विद्यालय  प्राङ्गणमा  लामबद्ध विद्यार्थीहरूले सरस्वती वन्दनापछि राष्ट्रिय गान गाउँदै थिए । एक्कासि चौकिदारले विद्यालयको ठूलो फलामे ढोका खोलिदिए । मन्त्री शिक्षाधर शाक्यको आगमन भएको रहेछ ।

विद्यालय  समय  सुरु  हुनासाथ प्राङ्गणमा   एक्कासि   बिनाखबर मन्त्रीसहितको भीडलाई देख्दा उपस्थित शिक्षक, विद्यार्थीहरू आपसमा रनभुल्लमा परे । झन्डावाल गाडी, सुरक्षा गार्ड, स्थानीय अभिभावक र राजनीति दलका कार्यकर्ताका साथमा आइरहेको मन्त्रीसहितको टोलीलाई विद्यालयका हेडसर तुकाराम भजनियाँले आफ्नो कार्यकक्षको झ्यालबाट देख्नासाथ हस्याँङफस्याँङ गर्दै हत्तारिएर स्वागत सत्कार गर्न मन्त्री नजिक पुग्दै थिए ।

प्राङ्गणमा लामबद्ध विद्यार्थीहरूले प्रार्थना सकेर आ–आफ्नो कक्षातर्फ लागे । मन्त्रीले आकस्मिक निरीक्षण भ्रमण गर्न आएको वास्तविक कुरा शिक्षकहरूले केही बेरपछि मात्र थाहा पाए । आफूलाई चनाखो भन्न रुचाउने केही शिक्षकहरू भने आपसमा खासखुस गर्दै हाजिरी रजिस्टरमा रातो चिह्न लाग्ला भन्दै हस्ताक्षर धस्काउन हत्तारिँदै थिए । सबै कक्षाकोठाका प्रत्येक झ्यालहरूबाट विद्यार्थीहरूले पनि मन्त्रीको भीडलाई उत्सुकतापूर्वक चियाइरहेका थिए ।

“मन्त्रीज्यू नमस्कार ! मन्त्रीज्यूलाई यस विद्यालयमा स्वागत छ ।” धनुषटङ्कार शैलीमा हेडसरले पहिलो स्वागत शिष्टाचार गरे । उनले निरीक्षण भ्रमणको अगुवाइलाई तुरुन्त सम्हाले । मन्त्रीसहितको भीडलाई विद्यालय वरिपरिको वातावरण, सफा पिउने पानी, शौचालय, फूलबारी, करेसाबारी, कक्षाकोठा, फर्निचर, पुस्तकालय, कम्प्युटर आइसिटी कक्ष, सभाहल, भौतिक संरचना आदिको अवलोकन गराउँदै सबैको जाने जति वर्णन पनि गरे । निरीक्षण कार्य हेडसरको कार्यकक्षमा पुगेर टुङ्गियो । मन्त्रीले गार्डको हातमा रहेको पानीको बोतलबाट दुई–चार घुट्को पानी पिए ।

हेडसरले  मन्त्रीलाई  सोफामा विराजमान गराउन आफ्ना दुवै हात अगाडि फैलाए । मन्त्रीसँगै आएका कार्यकर्ताहरूले त्यहाँ वरिपरि रहेको सोफा, मेच, कुर्सीमा आसन जमाइसकेको थिए ।

“मन्त्रीज्यूलाई कस्तो लाग्यो हाम्रो यो विद्यालय ?” विनम्र भावमा हेडसरले मन्त्रीलाई उभिएरै सोधनी गरे ।

“मैले यस विद्यालयका सबै कुराहरू राम्ररी निरीक्षण गरेँ ।” मन्त्रीले प्रफुल्ल मुद्रामा हेडसरको कार्यकक्षको चारै भित्तामा टाँगिएका तस्बिर, चार्टहरूमा आँखा डुलाउँदै भने । उनले आफ्नो निर्देशनलाई जोड दिँदै, “हेडसरले  यस  विद्यालयका  सबै शिक्षकहरूलाई नियमित पोसाक लगाउनु भन्नुप¥यो, हरेक दिन बिहान ठीक १० बजे नै विद्यालयको गेट बन्द गर्नू, जो कोही शिक्षकहरू एक मिनेट ढिलो गरी आए पनि घर फर्काउनू, विद्यार्थी बालबालिकाहरू ढिला गरी आए भने सम्झाएर कक्षाकोठामा पढ्न पठाउनू ।”

मन्त्रीको ठाडो निर्देशन सुनेर उपस्थित शिक्षकहरूको अनुहारमा एकाएक ग्रहण लागेजस्तै भयो । एकले अर्कालाई हेर्दै उनीहरू आपसमा मलिन उदासीन देखिए ।

आकस्मिक निरीक्षण भ्रमण गर्न आएका मन्त्रीलाई स्वागत गर्दा असिनपसिन भएका  हेडसरले  आफ्नै  घुम्ने  मेचमा टाँगिएको टावलले अनुहारबाट चुहिन लागेको पसिना पुछे । उनले टेवलमा रहेको एक गिलास पानीलाई मानौँ एकै घुट्कोमा पिइदिए ।

“सरकारले शिक्षकहरूलाई विद्यालय पोसाक लगाउनू भनेर भत्ता दिएको छ, त्यसलाई कडाइका साथ कार्यान्वयन गराउनुस् । यस विद्यालयमा अति विपन्न विद्यार्थी, उपेक्षित, दलितवर्ग कोही भए नाम टिपेर मन्त्रालयमा ल्याउनूस् । विद्यालयका सबै समस्याहरू हामी आपसमा मिलेर समाधान गरौँला । आखिर तपाईं हाम्रो एउटै साझा थलो यही विद्यालय नै हो ।” सान्त्वना भावमा केही नरम हुँदै मन्त्रीले थप निर्देशन दिए ।

मन्त्रीको थप निर्देशन अभिव्यक्तिले हेडसरको अनुहारमा केही उज्यालोपन छायो ।

मन्त्रीले ‘विद्यालयलाई माया गरौँ’ लेखिएको एउटा रातो झोला हेडसरको हातमा राखिदिए । त्यहाँ उपस्थित सबैले ताली लगाए । मन्त्रीले दिएको त्यो झोलालाई हेडसरले सुमसुम्याउँदै सम्हाले ।

प्रफुल्ल मुद्रामा मन्त्रीले भने, “हेडसर ! यो सानो झोलामा एउटा विद्यालय छ । मेरो यो सानो उपहारलाई सम्हाल्नूस् । भोलिका दिनमा यसलाई तपाईंले कार्यान्वयन गराउनुस् । यहाँको शिक्षा विकासमा हामी सबैले मिलेर सहकार्य गरौँ । यसमै हामी सबैको कल्याण हुने छ ।” उपस्थित सबैले पुनः ताली बजाए ।

सौहाद्रपूर्ण निरीक्षण भ्रमणमा मन्त्रीले दिएको उपहार र निर्देशन सम्हाल्दैको हेडसर भजनियाँले आफ्नो कार्यकक्षको भित्तामा सजिएको एउटा फोटो फ्रेमलाई झिकेर हातमा लिँदै, “मन्त्रीज्यू ! यो हाम्रो विद्यालयको राम्रो फोटो, कक्षा ११ मा पढ्ने छात्रा कल्पना रायमाझीले छ्वालीका छेस्का टाँसेर बनाएकी हुन् । यही फोटोलाई मायाको चिनो स्वरूप म मन्त्रीज्यूलाई उपहार प्रदान गर्दछु ।” मन्त्रीले उपहार ग्रहण गरेको क्षण फेरि जोडदारले ताली बज्यो । दुईचार जनाले मोबाइलमा फोटो खिच्न पनि भ्याए ।

मन्त्रीले फोटोफ्रेममा नजर डुलाउँदै, “आहा ! कस्तो राम्रो विद्यालय बनाएकी ती कल्पना छात्राले ! कस्ता होलान् तिनका कालिगडी नरम हातहरू !” हातमा रहेको फोटोलाई ओल्टाउँदै, पल्टाउँदै, केहीबेर हेरिरहे । फोटोलाई मुखमै जोडेर दुईतीन पटक चुम्मचुम्म गर्दै चुम्बन गरे । उनी कल्पनामा कल्पिन पुगे ।

मन्त्रीले हातमा रहेको त्यस उपहार मायाको चिनोलाई गम्भीर मुद्रामा हेरिरहेका थिए । मानौँ दिव्यदृष्टि लगाउँदै थिए । हेडसरको कार्यकक्षमा एकक्षण मौनता छायो ।

“आज यी कल्पना आएकी छिन् ? बोलाउनुस्, हामीले मायाले चुमेर तिनीलाई प्रोत्साहन गर्नुपर्छ ।” मौनतालाई भङ्ग गर्दै मन्त्रीले बोले । हतारिएर पालेदाइ कक्षा कोठातिर छात्रा कल्पनालाई लिन भनी दौडिए । सबै जना उत्सुक्तापूर्वक छात्रा कल्पनाको आगमनको प्रतीक्षामा थिए । केही क्षणमै पालेदाइ त्यहाँ एक्लै झुल्किए ।

“पालेदाइ ! कल्पना खोइ ?” हेडसरले सोधे ।

“आज गाउँमा कल्पनाको दाजुको बिहे रे, रत्यौली खेल्नुपर्छ भनी विद्यालय आइनन् रे, दाजुको बिहे सकेर दुईचार दिनपछि स्कुल आउँछिन् पो भने उनका साथीहरूले ।” पालेदाइले एकैसासमा भने । कल्पनाको त्यो खबरले मन्त्रीको अनुहारमा एकाएक खिन्नता छायो । कल्पनाप्रतिको उनको चाहना कल्पनामै सीमित रह्यो ।

हेडसर  तुकाराम  भजनियाँले विद्यालयमा केवल तेह्र जना स्वीकृत दरबन्दी रहेको, नयाँ कार्यक्रमका लागि शुल्क उठाउन नपाउँदा आर्थिक सङ्कट बढेको, राजनीतिक दलको खिचातानीले विद्यालय व्यवस्थापन समिति गठन गर्दा स्थानीय मेयरको चुनावमा जस्तो सकस बेहोरेको तीतो सत्य सुनाए । विद्यालय सञ्चालनमा विगतमा भन्दा केही अप्ठ्यारो परिस्थितिहरू सहनुपरेको गुनासो गर्दै विद्यालय विकासमा मन्त्रीको ध्यानाकर्षण गराए ।

हेडसरले गरेको गुनासो सुनेर राजनीतिक दलको छायामा रमाउने केही शिक्षकहरू भने मुन्टो बटार्दै आफ्नो नाक खुम्च्याउँदै थिए ।

“अब, हाम्रो पूज्य गुरु भनेको तपाईं हेडसर नै हो । बालककालमा पढाएर आज मलाई मन्त्रीसमेत बनाउनुभयो । यो सबै तपाईंकै अमूल्य देन हो । हामीले राजनीति गरे पनि तपाईंलाई नै दोष लाग्छ, राजनीति नगरे पनि तपाईंलाई नै अझ धेरै दोष लाग्छ, कि कसो हेडसर ?” मन्त्रीले फूर्तिका साथ जवाफ दिँदा उनको साथमा आएका कार्यकर्ताहरूले गलल हाँस्दै टरर्र ताली पिटे ।

“अहिलेसम्म यस विद्यालय जेनतेन चलेकै छ । विद्यालयका भौतिक संरचना, पूर्वाधार र यस कार्यकक्षमा रहेका सोफा, फर्निचर, टेबल–कुर्सी, कम्प्युटर, ल्यापटप सबै मागेरै दाताहरूकै सहयोग, सौजन्यमा जुटाएका हौँ ।” हेडसर भजनियाँले दुवै हातले आफ्नो कार्यकक्षमा रहेका विभिन्न सामानहरूलाई एकएक गरी देखाउँदै भने ।

“मुलुकमा सामुदायिक सरकारी विद्यालयमा आजकल विद्यार्थीको खडेरी लागेको छ । समाजमा शिक्षाको राम्रो मलजल गर्नुस् । विद्यार्थीहरू आफैले घरदैलो गरेर जुटाउनुस्, सबै कक्षा कोठामा बालबालिकालाई खचाखच भर्नुस् । यसो गरे विद्यालय आफैँ चल्छ । चले चल्छ, नचले स्वतः चल्छ, होइन भने छिमेकी विद्यालयमै गाभिन पुग्छ ।” मन्त्रीले घुमाउरो पारामा हाँस्दै भने । उपस्थित सबैले टरर्र ताली बजाए ।

करिब एक घण्टा विद्यालय निरीक्षण भ्रमण गरेर मन्त्री मन्त्रालय फर्किए । उनी फर्किने क्रममा स्थानीय डोम बस्तीका ५–७ जना बालबालिकालाई भेटेर “विद्यालयमा भर्ना हुनू, सधैँ पढ्न जानू, तिमीहरूलाई पैसा लाग्दैन, किताब र ड्रेस पनि सरकारले नै दिन्छ’ भन्दै सम्झाए । एक जना बालकलाई काखमा लिएर फेसबुकमा अपलोड गर्नुपर्छ भन्दै मोबाइलमा फोटो खिच्न पनि भ्याए ।

आज विद्यालयका हेडसर तुकाराम भजनियाँको मुहारमा धेरै खुसी छायो । मन्त्रीले दिएको उपहार सानो झोलामा आफ्नो ससुराली र तिनै मन्त्रीका ससुराली, मावली सबै अटाएका थिए । उनले मनमनै यसको चौमासिक निकासा लिन भोलि नै शिक्षा कार्यालय जाने योजना पनि बनाए ।

हेडसरले मन्त्रीको फिर्ती सवारीपश्चात् विद्यालयमा समीक्षा बैठक बसाले । ‘आज विद्यालयमा मन्त्रीको आकस्मिक निरीक्षण भ्रमण अति नै फलदायी रह्यो । यस सुखद् उपलक्ष्यमा आज एक दिन विद्यालय बन्द गरियो ।” भन्ने बैठकको निर्णयको सूचना सबैलाई सुनाए । विद्यालयका शिक्षक, विद्यार्थीहरू रमाउँदै आ–आफ्नो घर फर्किए ।

á

कागेश्वरी मनोहरा–५, थली, काठमाडौँ

मो. ९८४१७४०९७४

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments