे गोरु उघ्र्याइरहेथे । मैले गएर दुवैको दाम्लो फुकाइदिएँ । आँगनमा उभिएर हातको घडी हेरेँ । साढे चार बज्दै थियो । अनि हामी छिट्छिटो ओरालो झरेम् ।
आँधीखोलो कहाँ पुगेर गण्डकीमा मिसिन्छ । तल्तिरै तल्तिर बगेर गण्डकी नारायणीमा मिसिएला । अनि ती समुद्र भेट्न दौडिन्छन् । नदी आफू रसाएर बगेको ठाम सम्झेर कहिले फर्किनन् । हामी त्यसरी नै ओरालिरह्यौँ । सायद हामीले हाम्रो गाउँ, ठाउँ र घर भनेर सम्झिने पनि आज अन्तिम दिन थियो कि !
चौतारामा पुग्दा भुकभुके उजेलो भइसकेको थियो । पीपलको रूखमा लामो वस्तु तुर्लुङ्गिएको देखियो । थोरै नजिक गएर मैले आँखा गाडेँ । देखेर मेरो होस् गुम भयो, दश किलोको घन टाउकोमा बजारे झैँ । पीपलको हाँगामा जम्दार बिर्खसिंह गुरुङ थिए । खुट्टामा टनटनी डोरी कसेर हाँगामा झुन्ड्याइएको उनको ज्यान उधोमुन्टो थियो । ज्यानसँगै त्यहाँ यमदूतले झुन्याएर छोडेको कालो शून्यता थियो ।
हामीलाई अहिल्यै काललै क¥याप्पै पार्छ झैँ भयो । लगलगी कामेका पिँडौँला धान्दै हामी ओरालै ओरालो झरिरह्यौँ । समयको गुलेलीले हु¥र्याएका मट्याग्रा कति टाढासम्म पुग्छन् । र, कहाँ खस्छन् थाहा थिएन । सिड्ंगा–सिड्ंगै रहन्छन् वा फुटेर टुक्रा–टुक्रा के थाहा थियो र !

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments