सुरभि कथा प्रतियोगिता (२०७६) मा प्रोत्साहन पुरस्कार प्राप्त

‘म त लोग्ने नामको नरपिचास काटेर आएकी हुँ । रातो दिनको उसको टोकसो सहन सकिनँ । पुलिसको बर्दीमा गुलिया सपना देखायो र म गाउँकी सोझी केटीलाई आफ्नो प्रेमजालमा फँसायो । त्यसपछि रूपनगरको पाखोमा झुपडी बनाएर राखेथ्यो । बेलाबेलामा हात्ती आएर घरै भत्काइदिन्थ्यो । घर लग्न भन्दा यस संसारमा मेरो कोही छैन भन्थ्यो । रामेछापतिर त्यसको घर रहेछ । घरमा स्वास्नी र तीन जना छोराछोरी रहेछन् । म त उसकी रखौटी पो रहेछु भन्ने दुई वर्षपछि मात्र थाहा भयो । अझ मलार्ई बाझो बनाउने ओखती खुवाएको रहस्य खुलेपछि मनलाई काबुमा राख्न सकिनँ ।’ नरमायाले एकोहोरो भट्याइरही ।

म अझै नसुनेझैँ गरिरहेकी थिएँ । तर, आफूले गुमाएका सन्तानको मायाले आँखाका डिल भत्केछन् । मैले आफ्ना हात झड्कारेँ र भित्तामा दुबै हात बजारेँ । अपराधी यिनै हात भएजस्तो अनुभूत गरेँ ।

‘तिमी सधैँ सुन्दरी बन्छ्यौँ । सुकुमारी हुन्छ्यौँ । जवानको जवानै रहन्छ्यौ । त्यही भएर वैद्यले दिएको ओखती दूधमा मिसाएर खुवाएको हो । तिम्रा लागि म छँदै छु, मेरा लागि तिमी छँदै छ्यौ । अरू के चाहियो र ? उसले भनेका शब्दले झिर बनेर मेरो मुटु घोचिरह्यो ।’ नरमायाको आवाज पुनः सुनियो ।

नरमायाको पीडाको खाताका पाना उल्टिरहे– म निरुत्तर बनेर बसिरहेँ । मलाई मानव जुनी लिएकोमा आफैँलाई धिकार्न मन लागिरह्यो । बाटा हुँदी लालाबाला दौडधूप गर्थे । म हेरिरहन्थेँ । मनले नै तिनीहरूलाई सुमसुम्याउँथेँ, खेलाउँथेँ, पियाउँथे र सुताउँथेँ । म आफू बाँझी भएको यकिन भएपछि अधमरो बनेकी थिएँ ।

एक साँझ मभन्दा धेरै कलिली केटी लिएर ऊ आयो । र, तिमीहरू दुबैलाई बराबर माया दिन्छु, बराबरको अधिकार बाँडफाँड गरिदिन्छु भन्यो । म छाँगाबाट खसेझैँ भएँ । बाबुआमाको कुरो लत्याएको र गुलियो कुरो पत्याएकोमा म झन् भित्रभित्रै जल्न पुगेँ ।

उसका कुरा सुनेर कलिली केटी पनि थुकेर रुँदै र सराप्तै हिँडी । ऊ वाल्ल परेर हेरिरह्यो । एकातिर मेरो मातृत्व मारेकोमा रिसको पारो चढेकै थियो, अर्कातिर एकपछि अर्की गर्दै रखौटी भेला पार्ने उसको नियत पर्दा बाहिर आएपछि सहन सकिनँ । छानामा सिउरेको भुत्ते खुर्पाले अन्धाधुन्द प्रहार गरिरहेँ । उसको चिच्याहट बढ्दै गयो । ऊ आत्मरक्षा गर्न असफल भयो र प्राणरक्षा भीख मागिरह्यो । म आफ्नो अनुहारमा लागेको रगत पुछ्दै रौद्ररूपमा सामुन्ने खडा भइरहेँ । ऊ रगतको आहालमा छट्पटाइरह्यो । र, अन्ततः प्राणपखेरु त्याग्यो ।’ उसले कुरा टुङ्ग्याएर खुइय गरी ।

मैले अझै मुख खोलेकी थिइन । पीडा मसँग मात्र रहेनछ, अरूसँग पनि रहेछ भन्ने सोच्दै थिएँ ।

‘यत्ति कलिलो उमेराँ तँ कसरी यहाँ आइपुगिस्, रोशना ? के यहाँ आएका सबै मजस्तै ज्यानमारा अपराधी नै हुन् त ? जिउँदै नरक भोग्न त शत्रुले पनि नपरोस् ।’ जिङ्ग्रिङ केश फिँजाएकी उसले आफ्नो अभिमतसहित मसँग प्रश्न राखी ।

ऊ मेरै समकालीन उमेरकी थिई । म आउनुपूर्व नै ऊ त्यहाँ थिई । मन मिल्नेहरू एक ठाउँमा बस्थे । मेरो आफ्नै धुन हुन्थ्यो, आफ्नै सूर हुन्थ्यो । तापनि नरमाया मनजिक नै रहन्थी । उसको जीवन कहानी सुनेपछि नजानिँदो किसिमले म नै उसको नजिक हुन थालेँ ।

आज एकाएक गरिएको अनौठो प्रश्नले सुरुमा म तर्सिएँ । मलाई बोल्न मन पटक्कै थिएन । उसले बरोबर कर गरिरही । एक शुभेच्छु संगिनी भएको आभाष दिलाई रही ।

मैले पनि मनको व्यथा मन खाएकालाई सुनाउँदा बेसै हुने ठह¥याएँ । हामी दुबै जेल परिसरको घमाइलो ठाउँमा बस्यौँ । ऊ अगस्त्य भई, म कुमार बनेँ, उसलाई प्रतिप्रश्न सोध्ने मौकै दिइनँ–

म चेतन अवस्था आउँदा कानमा खल्याङमल्याङ आवाज प¥यो । आँखा उघार्न खोजेँ, उध्रन मानेनन् । आँखा मिच्न खोजेँ, हात उठाउन सकस प¥यो । बलले दुबै हात उठाएँ र दुबै आँखा मिचेँ । केही आराम भएजस्तो लाग्यो । विस्तारै आँखा खोलेँ । शरीरभरि बालुवै वालुवा थियो । पहिले लगाएका वस्त्र च्यातचुत भएका थिए । र, सर्वप्रथम देखेँ– खुट्टामुनि बसेर मेरो मुख टुलुटुलु हेरिरहेको पाँच बर्षीय कान्छो छोरो तहसिललाई ।

आँखा भरिएर आए । मन हुडलिएर आयो । वरपरको आवाजले तीखा तीर बनेर शरीरभरि छियाछिया पार्ने कल्पनाले मन गरुङ्गो भयो । म भारदह अस्पतालको इमरजेन्सी वार्डअन्तर्गत बेड नं ६ मा रहेँछु । बाहिर धेरै मानिसहरू भेला भएका छन् भन्ने आभाष पाएँ । वरपर उभिएका नर्सहरू हडबडिँदै आए ।

“ए, बिरामीको होस् खुलेछ । कल्पना, अल्पना आउनुस् ।” सम्झनाले टाउकामा हात राख्तै भनिन्, “दया गर्ने कर्म त गरेको हैन तर बाँचेकालाई सहयोग गर्ने हाम्रो कर्तव्य हो ।”

नभन्दै तीन जना नर्स मिलेर मलाई बसाए । असरल्ल पोसाक तानतुन पारिदिए । अनुहारमा लागेको बालुवा र कपालमा अल्झेको झारपात झारिदिए । ओछ्याएको तन्नाले अर्धनग्न शरीरलाई ढाक्ने कोसिस गरिरहेँ ।

“अब के आँसु झाछ्र्यौ ! नहुनुपर्ने काम भइसक्यो । अब आँसु खसाएर आफूलाई अरू कमजोर नपार ।” कल्पनाले मेरा आँखाको आँसु पुछिदिइन् र अलिक कडा स्वरमा भनिन्, “यहाँ आइमाईका लागि बाँच्न पनि गाह्रो छ, मर्न अझै साह्रो छ । सबैले एक दिन मर्नु त छँदै छ, मरेपछि फेरि बाँच्न पाइन्न । बाँचिराखे मर्न त स्वतः पाइन्छ ।”

“नारीका लागि यो संसार जुध्नका लागि बनेको हो । हार खाएर भाग्नका लागि हैन ।” अल्पनाको मत थियो, “असलीमा अब तिम्रो सङ्घर्षको युग सुरु भयो । थरीथरीका प्रश्न तेर्सिन्छन् । ती सबैलाई पन्छाएर जिउन कठिन छ तर तिमीले छोरो तहसिलको मुख हेरेर जिउनुपर्छ ।”

त्यत्तिकैमा महिला प्रहरीहरू प्रश्नका पोकापन्तेरा फुकाउन थाले ।

“अहिलेका लागि कृपया तपैँहरूको प्रश्न झोलामै राख्नुस् । रोशना खातुनको मन हलुका हुन दिनुस् । अब यिनले त्यस्तो कुनै जघन्य कदम उठाउने छैनन् ।” सिनियर नर्स रेणुले प्रहरीहरूलाई पन्छाउँदै भनिन्, “हामी पनि बिनाबर्दीका जिम्मेवार प्रहरी हौँ । हामी पनि कानुनले बाँधिएका छौँ । यद्यपि मानवीय भावना र प्रेमले पनि जकडिएका छौँ । तसर्थ पर बसेर दृष्य हेरिदिनुस् । रोशनाको मन सहज भएपछि कत्ति प्रश्न सोध्नुपर्छ, नियमानुसार सोधौँ र कुरा बुझौँ ।”

प्रहरीहरू पनि नाजवाफ भए र पछि हटे । तत्कालै पत्रकारहरूको समूह अघि आयो । तस्विर खिच्यो । सोधपुछ गर्नका लागि भने उनीहरूलाई पनि नर्सहरूले नै केहीबेरका लागि भन्दै रोके ।

प्रहरी र पत्रकारहरूको समूह अवाक् भई पर्खिरह्यो ।

मलाई  बाथरूम  छिराइयो  । नुहाइधुवाइ गराइयो । नयाँ बस्त्र लगाउन भनियो । वस्त्र ओल्टाइपल्टाई हेरेँ । आफ्ना वस्त्र थिएनन् । लगाउन मैले आनाकानी गरेँ ।

“हामीले किन्देको लुगा हो । बिनाहिच्किचाहट लगाऊ ।” रेणुले थपिन्, “पैसा त तिम्रै हो । तिम्रो साथबाट नौ हजार दुई सय सत्तरी रुपैयाँ, मोवाइल र कानका झुम्काहरू फेला पारेका थियौँ । बँचेको कान्छो छोरो तहसिलले भनेकाले तिम्रो खोजी भयो । तिमी बुट्यानमा अल्झेकी रहिछ्यौ ।”

ढुक्क मनले कपडा फेरेँ । मनमा अनेकौँ प्रश्नहरू मडारिरहेका थिए । पेटमा मुसाहरू दगुरिरहेका थिए । नजिकैको माटो भए पनि खान मन लागेको थियो । त्यसबेला समेत आफ्नोभन्दा अरू गुमेका तीन जनाको चिन्ताले सताएको थियो ।

नभन्दै केहीबेरमै एक थाल तात्तातो खाना आइपुग्यो । तहसिलले एकछेउबाट खान सुरु ग¥यो । नर्सहरूको संकेतले मैले पनि अर्को छेउबाट खान सुरु गरेँ । भोजन त सामान्य नै थियो, भोक मीठो भएकाले होला निकै स्वादिलो लाग्यो । नर्सहरूको मायालु व्यवहार र मन बुझ्ने बोलीबचनले संसारका तगाराहरू तोडफोड गर्नसक्छु भन्ने आँट जन्मियो ।

यद्यपि बाटो बिराइसकेकी थिएँ । हातबाट गोली छुटिसकेको थियो । कदापि फिर्ता आउने वाला थिएन । पेटमा चारो पसेपछि तहसिलले मुहार उज्यालो बनायो । त्यत्तिखेर मैले भने उसका सामु शिर झुकाइरहेँ ।

“मम्मी ! भाइजीसभ अर दैया कहाँ छौ ?” तन्जिल, अरमान र रवियाको खोजी गर्दै तहसिलले अगाडि भन्यो, “हम त पानिसँ बाहर एलियै । बहुत कानलियै । तुँ कत गेल छेलही मम्मी ?”

म कहाँ गएँ र कहाँ जानुथियो, त्यो अबोध नाबालकलाई मैले के जवाफ दिनु ! फेरि आँखा भरिएर आए । एकएक दृष्य आँखामा नाच्न थाले । सम्झदै कहालीलाग्दो आवाज कानमै ठोक्किन आइपुग्यो । ..माँ..माँ…माँ……!

+++

अघिल्लो  दिन  मातृभाग्यरेखा ट्राभल्समा चढ्न भनी जनकपुरबाट कोशी ब्यारेकसम्मको टिकट काटेकी थिएँ । साथमा थिए– बार वर्षे तन्जिल, सात वर्षे अरमान, पाँच वर्षे तहसिल र दुई वर्षीया रविया । तिनीहरूको जन्मघर गोलबजार–गोविन्दपुर सम्झिएँ । मनमा नाना थरीमा कुराहरू खेल्दा भएँ । सारा कुरा मनमै मथेँ र बलियो मन बनाएँ । अबोध बच्चाहरूको मुहार हेरेँ । झसङ्ग भएँ ।

कन्डक्टर भन्दै गयो, “विराटनगर ! विराटनगर !! जल्दी चढु, जल्दी करु !!!”

टिकट काटेको थाहा पाएर खलासीले झोला लगेर बसमा राखिदियो । तन्जिल, अरमान र तहसिललाई चढाइदियो । म हेरेको हे¥यै भएँ । म अल्मलिएको देखेर उसले चढ्न सङ्केत ग¥यो । ड्राइभरले बस हाँकेर २÷४ पाइला अघि बढायो । अनायास म पनि ढोका नजिक पुगेँछु ।

दाहिने पाखुरीमा पक्रेर खलासीले चढायो र बस गुड्दागुड्दै गर्दा सिटमा लगेर बसायो । छोराहरू अघि नै बसिसकेका रहेछन् । म पनि बस्न आइपुगेपछि खुशी भए । उनीहरू केका लागि खुशी थिए, त्यो त परमात्मालाई मात्रै थाहा थियो । ती अबोध नाबालकलाई आफैँलाई जन्माउने आमा नसुध्रने भूल गर्दै छे भन्ने के ज्ञान ?

बस गुड्दै ढल्केबर आइपुग्यो । थैली छामेँ, मोबाइलसँगै रुपियाँको बिटो छामियो । थैली मोटो थियो । बसबाट उत्रेर पश्चिमतिर जाऊँ कि भन्ने लाग्यो । फेरि हाम्रो बदनाम हुने काम गर्लिस् नि भनेर अन्तिममा आमाले भनेको सम्झना आयो । छोरीको जात लास मात्र कर्मघरबाट निस्कनुपर्छ भन्ने बाबुजीको आवाज कानैमा ठोक्किन आइपुग्यो । जे गरे पनि एक दिन पति तैयबले थाहा पाइहाल्ला भन्ने लाग्यो ।

“रोशना दैया ! ई आठ हजार ढौवा जतनसँ खर्चा कर । बाबुबुच्चीके खाइला कमी नही कर ।” बस स्टेशनमा ल्याएर छुट्टिँदै गर्दा बाबुबाट लुकाएर ल्याएको आठ हजार रुपियाँको बिटो थम्याउँदै आमाले भनेकी थिइन्, “मेहमानके कुछो नही कही । जे करैछै, उपरवाला निकै करैछै । गलत कदम कदापि नही चाल आ हमरा सभक बदनाम नही करिह ।”

यी चार बच्चाको चिन्ता, ज्वाइँको फिक्री, छोरीले इज्जतमा दाग लगाइदेली भन्ने त्रास र उपरवालाको विश्वास सबै आमाकै मनका कुरा थिए । म कसरी बाँचेकी छु र मेरो निकट भविष्य केकस्तो हुँदै छ, त्यसको फिक्री उनलाई थिएन । म भने गोविन्दपुरबाट अघाएर जनकपुर जन्मघर शरण लिन पुगेकी थिएँ । त्यहाँ पनि दुई रातभन्दा बढता नबस्न बाबुआमाकै करचाप परेपछि … !

मनमा कुरा खेल्न नै बन्द भयो । बस हुइँकिँदै गोलबजारको गोलचक्करमा केही बेर रोकियो । त्यहाँ गोविन्दपुरकी फुल्कनदेवी आँप बेच्दै रहिछ । उसलाई हातले नै सङ्केत गरेँ । ऊ मकहाँ आई ।

र, हडबडाउँदै भनी, “रोशना खातुन ! तुँ कत जाइछी । सब बच्चा साथमे छौ । गोविन्दपुरवाला दारू पियैछै । जनकपुरवाली चलगेलिही  ।  बहुत  निक  करलिही, कहैछेलौ ।”

म बच्चाहरूसहित कता जाँदै छु र मेरो पति के भन्दै र गर्दै छ ? त्यो मैले सुन्न चाहेको वा उत्तर दिन खोजेको कुरो हुँदै होइन । म चुप लागेँ । उसले आफूलाई बोलाउनुको कारण सोधी ।

मैले भने, “छानामे एकटा मोटा राखल छै । ओहीमे दराजके चाबी आ एकटा खत छै । उ, खत पढैला कही आ जनकपुरवाली फेन घुरके कहियौ नही आयत । तोरा जे मोनमे छौ, से कर । ई बात कहिदेही ।”

छानामा चाबी र चिठी भएको पोको छ, चिठी पढ्नू र आफूलाई गर्न मन लागेको काम गर्नू, म रोक्न पुनः कहिल्यै फर्कन्न भनेर गोविन्दपुरवालालाई सन्देश पठाउन पाउँदा मन हलुको भयो । फुल्कनदेवी भने मन खुम्च्याउँदै फर्की । म ऊतिर हेरिरहेँ । बस गुड्न सुरु ग¥यो, फुल्कनदेवीसँगै गोलबजार पनि ओझेलमा प¥यो ।

कसाहामा पुगेपछि गोविन्दपुर नाता भएको एक जना मान्छे बसमा चढ्यो । त्यसले मलाई देख्यो । ऊसँग बोल्नुपर्ला भनेर मनमा बेचैनी छाउँदै थियो । धन्न ऊ पछाडिको सिटमा गएर बस्यो । म ढुक्क भएँ ।

बस लहान पुगेर निकैबेर रोकियो । नानीबाबुलाई ड्राइ फ्रुटहरू किनिदिएँ । आफूले एक घोगा पोलेको मकै किनेर टोक्न थालेँ । सोचेँ– सास छ त आश छ । जे गर्छु, गरी नै हाल्छु, गरेपछि सकिगयो । अहिलेसम्म त सबथोक साथमा छ । साथबाट छुटेपछि पो, के होला नहोला !

बस पूर्वतिर हानिएको हानियै छ । मेरो मन पनि यत्रतत्र हानिँदै छन् । बच्चाहरू बालसुलभ क्रीडा गर्न तल्लीन छन् । आखिरमा म पनि यिनै बच्चा भइदिएको भए, मैले पनि यिनीहरूको जस्तै फिक्री गर्ने आमा भेटेको भए कस्तो हुन्थ्यो ? यिनीहरूको भविष्यबाट चिन्तित भएर र यिनीहरूले भोग्ने सम्भावित पीडाबाट आकुल हुने मझैँ बाबु भेटिदिएको भए कत्ति रमाइलो हुन्थ्यो ।

पूर्वतिर गुड्ने क्रममा बसले धेरै ठाउँका धेरै मस्जिदहरू पार ग¥यो । शुक्रबारको दिन भएकाले पनि होला धेरै ठाउँमा आवाज सुनियो– अल्लाह !!! मेरो मनले पनि स्वरमा स्वर थप्यो । श्रद्धाले मुन्टो निहु¥यायो ।

र, जीवनकै सर्वाधिक भूल गर्न गइरहेकोमा माफी पनि माग्यो– अल्लाह ! म अज्ञानी, धेरै कुरा जान्दिनँ । यस नश्वर धर्तीमा धेरै पटक तिमीलाई पुकारेँ । यस पुरुष अहङ्कारयुक्त समाजमा मैले न्याय पाइनँ । पितृसतात्मक अहङ्कारी घनको ठक्करले मेरो मथिङ्गल हल्लाइदियो । जता भौतारिए पनि न्याय पाउने सम्भावना देखिनँ । राष्ट्रको कानुन राम्रो भएर के गर्नू, कार्यान्वययन फितलो भएपछि निर्धाको के लाग्दो रहेछ र ? समाज नारीमैत्री नभए पछि कसको के लाग्दो रहेछ र !

अल्लाह ! म समाज र राष्ट्रको कानुनको दायरा बाहिर आउने निर्णयमा पुगेँ । आफूले सारा पीडा र प्रलय सहेर जन्माएका र हुर्काएका सन्ततिलाई छाडेर एक्लै आऊँ भने स्वार्थी माता कहलिउँला भन्ने डर भयो । तसर्थ आफ्नो कोखबाट धर्ती टेकाएका सबैलाई साथै लिएर हजुरकहाँ आउँदै छु । मलाई विश्वास छ, हजुरको अदालतमा मलाई अवश्य न्याय मिल्ने छ ।

अल्लाह ! जे परोस्, परोस् । मेरा सन्तानको दुःख त त्यस तैयबले देख्तैन । मलाई जस्तै मेरा सन्तानलाई त पीडा दिन पाउँदैन । त्यो मेरो श्रीमान्को नाममा यौनपिपासु राक्षस हो । त्यसले मलाई सुख कहिल्यै दिन चाहेन । मात्र मलाई सन्तान उत्पादन गर्ने यन्त्र ठान्यो, मन बहलाउने मनोरञ्जनको साधन मान्यो । म तरुणी छउञ्जेल चुस्यो । बुढ्यौलीले छुँदै गएपछि रस आउन छाड्यो भनेर लत्याउँदै गयो ।

र, मेरै अगाडि अर्की तरुणीसँग उठबस गर्न थाल्यो । त्यत्ति मात्रै नभई मैले व्यापार गरेर दिनभर कमाएको पैसा साँझमा सुरासुन्दरीमा रित्याउन थाल्यो । मैले विरोध गर्दा नाना थरीका बात पाएँ । जुझारुपन देखाउँदा लात पाउन थालेँ । लातको पीडाले रन्थनिँदा मैले पनि थरीथरीका बात गरेँ हुँला । अझ पटकपटक लात पाएँ । मैले जन्माएका सन्तानसहित घरबाटै बेदखल गरिदिने धम्की भेट्टाएँ ।

अल्लाह ! सहनुको पनि हद हुन्छ । हद नाघेपछि रावण र कंश लीला समाप्त भएको कहानी सुनेकी थिएँ । त्यसले पनि हद नाध्यो । धेरै पटक जगल्ट्यायो । दिनहुँ मरणासन्न हुने गरी पिटाई खानुपथ्र्यो । पटकपटक घर निकाला गर्ने धम्की सुन्नुपथ्र्यो । त्यो सच्चाइमा परिणत नभईकन म स्वयम् जन्मघर पुगेर बह बिसाएँ । आमाको मन त कमलो थियो । उनको निरीह बोलीको मूल्य कत्ति नै छ र ! अरू आफन्तहरूको मतानुसार मैले बात र लात दुबैलाई खेपेर भए पनि जीवन सङ्घर्षमा घँुडा धसिरहनुपर्छ रे । पुर्पुरोमा लेखेको फल मैले भोग्नैपर्छ रे ।

तसर्थ अल्लाह ! मैले पुर्पुरोमा लेखेको भनिएको कुरो मेटिछाड्ने निर्णय गरेँ । तैयवको मनपरीतन्त्रलाई चुनौति दिन खोजेँ । समाजको पितृसत्ता मोह भङ्ग गर्न खोजेँ । समग्रमा म पछिका रोशनाहरूले रातोदिन मैले भोगेजस्तो प्रताडना भोग्नु नपरोस् भनी कठोर निर्णय लिन पुगेँ ।

अल्लाह ! म गल्ती गर्दै छु । म जानेर गल्ती गर्दै छु । म हात जोडेर, पाउ परेर गल्ती गर्ने छुट माग्दै छु । तन्जिल, अरमान, तहसिल र रवियाको संसार भोग्ने हक छिनेको जघन्य अपराधमा कठोरभन्दा कठोर सजाय भोग्न तयार छु । यद्यपि तैयब अलीहरूको अदालतबाट हैन, हजुरको अदालतबाट ! हजुर, हामी सबै चाँडै हजुरको अदालतमा हाजिर हुँदै छौँ ! मलाई यहाँको रातोदिनको यातनाभन्दा त्यहाँको सजाय मञ्जुर छ । बस् मेरो बिन्ती यत्ति नै !

+++

क्रोधले जगल्टा फिँजाएर सप्तकोशी आफ्नै गतिमा दगुर्दै थिइन् । जताततै धमिलो पानी मडारिँदै थियो । म मौकाको खोजीमा थिएँ । नदी किनारा चहारेँ । माछा मार्नेहरू, काठ–दाउरा बटुल्नेहरू, घुमफिर गर्नेहरू, गाईगोठाला र घाँसपात गर्नेहरू वरपर भेटिए । उत्तर गोलघरसम्म पुगेँ । कतै मौका भेटिनँ । सूर्य अस्ताचलतिर ढल्किसकेका थिए ।

छोराछोरी भोक र तिर्खाले रुँदै थिए । म भने ओठतालु सुकाएर यता र उता गर्दै थिएँ । रुवाइ सुनिरहन सकिनँ । त्यही देख्न र सुन्न नपरोस् भनेर त अल्लाहको अदालत धाउने निर्णय गरेकी मान्छे ! सम्झेर फनक्क फर्कें । नजिकको होटलमा बच्चाहरूलाई टन्न खुवाएँ । उनीहरू खुशी भए । मेरो मन पनि क्षणिक पुलकित भयो । तैयब अलीको सम्झना गर्नासाथ मन अँध्यारियो ।

सडकमा बसहरू ओहोरदोहोर गर्दा थिए । हामी अपरिचितहरूलाई सडकमा ओहोरदोहोर गरिरहेको देखेर मानिसहरू एक टकले हेरिरहेका थिए । सोध्न भने कसैले केही सोधेन । बरु तन्जिलले घर फर्कन जिद्दी गर्दै भन्यो, “चल न माँ ! घर चल न । सुरज डुबैला लागले । कखनी घर जेबै ?”

तन्जिलको प्रश्नको उत्तर दिन मनासिव ठानिनँ ।

साँझ प¥यो । सप्तकोशी किनारा शान्त हुँदै गयो । यद्यपि उत्तरतिर जान कठिन नै थियो । दक्षिणतिर हिन्दू समुदायहरूले मुर्दा जलाउँदा रहेछन् । साँझ पर्नासाथ सुनसान हुँदो रहेछ । म चार सन्तान लिएर त्यतै लागेँ । कसैले कुनै किसिमको शङ्का गरेन । बरु एकपछि अर्को गरेर छोराहरूले प्रश्नहरू तेर्साइरहे । म मुख बन्द गरेर उनीहरूलाई डोहो¥याउँदी भएँ ।

निकैबेर हैरान पारेपछि भने, “हम सभ तैयब अलीके बारेमे कम्प्लेन करैला अल्लाहके पास जा’रहल छी ।”

तैयबको कम्प्लेन अल्लाह नजिक गर्ने कुरा सुनेर उनीहरू छक्क परे । सायद मस्जिदमा जाँदै छौँ भन्ने लाग्यो क्यार । चुपचाप लागे । मेरै पिठ्युमा रविया निदाई । निकैबेर दक्षिणतिर जाँदाजाँदा गन्तव्यमा पुगेजस्तो लाग्यो । सप्तकोशीको सलल आवाज मात्र सुनिन्थ्यो । वरपर स्याल र न्याउरी मुसाहरूको मात्र एकछत्र साम्राज्य थियो । वाधक केवल हामी पाँच जना मनुष्य थियौँ । त्यो पनि छिट्टै ठाउँ खाली गर्नेवाला थियौँ ।

+++

नदी किनारामै पश्चिमतिर फर्किएँ । घुँडा धसेर आँखा चिम्लिएँ । केहीबेर अल्लाहलाई पुकारेँ । छोराहरूले पनि त्यसै गरेँ ।

शुक्रबारको त्यस रात करिब आठ बजेको हुँदो हो । सबै छोराहरूलाई नदी किनारामा आँखा चिम्म पारेर उभिन लगाएँ । अल्लाहको नाम स्मरण गरिरहन लगाएँ । तीनै जना छोराहरूले मेरो भनाइ अक्षरशः पालना गरे ।

मातृमन मारेँ । पत्थर मन बनाएँ । जेठो तन्जिललाई पछाडिबाट बेस्कन ठेलेँ । उर्लदो पानीमा ऊ हेलिँदै गयो । दुई पटक ‘माँ ! माँ’ भनेर चिच्यायो । र, पानीमै कतै हरायो । दुबै छोराहरूले रुँदै मेरा खुट्टा समाउन आइपुगे । रविया त मस्त निद्रामा भुइँमै निदाइरहेकी थिई ।

माहिलाको पाखुरा च्याप्प समाएँ । कान्छोलाई झट्कारेर पर पु¥याएँ । मजदुरले इँटा फालेझैँ उसलाई पानीमा फालिदिएँ । ‘माँ’ भन्दै ऊ पनि अलप भयो । कान्छोको पालोमा नौनाडी गले । उसलाई पनि फ्याकिदिएँ । तत्कालै रवियालाई हुत्याई दिएँ । अनि, अल्लाह स्मरण गर्दै आफू पनि हेलिएँ ।

+++

मेरो वर्णन सुनेर अनुसन्धानरत् इन्स्पेक्टर भलोदेवी यादवका आँखा रसाए । उनले दराजको चाबीका साथ पोकोमा राखिएको पत्र पनि हात पारेकी रहिछन् । उनले चिठी मैले लेखे नलेखेकोको यकिन गरिन् । र, चिठी पढेर सुनाउन प्रहरी हबल्दार सुलोचना सदालाई लगाइन् ।

म भने आफैँले बेपत्ता पारेका तीन सन्तानको मायाले बलिन्द्रधारा आँसु बगाउँदै गएँ । सुलोचना चिठी पढ्दै गइन्–

श्री तैयब अली महाशय !

मेरो जीवनकै अन्तिम शब्दहरू पढ र आशयबमोजिम ढुक्कले मनमौजी राज गर । मुखले त भन्न सक्तिनँ तर यहाँ लेख्तै छु– नौली जीवनसाथीसँग सुखद जीवन बितोस्, यो पापिनी रोशना खातुनको तिमीलाई शुभकामना छ !

मेरो सुखी जीवनलाई ध्वस्त पार्ने त्यस नारीको जीवन बारे मैले चासो लिनु र चिन्ता गर्नु त जरुरी थिएन । तर, तिमी जस्तो निर्दयी पुरुष हुन सकिनँ । किनभने म तन्जिल, अरमान, तहसिल र रवियाकी आमा हुँ । मातृप्रेमले पग्लेपछि मनले सबै नारीलाई आफूजस्तै ठान्दो रहेछ ।

गुलिया बचन बोलेर मेरा सोझा बाबाआमाको मन जित्यौ । म जनकपुरमा पढ्दै गरेकी नारीलाई ठूल्ठूला सपना देखाएर आफ्नो पञ्जामा पा¥यौ । जीवनभर रोशनालाई सुखी र खुशी पार्छु भनेर अल्लाहको नाममा कसम खायौ । अहिले चार सन्तानकी आमा बनाएर अलपत्र छाड्ने कुरा ग¥यौ ।

तिम्रो यातनाले म आजित भएँ । यहाँ मेरो कमाइ पनि तिमी नै लुट्छौ । चुप लागे नानाभाँती गर्छौ । बोले करङ सोझो हुने गरी भकुर्छाै । तिम्री प्यारीसँग मिलेर बस । तर, मेरो हालतजस्तो बिहे भएको १४ वर्षमै अघाएर अर्की खोज्नतिर नलाग । म पनि तीन छोराकी आमा हुँ, सके गरी खान्छु । नसके अल्लाहकी प्यारी हुन्छु ।

अहिले म आमाबाबुकहाँ जान्दै छु । सहरा पाए उत्तै गरी खान्छु, नपाएको खण्डमा पनि म तिम्रो धरोहरमा हस्तक्षेप गर्न कदापि आउँदिन । किनभने सम्भवतः तिमी आफ्नो जिद्दीमा अडिग छौ । र, म आफ्नो एकछत्र राजमा सौता प्रवेशको विरुद्धमा छु ।

मैले कुनै गल्ती गरेकी छैन । सन्तानको लालनपालन र श्रीमान्को सेवासुसारमा मात्रै नभई आफ्नो बन्दव्यापारमा समेत निष्ठापूर्वक खटेकी छु । र, पनि म नै रछ्यानको मुढो हुन्छु भने कसरी जीवन चल्छ ?

ठीकै छ, तैयब अली महोदय, एक समय पति परमेश्वर मानेकै हुँ । सर्वस्व सुम्पेकै हुँ । अहिले पो तिम्रा लागि झुम्रो भएँ । उत्तिखेर त हीरा नै थिएँ । तिमी आफ्नो बाटामा लाग्यौ । मलाई पनि आफ्नै बाटामा हिँड्ने अनुमति देऊ । कि गरेर बाँच्छु, कि मरेर जान्छु । म र मैले जन्माएका चारै जना सन्तानको फिक्री नगर । र, भविष्यमा यिनीहरूबाट केही पाउने आस पनि नराख । किनभने वीर्य दिएर कोही पिता हुँदैन, भूमिका निर्वाह गरेर मात्र पिता कहलिन सकिन्छ । यी बच्चाहरूको हकमा म नै माता हुँ, म नै पिता हुँ, केवल म नै सर्वस्व हुँ ।

अन्तमा, तैयब अली महोदय, यसै पत्रलाई म र मेरा चारै सन्तानसँगको सम्बन्धविच्छेदको प्रमाणपत्र सम्झ । र, ढुक्कले आफ्नो रंगिन दुनियालाई अझ रंगिन बनाऊ । म कदापि हस्तक्षेप गर्न आउने छैन । यद्यपि याद राख, छोराहरू ठूला भएछन् भने आफ्नो भाग तिमीबाट असुलउपर गर्न भने अवश्य आउने छन् ।

बस्, यत्ति नै

तिम्रै आँखाकी कसिङ्गर

रोशना खातुन

+++

मैले यत्ति भनी सक्ता नरमायाका गाला भिजिसकेका थिए । आँखा राताराता भएका थिए । उसले के प्रतिक्रिया दिन्छे भनेर ऊतिर एक टकले हेरिरहेँ ।

उसका हात मलाई अङ्कमाल गर्न आइपुगेका थिए । ‘तँ त ज्याद्री आमा रै’छेस् !’ उसको मुखको आवाज मेरा कानमा ठोक्किरह्यो ।

– कन्चनरूप नपा–१२, रूपनगर, सप्तरी ।

मो. ९८११७७७५४५

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments