“सन्चै हुनुहुन्छ दिज्यू ?” आज फेरि ऊ मेरो सन्चो बिसन्चो सोध्दै थियो । आक्कलझुक्कल आउने उसको फोन आठदस दिन जति अगाडि एउटा वैवाहिक कार्यक्रममा भेट भएदेखि एकदिन दुई दिन बिराएर आउन थालेको छ, मलाई लाग्यो पुरानो चिनाजानको मान्छे हो, साह्रै गुनिलो रहेछ बिचरा ! हामीलाई कैल्यै बिर्संदैन । उसको फोन आउँदा मैले पनि राम्रैसँग बोलेकी हुन्छु । आजभोलि किन यत्ति धेरै सोधिखोजी गरेको होला ? अलि पहिला त उति वास्ता गरेझैँ लाग्दैनथ्यो, मेरो मनमा खुल्दुली उठ्नु स्वभाविक थियो ।

उसको नाम कृष्णप्रसाद शर्मा, मझौला कदकाँठको खबटे गाला परेको गहुँगोरो अन्दाजी ५०।५५ जतिको व्यक्ति, ऊसँग परिचय भएको झन्डै २५।२६ वर्षजति अगाडि होला । मलाई अझै राम्ररी याद छ, उतिबेला सानो छोरो च्यापेर गोरीगोरी दुब्ली श्रीमती अघि लाएर मेरो घर सामुन्ने रहेको छिमेकीको घरभित्र पस्दै थियो । म आफ्नो घरको बार्दलीबाट हेर्दै थिएँ, ऊ आफ्नो सामान बोकेर ल्याउने ठेलावालासँग गल्फत्ती गर्दै थियो । “यतिले पुगेन हजुर ! अघि नै २०० रुपियाँ भनेको अहिले घटाएर दिन त मिलेन नि !”

ठेलावालाको भनाइ काट्दै ऊ भन्दै थियो “यत्ति सामान तीँ परबाट ल्याउन पनि केको दुई सय । ल एक सय पचास लैजाऊ ।”

परबाट श्रीमती बोल्दै थिइन् “दिनुस् न हजुर ! अघिन दिन्छु भनेपछि त दिनै प¥यो नि !”

“तँ पनि बीचमा प्याच्च बोल्छेस् !” यति भन्दै दुई सय रुपियाँ भुइँमा फुत्त फालेर ‘सामान भित्र ल्याउन’ भन्दै भित्र पसेको थियो ।

साँझ परिसकेको थियो । म पनि बार्दलीबाट कोठाभित्र छिरेँ । मनमा लाग्दै थियो कताबाट आए होलान् ? यत्ति ठेलाको सामान कत्ति होला र बिचरा ! ओढ्ने, ओछ्याउने, पकाउने, खाने अनि आफ्ना लुगाफाटा पनि त्यै त होला नि ! सबैलाई काठमाडौँं नै आउन पर्ने ! हामीलाई यत्रो घर भएर पनि नपुगे जस्तो, एउटा सानो कोठामा यी डेरावालाहरू कसरी गुजारा गरेर बस्छन् होला ? उनको ध्यानमा निक्कै समय बितेछ । सानी छोरीले नजिकै आएर भन्न थालिन् “मम्, मेरो होमवर्क सकियो, अब खाना खाने हैन ?”

म आफ्नो दिनचर्यातिर लागेँ ।

भोलिपल्ट बिहान करिब आठ बजेतिर म छोरीलाई स्कुल जाने बसस्टप पु¥याउन निस्केकी थिएँ, तिनै डेरावालकी श्रीमती बाहिर उभिएकी रहिछिन् । हाम्रो चारअाँखा भयो, उनी खिस्स हाँसिन्, म पनि मुस्कुराएँ । “छोरी कता पढ्छिन् दिदी ?”

उनको सोधाइमा मेरी छोरीले हत्तपत्त जवाफ दिइन् “मोडर्न इन्डियन स्कुलमा ।”

तीन कक्षामा पढ्दै गरेकी सात आठ वर्ष जतिकी मेरी छोरी निक्कै चञ्चले थिइन् । उनी अरू गफ गर्ने मनसायले होला जिज्ञासु नजरले हेर्दै थिइन् । छोरीको बस छुट्ला भन्ने डरले म हतारिँदै हिँडेँ । फर्कंदा पनि उनी त्यही उभिरहेकी थिइन् । मैले राम्ररी उनको अनुहार हेरेँ, गोलो परेको फुङ्ग उडेको अनुहार, कलेँटी परेका पातला ओठ, जिङ्रिङ्ग परेको कपाल, सिउँदोमा हल्का सिन्दुर थियो । पातलो शरीरमा बुट्टेदार खुजमुज्ज परेको धोती लगाएकी अन्दाजी २३।२४ जति उमेरकी हुँदिहुन् । उनी अझै मलाई नै हेरिरहेकी थिइन् । सायद केही बोल्न खोज्दै थिइन् तर बोल्न हच्किए जस्तो लाग्यो ।

मैले सहज भावमा सोधेँ “खाना पाक्यो त बैनी ?”

“काँ र दिदी ! उहाँ बिहानै उठेर काममा जानुभयो, खाना बनाउँ भनेको पानीको थोप्पो छैन, कसरी खाना बनाउने ! हिजोको आधा पुरिया बिस्कुट थियो, बाबुले त्यै खायो, पानी खानै पा छैन ।”

“अनि घरबेटीलाई भनिनौ त ?”

मेरो सोधाइमा उनले भनिन् “सबै जना बिहानै निस्कँदा रहेछन्, एउटा केटो रहेछ, बिहानै धारा आउँदा भर्नुपर्छ नत्र त दिनभरि पानी पाइन्न भन्यो । अब उहाँ खाना खान आउने बेला भयो, पकाकै छैन ।”

तिनको अनुहार साह्रै मायालाग्दो थियो । बिचरी पानी नपाएर खाना त के सानो छोराले पिउन पनि पाएको छैन ! “भाँडो लिएर आऊ न त बैनी, म पानी दिन्छु” मैले त्यसो भन्दा उनी दङ्ग पर्दै भित्रतिर छिरेर एउटा बाल्टिन हातमा लिएर मेरो पछिपछि लागिन् ।

त्यसै दिन मैले उनको नालीबेली सोधेकी थिएँ । उनको नाम गङ्गा अनि उनको पतिको नाम कृष्ण, बिहे भएको पाँच वर्ष भएछ । तीन वर्षको छोरा निमेश, घर गोरखा, पति स्कुले मास्टर रहेछन् । उनी पानी लिएर गइन् । सायद खाना बनाएर खाए होलान् ।

भोलिपल्ट शनिबार थियो, स्कुल जान नपर्ने भएपछि छोराछोरीहरू “फुक्या राँगो” जस्तो । घरलाई रणमैदानझैँ बनाएर बिहानैदेखि कुदाकुद गर्न थाल्थे । अझ उनलाई खेल्नकै लागि भनेर उनकै उमेर हाराहारीकी एउटी केटी पनि राखेकी थिएँ । हाम्रो घरको हल्लाले होला गङ्गाको छोरा पनि लुसुुक्क माथि उक्लेछ र हाम्रा केटाकेटीसँगै खेल्न थालेछ, मलाई पत्तै भएन । भान्छामा काम गर्दै थिएँ, गङ्गा रुँदै आइपुगिन् “लौ न दिदी ! मेरो छोरा कता हरायो कता । संसार खोजिसकेँ, कतै छैन ।”

“काँ जान्छ र बैनी ! यतै त होला नि !” पछिपछि उनका पति पनि आएका रहेछन् । मैले सान्त्वना दिँदै उनलाई सम्झाएर बैठक कोठाभित्र लगेँ, “यी यो त यही पो रहेछ दिदी !”

“मलाई पनि थाहै भएन बैनी ! कुनबेला आएछ, साथी खोज्दै आयो होला नि ।”

त्यस दिनदेखि उनको र हाम्रो आओत जाओत भएको थियो । आक्कलझुक्कल बाहेक मलाई उनको कोठामा जान आवश्यक थिएन । सबैजना आआफ्ना काममा हिँडेपछि दिनभर म एक्लै हुन्थेँ । गङ्गा मेरी साथी बनिन् । बजार जान, घरायसी सामान किनमेलमा हामी दुबै निस्कन्थ्यौँ । शनिबार सधैँजसो उनीहरू नै हामीकहाँ आउँथे । कृष्ण निक्कै फरासिलो मान्छे थियो । भान्छामा पनि “म गर्छु दिज्यू, मलाई सबैथोक पकाउन आउँछ ।” भन्दै सघाउन पुग्थ्यो । पत्नीतिर देखाउँदै भन्थ्यो “यसले भन्दा मैले मिठो बनाउँछु । नपत्याए सोध्नोस् न उसैलाई !” गङ्गा केही नबोलेर हाँसिराख्थी । मलाई लाग्थ्यो, “यो लोग्ने मान्छेले कसरी जानेछ खाना बनाउन ?” उसको हात यसरी चल्थ्यो कि कुनै तालिमप्राप्त व्यक्तिको भन्दा कम थिएन ।

पतिपत्नी दुबै हामीलाई आदर भावले हेर्थे । आफ्नो अभिभावकको रूपमा मान्थे । सानोतिनो सरसल्लाह माग्नु परे पनि अनि कुनै खुसीको कुरा भए पनि दौडिँदै सुनाउन आइपुग्थे । कृष्ण निक्कै मेहनतिलो देखिथ्यो । बिहानदेखि बेलुकी अबेरसम्म काम गरेको हुन्थ्यो । कहिलेकाहीँ कृष्णको दैनिकी देख्दा दया लागेर आउँथ्यो । मनमनै म विचार गर्थें– कत्ति काम गर्छ यो केटो । सायद मेरै उमेरको होला ! मलाई मेरा दुईवटा बालबच्चा समाल्न नसकेर मान्छे राख्नुपरेको छ । आफ्नो घरायसी काम पनि अर्कैले गर्छ । फेरि पनि भ्याइ नभ्याई भएझैँ हुन्छ । त्यो केटो कति दौडन सक्छ ! पत्नी पनि त आफ्नो घरको काम आफै गर्छिन् नि, बच्चाको स्याहार घरको व्यवस्थापन, पतिका लागि सबै थोकको तर्जुमा उनैले गरेकी हुन्छिन् । कृष्ण त जुरुक्क उठेर बाहिर निस्कन्छ । थालमा भात पस्कनु बीचका यावत कामको जिम्मेदारी सबै गङ्गाको नै थियो । उनको जीवन र दैनिकीसँग म आफ्नो जीवन र मेरो दैनिकी दाँजेर हेर्छु कतै कुनै समानता भेट्दिनँ ।

सबै कुरा त ठिकै थियो तर जुनैबेला पनि हाम्रै घरमा उनको रासोबासोचाहिँ मलाई अलि मन पर्दैनथ्यो । आफ्नो घरको कतिपय व्यक्तिगत कुराहरू हुन्छन्, बाहिरिया मान्छेमा खुल्नु राम्रो होइन । फेरि घर भएपछि इष्टमित्र, साथीभाइ परपाहँना र आफ्नै कामका मान्छे पनि आएका हुन्छन् यतिबेला पनि उनको दिमागले काम गरेको हुन्न कि अर्काको घरमा यसरी बस्न हुन्न भनेर, मैले पनि आफ्नै घर जाऊँ भन्न भएन ! शनिबारको दिन त दिनभरि उनको बास हाम्रै घरमा हुन्थ्यो । कृष्णको स्वभाव अलि धेरै बोल्नुपर्ने खालको थियो, एक मिनेट नबोली बस्नै नसक्ने । कहिलेकाहीँ उसले बोलेको सुन्दासुन्दा झर्को लागेर आउँथ्यो । झर्रो र टर्रो उसको बोली कत्ति सुन्नु । त्यसको ठिक विपरीत गङ्गा शान्त स्वभावकी मिजासिली थिई सानो छोरो त बिहान उठेदेखि दिनभर मैसँग बस्थ्यो । उसकी आमाले खान बोलाउँदा पनि नगएर मैसँग बसेर खान्थ्यो यसैगरी हाम्रो दिनचर्या चलिरहेकै थियो ।

दिनहरू बित्दै गए, उनको छोरा निमेश पनि स्कुल जान थाल्यो । खै कसरी हो कृष्णले गङ्गालाई पनि आफैले पढाउने स्कुलमा लगेर हाल्यो । अब दुबैजना कमाउने भए । बिस्तारै उनको घरको काया पल्टिन थालेको थियो । दराज सोफा आदि फर्निचर आयो । एउटा कोठाले पुगेन दुईटा कोठा भयो । सधैँ हामीकहाँ आउनेहरू अब त हामीलाई पनि उनका घरमा बोलाउन थालेका थिए । उनको घरमा गएको बेला कृष्ण भन्ने गथ्र्यो, “हेरिस्यो त दिज्यू ! यो मास्टरी जागिरले केही होलाजस्तो लाग्दैन, अब आफै केही गर्नपर्ला जस्तो लाग्छ” उसको अगाडि लोली मिलाए पनि मलाई भन्न मन लाग्थ्यो, यही मास्टरी जागिरले तिमीलाई यहाँसम्म ल्यायो, यसलाई हेला गरेर फेरि कुन चैँ काम गर्छौ ?

कृष्ण निक्कै बाठो थियो । चलाखी त उसले जन्मिँदै ल्याएको गुण भएझैँ दिनदिनै नयाँ कुरा सोचिरहेकै हुन्थ्यो । दुई जनाको जागिर र ट्युसनबाट दिनचर्या चलाएर केही पैसा जोगाएका हुँदाहुन् । अब आफैले नयाँ कलेज खोलेर चलाउने तानाबाना बुन्न थाल्यो । पैसा खर्चिने कुराले गङ्गालाई डर लाग्न थालेछ । दौडिँदै मकहाँ आएर भन्न थालिन् “हेरिस्यो न दिज्यू ! भको पैसाले नपुगेर मेरो गहना पनि मास्ने रे । उति भएन भैराको जागिर पनि छोड्ने भन्नुहुन्छ । नयाँ कलेज खोल्ने रे । भोलि क्यै भैहाल्यो भने हामी त भुतुक्कै हुन्छौँ, भन्या मान्ने हैन । लौ न, हजुरले सम्झाइदिनुप¥यो !” उनको निन्याउरो अनुहार देखेर माया लाग्यो । मैले भनेँ “नचाहिँदो काममा त कृष्णसरले पैसा फ्याक्नुहुन्न, तैपनि म सम्झाउँला नि त । तिमीले पीर नगर न !”

आउँदो शनिबार कृष्ण र गङ्गा दुबै हाम्रा घरमा आए । मैले सोधेँ “के हो कृष्णसर ! तपाईं त कलेज खोल्दै हुुनुहुँदै छ रे !” उसले भन्यो, “कोसिस गर्दैछु दिज्यू ! भन्नेबित्तिकै कहाँ हुन्छ र ? लगानी हाल्ने मान्छे जुटाउँदै छु ।” “तपाईंको काममा त गङ्गा खुसी छैनन् नि !”

मैले भन्न नपाउँदै कृष्णले थप्यो “यसले जेजे भन्यो मैले त्यैत्यै मानेर त्यै स्कुलमा झुन्डेर बसुँ दिज्यू ? मैले दुःख गरेर कमाको पैसा हो, एकपल्ट जुवा खेल्छु, भए भैहाल्छ नभए ठेला चलाएर भए पनि परिवार त पालिहाल्छु नि । मलाई काम गर्न लाज लाग्दैन । चोरेर खान पो लाज हुन्छ, हैन त दिज्यू ? अहिले पो स्कुल पढाउँछु त, म गाउँबाट काठमाडौँ आउँदा मलाई कसले पाल्याथ्यो र ? सानैमा त बाउको एकपैसा खर्च नगरिकन आफैले दुखजिलो गरेर पढेकै हुँ ।”

कृष्णको कुराले फेरि मलाई सोचनीय बनायो । गोर्खाको गाउँबाट बालकैमा झरेको यो केटोको यता आफन्त पनि कोही थिएनन्, बाबुसँग पैसा नमागिकन कसरी पढ्यो होला ? उसको अतीतलाई कोट्याएर वर्तमान धमिल्याउन मन लागेन । मनको जिज्ञाशा मनैमा दबाएर बसेँ । कृष्ण बोलिरहेकै थियो “त्यै पनि मसँग कति पो छ र ? लगानी हाल्ने साथीभाइ जुटाउँदै छु, सबै तारतम्य नमिलेसम्म त म पनि काँ स्कुल छोडिहाल्छु त ?” कृष्णको कुराले सबैलाई निरुत्तर बनायो । त्यस दिनदेखि गङ्गाको करकर पनि मत्थर भयो ।

नभन्दै ६ महिना जतिमा कृष्णले बानेश्वरतिर एउटा कलेज पाएछन् । यतैबाट कलेज सञ्चालन गर्दै थिए । फेरि होस्टेल राख्ने विचार भएछ । त्यो पनि खोलेछन् । होस्टेल चलाउन पर्ने भएपछि उनीहरू उतै गएर बस्ने भए ।

एकदिन साँझ मसँग आएर भने, “दिज्यू, अब त हामी उतै जानुपर्ने भयो । बिदा माग्न आएका हौँ ।”

मैले शुभकामना दिँदै बिदा गरेँ । करिब दस वर्ष जतिको हाम्रो सम्बन्ध अब टाढियो ।

उनीहरू उनकै काममा व्यस्त थिए भने म पनि छोराछोरी घरपरिवारमा भुलिँदै थिएँ । तैपनि घरमा भएको माङ्गलिक कार्यमा मैले सम्झन्थेँ भने कहिलेकाहीँ उनले पनि बोलाएका हुन्थे । भेटघाट पातलिएको थियो तर मन टाढिएको थिएन । यसैगरी अरू दसबाह्र वर्ष बिते । यिनै दिनमा कृष्ण निक्कै माथि पुगे । उनको मेहनतमाथि भाग्यले पनि साथ दिएछ । गाडी, बङ्गला, होस्टेल, कलेज, स्कुल आदि सबै कुराको एकलौटी मालिक भए । उनीहरू व्यस्त रहनाले हाम्रो भेटघाट पनि पातलिँदै गयो । नौ दिनमा नौलो बिस दिनमा बिस्र्यो भनेझैँ अब आक्कलझुक्कल बाहेक हाम्रो प्रायः भेटघाट हुन छोड्यो ।

मेरा छोराछोरी पनि पढाइको सिलसिलामा विदेश हिँडेका उतै रमाएर बसे । उनलाई भेट्ने बहानामा आजभोलि मेरा दिनहरू पनि प्रायः विदेशतिरै बित्न थालेका छन् । कृष्ण र गङ्गालाई बिर्सन नसके पनि भेट्ने र भलाकुसारी गर्ने दिन विरलै हुन्छ । धेरै समयको अन्तरालपछि भर्खरै जसो एउटा बिहेको समारोहमा हाम्रो जम्का भेट भएको थियो । निक्कै बेर सँगै बसेर पुराना यादलाई ताजा बनाएका थियौँ । त्यसै दिनदेखि कृष्णले फोन गरिरहन्छ । यसै सिलसिलामा आज पनि उसको फोन आएको थियो । ऊ भन्दै थियो “हजुर एक्लै हो दिज्यू ?” कामविशेषले दिनभरिजसो घरमालिक बाहिरै रहने भएकाले प्रायः म घरमा एक्लै नै हुन्थेँ । मैले सहज जबाफ दिएँ “हो, म एक्लै छु ।”

“म आउँ कि भनेर ?”

मलाई खुसी लाग्यो मैले भनेँ, “किन नहुनु, आए भइहाल्छ ।”

निक्कै दिनपछि भेट हुने पुराना मान्छे । केही त ख्वाउनै पर्छ । म भान्छातिर लागेँ । मनमनै सोच्न थालेँ, अब त यिनीहरू कत्ति ठूला मान्छे भए ! बिदा भयो कि देशविदेश घुमेका हुन्छन् । सेमिनार गोष्ठी कताकता पुगेका हुन्छन् । ठूलाठूला मान्छेसँग उठबस छ । उनको विगतसँग कसलाई के सम्बन्ध हो र ? उनैलाई पनि आफ्नो अतीत सम्झन मन लाग्दैन होला ! एउटा सानो कुम्लो बोकेर त्यो चिसो छिँडीमा बिताएका दिनको साक्षी अब त सायद म मात्रै हुँला ! नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ परिवेश, नयाँ कुरा अनि नमिठा पुराना अतीतलाई सम्झेर के फाइदा ? मैले पनि उनका अतीतको बारेमा कसैसँग कुरा गर्दिनँ । उनको उन्नति प्रगतिमा खुसी लाग्छ । उनको आदर भावमा अपनत्व देखिन्छ । आफ्ना सन्तानबाट एक्लिएको बेला एउटा पराइले सोधिखोजी गर्दा निक्कै खुसी लाग्दो रहेछ । अबको मेरो जिन्दगी सायद यसैगरी चल्छ होला ! सोच्दासोच्दै म त निक्कै परसम्म पुगिछु । मन पनि एकतमासको भएछ । ढोका ढकढक्याएको आवाज आयो । म खोल्न लम्किएँ ।

ढोका सामुन्ने कृष्ण मुस्कुराउँदै उभिएको थियो । मैले दुईहात जोड्दै भनेँ “ओहो सर ! सन्चै हुनुहुन्छ ?”

यताउता हेरेँ, गङ्गा थिइनन् । फेरि सोधेँ “गङ्गा खै नि ?”

मुस्कुराउँदै भन्यो “म एक्लै आउन हुन्न र ? कि डर लाग्छ मलाई एक्लै देख्दा ?” उसको रमाइलो गर्ने स्वभाव अझै गएको छैन ।

यतिबेला पनि ऊ मसँग जिस्किँदै छ । गङ्गा सायद पसलतिर होली । खालि हात आउने उसको बानी छैन । यस्तै सोचेर म कृष्णलाई लिएर बैठकतिर लागेँ । ऊ मेरा बारेमा सोधिखोजी गर्न थाल्यो । मैले पनि सहज भावमा उत्तर दिएँ । निक्कै बेरसम्म गङ्गा आइनन् । साँच्चै नआएकी नै रहिछिन् । उनको काम हुँदोहो । मैले यस्तै सोचेँ र कृष्णसँगको गफमा लागेँ । ऊ नालिबेली सोध्दै थियो ।

“अनि भन्नोस् त दिज्यू ! आजभोलि हजुरको हालखबर के छ ?”

“तपाईंले देख्नुभएकै छ नि हाम्रो हालखबर । नयाँ केही छैन, उन्नति प्रगति अब हुँदैन । बस्ने खाने अनि छोराछोरीले बोलाउँछन् उतै जाने ।” मैले सहज भावमा जवाफ दिएँ ।

निक्कैबेर यताउताका कुरापछि उसले भन्यो “एक्लै दिन बिताउन गाह्रो हुन्छ होला ! यसो बाहिरतिर घुम्न मन लाग्दैन हजुरलाई ?” मलाई लाग्यो यो मान्छे मेरो बारेमा कति विचार गर्ने खालको छ । मैले सहज भावमा भनेँ “साँच्चै सर ! मलाई एक्लै घरमा दिन बिताउन निक्कै कठिन हुन्छ । पहिला पो छोराछोरीले घरमा हल्लाखल्ला हुन्थ्यो । दिन बितेको पत्तो हुन्थेन । आजभोलि त शून्य जस्तो लाग्छ । घरमालिकलाई आफ्नै कामबाहेक बाहिर हिँड्न त्यति मन लाग्दैन । आफ्नै दुनियाँमा मस्त हुन्छन् । म एक्लै कतातिर हिँड्नु ? खुम्चेर घरैभित्र बस्छु ।”

मेरो कुरा सुनिसकेपछि कृष्ण बोल्यो “म लैजान्छु नि त हजुरलाई घुमाउन ।” मलाई लाग्यो उनीहरू घुम्न जाँदा सायद मलाई पनि लैजाने कुरा गर्दै छ । “तपाईंहरू धेरै दिन मिलाएर आनन्दले घुम्नुहुन्छ, मलाई त्यस्तो मिल्दैन । उहाँलाई हिँड्न मन लाग्दैन, एक्लै छोडेर कसरी हिँड्नु ? कतै नजिकै एकदिनको कार्यक्रम बने म जान्छु ।”

उसले बोल्यो “हुन्छ दिनभरि भए पनि कतै घुम्न जाउँला । म गाडी ल्याउँछु, हामी दुई जना मात्रै कतै घुम्न जाउँला, अरूलाई किन भन्न प¥यो र ! हजुर र म भए त भैगो नि, कतै रिसोर्टतिर भए पनि जाउँला ।”

“यो मान्छे के बोल्दै छ ? योसँग एक्लै म किन जाने ?” मैले उसको मुखमा पुलुक्क हेरेँ । कुटिल हाँसो ओठभरि फैलाएर क्वारक्वार्ती मतिर हेर्दै थियो । उसको बोलीमा मलाई आश्चर्य लाग्यो, मेरो अगाडि बसेको यो मान्छे त्यै बीस वर्षअगाडि चिनिएको कृष्ण नै हो त ? जवाफ दिने हिम्मत भएन, दिमाग फनफनी घुम्न थाल्यो । उसको अगाडि बसिरहन सकिनँ । जुरुक्क उठेर भान्छातिर लागेँ र कुर्सीमा थपक्क बसेँ । कताकता हातगोडा हल्लिएझैँ लाग्यो । दुईहातले टाउको समाएर डाइनिङ टेबलमा कुहिनो टेकाएर घोत्लिँदै थिएँ, कृष्ण उतै आयो ।

ऊ फेरि केके भन्न थाल्यो, “हजुरको उमेर नै कति भयो र ? अब त घुम्ने, खाने, मन लागेको कुरा गरेर रमाइलो गर्ने हो । छोराछोरी सबै आफ्नै दुनियाँमा मस्त छन् । हजुरको स्थिति म बुझ्छु । अरूले रमाइलो गरेको देख्दा त्यसै गर्न मन लाग्छ होला, म हजुरको सबै इच्छा पूरा गर्छु । डर मान्नै पर्दैन, म सबै थोकको व्यवस्था मिलाउँछु ।”

उतिबेला यो शब्द बोलेको भए पनि बुद्धि नभएको मान्छे रहेछ, जवानीको जोशमा बोलेछ भन्नुहुन्थ्यो, तर अहिले मेरो उमेर, मानमर्यादा कुनै कुराको बास्ता नगरेर यसले यस्तो कुरा बोलेर मेरो उपहास गरिरहेझैँ लाग्यो । मेरै अगाडि बसेर मसँग यस्तो बोल्ने हिम्मत यसलाई कसरी आएछ ? के पैसा कमाउँदैमा यसको मति पनि भ्रष्ट भएछ ? साँच्चै पैसाले यसलाई आफ्नो औकात बिर्साएर आकाशमै पु¥याएछ । मैले उसको अनुहार पुलुक्क हेरेँ । बडेबडे आँखा फैलाएर घिनलाग्दो तरिकाले मुस्कुराउँदै मेरै नजिकै उभिएको थियो ।

योभन्दा बढी सुन्ने हिम्मत ममा भएन । हातगोडा लगलग काम्न थालेछन् । मुख सुकेर जिब्रो तालुमै टाँसियो । उसलाई भन्ने मेरो मुखबाट केही शब्द निस्केन, अब उसको घिनलाग्दो अनुहार हेर्नै हिम्मत भएन । नजिकै उभिएको उसको हावाले मेरो शरीरभरि घोचिरहेझैँ लाग्यो । जुरुक्क उठेर धर्मराउँदै घरबाहिर निस्किएँ । मूलढोका नजिकै ठडिएको पिलरमा अडेस लाएर उभिँदै थिएँ, ऊ त्यतै आइपुग्यो । एकछिन मलाई खाउँलाझैँ हे¥यो अनि भन्न थाल्यो “हस् त दिज्यू ! अहिले म जान्छु । म पछि फोन गरौँला अनि कता जाने, के गर्ने सबै कुरा मिलाउँला । म भएसम्म हजुरले कुनै कुराको चिन्ता लिनुपर्दैन ।”

अरू पनि केके बोल्दै थियो मैले राम्ररी बुझ्नै सकिनँ । कृष्ण लुसुक्क बाहिरतिर लाग्यो । घर कम्पाउन्डको गेटमा पुगेर पनि हात हल्लाउँदै थियो । गाडीको घ्यार्र आबाजसँगै ऊ गयो । हत्तपत्त मैले गेटको ढोका टम्म पारेर चुक्कुल लगाएँ ।

विशालनगर, काठमाडौँ

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments