सुरभि कथा प्रतियोगिता (२०७६)मा तृतीय पुरस्कार प्राप्त

 

हरेक  पुस्ताले  आफूभन्दा  बूढो पुस्तातर्फ हेरेर भन्छ–

‘हाम्रो र तिमीहरूको समय कति फरक । हामी भोगिरहेछौ नितान्त नूतन समय र घटना ।’ अलिकति आवरण मात्रै उधिन्ने हो भने सत्य उजागर हुन्छ । उही पुराना प्रवृत्तिहरूको पुनरावृत्ति । आफ्नो वरिपरि हेरेर ‘यो भएन, त्यो भएन’ भन्नु एउटा कुरा । समयको तीव्रधारका पेलाइहरू सहँदै बहावलाई मोड्न खोज्नु अर्कै कुरा । पक्का पनि त्यो सजिलो छैन । त्यसैले त भोग्छौ, हरेक कालखण्डमा घुमी–घुमी आउने नियमित आकस्मिकता ।

खैर, मलाई त कथा भन्नु छ ।

रामको कथा ।

कर्तव्यनिष्ठ, मर्यादापुरुष राम ।

कथा यसरी सुरु हुन्छ –

आजभन्दा ठ्याक्कै पन्ध्र दिनअगाडि म गाउँको उकालो चढ्दै थिएँ । चौतारीमा सीता भेटिइन् । घाँसको डोको बिसाएर बसेकी । कुनैबेला सीता र मैले एकैपटक अक्षर चिनेका थियौँ । उसको अक्षरसँग चिनजान मात्रै भयो । नाता जोड्ने मौका खासै जुरेन । म त गाउँको हुने खानेको छोरा । मैले मौका पाए र काठमाडौँतिर हानिएँ । यतिबेला एउटा प्रख्यात पत्रिकाको रिपोर्टरको जागिर खाँदै छु । वा भनौँ जागिर र मैले एक अर्कालाई खाइरहेका छौँ । बर्सौंसम्म नदेखे पनि अन्दाज गर्न गाह्रो भएन । हो, यी पक्का सीता नै हुन् ।

यो गाउँको विशेषता पनि हो । यसै हेरेर पनि भन्न सकिन्छ, यो फलानाकी छोरी वा भतिजी हो । यो भर्खर–भर्खर बिहे गरेर आएजस्ती छ, त्यसैले यो पालीघरे बिस्नेकी स्वास्नी होली ।

सानो ठाउँ, सबैले सबैका बारेमा थाहा पाउँछन् । आखिर सिरानटोलको पीपलदेखि बर्मेली टोलको चिउरीको रूखसम्म जम्मा नब्बे घरधुरी त हो । गाउँको जनसङ्ख्या बढ्न छोडेको धेरै भयो । दाजुभाइ छुट्टिदा नयाँघर बन्न छोडेको पनि धेरै भयो ।

अलि सक्नेले भन्छ ‘हेर म यहाँ बस्ने होइन । सक्छौ भने मेरो भाग पनि किनिदेऊ, चलनचल्तीको भाउमा अलि मिलाएरै दिउँला । मलाई यता आइरहन पनि गाह्रो छ ।’

नयाँ जन्म भयो भने बाबु वा आमाहरू भन्छन् ‘ अब, यता बसेर भएन । सन्तानको शिक्षा–दीक्षाको कुरो छ । अब सर्नुपर्छ । सके काठमाडौँ नत्र सदरमुकाम ।’

त्यसैले त, यस्तोमा जनसङ्ख्या बढ्नु गाह्रो कुरा हो ।

अँ म भन्दै थिए, सीता र म एउटै चौतारीमा भेटियौँ । भनेँ ‘तिमी, सीता होइन ?’ उनले मलाई नमस्कार गरिन् र भनिन्– ‘चिन्नुहुन्छ ? अब त ठूलो मान्छे हुनुभो होला ।’

‘किन नचिन्नु तिमीलाई । ठूलो भएको छैन । ठूलो ठाउँमा गएर सानो भएको छु ।’ मैले हास्दै भनेँ ।

‘काठमाडौँमा हो ?’ उनी हसियाले आफ्नो अगाडिको भुइँ खन्न थालिन् ।

‘अहिलेसम्म काठमाडौँमा । अब भने कतार जान्छु, पत्रिकाको काम गर्छु त्यताबाट ।’ मैले आपूmले काम गर्ने पत्रिकाको पुरानो अङ्क उनीतर्फ बढाउँदै भनें ।

‘एऽऽ’ उनले मेरो पत्रिका घाँसमाथि राख्दै भनिन् ।

हामी नबोली बस्यौ । एकैछिनमा थकाइ मरेजस्तो भयो । गाउँको हावा नै त्यस्तो ।

मतिर हेर्दै भनिन्, ‘मनुबाबू, तपाईंहरू त सबै बेचेर काठमाडौँ गएका मान्छे । कहाँ बस्नुहुन्छ आज ?’

मनुबाबू, मलाई मायाले बोलाएको सम्बोधन । मलाई यो नामले आमाले बोलाइन् या सीताले । मलाई उनले तपाईं भनेको पनि कत्ति मनपरेको थिएन ।

‘काकीकोमा बस्छु ।’ म ठिक उनको सामुन्नेको ढुङ्गामा बसेँ ।

‘भोलि हाम्रोमा बस्न आउनुस् न ?’ उनको आग्रह ।

‘भोलि त फर्किन्छु होला ।’ मैले लामो सास तानेर भनेँ ।

‘ओहो भोलि नै !’ उनको स्वरमा आस्चर्य र निराशा दुवै थियो ।

हुन पनि गाउँमा रोकिनुपर्ने त केही थिएन । घर, बारी, खेत र अन्य जायजेथा बुवाले बेचिसक्नुभएको थियो । पुराना स्मृतिले लखेिटएर यता आइपुगेको थिएँ । २० दिनपछि कतार जानु थियो, काम सुरु गर्न ।

सीताले फेरि भनिन्, ‘बिहान खाना खान आऊ न त, हुन्न नभन है ।’ अब भने तिमी सम्बोधन सुन्न पाएँ । त्यो शब्दप्रेम कान हुँदै मनमा पस्यो र तत्काल भने ‘हुन्छ नि ।’

सीता मेरी बालसखा । सखाभन्दा पनि मेरो संरक्षक बढी ।

‘ल, भोलि भेटौँ है’ उनले उठ्दै भनिन् ।

‘हस’ मेरो मुखबाट अनायासै निस्कियो ।

सीता आफ्नो बाटो लागिन्, म भने बेसीको सरौ खोला हेरेर टोलाइरहेँ ।

साँझ काकीलाई सोधेँ– ‘काकी, सीताको खबर के छ ?’

‘ओहो, सम्झिन्छौ अझै । तिम्रो कस्तो मिल्ने साथी है ।’

मैले दिउँसोको कुरा मनमै राखें, चुपचाप । काकीले नै थपिन्–

‘यही तल्लो टोलको रामेसँग ब्या गरेकी हो । एउटी छोरी छ । ससुरा, बुहारी बस्छन् ।’

‘अनि राम ?’

‘रामे त उहिले गएको होे, कतार हो कि अरबतिर ।’

‘काकी, भोलि बिहान म त्यतै जान्छु खाना खान ।’

‘मलाई टाढाकी देख्यौ र ? किन जानुप¥यो ? यो पनि तिम्रो आफ्नै घर त हो नि ?’ काकीले आगो ठोस्दै भनिन् । आगोको लप्का ह्वार्र उठ्यो, सायद उसलाई पनि मेरो कुरा मन परेन ।

‘एकै रात मात्रै बस्ने । भोलि त बस । कस्तो हर्ख लाग्छ, तिम्लाई देख्दा । साना थ्यौ, पछि–पछि लाग्थ्यौ । मैसँग सुत्थ्यौ । भोलि उजेलोमा तिम्लाई हेरुँला भनेकी थेँ । कति बात मारम्ला भनेकी थेँ । तिम्री आमा र म कति मिल्थेम् । तिम्लाई हेरेर तिनको तिर्सना मेटम्ला भनेकी थेँ ।’

‘फेरि आउँछु नि काकी ।’ मैले हाई गर्दै भने ।

‘आयौ’, काकीले ओठ लेप्य्राइन् । । ‘अहिले त बीस वर्षपछि आयौ तिमी । फेरि आउँदा त म मरिसक्छु । बसिदेऊ न बाबै भोलि ।’

“तिमीलाई निद्रा लाग्यो । जाऊ सुत । माथि सानो कोठीमा तिम्रो ओछ्यान ठिक गर्देकी छु । मेरा कुरा कहिले सक्किने होइनन् ।” अब आगो अलि निभ्ला निभ्ला जस्तो गर्दै थियो ।

मैले भ¥याङ उक्लिँदै सोचेँ– काकीकै लागि पनि एकदिन थप बस्नुपर्ला ।

बिहान ढिला गरी म सीताको घर पुगेँ ।

म पुग्दा उनी रामायणका श्लोक पढ्दै थिइन् । नजिकै ससुरा घाम तापेर उम्दै थिए । म पुगेपछि किताब बन्द गर्दै भनिन् ‘बा अलि बिरामी हुनुहुन्छ । मेरो रामको कथा सुनाऊ भनिराख्नुहुन्छ ।’

छोरी सायद स्कूल गइसकेकी थिई ।

एकचोटि सीतालाई नियाले । उमेरले पैँतीस सैँतीसकै हाराहारीमा हुनुपर्ने । आफ्नो वास्तविक उमेरभन्दा निकै अगाडि बढेकी जस्ती देखेँ मैले । विश्वास गर्न गाह्रो लाग्यो । यिनै सीतालाई तीस वर्षअघि मैले कहिले दौडेर जितिन । चौतारीको समीको रूख चढेर जितिन् । तिनी फटाफट समीको टुप्पोमा पुग्थिन् । पर–पर हेर्थिन् । म पनि बल्ल–बल्ल भेट्थेँ उनलाई । हामी दुवै रूखको हाँगामा बस्थ्यौँ । उनी टाढाको पहाडलाई औँलाले देखाएर भन्थिन्– ‘त्यो पहाडको अर्कोपट्टि राक्षसहरू बस्छन् रे । तिमी नजाऊ है’ मलाई त केही थाहा थिएन त्यस्तो कुरा । सीताले भनेपछि त्यसै भरोसा लाग्थ्यो र भन्थें ‘हस्’ । त्यस्ती सीता, जोसँग मेरा सारा प्रश्नहरूको जवाफ हुन्थ्यो । म उनको अनुगामी । उनीविना मेरो बाल्यकाल अधुरो र अपुरो हुन्थ्यो । अहिले तिनै सीता मेरो सामुन्ने उभिएकी छन्, उदास । अनुहारमा तीस वर्षअघिको भग्नावशेष पनि छैन ।

घरभित्र छिर्दै भनिन्, ‘बाले खाइसक्नु भो । आऊ खाना खाऊ ।’

कस्तो सम्झेकी रै’छन् । मलाई मनपर्ने खानेकुराहरू ।

मासको दाल, बोडीको तरकारी, आलुको अचार ।

खुट्टे कचौरामा बाक्लो दूध पनि दिँदै भनिन् ‘मेरो राम पनि कतारमै ग’को हो ।’

‘कति भयो ?’ मेरो सहज जिज्ञासा ।

‘चौध वर्ष ।’ छोटो उत्तर उनको ।

‘धेरै भएछ है !’ मैले पहिलो गाँस मुखमा राख्दै भनेँ ।

एकछिन पछि बोलिन्– ‘मनुबाबू, तिमी पनि त्यतै जानलागेका रै’छौ । मेरो एउटा काम गरिदेऊ न है ।’

अगेनामा बसालेको केतलीबाट अलिकति पानी आगोमा खस्यो र ‘छ्वास्स’  आवाज आयो ।

हत्तेरी के भन्ने हुन् अब । घ्यू वा रोटी पो बोकाउने हुन् कि ? कुरै नसुनी कसरी हुन्न भनूँ ।

मुखको खाना निल्दानिल्दै सम्झेँ कति सघाएकी थिइन् सानोमा मलाई ।

ऐँसेलु घारीमा पुगेर भन्थिन्, ‘मनुबाबू, पर्ख म ल्याउँछु ।’

आँपको रूखमा चढेर सबभन्दा पाकेको आँप झार्दै भन्थिन् ‘मनुबाबू, यो पक्का मीठो छ्र, तिमी खाऊ ।’

खोला तर्ने बेला भन्थिन् ‘मनुबाबू, कपडा खोलेर आऊ । नत्र भिच्छ, चिसो लाग्छ ।’

केतलीबाट फेरि पानी उम्लेको आवाज आयो ।

म वर्तमानमा आएर भने– ‘भन न ।’

‘यो मेरो रामको काम हो । काम बुझ्न उनको कथा सुन्नुपर्छ । सुन्छौ मेरो रामको कथा ?’

मैले टाउको हल्लाएर हुन्छ भनँे सीतालाई । उनी भन्न थालिन् आफ्ना रामको कुरा ।

‘मनुबाबू, तिमी यता थिएनौ । बीस वर्ष पहिले मैले र रामले बिहे ग¥यौँ । गाउँघरको कुरा । जात पातको कुरा । सानोतिनो शिवधनु नै उठाएका थिए मेरा रामले त्यस बेला । जे होस् हामीले बिहे ग¥यौं । खुसी थियौँ । दुःख जिलो गर्न पाखो बारी थियो ।’

सीताले लामो सास तानिन् र भन्दै गइन्– मेरा ससुराबा, लागो भागो हेर्ने । झारफुक गर्न चिनिनुभएको । एकदिन बर्मेली टोलका भगीका बा आएर भने– ‘ठूल्दाइ, भगीलाई के भो के भो, बेला–बेला बेहोस हुन्छे । हिजोदेखि हो सुरु भा’को । एकचोटि हेरिदेऊ न ।’

‘ल साँझ आम्ला ।’

त्यो साँझ ससुराबा त्यता जानुभयो । त्यसको भोलिपल्ट बिहान, ससुरा आगनमै दाम्लो बाट्दै हुनुहुन्थ्यो । म भित्र पकाउँदै थिएँ । एक्कासि बाहिरबाट अईया भनेको सुनेँ । दौडिँदै बाहिर आउँदा ससुरालाई चारपाँच जना मान्छेले घेरेर पिट्दै थिए । म दौडेर बारीमा काम गरेका रामलाई बोलाउन गएँ । राम र म हस्याङ्फस्याङ गर्दै आइपुग्यौँ । आउँदा के देख्छौ भने, बा आँगनमा लडिराख्नुभएको छ । वरिपरि पाँच जना मान्छे हातमा लाठी लिएर उभिएका छन् ।

हामी आएपछि रामतिर हेर्दै एक जनाले भन्यो–हाम्रो पार्टीको आधार क्षेत्रमा अन्धविश्वास फैलाउने काम गरेको थाहा पायौ । पर्सि माथिको स्कूलमा जनअदालत बस्नेछ । त्यही यसको सजाय तोकिने छ ।

रामले हात जोड्दै भने– पर्सि पनि निर्णय गर्ने तपाईंहरू नै हो । बा बूढा छन्, जानेनन् बिराए । माफ गरिदिनुहोस् । आइन्दा गर्ने छैनन् ।

‘माफ गर्न त मिल्दैन । पार्टीको इज्जतको पनि सवाल छ ।’ एकछिन रोकिएर त्यो सबभन्दा अग्लोले भन्यो, ‘हाम्रो पार्टी अहिले महान् युद्धमा छ । जनताको जित निश्चित छ । यदि यो युद्धमा सघाउ पु¥याउने हो भने अहिलेलाई भौतिक कारवाहीचाहिँ रोक्न सकिन्छ ।’ यति भनेर उनीहरू आएकै बाटो फर्किए ।

उनीहरू गएपछि रामले घाइते बालाई उठाए र भने ‘बा चिन्ता नगर्नुहोस् । मैले तपाईंलाई केही हुन दिन्नँ ।’

सीता आफ्नो सम्झनामा बग्दै, बोल्दै गरिन् । ‘राम न हुन् । उनलाई पूरा गर्नु थियो, आफ्नो कर्तव्य कुनै पनि मूल्यमा । आफ्नो सारा सम्पति, ऋण र शक्ति लगाएर रामले एउटा बाण बनाए । धनुषको प्रत्यन्चा कानसम्म तानेर छोडे त्यो बाण । ठीक उसै गरी, जसरी त्रेतायुगमा रामले सुग्रीवलाई आफ्नो बलको परिचय दिन छोडेथे, एउटा बाण । समस्याका सबै ताडवृक्षहरू चटाचट काटेर, त्यो वाण फेरि रामको ठोक्रोमा बजारिन आइपुग्यो । आफ्नै ठोक्रोको भारले थुचुक्क बसे, मेरो राम ।’

‘त्यही दिन त हो, मन्थरा मेरो घरमा आएको । मन्थराले भनी– राम, तिम्रो सारा समस्याको उत्तर छ मसँग । मलाई एउटा जङ्गल थाहा छ । त्यसमा सुनका मृगहरू बस्छन् । यदि तिमीले कुनै एउटा मृग समात्यौ भने तिम्रा सारा समस्या सकिने छन् । बस, अलिकति बाटो खर्चको प्रबन्ध गर ।

रामले मेरो मुखमा हेरे । मैले भनेँ– ‘राम, तिमीले आफ्नो कर्तव्य पूरा गर, म तिमीलाई साथ दिने छु ।’ मैले मेरो भएजति गहाना निकालेँ । पेवा बेचेँ । त्यो सबै जम्मा गरेर मन्थराकोे हातमा दिएँ । मन्थारा मुसुक्क हाँसी । त्यो अनौठो हाँसो । रहस्यपूर्ण ।

सीता आफ्नो सम्झना सुनाउँदा सुनाउँदै वर्तमानमा आइन र भनिन्– ‘मनुबाबू, यसरी मेरो राम आफ्नो घर छोडेर हिँडे । म यतै बसेँ उनको राजपाठ समालेर ।’

मैले सोधेँ– ‘अनि उता गएपछि तिमीसँग कुरा भएन ? यत्रो चौध वर्षसम्म ।’

‘भयो, कतारको राजधानी दोहा ओर्लेपछि मलाई फोन गरे अब काम सुरु गर्छु भनेर । रामले काम गरे र लगालग पैसा पठाइरहे तर बीचमा कहिल्यै फर्केर आएनन् ।’

‘अनि, समस्या के छ त ?’

‘दश  वर्षसम्म  पैसा  र  खबर आइरह्यो । मैले यता घर व्यवहार मिलाएँ । तर चार वर्ष भो, न खबर न पैसा ।’ सीता सुक्क गरिन् ।

मैले मनमनै कुरा खेलाएँ । पापी मन सबभन्दा नराम्रो कुरा पहिले सम्झिने । कतिधेरै बाकसबन्द लासहरूको रिपोर्टिङ गरेको छु मैले । तर सीताको विश्वास यस्तो थियो, मलाई केही भन्ने आँट आएन ।

मेरो मनको कुरा सुनेजस्तै गरी भनिन्– ‘मनुबाबू, म चिन्छु मेरा रामलाई । उनी पक्का कुने समस्यामा छन् । उनले कति चोट लुकाएका होलान् आफ्नो छातीभरि ।’

बाहिरबाट बुढो मान्छे खोकेको आवाज आइरहेको थियो । उनले सायद केही सुनिनन् । आफैसँग कुरा गरेजस्तो गरी भनिन् ‘मनुबाबू, मान्छे मर्नु एकदम दुःखको कुरा हो । हरेक पटक विदेशबाट बाकसभरि मान्छेहरू आउँदा मसँगसँगै रोएकी छु । बिस्तारै तिनका आफन्तहरूको दुःख कम भएको देखेकी छु । भन्छन् नि समयले घाउ भर्दै लान्छ ।’

सीताको दुःखले बिस्तारै थिच्दै थियो मलाई । बोलिरहिन्– ‘हुन त मर्नु र हराउनु दुवैमा बिछोड छ । दुःख छ । जतिसुकै दुःख भए पनि, मृत्यु स्वीकार गर्नुको विकल्प छैन । मरेपछि भेट्ने आस पनि मर्दो रै’छ । आस रहुञ्जेल, दुःख पनि नयाँ–नयाँ रूपमा आइरहँदो रै’छ । मृत्युले छिनाउँदो रै’छ एकै चोटमा । म त रेटिइरहेछु, बिस्तारै–बिस्तारै ।’

सीताको कुरा सकिएको थिएन । ‘राति कतै स¥याक्क गर्दा पनि उनै हुन कि जस्तो लाग्ने । बाहिरबाट मान्छे आउँदा पनि, यिनले पो देखेकी मेरा रामलाई जस्तो लाग्ने । धेरै समयलाई टाढा जाऊ भने कोही खोज्दै आउने हो कि यही ठेगानामा जस्तो लाग्ने । देशमा त्यत्रो लडाइँ भो, मान्छेहरू हराए । सुनेकी छु सरकारले खोज्छु भनेको छ रे ।’

‘सीता, त्यो पनि कुरै मात्रै त हो, कति मान्छे भेटिएका छन् र ?’

‘हो, फरक यति हो । कमसेकम ती चिच्याउन त पाएका छन्, कराउने ठाउँ त छ, तिनीहरूको । मैले त कसैलाई सुनाउन पनि पाउँदिन । मनुबाबु, कोही छ कि हामीजस्ताको कुरा सुन्ने ?’

सीता, मेरो सम्झनाकी चञ्चल बालिका । आज टुक्रुक्क बसेकी छन्, मेरो सामु । आफ्नो घुँडाहरूको बीचमा टाउको लुकाएर रोइरहेकी । मैले उनलाई नरोऊ पनि कसरी भनूँ, त्यति एउटा कुरा त रहेछ उनले मनलागे जति गर्न सक्ने ।

सीताले गह भरिएका आँखाले मलाई हेरिन् र भनिन्–

‘मरेतुल्य भएकी थिएँ म । मनुबाबू, तिमी त्यहाँ जाने भनेको सुनेर म फेरि ब्यूँझेकी छु । तिमीले मेरो राम खोजिदिन्छौ भन्ने ठुलो आस गरेकी छु ।’ बाहिरबाट खोकीको आवाज झन् तीव्र भएर आयो ।

म अहिलेसम्म त्यो संसारमा पुगेकै छैन तर कसरी भनूँ मलाई केही थाहा छैन ।

भनेँ ‘सीता, मैले जे सक्छु त्यो अवश्य गर्नेछु । मैले कसरी चिनुँला तिम्रा रामलाई ?’

सीता तत्काल भित्र कोठामा गइन् । एउटा फोटो लिएर आइन् ।

‘मनुबाबू, लेऊ यो चार वर्ष पुरानो फोटो ।’ एउटा सानो मुठीमै अट्ने जत्रो कपडाको पोको पनि हातमा राखिदिँदै भनिन्– ‘तिमीले रामलाई भेटेपछि, यो सम्झना उनको हातमा हाल्दिनू । खोलेर नहेरे है ।’ अघिसम्म प्रौढाजस्ती लागेकी सीता, रामको कुराले मात्रै पनि चञ्चल प्रेमिकाजस्ती देखिइन् ।

म बिदा भएर निस्किन लाग्दा सीताले भनिन्– ‘मनुबाबू, राम त हिँडे आफ्नो कर्तब्य पूरा गर्न । मेरो अग्निपरीक्षाचाहिँ त्यही दिनबाट सुरु भयो । रावणहरू त छँदै छन् जतासुकै । घरीघरी डामिन्छु म ।’

बाहिर निस्किँदा बा घाम तापिरहेका थिए । मतिर हेर्दै भने– ‘मनोज हो ?’

म बूढाको नजिकै गएर भनेँ– ‘नमस्ते काका, सन्चै हुनुहुन्छ ?’

आफ्नो छातीतिर देखाएर बूढाले भने– ‘या दुख्छ ।’

बूढाले मतिर हेर्दै फेरि उनैले भने ‘बाबु, रामको वनवास किन भो ?’

म अकमक्क परेँ । एकैछिनको मौनपछि फेरि बुढा बोले– ‘बूढो अयोध्याले नयाँ रामको तेज धान्नै सकेन । वनवास त नियति हो रामको ।’

सीतालाई दह्रो भरोसा दिएर हिँडेँ म । कसरी खोजुँला मैले । चार लाखभन्दा बढी नेपालीको माझमा, यौटा राम ।

काठमाडौँ आएँ । सीताले एउटा ऐठन दिएर पठाइन् मलाई ।

कहाँ गयो होला एउटा सग्लो मान्छे । म¥यो कि ? कुनै अपराधको सिकार भयो कि ? कतै कुनै अस्पतालको बेडमा बोल्न, हिँड्न नसक्ने भएर लडेको छ कि ? आफ्नै इच्छाले पो हराएको हो कि ?

ल्यापटप खोलँे । गुगल गरेँ ‘नेप्लिज इन कतार’ ।

कम्प्युटरको पर्दामा दृश्यहरू तैरिन थाले ।

एउटा एउटा लिङ्क खोल्दै गएँ ।

वल्र्डकप फुटबल स्टेडियम बनाउँदा नेपालीहरूको मृत्यु, त्यसैमा पो प¥यो कि राम ?

कुनै अस्पतालको बेडमा बोल्न, हिँड्न नसक्ने भएर पो लडेको छ कि ?

भेडीगोठ,  ऊँटको  हेरचाह  र खेतीपातीमा नेपाली । यस्तै केही गर्दागर्दै कुने अपराधको शिकार पो भयो कि ?

अतिशय दुःख, सहन नसकेर आत्महत्या पो ग¥यो कि ?

सीताको समर्पणलाई चटक्कै बिर्सेर कुनै सुपर्णखाको मोहनीमा पो प¥यो कि ?

म एउटा राम खोज्न निस्केको, जतासुकै राम मात्र देख्न थालेँ ।

टाउको दुखे जस्तो भयो, कम्प्युटर खुलै छोडेर ओछ्यानमा गएर पल्टेँ ।

अनन्त फैलावट छ मरुभूमिको । म दौडिँदै छु र चिच्याइरहेछु ‘राम’ ।

अचानक अस्पतालजस्तो ठाउँमा पुगेँ । बिरामीजस्ता मान्छेहरू छन् । हात काटिएका, खुट्टा काटिएका, टाउकोमा पट्टी बाँधिएका मान्छेहरूले भरिएका छन् बेडहरू । नर्सहरू यताउति हिँडेका छन् । नजिक गएर भने ‘राम’ । कोही बोलेनन् अरू जोडले चिच्याए ‘राम’ । एउटी नर्स मतिर दौडिँदै आइन्, आँखा तर्दै भनिन् ‘बुझ्दैनौ, यी सबै कोमामा छन्, बोल्न सक्दैनन् ।’ चुपचाप अझ नजिक गएँ । सबैको अनुहार ‘राम’ जस्तो देखियो । यो कसरी सम्भव छ । म दौडिँदै निस्केँ त्यहाँबाट ।

अलि पर हरियो देखेँ । यो मरुभूमिमा हरियो ? दौडेँ त्यतै । टाउकोमा रातो–सेतो गम्छा बेरेका, गधा जोत्दै गरेका राम देखेँ । सबैको एउटै अनुहार, दुरुस्तै । एउटा हरियो टापु बनेको छ यो बालुवाको सागरमा । रूख बिरुवा छन् । थरीथरी तरकारी छन् । रामको रगत पसिना परेपछि बालुवा पनि फुल्दो रै’छ । अझ नजिक गएर भने– ‘राम, हिँड् घर जाऊँ ।’ केही बोलेनन् । झुकेर एउटा मुला गोडे जमिनबाट । मेरो हातमा हाल्दिँदै भने– ‘खाऊ’ । तररर पसिना चुहियो मुलाबाट । राम उभिएका छन् मेरो सामु, आग्रह गर्छन्– ‘चाखिदेऊ न मेरो मिहिनेत । म यसको मल हुँ र किसान पनि ।’ मैले दसैँको जमरा जस्तै कानमा सिउरेँ त्यो मुला । ‘राम हिँड् जाऊँ ।’ रामले मुखमा औँला लगे र चुप लाग भन्ने सङ्केत गरे । आफ्नो खुट्टातिर देखाए । मैले जति पटक जाऊँ भन्छु त्यति बालुवाको दलदलमा भासिँदै जाँदा रैछन् उनी । राम फेरि चुपचाप गधासँगै जोतिएँ । भाउन्न भयो । म दौडिन थालेँ । ऊँटहरू मेरो पछि लागे । टाउको उठाएर हेरेँ, रामले ऊँट हाँकिरहेका थिए ।

‘राम, ओर्ल, घर जाने बेला भयो ।’ म ऊँटको पछि दौडेँ ।

‘देख्दैनौ, सिक्रीले बाँधिएका छन् मेरा खुट्टाहरू । ताला ठोकिएका छन् त्यसमा ।’

मैले हात जोडेर भनेँ– ‘राम, तिमीले दूत भेटेनौ ? छन् नि यतै कतै । तिनीसँग छ कि चाबी ।’

उनले ऊँट दौडाउँदै भने– ‘गएको थिएँ, त ती मेरा दूतजस्ता देखिएनन् । तिनको छातीमा तस्बिर त थियो तर त्यसमा मेरो छाया देखिएन ।

‘तिमीले केही भनेनौ त, दूतलाई ।’

‘सोधेको थिएँ, सञ्जीवनी छ कि ?’

‘के भने त ?’

‘खाली हात देखाएर भने( जाऊ, अहिलेलाई मर्दै गर । म यहाँ हात थापेर बसेको छु । जब आकाशबाट फुत्त झर्ला सञ्जीवनी मेरा अन्जुलीमा, तब ल्याउला ।’

‘अनि ?’ मलाई अझै जान्नु थियो ।

राम अलि झर्के मसँग ‘अनि के गर्नु ? फर्के यही ठाउँमा, भुङ्ग्रोको बाटो ।’

घाटी सुक्यो, प्याक प्याक भएँ । ‘अलिकति पानी छ कि ?’ राम हाँसे बेस्सरी– ‘यो मरुभूमिमा पानी ?’

म ब्युँझेँ, कम्प्युटर चलिरहेकै थियो । उफ् कस्तो सपना यो । टेबलमा राखेको एक जग पानी एकै सासमा सकेँ ।

भोलि उड्ने दिन, झोला मिलाउनु छ अब । एक एक गर्दै सामानहरू राख्दै गए । सीताले नखोल भने पनि त्यो सानो पोको नखोली हुँदैन मैले ।

खोलेँ, धेरै पटक पट्याइएको कागज बिस्तारै अलिकति खुल्यो । एउटा सानो बट्टा पनि रै’छ । कागज मैले आफैँ फुकाए । बाङ्गाटिङ्गा अक्षरमा लेखेको एउटा हरफ थियो–

‘राम, तिमी फर्किन्छौ भन्ने आस मर्दै, मर्दैन । कुनै दिन फुत्त घर पछाडिबाट आउँछौ कि जस्तो लाग्छ । दिनभरि कतै गएर फर्किंदा, पिँढीमा बसिरहेका पो भेट्छु कि तिमीलाई । यस्तै आशामा बाँचेकी छु । दिनरात तिमीसँग बसेर कुरा गर्न मन छ । दुःख साटासाट गर्दाको सुख भोग्न मन छ । एकदम उदास छु । तिम्रो राजपाठ अब थाम्न सक्दिनँ एक्लै । थाक्न मन छ, मलाई । आऊ र फिर्ता लेऊ तिम्रो संसार, तिमी र मलाई जोड्ने दुइटै कुराको चिनो पठाएकी छु । छोरीको फोटो र यो बट्टा । मैले सबै मूल्य पर्नेजति गहना तिम्रो बाटो खर्चमै दिएथेँ । तिमीले पठाएको पैसाले आफ्ना लागि केही किनेकी छैन । मेरो मुटुको गहना तिमी । तिमी नै छैनौ भने, कानमा, घाँटीमा सुन वा अरू केही झुन्डाउनुको के अर्थ ? जे पठाएकी छु, यसको मोल तिमीलाई र मलाई मात्रै थाहा छ ।’

त्यो बट्टा बिस्तारै खोलेँ, एउटा कालो पुरानो जस्तो देखिने फलामे औठी थियो । फेरि पहिलेजस्तै बनाएर पोको पारेँ । सबै कुरा मिलाएर बेडमा पल्टिएँ । सम्झेँ, भोलि पुग्ने छु एकदम नयाँ ठाउँमा । मनभरि अग्ला घरहरू, चिल्ला सडकहरूको चम्किलो चित्र आयो ।

त्यो आकर्षक संसार टल्काउन, अझ कति धेरै सीताका आँसुले धुनुपर्ने हो !

म भोलि पुग्ने छु त्यता, सबै समुद्र नाघेर ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments