सहर यतिबेला गाईजात्रा पर्वले तातेको देखिन्थ्यो । सहरका चोक, गल्ली बजार जताततै गाईका मुकुण्डाहरूको प्रशस्त बिक्री भइरहेको थियो । सहरका छाडा गाईहरू भने आफ्नै अनुहारको मखुन्डोहरू किनबेच गर्ने मान्छेहको भीड देखेर झनै अचम्मित थिए । गाना बजाना सहित आफ्नै अनुहारको मखुन्डो लगाएर जात्रा गरिरहेका देख्दा सहरको छाडा गाईहरूको स्वयं रमिते दर्शक बनेका थिए । अघिपछि भोक तिर्खा र रोगसँग सडकमा छटपटिरहेका गाईहरूलाई बेवास्ता गर्ने यी सर्वश्रेष्ठ मानव जातिले गाईजात्रालाई एउटा पर्व र संस्कृति जगेर्नाको रूपमा मानेका देख्दा ती छाडा गाईरुको मन नराम्रोसँग दुख्यो ।

मान्छेहरूले गाईजात्रालाई संस्कृतिको रूपमा जगेर्ना गरेजस्तै हाम्रो पनि रक्षा गरे वेशै हुन्थ्यो नि, यस्तै भावहरू ती छाडा गाईहरूको मानसपटलमा सलबलाइरहेको थियो । गाना बजानासहित गाईजात्रा गरिरहेका समूहमा कोही गाई बनेर गलामा दाम्लो बाधेका देखिन्थे, कसैले गाईलाई घाँस दिइरहेका देखिन्थे । ती मान्छेका हुल सबैले गाईका मखुन्डोले आफ्नो अनुहार ढाक्दा त्यहाँ साँच्चै जात्रा गाईहरूकै झैँ देखिन्थ्यो । मान्छेले गरेको यस्तो गाईजात्राका दर्शक मान्छेहरूकै ठूलो जमात मात्र नभएर स्वयं छाडा गाईहरू भुस्याह कुकुर सबै थिए । जनावरदेखि मान्छेसम्म दर्शक बनेका गाईजात्राको माहोलले सहरको रौनक गाईमय बनेको थियो ।

यो सबै दृश्यलाई एउटा कुनाबाट नियाली रहेका सहरका ती छाडा गाईहरूको समूहले एक आपसमा कुरा गर्दै सहरका गाईजात्राका पात्रहरूको टीकाटिप्पणी गर्न थाले । ती गाईहरूको समूहबाट एउटी बूढी काली गाईले भनिन्– मान्छेहरू के गर्दै छन् आज हाम्रा मखुन्डो भिरेर, हैन यिनीहरू हाम्रो जात्रा गर्दै छन् कि आफ्नै जात्रा ? यिनीहरूकै स्वार्थीपनले गर्दा आज खुल्ला सडकमा हाम्रा साथीहरूले कति ठूलो सास्ती भोग्नु परेको छ ।

चर्को गाना बजाना सहितको टोली अघि अघि बढ्दै थियो भने त्यस टोलीलाई हेर्ने दर्शकको भीड पनि निकै खचाखच थियो । यतिसम्म कि घरको झ्याल र छतमा समेत बसेर मान्छेहरू यस जात्राका पारखी दर्शक बनेका देखिन्थे । गाईकै समूहको कालोमा सेता–सेता धब्बा भएको अर्को गाईले आफ्नो एउटा गोडा खोच्याउँदै बाङ्गो पारेर भन्न थालिन्— यिनीहरू संस्कृति बचाउ भन्दै हाम्रै मखुन्डो भिरेर देखावटी जात्रा गर्छन् । भित्री रूपमा भने हाम्रै शोषण गरिरहेका छन् । वास्तवमा यिनीहरूले हामीहरूप्रति गरेको पतीत व्यवहार देख्दा त लाग्छ यिनीहरू हाम्रो होइन आफ्नै जात्रा गरिरहेका छन् । फेरि, आँखामा वर्षातको सुरुवात गर्दै उनले भनिन्– साथीहरू हो हेर्नुस् त त्यो जात्राको बीचमा गाईको मखुन्डो लगाएको मान्छेलाई गलामा दाम्लो बाँधेर डो¥याउने मान्छे छ नि त्यो मेरो स्वार्थी मालिक हो । त्यसले बिहान चाँडै मेरो दूध दुहुन्थ्यो अनि सडकमा ल्याएर छाड्थ्यो । माघ महिनाको त्यो दिन पनि मलाई त्यसले यसरीनै सडकमा ल्याएर छाड्यो । हुस्सुले वरपर केही नदेख्ने भएको त्यो दिन चिसोले मेरो शरीर काँप्न थालेका थिए । घर फर्केर जाऊ भने मालिकले भोकै गोठमा बाँधेर राख्छ भन्ने डरले म जाडो सहेर भए पनि बिस्तारै घाँसको खोजीमा हिँड्दै थिए । त्यसैबेला एउटा गाडीले मेरो पछाडी गोडामा नराम्रोसँग ठक्कर दियो । बाक्लो हुस्सुको कारण मान्छे र गाडी त देख्न सकिन । म पीडाले सडकको किनारामा पछारिए । उपचार गर्नुपर्ला भनेर त्यो स्वार्थी मालिकले मलाई नालीको कीराजस्तो उपेक्षा गरेर छाडिदियो । विचरा ! बटुवाहरूको हृदयमा मप्रति दयाको बिऊ रोपिएछ क्यारे उनीहरूले औषधि लगाइदिएर धन्न म यतिको भए । ती बटुवाहरूलाई देख्दा कुनै कुनै मान्छेहरूसँग त दयाको खानी हुँदोरैछ भन्ने लाग्यो । पछि म जस्तै मालिकबाट लखेटिएका साथीहरूलाई भेटे । उनका आँखाबाट अविरल वर्षात भइरहेको थियो । उनको कारुणिक अतीतले एकपल्ट सबैको आँखा रसाएर भुइँमा बस्न थाले ।

पीडा ओकल्दा मन हलुङ्गो हुन्छ भन्ने ठानेर त्यस समूहका अर्को कैली गाईले पनि आफ्नो वेदना पोख्न थालिन् । साथीहरू त्यो गाईजात्रामा सबैलाई टीका लगाएर दक्षिणा दिने चाहिँ मेरो निर्दयी मालिक हो । त्यो मेरो निर्दयी मालिकले म ब्याउने बित्तिकै मेरो छोरीलाई दूध चुसाउन, मायाले सुमसुम्याउन नदिई मेरो सन्तानप्रतिको उत्तरदायित्व खोस्यो । एक महिना पनि नपुग्दै मेरो कलिली छोरीलाई यसले वनमा लगेर छाडिदियो । विचरी ! मेरी कलिली छोरीलाई जङ्गली जनावरले खाइदियो कि वा कतै लडेर मरी होली ? आजसम्म अत्तोपत्तो छैन ? त्यसैको पीरले म दिनप्रति दिन गल्दै गए । कैली गाईले आफ्नो वेदना पोख्दा सबैका आँखाबाट पनि भेल त कहाँ नबगेका हुन र ?

सुक्क, सुक्क गर्दै कैलीले रुँदै पुन आफ्ना विगतका तीता क्षण भन्न थालिन्– त्यो मालिक यतिसम्म पापी छ कि, यसले त हजार वर्ष तपस्या गरे पनि यसको पाप कमी हुँदैन होला । सेती भन्ने मेरो असाध्यै मिल्ने साथी थिई । मालिकको गोठालाले सेती र मलाई सँगै चराउन लैजान्थ्यो । एकदिन सेती चर्ने क्रममा चिप्लिएर भीरबाट लडिन्, उनी नराम्रोसँग घाइते थिइन तर श्वास भने बन्द भएका थिएनन् । सेतीका आँखाले टुलुटुलु मलाई हेर्दै रोइरहेका थिए । सेतीको पीडाले मेरा आँखाबाट पनि मुल फुट्न थालेको थियो तर म सेतीको लागि केही गर्न सक्दैनथे केवल आँसु झार्नु बाहेक । गोठालाले मालिकलाई बोलायो । उपचार गर्दा धेरै पैसा खर्च हुने भएकाले लोभलभ गर्दा गोठाला र मालिक मिलेर जिउँदै खाल्डोमा पुरे सेतीलाई । बिचरी ! सेती न त चिच्याएर प्रतिकार गर्न सक्थी न त शरीर चलाउन सक्ने सामथ्र्य नै थियो उनमा । सेतीले केवल आँसु झारिरहिन् । ढुङ्गा जस्तो मन भएको मालिकको हृदयले सेती जस्तो घाइते पशुको आँसुले के पगाल्न सक्थ्यो र ? सेतीले खाडलमा पुरिएर घाइते शरीरको पीडा सहेर कसरी प्राण त्याग गरी होलिन् ?

मेरी प्यारी साथी सेती माथिको अत्याचार सम्झेर मलाई त्यस घरमा बस्न पनि डर लाग्न थाल्यो । मनभरि त्रास भरिएर होला मेरो शरीर कमजोर हुँदै गएपछि मबाट दूध पनि कमी हुन थाल्यो । त्यसपछि निर्दयी मालिकलाई के निहुँ चाहियो र म माथि पनि अत्याचारको घण्टी बज्न थाल्यो । एकदिन राती मलाई त्यो निर्दयीले घाँटीमा लामो डोरीले बाँधेर ट्रकमा हाल्यो । ट्रकमा म जस्तै धेरै गाई, बाच्छा, बाच्छीहरू थिए । त्यो निर्दयीले ट्रक ड्राइभर र एउटा मोटो मान्छेसँग के सल्लाह ग¥यो कुन्नि ? त्यो मोटो मान्छेले नोटको बिटो त्यसको हातमा राखिदिएको देखेको थिएँ । ट्रकमा हामी सबै जना रुन थाल्यौ तर हाम्रो आँसुको मूल्य बुझ्ने को नै थियो र त्यहाँ ? त्यो रात हामीलाई ट्रकमा राखेर जङ्गलको बाटो हुँदै कहाँ लगे थाहा छैन तर उज्यालो नहुँदै हामीलाई एउटा ठूलो जस्ताको छानो हालेको घर जस्तोमा पु¥याइयो । त्यसपछि मैले मेरै आँखाले हाम्रा साथीहरूको घाँटी रेटेको देखे । जसोतसो हामी केही साथीहरू त्यहाँबाट भाग्न सफल भयौ । सुनेकी छु ती सबै ट्रकमा राखेका हाम्रा साथीहरू बिफ बनेर बजारमा आउँछन् रे, विदेशी पाहुना र ठूलाबडाका भान्छाका मिष्ठान्न भोजन बन्छन् रे । कैली गाइको यथार्थता सुनेर सबै डाको छोडेर रुन थाले ।

रुँदारुँदै निधारमा सेतो धब्बा भएको अर्को काली गाईले पनि भनिन् साथी हरू हामी जहाँबाट एक आपसमा भेट हुन पुगे पनि हामी सबैको वेदना एउटै हो । मेरो पनि आफ्नै छुट्टै कथा छ । हेर न मेरो जिउँमा घाउका खतहरू उनले साथीहरूलाई आफ्नो शरीर देखाउँदै भनिन् । उनले पनि आफ्ना अतीतलाई आोकल्न थालिन्– साथीहरू म बूढी भएपछि कैलीले भनेजस्तै मलाई पनि एकदिन मालिकले एकजना अपरिचित मान्छेलाई पैसा दिएर ट्रकमा हाली भीरबाट खसाल्न लगे । संयोगवश खसाल्ने क्रममा भागेर बाँच्न त सफल भएँ त्यसपछि कता जानु यही सडकमा अलपत्र परे ।

राजधानीमा सडक विस्तार गर्ने क्रम चलिरहेको थियो । ती सडक विस्तार अभियानमा मेसिनझैँ खटिइरहेका देखिन्थे छिमेकी  देशका  गोरे  मङ्गोलियन अनुहारहरू । म पनि त्यही फराकिलो पारेको सडकको एक किनारामा भोकले लखतरान भएर सुतिराखेको थिए । मेरो नजिकै दुईवटा भुस्याहा कुकुर पनि मस्त निदाइरहेका थिए । ती मङ्गोलियन अनुहारका कामदारहरूले उनीहरूको काममा मैले सुतेर बाधा पु¥याए भनेर सडक पिच गर्ने तातो अलकत्रा मेरो जिउमा खन्याइदिए छन् । ती दुईवटा कुकुरहरूलाई पनि त्यस्तै गरेछन् । तातो अलकत्रा जिउँमा परेपछि कुकुरहरू चिच्याउँदै छिटो भागिहाले म त छिटो भाग्न पनि सकिन जीउमा अलकत्रा टाँसिएर घाउ नै घाउ भएर शरीर पाक्न थाल्यो । खोइ पछि सडकका छाडा चौपायाहरू उद्धार गर्ने एउटा संस्थाले उद्धार गरेपछि बल्ल मैले औषधि मुलो पाएर नयाँ जीवन पाएँ । पछि त्यो संस्था पनि विदेशबाट डोनेसन आउन छाडेपछि बन्द भयो फेरि म अलपत्र परेर सडकमै आइपुगँे ।

आफ्ना पीडा सबै ओकले पछि उनका पनि मनका पीडा जति आँसु बनेर भुइमा पोखियो । एकक्षण भए पनि उनको मन पीडा सकिएर सिमलको भुवा जस्तै हलुङगो भयो । उनले सुक्क, सुक्क गर्दै भन्न थालिन्–साथीहरू मान्छेहरूले हाम्रा छोराहरूलाई पनि भोक भोकै खेत जोत्न लगाउँछन् । काम दिन नसक्ने भएपछि कि त सडकमा छाड्छन्, कि त बिफ बनाउँछन् । यसरी हाम्रा सन्तानहरूले पनि निकै दुःख पाइरहेका छन् । यिनै हामीलाई यातना दिनेहरू आज गाईजात्रा  गरेर  रमाइरहेका  छन्  । हामीहरूलाई बिफ बनाएर बेचेका मोटा रकमको थोरै अंश दक्षिणा दिएर पुण्य काम गरेको अभिनय गर्छन मान्छेहरू, हैन कति स्वार्थी भएका यी मान्छेहरू हँ ?

भन्ने बेला मान्छेहरू हामीलाई माता भन्छन, हाम्रो मलमुत्र पनि पवित्र हुन्छन् भन्छन् तर व्यवहारमा यिनै म मान्छेहरू हाम्रा पीडक बनेका छन् । हाम्रो नाउँको जात्रामा, हाम्रै मखुन्डो भिरेर मान्छेहरूले हाम्रो होइन आफ्नै जात्रा गरिरहेकाझै लाग्छ । यो गाईजात्रा हो कि स्वार्थको घैलाले भरिपूर्ण मान्छेहरूको मान्छे जात्रा ? वास्तवमै हामीमाथि यति धेरै शोषण छ भने हाम्रो नाउँको जात्राको के अर्थ छ र ? सबै गाईहरूले एकैसाथ भने ।

त्यतिबेलासम्म गाईजात्रा गर्नेहरूको भीड निकै अगाडि पुगिसकेको थियो । विगतको गहिरो पीडालाई भुल्न नसकेका गाईहरूले ती जात्राका भीडहरूलाई हेर्दै भन्न थाले हाम्रो नाउँको जात्राको अभिनय गरेर सँस्कृति बचाऊ अभियान सफल पार्ने प्रयास भन्दा हामीलाई बचाउने अभियान चलाऊ । आफ्नै जात्रामा रमाइरहेका भीडहरूले ती गाईहरूको आवाज तर्फ ध्यान नदिई अघि बढिरहे, गाईहरू आफ्नो अस्तित्व रक्षाका लागि आह्वान गर्दै चिच्याइरहे ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments