“विश्व एउटा पुस्तक हो अनि त्यसको विचरण नगर्नेहरूले त्यो पुस्तकको पहिलो पृष्ठ मात्र पढेको हुन्छ ।”

–सेन्ट अगस्टिन

विश्व पुस्तकको प्रस्तावनामा नै कोही कोही अड्किए पनि धेरैजसोले कमसेकम केही पाना छिचोलेकै हुन्छ । हजुरआमा भेट्न मावलदेखि दिदी वा सानीमा भेट्न पल्लो गाउँ अनि साथीकी दिदीको बिहे खान त्योभन्दा पनि पारि नजाने मान्छे भेट्न मुस्किल छ । कतै जान्न भन्नेले पनि औँसी र पूर्णिमाका हाट भर्न चम्पे र देउराली बजार भनौँ या गाउँबेँसी गर्न दोभान वा खरीबोट भनौँ कुनै न कुनै प्रकारले आफ्नो गतिशीलताको धर्म थामेकै हुन्छन् ।

पुराण, बिहे, व्रतवन्ध, अन्तिम संस्कार आदिको लागि हिँडेको पदयात्रा, धर्म आर्जन गर्न पैताला दर्फ¥याउँदै चढेका पहाडी चुचुराहरू अनि शिक्षा आर्जनका लागि टेकेका गुरुजीका पिँढीसम्मको विचरण हाम्रो स्मृतिमा नौलो हैन । त्यसैगरी दुई मुलुक बीच मित्रताको पुल बाँध्न नाघेका भौगोलिक सिमानादेखि प्राज्ञिक सम्मेलनमा सहभागी बन्न उपस्थित बौद्धिक घुइँचोले पनि मान्छेलाई एक ठाउँबाट अर्को ठाउँमा पु¥याएकै हुन्छ ।

सभ्यताको गाडी जतिजति तेजले अघि बढ्छ उत्सुकताको सडक पनि त्यति नै फराकिँदै जाने परिप्रेक्ष्यमा मान्छेको विचरण परिधि पनि तन्किँदै जान थाल्दो रहेछ । अर्को मान्छेको मन, मस्तिष्कदेखि आरम्भ भएको नियन्त्रणको लालचको भोक भौगोलिक परिधिको नियन्त्रणले नमरेर ग्रह नक्षत्र नियन्त्रणको महŒवाकाङ्क्षासम्म मौलाउन थाल्यो । यस्तै महŒवाकाङ्क्षाको विमानमा चढेर कोलम्बस, मार्कोपोलो, भास्कोडिगामा, चाल्र्स डार्बिन, आईवीन वाट्टुरादेखि युरी गागरिन, माइकल पेलीन अनि क्याप्टेन कुक र युहान ह्वाङ आदि थु्प्रैले आफ्नो गतिशीलताको सिमाना क्षितिज पारिसम्म तन्काए ।

समयको धमिराले पुरे पनि पुरातŒवको उत्खनन् भ्रमणका दस्तावेजहरू कुनै न कुनै रूपले संरक्षित नभए इतिहासले यो सबै ठम्याउन सक्ने थिएन । आफूले टेकेको भूमि, आफूले भेटेको बहुमूल्य निधि अनि आफूले देखेको दृष्यमा सकेसम्म धेरैलाई सहभागी गराउन भनेर नै यी सबैको अभिलेख राख्ने प्रवृत्तिको विकास भएको हुनुपर्छ । ‘हाम्रा सन्तानले तिम्रा सन्तानलाई’ …. भने जस्तै मौखिक रूपमा लोककथा, लोकगीत  लोकसंस्कृतिमा  विभिन्न स्थानहरूको विवरण पनि कता कता मिसिएको भेट्न सकिन्छ । राजनीति र धर्मका इतिहासका तुलनामा भ्रमणका इतिहास नगन्य नै भए होला ।

भ्रमण प्रवृत्ति अनि भ्रमणको अभिलेख राख्ने मानवीय परम्पराको थालनीको मिति किटान गर्न खोज्दा मानव सभ्यताको आरम्भलाई समेत नाघेर जानुपर्ने पनि हुन सक्छ । तर पनि इतिहासको आरम्भ कतैबाट त हुनै पर्ने हुन्छ । कसैले पुगेर आएको स्थानको विवरण पनि यात्रा विवरण अनि ठाउँको विवरण गरी दुई रूपमा हेर्नुपर्ने हुन थाल्यो । आफू पुगिसकेको ठाउँमा अरूलाई पुग्न सजिलो होस् भनेर मार्गदर्शक (गाईड)को रूपमा विवरणको अभिलेख एक प्रकारको हुन थाल्यो । त्यो ठाउँबारे विस्तृत अध्ययन गरेर शिक्षाप्रद विश्लेषण र विवरण अर्को सम्भावना भयो । त्यस्तै तीर्थस्थानमा पुगेका स्थलहरूको धार्मिक महात्म्य ग्रन्थ पनि जन्मिए । यस्ता विवरणहरूमा सर्जकहरूबीच प्रायः एक रूपता भेट्न सकिन्छ । तर ती ठाउँमा पुगेर अनुभूत गरेका व्यक्तिगत भावनाको सँगालोमा भने एकरूपता पाउन गाह्रो हुन्छ । यात्रा विवरण र नियात्राको फरक यही हो ।

ट्राभल जर्नल भनेर यात्राको बेला लेखिएका दैनिकीहरूको प्रकाशन सत्रौँ शताब्दीको अन्त्यतिर जेम्स वाज्वेलबाट नै आरम्भ भएको भनिएको छ । उम्किएर स्वतन्त्र  हुन  सफल  दासदासीहरूले अठारौँ र उन्नाइसौँ शताब्दीमा दासत्वको यात्रामा भोगेको वेदना र यातनाका अभिव्यक्तिहरूको प्रकाशनले आत्मपरक अनि भावनात्मक यात्रा विवरणको आरम्भ भएको हो कि भन्न पनि सकिन्छ ।

विश्व इतिहासमा जे जस्तो भए पनि नेपाली परिप्रेक्ष्यमा यात्रा विवरण या यात्रा साहित्यलाई वस्तुगतबाट भावनात्मक विवरण बीचको सीमारेखामा नियात्रा राख्न सकिन्छ । विक्रम संवत् २०२५ मा प्रकाशित तारानाथ शर्माको ‘बेलायतिर बरालिँदा’ पुस्तकको भूमिकामा भाषाशास्त्री बालकृष्ण पोखरेलले ‘नियात्रा’ शब्दको न्वारान गर्नुभएको हो । त्यसपछि यात्रा र नियात्रा बेग्लाबेग्लै बाटामा हिँड्न थाले । नियात्राको शाब्दिक अर्थ केलाउने हिम्मत नगरे पनि यात्राको निजी अनुभव मिसिएपछि त्यो नियात्रा हुन्छ । नियात्रा शब्दको जन्म जहिले भएको भए पनि यात्रामा निजी अनुभव घोलिएका रचनाको जन्म त्यसअघिदेखि नै भएको भन्न सकिन्छ । यात्रासँंग निजात्मक अनुभवलाई आत्मपरक रूपमा अभिव्यक्त गरिएका पुस्तकहरूको मुहान खोज्दै जाँदा पाँच सय वर्षअगाडि शेरसिंह राणाको ‘राजा गगनीराजको यात्रा’ देखि सन् १९९० मा प्रकाशित ‘जंगबहादुरको बेलायत यात्रा’लाई बिर्सिन सकिँदैन । बीचमा केही समयको अन्तराल भए पनि आत्मपरक यात्रा विवरण अर्थात् नियात्रा लेखकहरूको खाँचो नेपाली साहित्यमा भएन । लैनसिंह बाङ्देल, तारानाथ शर्मा, प्रकाश ए राज, केदारमणि आदी, रमेश विकल, यादव खरेल, घनश्याम राजकर्णिकार, रमेश खकुरेल, विष्णुगोपाल रिसालदेखि हालका चन्द्र भट्टराई, जय छाङ्छा, ईल्या भट्टराई आदि धेरै नै साहित्यको यो उपविधामा योगदान गर्ने मध्ये पर्दछन् ।

साहित्यको नयाँ उपविधा भएर हो या तुलनात्मक रूपले हाम्रो समाजमा देश विदेश भ्रमणको अनुकूलता एवं परिपाटीको प्रचुरताले हो नियात्रा लेखनको गाडी पनि तेज गतिमा दौडिँदै छ । तेजगतिमा दौडिएको गाडी प्रतिस्पर्धात्मक भयो भने पक्कै पनि दुर्घटनाको सम्भावना पनि बढ्ने हुन्छ । नियात्रा लेखनले पाठक अनि समाजलाई आआफ्नै क्षमता र रुचिअनुसार कसैले केवल सूचना प्रवाह गरेका हुन्छन्न् अनि कसैले बाटाको अनुभव मात्र प्रस्तुत गरेका हुन्छन् । यात्राको क्रममा आफ्ना सबै इन्द्रियका अनुभवको सहयोगमा ती स्थानप्रति पाठकलाई उत्सुकता जगाइदिन्छन् ।

केही समय अगाडि हात परेको ‘दाइबुचु’ नियात्रासङ्ग्रहले चाहिँ पाठकलाई त्यो ठाउँमा जान उत्सुक बनाउनुको साथै पाठकलाई त्यहाँ पुग्न प्रेरित पनि गरेको देखिन्छ । नेपाली साहित्य बगैँचामा नियात्राका केही सुन्दर फूलहरू प्रस्तुत गरिसक्नुभएका लेखक कृष्ण बजगाईको नयाँ नियात्रा कृति ‘दाइबुचु’ भित्र डुबुल्की मार्ने मौका प¥यो । ‘सूर्योदयको देश’ भनेर सुनेको जापान बेला बेलामा हेरिएका कोरियन सिनेमाहरू एवं पर्लहार्वरको इतिहास ग्रहणले छोपिएको अल्पज्ञान अलिकति उघारिएर प्रविधिको अगुवासम्ममा मात्र सीमित जापानको परिचयलाई यो पुस्तकले विस्तार गरेको छ । चिने चिने जस्तो मात्रै लाग्ने परचक्रीलाई चिरपरिचित आफन्त बनाएको छ । त्यति मात्र हैन ‘दाइबुचु’ले मलाई हात समाएर जापानको भ्रमण गराएको छ ।

जापानको घुइँचो सडक, चिल्ला गाडी, फूर्तिला मान्छे, सभ्य व्यवहारभन्दा पनि गहिरिएर अलिकति धार्मिक, केही सांस्कृतिक, केही ऐतिहासिक एवं साहित्यिक सबै पक्षसँग भेट गराउने यो पुस्तकलाई मैले वास्तवमा ‘जापानको प्रारम्भिक परिचयात्मक शिक्षण सामग्री’को रूपमा लिएकी छु । नेपाली नियात्रा साहित्यको आकाशमा अहिलेसम्म उदाएका अन्य ताराहरूभन्दा बेग्लै दाइबुचुले अझ जापानको शिक्षण भ्रमणको हदसम्म जापान वुझाउँछ । कछुवा र खरायो अनि बाबुछोरा र गधाको कथा जस्ता लोककथामा लुकेको नैतिक पाठ जस्तै दाइबुचुभित्रको यात्रा विवरणमा लुके जस्तै पाठकहरू पनि सर्जकसँगै घुमिरहेका हुन्छन् । लेखकले भने जस्तै हाइकु मिसिएको गद्यलाई हाइबुन भन्दछन् । सात दर्जनभन्दा बढी हाइकु समावेश भएको यो गद्य पक्कै हाईवुन हुनुपर्छ । यस अर्थमा यो पुस्तकको संरचना आफैले हामीलाई जापान पु¥याउन सक्छ ।

“यात्राको क्रममा देखिएका दृश्यले मनमा स्पर्श गरेपछि कुनै गद्य बनेर पोखिए, कुनै हाइकु बनेर छताछुल्ल भए । तिनै अनुभूतिलाई समेटेर दाइबुचुु नामक प्रस्तुत नियात्रा सङ्ग्रह यहाँहरूसमक्ष लिएर आएको छु ।” सर्जकको आत्मकथनको यो वाक्य नै पुस्तकको सटिक परिभाषा भएको छ । यात्राको विवरण कम अनि आत्मिक अनुभूति धेरै समेटेको यो पुस्तकले वास्तवमा पाठकलाई सर्जकको हृदयसँग भेट गराउँछ । जापानमा घुम्दै गर्दा पाठक घरीघरी आफ्नै घर पुग्छ ।

प्रसिद्ध  स्कटिस  लेखक  लुईस स्टिभेन्सनले भने जस्तै “विदेश भन्ने कहीँ हुँदैन, त्यहाँ यात्रा गर्ने यात्री मात्र विदेशी हुन्छ” भन्ने तथ्य दाइबुचुले पुष्टि गरेको छ । पुस्तकको पृष्ठैपिच्छे तुलनात्मक रूपले होस् वा भावनात्मक रूपले पाठकलाई नेपाल मात्र होइन आफ्नै घर पु¥याएका छन् । दाइबुचुमा सङ्गृहीत तेह्रओटै निबन्धले हामीलाई तेह्र विभिन्न कोणबाट जापानको परिचय गराउँछ । यसभित्रका हरेक शीर्षक मार्फत जापानलाई धार्मिक, भौगोलिक, ऐतिहासिक, आर्थिक, सामाजिक एवं साहित्यिक दृष्टिले चिन्न पाउँछौँ । यही दृष्टिकोणलाई निबन्धका केही शीर्षकअन्तर्गत अलिक विस्तृत रूपमा हेर्न सकिन्छ ।

धार्मिक

दाइबुचुले जापानी धार्मिक इतिहास अनि उनीहरूको धार्मिक विश्वासको परिचय दिएको छ । पहिलो निबन्ध ‘सम्राटको आत्मा दर्शन’ भित्र पस्ने बेला टोरीगेट पुगेर हामी पनि वर्तमान र विगतको सिमानामा आफ्नै मुलुकको नियति जस्तै एकछिन उभिन्छौँ । सभ्यता अनि प्रविधिको शिखरमा झन्डा गाढिसकेको जापान भित्र पनि आत्माको उपस्थितिलाई विश्वास गर्ने सिन्तो धर्मको परिचय यस पुस्तकमार्फत जापानसँगको पहिलो चिनारी भएको छ । राजा मेईजी र रानीको आत्माको दर्शन गर्न लेखकसँगै हामी पनि टोरिगेटबाट छिर्छौं । आत्मा कहिल्यै मर्दैन विश्वास भन्ने विश्वासमा हुर्किएका हामी सिन्तो विश्वासबाट कति टाढा रहेछौँ र ? हामीले पुज्ने मूर्ति अनि संवेदनशील भएर पालना गर्ने पितृकार्यसँग सिन्तो विश्वाससँग दाँजेर लेखकले जापानसँगै आफ्नै घर पु¥याए जस्तो लाग्छ । नदी, पहाड, चट्टान, वृक्ष, चन्द्रमा र सूर्यमा आत्माको निवास हुन सक्ने सिन्तो धर्मावलम्बीको विश्वास हामीले सबैतिर देवताको बास पत्याए भन्दा टाढा पाइदैन । नुहाएर मात्र देवताको दर्शन गर्ने हामीभन्दा दुवै हात धोएर कुल्ला गरी चोखिएर सम्राटको आत्माको दर्शन गर्ने जापानी परिपाटी पनि फरक लाग्दैन । सनातन प्रकृति अनि पुजिनेहरू असङ्ख्य भएको जापानी प्राचीन सिन्तो धर्मलाई लेखकले हाम्रो हिन्दु विश्वाससँग दाँज्दा हामीलाई अनौठो लाग्दैन ।

‘कामाकुराका बुद्ध’को भ्रमणबाट हामी पुस्तकको धार्मिक परिच्छेदमा पुग्छौँ । कुनै समयमा जापानको राजधानी रहेको कामाकुरा सैनिक शासनको जन्मस्थान भए पनि सामुराई शासन भए पनि बुद्धको विशाल मूर्ति देख्ता र भेट्दा हामी सामुराई शासनकालको अलिकति जापान पनि भेट्न सक्छौँ । कामाकुराको दाइबुचु भेट्न हामी पनि उत्सुक भएर लेखक सँगै हुन्छौँ । दाइबुचुसमेतका थुप्रै बौद्ध मन्दिरहरू भएको कामाकुराबाट बुद्ध र बौद्ध धर्मको प्राम्भिक जापानी परिवेशसँग हामी परिचित हुन्छौँ । चवालिस फिट उचाइ एवं अनुहारको लम्बाइ नै सात फिटभन्दा बढी भएको त्यत्रो बडेमानको मूर्ति देखेर बुद्धको मुलुकमा जन्मिएका हामीलाई पनि कताकता ग्लानि हुन्छ । वास्तवमा बुद्धको सबैभन्दा विशाल मूर्ति त हामीसँग पो हुनुपर्ने । मूर्तिको विस्तृत वर्णनसँगै हामी पनि गर्भगृह हुँदै भ¥याङबाट ओर्लिन्छौँ । धार्मिक श्लोक र सूत्रको सट्टा बुद्धको बारेमा रचिएका कविता र हाइकुले कुदिएका ढुङ्गा मन्दिरका  आँगन वरिपरि देख्ता हामीलाई पनि आश्चर्य लाग्छ । हामो जस्तै भन्दाभन्दै पनि यस्ता फरक देखाउनसमेत लेखक चुकेका छैनन् ।

‘योकोहोमाको समुद्र र माचुरी’मा जापानको दोस्रो ठूलो सहर योकोहोमाको भ्रमणमा हामी जापानको भौतिक प्रगतिको चरम सीमाका सबुतहरूका साथै धार्मिक अनि सांस्कृतिक पक्षसँग पनि भेट गर्न पाउँछौ । आणविक अस्त्र अनि प्राकृतिक प्रकोपले थिलथिलो भए पश्चात् अझ बलियो भएर ठाडो शिरले उभिने प्रसिद्ध बन्दरगाह योकोहोमा हाम्रो काठमाडाँैजस्तै बाह्रै महिना कुनै न कुनै पर्वमा रमाएको जस्तो लाग्छ । इन्द्रजात्रा, मच्छिन्द्रनाथको जात्रा आदि आफ्नै ‘मन्चुरी’हरूले सम्पन्न काठमाडौँ अर्थात् त्यो अर्थमा योकोहोमालाई नेपालसँग दाज्न मन लाग्छ । बुद्ध मन्दिर र बुद्ध धर्मको शिक्षा समेतको इतिहास बोकेको योकोहोमामा भेटिने चिनिया व्यावसाय र लाफिङ बुद्धका प्रसङ्ग पनि बिर्सिन सकिँदैन । उक्त नियात्रा पढिरहँदा अमेरिकाका विभिन्न राज्यहरूमा भएका चाइना टाउनको सम्झना दिलायो ।

‘क्योटोको किंकाकुजी’मा एघारौँ शताब्दीसम्म जापानको राजधानी रहेको क्योटो भित्रका थुप्रै बुद्धमन्दिरको सङ्ख्या सुन्दा प्राचीन मन्दिर नै मन्दिरले भरिएको भक्तपुर र पाटनको झझल्को आउँछ । लेखकले तीनतले स्वर्ण मन्दिरमा विस्तृत विवरणको साथमा हामीलाई पनि सँगै लिएर जान्छन् । शान्ति नगर क्योटोको विवरणले पढ्दा जापानसम्बन्धी केही उत्सुकता शान्त हुन्छ ।

साहित्यिक

जापानको साहित्यिक पक्षसँग पनि दाइबुचुले केही चिनारी गराउँदछ । धेरैजसो नियात्रामा जापानी साहित्य, कला र सङ्गीत प्रेमबारे केही परिचय त पाउँछौँ । तर ‘जापानको केराघरे माचुओ’ पढेपछि चाहिँ हाइकु र जापानको घनिष्ठतालाई सबैभन्दा नजीकबाट अनुभव गर्न सक्छौँ । लेखकले आफूसँग हामीलाई हाइकु सम्राट् माचुओ बासोको घरभित्र पु¥याउँछन् । वास्तवमा हाइकु र यात्रा मिसाएर ‘ओकुनो होचोमिसी’ सिर्जना गर्ने बासो आफै पनि नियात्राकार थिए । हाइकु र गद्य सराबरी पाइने उनका पुस्तकहरू यात्रा लेखनको इतिहासमा महŒवपूर्ण रहेका छन् । हाइकु साहित्यसँग विश्व इतिहास अझ हाम्रो समाज परिचित भएको धेरै नभइसकेको बला हाइकु साहित्य र जापानसँंग मात्र हैन हाइकु सम्राट स्वयम माचुओ बासोको सङ्ग्रहालयमा पु¥याएर लेखकले दाइबुचुमार्फत हाइकु सम्बन्धमा धेरै जानकारी प्रदान गरेका छन् । माचुओ बासोको सङ्ग्रहालयको विस्तृत विवरण हेर्दा हामी पनि लेखकले जस्तै आफ्नै मुुलुक एवं आफ्ना विभूति साहित्यकार सम्झिन पुग्छौँ । भानुभक्त, देवकोटा, सम, पौड्याल जस्ताको त्यस्तै सङ्ग्राहलय या अजायवघर हेर्न मन आशावादी हुन्छ । असङ्ख्य मन्दिर निर्माण गर्ने व्यवस्थाले किन यस्ता विभूति संझिन नसकेको होला प्रश्न उठ्छ । जापानी हाइकु इतिहास मा एउटा युगैलाई बासो युग भने जस्तो हाम्रो भानुभक्त युग भयो कि भएन होला ? हाइकु सम्राट्को सङ्ग्रहालय, हाइकुपाथ अनि बुद्ध मन्दिरहरूमा ढुङ्गा ढुङ्गामा हाइकु कुदिएको जानकारीसहित जापानमा हाइकुको स्थान बारे यो पुस्तकले गहिरो ज्ञान दिएको छ । दसवटा हाइकु सिर्जना गरेर लेखकले हाइकु सम्राट्प्रति सही अर्थमा कृतज्ञता ज्ञापन गरेका छन् ।

‘हाइगाको हाँगा’मार्फत जापानको अभिन्न साहित्यिक विधा हाइकु र चित्रको समागममा सिर्जित हाइगासँग पनि हामी परिचित हुन्छौँ । नेपाली साहित्यमा कुनै चर्चामा नरहेको ‘हाइगा’ रोचक अनि नौलो लाग्छ । लेखक हाइगा प्रदर्शनीकै प्रत्यक्षदर्र्शी हुनु पाठकले यस विधाप्रति परिचित हुने अमूल्य मौका पाउनु हो । शब्द चित्र अर्थात् तस्बिर र त्यसबारे कविता हाम्रै साहित्य इतिहासमा पनि नभेट्टिने त हैन । तर अक्षर गनेर तयार गरिएको हाइकुले एउटा चित्रको वर्णन गर्ने अनि यस्तो अवधारणाको बेग्लै नाम पाउनु चाहिँ अनौठै लाग्छ । लेखकको भावनात्मक एवं विस्तृत विवरणसँगै हामी प्रदर्शनीमा पुग्छौँ

सामाजिक

दाइबुचुका विभिन्न निबन्धमार्फत जापानी समाजसँंग पनि हामी धेरै नजिकबाट परिचित हुने मौका पाउँछौँ । कुनै धार्मिक स्थलमा जानु अघिको तयारी, विभिन्न अन्धविश्वासहरूको प्रत्यक्षदर्शी हुँदै त्यहाँका सामाजिक अरू धेरै कुनाकाप्चा चहार्न पुगिन्छ ।

‘ओन्सेनमा नाङ्गानाङ्गै’मा निर्वस्त्र स्नान गर्ने आफ्नो रोचक अनुभवको सजीव वर्णनसँगै लेखकले त्यस परिपाटीको पृष्ठभूमिमा सामाजिक विश्वास अनि वैज्ञानिकतासमेतको विश्लेषण गरेका छन् । आधुनिक सउना बाथ जस्तो फेसनको रूपमा नभएर आफ्नै अर्थ र इतिहास बोकेको त्यो प्रचलन वास्तवमा नै रोमान्चकारी लाग्छ । आफू अभ्यस्त भएको मान्यता भन्दा बेग्लै आफूले अनुभूत गरेका सबै प्रसङ्गभन्दा नौलो परिपाटीमा सजिलै सहभागी बनेर लेखकले ‘रोममा भएको बेला…’ उखानलाई आत्मसात् गरेको देखिन्छ । यसबाट हामी पाठक पनि त्यहाँ पुगेर निर्वस्त्र भएर तातो पानीको स्टीम रुममा भित्रिन्छौँ । चिसो पानीमा चोपलिएर शरीरमा नुन दलेर ढुङ्गामा सेकिन समेत पुग्छौँ । लेखकसँगै हामी पनि केही सङ्कोचवश त्यो अनौठो अनुभव गर्छौं । नाङ्गो शरीरलाई कस्तो रूपमा लिने भन्ने पनि सन्दर्भ अनुसार फरक पर्छ भन्दै लेखकले जापानमा वर्षेनी लाग्ने ‘लिङ्ग जात्रा’को समेत उल्लेख गरेको छन् । केही दिन जापान भ्रमण गरेर भेउ पाउन नसक्ने सामाजिक कन्तुरभित्र लेखक पसेको उदाहरण हो यो नियात्रा ।

जापानमा बिरालाको लोकप्रियताको बारेमा हामीलाई जानकारी मात्र नदिएर लेखकले बिरालासँग भेट गराउन ‘क्याट क्याफे’मा नै पु¥याएका छन् । कुकुर बिराला लोकप्रिय पाल्तु जनावर भनेर थाहा पाउनु जति स्वाभाविक भए पनि बिरालोसँग खेल्न जाने, बिरालासँग सङ्गत गर्ने गरी बिरालाकै क्याफेबारे सबैले थाहा पाएको हुँदैन । ‘क्याट क्याफेमा बिरालीसँग आँखा जुध्दा’ शीर्षकमा बिराला भेट्न जाने क्याफेमा लेखकसँगै पुग्छौँ । यो शीर्षकमार्फत जापानमा घट्तो जनसङ्ख्या अनि बढ्दो आयु  सम्भाव्यता  अर्थात्  लाइफ एक्सपेक्टेन्सीले गर्दा एक्ला अनि निरास मान्छेहरूको सङ्ख्या बढ्न थालेको तथ्य पनि थाहा पाइन्छ । हुन त बिराला अत्यन्त प्रिय मान्ने मुलुकमा एक्लोपन हटाउनकै लागि मात्र क्याट क्याफे गएको नहुन पनि सक्छ । तर एक्ला मान्छेको लागि यस्तो अवसरले सुनमा सुगन्ध नै थप्ला । क्याट आइल्यान्डमा मान्छे भन्दा बिरालाको सङ्ख्या धेरै हामीले कल्पना पनि गर्न सक्ने थिएनौँ । हामीले गाईलाई जस्तै जापानमा बिरालालाई पूजा पनि गर्छन् । उक्त नियात्रा नपढेको भए टोकियोमा बिरालाको मन्दिर छ भन्ने कुरा थाहा पाउने थिएनौँ । क्याटलग हेरेर आफूलाई मनपर्ने बिरालासँग भेटघाट गर्न पाउने जापानी सामाजिक पक्ष हामीले यसै पुस्तकको माध्यमबाट थाहा पायौँ । त्यस्तै स्वामीभक्त कुकुर हाचिकोबारे पनि हामीले थाहा पायौँ । लेखकको उदार कलमले नै हामीलाई घरैबसी बसी जापानी समाजसँग भेट गराउँछ ।

तिघ्रामा  विज्ञापन  गर्नेदेखि जापानीहरूको अमेरिकाप्रतिको आसक्ति आदि जानकारी थाहा पाउँदा जापानी समाजसँंग अझ भिज्न पुग्छौँ । धेरैले देखेको कुकी, क्यान्डी अनि चिप्स जस्तो स्यान्कस्हरू र कोल्ड ड्रिन्क मात्र झर्ने भेन्डिङ मेसिनसँग परिचित हामी धेरैले त्योभन्दा बेग्लै तातो ह्यामवर्गर, ट्वाईलेट पेपर, ब्याटरी, टाई, अन्डरवेरदेखि छातासम्म कुनै पनि बेला किन्न सकिने भेन्डिङ मेसिन पनि देख्न पुग्छौँ । विकसित मुलुकका सबै सम्पन्न हुन्छन् भन्ने सामान्य मान्यताको विपरीत जापानको सडकमा भेट्टिएका घरबारविहीन मान्छेले हामीलाई अचम्मित वनाउँछ । हुन त अमेरिका पनि त्यसको अपवाद त छैन । तर यहाँ आएरै नदेखुन्जेल यो तथ्य सबैले थाहा पाएका हुँदैनन् ।

झुक्किएर बुक गरेको ‘होटेल लीज’मा लेखक एवं उहाँको टिम वास बस्न नपुगेको भए जापानमा ‘लभ होटेल’ अर्थात् प्रेमीप्रेमिकाका लागि या पतिपत्नीका लागि भनेर प्रणयमुखी छुट्टै होटेल हुंँदो रहेछ भन्ने थाहा हुने थिएन । त्यस्तै होटेलहरू स्वचालित हुने अनि कर्मचारी भए पनि उनीहरूले आफ्नो अनुहार छोपेर ग्राहकको सेवा पु¥याउनु कति समझदारीपूर्ण र मर्यादित भयो । गोपनीयताको कस्तो राम्रो उदाहरण ।

ऐतिहासिक

दाइबुचुभित्र छिरेपछि हामी जापानको ऐेतिहासिक पक्षसँग पनि नजीकबाट भेट गर्न पाउँछौँ । प्रायजसो सबै शीर्षक भित्र कुनै न कुनै रूपले जापानको इतिहास समेटिएको छ । पहिलो निबन्ध ‘सम्राटको आत्मा दर्शन’ले धार्मिक विश्वासको परिचर्चा गरे पनि सम्राट मेईजी एवं महारानी शोकेनको आत्माको सन्दर्भ भएकोले यसमा इतिहास छ । सम्राट र महारानीको आत्माको दर्शन गर्दागर्दै सैनिक शासनबाट आफ्नो हातमा शासन लिएर जापानलाई विश्वसँग परिचय गराउनेदेखि ती मुलुकहरूसँग मैत्री सम्वन्ध राखी जापानलाई विश्वको अग्रणी मुलुकहरूमा उभ्याउने मेईजीबारे धेरै कुरा थाहा पाउँछौ । मेईजी कालमा राजधर्म रहेको सिन्तो धर्मलाई इतिहासबाट अलग्याउनै मिल्दैन ।

‘युद्धपोतलाई गुलाफ’मा उन्नाईसौँ शताब्दीको आरम्भमा रसिया–जापान युद्धमा प्रयोग गरिएको युद्धपोतको परिचय पाइन्छ । युद्धपोतलाई शिक्षाप्रद म्युजियमको रूपमा परिणत गरे पनि कुरिल टापुको विवादले अझै पनि सम्भावित युद्धको वादल जापानी आकाशबाट हटिसकेको छैन अरे । त्यहाँको मिकाशा पार्कको अतीत पनि वर्तमान भन्दा विपरीत रहेछ ।

अगस्ट ६, सन् १९४५, ८ः१५ बिहान । यो मिति देख्ने बित्तिकै हामी पनि लेखक सँगै  हिरोसिमामा  रुन  पुग्छौँ । महŒवाकाङ्क्षाको होडबाजीको सिकार हुन पुगेका झन्डै एक लाख निर्दोष जीवनलाई निमेषमै खरानी बनाउने आणविक प्रहारका समाचार इतिहासले भनिसकेको भए पनि दाइबुचुको अध्ययनमार्फत भने ती हराएका जीवन अङ्क हैन अनुहार बनेर हाम्रो हृदयभित्र पस्छन् । ती क्षतविक्षत अनुहारहरू सोझै हाम्रो मुटु छेड्न पुग्छन् । लेखकसागै हाम्रा पनि आँखा भिज्न थाल्छन् । मानव सभ्यताको सबैभन्दा बृहत् आविष्कारले ती नै मानवजातीकै विध्वंस गरेको यथार्थ आफैमा विरोधाभास छ । कस्तो विडम्बना ! ‘हिरोसीमामा बम खस्यो, यति मान्छेको जीवन सकियो’ समाचारले यति मात्रै भन्न भ्याए पनि समाचारले भन्न नसकेको अनि भन्न योग्य नठानेका मानवीय वेदना, पीडा अनि आर्तनादका कथाको छेउ पुग्दा इतिहासको यो अध्याय नै संशोधित हुन्छ । पिडाले टुक्रिएको हाम्रो हृदय पनि ‘सादाको’को लागि कागजको ‘ओरोगामी सारस’ बनाएर उडाउन इच्छुक हुन्छ । उनको आत्मासम्म कागजको सारस नपुगे पनि एक हजार सारसमार्फत हामी फेरि यस्तो बीभत्स र क्रूर घटनाको इतिहास नदोहोरियोस्  भनी  कामना  गर्र्छौं  । म्युजियमभित्रका क्षतविक्षत मार्मिक चित्रले आणविक आक्रमणको त्यो घटनालाई मात्र ताजा गराउँदैन, घाइते र पीडितको क्रन्दन एवं आर्तनादसमेत हाम्रो कानमा गुन्जिन्छ ।

दाइबुचु यात्रा लेखनको इतिहासको भवनमा थपिएको सबैभन्दा प्रस्ट इँटा भएको तथ्यलाई हामी पाठकले स्वीकार गर्नै पर्छ ।

‘हामी जहाँ जान्छौँ कुनै न कुनै प्रकारले त्यो अनुभव हाम्रो अभिन्न हिस्सा हुन पुग्छ ।” प्रसिद्ध लेखिका अनिता देसाईको यो भनाई जस्तै जापान भ्रमण दाइबुचुका लेखकको जीवनको अभिन्न हिस्सा हुन पुगेको छ । यो पुस्तक पढ्ने पाठक पुस्तकको अभिन्न हिस्सा हुन पुगेका छौँ । परदेश भित्रको सबै अनुभवलाई आफ्नो मुलुकसँग तुलना गर्दै लेखक नेपाली पाठकहरूको हृदयसम्म पुग्न सफल भएका छन् । जापानको आफ्नो छोटो भ्रमणमा लेखकसँगै पाठकहरू पनि जापान घुम्न पुगेका छन् । साहित्यिक निखार, जानकारी मुलक एवं भावनात्मक अभिव्यक्तिको समिश्रण दाइबुचुले नेपाली साहित्यको नियात्रा लेखनको इतिहासलाई एक खुड्किलो माथि उठाएको छ ।

अमेरिका

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments