आँगनमा एकोहोरो शङ्ख बजिरहेको थियो । मान्छेहरू चिच्याएर रोइरहेका थिए । आमाले आफ्नो कपाल झाँक्रो फिजाएर छाती पिट्दै रोएको आजैझैँ लाग्छ ।

“बाबा ! हजुरले छाडेर जानु भो । कस्तो अकालमा यो जिन्दगी बित्यो । एउटा अम्बा पाउँदा पनि आधा मलाई ल्याइदिनु हुन्थ्यो । म कसरी बाँचौँ !” आमाले छाती पिटेर बलिन्द्रधारा आँसु झार्दै चिच्याएको म हेरिरहेकी थिएँ ।

हजुरबाले आफ्नै छोराको अनुहारमा छोएर चिच्याएको स्वरमा बोल्नु भो, “बाबु ! म बूढोलाई भगवान्ले पहिले लानुपर्नेमा तिमीलाई लगे । म डाँडो काट्न लागको बूढो, छोराको शोक मनाएर कसरी समय काट्नु ? बाबु ! यो बृद्ध उमेरमा आफ्नो छोराको मृत्युको पीडा म कुसरी सहुँ ।” उहाँले दुबै हात झड्कारेर रोएको पनि बिर्सिएकी छुइनँ । हजुरबालाई खै ककसले समाएका थिए ती त म चिन्दा पनि चिन्दिन थिएँ । आमालाई केही महिलाहरूले समाएका थिए । हजुरआमा छोराको मृत शव छेउमा बसेर के के भनेर बिलौना पोखिरहनुभएको थियो । उहाँलाई पनि केही महिलाहरूले समाएर पानी छ्याप्दै थिए । बाबालाई तुलसीको मठमा सुताएर सेतो वस्त्रमाथि पीताम्बरको खास्टोले ओडाएको अहिलैझैँ लाग्छ । तर त्यो किन गरिएको थियो म बुझिरहेकी थिइन । किनभने म मात्र छ वर्षकी थिएँ । म बाबा सुताएको छेउमा जाँन खोज्दा माथिल्लाघरे अर्जुन काकाले मलाई समाएर घरभित्र लानुभएको थियो । म पनि आमा, हजुरआमा रोएकाले बाबालाई केही चोटपटक लागेछ कि भनेर रुँदै थिएँ ।

“ए अर्जुन ! रोसीलाई बाहिर आउन नदेऊ है । डराएर सातो जाला ।” बाबाका काका हुनुपर्छ सायद सम्झाउँदै हुनुहुन्थ्यो ।

मेरो अबोध चन्चलताले अर्जुन काकाको कपालमा तानेर छुट्ने कसरत गर्दै तोते बोलीमा सोधेँ, “काका बाबालाई किन तुलसीको मथमा सुता’को, रिसाउनुहुन्न ?” मेरो अबोध प्रश्नको उत्तर दिन नसकेर उहाँ भक्कानिएर आँखाबाट आँसु पुछ्नु भो र भन्नु भो, “नानी तिमी सानी छ्यौ । जब तिमी बुझ्ने हुन्छेऊ त्यतिखेर आफ्नो बाबाको सम्झनामा ऊ घर नजिकै बगिरहेको सामरी खोलाको पानी देखिन्छ नि त्यसैगरी आँसु बगाएर रुने छ्यौ ।” उनी घ्वाँक्कघ्वाँक्क रोए । म उनीबाट छुट्न खोजे पनि उनले मलाई कहाँ छाड्थे र ?

बाहिर एकोहोरो शङ्ख बजिरहेको थियो । घरमाथि र बाहिर मान्छेहरूको चहलपहल र सोसँगै रुवाइ थपिँदै थियो । हरेक मान्छेका अनुहार असारमा सामरी खोलाको शिर धुम्मिएरझैँ देखिन्थ्यो । तर ती सब घटना म अबोध बालिका कसरी पो बुझ्न सक्थेँ र ?

अर्जुन काकाले त्रिशूलीपारि सरकारी फार्ममा देखिएका मेकाडेमिया नट र एभोकाडोका बोटहरू देखाउँदै भने, “हेर छोरी, फर्मको डिलमा खङ्रङ्ग सुकेको अमलाको रूख देखिन्छ नि, त्यो न कहिले फर्कन्छ न फल्छ । आउँदो हिउँदमा फार्मका ज्यामीहरूले उक्त रूख टुक्राटुक्रा पारेर बाल्नेछन् । तर हामी भने आजै … ।” उनी यत्तिकैमा रोकिएर सुक्सुकाए ।

आँगनमा रुवाबासी र चिच्याहटसँगै निकै खैलाबैला मच्चियो । त्यसपछि जोर शङ्ख फुकेर शङ्खको आवाज त्रिशूली नदीतिर झ¥यो । मलाई समाइरहेका अर्जुन काकाले खै को महिला हुन् उनलाई जिम्मा लगाएर उनी शङ्ख बजेको आवाजतिर निस्के । ती महिलाले मलाई तलाको भित्री कोठामा थुनेर आग्लो लगाइदिइन् । म तलाको झ्यालबाट बाहिर हेर्दै थिएँ । ओ हो ! मेरो त्यति प्यारो बाबालाई उनीहरूले बाँसमा बाँधेर खोलातिर लगेको देखेर मलाई साह्रै जलन र पीडा भएको थियो । मैले ठूलो डाको छोडेर रुँदै भने, “मेरो बाबालाई बाँतमा बाँधेर किन लान्छौ ? म तिमीहरूलाई धुङ्गैधुङ्गाले हानेर मार्दिन्छु ।” मलाई त्यतिखेर उनीहरूप्रति धेरै रिस उठेर त आएको हो तर बाहिर निस्कन खोज्दा ढोका पूरै लगाएको थियो । म झ्यालबाट रुँदै बाहिर हेर्दा सामरी खोला सललल बगिरहेको थियो । घरमाथिको टाँकीको रूखका पातहरू हावाको झोकाबमा हल्लिरहेका थिए । बाबालाई बाँसमा बोकेर लगिरहेका मानिसहरूतिर हेरेर धारे हात लगाउँदै सरापेँ, “मेरो बाबालाई केही मात्र होस् न कति धुङ्गाले हान्दिरैछु !”

हो मेरो त्यो बालापनको मुख्य हतियार नै ढुङ्गा थियो । जुन बाबासँग गाईबाख्रा चराउन जाँदा सामरी खोलाका डल्ला ढुङ्गा हुन् वा त्रिशूली नदी किनारमा भेटिएका गोलागोला लोहोराको लागि काम लाग्ने ढुङ्गा हुन् ती सहजै पाउने हुनाले भनेकी थिएँ । फेरि ती नै ससाना ढुङ्गाहरू जम्मा पारेर गाईबाख्रा चराउँदा बाबासँग म गट्टा खेलौँ भनेर जिद्दी गर्थें र उहाँ मसँग खेल्न बाध्य हुनुहुन्थ्यो । तर त्यो क्षण सबै गाउँले मिलेर मेरा बाबालाई खोलातिर लाँदै थिए । म यहाँबाट छुटकरा पाउन पाए उनीहरूलाई ढुङ्गैढुङ्गाले हानेर बाबालाई छुटाउने थिएँ भन्ने लागेको थियो ।

मैले ढोकामा हान्दा हान्दै खै कसरी हो बाहिर लगाएको आग्लो खुस्किएर डङ्रङ्ग भुइँमा झ¥यो । मैले हतार हतार ढोका खोलेर भ¥याङबाट एकै क्षणमा आँगनमा झरेर ओरालो लागेँ । घरभित्रको मझेरीमा को को मान्छेहरू हुन् रुँदै थिए । उनीहरू बाबालाई मान्छेहरूले त्यसरी लगेकाले रोएका होलान् भन्ने लागेको थियो । मैले मझेरीमा रुँदै गरेका मान्छेसँग चासो राखिन । किनभने मेरो एउटै चासो थियो, बाबालाई छुटाउनु ।

बाबालाई बोकेर लाँदा खै कहाँ पुगेछन् त्यहाँबाट देख्नै सकिन । एकोहोरो शङ्ख बजेको भने आवाज आइरहेको थियो । म गल्र्याम् गुर्लुम् ओरालो झर्दा सामरी खोलाको दोभान छेउमा रहेको मन्दिरमा मेरा आँखा पुगे । मेरा दुबै हात मन्दिरतिर जोड्दै भगवान्सँग पुकार गरेँ, “बाबालाई केही नहोस् । उनीहरूले बाबालाई केही नगरून् ।” त्यसो भन्न मेरो मुखमा आउनु म आमासँग मन्दिर जाँदा आमा भन्नुहुन्थ्यो, “कसैलाई केही नहोस् । सधैँ राम्रो होस् ।” कुनैदिन बाबासँग त्यस मन्दिरमा जाँदा, “प्रभु रक्षा गर’ भन्नुहुन्थ्यो । त्यही भनेको सिकेर मैले पनि यो आपतमा बाबालाई केही नहोस् भनी कामना गरेकी थिएँ ।

साँच्चै निष्ठुरी बजियाहरूले मेरो बाबालाई सामरी खोलाको दोभानमा पु¥याएर त्रिशूली नदीको किनारमा पछारेका थिए । म त्यहीँमाथि खेतको डिलमा रहेको पातीको झ्याम्टोमा लुकेर हेरिरहेकी थिएँ । मेरा हातमा अझै पनि सामरी खोलाबाट बोकेका चार÷पाँच वटा ससाना ढुङ्गाहरू थिए । मेरो बाबालाई त्यहाँ केही गरे भने यी नै ढुङ्गाले हिर्काउँछु भनेर बोकेकी थिएँ । म त्यहाँ उभिएर नदीतीरमा हेरिरहेँ । ती मान्छेहरूले मेरा बाबालाई दाउराको घार बनाएर त्यसमाथि राखे । केही वर्षपछि मात्र मलाई थाहा भयो कि वास्तवमा ती मान्छे मलामी र दाउराको घार चिता रहेछ । त्यो दाउराको चितामा राखेर ह्वार्र आगो लगाए । म चिच्याएँ । म रुँदै दाहिने र देब्रे हातका नाडीले आँसु पुछ्दै त्रिशूली किनारमा झरेँ । ढुङ्गा भने हातमा बोकेकै थिएँ । म रुँदै झर्दा सरकारी फार्मको डिलमा उभिएका अग्ला सिमलका बोटहरू रातै फुलेका थिए । फार्मको एकापट्टिको छेउमा रूखका बोटहरू झपक्क देखिएका र त्रिशूली पारि नदी डिलमा देखिएका मौवाका रूखहरूमा रूपीहरू च्याउँच्याउँ र च्युँच्युँ कराउँदै थिए ।

मेरा बाबालाई जलाएर मारे भन्ने डरले म रुँदै जलाएको ठाउँमा पुगेर हातमा बोकेको एउटा ढुङ्गाले सालघरे हजुरबालाई ताकेर हिर्काएँ, “लुखा ! तँ नै हैनस् त मेरा बाबालाई आगोमा पोल्ने !” किन भने घरमा पनि बाबालाई उनैले बाँध्दै थिए र यहाँ पनि उनैले बाबालाई चितामा चढाएका थिए ।

“ए, ए ! यो फुच्ची कहाँबाट यहाँ आइपुगी । अठ्याएर लैजाओ लैजाओ ।” को को हो मलाई समाउन खोज्दै थिए । तर मैले हानेको ढुङ्गाले सालघरे हजुरबालाई घुँडामा लागेछ क्यार, एकपरान गएजस्तै गरी घुँडा समात्दै भने, “यसलाई पनि जलाउनुपर्ने, असत्ति ! तँइले खाइस र न तेरो बाउको यो अवस्था भो ।”

म कहाँ बुझ्थेँ र ती कुरा । हो, उनलाई मेरो ढुङ्गाको हिर्काइले रन्को छुटेको थियो र खल्र्याङखल्र्याङ गर्दै मलाई कुट्न झम्टिए । तर म अबोध बालिका देब्रे हातमा बोकेको अर्को ढुङ्गाले फेरि सालघरे हजुरबालाई हिर्काएर रुँदै चिच्याएँ, “मेरो बाबालाई पोल्ने तँ नै होइनस् ? आज म तँलाई मारेर यही त्रिशूली नदीमा बगाउँछु ।”

मलाई यस्तो कुरा भन्न कहाँबाट आयो हेक्का भएन । पछिल्लो पटक मैले हानेको ढुङ्गाले लाग्यो वा लागेन तर सालघरे हजुरबाले उज्याएको हात दाहिने हातले छेकेर देब्रे हातले मलाई समाउँदै अर्जुन काकाले भन्नु भो, “सालघरे हजुरबा, यो अबोध बालिकालाई के हिर्काउनुहुन्छ ? यो अज्ञानी छे । हिजो बेलुकी बाबाको खोकिलोमा सुतेकी छोरी बाबालाई खोलामा जलाएको देखेर तपाईं हामीसँग प्रतिकार गर्न आएकी हो । तर के गर्नु ! जीवित भए हामी पनि किन पोल्थ्यौँ र ? दैवले हरेपछि हामी कसको के लाग्छ र ? विचरा, यो निर्दोष बालिकाको के दोष । ऊ आफ्नो बाबा खोज्दै आई । त्यो हरेक बच्चाको बाबुप्रतिको माया र समर्पण हो । उसलाई न कुट्न सकिन्छ न सम्झाउन । मेरो आफ्नै छातीमा त भक्कानो छुटिरहेको छ, तीसौँ वर्षसम्म सँगसँगै मेलापात गरेको, गोठालो गएको, एउटै ओछ्यानमा अँगालो मारेर सुतेको । मेरो त मन थामिएको छैन भने यो बच्चाको मन कसरी थामिएला र ?”

अर्जुन काकाको कुरा सुनेर मलामीहरूको अनुहार आकाशबाट पानी चुहुनै लागेझैँ झनै काला भए । मेरा गालामा मुसारेर सालघरे हजुरबाले भन्नु भो, “के गछ्र्यौ त नानी, तिम्रो कर्मै यस्तो रहेछ टुहुरी बन्ने । विचरा ! अस्ति मात्र हो क्यार धिर्जेले यिनको हात समाएर मेरो घरमा तोरीको बिऊ छ कि भनेर आएको, तर आज यो संसारबाट विचरा … ।” उहाँको वाक्य पूरा नहुँदै गला अवरुद्ध भयो ।

केही मलामी र पुछारघरे बाले भने, “अर्जुन, छोरीलाई घर पु¥याएर आऊ वा ! यिनलाई यहाँ राख्नुहुँदैन । केटाकेटी न हो डराएर सातो जान सक्छ ।”

अर्जुन काकाले मलाई तान्दै लिएर उभो लाग्नु भो । म भने बाबालाई जलाएको आगोलाई पानी र ढुङ्गाले हानेर निभाउन चाहन्थेँ । तर मलाई अर्जुन काकाले समातेर जान दिनुभएन । काकाबाट छुट्न खोज्दै भन्दै थिएँ, “थुलोबाबा आगो मारेर बाबालाई बचाउनु न, उहाँलाई पोलिसक्यो । मेरो बाबालाई त्यति थुलो आगोले पोल्दा कति दुखीसक्यो । बचाउनु न थुलोबाबा बचाउनु !”

मेरो बाल तोतेबोली सुनेर ठूलोबाबा घ्वाँघ्वाँ रुनु भयो । खै को को हुन् उहाँलाई समाएर सम्झाउँदै थिए ।

अर्जुन काकाको हातबाट फुत्कन खोज्दै म भन्दै थिएँ, “काका, बाबालाई आगोबाट निकाल्नु न । आगोले जलाएर मार्नै आँट्यो, बचाउनु न काका बचाउनु ।”

तर के बचाउन् ! मेरा बाबा अकालमा मरेकाले जलाएका रहेछन् । मलाई काकाले जवरजस्ती बोकेर घर लानुभयो । म धेरै रूएकाले थाकेछु क्यार कतिखेर निदाएँ पत्तो भएन ।

बी.एस्सी. नर्सिङको परीक्षामा कलेज टप गरेकाले पुरस्कार थाप्न हिँजो काठमाडौँ थिएँ । तर आज बिहानै यहाँ आइपुगेकी हुँ । हरिबोधनी एकादशीमा फूल तार्न तँ जसरी भए पनि आउनुपर्छ है भनी आमाले भन्नुभएको थियो । हुन त बाबाको नाममा फूल तार्ने हो भनेकाले पनि मेरो मनले नआउन कहाँ मान्थ्यो र ?

हरिबोधनी एकादशीको दिन सामरी खोला दोभान र त्रिशूली नदी किनारमै रहेको मन्दिरमा भक्तालुहरूको ठूलै चहलपहल थियो । म मन्दिर छेक्नको लागि त्रिशूली किनारैबाट उठाएको पर्खालमा बसेर हेर्छु र सम्झन्छु बीस वर्ष अघिको घटना । हो यही खोलाको किनारै किनार हो बाबाको हातमा अठ्याएर घर गएका दिनहरू । धेरै साँझ “ओऊ … ओऊ …’ भनेर यही मन्दिरबाट कोही मान्छे कराउँथ्यो । म डरले बाबाको अँगालोमा घुस्रिएर भन्थेँ, “बाबा त्यो कराउने के हो ? यो राती किन कराएको ? भूत कराएको हो बाबा ?”

“होइन नि छोरी, त्यहाँ एउटा पागल मान्छे बस्छ । ऊ युवकजस्तो छ तर बोलाउँदा न केही बताउँछ न बोल्छ । केही दियो भने हात थापेर खान्छ । बिचरा कहाँबाट आएको हो । हिजो त्रिशूलीको किनारमा गाई चराउन गएको थिएँ । उसले भुँडी देखिने झुत्रो सर्ट लगाएको रहेछ । साह्रै दया जाग्यो र तिम्रो मामाले पोहोर मलेसियाबाट आउँदा ल्याइदिएको ज्याकेट थियो नि, त्यो दिएँ ।”

“किन दिएको त बाबा ? तपाईं के लाउनुहुन्छ त, बाबा ?” मैले नदिनु नि भन्दा बाबाले भन्नुभयो, “म होस भएकै छु । मेरा अरू पनि लुगा छन् तर उसलाई त कसले दिन्छ र ? ऊ जाडोले लुगलुग कामिरहेको थियो । उसको त्यो दयनीय अवस्था देखेर मन थाम्न सकिनँ र लगाइरहेको ज्याकेट दिएँ । त्यो दिएर मेरो मन कति खुसी भइरहेको छ, छोरी ।”

असारको दिन हुनुपर्छ, मन्दिरको उत्तरपट्टि रहेको यो अग्लो आँपको रूख छ नि, त्यसमा चढेर बाबाले आँप हल्लाउँदा म फ्रकको फेरमा जम्मा पारेर बटुल्थेँ । गाई चराउन जाँदा त्रिशूली नदीको घुमाउने दहमा माथिबाट ढुङ्गा हानेर छप्ल्याङ छप्ल्याङ बनाउँथ्यौँ । तर आज त्यही दहको माथिबाट फलामको लठ्ठा हालेर पानीको पाइप लठ्ठामा बाँधी फार्म र त्यसमाथिका बासिन्दाहरूले लगेका रहेछन् ।

आज त्यही घटना सम्झिएर बायाँ हातले समाएका ससाना ढुङ्गाहरू त्रिशूलीको पानीमा फ्याँक्दै नदीपारि हेरिरहेकी छु । नदीमा हानेका ढुङ्गाबाट पानीमा छप्ल्याङ गर्दै थोपाहरू परपर उछिट्टिन्छन् । पारिपट्टि पानी तान्नका लागि फार्मले बनाएको नदीको छेउमै टिनले छाएको सानो कटेरो देखिन्छ । त्यहीमाथि डिलमा अग्लाअग्ला सिमलका बोटहरू हरियै ढडिएका छन् । त्योभन्दा माथिको सम्म फाँटमा एउटा ठूलै घर र अरू टहराहरू देखिन्छन् । दक्षिणपट्टि लिचीका लहरै रूखहरू स्पष्टै देखिरहेकी छु । तर पनि मेरो मन बाबालाई जलाएको सामरी खोलाको दोभान नजिकै गइरहेको छ । जुन आजभन्दा बीस वर्षअघि मेरा बाबालाई गाउँलेहरूले यहीँँ आगो तापेका थिए ।

“ए छोरी ! यता आउन वा । एकोहोरो लागेर के सोचिरहेकी छ्यौ ?” आमाले बोलाउँदा मात्र म झसङ्ग भएँ ।

“आमा बाबालाई जलाएको त्यो दिन सम्झदै छु । उ त्यहीँ जलाएका थिए ।” मैले आमालाई देखाएँ । आमाको अनुहार त्रिशूलीको घुमाउने दहको पानीझैँ निलो भयो ।

“आऊ छोरी यहाँ आऊ । अरूले टाँग्दै गरेको फूलको लठ्ठा समाएर सघाऊ । जसमा तिम्रो बाबाको आत्माले शान्ति पाओस् ।”

म बाबियाको डोरीमा उनेको सयपत्री फूल तार्न डोरी छोड्दै गएँ । अरू मानिसहरू पनि फूल तार्दै थिए । त्रिशूलीपारि सरकारी फार्मको डिलमा लहरै उभिएका मौवाका फेदमा बाँधेर फूलको डोरी नदी वारपार टाँगियो । आमाले थुन्सेमा रहेका सयपत्री थुँगे फूलहरू नदीमा बगाउँदै भन्नु भो, “छोरी आऊ, आफ्नो बाबाको सम्झनाको लागि केही थुँगा फूलहरू त्रिशूली नदीमा बगाएर चिरशान्तिको कामना गर । यही नदीमा उहाँको अन्तिम दाहसंस्कार गरिएको हो ।”

मैले थुन्सेमा रहेका बाँकी फूलहरूबाट सबैभन्दा ठूलो एउटा फूलको थुँगो निकालँे र अरू फूलहरू नदीमा बगाइदिएँ । त्यो फूललाई मैले ओडेको सलको धागो तानेर फेदमा बाँधेँ । आमालाई बायाँ हातले समाएर तान्दै बाबालाई जलाएको ठाउँ नजिक पु¥याएर भने, “आमा, मेरा बाबालाई जलाएको ठाउँ यही हो ।” त्यतिखेरै नदीपारि मौवाको टुप्पोमा बसेका रूपीहरू च्याउँच्याउँ र च्युँच्युँ कराए । जहाँ मेरा बाबालाई जलाउँदा पनि कराएका थिए । ती रूपी जीवित नभए पनि कराउने सायद अरू रूपी थिए होलान् ।

यी मेरा आँखा साँक्षी छन्, त्यो दिन मेरो आँखाबाट यो त्रिशूलीको पानी बगेजस्तै आँसुको खोलो बगेको थियो । ती मेरा आँसु मिसिएर त्रिशूली नदी निलै बगेझैँ लागेको थियो । म यो उमेरसम्म मेरा बाबाको नाममा न केही गर्न सर्केँ न बिर्सन । र आमालाई भनेँ, “आमा, आज बाबाको सम्झनामा आमा छोरी भएर एक थुँगो फूल चढाएर मन हलुको पारौँ ।

आमा र मैले एक थुँगो फूल समाएर बीस वर्षअघि बाबाको बनाएको चितामुनिको बालुवामा गाड्यौँ र घामतिर फर्केर जम्ल्याहात ग¥यौँ ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments