समाज र व्यक्ति उत्थानका लागि सदा कार्यमा लाग्ने र आफ्नो जीवन सार्थक बनाउन सदा चिन्तनशील रहनेहरू साँचो अर्थमा तपस्वी हुन् । हुन त तपस्वी शब्दलाई विभिन्न कोण र अर्थबाट बुझ्ने गरिन्छ तर जीवन उत्थानका लागि आफ्नो जीवन लगाउनेहरू नै तपस्वी हुन । अझ सार्थक अर्थमा भन्ने हो भने कुनै कार्यसिद्धिका लागि तपस्या गर्नेहरूलाई तपस्वी भन्दा अझ वेश हुन्छ । तपस्यालाई मानसिक शुद्धि गर्नका लागि एकचित्त भएर नियमपूर्वक गरिने कठिन कार्यका रूपमा बुझ्ने गरिन्छ । मानसिक शुद्धि जीवनको उज्यालो भेटने पहिलो खुट्किलो हो । जीवनको उज्यालो सबै सबैले देख्न वा भेट्न सक्दैनन् । जसले जीवनमा कडाश्रम गर्न जान्दछन् जो तपका माध्ययबाट आफ्नो र अरूको जीवनको लीलाअगाडि बढाउन चाहन्छन् । साँचो अर्थमा तप त्यही हो । त्यही तपको मर्म जान्ने र बुझ्ने अनि जीवन बदल्नका लागि तत्पर रहनेहरूले जीवनको सार्थकता पाउन सक्छन् । त्यही सार्थकतालाई जीवनको उज्यालो भनिन्छ । मानिस धरतीमा जन्मिँदा उज्यालो पाउन सक्छ्यौँ, उज्यालो बाह्य उज्यालो हो । यसले बाह्य अथवा आवरणका वस्तु मात्र देखाउँछ । भित्रका वस्तु देख्नका लागि वा हेर्नका लागि भित्री उज्यालो देखेको वा त्यो दिशातर्फ उन्मुख भएको हुनु पर्दछ । भित्रको उज्यालो तपस्याले मात्र देख्न सकिन्छ । तपस्या भन्ने बित्तिकै हामीलाई छुट्टै कुरा हो जस्तो लाग्न सक्छ । कसैलाई त दैवीशक्ति नै हो भन्ने पनि लाग्न सक्छ । कुरा स्वाभाविक हो । जसले तपस्या वा तपस्वीका बारेमा सोधखोज गरेको छैन त्यस्ता व्यक्तिहरूकालागि तप भन्ने कुरा अलौकिक शक्तिबाट मात्र प्राप्त हुन्छ भन्ने लाग्नु स्वाभाविक हो । तर साँचो अर्थमा कुरा त्यसो होइन । तप भनेको कडा मेहनत हो र इमानदारिता अनि लगनशीलता हो । कडा मेहनत गर्नेलाई तपस्वी भनिएको हो । जीवन सार्थक बनाउनका लागि एक पक्षबाट मात्र हुन्छ भन्ने होइन । यो विभिन्न तरिका र कोणबाट सार्थक बनाउन सकिन्छ । कुनै पनि सत्कर्म गर्ने र त्यसबाट अधिकभन्दा अधिक नागरिकहरूलाई लाभ हुने काम गर्नु पनि तपस्या हो । यस्ता खालका तपको बारेमा जान्न चाहनेहरूले आफूसँगै अरूलाई पनि देख्न सक्नुपर्दछ । अरूलाई देख्न नसक्नेहरूले तपको बारेमा जान्ने चेष्टा गरेर मात्र पनि हुँदैन ।

के हो अरूलाई देख्नु भनेको ? जसरी तप कडा मेहनत वा श्रम हो भनेर हामीले जान्दछौँ वा इमानदारिता र लगनशीलताबाट प्राप्त हुन्छ भन्यौँ । त्यस्तै व्यक्तिगत धारणाबाट अगाडि बढेर सामुहिक धारणा बनाउनु वा सामाजिक कार्यमा लाग्ने चेतनाको विकास हुनु नै अरूलाई देख्नु हो । जसले अरूलाई देख्न सक्छ त्यही महान् हो । त्यसैलाई तपस्वी भनिन्छ । हामीकहाँ यतिबेला मानिसमा अन्तरनिहित क्षमता र दक्षता केलाउने प्रवृति विनाश भएर गएको छ । खाली आफूलाई मात्र देख्ने । जसले आफूलाई मात्र देख्दछ त्यस्तै व्यक्तिले “मै खाउँ मैलाउँ अरू सब मरून् दुर्बलहरू” भन्ने गर्दछन् । आफूलाई मात्र ठूलो देख्ने र आफू मात्र यो दुनियाँको जानकार भन्नेहरूले अरूलाई कसरी देख्न सक्छन् ? राम्रो पनि आफै, ज्ञानी पनि आफै, जान्ने पनि आफै यो सब आफै भन्नेहरूले अरूलाई कसरी देख्न सक्छन् ? अरूलाई देख्न नसक्नेहरू तपस्वी बन्न वा हुन सक्दैनन् । अरूलाई देख्नुको अर्काे अर्थ हो अरूको सम्मान गर्नु, समाज वा राज्यको कुनै क्षेत्रमा राम्रो योगदान पु¥याउनु सबै भन्दा सार्थक कार्य हो । यस्ता कार्यगर्नका लागि तपको आवश्यक्ता पर्दछ । तप भनेको त्याग हो । त्याग विना न अरूको सम्मान हुन्छ न सिद्धि प्राप्त हुन्छ । अरूको सम्मान गर्नका लागि पहिले तपको ज्ञान हुन आवश्यक छ । तपको ज्ञान नभएकाहरूले अरूको भलोको कुरा पनि गर्न सक्दैनन अनि अरूलाई देख्न पनि सक्दैनन । तपस्वीहरूले आफूलाई सेवकको रूपमा देख्छन् भने अरूलाई सहकर्मी वा सहयात्रीको रूपमा देख्ने गर्दछन् । अरूलाई दास देख्ने र आफूलाई मालिक देख्नेहरूको मनमा तपको अंश पाउन सकिएला ? यो कदापि सम्भव छैन । कडा मेहनत भनेको ठूलो भारी बोक्नु होइन । दिनभर काममा जोतिनु पनि होइन । कडा मेहनत यस्तो हो जसले शारीरिक श्रमका साथमा दिल र दिमागका माध्यमबाट कुनै दीर्घकालीन योजना वा कार्यक्रम बनाउन सकिन्छ यसैबाट आफ्नो इमान देखाउन सकिन्छ र श्रमलाई कडा पार्न सकिन्छ । त्यसबाट जीवनको सार्थक परिणाम निकाल्न सकिन्छ ता कि यही कामबाट अरूलाई पनि देख्न सकियोस् । आफूले प्राप्त गरेको ज्ञानबाट अरूले पनि सुविधा प्राप्त गर्न सकून् भन्ने पवित्र धारणा राख्नु जीवनको एउटा सार्थक लक्ष हो । त्यही नै जीवनको उज्यालो पक्ष हो । यस्ता कुराहरूलाई हरेकले मनन् गर्न आवश्यक छ ।

जीवनलाई उज्यालोमा लैजान चाहनेहरूले आफूलाई कर्तव्यनिष्ट बनाउन सक्नुपर्दछ । इमानदारिताको मार्गमा हिँडाउन सक्नुपर्दछ । इमानदार लगनशील र उच्च विचार नभई जीवनमा उज्यालो पाउन सकिदैन । समाज र राज्यको हितका खातिर सोच्नु र केही कार्ययोजना बनाउनु र अरूलाई पनि त्यसबाट प्रभावित बनाउनु नै जीवनको सार्थकता हो ।

व्यक्ति, परिवार, समाज र देशको भलाइका लागि केही गर्न चाहने र गरेर देखाउनेहरू सबै तपस्वीको कोटीमा पर्दछन् । हरेक मानिससँग राम्रा र नराम्रा पक्षहरू हुन्छन् । नराम्रा पक्षहरूलाई कमजोर पार्दै र पर्गेल्दै लैजाने अनि राम्रा पक्षलाई अङ्गीकार गर्दै जानेहरू सबै यही कोटीमा पर्दछन् । समाज उपयोगी कार्यका लागि उसको केही लगानी हुन्छ त्यही लगानी उसको मूल्याङ्कनको कडी हो । समाजसेवा गर्न तम्सने र राजनीति गर्न तम्सनेहरूको सङ्ख्याको हामीकहाँ कमी छैन । आफूलाई समाजसेवी भन्न रुचाउनेहरू हाम्रो समाजमा निकै छन् तर उनीहरूले गरेको समाजसेवा कति भरपर्दो छ ? उनीहरू कति विश्वास गर्न लायकका छन् । उनीहरूको कार्ययोजनाले घर परिवार, समाज र राज्यलाई के कति फाइदा पुगेको छ भन्ने कुराबाट उसको योगदानलाई जाँच्न सकिन्छ । आफूले आफूलाई उच्चकोटीको मान्नेहरूको सङ्ख्या हामी कहाँ कमी छैन । तुलनात्मक रूपमा यस्ता व्यक्तिहरूको सङ्ख्या अझ बढी देखिन्छ । दिलैदेखि आफूलाई उचाइमा लैजानेहरूको त्यो त्यागको सराहना गर्नु पर्दछ । सबै राजनीतिज्ञहरू चोखा मनका छैनन् । यो त सबैलाई लागेको कुरा हो । जिउँदै इँटाभट्टामा जलाउनेहरू पनि त राजनीति गर्ने र राज्य सञ्चालन गर्ने भित्र देखिए । यसबाट अहिलेको राजनीतिमा लागेका र हिजोको निष्ठाको राजनीतिमा लागेकाहरूमा मात्राको हिसावले निकै फरक छ । यस्ता कुराहरू हरक्षण उठाउन जरुरी छ । जो हिजोको कठिन घडीमा पनि आफूलाई धैर्यतामा राखेर देश र जनताका लागि जीवन अर्पण गरे उनीहरू साँच्चिकैका तपस्वी हुन् भन्न सकिन्छ । उनीहरूले आफ्नो परिवार भनेनन्, सम्पत्ति भनेनन् । जागिर भनेनन् । त्यति मात्र हो र आफ्नो ज्यानलाई समेत बाजी थापेर राजनीतिमा लागेका हुन् । सबै कुरा त्यागेर देश र जनताको सेवा गर्नेहरूलाई तपस्वी नभनेर के भन्ने ? आज यो पङ्क्ति लेखिरहँदासम्म उहाँहरूमा पहिलेको त्यो त्याग तपस्याको अंश बाँकी छ कि छैन ? यो बेग्लै विषय र वहस हुन सक्ला तर एक समयमा सबै त्यागेर राष्ट्र उन्नतिका लागि जीवन अर्पण गरेको त हो नि ! त्यो लगनीलाई बिर्सन हुँदैन र अपमान गर्न पनि हुँदैन । देश र जनताको हितका खातिर समर्पित भएर लाग्नेक्रममा कतिको ज्यान समेत गुमाएको इतिहास हामीसँग ताजै छ भने हिजोको त्यो त्यागको सम्मान त कतै न कतै कहीं न कही हुन आवश्यक छ ।

दायाँ बायाँ नसोंची आफूलाई देश हितमा लागाउने धेरै बहादुरहरूमध्ये यतिबेला निकै चर्चामा आएका राष्ट्रसेवक कुलमान घिसिङ उदाहरणीय व्यक्ति हुन् । उनी जस्तै अन्य पनि छन् तर उनले यो मुलुक उज्यालो बनाउन जुन त्याग गरेर आफूलाई ऊर्जाक्षेत्रमा समर्पित गरे यो उनको तपस्या उच्च कोटीको छ । उनलाई हरेकले स्यालुट गर्नु पर्दछ । म पनि यसै आलेखका माध्यमबाट साहसी पुरुष कुलमान घिसिङलाई स्यालुट गर्न चाहन्छु । उनको त्याग तपस्याले आज मुलुक लामो अन्धकारबाट उज्यालोमा प्रवेश गरेको छ । उनले मुलुकलाई उज्यालो पार्ने प्रयास गरे त्यसको साथमा उनले आफ्नो जीवनलाई पनि उज्यालो बनाएका छन् । यो हो त्याग तपस्या र बलिदानको सार्थकता । कुलमान घिसिङले आफ्नो जीवन मात्र उज्यालो बनाएनन् उनले आफ्ना सन्ततिको समेत जीवन उज्यालो बनाएका छन् । उनको त्याग तपस्याले उनका लागि मात्र नभएर भोलिका दिनमा पनि यो मुलुकले उनका सन्तानलाई उस्तै सम्मान दिनुपर्ने छ । यसो गरियो भने मात्र त्याग तपस्याका निम्ति अरूहरूलाई पनि हौसला बढ्ने गर्दछ । आजभोलि समाचारमा फलानो कर्मचारी यति रूपैयाँ घुससहित पक्राउ प¥यो र ढिस्कानोलाई अख्तियारले मुद्दा चलायो भन्ने कुरा जुन सुन्न पाइन्छ । रङ्गेहात घुससहित पक्राउ पर्ने र मुलुकलाई उज्यालो दिने कुलमान घिसिङमा कति फरक छ ? यसको दूरी मैले यहाँ उल्लेख गर्नु पर्दैन । यस्ता खालका उच्च विचार बोकेकाहरूलाई हरेक नागरिक र राज्यले भरपुर सम्मान दिनुपर्दछ । यस्ता तपस्वीको सम्मान गर्न पाउनु पनि जीवनलाई सार्थक बनाउने माध्यम हो । चेतना भया । धन्यवाद !

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments