“यो त क्या मुलुकी खाना ?”

“हो ! हाम्रो रगत चुक्ता गर्ने ठाउँ !”

लाइन बसिरहेका दुई बबुरा जनहरू वार्ता गरिरहेका थिए । उनीहरूलाई रगत बापतको शुल्क तिर्न खास कठिन थिएन । बरु रेकर्डमा चढाएर बुझाएको प्रमाण लिन हम्मे हम्मे थियो ।

“जीवन लाल को हो ?”

“हजुर मै हो जीवनलाल !”

खचाखच कार्यालयको भीडमा डकुमेण्टको क्लेरेन्स कुरिरहेको जीवनलालले हात उठायो ।

“तपाईंको  रेकर्ड  कार्यालयमा पाइएन । हाकिमलाई माथि गएर भन्नोस् !”

“पन्द्र वर्षदेखि रेकर्ड ठीक थियो हजुर ! रेकर्ड कहाँ हरायो त ?”

“तपाईंलाई थाहा छैन ? यो आन्तरिक कुरा !”

“अहँ थाहा छैन । थाहा दिनुप¥यो नि के भएको हो भन्ने कुरा !”

“उफ् ! आन्तरिक कोठा सरेको सबै भताभुङ्ग छ, के भन्ने अब ?”

हाकिमको टेबल अगाडि पुगेको जीवनलाल आफ्नो रेकर्ड नपाएको गुनासो गरिरहेको थियो । हाकिम घुम्ने मेचमा बसेर झुलनामाझैँ सजिएको मेचमा झुलेर मोबाइलमा व्यस्त देखिन्थे । बेलाबेलामा उनको बोलीको आसयमा कुनै सुन्दरीसँग प्रेमालाप वार्ता गरेको झैँ लाग्दथ्यो । जीवनलालको धेरै अनुरोधपछि उनले यसो आँखा लोलाएझैँ गरेर जीवनलालको तर्फ फर्केर भने ।

“के हो तपाईंको ?”

“हजुर मेरो रेकर्ड छैन रे ! पोहोरसम्म यही थियो तर यसपालि तलको सरले भनेको हरायो रे !”

उनले एकछिन आलटाल गरे । टेबलमा रहेको घन्टी थिचे । तर समय निकै घर्किसकेको थियो । घन्टीको आवाज सुनेर पनि कोही हाकिमको छेउमा आएनन् । जीवनलाल तलको सरलाई पर्खेर हाकिमको अगाडि कुरिरह्यो । जीवनलाल आफ्नो काम आजै सक्नैपर्ने बाध्यताले उसले हाकिमसँग खासखुसमा गोप्य कुरा खोल्यो । हाकिम ट्वाइलेटभित्र पसेर बाहिर निस्कँदै गर्दा मोबाइलमा कुरा सकिएको थिएन । उनले जीवनलाललाई सोधे ।

“टोकन लिएको छ ?”

“लौ खा त्यो छैन !”

एकछिनपछि माथि उक्लेको क्लेरेन्स रेकर्ड फाइल र टोकनसँगै हातमा लिएर तलको सरले अगाडि उभिएर भने ।

“पहिले नै टोकन मिलाउनु पर्दैन त सर ? सङ्केत गरेको भए दस मिनेटमा कामै सकिन्थ्यो । उँम जीवन सर, तपाईं पनि कति सोझो !”

त्यसपछि जीवनलालले आफ्नो रगतको शुल्क राज्यलाई करका रूपमा बुझाए । आज उनलाई मनमा लागेको छ ।

“टोकनका कारण भ्रष्टाचार उन्मुलन सकियो !”

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments