आमाले जे सोच्नुहुन्छ त्यो मलाई थाहा हुन्छ । सायद हामी दुईका दिमागबीचमा एउटा तार जोडिएको होला । कुन्नि कहिलेदेखि हो याद छैन, मैले आमाले अनेक कुराहरू सम्झेको, नदेखीकन भए पनि मलाई धेरै माया गरेको चाल पाइरहेको छु । कोलाहल मच्चिइरहने यो सहरको खुला आकाशमुनि आमा बसिरहेको मलाई सधैँ थाहा हुन्छ ।

आज आमाको मन अत्यन्त चञ्चल छ । आमाको मनमा केही हर्ष, केही शंका, केही डर आउने जाने गरिरहेका छन् । एउटा ठूलो ट्रकमा आमा र आमाजस्तै अन्य धेरैलाई राखेर कतै लगिँदै छ । ट्रक हल्लिएर आमालाई आनन्द आएझैँ आमाको पेट हल्लिँदा मलाई पनि अचम्मसँग आनन्दको अनुभव भइरहेको छ । आमाको चञ्चल मनलाई आफूलाई कहाँ लगिँदै छ भनेर थाहा पनि छैन । आमा घरी आफ्नो पुरानो घरमा लैजान खोज्दै छन् भनेर खुसी हुनुहुन्छ त घरी कतै बेच्न वा मार्न हिँडालेका पो हुन् कि भनेर डराइरहनुभएको छ ।

आमाको मन आफ्नो विगततिर फर्कंदै छ । आमाले एक्कासि आफ्नो पुरानो घर सम्झेर रुन थाल्नुभयो । म चनाखो भएर आमाको मनलाई नियालिरहेको छु । मनमा आउने हरेक विचारहरूलाई मनन गरिरहेको छु । उहाँलाई पुरानो घरका हरेक वस्तु, हरेक घटना एक एक गर्दै याद आइरहेको छ । उहाँले आज आफ्नो सम्पूर्ण जीवन सम्झन प्रारम्भ गर्नुभयो । पक्कै पनि म उहीँ पुरानो घर जाँदै छु भन्ने उहाँलाई लागिरहेको छ किनकि अब उहाँसग त्यो चीज छ जुन चीज नहुँदा घरबाट निकालिएको थियो । यो आमाको पुनरागमनको समय हो भन्ने मलाई विश्वास भएको छ ।

आजभन्दा चौध वर्षअगाडि सुर्खेत जिल्लाको एउटा गाउँमा मेरी आमाको जन्म भएको रहेछ । आमा सम्झदै प्रफुल्ल बन्नुभएको छ । उहाँ जन्मेर दुई तीन महिनाको हुँदा घरका सबै परिवारले अपार माया गर्दारहेछन् । उहाँको मालिक गाउँका मुखिया रहेछन् । ती मुखियाका छोराछोरी र मुखियाका नोकरका छोराछोरीहरू सबैले मेरी आमालाई खुब मन पराउँदा रहेछन् । मेरी आमाले आफ्नी आमाको दूध थोरै मात्र खान पाउनुहुँदो रहेछ । अरू सबै नोकरहरूले दुहेर मालिकको भण्डारमा लैजाँदा रहेछन् । हो आमाको बचपनको दुःखद क्षण भनेको यत्ति एउटा रहेछ तर उनीहरूले अरू बेला गर्ने माया र मीठामीठा खानेकुराको व्यवस्थाले यो दुःख बिर्साइदिँदो रहेछ ।

मुखियाको गोठमा आमाजस्तै छ, सातवटा अरू बाछाबाछी पनि रहेछन् । दशवटा आमाकी आमाको उमेरका गाईहरू पनि रहेछन् । मेरी आमाको बालापन तिनै गोठ,पाखा र पखेरामा बित्दै गएछ । आमाले बिहान थोरै दूध खान अनि दिउसभर आमासँग चर्न जान पाउनुहुँदो रहेछ । गोठालाहरू टाढा भएको बेला हजुरआमाले आमालाई दूध खुवाइहाल्नु हुँदोरहेछ । सधैँ यस्तै गर्दा कहिलेकाहीँ गोठालाहरूले देखेर हजुरआमालाई लौरैलौराले हान्दारहेछन् । आफ्नी आमालाई सम्झिएर मेरी आमाका दुबै आँखाबाट तप्प तप्प आँसु खसे । लौरो खान परे पनि लुकिलुकी दूध खुवाउने गरेको पनि सम्झिनुभयो । पुराना दिनहरूलाई सम्झेर आमाले आफ्नो घाउ कोट्याउँदै जानुभएको छ । पक्कै हामी हजुरआमाकै घरमा जाँदै छौँ भन्ने आमाको मनमा धेरै विश्वास छ, आफ्नी आमालाई भेट्न र मलाई देखाएर मालिकको पनि जित्न आमा आतुर हुनुहुन्छ ।

ट्रकमा  धेरै  गाईगोरुहरू  छन्  । अलिकति अटसमटस भएकाले गर्मी अनुभव भइरहेको छ । आमा भने लगातार विगतका दिनहरू सम्झिरहनुभएको छ । घर परको जङ्गलमा आमासँग चरेको, घरी त्यही जङ्गलमा आफ्ना छोराछोरीसगै चरेको, घरी घरमा माया पाएको त घरी वीरेन्द्रनगरको सडकमा  छोडिएपछि  पाएको  दुःख सम्झिरहनुभएको छ । एउटा आशा र खुसीको सञ्चार भने मेरी आमाको मनसँगै मेरो मनमा पनि भइरहेको छ । आमा फेरि सम्झन थाल्नुभयो, दिन बित्दै जाँदा आमा तीन वर्षकी हुँदा उहाँलाई धेरै स्याहार मिलेको रहेछ । आमाको सलक्कको शरीरमा बैँस पनि चढ्दै गएको रहेछ । पल्लो गोठका बहरहरू एकटकले उहाँलाई हेर्दारहेछन् भने आमा पनि लजाउनुहुँदो रहेछ । मालिकका छोराहरूले र नोकरहरूका छोराछोरीहरूले मिलेर चराउने ठाउँमा पनि ती बहरहरू र आमाकै उमेरका गाईहरू एकै ठाउँमा छोडिदिँदा रहेछन् । त्यस्तैमा एकदिन एउटा बहरले अरू सबै बहरहरूलाई लडेर धपाएर आमा  भएको  ठाउँमा  एक्लै  आएर सुमसुम्याउन थालेछ । आमा पनि समर्पित हुनुभएछ र त्यही दिनदेखि आमा कसैको आमा बन्ने युद्धमा होमिनुभएको रहेछ ।

गर्भधारण गरेपछि त झन् घरमा सबैको माया बढ्न थालेछ । आमालाई सधैँ राम्रो राम्रो कुडो र राम्रा कलिला घासहरू मिल्दा रहेछन् । समय बित्दै जादा दस महिनापछि आमाले एउटा बाछी पाउनुभएछ । पूर्ण रूपमा आमा बनिसकेकी मेरी आमा आफ्नो सारा दूध आफ्नै बाछीलाई दिन चाहनुहुँदो रहेछ तर मान्छेहरूले आफ्नो दूध पगार्न मात्र बाछीलाई दिने र दूध आउनासाथ बाछीलाई बाँधेर दुहुन थाल्दा रहेछन् यो देख्दा र भोग्दा आमालाई धेरै नै नरमाइलो लाग्दो रहेछ । आमाकी आमाको जीवनमा जे घट्थ्यो त्यो बिस्तारै आमाको जीवनमा पनि घट्न थालेछ । उहाले पनि लुकाईलुकाई बाछीलाई दूध दिन थाल्नुभएछ । यसरी नै आमा बानी पर्दै जानुभएछ । यस्तै क्रमले सात पटकसम्म बाछाबाछी पाउँदै हुर्काउँदै गर्नुभएछ । उहाँको जिन्दगी यही कार्यमा अभ्यस्त हुँदै गएछ । उहालाई आफ्नो जीवन यसै गोठमा यिनै नातेदारहरूसग यिनै मालिकहरूसग बित्नेछ भन्नेमा पूर्ण विश्वास रहेछ ।

आमाले फेरि आफ्नो जिन्दगीको अर्को रमाइलो पाटो सम्झन थाल्नुभयो । हरेक वर्ष लक्ष्मीपूजाको दिनमा मालिकहरू, नोकरहरू  तथा  छिमेकीहरू  आएर आमाहरूलाई पूजा गर्दा रहेछन् । घाँटीमा माला लगाइदिएर मीठामीठा खानेकुराहरू खान दिँदारहेछन् । हे धनकी देवी ! हे लच्छिनकी देवी ! हामीलाई धनधान्यले भरिदेऊ भनेर ढोग्दा रहेछन् । आमाले मलाई त्यही घरमा पुगेर जन्माउने इच्छा गर्नुभयो, मेरो नदेखेको सानो शरीरमा सबैले माला, अबीर लगाइदिएको, मिठाईहरू खुवाएको कल्पना गर्नुभयो । म आनन्दविभोर भएँ । आमाले विगत दुई वर्षको लक्ष्मीपूजा भने सम्झन चाहनुभएन किनकि विगतमा दुई वर्षका लक्ष्मीपूजामा उहाँको पूजा भएको रहेनछ ।

आमा फेरि पुराना कुराहरू सम्झन थाल्नुभयो । आफ्नो छैटौँ बाछोलाई सँगै लिएर जङ्गल चर्न जानुहुँदो रहेछ । त्यस्तैमा एकदिन एउटा रसिलो नयाँ घाँस देखेर उहाँले खानुभएछ । त्यो घाँस खाएपछि आमाको शरीरले काम गर्न छोड्दा उहाँलाई चक्कर आएछ र ढल्नुभएछ । धेरै समयपछि नोकरहरू आएर उहालाई चारैतिरबाट समातेर घर लगेछन् । आमाको उपचार भएर निको पनि भएछ । समय बित्दै जाँदा आमालाई सन्चो भए पनि त्यो विषालु घाँसले आमाको पाठेघरमा चोट पारेको रहेछ । त्यसैले आमाले गर्भधारण गर्न सक्नुभएनछ । एक महिना, दुई महिना, छ महिना, एक वर्षसम्म पनि गर्भधारण भएनछ । मालिकले के के औषधी खुवाएछन्, बहरहरूकै गोठमा लगेर बाँधिदिएछन् तर कहिल्यै गर्भ बसेनछ । बिस्तारै घरका मालिक, नोकर सबैले उहाँलाई घृणा गर्न थालेछन् । जङ्गलमा चराएर फर्कने बेला अरू सबैलाई लिएर आमालाई मात्र छोडेर फर्कदा रहेछन् । आमा एक्लै पछाडिपछाडि दौडँदै आउनुहुँदो रहेछ । आफूलाई अहिलेका दिनसम्म दुहेर दूध बेचेर, आफ्ना बाछाबाछी बेचेर र जोतेर धन कमाउँदा कमाउँदै पनि आफूले दूध दिन सकिन भनेर हेला गर्ने मान्छे देखेर आमाको मन भासिएछ ।

त्यस्तैमा  एक  साँझ  घरका नोकरहरूले घरबाट पाँच घण्टा टाढा पर्ने डरलाग्दो जङ्गलमा आमालाई छोडेर थाहै नदिईकन आफूहरू फर्किएछन् । वरिपरि कोही  नदेखेपछि  आमा  डराएर  रुँदै बस्नुभएछ । त्यो जङ्गलमा सधैँजसो बाघहरू आइरहन्थे । आमा डरले कापेर आफ्ना सन्ततिहरू सम्झेर रुँदै भक्कानिनु भएछ । अँध्यारोमा कतै हिँड्न पनि सक्नु–भएनछ र भगवान्को भरोसा गरेर दुईवटा ढुङ्गाको बीचमा लुकेर रात काट्नुभएछ । भोलिपल्ट  धर्तीमा  उज्यालोका  कण देखिनासाथ आमा दौडदै घरमा जानुभएछ । घरमा जाँदा उहाँका सन्तानहरू खुसी भए पनि घरका मालिक र नोकरहरू भने रिसले चूर भएका रहेछन् । उनीहरूले रातभरिमा पनि बाघले खाएनछ भन्दै आमालाई लौरैलौराले हानेर लखेटेछन् तर पनि आमा बारम्बार फर्केर त्यहीँ आउनुहुँदो रहेछ । बिचरी जान पनि कहाँ नै सक्नुहुन्थ्यो र ?

आमालाई बाध्यताबश त्यही गोठमा राखिएको रहेछ । समय बित्दै जादा एकदिन गोठअगाडि एउटा ट्रक आएछ । त्यसमा अरू पनि गाईगोरुहरू रहेछन् । ती गोरुहरू बूढाजस्ता र गाईहरू थाराजस्ता देखिन्थे । आमालाई पनि त्यही ट्रकमा हालिएछ । साँझको  समयमा  त्यो  ट्रक  गुड्दै वीरेन्द्रनगरतिर गएछ । मध्यरात्रिको समयमा बजारको एउटा छेउमा सबै गाईगोरुहरूलाई ट्रकबाट झारिएछ । झार्नासाथ ट्रक आएकै दिशातिर द्रूत गतिमा गुड्दै गएछ । सबै गाईगोरूहरू त्यही बाटोमा कहिले यता कहिले उता घुम्न थालेछन् । बाटोमा देख्नेहरूले पिट्थे, गाली गर्थे, कसैलाई सवारीहरूले हानेर मार्थे, कसैलाई घाइते बनाउथे । उन्मत्त बहरहरूले पनि गाईहरूलाई बलात्कार गर्दै हिँड्थे । अन्त कतैबाट पनि गाईगोरुहरू त्यसरी नै मध्यरातमा ल्याएर छोडिँदो रहेछ । कतैबाट जवान बहरहरू पनि ल्याएर छोडिँदो रहेछ । ती बहरहरूले मान्छेलाई हानेको देख्दा सबै पशुसमुदाय आनन्दविभोर हुन्थे । ती बहरहरू गाईहरूलाई पनि दुःख दिन्थे । मेरी आमालाई पनि धेरैपटक तिनीहरूबाट बलात्कृत हुनुपरेको रहेछ । आमाले त्यो सडकलाई र त्यो बजारलाई कहिल्यै आफ्नो सोच्न सक्नुभएनछ ।आफू जन्मेको, खेलेको र हुर्केको ठाउँ मात्र आफ्नै घर हुँदोरहेछ चाहे मान्छेहरूका लागि होस् चाहे पशुका लागि । आमा पुरानै घर जाने बाटो खोज्नुहुँदो रहेछ तर कतै चिन्नुहुँदो रहेनछ । आमा विवश भएर अरू अनाथहरूसगै त्यो कङ्क्रिटको जङ्गलमा भौँतारिन थाल्नुभएछ ।

केही समयपछि अचम्मको अनुभव आमालाई हुन थालेछ कि उहाँको चोट लागेको पाठेघर त यत्तिकै सन्चो पो भएको रहेछ । यसै समयबाट मलाई पनि आफ्नो अस्तित्वको बोध हुन थालेको थियो । उन्मत्त बहरहरूले बलात्कार गर्दा म सुटुक्क आमाको पेटमा पसेको पो रहेछु ।

म गर्भमा छु भन्ने थाहा पाएपछि आमाको मनमा हर्षको बाढी आउन थाल्यो तर त्यो हर्ष पनि एकैछिनमा आँसुमा बदलिन्थ्यो । आमालाई त्यो समयमा पुरानो घरमा जान र आफ्नो पेट र कचौडो देखाएर फेरि उही पुरानो माया पाउन मन थियो । यी सारा कुराहरू आमाले पनि सम्झिँदै हुनुहुन्छ र मैले पनि सम्झिरहेको छु । ऊ बेलामा मैले आमाको भावना सबै बुझ्न सकेको थिइनँ तर आज आमाको विगतको ज्ञान भएपछि सारा कुराहरूको अर्थ मलाई थाहा भइरहेको छ । आमा त्यो बेला घरमा जान चाहनुहुन्थ्यो तर उहाँसग त्यो सामथ्र्य थिएन ।

आमाले सम्झँदै जानुभयो । सडकमा भएका अरू गाईगोरुका पीडाहरू पनि त्यस्तै हुन्थे । आमासँग सबैले आआफ्ना पीडा साट्थे । कसैले दूध दिन नसकेर, कसैले बिरामी भएर, कसैले जोत्न नसकेर त कसैले बूढो भएर आआफ्ना घर छोड्नुपरेको रहेछ । सबैका कुरामा मानिसहरूप्रति तीव्र घृणा हुन्थ्यो । कसैले त मान्छे देखे सीधै सिङले हानिदिँदा पनि रहेछन् । त्यसरी मान्छेले उपयोग गरेर फ्याँकेका ती पशुहरूले शक्तिशाली दानबको रूपमा मान्छेलाई मान्दारहेछन् ।

आज साँझको समय पनि आमाले सम्झन थाल्नुभयो । आज पनि पहिलेजस्तै ट्रकमा आमालगायत सबैलाई एकाएक कोच्न थालियो र ट्रक भराएर डेढ वर्षअघि जताबाट ल्याइएको थियो त्यतै हिँडाल्न थालियो ।

यसरी आमाले सबै कुरा सम्झनुभयो, मैले सबै थाहा पाए । आमाले आफ्ना गहभरि आँसु भरिएको अनुभव गर्नुभयो । मलाई आफ्नै आमाको जीवन सम्झेर रुन मन लाग्यो । आमाको मनमा अब छिटै पुरानो घरमा पुग्ने आशाले खुसी पनि दिइरहेको थियो । मलाई भने मेरी आमालाई दुःख दिने ती मान्छेहरूलाई हेर्ने चाहना भइरहेको थियो । मैले आमाले सोचेको थाहा पाउँछु तर आमाले मैले सोचेको कुरा थाहा पाउनुहुन्न रहेछ । नत्र थाहा हुन्थ्यो भने त मैले सोचेका यावत् कुराहरू उहाँलाई थाहा भएर उहाँको विचार परिवर्तन हुनुपथ्र्यो ।

हाम्रो यात्रा चलिरहेको थियो । आमाले एक्कासि ट्रक रोकेको थाहा पाउनुभयो । ड्राइभर र अरू दुईवटा केटा आएर ट्रकको पछाडि ढाला खोलेर हेरे । त्यो ट्रकको पछाडि अर्को ट्रकमा पनि त्यसरी नै गाईगोरु ल्याइएको आमाले देख्नुभयो । अब एकैछिनमा त्यहाँ पुगिन्छ र यिनीहरूलाई छोडेर राती नै फर्कनुपर्छ भनेर तिनीहरूले भन्दै थिए । आमा त्यो घर नजिकै आएको रहेछ भनेर प्रसन्न हुनुभयो । त्यो ट्रक फेरि अघि बढ्न थाल्यो र केही समय गुडिसकेपछि बाटोको छेउमा रोकियो । आमालाई घरमा आइसकेझै लागिरहेको थियो । पहिल्यैजस्तै ती केटाहरू आएर ट्रकको ढाला खोलेर हेरे । अन्धकारमा तिनीहरूका मोबाइलका प्रकाश मात्र देखिएका थिए । ट्रकका बत्तीहरू पनि बन्द रहेछन् । एउटा केटोले फोनमा बोल्दै भन्यो सर हामी तपाईंले भनेकै ठाउँमा ल्याएका छौ अब छोडिदिएर आउँछौ भन्यो र फोन राख्यो । आमाले सबै सुनिरहनुभएको थियो ।

त्यसको एकैछिनपछि ट्रकको पछिल्लो भाग अलिक ओरालो बनाउन थालियो । सबै गाईगोरुहरूले घचक्क हुँदा झस्केर झर्ने ठाउँ आएछ भनेर सोचेको आमाले अनुभव गर्नुभयो । ट्रकको पछिल्लो भाग झन्झन् ओरालो हुँदै गएपछि पक्कै गोठ यतै होला भनेर आमा पनि चिप्लिँदै झर्न लाग्नुभयो । अरूहरू पनि चिप्लिँदै झर्न लागे ।

ट्रकको ढालाबाट खस्नासाथ भुइँमा टेक्न  भनेर  आमाले  बलिया  खुट्टा बनाउनुभएको थियो तर टेक्नलाई त्यहाँ भुइँ नै रहेनछ । आमाको मनमा चिसो भयो । आमा डराउन थाल्नुभयो अरू गाईगोरूहरू पनि डराएर कराइरहेका थिए । ट्रकबाट खसिसकेपछि धेरै बेरसम्म हावामा रहेर छाँगाको तल आमा पछारिनुभयो र ड्वाँ…. गरेर संसार नै थर्किने गरेर कराउनुभयो । मलाई पनि चारैतिरबाट अठ्याएको जस्तो गाह्रो भयो । आमाका लुसा कानले वरिपरि ड्वाँ ड्वाँ गर्दै आमा हो ! बाबा हो ! भन्दै कराइरहेका गाईगोरुहरूका आवाजहरू सुन्नुभयो । मेरो मन अमिलो भयो । त्यहाँबाट आमा फेरि खस्नुभयो । अगिल्ला खुट्टा गएर ढुङ्गामा झ्वाम्म परे । आमाले ह्वाल्ल रगत आएको अनुभव गर्न नपाउँदै अर्को चोटि पल्टनुभयो र मुख गएर दुई ढुङ्गाको कोप्चेरोमा अड्किएको थाहा पाउनुभयो । आफ्नो रगत र आँसुको पोखरीमा आफै परेको सोच्दा सोच्दै आमाको शरीर तनक्क तन्कियो ।

खै, आमाले सम्झेको कुरा पहिलेजस्तो अहिले मैले किन सम्झिन सकिनँ ? किन पहिलेजस्तो आमाले गरेको माया मलाई अनुभव भएको छैन ? लौ न ! यहाँ किन यी वरिपरिका आन्द्राहरू फुल्दै आएका ? लौ न ! मलाई अठ्याउन लागे, यो के भएको ? आमा खै ? हावा पनि कम हुन थाल्यो … लौ न के भयो ? …ऐया मलाई कति दुःख भएको ? लौ न खै हावा आउन छोड्यो त !! ऐया !! ऐया !! उफ् ! उफ् ! हा !…हा ! … हा ! …ब्बा !!!

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments