सुरभि कथा प्रतियोगिता (२०७६) मा द्वितीय पुरस्कार प्राप्त :

मलाई केही भएकै छैन । मलाई किन समात्छौ हँ ? नाइँनाइँ म सुई हाल्न नै दिन्नँ । आफैँलाई हाल सुई आफैँलाई…। थुक्क ! पापीहरू थुक्क !! किन भन्छौ मलाई बूढीकन्या ? किन भन्छौ मलाई भ्रष्टाचारीकी छोरी….? बाबु भ्रष्टाचारी भए पनि मेरो के अपराध थियो हँ ? किन मलाई सबै थुकेको थुकजस्तै ठान्छन् हँ ? ऐया मरे नि ! मलाई मार यसरी किन बचाउँछौ हँ ?

एक्कासि आधारातमा आएको यस्तै क्रन्दनले मेरो निद्रा ब्यँुझियो । उनै परम सुन्दरी श्रुति बहिनीको आवाज हो भनेर बुझ्न बेर नै लागेन । बत्ती बालेर घडी हेरेँ रातको सवा दुई भएको रहेछ । के गरूँ, कसो गरूँ सोच्न नै नसकेर म अलमल्लमा परेँ । ढोका खोलेर पलङमा बसेँ । लट्ठ पार्नेे सुई दिएकाले होला उनको क्रन्दन बिस्तारै शिथिल हुँदै गयो । घरबेटी दाइ र अरूहरूको आवाज भने गाइँगुइँ आई नै रह्यो । उनको स्नेहले कति बेला आँखा रसाएछ पत्तो नै भएन । मुख नुनिलो भएपछि बल्ल आँसु झरेको चाल पाएँ ।

साधारण घरको तेस्रो तल्लामा घरबेटी बस्छन् । अरू दुई तल्लामा हामी डेरावालहरू बस्छौँ । म दोस्रो तल्लामा बस्ने भएकीले ठूलो आवाज सुनिनु स्वाभाविक नै हो । सबै डेरावालसँग घरबेटीको सम्बन्ध साह्रै राम्रो छ । कसैलाई ज्वरो मात्र आउँदा पनि सबै डेरावालहरू सहानुभूति दिन जान्थ्यौँ । मानसिक रोग भएकाले होला मजस्तै अरू पनि खिच्चिएको हुनुपर्छ । यही सोचेर म एक्लै कोठामा छटपटाइरहेँ । सबैले सोचेका थियौँ श्रुति बहिनीको जिन्दगीले नयाँ मोड लिन्छ । अराजक स्थितिसँग लड्ने तागत छ उनमा । उनी लक्ष्य विन्दुमा पुग्नेछिन् । उनका आफन्तहरूलाई मात्र होइन । हामीजस्ता जोडिएका आफन्तहरूलाई पनि विक्षिप्त बनाएको थियो त्यो क्षण । उनले जिउँदै मरेर पनि खुसीले बाँचेको अभिनय पो गरेकी रहिछन् । भनिन्छ ‘बिच्छीको विष उसको पुच्छरमा मात्र हुन्छ । सर्पको विष उसको दाँतमा मात्र हुन्छ तर दुर्जन मानिसको विष उसको शरीरभरि हुन्छ ।’ हो त्यही शरीरभरि विष भएका मानिसहरूले ठुँग्न थालेपछि उनी बिचेत भएकी हुन् ।

छ वर्षअगाडिको कुरा हो । कामकुरा छिनेपछि  श्रुतिको  विवाहका  लागि सुकेधाराको पार्टी भेन्यू बुुक गरिएको थियो । टाढाटाढाका आफन्तहरूलाई डाक्ने काम भइसकेको थियो । विवाहको पाँच दिनअगाडि अख्तियारले घूसखोरीको मुद्दामा सहसचिव अभिराजलाई  निलम्बन  ग¥यो  भनेर पत्रपत्रिकाहरूमा छ्याप्पछ्यायाप्ती छाप्यो । समाजको डरले केटापट्टिकाहरूले खुट्टा ताने । घरबेटी दिदीलगायत अरू आफन्तहरू पनि केटाको घरमा हारगुहार गर्न गए । घरबेटी दिदी त उनीहरूको पाउ नै परिन् अरे । कसै गरे पनि फलामधारी उनीहरू पग्लेनन् । श्रुतिको परिवारको संवेदनशीलतालाई नबुझी कुल गुनाको बुद्धि हुन्छ । बरु गरिब नै भए पनि कुलकी छोरी विवाह गर्छौँ । पिँढी दर पिँढीको निधारमा भ्रष्टाचारीको छाप हेर्न सक्दैनौँ भने अरे । त्यसपछि कामधेनु गाईजस्ता अभिराजका परिवारले सबैको घृणा, असह्य पीडा सहनुप¥यो ।

त्यस घटनापछि घरमा मुर्दा शान्ति छायो । सबैले घरबेटी दाजुलाई हात्तीको भित्री र बाहिरी दुईवटा दाँत भएझैँ यो धूसखोरीको पनि दुईवटा दाँत रहेछ । सबैको आँखा छल्न कत्ति न आदर्श भई टोपल्थ्यो स्वास्नी छोरीले कतै गाडीमा जाँऊ भन्दा पनि सरकारी साधनको दुरुपयोग गर्नु हँुदैन भन्थ्यो अरे । स्वास्नीले केही माग गर्दा पनि मर्दा सियोसम्म जाँदैन । लास जलाउँन चार–छ हात जमिन चाहिने हो त्यो पनि छोड्नुपर्छ । त्यसैले लोभ भनेको पटक्कै गर्नु हुँदैन । ‘लोभले लाभ लाभले विलाप हुन्छ’ भन्थ्यो अरे । सधैँ रामराम मात्र जप्थ्यो । मुखमा रामराम बगलीमा छुरा भएको पातकी पो रहेछ घूसे । यस्ताले गर्दा नै देश खोक्रिएको हो । यस्तालाई त सूलीमा जाक्नुपर्छ । फाँसी दिनुपर्छ भन्ने पनि धेरै भए ।

कसैले एउटा छोरी भनेर के बस्थ्यो यो धूसखोरी अन्तै स्वास्नी छोराछोरी र दरबार जत्रो घर छ अरे भन्न थाले । कसैले पैसा घरभित्र जमिनमा गाडेर राखेको होला पनि भने । उनको नाम अभिराजबाट घूसराजमा परिवर्तन भयो । ठूलाबडा पल्टेकाहरू उनीसँग बोल्न पनि छोडे । घरबेटी दिदी रुँदै भन्नुहुन्थ्यो, ‘‘उहाँ रोएको मैले कहिल्यै देखेकी थिइनँ । म दोषी होइन भन्दै कोक्किएर रुनुहुन्छ । रातभरि छटपटाउनुहुन्छ । न म नै सुत्न सक्छु न बूढा नै । छोरीको कोठामा चियाउँन गयो भने म पसेको थाहा पाएपछि निदाएको अभिनय गर्छिन् । हाम्रो घरमा आगो नै सल्कियो । त्यसमाथि दुनियाँको लाञ्छना सहनुपरेको छ । मैले नै जिल्लामा जाँदा सुनेकी हुँ । यो हाकिमजस्तो सोझो हाकिम त कोही छैन भन्थे । ‘जो सोझो उसैको मुखमा घोचो’ भनेको ठीक नै रहेछ । तातो भात पनि फुकेर खान नजान्ने बूढाले अपराध गर्नु भयो होला भन्ने मलाई पटक्कै लाग्दैनँ । सबैको मन जित्न खोज्नुहुथ्यो । ‘मन जितेपछि सबै पाइन्छ’ भन्नु पनि बेक्कार नै रहेछ ।’’

हामी पनि उनको होमा हो मिलाउँथ्यौँ भित्री मनमा भने ‘हावा नलागी पात हल्लिँदैन’ भन्ने पनि लाग्थ्यो ।

चार–छ दिन जेलमा बसेपछि घरबेटी दाइले धरौटीमा छुटेर मुद्दा खेपिरहे । दिन बितिरह्यो । आँधीझैँ कुराहरू पनि आइरह्यो श्रुतिलाई छोडेको इन्जिनियरले विवाह ग¥यो अरे । छोराछोरी पायो अरे आदि इत्यादि । श्रुतिले पनि कायरपन प्रदर्शन गरिनन् । बी.बी.ए गरेकी थिइन् । एम.बी.ए. गरिन् । जनता बैङ्कमा जागिर खाइन् । चन्द्रमालाई त कलङ्क देख्ने समाजले अभिराजका परिवारलाई बगरमा मिल्किएको ढुङ्गाझैँ अर्थहीन बनाइदिए । एउटै भएकी छोरी र लोग्नेको पीरले घरबेटी दिदीको होस गुम्दै गयो । कहिले घरभाडा दिए पनि दिएको छैन भन्थिन् भने कहिले भाडा नदिए पनि दिएको छ भन्थिन् । यो क्रम चार–छ महिना चलेपछि घरबेटी दाइले नै भाडा उठाउन थाले ।

श्रुति बेलाबेलामा आमालाई सम्झाउँदै भन्थिन्, “ममी मेरो पटक्कै पीर गर्नु पर्दैन । एक दिन न एक दिन आकाश जत्रै छाती भएको तपार्इंको राजकुमार ज्वाइँ टकटक घोडामा सबार भएर आउनेछन् । त्यो कायरजस्तो हावाको झोक्काले हल्लिने हुँदैनन् । पहाडजस्तै अटल हुनेछन् बुझ्नुभयो ?”

हामी पनि भन्थ्यौँ, “हो बहिनी हो, उनी आकाशजस्तै छाती भएको हुनेछन् । मणिलाई जुहारीले चिनेझैँ उनले पनि तपाईंलाई चिन्नेछन् ।”

उनी आपूmलाई मणिसँग तुलना गर्नलायक नभएको कुरा गर्थिन् । वास्तवमा उनी मणिझैँ नै थिइन् । डेरावाललाई मात्र होइन जसलाई गाह्रो–साँघुरो पर्दा पनि सहयोग गर्थिन् । आमा–छोरी बाबुकै मन फटिकझैँ थियो । त्यो घरमा छिरेपछि विशेष परिस्थितिमा बाहेक कोही डेरा सर्दैनथे । त्यसैले पनि म नौ वर्ष अगाडिदेखि त्यो घरमा बसेकी थिएँ । श्रीमान् सरुवा भएपछि छोरालाई लिएर बस्नुको कारण राम्रा घरबेटी भएर नै हो । स्वच्छ मन मनजस्तै सुन्दर अनुहार, सर्वगुणले सम्पन्न श्रुति भावशून्य भइन् । कुनै अपराध नै गर्नु नपर्नेरहेछ अपराध भोग्नका लागि ।

‘‘साला छोड् मलाई छोड् म मोर्छु । मलाई यो पापी दुनियाँमा बाँच्नु छैन ।’’ भन्दै श्रुति पुनः चिच्याउन थालिन् ।

केही बजारेजस्तै डङडङ आवाज आयो । घरबेटी दिदीको रोदन मिश्रित स्वर सुन्नियो । उनी भन्दै थिइन्, “चुप लाग नानी ! चुप लाग ! तिमीले नै खुट्टा छोडेपछि हामी कसरी बाँच्ने हँ ? यो संसारमा तिमीबाहेक हाम्रो को नै छ र ? तिम्रो बाबा अपराधी होइन । तिमीले त बाबुलाई चिनिनौ भने यो पापी दुनियाँले के चिन्छ हँ ?”

मलाई आमा–छोरी नै खुस्केलान् कि भन्ने डर पनि लाग्यो । एक मनले भन्यो यस्तो बेलामा के भन्न जानु तर मन पटक्कै मानेन जे त भनुन् भनेर म माथि उक्लिएँ । श्रुति बहिनीलाई आफ्नो काका र मामाले दुइटा पाखुरामा जोरसँग समातेर भ¥याङ ओराल्दै थिए । उनी जान्नँ म कहीँ जान्न भन्दै खुट्टा बजार्दै थिइन् । डाक्टरलगायत चार–पाँच जना उनको पछाडि थिए । हाम्रो जम्काभेट भ¥याङमै भयो । उनले ठूलो स्वरमा चिच्याइन्, ‘‘दिदी ! म बेइमान हुँ ? के म बूढीकन्या हुँ ?’’

होइन नानी ! होइन, तपाईं त हीरा नै हो हीरा…। म आवेशमै चिच्याएछु ।

उनले लात्ती भुइँमा बजार्दै भनिन्, “देख्यौ म को हुँ पापीहरू ?”

घरबेटी दिदी हिक्कहिक्क गरेर रोइन् । घरबेटी दाजु भने देखा परेनन् । टिचिङ हस्पिटल लाने भनेर जवरजस्ती श्रुति बहिनीलाई ट्याक्सीमा कोचे । उनी ट्याक्सीमै पनि अजारिनु–बजारिनु गरेर रोइन् । सबै डेरावालहरूले आँखामा टिलपिल–टिलपिल आँसु पार्दै त्यो दर्दनाक दृश्य हे¥यौँ । ट्याक्सी ओझेल भएपछि हामी सबै भित्र पस्यौँ ।

म पलङमा पल्टिन खोज्दै थिएँ । तल्लो तल्लामा बस्ने प्रार्थना बहिनी कोठामा आएपछि पो थाहा पाएँ आपूmले ढोका बन्द गर्न बिर्सेको कुरा । उनले पलङमा नै बसेर रुन्चे स्वरमा भनिन्, “होइन शान्ति दिदी के अचम्म भयो यो ? हामीलाई दुःख पर्दा पीर नगर्नुहोस् । आशामा नै दुनियाँ अडेको हुन्छ भनेर सम्झाउने मान्छे आज आफँैँ…..।”

हो त हामीलाई माउले बचेराहरूलाई ढाकेझैँ ढपक्क ढाक्थे । आज उनीहरू नै माउ हराएको बचेराजस्ता भए । दाइको लोभको भकारी नभरिएकाले पूmलजस्ता घरबेटी दिदी र बहिनीले साह्रै दुःख पाए । ‘ओरालो झरेको मृगलाई बाच्छाले पनि खेद्छ’ भनेझैं त्यही चिम्सी लापाते मुना बजैले आफ्नै छोरीको छोरा बच्चा नभएकोलाई श्रुति बहिनी दिनु भनी माग्न आइन् रे भन्ने सुनेकी हुँ ।

प्रार्थनाले कुरा थपिन्, “मैले पनि सुनेकै कुरा हो, उनले मात्र होइन अरूले पनि स्वास्नी मरेका, स्वास्नी पोइल गएका आदि केटाहरूका कुरा लिएर आएका थिए अरे ।”

हो बहिनी यस्तै पीरले त होला नि नत्र उनी खुस्कने खालकी होइनन् । श्रीखण्डलाई जति टुक्रा पारे पनि बास्ना दिन छोड्दैन भनेझैँ उनले पनि आफ्नो मर्यादा नछोडेर हो । नत्र एक से एक केटाहरू पाइहाल्थिन् नि होइन ?

हो दिदी हो, भन्दैै छोरी रोएको आवाज सुनेर प्रार्थना हतारिँदै गइन् । वास्तवमै श्रुति श्रीखण्ड नै हुन् । सोच्दासोच्दै निद्राले डाँडो काट्यो । बिहान भयो । बाहिर पारिलो घाम लागे पनि मन अँध्यारो नै थियो ।

श्रुति बहिनीलाई केही सुधार भएको कुरा सुन्नमा आइरह्यो । श्रुति बहिनीलाई हस्पिटल राखेको दसौँ दिन साँझपख घरबेटी दाजुले मेरो कोठामा पस्दै भने, “बहिनी ! म अलिक दिन बाहिर जान्छु । यो चिठी विविध भन्ने श्रुतिको साथीलाई भोलि लगेर दिनू । दिदी–बहिनीको राम्रो ख्याल राख्नू । विविध बाबुको मोबाइल नम्बर खाममा नै छ ।”

मैले चिठी सोफामा राख्दै भनँे, “हुन्छ ख्याल राखौँला । चिया पिएर जानुहोस् न ।”

उनी खान मन छैन भनेर टिलपिल टिलपिल आँखा पार्दै बाहिर निस्के । म भोलिपल्ट विविधको घरको लोकेसन मागेर क्षेत्रपाटी गएँ । विविध उनका बाबु–आमा घरमा नै रहेछन् । उनीहरूले मलाई बडो सत्कारका साथ सजिसजाउ बैठकमा लगे । मैले विविधको हातमा खाम थम्याएँ । उनले सबैका अगाडि खाम खोलेर मनमनै चिठी पढे । उफ् ! भन्दै खाम टेबुलमै राखेर अर्को कोठामा गए । हामी तीन जनाले नै चिठी खोलेर ध्यान त्यसैमा केन्द्रित ग¥यौँं । घरबेटी दाइका आँसुका थोपाहरूले अक्षर फुलेका थिए । चिठीको बेहोरा यस्तो थियो ।

बाबु विविध ! मैले जीवनमा कहिल्यै जानेर कुनै भूल गरिनँ । सधैँ केवल अरूकै भलो चाहँे । सधैँ सत्यलाई अमृत ठानेर पिएँ । लाटो देशमा लाटै हुन जानिनँ । म अति इमानदार भएकाले नै घूसखोरीहरूका लागि म घाँडो भएँ । त्यसैले मेरो सुन्दर घरमा आगो सल्काए । जिल्लामा बस्ता पनि यो हाकिमले गर्दा घूस खान पाइएन भनेर केही बैरी भएका थिए । काठमाडौँमा पनि यस्तै भयो । यस वर्ष मेरो बढुवा हुने पालो थियो । त्यही भएर मलाई फसाए । म घुस्याहा होइन बाबु ! सतीले सरापेको देशमा इमानदारलाई बाँच्न साह्रै गाह्रो हुने रहेछ । थोरै गल्ती मेरो बाबुको पनि छ । मरेका बाबुलाई के भन्नु, उहाँलाई पनि यस्तो होला भन्ने के थाहा ? बाबुले तँ सोझो, इमानदार छस् भनेर चार दाजुभाइले कमाएको आफूले कमाएको पैसाले भिन्दो नहुन्जेलसम्म मेरै नाममा जग्गा किन्न लगाउनुहुन्थ्यो । म पनि लाटो मान्छे यस्तो होला भनेर पटक्कै सोचिनँ । बाबुले जे भनेको त्यही मानेँ । मेरो नाममा चार–छ ठाउँमा जग्गा थियो । ती जग्गाहरू दाजु–भाइको नाममा नामसारी पनि गरिदिएको हुँ । मेरो भागको एक ठाउँमा जग्गा छ । मैले आजसम्म कुनै पाप गरेकै छैन । मैले पलपल मृत्यु सम्झेर राम्रो काम गरँे । कुरा यति मात्र हो ।

तिमीले श्रुतिलाई चिनेकै छौ । श्रुतिलाई भोलि डिस्चार्ज गर्ने कुरा छ । उनी पनि मलाई घूसखोरी नै सम्झेर मेरो छाया देखे पनि डराउँछिन् । आमाचाहिँले पनि होस गुमाउन थालेकी धेरै भयो । योभन्दा बढ्दा उनीहरूको दुर्गति हेर्न मेरो शक्ति छैन । मेरो पनि भीमसेन थापाकै चाल भयो । मैले धेरै पहिला एउटा पत्रिकामा एउटा कविता पढेको थिएँ । त्यसको थोरै अंश अझै मलाई याद छ ।

आदर्शले पोल्यो मलाई

आदर्शले मा¥यो

आदर्शले जिन्दगी नै

सडकमा झा¥यो ।

मलाई लाग्छ, त्यो कविता मजस्तै बबुरोले लेखेको हुनुपर्छ । तिमी सोझो लागेर यो यथार्थ ओकलेको हुँ । तिमीले पनि बडो होसियारीसाथ पाइला चाल्नू । मूर्खकोअगाडि दैवको पनि केही लाग्दैन भन्थे ठीक नै रहेछ कि क्या होजस्ता पनि लाग्छ । चाहे जे होस् भगवान् सत रहेछन् भने म अवश्य जित्छु बाबु ! भगवान्ले आँखा चिम्लिनुभयो भने म यो पापी संसारमा रहने छैन । बदनाम भएर पलपल मर्नुभन्दा बरु एकपल्ट मर्नु शान्ति हुन्छजस्तो पनि लाग्छ । तिमीले श्रुतिलाई र उनकी आमालाई सँमाल्यौ भने म सत्यको लडाइँ लड्नेछु । जितेर नै उनीहरू सामु देखा पर्ने छु । नत्र… । त्योभन्दा बढ्दा चिठी पढ्न कसैले पनि सकेनौँ । सबैको आँखामा आँसु भरियो ।

मैले पनि हात जोड्दै भनँे, “साँच्चै उहाँहरूजस्ता सुन्दर मान्छेहरू मैले आजसम्म देखेकी नै छैन । फेरि श्रुति बहिनीलाई र दिदीलाई केही भयो भने कसले सँमाल्छ ? दाइको सपना पूरा गरिदिनुहोस् ।”

विविधले रुमालले मुख पुछेर पुनः बैठक कोठामा पस्दै भने, “मैले श्रुतिलाई राम्रोसँग चिनेको छु । मेरो कलेजकी साथी हुन् । उनका परिवार साह्रै राम्रो छन् भन्ने मलाई थाहा छ । एक वर्षजति अगाडि हाम्रो भेट असनमा भएको थियो । उनले बाबुसँग मेरो परिचय गराएकी थिइन् । मैले म परराष्ट्र मन्त्रालयमा अधिकृत छु भनेपछि मोबाइल नं. माग्नुभएको थियो । ममाथि विश्वास गर्नुभएछ खुसी लाग्यो ।’’

विविधकी आमा अनुजाले लामो श्वास फेर्दै भनिन्, “हो बाबु ! बहादुरले विपत् पर्दा खुट्टा कमाउनु हुँदैन । आजै बहिनीसँग गएर कुरा छिनफान गरेर आउँछु ।’’

उनको कुरामा सबैले स्वीकार गरे । हामी तुरुन्तै ट्याक्सीमा मन्डिखाटार आयौँ । कोठामा पस्दा श्रुति निदाइरहेकी थिइन् । दिदी छोरीनजिकै ढल्किरहेकी थिइन् । मैले इसारा गरेर डाकेपछि उनी बैठकमा आइन् । मैले दुवैलाई परिचय गराइदिएँ ।

घरबेटी दिदीले चिया बिस्कुट ल्याएर टेबुलमा राख्दै रुन्चे स्वरमा भनिन्, “बाबुलाई देख्यो कि दाह्रा किट्दै झम्टिने गरेकीले वहाँ पुरानो घर बाँके जानुभएको छ । बाबु भनेपछि पहिला प्राण नै दिने मान्छे अहिले…. .।”

विविधकी आमा अनुजाले ए भन्दै नम्र स्वरमा भनिन्, “श्रुति नानीलाई छोराले पहिलादेखि नै मन पराएका रहेछन् । अहिले आएर पो कुरा खोले । त्यसैले यहाँ आएकी हुँ ।’’

घरबेटी दिदी अनुजाको कुरा सुनेर एकछिन त अकमक्क परिन् । पछि बालिन्द्रधारा आँसु झार्दै अनुजाको खुट्टामा छाँद हालिन् । अनुजाले घरबेटी दिदीलाई उठाउँदै भनिन्, ‘‘एउटै भएको छोराको कस्ती बुहारी पर्ने हो भनेर डराइरहेका थियौँ । श्रुतिजस्ती बुहारी पाउनु हाम्रो पनि सौभाग्य नै हो । जे कुराको पनि लगन जुर्नुपर्ने रहेछ । एउटी छोरी छन् । उनी पनि ज्वाइँसँग क्यानडामा छिन् ।’’

अनुजाको कुराले घरबेटी दिदीको अनुहार खुसीले धपक्कै बलेझैँ भयो । श्रुतिले बोलाएपछि सबै श्रुतिको कोठामा गयौँ । मैले नै विविधको आमा भनेर परिचय गराइदिएँ । श्रुतिले नमस्कार गर्दै भनिन्, “विविध अस्ट्रेलिया जान्छु भन्दै थिए के भयो आन्टी ?”

अनुजाले पलङमा बसेर श्रुतिको कपाल मुसार्दै भनिन्, “हो नानी ! चार वर्षका लागि उनलाई अफिसबाट अस्ट्रेलिया खटाएको छ । हामीले त नानीलाई पनि सँगै अस्ट्रेलिया पठाउन खोजेका छौँ । विविधले नानीलाई मन पराएको कुरा बल्ल पो खोले ।”

श्रुतिले ओछ्यानबाट उठेर खुसीको स्वरमा भनिन्, “साँच्चै हो आन्टी ? कतेै यो सपना त हैन ? त्यो कालेले त कहिल्यै केही भन्दैनथे त ।”

अनुजाले हाँस्दै भनिन्, ‘‘यो सब विपना नै हो नानु ! काले लज्जाए होला नि ! पर्सि नै मन्दिरमा विवाह गर्नुपर्छ । वहाँ जाने दिन पनि आइसक्यो ।’’

घरबेटी दिदी र श्रुतिको मरेतुल्य शरीरमा श्वास सञ्चार भयो । घरबेटी दिदीले लोग्नेलाई खुसीको खबर सुनाउँछु भन्दै मोबाइल थिचिन् । मोबाइल अर्काे कोठाभित्रै नै बज्यो । उनले मोबाइल रुमाल लिएर आई रुन्चे स्वरमा भनिन्, “उहाँले त रुमाल र मोबाइल नै बिसर्नुभएछ । हुन्छ पर्सि नै विवाह गर्ने ।”

घरबेटी दिदी र श्रुतिको अनुहारमा भने खुसी छल्किरहेको थियो । अनुजाको र मेरो आँखा भने मोबाइल र रुमालमा गएर अडियो, बग्न लागेको आँसुलाई रोकेर हामी बिदा भयौँ । हो बिदा …..।

बुद्धनगर, काठमाडौँ

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments