बाप्m रे ! ‘खोला’ भन्नेबित्तिकै मेरो सातोपुत्लो उड्छ । किनभने ‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखान मलाई पढेर होइन, परेरै थाहा छ । ठूल्ठूला खोलाको त झन् नाउँ मात्र पनि काफी हुन्छ मेरो लागि, तर्ने कुरा त परै जाओस् । यसो भनेर मैले खोला तरेकै छैन, तर्ने गरेकै छैन, तर्दै तर्दिन भन्न खोजेको होइन । खोला त मैले कति तरेँ कति तरेँ । किशोरकालदेखि युवाकालसम्म दस गाउँको पुरेत्याइँ गर्ने क्रममा र बीस वर्षको उमेरदेखि बारा र रौतहट जिल्लाका कोप्चेरा गाउँठाउँका हाइ स्कूलहरूमा जागिर खाने क्रममा अनि आपूmखुसी कहिले पहाडका विभिन्न भागतिर त कहिले तराईका विभिन्न भागतिर डुलिहिँड्ने क्रममा, गनेर र भनेर के साध्य ! तर तराईको एउटा खोला तर्दाको त्रास र रोमाञ्च आजसम्म पनि जरो गाडेर बसेको छ मभित्र ।

आज म जुन खोलाको कुरा गर्न लागेको छु, त्यो खोला ठूलो पनि होइन र सानो पनि होइन । बाह्रैमास पानी भइराख्ने सदानीरा नदी हो र त्यसको उद्गम हो चुरेपर्वत । अर्थात् पहाडी खोला हो त्यो । जसमा हिउँद याममा पनि कम्तीमा घुँडाघुँडा पानी रहिरहन्छ । त्यसको नाम हो पसाहा । पूर्व–पश्चिम राजमार्गमा पथलैयादेखि दश किलोमिटर पूर्वमा भेटिन्छ त्यो । र, लामो पनि छ निकै । त्यसलाई मैले असङ्ख्य पल्ट अनेक ठाउँबाट तरेको छु र अनेक कुठाउँबाट पनि तरेको छु । कलैयावासी पहाडियाहरूको चोला विसर्जनको स्थल पनि त्यसकै तट हो प्रायः गढीमाई जाने बाटोछेउमा पूर्वतिर टेङ्डहर खोल्सो मिसिने ठाउँमा । त्यसैले अनगन्तीपल्ट मलामी गएको छु म त्यहाँ । र, मेरा ऋषितुल्य बाबा नरनाथ उपाध्याय न्यौपानेलाई र प्यारी पत्नी कल्पनालाई पनि त्यहीँ सेलाएको हुँ मैले ।

म आज पूर्व–पश्चिम राजमार्गदेखि दश–बाह्र किलोमिटर दक्षिणतर्पm, बघवन गाउँदेखि दक्षिण र भौँरा गाउँदेखि उत्तरपूर्वतर्फ हाल गढीमाई जाने बाटोमा रहेको पक्की पुल भएकै ठाउँनेर कुनै दिन त्यो खोला तर्दाको एउटा अपूर्व प्रसङ्ग प्रस्तुत गर्दै छु ।

कुरा २०३० साल असार १६ गतेको हो । म त्यसताका उमेरको एक्काइस खुड्किलो उक्लँदै गरेको अविवाहित नवयुवा थिएँ र रौतहट जिल्लाको ‘धरहरी’ गाउँमा सञ्चालित ‘जय किसान हाइ इङ्लिस स्कूल’ नाम गरेको स्कूलमा पढाउँथे । यो मेरो जागिरको दोस्रो स्कूल थियो । बारा जिल्लाको थरोट इलाकामा पर्ने उमजन गाउँमा सञ्चालित ‘जनता हाइ स्कूल’ मा २०२९ सालको साउनदेखि फागुनको पहिलो सातासम्म पढाएर धरहरीको हाइ स्कूलमा नियुक्त हुन पुगेको थिएँ म । उमजनको स्कूलमा पढाउँदा ताका पनि मैले हरेक साता घर–स्कूल गर्ने क्रममा निर्विकल्प रूपले पसाहा तर्नै पथ्र्यो । त्यस खोलामा अत्तो न पत्तोसित भयङ्कर बाढी आइदिन्थ्यो टन्टलापुर घाम लागेको वेलामा पनि सिरान बर्सेर । त्यसैले त्यस खोलाको नाम मैले ‘रिसाहाखोला’ र ‘बौलाहाखोला’ राखिदिएको थिएँ मनमनै ।

अँ त, असारको पन्ध्र गते बिहान स्कूलमा हाजिरी गरेपछि डेढमहीना लामो गर्मीविदा (बर्खेविदा) भयो भदौ एक गते खुल्ने गरी । खानपिनपछि हामी शिक्षकहरू आ–आफ्ना घर जान हिँड्यौँ । त्यस स्कूलमा पढाउनेहरूमध्ये पाँचजना भारतको बिहार प्रान्तका थिए, तीन जना स्थानीय नै थिए र अरू केही चाहिँ मजस्तै टाढा अर्को जिल्लामा घर हुनेहरू थिए ।

बारा जिल्लाको पूर्वी भागमा घर हुने अङ्ग्रेजी विषयका शिक्षक रामस्वरूप यादव र बारा जिल्लाको सदरमुकाम कलैयामा घर हुने म सँगसँगै बाटो लाग्यौँ । त्यसताका यातायातका कुनै साधन थिएनन् कसैकसैले साइकल प्रयोग गर्थे भने बाँकी पैदलै हिँड्थेँ निर्विकल्प रूपमा । एउटै जिल्ला भए पनि रामस्वरूप यादवको र मेरो घरको बीचमा चार–पाँच घन्टाको पैदल दूरी थियो । बाटामा अनेक खोलाहरू पर्थे ।

स्कूलदेखि मेरो घर नौ–दस कोस पश्चिम पथ्र्यो भने रामस्वरूपको चाहिँ चार–पाँच कोस । म पन्ध्र गतेकै दिन पनि स्कूलबाट कस्सिएर हिँडी बेलुका घर पुग्न सक्थेँ । पुग्ने गरेकै थिएँ अघिअघि पनि । त्यसैले मेरा गोडा बिहानको भोजनपछि लगत्तै उचालिएका थिए । तर, रामस्वरूपजीले आपूm पनि भोलि मसितै कलैया जाने घरेलु कामको सिलसिलामा, त्यसो हुनाले आज राती उनकै घरमा बस्ने दुवै जना र भोलि बिहानै कलैयाको बाटो लाग्ने भन्ने प्रस्ताव राखे । त्यसो त उनको गाउँ मेरो घर जाने मूलबाटोमा नभएर बाटोदेखि एक–डेढ कोस दक्षिणतिर पथ्र्यो तर पनि बर्खाको मौसम र बाटोमा नौ–दसवटा खोला तर्नुपर्ने हुनाले पनि एक्लै हिँड्नुभन्दा घरसम्मकै सहयात्रीसित हिँड्नु मेरो लागि बुद्धिमानी हुने देखेर मैले उनको प्रस्तावलाई ‘नाइँ’ भन्न सकिनँ । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका रामस्वरूप यादवजी अत्यन्तै सरल र सज्जन थिए । मलाई त्यस हाइ स्कूलमा अध्यापनका लागि निम्त्याउने पनि उनै थिए । उनका दाजु चन्देश्वर यादव पनि मेरा सहकर्मी थिए बारा जिल्लाको जनता हाइ स्कूलमा पढाउँदा । उनी अङ्ग्रेजीका स्नातक थिए र म चाहिँ संस्कृत र नेपालीको । उनी पनि अत्यन्त सफा र खुला मनका थिए । उनीहरू दुवै जना पाँच–सात वर्ष जेठा थिए मभन्दा । रामस्वरूपजीको घरमा राति चन्देश्वरजीसित पनि भेट हुने हुँदा मलाई रामस्वरूपजीको प्रस्तावले थप लोभ्यायो ।

दिउँसो बाह्र बजेतिर हामी दुई भाइ बाटो लाग्यौँ ।

स्कूलछेउमै पश्चिमपट्टि बग्ने कमदेई नाउँको सानो खोला र देबाही गाउँको छेउमै पश्चिमपट्टि बग्ने बकैया नाउँको ठूलो खोला तरेर रौतहट जिल्लाका अनेक गाउँबस्ती छिचोल्दै त्यस भेकमा बारा र रौतहट जिल्लाको सिमानाका रूपमा रहेको अँडुवाखोला तरेको केही समयपछि बतरा गाउँमा पुग्यौँ र रामस्वरूपजीको घरमा पस्यौँ ।

रात्रिविश्रामपछि भोलिपल्ट असार सोह्र गते बिहान पाँच बजे नै कलैयाको बाटो लाग्यौँ पश्चिमाभिमुख भएर । भटिनिया गाउँ नाघी पटेरवाबजार र चिउँटाहा गाउँको बीचमा पुगेपछि श्री ३ पद्मशमशेरको पालामा निर्माण गरिएको र पूर्वमा रौतहट जिल्लाको हजमिनियाँ गाउँसम्म र पश्चिममा कलैया, वीरगन्ज हुँदै झन्डै ठोरीक्षेत्रसम्म लम्बिएको ‘पद्म रोड’ नामले चिनिने र स्थानीय बोलीचालीमा ‘सेन्टर’ भनिने सडक समातेर अघि बढ्दै गयौँ । जिल्लाको सदरमुकाम भएकोले ‘कलैया’ मा रामस्वरूपजीको केही अफिसियल काम थियो र केही सामान पनि किन्नु थियो । त्यसैले सजिलोका लागि उनले साथमा मलाहा जस्तै माछा मारेर जीवन निर्वाह गर्ने ‘बीन’ जाति र ‘मुखिया’ थरका आफ्ना एक जना घरेलु कार्यसहायकलाई पनि लिएका थिए ।

तीस–पैँतीस उमेरका ती बीनजीले हामीहरूको खाजाका निम्ति बिहानै रामस्वरूपजीकी गृहिणीले तयार पारेको परौठा, आलुको भुटुवा र आफ्नै घरको खुवाजस्तो दही राखिएको झोला बोकेका थिए । चिउँटाहा हाइ स्कूलको अघिल्तिरबाट सडकैसडक पश्चिम लागिरह्यौँ हामी । चिउँटाहा र लगँडाचोकको बीचमा जमुनीनदी तर्नुपथ्र्यो । त्यस नदीमा कम्मरकम्मर पानी रहेछ । तर प्रवाह तीव्र थिएन र तल्लो लुगा फुकालेर त¥यौँ । तर्ने क्रममा बीनजीले बोकेको खाजाको झोला उनको काँधबाट खै कसरी पो हो झरेर नदीमा डुब्न पुग्यो । अब त्यसलाई उठाउनुको औचित्य थिएन । खोलाको धमिलो पानीमा चुर्लुम्म डुबेको रोटी, तरकारी र दहीको जति माया लागे पनि के गर्नु !

त्यसपछि आयो लँगडाचौक अनि लगत्तै आयो तीयरनदी । त्यसमा तिघ्रातिघ्रा पानी रहेछ । तरेर अमरपट्टी–बाजोपट्टी गाउँ नाघ्यौँ । त्यसपछि त¥यौँ थलहीनदी र केही बेरमा बरियारपुरचौक नाघेर र दाहिनेतिर केही दूरीमा रहेको गढीमाईको स्थानलाई शिर झुकाएर पुग्यौँ पसाहाखोलाको डिलमा ।

त्यस बाटोमा अचेल जुन ठाउँमा पक्की पुल हालिएको छ, त्यसैको केही मिटर दायाँ–बायाँ थियो तर्ने घाट । त्यस ताका भने त्यहाँ पुलको कल्पनासम्म पनि थिएन । त्यसैले, खोला गोडैले नतरी सुखै थिएन । वारि (पूर्वी) डिल निकै अग्लो थियो र तलको बलौटे बगरको पैmलावट पनि निकै थियो । पानीले ओगटेको भाग चाहिँ पच्चीस–तीस फिट हुँदो हो र खोलामा पानी हुँदो हो घुँडाघुँडा आउने । हामी भएतिरैको (पूर्वी) किनारमा बाटोदेखि दक्षिणतर्पm खोलाको पानीदेखि पन्ध्र–बीस फिटको फरकमा एउटा लाश जलिराखेको थियो । मलामीको नाउँमा चरो–मुसो कोही थिएनन् । भोजपुरीभाषी समाजमा लाश राम्रोसित जल्ने व्यवस्था मिलाएर चितामा आगो लगाएपछि सबै मलामी घर फर्कन्छन् । हामी नेपालीभाषी पर्वतेहरूको जस्तो लासलाई पूरै खरानी पारेर चिता पखाली त्यही थलोमा पिण्ड दिनुपर्ने चलन उनीहरूको छैन । त्यसैले त्यो जलिरहेको चिता नेपालीभाषी पर्वतेको होइन भन्ने कुरा प्रस्ट थियो ।

अँ त, हामी तीन प्राणी खोला तर्ने सुरसारमा डिलबाट तल ओर्लन लाग्यौँ । त्यसै वेला विकराल गर्जन आयो उत्तरतिरबाट । झसङ्ङ हुँदै यसो खोलामा हेर्दा त असमेल बाढी पो आइराखेको केही मिटरमात्रको अन्तरमा सिरानतिर । हामी डिलबाट ओर्लनसम्म पनि भ्याएनौँ । बगरमा झर्ने र खोला तर्ने कुरा त परै जाओस् । हामी डिलको आधाआधी भागमा ओर्लुन्जेलमा बाढीले ह्वात्तै आएर हाम्रो बाटो छेकिहाल्यो । खोलासित बलमिचाइ गर्नु मूर्खताबाहेक अरू हुँदैन, त्यसमा पनि अझ पहाडी खोलासित । त्यसैले बिलखबन्द पर्दै हामी फरक्क फर्केर फेरि उक्ल्यौँ डिलमाथि नै । आठ–दस मिनेट मात्र पहिले डिलमा आइपुग्न पाएको भए सजिलैसित खोला तर्न भ्याउने रहेछौँ । तर यो त दैवसंयोगको कुरा थियो । टन्टलापुर घाम लागेर जीउबाट तर्तरी पसीना छुटिरहेको यस्तो वेलामा खोलामा अत्तो न पत्तोसित ह्वात्तै बाढी आइदेला बगरै ढाकेर भन्ने पहिले नै कसरी थाहा पाउनु ? अन्तर्यामी हो र ! त्यस पसाहा खोलाको रौद्र–लीलाको अलिकति बयान मैले कतै अन्त पनि गरिसकेको छु । त्यस प्रसङ्गको पनि अहिले झल्झली सम्झना भयो मलाई ।

२०२९ सालको असोज ९ गते आइतवार घर कलैयाबाट मेरो पहिलो जागिर भएको ठाउँ बारा जिल्लाको उमजन गाउँको जनता हाइ स्कूलमा एक्लै जाने क्रममा यही पसाहाखोलाको रामपुर घाटको बाटो पछ्याएर खोलाको पानीमा हेलिई दुई–चार पाइला मात्र के अघि बढेको थिएँ लगत्तै उत्तरतिरबाट ‘स्वाइँय्य…’गर्दै केही सुसाएको अनिष्टकारी आवाज आयो । छक्क पर्दै र मुटु ढुकढुकाउँदै उतातिर यसो हेरेको त मेरी आमै ! सिरानतिरबाट गड्गडाउँदै आँधीहुरीको वेगमा विकराल भेल पो आउँदै रहेछ खोलामा । मेरो र त्यस हन्तकाली राक्षसका बीचको फरक चाहिँ जम्माजम्मी डेढ–दुई सय मिटर मात्र । उप्m…! अब त सातोपुत्लै पो उड्यो मेरो । अत्यासले आँखा अचानक छल्छलाएर आए । क्वाँ…क्वा… डाँको छाडेर रुन मन लाग्यो । मैले बाँच्ने आशा त्यागेँ । तैपनि, जसोतसो धैर्य र संयमले चाहिँ साथ छोडिहालेनन् र म ‘न्वारानदेखिको बल’ भनिने खालको बल झिकेर बेतोडले कुदेँ अघिअघि छाप्लाङछुप्लुङ गर्दै । र, कुन सड्को कुन सड्को एकैचोटि पारि किनारमा पाइला टेक्न पुगेँ । मैले किनारमा झ्वाट्ट टेक्नासाथ त्यो बाढीको पिशाच पनि ‘लौ आजलाई बाँचिस् !’ भनेर दुःखमनाउको भाकामा मलाई चेताएर कुर्लँदै ह्वात्त मेरो छेवैबाट रन्किएर गयो । बाबै नि ! खङ्ग्रङ्ग भएँ म । लल्याकलुलुक भएँ म र केही छिन विश्राम गरेर मुटुको भट्याकभट्याक अलि मत्थर भएपछि बिस्तारै बाटो लागेँ म ।

त्यो ठीक दस महीनाअघिको प्रसङ्ग थियो । अब फेरि फर्कौँ वर्तमानमा ।

अब डिलमै बसेर बाढी साम्य हुने साइत कुर्नुबाहेक हामीसित अर्को उपाय थिएन । त्यस खोलामा कतै पनि कुनै पनि किसिमको पुल थिएन उत्तरमा चार कोस टाढा पूर्व–पश्चिम राजमार्गमा नपुगुन्जेल र दक्षिणमा पनि चारै कोस टाढा भारतको रेलवे स्टेसन आदापुरभन्दा केही पूर्व रेलवेलाइनमै नपुगुन्जेल । त्यसैले हामी झोक्राएर खोलातिर फर्की एक टकले बाढीको वितण्डालाई नियाल्न थाल्यौँ । हामीले त्यसरी हेर्दा हेर्दै बाढीको वेग झन्झन् बढ्दै गयो र खोला विकराल बन्दै गयो । अनि पानीदेखि पन्ध्र–बीस फिट पर दन्दनी दन्किरहेको चितालाई क्रमशः पानीले छोप्तै ल्यायो र केही छिनमै लाशसहित चितालाई लफन्ड्याएर बगाई लग्यो । यस्तो दृश्य मैले पहिले कहिल्यै देखेको थिइन । मेरो जीवनका निम्ति यो एक अपूर्व अनुभव थियो ।

हामी त्यहाँ ठीक आठ बजे आइपुगेका थियौँ । अब क्रमशः सवा आठ, साढे आठ, पौने नौ र नौ पनि बज्यो । ठ्यामै एक घन्टा कुर्दा पनि खोला घटेन, घटेन मात्र होइन बढ्नसमेत छाडेन । हामी आइपुग्दा अरू यात्रीका नाउँमा त्यहाँ वारि वा पारि दुवैतिर चरो–मूसो कोही थिएन, न त स्थानीय कुनै व्यक्ति नै थिए । तर, अब एक्का दुक्का गर्दै यात्रीहरू आउने क्रम बढ्दै गयो दोहोरै र दुवैतर्पm बाक्लै भीड जम्मा भयो आ–आफ्ना गन्तव्यतर्पm जान नपाएर रोकिनेहरूको । दस बज्यो, एघार बज्यो, बाह्र बज्यो, एक बज्यो त्यहीँ त्यसै अवस्थामा नै । बिहानदेखि मुखमा पानीसम्म नहालेका र खाजाको पोकै जमुनी खोलालाई नैवेद्य चढाएका हामी तीन बबुरा अब भोक र प्यासले आलसतालस भयौँ । आधा बाटो नाघेपछि कतै धारा भएको ठाउँमा बसेर खाजा खाऔँला र वेलैमा कलैया मेरो घरमा पुगेर भात खाऔँला भन्ने हाम्रो मीठो योजनालाई जमुनी र पसाहा दुवै खोलाले यसरी लोप्पा खुवाइदिएका थिए । केही किनेर खाऔँ न त भने पनि वारिपट्टि नजिकै कतै बस्ती नै थिएन । थियो त कि एक घन्टाअघि बाटोमा छाडेर आएको बरियारपुरबजार, कि त पारिपट्टिको बघवन गाउँ । त्यसो हुनाले त्यहाँ खानेकुरा हाम्रो निम्ति ‘आकाशको फल आँखा तरी मर्’ भएको थियो ।

खोला अब वारपार भएको थियो तीन सय मिटर जति ढाकेर विकराल छाल उराल्दै । अब त त्यहाँ वारि पारि दुवैतर्पm यात्रीहरूको गनिनसक्नुुको हुल नै जम्मा भइसकेको थियो । दुवैतिर गरी हुँदा हुन् पाँच–सात सय मान्छे सानोतिनो मेलाजात्रा जस्तै भएको थियो दुवैतर्पm । त्यसमाथि पारिपट्टि एउटा ट्रक पनि आएर थपियो सैनिकहरूको । हुरुरु ओर्ले सैनिकहरू । हुँदा हुन् तीस–पैँतीस जवान तर समुद्रको रूप धारण गरेको खोलालाई विचरा सैनिकहरूको फौजले के चाहिँ पो गर्न सक्नु ! भोक, प्यास, टन्टलापुर घामको अत्यास र बाढीको झन्झन् बढ्दो त्रासले हामी अर्धमृत भयौँ । यसै हिसाबले दुई पनि बज्यो ।

अब पौडी खेल्न सक्ने बलिया–बाङ्गा दुई–चार यात्रीहरू “अब पानी ओहरे लागल” (अब पानी घट्न थाल्यो) भन्दै मूल घाटदेखि केही उत्तरतिरबाट तर्ने उपक्रममा पानीमा हेलिन लागे र घाँटीघाँटीसम्म चुर्लुम्मिँदै ती पार पनि भए हामीले हेर्दा हेर्दै । तिनीहरूको दुस्साहस देखेर अरूमा पनि साहस पलायो र ती पनि क्रमशः त्यतैबाट तर्ने जमर्कोमा लागे । आठदस जना पारि पुगेपछि हाम्रा तीनसदस्यीय टोलीका नायक रामस्वरूप यादवजीलाई पनि आँट आएछ । उनी र उनका गृहसहायक बीनजी पनि पसे पानीभित्र र उबडुब गर्दै र तीव्र छालहरूद्वारा लफन्ड्याइँदै पारिकिनार छुन पुगे । हाम्रो टोलीको अब बाँकी रहेँ म मात्र ।

रामस्वरूपजीको सादर अनुरोधमा एकजना पहलमानजस्ता देखिने अधबैँसे पुरुषले मलाई तारिदिने भए । डरले सातोपुत्लो उड्यो मेरो । पाइन्ट खोलेर झोलाभित्र हाली झोलालाई टाउको माथि राखेँ मैले । अनि एक हातले झोला समातेँ र अर्को हातले जुत्ता समातेर थररर काँप्तै ती मनुवाको शरण परेँ म । उनले एक हातले पानी काट्तै र अर्को हातले मेरो देब्रे पाखुरालाई गँगटाले समातेजस्तो कक्रक्क पारी समातेर घिसार्दै खोलाको बीचतिर पु¥याए । पानीको तीव्र प्रवाह र उत्तुङ्ग छालहरूको उचाल–पछारले गर्दा मेरा पाइतालाले भुइँ छाडे । उनले मलाई खुट्टाले भुइँमा हिँडिराख्नु, भुइँ नछाड्नु नत्र खोलाले बगाउँछ भनेर जति अर्ती–बुृद्धि दिए पनि त्यस उखर्माउलो खोलोसित मेरो केही लागेन । मेरो खुट्टै टेकिएन र म बग्न थालेँ त्यस क्रममा मैले उनको पाखुराको आड–भर लिन खोज्दा मेरो हातबाट छुटेर जुत्ता बग्यो, यता उनले आपूmलाई समात्न पनि दिएनन् आपूmले मलाई मात्र समातेर घिसारिरहे । घाँटीघाँटीसम्म त अरू ठूलो दारका मान्छेहरूलाई थियो पानी । मेरो त टाउकोभन्दा पनि माथि आउँथ्यो । खोलाको बीचमा पुगेपछि चुर्लुम्म डुबेर बाढीको त्यो धमिलो पानी कतिचोटि घुट्क्याएँ घुट्क्याएँ । जे होस् जिउँदै पारिकिनार टेकाइदिए ती अज्ञात अपरिचित दैवले मलाई ।

घर अभैm डेढ कोस जति टाढा थियो । खोलाको हिलेपानीमा चुर्लुम्म डुबेर निस्केका सारा लुगाफाटा र झोलाबाट तपतप पानी चुहाउँदै क्रमशः बघवन, लछमिनियाँ, रामपुुर, पर्सा आदि गाउँ र कलैयाबजार हुँदै भवानीपुरटोलमा रहेको आफ्नो घरमा खालीखुट्टा अर्धसिल्ली पारामा भित्रिएँ म सहयात्रीहरूसहित ।

म तीन महीनापछि अहिले फेरि घर आएको थिएँ । घरमा सबै जना सकुशल हुनुहुँदो रहेछ । बाबा चाहिँ मलाई खोज्न तीन दिनअघि नै अनेक हन्डर खाँदै मेरो स्कूल भएतिर हिँड्नुभएको रहेछ । बारा जिल्लाका स्कूलहरूमा गर्मी विदा असार एक गतेदेखि साउनको पन्ध्र गतेसम्म हुन्थ्यो । र, रौतहटमा चाहिँ असार सोह्र गतेदेखि साउनमसान्तसम्म । बाबाले बारा जिल्लाकै स्कूलहरूमा जस्तो ठानेर म गर्मी विदा भएको पन्ध्र दिन बितिसक्ता पनि घर नआइपुगेकोमा मेरो मायाँले कलेजा कोक्किएर खोज्न जानुभएको रहेछ । आमा र घरका अरू परिवारजनबाट थाहा भयो । बाबा घरदेखि चारकोस टाढा रहेको मेरो पहिलो स्कूलमा पनि मलाई लिन पुग्नुभएको थियो २०२९ सालको घटस्थापनाको दिन । म जमरेऔँसीका दिन तलब नपाएर भोलिपल्ट मात्र घर फर्कन लाग्दा उहाँ स्कूलछेउमै भेटिनुभएको थियो र बाबुछोरा सँगै घर फर्केका थियौँ । यस प्रसङ्गको चर्चा मैले अन्त पनि कतै गरिसकेको छु ।

बाबा आफ्ना सबै सन्तानलाई बिछट्टै माया गर्नुहुन्थ्यो तर म ‘जेठो छोरो’ भएर हो कि, मलाई चाहिँ अरूलाईभन्दा बढी । (अथवा मलाई त्यस्तो लागेको पनि हुनसक्छ) त्यसैले, मलाई खोज्न वा लिन जाने काम म घरदेखि टाढाटाढाका स्कूलमा पढाउन बसेका अवधिमा मात्र नभएर पछि त्रिवि सेवामा प्रवेश गरेर वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा पढाउन थाल्दा पनि गर्नुहुन्थ्यो उहाँ । मेरो वीरगन्ज जाने–आउने समय उहाँलाई कन्ठै हुन्थ्यो । त्यसैले मौसम सफा भएका दिन र उहाँ स्वस्थ रहेका दिन म क्याम्पसबाट घर फर्कने क्रममा कलैयाको बसस्टैन्डमा बसबाट ओर्लेपछि बाबासित मेरो जम्काभेट हुन्थ्यो जहिले पनि । “कता आउनुभएको बाबा ?” भनेर मैले सोध्दा उहाँको जवाफ हुन्थ्यो “तँलाई लिन आएको बाबू !” र, त्यसपछि हामी बाबुछोरा सँगै घर आउँथ्यौ ।

अँ त, म त्यसरी कालको मुखबाट फर्केर आएको दिन बेलुका बाबा पनि घर आइपुग्नुभयो । तीन दिनको अनावश्यक हैरानी खेपेर बर्खामासका उन्मत्त नौ–दसवटा खोलामा उबडुब गर्दै कोप्चेरो देहाती गाउँठाउँ धरहरीको मेरो स्कूलमा पुगी सोधखोज गर्दा हिजोमात्रै स्कूल विदामा बन्द भएको र म हिजै दिउँसो घर जान बारा जिल्लामै घर हुने एकजना शिक्षक साथीसित बाटो लागिसकेको थाहा पाएर आज बिहानै धरहरीबाट भोकै प्यासै हिँड्नुभएको रहेछ ।

भेट भएपछि मैले गोडामा ढोगिदिँदै “म सानो बच्चा हो र मलाई खोज्दै हिँडेर आफ्नो चौहत्तर वर्षको बूढो ज्यानलाई सास्ती दिनुभएको ? भनी मीठो गुनासो गरेँ । मेरो गुनासाको जबाफमा उहाँ बररर आँसुका ढिक्का झार्दै भक्कानिएको स्वरमा छल्छलाउनुभयो— “बाबू ! आपूm ‘बाबु’ भएपछि थाहा पाउलास् !”

इमाडोल, ललितपुर

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments