बाथरुमबाट निस्केर चिया बनाउँदै थिए, अचानक मोबाइलको रिङटोन बज्यो । चार दिनपछि मेरो मोबाइलमा घन्टी बज्यो । चार दिन अगाडि फुपूको नाति आउँदा घर बिर्सेर, लोकेसन सोध्न फोन गरेथ्यो । छोराले भिडियो कल गरेको रहेछ । सोचे, यो पटक फुपूको नाति साथी भएकोले महिना चाँडै मरेछ । उसको फोन प्रायः महिना पुगनपुग भएपछि आउँछ ।

सामान्य कुरा भए, ऊ फोनमा मेरो भन्दा घरको, छिमेकको, उसका सहपाठीको बारेमा चासो दिएर कुरा गर्छ, म बस उत्तर दिन्छु, किनकि मसँग प्रश्नै हुँदैन । भएका प्रश्न आफैले आफैलाई सोधेर रित्याएको हुन्छु । तर कुराको क्रममा उसले आज नयाँ कुरा ग¥यो, “ए ! बा त बूढाजस्तै देखिनुभयो ।”

नत्र सधैँ मलाई ऊ बच्चा हँुदा जस्तो थिएँ, त्यस्तै सोच्छ । उसलाई बुढेसकालको अनुभव पनि त छैन ।

आज अनायास मलाई छोराको कुराले आफ्नो अनुहार ऐनमा हेरेर गहन अध्ययन गर्न मन लाग्यो । आँखाको मलिनता, कपासझैँ सेता केश र दाह्री–जुँगा, चाउरिएर मुजा परेको अनुहार, अनि हड्डी छोडेर झुन्डिएको मांसपेशी ।

आफैदेखि साह्रै दया लाग्यो र आफैलाई सोधे– “के मैले अथाह माया दिएर सम्हालेर राखेको र जन्मेको दिनदेखि बालखकालसम्म आमाले तेल घसेर बलियो बनाएको शरीर यही हो ?”

करिब सोर्ह वर्षको हुँदो हुँ, गरिमाले मलाई एकटकले हेरिरहँदा मलाई तरङ्गले छोएको थियो, घर आएर यहीँ ऐनामा आपूmलाई निक्कै बेर नियालेको थिएँ र आफ्नो अनुहारको चमक देखेर आफै दङ्ग परेको थिएँ । एउटै ऐनामा मैले फरक समयको मेरो फरक रूपरङ्ग देखेँ ।

सामान्य मानिसले लिने तमाखु, सूर्ती, चुरोट र रक्सी जस्ता सबै नशा लिएको छु, निक्कै पटक छाडेर पुनः लिने अनि फेरि छाड्ने शृङ्खला पार गरेको छु । आजभोलि मलाई एउटा नशाले बेस्सरी पक्रेको छ, म बितेका यादहरूसँग रमाउने आदतमा छु । यसैले एक्लै एकान्तमा बसेर यिनै यादहरूसँग हातेमालो गर्छु । कहिले रमाउँछु, कहिले दुःखी हुन्छु अनि कहिले चिच्याउँछु, जीवन सङ्गिनी नआउने बाटो हिँडेदेखि मेरो बाँच्ने सहारा यिनै यादहरू हुन् ।

कहिलेकाहीँ छोरोले फोन गर्छ, एक्लिएदेखि ५ र ७ पटक ग¥यो होला सायद । हालखबर सोध्छ, मेरो उत्तर सधैँ एउटै हुन्छ, ठीक छु । गर्ने कुरा चाँडै सकिन्छ, भन्ने अनगिन्ती भावना मसँग थाती रहन्छन् र निक्कै बेरसम्म छातीमा गाँठो परेर बस्छन्, निक्कै बेरपछि आँखाबाट फुस्किन्छन् ।

परार उतै गएको बेला नातीसँग खेलेको र नाति मेरो छातीमा बलियोसँग टाँसिएको सम्झेर हाँसो फुस्किन्छ र समुद्र पारिको देशमा पुग्छ । बुहारीसँग कुरा नभएको महिनौँ भयो, उनी आजभोलि दुई तिन ठाउँमा काम गर्छिन् । धेरै पैसा कमाउनु छ रे उता घर घडेरी जोडेको तिर्नको लागि । छोरी नभएकोले होला उनको आवाज सुनेपछि कान पवित्र भएझैँ लाग्छ ।

छोरो जन्मिएको समय म तेईस वर्षको थिए । भर्खर जुँघा आउन थालेका थिए । मलाई दारी जुँगा खौरन औधी रमाइलो लाग्थ्यो, दारी सफाचट परेपछि आफ्नो रातो र चिल्लो अनुहार एकटकले हेर्थें र सोच्थेँ आफ्नै अनुहार पनि कति राम्रो लागेको आफैलाई । तर छोरो जन्मिएको दिन सोचँे, अहो ! अब म बा बनँे, म साँच्चै ठूलो भएँ, अब मैले बाबुको जिम्मेवारी बहन गर्नुपर्छ ।” त्यो दिनबाट मैले जुँगा पालेर आफूलाई जिम्मेवार बनाएको थिएँ ।

एक, दुई, तीन ……. पचासी टेकेँ, ओहो ! मैले झन्डै एक शताब्दी भोगेँ । मलाई कहाली लाग्छ । मेरा हजुरबा ५७ मा वानले भेटेर बितेका रे, बा ७१ लागेपछि जानु भो । सायद उनीहरूको शेष उमेर मैले पाएँ ।

आज भोलि त मसँग कुरा मिल्ने दौँतरी खोजेर पनि भेटिँदैनन्, जो भेटिन्छन् उनीहरूले मेरो कुरा बुझ्दैनन् । कोही त कुरा गर्न पर्छ भनेर अर्कोपट्टि फर्केर कुद्छन् । कसैसँग बोल्न नपाउँदा कहिले त मेरो मुख साह्रै सगसगाउँछ । अरूको अगाडि बस्दा पनि कागको बथानमा बकुल्लो जस्तो हुन्छु, उनीहरू के के कुरा गरेर हाँस्छन् म बुझ्दिनँ, लाग्छ म साह्रै एकोहोरिएको छु, आफैभित्र ।

पुनः ऐनामा हेरँे अनि सोचँे– “फुलेका कपाल, दाह्री अनि अरू राँैजस्तै चाहना फुलेर फल्ने भए, म जतिको महाजन दुनियाँमा अरू हुँदैनथ्यो । जति म उमेरको तावामा पाक्दै गए, त्यति मेरा अतृप्त चाहनाले चिथोर्न थाले, मेरा आदर्शको धरातलमा घन बर्सन थाले । दशकौँ समयको भोगाइ, अनेक मोड जीवन साँच्चै थाक्नु पर्ने अब ।

खै ! कसका लागि जीर्ण वृक्षझैँ, किन खडा छ यो काया । मेरो जीवन यस अर्थमा रित्तियो कि, भोग्न बाँकी केही रहेन । जीवन भोगाइ भए अब म किन चलिरहेछु । अब मलाई कसैका कर्के नजर अनि ताता स्पर्शहरूले पगाल्न सक्ने छैनन् । अहो ! जीवन त हिउँको सिरेटो खपेको चट्टान पो बनेछ ।”

आजभोलि खाना खान पनि खासै रुचि लाग्दैन, किनकि खाना खान त पकाउन पो पर्छ । फुपूको नाति बसुन्जेल दुई महिना उसले पकाएर दिएथ्यो ऊ पनि हिजो चील गाडीमा समुन्द्र नाघेर गयो । धेरै रहर गरे पनि जाने बेलामा मेरो छोराले जस्तै अँध्यारो मुख लगायो, मतिर फर्केर हेर्न सकेन । गेटबाटभित्र छिर्ने सबैको अनुहार उस्तै थियो, मैले सबै अनुहारभित्र मेरो छोरो पाएँ अनि बिदाइ गर्न आउने सबै अविभावक मजस्तै अभागी थिए जो पछि सन्तान भएर पनि निसन्तानको पीडामा बाँच्नु पर्छ ।

आज निन्द्रा चाँडै खुल्यो, बिहानको नित्य कर्म गरेर चिया पिए, अखबार आयो । अखबारका पानामा सधैँ उस्तै खाले समाचार र लेखेर पाना भरिएको हुन्छ । उही देशका उही समाचार, उनै विद्वान् र दार्शनिकका फोस्रा तर्कका कुरा । कसैले मेरा भावलाई समेट्न सकेनन् । मैले देशलाई हेर्न छाडेको निक्कै भयो, म आजभोलि मात्र म “को साँघुरो घेरामा सीमित छु । यौन धन्दामा लागेकी स्त्रीले ग्राहकको स्खलनलाई पर्खिए जस्तै म स्वाभाविक मृत्युको पर्खाइमा छु ।

“अस्ट्रेलियामा युवकले आत्महत्या” ठूला अक्षरमा समाचारको हेडलाईन देखेँ, मानौँ नवौँ आश्चर्य भयो । आजभोलि मलाई यस्ता समाचार सामान्य लाग्छन् । पहिला–पहिला यस्ता समाचारले मेरो मुटुको वेग बढाइदिन्थ्यो । पढ्दा ईश्वरसँग यस्मा मेरो छोराको नाम नहोस् भनी बिन्ती गर्दै पढ्थे । समयसँगै मैले यी कुराहरूमा आदत बसालेँ ।

आज किन किन मन छट्पटायो, छोरालाई सम्झिए । कुरा गर्ने हुटहुटी बढेर आयो । धेरै पटक दुविधा भयो । ब्यस्त छ कि,उठाएन भने, किन गरेको सोधे के भन्ने ‘‘यस्तै यस्तै ! अन्त्यमा फोन गर्ने निधो गरेँ ।

“बाबु, के छ ?” सोधँे ।

“ठिकै छ, तपाईंको स्वास्थ्य के छ ?” छोराले सोध्यो । “ठिकै छु ।” जवाफ फर्काएँ ।

“केही समस्या प¥यो कि, अचानक फोन गर्नु भन्यो ।” आवाज कानमा ठोक्किए ।

अब के भनूँ भयो मलाई । कुन समस्या भनूँ म । मसँग नदेखिने अनेक समस्या छन् । एकै पटक अनेक समस्या र व्याथा मेरो आँखै अगाडि नाच्न थाले, बिस्तारै मैले अँध्यारो देखेँ, मुटु ढक्क भयो । म

छट्पटीले  रन्थनिए  ।  एकोहोरो पर्खालमा रहेको छोराको फोटो हेरेँ जसको हरेक समस्या र आवश्यकता म

उसले भन्नू पूर्व नै ठम्याउथेँ । अन्यासै आँखादेखि ओठसम्म मोह र जिन्दगीका दुई रेखा बने ।

मैले म बस्ने धर्ती र आकाश बिस्तारै–बिस्तारै अन्धकारको मुखभित्र पसेको अनुभूति गरेँ र म त्यही अन्धकारमा बिलाउँदै, बिलाउँदै गएको अनुभूति गरे । उमेरसँगै उपहार स्वरुप पाएका विभिन्न रोगका औषधिका पोका खोलँे, आँखा बन्द गरेर जीवनका अनेक आरोह–अवरोह सम्झिएँ, जीवनकालमा प्रिय लागेका अनेक पात्रलाई सम्झिए, सबै धमिलो पानीका छाया जस्तै लागे । लामो सास फेरे अनि एक मुठी औषधि लिएर, सम्पूर्ण सांसारिक समस्या देखि सधैका लागी पार पाउने निधो गरेँ ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments