सुरभि कथा प्रतियोगिता (२०७६) मा प्रोत्साहन पुरस्कार प्राप्त :

 

बाहिर आकाशमा कालो मुस्लो बादल लागिरहेको छ । साउनको महिना झमझम पानी दिउँसोबाटै परिरहेको अझै बन्द हुने छाँटकाट देखिएको छैन । तल बेसीको खोलाको गर्जनले पूरै गाउँ गुञ्जिएको छ । गाउँलेहरूलाई तल बेसीको खोलाले भन्दा माथि डाँडाको पहिराले सधैँ तर्साउने गरेको छ । पानीको तप्कानले बारीका मकैका पात झमझम बजिरहेका छन् । घर छेउको बलेसीमा रोपेका फर्सीका पातमा पानी झरेको आबाज, मकैका पात बजेको आवाज अनि बेसीको मडारिँदै बगेको लिकुवा खोलाको  आवाज  हरिहरको  घरको कोठाभित्रसम्म पुगेको छ । कोठामा मधुरो सोलारको बत्तीले जसो तसो काम गरिरहेको छ । “आज घाम नलागेर होला बत्ती पनि कति मधुरो बलेको ।” हरिहरकी आमा बोलिन । कुनामा बसेर बत्ती कातिरहेकी छिन् । माटोको गाह्रो एउटा दुइ पल्ले झ्याल अनि एउटा ढोका सिबाय कोठा दिउँसै अध्यारो हुन्छ । एउटा खाट एकातर्फ राखेको छ । खाटमुनिछेउमा सुकुल ओछ्याएको छ । खाटको सिरानतर्फ एउटा ठूलो कन्तुर राखेको छ । एका कुनामा आमा बसेकी छन्, अर्को कुनामा हरिहर बसेर गोरुलाई दाम्लो बाट्दै छ । छेउको खाटमा माथि सानो छोरो बसेर सानो गाडी कुदाउँदै भुमभुम गर्दै खेल्दै छ । बाबा यो गाली त कत्तो पुरानो भयो भोलि नयाँ गाली किन्दिनु है छोरो खाटमाथिबाट बाउ हरिहरतर्फ फर्केर बोल्यो । हुन्छ म भोलि बजार जान्छु अनि छोरोलाई नयाँ गाडी किनिदिन्छु है ? हरिहरले दाम्लो बाट्दै छोरोको माग लाई पन्छाउन मात्रै बोले । बिचरो अबोध छोराकोे अनुहारमा खुसी छायो मानौ अहिले नै हातमा गाडी आयो जस्तै देखियो । खुसी भावमा “मेलो भोलि नयाँ गाली आउँच मेलो भोलि नयाँ गाली आउँच” भन्दै फेरि त्यही पुरानो गाडी कुदाउन थाल्यो । होइन यो सपनालाई पनि कति बेर लागेको जुठाभाँडा साफ गर्न । यहाँ छोरो सुताउन ढिलो भइसक्यो । हरि बेलुकीको खाना खाइसकेपछि हरिहरकी श्रीमती सपना तल जुठो भाँडा सफा गर्दै छिन् । सपना ए सपना । हरिहरको आबाज तल भान्सासम्म सायद पुग्यो । आएँ आएँ । तलबाट सपना बोली । सपना भान्साको काम सकेर यसो मोबायलमा अलमल गर्दै थिइन् । हरिहरको आवाजले सायद उनलाई केही झर्को लागे जस्तै गरी । उमेरले पनि होला सपना रमझम, हेलो हाइमा अलिक मन गर्न रुचाउँछिन् । हरिहर उमेरले उनीभन्दा एक दशकभन्दा पनि धेरका छन् । फेरि व्यवहार अनि परिपक्वताले पनि हरिहर सपनाभन्दा फरक छन् । आर्थिक अभाबमा हुर्किएकी सपना, राम्रै व्यवस्था भएका हरिहर चन्चले र कम उमेरमै हरिहरको हात थाम्दै लगनगाँठोमा बाउआमाले बाँधिदिएका थिए । यही उमेर अनि सोचाइको कारण यी दुईमा सानातिना कुरामा पनि बेला बेलामा ठाकठुक परिरहन्छ । सपनाले तलको ढोका बन्द गर्दै माथि निस्किन् । कोठामा छोरो निद्राले व्याकुल भएर आमा खोज्दै ठुस्किन थालिसकेको थियो । सपना छोरो बोकेर आफ्नो कोठातर्फ लाग्छिन् ।

सपना एक्कासि हराइन् । हरिहरको जीवनमा बज्रपात परेझैँ भयो । अघिल्लो दिन बेलुकी खानपान सकेपछि निकैबेरसम्म फोनमा अलमल गरेको हरिहरले सम्झियो । एकाबिहानै पेट दुखिराछ जचाउन सहर जान्छु चाँडै फर्किन्छु भनेर सपना घरबाट निस्केकी थिइन् । हरिहर आफैले उपचार खर्चसमेत दिएर पठाएको थियो सपनालाई । अबेरसम्म घर फर्किनन् सपना । फोन गर्दा अफ आयो । बेलुकासम्म बाटो हेरे घर परिवारले तर अत्तोपत्तो भएन सपनाको । केही दिनअगाडि देखिको चाल चलन तथा दैनिक जीवन शैलीलाई सम्झियो हरिहरले । हतार हतारमा कोठामा गएर लुगाफाटा हेर्छ गरगहना हेर्छ न त लुगाफाटा छन् न त गरगहना । हरिहर थुचुक्कै बस्छ पूरै कोठा फनफनी घुमेझैँ लाग्छ । टाउकोमा ठूलो पत्थरले हिर्काएझैँ लाग्यो हरिहरलाई । आफूभन्दा पनि आफ्नो दुधे छोरो सम्झियो । जोसँग गई जहाँ गई उसको जिन्दगी उसको अधिकार र उसको इच्छा तर उसको जिन्दगीसँग जोडिएको अरूको जिन्दगीको कुराले हरिहर छाँगाबाट खसेझैँ भयो । के गर्ने के नर्गने हरिहरले सोच्नै सकेन । हरिहरले आफ्नो जिन्दगी चलाउने सम्झिए तोते बोली बोल्ने त्यो अबोध बच्चाको बारेमा सोचे अनि काखको दूधे बालक, अँगालाभरिको श्रीमान्, मनभरि पाएको माया छोडेर जाने निर्दयीदेखि मनैबाट रिस उठेर आयो  ।  हुन  त  हरिहरले  सपनाको चालचलनका  बारेमा  केही  महिना अगाडिबाटै थाहा पाएकै थियो । मेलापात, घरधन्दा जता पनि मोबायल मा झुण्डिरहेकी हुन्थिन् कि त कानमा मोबाइल टाँसेर गुनगुन गफ निकै लामो चलेको याद गरेका थियो हरिहरले । उमेरमा साथी भाइसँग गफगाफ, हाँसीमजाक सामान्य होला सम्झेको थियो हरिहरले । यति भयानक र निर्दयी कदम चाल्नुका पूर्व सङ्केत भनेर बुझ्न सकेन उसले । सायद हरिहरकी आमाले रिसमा होस या अर्तीका रूपमा, टोकसोका रूपमा होस या गालीका रूपमा बेला बेला हरिहरलाई बुहारीको चालाको बारेमा कुरा गर्थिन् तर हरिहरले त्यो कुरालाई कहिल्यै गम्भिर रूपमा लिएन । उमेर हो मोबाइल चलाउनु फेसबुक चलाउनु सामान्य कुरा हो जस्तो लाग्थ्यो । घरधन्दा मेलापातको कामबाट यसो मन बहलाउन चलाउँछे के भो र भन्थ्यो । आज हरिहरले पहिलेका सपनाका एक एक क्रियाकलापलाई सम्झिन थाल्यो । हरेक क्रियाकलापहरू अहिले पो शङ्कामा देखिन थाले । छोरोलाई पनि बेलुका सुत्ने बेलामा मात्र नत्र अरू बेला पनि झर्को र फर्को मात्र गर्ने । छोरो पनि हजुरआमाको पछि पछि मात्र कुद्ने गर्दथ्यो । घरीघरी मात्र ममी खोज्ने अनि राती सुत्ने बेलामा भने ममी नै चाहिन्थ्यो । हरिहर कोठाको झयालबाट बाहिर नियाल्छ । छोरो आँगनमा साना साना लठ्ठी भेला पारेर खेलिरिहेको छ । हरिहरको मन भक्कानिएर आयो । हरिहर ए हरिहर होइन हाम्री सपना आज कहाँ गएकी हो तल्ला घरे साइला काकाले त सहरमा काठमाडौँ जाने बसपार्कमा भेटेका रे त । तँ त बिरामी भर अस्पतालमा जचाउन गकी भन्थिस् त । भ¥याङबाट उक्लिँदै हतारिएर सबै कुरा भनिसकिन आमाले । खै आमा लुगाफाटा गरगहना केही छैनन् हरिहरले जबाफ दियो । हे भगवान । मैले तँलाई पैलेदेखि भन्या हो नि । मेरो कुरालाई टेरपुछर लाउनु छैन । अब यो नाबालक छोरोको बिजोक । यस्तै हुन्छ भनेर त मैले पहिल्यै देखेकै हो नि । आमा फलाक्दै तल झरिन् ।

एक बेलुका खानपान सकेर माथि चढेको थिए हरिहर आमा र नाति । हरिहरको छोरो माथि खाटमा बसेर खेल्दै थियो । सपनाको एउटा पुरानो सारी खोपामा रहेछ । छोरोले देखेछ । आमा आमा ममी किन न आको भनेर सोध्यो । हरिहर र आमा कसले जवाफ दिने भनेर मुखामुख गरे । आमाले भोलि आउछे बाबु आऊ सुत्न जाम् अब भन्दै नातिको छेउमा गइन् । भोलि कहिले आउँछ आमा ? हरिहरको छोराले सोध्यो । कस्तो प्रश्न अब भने आमासँग जबाफ थिएन । आमा आमा ममी मलाई गाली लिन जानु भएको छ हो ? नातिका एक पछि अर्का प्रश्न आउँदै थिए । हजुरआमासँग जबाफ थिएनन् । तानेर काखमा लिइन हजुर आमाको आँखाभरि आँसु टिलपिलाए । बिचरो दुधे बालकको मातृवियोग साह्रै पीडादायक हुँदो रहेछ । हरेक पटक पटक झूट बोल्नुपर्ने टार्नलाई । बिचरा जे भने पनि पत्याउँछ । हजुरआमाको तातो काखमा कतिखेर नाति लुटुक्क निदाएछ । भीरबाट हामफालेर मरेकी भए नि मरी भन्न हुन्थ्यो ढुक्क त हुन्थ्यो । यस्तो नानीको बिजोक । आमाले हरिहरलाई सुनाउँदै भनिन् । धेर स्वतन्त्र पाएर बिग्रेकी । नारी भएसि अनेक दुःख जित्न सक्नुपर्छ । खै तँ पाँच वर्षको हुँदा मेलामा गएका सासू ससुरा श्रीमान् सबैलाई पहिरोले लग्यो । उमेर थियो बैँस थियो र पनि आफ्नो डेग छोडिन । एक्लै गरिखाएँ । आमा भन्दै गइन् । अब घरको, बाहिरको म एक्लै कसरी सक्नु । कार्की कान्छाका जेठानकी छोरी छे रे । साहै शील स्वभावकी । बिचरी दुई महिनाकी हुँदा आमा खसेकी रे बाउले कान्छी लिएर भारततिर हिँडेको रे । हजुरआमाले बनीबुतो गरेर हुर्काएकी रे । यत्रो महिना भै सक्यो अब चुपलागेर बस्नु हुँदैन । म भोलि नै गएर कुराको टुङ्गो गर्छु । आमाको कुरोमा हरिहर केही बोलेन । अझै सपनालाई हरिहरले बिर्सन सकेको थिएन् । मात्र न खै शब्द निस्कियो हरिहरको मुखबाट । आमा नाति लिएर अर्को कोठामा गइन् ।

फेरि हरिहरको घरमा पुरानै शैली देखिन थाल्यो । हरिहरले आखिरमा आमाले कुरा गरेकै केटी लक्ष्मीसँग बिबाह गर्यो । साँच्चै सस्कार, घर व्यवहार चलाउने बुहारी पाएका थिए हरिहरका घरकाले । पूजापाठ दान धर्म सबै जानेकी । सौतेनी छोरोलाई पनि उति नै माया यति नै रेखदेख । विवाह गरेको सात महिना भइसकेको थियो । आमाले एक बिहान चामल केलाउँदै गर्दा लक्ष्मीलाई छोरोको देवघाटमा एउटा भाकल थियो । थुप्रै भयो । तिमरु भोलि बिहानै बुढाबुढी जाओ है । नाति मसँगै बस्छ । कहिल्यै जुर्दैन । आमाको कुरामा लक्ष्मीले केही निर्णय दिइनन् । खै आमा तपाईं घरमा एक्लै । छोरालाई नै कुरा गर्नु नि यति मात्र भनिन् । अरू बेला नि घरको कामले फुर्सद मिल्दैन । तिमरु पनि विवाहदेखि कतै गएका छैनौ । दुईतीन दिन यहाँ घरमा आपती हुँदैन म गर्छु आमा यति भन्दै गोठतर्फ लागिन् ।

हरिहर अनि लक्ष्मी देवघाटमा गए । हरिहरकी आमा अनि हरिहरको छोरो घरमै बसे । देवघाटमा तल नदीमा स्नान गरी हरिहर अनि लक्ष्मी माथि निस्कदै थिए । नदीतर्फ आउँदै गरेकी एउटी नारीसँग एक्कासी आँखा जुध्यो । न ती नारी बोलिन् न हरिहर । दुबै मुखामुख गरेर अडिए । ती नारी त्यही सपना थिइन् । खैरो सुतीको सारी अनि पहेँलो रङको चोलो लगाएकी, खाली हात । निधारमा पहेँलो चन्दन खुट्टामा साधारण फित्ते चप्पल । ती भरभर शरीर, चेहरा, मुस्कान केही छैन पालुवा फेर्ने बेलामा झरेका पात जस्तै देखिएकी हेर्दै टिठलाग्दी, हरिहरका आँखा रसाए । सपनाले मुन्टो बटारेर लक्ष्मीलाई हेरिन् । सारीको फेरोले मुख छोपी सपनाले । के गरौँ कसो गरौँ भइन् सपना । धर्ती नै फाटे पनि पस्थेँ जस्तै भयो सपनालाई । निहुरेर हतार हतार तल झरिन् । छोरोलाई कस्तो छ भनेर एक वचन नि सोध्दिनस् है पापिनी ? हरिहर अड्किँदै बोल्यो । हरिहरको यो कुराले सपना टक्क अडिएर मुन्टो घुमाएर हेरिन् । आँखामा आँसुका धारा एक्कासि बगे सपनाका । अहिलेसम्म लक्ष्मी वाक्क परिरहेकी थिइन्, अब भने उनको भ्रम टुट्यो । सपना भने फेरि केही नबोली अल नदीतर्फ लागिन् तर सपना भने छोराको कुरा सुन्ना साथ भावविह्वल भएकी थिइन् । अब लक्ष्मीलाई के गरौ के गरौ भयो । लक्ष्मीले सबै कुरा बुझिन् हरिहरको मनमा सपनाप्रतिको माया अझै मनको कुनामा रहेको बुझ्न समय लागेन । लक्ष्मी र हरिहर माथि लागे । पुराण चलिरहेकोले आज पुराण सुन्ने योजना थियो उनीहरूको । पुराण मण्डपमा दुबै लक्ष्मी र हरिहर त पुगे तर हरिहर निःशब्द थियो । अनुहार पूरै मलिन थियो । पुराण सुन्न हरिहर पुरुष बसे तर्फ बस्योे लक्ष्मी भने महिला तर्फ लागिन् । भिडभाड निकै थियो । सकिएपछि गेट छेउमा भेटने है त्यही पर्खिरहनु यति भनेर लक्ष्मी महिला बसे तर्फ लागिन् । पुराण सुन्न त लक्ष्मी बसिन् हरिहर पनि बस्यो तर दुबैको मनमा सपना मात्र घुमिरहेकी थिइन् । हरिहरको शरीर मात्र यहाँ थियो न त अरू मान्छे देख्योे उसले न त पुराणका केही शब्द नै सुन्यो । बस चुपचाप बस्ने काम मात्र गरिरहे । यता लक्ष्मीले हरिहरको अवस्था देखेकी थिइन् । हरिहरको छोराको आमासँगको बिछोड नि देखेकी थिइन् । तर विवाह गरेर अर्कै केटासँग गएकी सपनाको यो अवस्था किन कसरी लक्ष्मीले बुझेकी थिइनन् । एक्कासि यो अवस्थामा भेटिँदा हरिहर पनि आश्चर्यमा परेको थियो । लक्ष्मीलाई कौतूहलले छोडेन । उनी चुपचाप पुराण स्थलबाट उठेर बाटो लागिन् । जहाँ अघि सपनासँग जम्का भेट भएको थियो ।

नदीमा स्नान सकेर बाटोमा फुलेका फूल टिप्दै आउँदै थिइन् सपना । लक्ष्मीले परैबाट देखिहालिन् । नजिक गएर दिदी भनेर सम्बोधन गरिन् । सपनाले एक शब्द नबोली पुलुक्क एक नजर हेरिन् मात्र । सपनाको त्यो हेराइमा पश्चात्ताप पीडा, ग्लानि प्रस्ट देखिन्थ्यो । दिदी तपाईंको छोराले तपाइैलाई कति खोज्छ माया लाग्दैन ? लक्ष्मीको कुरा सकिन नपाउँदै सपना भक्कानिन् । लक्ष्मीले गएर सपनाको हात समाइन् । सपनाले लक्ष्मीलाई अँगालो हालेर रुन थलिन् । लक्ष्मी त्यसै त दयाकी मूर्ति थिइन् झन् यो अवस्थाले उनलाई पनि रुवायो । एकछिनपछि लक्ष्मीले सोधिन्– दिदी मलाइै त अर्कैसँग विवाह गरेर जानुभएको भनेका थिए त, तर तपाईं त यो अवस्थामा यहाँ कसरी लक्ष्मीले प्रश्न गरिन् । हो बहिनी मेरा बुद्धिले डाँडा काटेको थियो आँखा टालिएका थिए । काखको छोरो छोडेर हिँड्नुको पाप हो यो । सपना बोल्दै गइन् । फेसबूकबाट परिचय भएको केटोका मिठा कुराले श्रीमान्को माया भुलेछु । सहर बजार ठूलो घरका सपना र लालचले आमाको कर्तव्य र ममता पैतालामा टेकेछु । एकदिन दुईदिन हुँदै ऊसँग मन तानिन थालेछ । त्यो बेलामा विदेशमा थियो ऊ । समय समयमा पैसा पनि पठाउने फोन गर्ने गर्दागर्दै खै के भयो के मलाई त ऊसँगको सपना बुन्दै दूध खाने बालक छोरो, त्यति माया गर्ने श्रीमान्, सासू छोडेर ऊ नेपाल आएको बेलामा काठमाडौँ बोलायो म घरबाट नजिकैको अस्पतालमा जान्छु भनेर हिँडेँ । सपना भन्दै गइन् । फोन नं. फेसबुकको माध्ययमबाट त्यो केटासँग काठमाडौँमा भेट भयो । जस्तो सोचेको त्यस्तै पाएँ । केही दिन घुमेर घर जाने अनि उतै सिन्दुर पोते गर्ने भनेको थियो । लजमा पन्ध्र दिन जति घुमफिर रमाइलोमै बितेछ । अब घर जाने भनेर टिकट मिलाएर आउँछु भनेर हिँड्यो त्यसपछि फर्केर आएन । फोन अफ थियो फेसबुकमा रिप्लाइ आउँदैनथ्यो । पछि उसको आइडी नै बन्द ग¥यो । सपनाले कथा सुनाउँदै गइन् । आफूसँग भएका गहना बेचेर लजको पैसा दिएर त्यो केटाले बताएका आधारमा घर पत्ता लगाउन निस्केँ । फेसबुकमा भएको त्यो केटाको साथीमार्फत घर पुगेँ । केटो छुट्टी मनाउन आएको रहेछ विदेश गइसकेको रहेछ । तर त्यो केटाको त एक छोरा अनि श्रीमती रहेछन् । अनेक प्रमाण गाउँलेको साथले केटाको घरमा त भित्रिएँ तर के गर्नु मलाई त्यो फलामको चिउरा चपाए जस्तै भयो । घाँडो पन्छाउन सबै एकातर्फ मिलेका थिए । न राम्ररी खान पाएँ न सुत्न । गोरु जस्तै जोतिनुप¥यो । त्यो केटासँग कहिले फोनमा पनि गफ गर्न दिएनन् मसँग नं. पनि थिएन । मलाई त्यो केटा पर्खेर बस्नुको अर्थ पनि थिएन । त्यो केटाको मसँग रमाइलो गर्नु मात्र उसको उद्देश्य थियो । अन्तमा गाउलेको साथ सहयोगले केटाको परिवारसँग अंशको नाममा अलिकति पैसा लिएर निस्केँ र त्यो पैसा यहाँ ल्याएर चन्दा दिएँ अनि आफु पनि यही बसेकी छु । सपनाका कुराले लक्ष्मीका पनि आँखा रसाएछन् । अनि बैनी मेरो छोरोलाई कस्तो छ सपनाले सोधिन् । ठीक छ दिदी बेला बेलामा तपाईंलाई सोधिरहन्छ । बेलुका सुत्ने समयमा खालि तपाईंको खोजी गर्छ । लक्ष्मीले भनिन् । दिदी मैले उहाँको मन मजाले बुझेको छु । अझै उहाँको मनमा तपाईंको माया रहेछ । उहाँका लागि नभए नि छोराका लागि सही जाम घर उतै सँगै बसौँला त्यो सानो छोराको मन बुझाउन म सक्दिनँ । जाम दिदी । सपना यस्तो लक्ष्मीका कुरा सुनेर तीन छक्क परिन् । हामी सौता नै सही एउटा अबोध बालकको भविष्य र खुसीका लागि जे पनि सहन्छु दिदी । नारी एउटी देवी हुन्, त्यो सपनाले लक्ष्मीले आफ्नै अगाडि देख्दै थिई । सुरुमा आफ्नो अडानमा रहेकी सपनाले पुराना कार्यको प्रायश्चित गर्न अनि छोराकै लागि गाउँघरका मान्छेको अगाडि लाचार भएर भए पनि जाने मनसायमा ढल्किँदै गइन् । सपना तर हरिहरको डर थियो । बहिनी मैले मेरो स्थान त छोडेर आइसके बस छोरालाई आँखाभरि देख्न पाउँ बारीमा सानो झुप्रो हालेरै बनिबुतो गरेर खान्छु बरु भन्दै सपना रुँदै लक्ष्मीको खुट्टा समाउन पुगी लक्ष्मीले तानेर अँगालो हाल्दै नरुनु दिदी, हिँड्नु माथि उहाँलाई भेट्न भनेर लक्ष्मी पछाडि फर्किंदा त हरिहर कतिखेरबाट सबै कुरा सुनिरहेको पो रहेछ । सपना र लक्ष्मी झस्किए । हरिहर मलिन र भावुक थियो । आँखाभरि आँसु टिलपिलाउँदै हरिहर बोल्यो–तँसँगको सम्बन्ध त सायद खै छैन होला तर एउटा अबोध बालकको काख खोसिएको पीडा मैले सहन सकिनँ । जा लुगाफाटो के छ तेरा लिएर आइज, ढिलो हुन्छ फर्किन । अहिले गाडी पाइँदैन । हरिहरको यो कुराले सपनालाई भगवान् बोलेजस्तै लाग्यो । हरिहरलाई पनि सपनाको कारणले आफ्नो जिन्दगी दलदलमा गाडिए पनि त्यो दलदलभित्र केही खुसी भेट्टायो । आँसु पुछ्दै दौडेर गएर हरिहरको खुट्टा हातले छोएर लक्ष्मीको छेउमा आई, बैनी एकछिन ल, म लुगाफाटो लिएर बिदा मागेर आइहाल्छु भन्दै सपना हसाङफसाङ गर्दै उनी बस्ने आश्रमतर्पm लागिन् ।

वराहक्षेत्र –८, सुनसरी

मो. ९८४२१८१८८०

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments