नङ्ग्रीलाई आफ्नो मामाघरको सम्झना आइरहन्छ । ऊ सानी हुँदा उनीहरू पनि मामाघर नजिकैको एउटा ठूलो रूखको हाँगोमा लाटो कोसेरो बस्ती भएको ठाउँमा बस्दथे । उनीहरूको गुँडघर रूखको टुप्पोमा थियो । त्यहाँ अरू धेरै उनीहरू जस्तै लाटोकोसेरोले पनि गुँड लगाएर बसेका थिए । उनीहरू दिनभरि आफ्नो गुँडमा मस्तसँग सुत्दथे अनि राति ठिक त्यसको उल्टो चारा खोज्न जान्थे । उनीहरूको जाति अरू चराहरूभन्दा भिन्न खालको थियो किनभने त्यो जातिले राति आँखा देख्दैन । त्यसैले अरूको दिन उनीहरूको रात, अरू चराको रात उनीहरूको दिन हुन्छ ।

नङ्ग्रीलाई सम्झना छ उसको मामाघर ठूलो सेतो घरभित्रको बगैँचाको छेउमा भएका धेरै रूखहरूमध्येको एउटा रूखमा थियो । त्यो ठूलो सेतो घरलाई उसले “दरबार” भनेको सुनेकी थिई । त्यो दरबारमा असल जातका धेरै रूखहरू थिए । ती रूखहरू मोटा र अग्ला थिए । कोही भने होचा र झ्याम्म परेमा पनि थिए । त्यहाँ फलफूल र फूलबिरुवाका पनि अनेक थरी बोट थिए । राति सबै प्राणी जातिले विश्राम गरेपछि वातावरण शान्त हुन्थ्यो । त्यस्तो बेला ती लाटोकोसेरो जाति भने उठेर दरबारको बगैँचा घुम्थे । त्यहाँ भएका अनेकथरी फलफूलहरू रोजीरोजीकन ठुङ्थे ।

नङ्ग्रीको परिवार र अरू पनि थुप्रै उनीहरूका टोल छिमेकीहरू त्यहाँबाट बसाइँ सरेको पनि धेरै भइसकेको छ । त्यसबेला ऊ सानीचरी थिई । तर अहिले उसको पनि आफ्नै धेरै बचेराहरू हुर्केर स्वतन्त्र भैसके ।

ऊ सानी हुँदा एकदिन मध्यरातमा उसको निद्रा खुल्यो । त्यसबेला उसले तल सडकमा मोटरका ताँती देखी । बाटो हिँड्ने मान्छेको पनि सडकमा त्यतिकै लर्को थियो । त्यसबेला उनीहरूको मध्यरात भए पनि मान्छे जातिको भने मध्यदिन थियो । त्यो देखेर नङ्ग्रीलाई “के होला यस्तो” भनेर अचम्म र डर लाग्यो । भोलिपल्ट उसले आफ्नी आमासँग त्यो कुरा भन्दा पो त्यसबेला मान्छे जातिको दिँउसो हुन्छ भन्ने कुरा थाहा पाई ।

केही समयपछि नङ्ग्रीको परिवार त्यहाँबाट बसाइँ सरे । बसाइँ सर्ने बेलामा नङ्ग्रीका बुबाले आफन्तहरूसँग “अब यहाँ बस्नु ठिक छैन । मान्छे जातिको चाप बढ्दै गएर यहाँका रूखहरू काटिँदै छन् । यहाँ बस्नाले हाम्रो वंश नै मासिने सम्भावना छ । यहाँको वातावरण पनि हामी बस्न नसक्ने हुँदै छ । त्यसैले ससुराज्यू, जेठानज्यू, अनि आत्मीय छिमेकीज्यूहरू सबै मिलेर अन्त कतै बस्न जाउँ” भन्यो । तर उनीहरूले “आफ्ना पिता–पुर्खाको ठाउँ छोडेर कतै नजाने” भनेपछि उनीहरू कोही अन्तै बसाइँँ सर्न गएनन् । नभन्दै नङ्ग्रीहरूले छोडेपछि त्यो ठाउँका ठूला रूखहरू सबै काटिए ।

नङ्ग्रीलाई पुरानो थलोको सम्झनाले बारम्बार घचघचाउँथ्यो । आफ्नो पुरानो थलो हेर्ने इच्छा आइरहन्थ्यो । अब त ऊ पाकी चरी भैसकेकी थिई । एकदिन उसले आफ्नो भालेलाई “हिँड हामी एकपटक पुरानो थलोतिर घुम्न जाउँ ?” भनी । भाले लाटोकोसेरोलाई पनि पुरानो थलोको याद बेलामौकामा आइरहन्थ्यो । उसलाई पनि त्यहाँ भएका आफ्ना परिवार इष्टमित्रलाई भेट्न मन लागेको थियो । त्यसैले उसले “हुन्छ” भन्यो ।

भोलिपल्ट बिहान सखारै उनीहरू साथीभाइ भेट्न भनेर पुरानो थलोतिर उडे । बाटो छल्लिँदै, पत्ता लगाउँदै गरेर बल्लतल्ल केही दिनपछि त्यहाँ पुगे । त्यो ठाउँ अर्कै जस्तो भैसकेको थियो । सबैभन्दा अग्लो र बूढो रूख जहाँ नङ्ग्रीका बाबुआमा बस्दथे त्यो पनि सुकिसकेको थियो । त्यहाँ पातला केही पुराना, ढल्ने बेला भएका रूख मात्र बाँकी थिए । त्यस्तो बाक्लो, लोभलाग्दो, जङ्गल जस्तो ठाउँमा केही थिएन । हरियालीको सट्टा अग्ला घरहरू मात्र थिए । पहिले त त्यहाँ सुगा–मैना, मयूर, हरिण जस्ता पशुपंक्षी रमाएर, चरेर बस्थे । आफ्नो पुरानो थलोको त्यो बिजोग देख्दा नङ्ग्रीको आँखा रसायो । उसले आफ्नो भालेलाई “यस्तो सुख्खा बन्जर जस्तो ठाउँमा बस्नुभन्दा त आफ्नै हरियो जंङ्गल रमाइलो । हिँड जतिसक्दो चाँडो यहाँबाट फर्किउँ” भन्दै पखेंटा फड्काउँदै त्यहाँबाट आफ्नो बस्तीतिर फर्किए ।

मो. ९८४१२८६८५८

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments