उदार मनको व्यक्तिद्वारा अनुदान भूमिमा गाउँले श्रमदान बाट ठडिएको स्कुल । एकमुठो बाता, एकघना बाँस हाम्रा गाउँका प्रत्येक घरबाट योगदान भएको थियो । उप्रान्त म जस्तै थुप्रैले यही स्कुलबाट यात्रा गर्नु छ शिक्षाको । अनि पुग्नु छ धेरै माथि, जहाँ बाट आफ्नो र माटोको उत्साह कोर्नु पर्छ ।

मेरो ठम्याइमा, मैले पनि मेरो स्कुललाई अलिकति श्रमदान गरेको छु, खर, फुगचा, डाँडा, झ्याल्सी, बला, सिमेन्ट, बालुवा, रोडा अनि कर्कटपाता बोकेर ।

मेरा लँगौटियाहरू फ्याँचे, बोक्तरे, चुइँया, डाडुकुच्चे अनि म जिरे । यी हाम्रा अनौपचारिक संज्ञा । म अज्ञात छु हाम्रा उपनाम राख्ने को हुन् ? तर स्कुलमै पाएका हौँ, यी नामहरू । त्यसरी नै हामीले पनि शरीर, अनुहार, बोली, व्यवहार आदि हेरेर विद्यार्थीदेखि सरहरूका समेत नाम दर्ता गरेका थियौँ मथिङ्गलको बृहत् शब्दकोशभित्र ।

एकदिन कला सम्बन्धित विषय पढाउने (निर्मल सरको नाकको फोँद्रो अलिक फुकेको हुनाले फाँेद्रे सर भन्ने गथ्र्यौं) फोँद्रे सरले स्वैच्छिक विषयमाथि चित्र बनाउने गृहकार्य दिनुभयो ।

भोलिपल्ट क्लासमा सबैले बनाएको चित्र देखाउँदै भन्नु हुन्छ – “विद्यार्थी भाइहरूले बनाएको आजको यी चित्रका फेदीमा उहाँहरूका झर्राे उपनाम र नामका भावसँग मेलखाने अर्काे उपनामको चिचिलो फलाउनु भएका छन् । म उहाँहरूको फाँेद्रे सर, ती चित्रहरूले बोकेका भविष्यका विहङ्गम दृष्टि या सम्भावना समेत राख्न गइरहेको छु ।”

म झसङ्ग हुँदै मुसुक्क हाँसेँ फोँद्रे सर तिर हेरेर । हामी पाँच भाइलाई छोडेर अन्य विद्यार्थीका मनमा भने खुलदुली दौडीरहेका थिए होला, आखिर कुन कुन नामले फलाए त सुन्दर चिचिलो ।

मैले बनाको झन्डाको चित्र देखाउँदै भन्नु भो फोँद्रे सरले– “यो झन्डा बनाउने झर्र्राे उपनाम जिरे, नामः दिनेशले आफ्नो नामको पुच्छरमा ‘दीप्ति’ उपनाम फलाउनु भएको छ । र उहाँ भविष्यमा देशभक्त बन्ने सपना देखेँको छु । अर्काे चित्र बन्दुक बनाउने भाइ झर्रो उपनाम फ्याँचे, नामः सुमन कुमारले आफ्नो उपनाम ‘सुगन्ध’ लेख्नु भएको छ । र उहाँ भविष्यमा प्रखर बन्दुकधारी बन्नु हुने प्रवल सम्भावना देखेँ । त्यस्तै तेस्रो चित्र हलो बनाउने झर्रो उपनामधारी बोक्तरे, नामः इन्द्रबहादुरले ‘सप्तरङ्गी’ उपनामको चिचिलो फलाउनु भएको छ । र उहाँ भविष्यमा नामुद कृषक बन्नु हुने प्रवल आशा गरेँ मैले । चौथो चित्रकार झर्रो उपनाम डाडुकुच्चे, नामः आविर्भूतले आफ्नो नामको पुच्छरमा ‘दीन’ लेखेर नूतन प्रयोग गर्नु भएको छ । र उहाँको गाई चित्रले पशुपालनतिर ढल्कने लखकाटाई बन्यो मेरो । अब अन्तिम उपनामधारी चुइँया, नामः स्कन्धश्रीले ‘यात्रा’ उपनाम थपेर पृथक कौतूहल जगाउन सक्षम हुनु भएको छ । उहाँको मासु झुन्ड्याएको चित्र हेरेर भविष्यमा कटिङ् सेन्टर सञ्चालक बन्नु हुने छाँट मैले देखेँ । त्यस्तै अन्य विद्यार्थीका चित्रहरू फल, चरा, फूल, पहाड, हिमाल, घर, पाठशाला आदि हेर्दा उहाँहरू भविष्यका देशका कर्णधार हुन् ।

विशेष हाम्रा पाँचजना उपनाम थप्ने भाइहरू क्लासका राम्रा विद्यार्थी हुन् । अझै परिश्रम गर्दै अन्य क्लासका साथीहरूसँग हातेमालो गर्दै राष्ट्रिय स्तरमा पुग्नुहुने छ, त्यो आशा मैले गठ्याएँ । र उहाँहरूको चित्र बनाउने उत्कृष्टताले सुन्दर भविष्य कोर्ने छ । विशेष उपनाम राख्ने चलन कहिले,कसले सुरु ग¥यो ? थाहा छैन । र पनि विशेष साहित्यकारहरूले आफ्नो नामको पुच्छरमा सुन्दर उपनाम लेख्ने गर्छन् । यदि भविष्यमा प्रख्याते साहित्यकार बन्नु भयो भने मेरो अग्रिम बधाई रहने छ उहाँहरूलाई ।

अन्तमा चित्र बनाउने चित्रकार भविष्यमा त्यही चित्र सम्बन्धित चित्रको व्यवसाय गर्ने भन्ने जो अट्कल काटेँ, त्यो केवल मनोरञ्जनको लागि मात्र थियो । किन कि सोचाइ र लक्ष्य परिवर्तन भइरहने गर्छन्, कारक परिस्थिति र समय हुन सक्छ ।

समयको पात फेराइसँगै मेरो हृदयमा फोँदे्र सरको देशभक्ति शब्द बेलाबेला तरङ्गित हुने गथ्र्याे । बन्दुकको चित्र बनाउने फ्याँचेले भनेको थियो –‘अरे यार ! फोँद्रे सरले त मेरो हृदयको कुरालाई ठ्याक्कै भन्नु भो । म त भविष्यमा निशानेबाज भएर देशलाई स्वर्णपदक दिने रहर छ । बुबाआमाको, गुरुको, माटोको, पितृको र प्रकृतिको आशिष रहोस्, म लागि पर्छु, सपना पूरा होस् यस्तै यस्तै ।”

“तर मेरो लक्ष्यभन्दा फरक तर्क थियो सरको’— झुन्ड्याई राखेको मासुको चित्र बनाउने चुइँयाले गुच्चा हाने जस्तो औँँला बनाउँदै भनेको थियो –“म त नेता भएर समूह, गाउँ, जिल्ला हुँदै राष्ट्र हाँक्छु । देशमा नयाँ प्रगतिधारको प्रादुर्भाव गर्दै माटो र माटोका सन्ततिलाई जुरुक्क उठाउँछु । अनि तिमीहरू जिरे, डल्ले, फ्याँचे, बोक्तरे, डाडुकुच्चे, सुइँठी, गार्लाकी, क्लास टप गर्ने झुसी जस्तालाई सलाम ठोकाउने, मेरो पहिलो यात्रा रहने छ, बुझ्यौ ।”

“हाहाहा ! अनुहार कता, बन्ने रे’नेता । नेता बन्न त आँट, छाँट र ग्याँठ हुनुपर्छ ।” भन्दै प्याँचेले खिसी ग¥याथ्यो ।

“हेर फ्याँचे ! तैले बनाको बन्दुकको चित्र हेरेर फोँद्रे सरले भन्नु भएको छ तँ बन्दुके बन्छस् अरे । विश्वको निशाना मारक त बन्दैनस् । मेरो अंगरक्षक त अवश्य बन्ने छस् । त्यो बेला म फेरि सम्झने छु आजको पललाई ।”

“ई………..!’ परैबाट हात लोपार्दै भन्यो फ्याँचेले –“मान्छे फुचुनो, सपना गाई दुहुनो । अरे गफ हाँक्ने पनि एउटा सीमा हुनुपर्छ नि । घरमा मुसोका नाराजुलूस, सपना मन्त्री हुने । कस्तो बिना आकारको शून्य गफ ठोकेको यार ।”

“ल सुन है जिरे !” चुइँयाले फेरि हाँक् लगाथ्यो –“भोलि नै म विद्यार्थी युनियन गठन गरेर नेता बन्ने शुभसाइत गरेँ । तँ मेरो समूहमा आउँछस् भने सेक्रेटरी बनाउँछु ।”

“लु बधाई चुइँया !” छेउकै पातीको मुन्टा टिपेर दिँदै भनेँ थेँ –“नेता र मन्त्री बन्ने राम्रो टार्गेट । म, सलाम हान्न अवश्य आउने छु, तेरो कार्यलयमा । त्यतिबेला मेरो सम्बोधनमा तँ, तपाईं हुने छस् । तेरो आग्रहलाई डस्टबिनमा फ्याकेँ अहिलेलाई । मैले मेरा बुबाआमाको सपना साकार गर्नु छ । किन कि बाजेबज्यू र बुबाआमाले नेता भएस् भनेर आशिष दिनु भएका छैनन् ।”

“ओ के म त होमिएँ राजनीतिमा’— भन्दै चुइँया हिँडेको थियो भलिबल मैदान तिर ।

एकसमय आउँदो रहेछ फूलहरू फुल्दा रहेछन्, एकसमय आउँदो रहेछ फूलहरू झर्दा रहेछन् । फूल जस्तै भयौँ । हामी माध्यमिक तहसम्म सँसँगै फुल्यौँ, रमायौँ, तत्पश्चात् उपनामधारीको समूह पानी भरिएको माटोको घैला फुटे जस्तै भयौँ । ल्याकत अनुरूप हाम्रा अध्ययनको लक्ष्य फरक भए । कोही काठमाडौँ कोही विराटनगर, धरान, धनकुटातिर लागे । म भने आर्थिक स्थितिको सेपले गर्दा सिराहा तिर लागेँ ।

समयसँगै मधेसको भित्री गाउँमा मैथली भाषी नानीहरूसँग अक्षर खेल्दै शिक्षा आर्जन गर्दै थिएँ । जुनघरमा बस्थेँ त्यो घरबाट एकझोला मधेसको माया बोकेर पहाड लान्थेँ । ती सरदामसँगै पछ्याउँदै गएको मधेसको घूर प्रिय हुन्थ्यो मेरो घरको घूरसँग समिश्रण भएर । त्यो मात्रै होइन मधेसको मैथली गीत, भोजपुरी, मगही आदि अधुरो भए पनि गाउँदा गाउँका तरुणी तन्नेरीहरू कति मजाले नाँच्थे ।

त्यस्तै पहाडबाट एक झोला आत्मीयता बोकेर समर्पण गर्न पुग्थेँ मैथली आँगनमा । त्योबेला हाम्रो साग, सिस्नु, भटमास, चिउरीको घ्यू, घराखुरीको तेल, ऐँसेलु, काफल, सुन्तला, नासपातीले अलग्गै लोकप्रियता आर्जन गथ्र्याे ।

कहिले ढोलक, मृदङ्गा, ख्याली, चिम्टाको सङ्गीतमा हाम्रो हूर्रा, मारुनी, सालैजो, झ्याउरे, बालन, सँगिनी, काठे गुन्गुनाउँदा, नानी र युवाहरू नाँच्दा यस्तो लाग्थ्यो पहाड गीत गाइरहेछ र मधेश नाँच्दै छ ।

केही वर्षको त्यो आत्मियपनलाई आज पनि बचाई राखेका छौँ, फोनको माध्यमद्वारा ।

त्यस पछि उच्च शिक्षा हासिल गर्न काठमाडौँ जानु मेरो बाध्यता थियो । कसरी पढ्ने, कहाँ बस्ने, के खाने, अलग्गै तीतो र यथार्थ समस्या मसँग गाउँबाट पछ्याउँदै काठमाडौँसम्म आइसकेको थियो । समस्याका लहरोले झन घरको चरदेखि धुरीसम्म जेलिएका थिए । त्यो लहरोको मूलजरो काट्ने हतियार भने मैले नै कमाउनु थियो । सके देशको, नसके क्षेत्रको, सके गाउँको, नसके घरको स्थितिलाई सुधार्ने जमर्को गर्नु छ मैले ।

यस्तै छुट्टै सपनालाई शिरपोश बनाएर हिँडिरहेँ लक्ष्य तिर ।

म मेरै गाउँको दलित दाइको छाहरीमा ओत लिन पुगेँ, धेरै आफन्तहरूबाट निराशा पाएपछि । उहाँ गलैँचा कारखानाका डिजाइन मास्टर हुनुहुन्थ्यो । हामी शिक्षित युवाहरूले गाउँको छुवाछुत संस्कारलाई भित्रभित्रै भाँचिसके  पनि  अलिक बूढापाकाहरूले अझै पहिरी रहेकै थिए छुवाछुती घिन लाग्दा आवरण । सामाजिक स्थलहरूमा खुल्ला गरे पनि आफ्नो निजी अधिकार भित्र भने भेदभावको मूलदेवता पूजीरहेकै थिए ।

दाइले मेरो समस्यालाई बुझेर उहाँसँगै राख्नु भो । बिहानको कलेज पश्चात् त्यही कारखानामा कामको तारतम्य मिलाई सहज बनाइदिनु भो । म आफैँ निर्भर भएर पढ्न थालेँ, तर पहिलो वर्षको नतीजा उत्साहजनक आएन झीनो अङ्कले मात्रै पास भएँ । यस्तो नतीजाले बाजेबज्यू र बुबाआमाको आशिष् साकार होला जस्तो लागेन । त्यहीँ काम गर्ने बेला एउटी तान बुन्ने ठिटीसँग आँखा जुध्दा जुध्दै बसेको प्रेमलाई पतिपत्नी बन्ने रहरले चिमोट्यो । मैले उहाँलाई बिहे गरेँ भने मेरा अग्रजले ताकेका लक्ष्य पुग्न सक्ने स्थितिलाई सोचेथेँ मनमनै ।

बिहेको निर्णय छिटो गर्नु थियो । प्रस्ताव राखेँ । पहिले त आनाकानी गरिन् । तर मैले वार या पारको कुरा राखेपछि स्वीकार भयो । कारण उनी पनि म जस्तो छक्का पन्जा नगर्ने केटो छोड्ने पक्षमा थिइनन् ।

त्यसपछि आर्थिक समस्या सहज भएको थियो । म पढ्न थालेँ, श्रीमतीको न्यानो माया र चोखो श्रमोत्साहले । कसैले त श्रीमतीको पसिनामा पौडी खेल्ने पानीमरुवा चेपा समेत भने । त्यति मात्रै होइन दलितको जूठो खाएर पढ्नेलाई समाजबाट निकालेर कालो कुखुरोले बाटो काटी दिनेसम्म भन्न भ्याए, भित्र भित्रै । त्यो भन्ने एउटै भाँडोमा भात खाने रहेछन्, पछि थाहा पाएँ । हाक्काहाक्की नभएको कुरा एउटा कानले सुनेँ अर्कोले उडाइपठाएँ । मैले त अग्रजले देखेका लक्ष्य टेक्नु थियो ।

समयसँगै कहिले खडेरी परेर भोकै भएँ, कहिले शरद र बसन्त जस्तै ढकमक्क फुलेँ । आज एउटी चालकको नाउमा बसेर मनसुन यात्रा गरिरहेकोे छु । त्यसैले संसारको धेरै खुसीयाली मनाउने मान्छे मध्ये मेरो पनि नाम आउँथ्यो होला, यदि कसैले खोजी गरे ।

चाडबाडमा घर जाँदा, घरको दुःख देख्दा लाग्थ्यो सबै परिवारसँगै काठमाडौँ लिएर जाउँ । तर घर संसार चलाउन, पुगिसरी भइसकेका थिएनौँ, काठमाडौँको हतारे, महँगे परिवेशभित्र । र जन्मभूमिसम्म जाने माध्यम पनि छिनाइहाल्नु थिएन मलाई । पैतृक माटोमा मैले पनि नमेटिने छाप छोड्नु थियो सर्वप्रिय कर्मको ।

सानोमा कुनै वास्ता नरहेको संस्कार संस्कृति यो बेला हाम्रो मौलिक सम्पत्ति ठानेर त्यता तिर आकर्षित हुन थालेको छु । अझै सम्झना आलै छ गाउँमा सुँगुर काट्दा सुँगुरको मूत्रथैली (फुकाउने) लाई माटोमा खुट्टोले माडेर खुब नरम बनाई, सानो बाँसको तारिका काटेर फुक्थ्यौँ र भकुण्डो बनाएर खेल्थ्यौँ । अझै अचम्म ती भुइँफुट्टा पशुचिकित्सकहरूले विशेष बार पारेर सुँगुरको पाठा सज्दा निकै ध्यान दिएर हेर्न थालेँ । रौँ खाने कर्दको टुप्पोले अण्डकोष चिरेर निकालिन्थ्यो । त्यो अण्डकोष निकालेको थैलोमा बेसार र मकैको पिठोलाई तोरीको तेलमा मुछेर लगाइदिने गरिन्थ्यो । तीन आँैला जति राखेर पुच्छर काटी घाउमा झरिलो आगोको अगुल्ठोले डामेर तेल लगाई छाडिन्थ्यो । निकालिएको अण्डकोष र पुच्छरको ठुन्कालाई बाँसको झीरमा उनेर घर या खोल्माको छानोमा सिउरेर राखिन्थ्यो । ‘जति छिटो अण्डकोष र पुच्छर सुक्छ त्यति छिटो पाठाको घाउ सुक्छ’ भन्ने लोकोक्ति पनि थियो । त्यही पाठो ठूलो सुँगुर भएर मुरी, पच्चीस धार्नीको भएपछि गाउँमा भेजा लगाइन्थ्यो । भेजा लानेको टिप्पनी लेखिन्थ्यो बेहोरासहितको, धार्नी, बिसौली, बोडी, हमाली, सातसेर कसले कति लगे भन्ने । त्यो सँुगुरको नाइटो पनि पुच्छर र अण्डकोष सिउरेको ठाउँनिरै साटामा झुन्ड्याइन्थ्यो । त्यो नाइटोको बोसो वर्षामा जोत्दा फुटेको गोरुको काँधमा दबाइको रूपमा प्रयोग हुन्थ्यो । जहिलेसम्म सुकेको नाइटो छानोमा रहन्छ, कहिल्यै खोरमा सुँगुर टुट्दैन भन्ने सुनिन्थ्यो कतै । वर्षमा कति सुँगुर काटियो यो घरमा भन्ने सङ्केत गथ्र्याे झुन्ड्याई राखेका नाइटोहरूले । नाइटोका आकारहरू पनि हाँस उठ्दो हुने गर्थे, सुरुको सुकेर सानो बटारिएको, त्यसपछिको अलिक ठूलो उस्तै ढुँडी बसेर बटारिएको ।

मेरो घरमा सानो खसीपार्ने र ठूलो गोरुबर्ताउने दुइटा काठका चेपुवा थिए । कहिले काही मसिना भाइहरूलाई अब खसीपार्छु भन्दै सानो चेपुवा लिएर दगुराउँथँे । ती भाइहरूले पछिसम्म मलाई चेपुवा दाइ भन्दै खिसी गर्थे ।

एकदिन चरनमा एउटा भाइले सिङारे खसीतिर देखाउँदै भन्यो – “दाइहरूले यसको गेडा (अण्डकोष) खाइदेको होइन ?”

सुनेर म नहाँसी रहनँ सकिनँ । हो भन्न बाध्य भएँ । त्यति बेलाको सम्झना आयो काकाले चिरेर खसी बनाउनु भएको बोकाको अण्डकोषलाई भुटेर खाइएका थियौँ । मीठो पनि लागेको थियो । त्यसपछि

त, हामी तीन भाइ चियो गरिहिँड्थ्यौँ । कसको घरको बोका खसी पार्ने बेला भयो भन्दै । आज सोच्दा नराम्रो लागे पनि यथार्थ थियो ।

गाउँका अघोषित पशुडाक्टरहरू गाई गोरुको पुच्छरमा बुटी बाँधेर देशान रोक्ने विश्वास गर्थे । त्यो भन्दा पनि मलाई अचम्म लाग्छ कुकुर र बिरालो समेतलाई नियोजन गरिन्थ्यो । अझै अचम्म त आधुनिक विज्ञानलाई चुनौती दिँदै भुनी सुँगुरलाई पनि बन्ध्याकरण गर्थे । हलो र लगनाको बाँध खुवाउनु, हलगोरुको उचाइ अनुसार हलो बाँध्नु इत्यादिले छक्क पर्थे ।

आज यहाँ उभिनँ आइपुग्दा प्रत्येक मान्छेका हातमा स्मार्ट फोन छन् । यातायातको सुविधाले पैदल यात्रा छैन, डोको, ढाकर, किर्पेट छैन । जाँतो, ढिकी, दियालो, कुपी लाल्टिन, मयनटोल, बाँसको राँको, टर्चलाईट, बिनायो, मुर्चुङ्ग, बाच्छाकी बाजा देखिँदैन ।

अरूलाई अशिक्षित, गट्ठी लागे पनि मेरी श्रीमती मलाई महान् छिन् । आज उहाँले परिश्रमको आरानमा मेरो सपनालाई रसायन नदिनु भएको भए, मेरो भाग्यमा ढाकर हुन्थ्यो या कसैको हलो ।

समयको तारतम्य, मेरो भोगाइको श्लोक —

स्कुल स्तरका साथीहरू चुइँया साँच्चै नेता नै बन्यो । बन्दुक बनाउने प्याँचे सुमनकुमार “सुगन्ध” भारतीय सैनिक छ । डाडुकुच्चे आविभूर्त ‘दीन’ चर्चित व्यापारी बनेको छ ।

खै मैले शिखर पुगेर पहिलो पाइला टेकेको आँगनको माटोलाई बिर्सन त खोज्दै छुइनँ । दुःख मै बुबाको इहलीला गयो । आमालाई गाउँ र भाइप्यारो छ । धेरै प्रयास गरेँ दुःखको परिधिबाट झिकेर सुख सैलमा राखौँ । तर आमाले गाउँ नछोड्ने भए । सायद आमा हुनाले दुःख पाएको सन्तान पहिलो प्राथमिकतामा रहन्छ, आफ्नो इच्छालाई बन्धक राखेर पनि । गाउँ पनि त भाइ जस्तै छ ।

बेलाबेला आमालाई भेट्न जाँदा सुरुमा गाउँ भेट्छु, भाइबुहारी, इष्टमित्र भेट्छु । सानोमा बेहुला बेहुली खेली हिँडेको ढिस्कुरो, खोल्सी रूख आदि भेट्छु । अनि त्यहीँको हावापानीले हुर्केका नयाँ पीढी देख्छु, जस्लाई चिन्न उसको बुबा आमाको परिचय सोध्न पर्छ । मेरी आमा र भाइलाई देखाएर चिनाउनु पर्छ आफूलाई पनि ।

परैबाट हेरिरहेका हुन्छन् मलाई चिन्नेहरू । अनि अप्ठ्यारो मान्दै भन्नु हुन्छ– “अब यो गाउँ फर्कन्छ के ?”

कुरा सुनेर स्तब्ध हुन्छु म, जवाफ दिने शब्दहरू छैनन् । केवल द्रवित मन लिएर हेरिरहन्छु, बचन पूरा गर्न नसकेको मान्छेले झैँ । आफू पढेको स्कुलमा स्वर्गीय बुबाको नामबाट अक्षय कोश खोलेर जेहान्दार विद्यार्थीलाई पुरस्कृत गर्ने मनसाय बनाएर आएको छु यसपालि र कसैलाई भनेको छुइनँ, गाउँ भेलामा नसोचेको उपहार दिन । तर —

अचानक मोबाइल बज्यो । उठाएँ उताबाट श्रीमती बोल्छिन्— “अमेरिका जाने मामा घडेरी बेच्नुहुन्छ’ रे । पैसा नमासी तुरुन्त काठमाडौँ आउनुहोस ।”

म छाँगेभिरबाट छ्वाङ्ग खस्छु, यसपालि पनि अधुरो स्थितिले नै कुल्च्यो भाग्यलाई ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments