“छोरा, भोलि एकपल्ट हस्पिटल जानुपर्छ । विदेशमा पढेर आएका डाक्टर छन् रे, असाध्यै जान्ने र अनुभवी । उनलाई एकचोटि भेट्नुपर्छ, मैले आज नाम लेखाएर आएकी छु । भोलि बिहानै जानुपर्छ ।” स्नेहालु नजरले हेर्दै मेरो टाउको मुसार्दै भन्छिन् आमा मायालु स्वरमा ।

“हस् आमा, भोलि जाउँला ।” सुस्त स्वरमा भन्छु म तिनको मायालु मुहार टुलुटुलु हेर्दै । मलाई थाहा छ मेरो रोगको निदान विदेशमा पढेर आएका ती डाक्टरसँग पनि छैन । मेरी आमालाई पनि राम्ररी थाहा छ तैपनि भ्रम पालिराखेकी छिन् । समाजको त के कुरा, आफ्नै घरपरिवारले वहिष्कार गरेको छ मलाई । एउटा कोठाको साँघुरो परिवेशमा कैद छु आजभोलि परित्यक्त्य, तिरस्कृत । मेरा अघिपछि झुम्मिने साथीभाइको भिड छैन हिजोआज, एक कल फोनसमेत गरेनन् कसैले । अङ्कलको काँधमा चढेर कान समात्ने प्रयास र प्रनिशा प्रतिबन्धित छन् कोठामा आउनसमेत ।

“त्यस्तो फोहोरी मान्छेको कोठामा जानुहुन्न, रोग सर्छ ।” भाउजूको कर्कश चेतावनी तीर बनेर गढ्छ, सहन्छु यही नै त मेरो नियति अब ।

“हजुरआमालाई  त  सर्दैन, हजुरआमा त सधैँ जानुहुन्छ अङ्कलको कोठामा ।” अबोध प्रयासको जिरह भयभित भएर खुम्चिन्छ दाजुको गर्जनसँगै–“ममीले हुन्न भनेपछि किन जिद्धि गर्नुप¥यो ? थपक्क आफ्नो कोठामा गएर पढ्ने ।”

आमाको मुहार एकतमाशको भएर आउँछ यी वचनवाणहरू सुनेपछि । सुरुसुरुमा त विरोध पनि गरिन् उनले तर मैले नै थुम्थुम्याएँ । जवानीमै विधवा भएकी हाम्री आमाले हामी दुई छोराकै लागि आफ्ना बैँसालु रहरका गला निमोठेर हाम्रै लालनपालनमा केन्द्रित हँुदाहँुदै कपालले रङ्ग फेरेको पनि पत्तो पाइनन् । विशेष लाडप्यारमा बाबुको कमी अनुभव हुन नदिई हुर्काइएको म, कान्छो छोराले उनका वृद्ध आँखाहरूमा अझै वेदना थपिदिएको छु उनको असीम वात्सल्यको फलस्वरूप । पलपल मरेकी छिन् उनी मेरा मर्महरूसँगै । मेरो रोगी उपस्थिति हरपल दुखिरहन्छ उनलाई अनि मैले पाएको अपमान बिझाइरहन्छ । तिनै दाजु, भाउजुको जिम्मेवारीमा उनलाई छाडेर मैले पनि नफर्कने गन्तव्यतिर लाग्नु छ, अब धेरै छैन । त्यसैले मेरा निम्ति उनीहरूलाई चिढाउनु भनेको उनले आफ्नै बुढेसकाललाई एक्ल्याउनु मात्र हो । जीवनभरि उनलाई आँसुसिवाय केही दिन नसक्ने यो कपतले आफ्नो स्वार्थको लागि उनको वृद्धावस्थाको लाठी छिन्नु किमार्थ उचित ठहरिँदैन । त्यही भएर अचेल म औधी सहनशील भएको छु । उनकाअगाडि विवशताका बलिन्द्र धारा बगाएर उनलाई अझै कमजोर तुल्याउन कुनै हालतमा स्वीकार्य छैन मलाई । उनकै आत्मसन्तुष्टिका खातिर भोलि डाक्टर भेट्न पनि जानु छ । आमाको अति वात्सल्यको दुरूपयोग तथा लगामविहीन स्वतन्त्रताको तितो प्रतिफल भोगिरहेंछु म आज एड्स रोगीका रूपमा । जीवनको यस अन्ध घडीमा एउटी आमाबाहेक कोही छैन मेरो । साँच्चै, आमाको जत्रो विशाल छाती कसैको हुन्न रहेछ । त्यही भएरै त होला आमाको महिमा गाइएको तर आमाको महानता र पवित्र वात्सल्यलाई सन्तानले तब मात्र बुझ्दा रहेछन् जब सबैबाट तिरस्कृत अनि स्वयं अशक्त हुँदा रहेछन् जसरी म आज बुझिरहेको छ । अब के नै हुन सक्छ र ? उनको मर्म बुझ्न ढिला गरें मैले । यदि पहिल्यै बुझेको वा बुझेर पनि बुझ नपचाएको भए आज यो दिन आउने नै थिएन । आमालाई घुक्र्याएर र धम्क्याएर गोजीमा टन्न गाँठ बोकुन्जेल रानोलाई माहुरीले पछ्याए झैँ पछ्याउने साथीभाइहरू आज आफ्नै दुनियाँमा मस्त छन् । एउटा विकास त अलि निस्वार्थी थियो । सुन्दै छु, ऊ पनि फोक्सोको क्यान्सरको सिकार भई मैलेजस्तै मृत्यु पर्खिरहेको छ रे । अनियन्त्रित, अनियमित र असीमित मोजमस्ती, धूम्रपान, सुरापान अनि सुन्दरीहरूका पछाडि पढाइ, स्वास्थ्य, सम्पत्ति र भविष्य नै लुटाएर आज मजस्तै रित्तो भएको छ रे ऊ पनि । उसकी ममतामयी माता पनि व्यस्त छिन् रे उसको स्याहारमा मेरी आमाजस्तै ।

अस्पताल गइदिन्छु आमाको लागि । पालो पर्खेर बसेका बिरामीहरूसँगै एक छेउमा गएर बस्छु आफैँमा खुम्चिएर । छेउमा बसेको बिरामी मलाई हेर्छ, छड्के नजरले हेर्छु म उसलाई ।

“ओहो शिशिर ! के छ यार तिम्रो खबर ?” केही खुसी, केही उदासीमिश्रित आवाज । पुलुक्क ऊतिर हेर्छु ।

ए, विकास पो रहेछ ! कति धेरै दुब्लाएको, चिन्न पनि गाह्रो !

“ठीकै छ यार ! धेरै दुब्लाएछौ ।” हात मिलाउँदै मलिन आवाजमा भन्छु ।

“तिमी पनि त धेरै कमजोर भएछौ नि !” डबडब आँखाले मलाई हेर्दै भन्छ ऊ ।

“अँ, यस्तै हो ।” थकित स्वरमा यति मात्रै भन्छु ।

“विदेशमा पढेर आएका डाक्टर छन् रे, आमाको ढिपीले मात्रै आएको ।” उदास स्वर उसको ।

“म पनि त्यही भएर आएको यार, आमाको मन राखिदिन ।” सुस्तरी भन्छु ।

“अनि, साथीहरूको के छ ?” अकस्मात सोध्छ ऊ भावहीन मुद्रामा ।

“मलाई त केही थाहा छैन, खै कसैले एक कल फोन पनि गरेनन् ।” लामो सास छाड्दै भन्छु ।

“पर्वत चाहिँ सिकिस्त छ रे, डाक्टरले पनि बिदा दिइसके रे ।” मलिन आवाज उसको ।

“पहिला एकपल्ट जन्डिस भइसकेको मान्छे, धेरै नपिऊ भन्दा मानेन । आज बरु एकपल्ट हेरेर आऊँ न !” म प्रस्ताव राख्छु ।

“ठीकै छ, जाऊँ न त ।”

गफ गर्दागर्दै उसको पालो आउँछ, ऊभित्र जान्छ । म टोलाइरहन्छु । करिब आधा घन्टापछि ऊ निस्किन्छ रातोपिरो अनुहार लिएर । मैले केही सोध्न र उसले केही भन्न नभ्याउँदै मेरो पालो आउँछ, उसलाई पर्खिराख्ने इशारा गरेर म भित्र जान्छु ।

दुई सहयोगीसहित सेतो एप्रोन र आँखामा चस्मा लगाएका प्रभावशाली व्यक्तित्वका मालिक युवा डाक्टर पर्खाइमा हुन्छन् । नमस्कार गर्छु, नमस्कार फर्काउँदै छेउको कुर्सीतिर सङ्केत गर्छन् उनी । पहिले कतै देखे झैँ लाग्छ त्यो अनुहार तर सम्झन सक्तिन । सहयोगीहरूलाई इशारा गर्छन् उनी । सहयोगीहरू बहिरिएपछि ढोका बन्द गरेर मनेर आउँछन् ।

“शिशिर, तिमीले मलाई चिनेनौ जस्तो छ । म दीपक, तिमीहरूको पाखे सहपाठी ।” मतिर हात बढाउँदै भन्छन् ।

म तर्सिन्छु, सङ्कोच मान्दै हात बढाउँछु । अवाक् उनको मुहार टुलुटुलु हेरिरहन्छु मात्र ।

“यो म के देख्दै छु शिशिर ? अहिले भर्खर विकास, फेरि तिमी, पर्वतको बारेमा पनि सुनें ।”भारी आवाजमा भन्छन् उनी ।

“के गर्नु यार, समयको कदर गर्न नसक्दा यो हालत भयो । अब त पछुतोबाहेक केही छैन ।” मनको बाँध फुट्छ, केहीबेर हिक्हिकाउँछु । उनी सस्नेह मेरो कपाल मुसारिरहन्छन् ।

“शिशिर, तिमी त तेजस्वी थियौ । त्यतिबेला मेहनत गरेको भए विदेश पढ्न जाने छात्रवृत्ति मैले होइन, तिमीले पाउने थियौ ।”

लामो सास फेर्दै पुन बोल्छन् उनी– “अब जे हुनु भइसक्यो, अफसोस नगर । अझै पनि तिमीले गर्न सक्ने कामहरू धेरै छन् । तिमी, विकास र पर्वत जस्ता युवाहरू धेरै छन् तर बन्द कोठामा निसास्सिँदै मृत्यु कुर्नु बुद्धिमानी होइन । मृत्यु त शाश्वत सत्य हो, ढिलो, चाँडो मात्र न हो !त्यसैले केही गर, उदाहरण बनेर प्रस्तुत होऊ र बाँकी जीवनलाई सार्थक बनाउने कोसिस गर ताकि भोलिका दिनहरूमा कुनै शिशिर र विकासहरूले यो दुर्गति भोग्न नपरोस्, म सधैँ तिमीहरूको साथमा छु ।”

त्यही सोच, त्यस्तै सरलता, उही भावुकता, कत्ति पनि त परिवर्तन भएको रहेनछ दीपक । भावावेशमा उनलाई अँगाल्न पग्छु ।

“यार दीपक, तिमी वास्तवमै महान् छौ । विगतका दिनहरूमा जुन अपमान र दुःख दियौँ हामीले अझ विशेष मैले, त्यसका लागि आज हृदयदेखि माफी माग्छु । तिम्रो अमूल्य सुझाव र हौसलालाई आत्मसात् गर्दै अब हामी पथभ्रष्ट युवाहरूका सुधारका लागि काम गर्नेछौँ । अब हामीलाई हरेक पाइलामा डाक्टर दीपकको सहयोग र समर्थन चाहिन्छ ।”

“म सधैँ तिमीहरूको साथमा छु यार ! मैले विकासलाई पनि यी कुराहरू भनेको छु, एकपटक पर्वतलाई पनि भेट्नु छ । खुला आकाशमुन्तिरको कर्मभूमि हामीलाई नै खोजिरहेछ मित्र ! जाऊ, आजैदेखि यो जागरण तथा सचेतना अभियानमा लाग ।”

उनको ठेगाना तथा फोन नम्बर अङ्कित कार्ड लिएर अनि मनभरि नव जोश र उमङ्ग बोकेर म बाहिर निस्किन्छु ।

“केटा हो, नयाँ सिकार ! ऊ हेर त, यतै आउँदै छ ।” सेतो कपडाको गाउँले सिलाइयुक्त सर्ट, पाइन्ट, हवाई चप्पल र ढाका टोपी लगाएको केटोतिर देखाउँछ विकास ।

“वाह, क्या मजा आउने भो, निकै दिन भएको थियो ¥याकिङ गर्न नपाएको !” उद्दण्डता थपिन्छ पर्वतको ।

“ए, यता आइज !” रौनकले अलि ठूलै र ठाडो स्वरमा बोलाएपछि हाम्रो समूहलाई त्रसित आँखाले हेर्दै बिस्तारै हाम्रोअगाडि आएर उभिन्छ ऊ ।

“तेरो नाम के हो ?” खस्रो आवाज झलकको ।

“दीपक ।” मसिनो त्रस्त स्वर उसको ।

“हाम्रो सरलाई चिनेको छ ? ल, सलाम गर् ।” पङ्कज थोरै धम्की मिसाएर भन्छ टाउकोमा रुमाल बाँधेर कालो चस्मामा ठाँटिएको म, मुन्द्रेतिर सङ्केत गर्दै । ऊ पुलुक्क मलाई हेर्छ, म हेरिरहन्छु, ऊ घोप्टिन्छ । केटाहरू गललल हाँस्छन् । विवश, कम्पित आँखाले ऊ फेरि मलाई हेर्छ, म हातको इशाराले बोलाउँछु । सुस्त पाइला चाल्दै मनेर आएर लाचारीको भावमा नमस्कार गर्छ ऊ, पुन हाँसोको फोहरा छुट्छ ।

“ए पाखे, त्यो टोपी झिक् ।” आदेश दिन्छु म दादा शैलीमा ।

“किन र सर ?” डराउँदै सोध्छ ।

“ए, प्रश्न गर्छस् ? सरले भनेपछि खुरुक्क झिक् ।” रौनक कडा आदेश फर्माउँछ । ऊ अन्कनाउँछ र वरिपरि दयनीय नजर दौडाउँछ । विद्यार्थीहरूका समूह रमिते भएका छन् । कसको हिम्मत हाम्रो शक्तिशाली ‘गुट’ विरुद्ध जान सक्ने ?

कसैबाट कुनै सहयोगको सम्भावना नदेखेर ऊ टोपी झिकेर मतिर बढाउँछ ।

“ए, हातमा दिन्छस् तेरो गन्दे टोपी ? सरको चरणकमलमा राख् ।” विकासको आदेशसहित फेरि अट्टहास ।

भरिएका आँखाले मलाई हेर्दै ऊ निहुरिन्छ र टोपी मेरो पाउमा राखिदिन्छ । हाँसो छुटिरहन्छ उपहासको । टोपीलाई लौरोले उनेर घुमाउँछु म चलचित्रको भिलेन शैलीमा ।

“हाम्रो कलेजमा आउँदा ह्यान्डसम भएर आउनुपर्छ बुझिस् ? अब तँलाई हामी ह्यान्डसम बनाइदिन्छौँ, यहाँ बस् ।” पर्वतको कुरो टुङ्गिन नभ्याउँदै झलक हातमा तानेर भुईँमा बसाल्न खोज्छ उसलाई, ऊ छट्पटाउँछ सिकारीको पञ्जामा परेको सुधो प्राणीजस्तै ।

“प्लिज मलाई छोडिदिनोस् !” रोदनमिश्रित स्वरमा विन्ती गर्छ ऊ ।

“तँ केटी होस् र राख्नलाई ? एकैछिन धैर्य गर्, तेरो कायापलट हँुदै छ ।” जिस्क्याउँछ पङ्कज, केटाहरू भद्दा हाँसोले साथ दिन्छन् ।

भर्खर रेखी बस्न थालेका उसका जुँगा रातो कलमले रङ्गयाइदिन्छ झलक । ऊ चल्मलाउँछ, बन्धनमुक्त हुने कोसिसमा ।

“तँलाई मर्न मन छ कि कसो ए पाखे ? चुपचाप शान्त भएर बस् नत्र …!”

मेरो सिंहनादले झनै भयभित हुन्छ ऊ । पटकैपिच्छे हाँसोका फोहरा छाड्दै केटाहरू उसलाई जुँगामा र रातै मसीले टीका पनि लगाइदिन्छन् । त्यतिले मात्र नपुगेर उसको कमीज पनि रङ्ग्याइदिन्छन् ।

“हो, यसरी हामीले भनेको मानिस् भने यो कलेजमा पढ्न पाइस्, बुझिस् ? हाम्रो सरका बुबाले खोल्नुभएको हो यो कलेज, कसैलाई कम्प्लेन गर्ने मूर्खता भुलेर पनि नगर्नु अनि कलेज आएपछि सबैभन्दा पहिले हाम्रो शिशिर सरलाई र हाम्रो गु्रपलाई सलाम गर्नु बुझिस् ?“

“हस् सर !“ टप्लक्क आँसु खस्छन् आँखाबाट ।

“ल जा अहिले, तेरो गन्दे टोपी पनि लैजा पाखे !” टोपीलाई लात्तीले हुत्याइदिन्छु, टोपी टिपेर कलेजगेटबाट बाहिरिन्छ ऊ जेलबाट छुटेको कैदी झैँ ।

“साथी हो, तपाईंहरू मलाई किन सताउनु हुन्छ ? मैले तपाईंहरूको के बिगारेको छु र ? हेर्नोस्, म त्यति विकट गाउँबाट भविष्य निर्माणको सपना बोकेर आएको छु । प्लिज मलाई शान्तिसाथ पढ्न दिनोस् । मैले मेरी विधवा आमाको सपना साकार पार्नु छ, डाक्टर बन्नु छ । बरु तपाईंहरू पनि पढाइलेखाइतिर ध्यान दिनोस् न ! तपाईंहरूका बाबाआमाको लगानी किन खेर फाल्नुहुन्छ ?” कलेज, होस्टेल सबैतिर हाम्रो व्यवहारले आजित ऊ एकदिन सम्झाउँछ हामीलाई ।

“के भनिस् पाखे ? तैँले हामीलाई सम्झाउने ?” केटाहरूलाई निहुँ न चाहियो ।

“हामीले पढे पनि नपढे पनि तँलाई केको चासो ? बडो विद्वान् भएर भाषण छाँट्छस् ?” नाकको छेउमा घुस्सी पु¥याउँदै हप्काउँछ झलक ।

“तँ आमाको सपना पूरा गर्ने ? अझ डाक्टर बन्ने सपना रे ! हेर डाक्टरको थोपडा !यहाँ आइज गन्दे पाखे, आज म तँलाई नुहाइदिन्छु ।” हातमा तान्छु म ।

“ठीकै छ, तपाईंहरू नपढे नपढ्नोस् तर प्लिज, मलाई डिस्टर्ब नगर्नोस् ।” ऊ फुत्किन खोज्छ ।

साथीहरू सबै मिली उसलाई घिस्याउँदै स्वीमिङ्ग पुलमा पु¥याउँछन् र जबर्जस्ती कपडा खोलिदिन्छन् । केटीहरूको पनि उपस्थिति भएको ठाउँमा अण्डरवेयर मात्र बाँकी रहेको पाखे लाज र डरले रुँला झैँ गर्छ । हामी उसलाई घिसार्दै पुलमा लैजान्छौँ ।

“मलाई पौडिन आउँदैन, प्लिज मलाई छोडिदिनोस् ।“ विन्ती गर्छ पाखे ।

“पहाडका खहरे, खोलाहरूले बगाउन नसकेको तँ पाखे स्विमिङ पुलमा कसरी मर्छस् ?” म धकेलिदिन्छु, ऊ पुलमा झर्छ ।

डुब्दै, निस्किँदै आत्तिएको मुद्रामा हात फैलाउँछ ऊ ।

“ए, ए के गरेको यो ? त्यो त मर्ला जस्तो छ ।” केटीहरू आत्तिएर चिच्याउँछन् ।

ओहो, पाखे त पानी खान थालेछ, साँच्चै मर्छ कि क्या हो !

हत्त न पत्त हाम्फालेर झलक र म उसलाई निकाल्छौँ, ऊ वेहोश भइसकेको हुन्छ । हामी आत्तिन्छौँ ।

“मान्छेलाई सताउनुको पनि सीमा हुन्छ नि ! आज त तिमीहरूको शिकायत नगरी छाड्दैनौँ हामी ।” आक्रोशित स्वरमा भन्छे सुरुचि ।

“हो, हो अब त अति भइसक्यो, सरहरूलाई सबै कुरा भन्नैपर्छ ।“ केटीहरूको जमात प्रशासन शाखातिर बढ्छ ।

विकास र रौनक उसलाई घोप्टो पारी पानी छदाउनतिर लाग्छन् । सरहरू आइपग्छन् । अफिसमा लगेर प्राथमिक उपचार हुन्छ उसको । हामी डरले सम्भावित परिणाम पर्खिरहन्छौँ । नभन्दै पालेदाइ आउँछन् प्रिन्सिपलको आदेश लिएर । पाले दाइको अनुहार पनि यमराज प्रतीत हुन्छ ।

“ल भन दीपक, डराउनु पर्दैन । केटीहरूको कुरो सत्य हो कि होइन ?” हामीतर्फ कर्कश दृष्टिपात गर्दै सोध्छन् प्रिन्सिपल महोदय ।

सास बन्द होलाझैँ हुन्छ हाम्रो । याचक नजरले दीपकतिर हेर्छौं, ऊ पालैपालो हामीलाई हेर्छ, हामी झन सशङ्कित र सन्त्रस्त हुन्छौँ ।

“कुरा त्यस्तो होइन सर ! साथीहरू मलाई स्विमिङ सिकाउँदै हुनुहुन्छ । आज तेस्रो दिन हो । अब त म आफैँ जान्दछु होला भनेर पसेको थिएँ । केटीहरू अलि टाढै थिए, त्यही भएर गलत बुझाइ भएको हो । बरु साथीहरू नभएको भए चाहिँ सायद आज म बाँच्ने थिइनँ । उहाँहरूले नै मलाई बचाउनुभएको हो ।”

पाखेको महानतालाई कायरता ठान्दै भित्रभित्रै मख्ख पछौँ हामी । हुन त चाहेको भए उसले सत्य बताउन पनि सक्थ्यो तर उसले कहिल्यै हाम्रो कम्प्लेन गरेन । जे होस् त्यस दिनदेखि ऊ मुक्ति पाउँछ हामीबाट । उसलाई बेवास्ता गर्दै हामी आफ्नै मस्तीमा रमाइरहन्छौँ । ऊ पनि ढुक्क भएर अध्ययनको दुनियाँमा हराउँछ । त्यो दुर्घटना वरदान साबित हुन्छ उसलाई । छात्रवृत्ति पाएर पाखे अध्ययनको लागि विदेश जान्छ ।

विगतका समृतिहरूमा हराउँदा हराउँदै कैयौँपल्ट आँखा भिजेछन् र सुकेछन् । हामीले सताएका तिनै पाखे दीपक आज हाम्रो सर्वश्रेष्ठ सहारा एवं मार्गदर्शक भएका छन् र मार्गदर्शन गरिरहेछन् हामीजस्ता थुप्रै शिशिर र विकासहरूलाई । उनकै सुझाव र सहयोगमा सञ्चालित यस ‘युवा जागरण अभियान’ मा आबद्ध छौँ हामी । अस्पतालको समयबाट फुर्सद निकालेर हप्ताको एकपटक आउँछन् डाक्टर दीपक । उनका अमूल्य सुझावलाई आत्मसात् गर्दै अगाडि बढ्न प्रतिबद्ध छौँ हामी । हाम्रो यस प्रतिबद्धतामा मलजल गरिरहेछन् हाम्रा वृद्ध आमाहरू जो चिया, खाजा र औषधी बोकेर उपस्थित हुन्छन् धमिला आँखाहरूमा ममताको पानी भरेर ।

डाक्टर दीपकको आदर्श बाटो पहिल्यै अवलम्वन गरेको भए यस्तो सेवा पनि दीर्घकालसम्म मगर्न पाउने थियौँ तर ढिलै भए पनि आँखा खुलेका छन् हाम्रा । समयको यत्रो अन्तरालपछि पनि हामी ठोक्किन आइपुगेका छौँ उनै दीपकसँग जुन दीपकको उज्यालोले बाटो देखाइरहेको छ । समयले हाम्रो लापरवाहीलाई हानेको गतिलो झापड हो यो । अब मृत्युको काखमा सुत्नुअघि यति कामना छ– डाक्टर दीपकको दिशा–निर्देश पिँढी दरपिँढी कायम रहोस् र हामीजस्ता मतिभ्रष्ट युवाहरूलाई उचित मार्ग निर्देशन गरी सुमार्गमा डोहो¥याउन सफल होस् ।

धन्य माते ! धन्य तिम्रो पवित्रता !

धन्य पाखे ! धन्य तिम्रो महानता !

वस् ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments