सुरभि कथा प्रतियोगिता (२०७६) मा प्रथम पुरस्कार प्राप्त :-

‘मेरो बिहेका लागि केटा खोज्नुस्, रोज्नुस् तर कुरो छिन्नुअघि अन्तिममा केटासँग मेरो कुरा हुन दिनु्स् । किनभने जीवन मैले अरूसँग हैन उसैसँग बिताउनुपर्छ ।’ एकपटक बिहेबारीमा धोका खाएपछि मैले बाबामामूसँग पटकपटक यही कुरा भनेकी थिएँ ।

यस कुरामा मौन बसेर मामूले असन्तुष्टी पोख्नुभएको थियो । बाबाको मत थियो– जमान पारदर्शी आउँदै छ । हामीले सोचसमझमा परिवर्तन ल्याउँदै छौँ । तिमी पढेकी मान्छे, फराकिलो मन बनाउन सिकेकी छ्यौ । पहाडेहरूको सङ्गतले गर्दा उनीहरूको समझ र संस्कारलाई मन पराएकी हौ । के अहिले नै तराई मधेसको समाजले तिम्रो कुरा पचाउन सक्छ त ?

बाबाको प्रश्नले म नतमस्तक बनेकी थिएँ । मान्यवरसँग मुख लाग्नुहुन्न भन्ने सोचले जेलिएकी थिएँ । उहाँको घुमाउरो अस्वीकृति सुनेर र बुझेर म निरास भएकी थिएँ । केहीबेरपछि नै सायद मेरै मन पढेर होला, उहाँले उठ्दाउठ्दै हाकाहाकीका साथ ‘हुन्छ’ भन्नुभएको थियो ।

त्यसको केही दिनमै सिरहा गोलबजारको जमदह गाउँबाट सोध्दैखोज्दै मान्छेहरू आए । हामीले गच्छेअनुसार सम्मान गयौँ, चियानास्ता गरायौँ । कुरा चल्न थाल्यो । लामै गन्थनमन्थन भए । मैले पहिले बिहे गरिसकेको कुरो सबैको सामु भन्न उचित ठानिनँ । मलाई कन्याकेटी नै ठानेर बिहे हुने करिब करिब पक्का भयो । गरिब भएकाले छोरी मात्र दिने, त्यस्तो उल्लेखनीय दाइजो दिन नसक्ने कुरा मेरा बाबाले गर्नुभयो ।

मेरा बाबाको कुराले हुनेवाला ससुरा ढोलन सदा झस्किए । उनीहरूलाई खुशी पार्न बाबाले बरियातीलाई भोजनभातमा कमी नगर्ने कुरा गर्नुभयो । रकम सम्बन्धमा उनीहरूबाट कुनै खालको प्रस्ताव आएकै थिएन । मात्र हामीलाई हेर्ने उनीहरूको दृष्टिमा घृणाभाव लुकेको म महसुस गरिरहेकीे थिएँ ।

‘जकरा घरमे खान्दानी संस्कार नही छै, ओकरा परिवारमे कुटमैती नही करब ।’ जसको घरमाखान्दानी संस्कार छैन, त्यस परिवारसँग सम्बन्ध गाँस्नु छैन भनेर ढोलन सदाले छोरा कारिचन सदालाई उठ्न सङ्केत गर्दै बोलेको कथनले बेल्ही गाउँलेको जमघट नै स्तब्ध भयो ।

म र आमा छाप्रोको भित्री कुनामा गुडुल्किएर कुरा सुनिरहेका थियौँ । पटेरको टाटीको चेपबाट चियाएर हेरिरहेका पनि थियौँ । हेर्दाहेर्दै रिसाएर ढोलन बूढा उठेर हिँडिहाले । कारिचन आफ्ना बाबुतिर हेरिरहे तर उठेनन् । मेरा बाबाचाहिँ के भनूँ र कसो गरूँ भनेर नतमस्तक भावभङ्गीमा अल्मिलिई रहनुभयो । अरू गाउँलेहरू किंकर्तव्यविमूढ भई खुट्टाले भुइँ कोर्न थाले ।

‘कथी करेवै ? अखनियो तोरा विआ नही होइला छाँट छौ ।’ मामूअमलीले खानेखुशी गर्दै मेरो विवाह नहुने अडकलबाजी मसँग मात्रै सार्वजनिक गर्नुभयो ।

मलाई मामूको चिन्ता स्वाभाविक लाग्यो । आमा हुनुको जिम्मेवारी बोधले छोरीको भविष्यप्रति संवेदनशील हुनु उहाँको कर्तव्य र दायित्व दुबै हो भन्ने लाग्यो । सोच्ने र सम्झने उहाँको पुरानो शैलीमा फेरबदल नभएकोमा भने बिरक्त लागिरह्यो ।

मामूको उमेर ढल्कँदै गएको थियो । शरीर कमजोर हुँदै गएपछि मन पनि कमजोर हुन्छ भन्थे, हो रहेछ भन्ने लाग्यो । प्रतिकारको भाषामा मैले केही बोलेँ भने उहाँलाई पर्नु पीर पर्नेवाला थियो । केही नबोले म आफूलाई समाल्न सकिरहेकी थिइनँ । यद्यपि म चुप थिएँ । गाउँले भद्रभलाद्मीहरू ढोलन सदालाई सम्झाउन व्यस्त भए । कारिचन भने बसेको ठाउँबाट घरीघरी ओल्टेकोल्टे फर्के तर यथास्थानमै जमेर बसिरहे ।

‘नही हेतै । पाँच लाखस कम्ता दहेज लेबै नै करेबै ।’ पाँच लाखभन्दा कम दाइजो दिँदै नलिने अडानमा ढोलन सदा देखिए ।

‘सम्धीजी, पचास हजार टका लेबै आ हमरा कल्याण करबै । हम जिनगीभर अहाँको गुनगान नही बिर्सब ।’ पचास हजार मात्र लिएर गुण लगाउन विन्ती बिसाइरहनुको थियो मेरो बाबा ।

मागेअनुसारको  दाइजो  दिन नसकेकोमा मामूलाई पनि पछुतो थियो । गरिबको कोखमा जन्मेर मैले जीवन बर्बाद गरेको कुरा गरिरहनुभएको थियो मामू चाहिँ । म भने सबैलाई सुखको अनुभूति दिलाएर रहन्छु भनिरहेकीे थिएँ ।

कसिकसाउ गर्दा गर्दै दुई लाख दाइजो तिर्ने सर्तमा ढोलन सदासँग कुरा मिल्ने देखियो । मेरो विवाह कारिचनसँग हुने करिब पक्का भयो । बसेको झुपडी र सानो बारी अढाई लाखमा किन्ने साहू पनि तुरुन्तै निस्कियो । मेरो जेठो दाजु चौबिस घण्टे नोकर बस्ने भए अपुग डेढ, दुई लाख ऋण दिन तयार भयो रामदेव मडर । कान्छो दाजु नोकरी बसे चार, पाँच लाख नै ऋण दिने पनि निस्किए ।

गाउँले पञ्च भलादमीहरूले करिब करिब कुरा छिनोफानो गर्न लागेका थिए । आमा अति नै खुशी हुनुभएको थियो । म रूपनीदेखि फर्केदेखि उहाँ एकदमै बेखुशी हुनुहुन्थ्यो । आज उहाँको मुहारमा एक्कासी खुशी छचल्कँदै थियो ।

म भने अन्यौलता र असमञ्जस्यताको पोखरीमा डुबुल्की मार्दै थिएँ । मेरै कारण आमाबाबु मात्रै नभई दाजुभाइ समेत जोगी बन्न गइरहेकामा पछुतोमा परेकी थिएँ । बाहिर निस्केर केही बोले समाज रिसाउने, छुद्री भनेर उपमा भिराउने । आमासँग मनको पीर व्यक्त गरूँ भने मिलिसकेको कुरो बिथोलेर बाबुआमालाई तनाव थप्ने छोरी भनेर कहलिने । म द्विविधामा अड्किरहेकी थिएँ ।

मानिसहरू खानपिनमा व्यस्त भए । बाबाले मलाई दिएको बचन बिर्सनुभएको रहेछ । अझ मेराबारेमा पूर्व घटना सार्वजनिक नगरेर उहाँ भूल गर्दै हुनुहुन्थ्यो । पुत्रीमोहमा फँसेर परिवारका बाँकी सम्पूर्ण सदस्यलाई भिखारी बनाइरहनुभएको थियो ।

मौका हेरेर मैले बाबालाई सारा कुरा सम्झाएँ । उहाँ मदेखि नै डराउन थाल्नुभयो ।

‘अघि त मसँग हिम्मतिला कुरा गर्नुहुन्थ्यो त ! अहिले किन मन कमजोर बनाउनुभएको ?’ मेरो प्रश्नले बाबा झन् आपतमा फँस्नुभयो । केही बोल्न सक्नुभएन ।

‘हजुर, चुप रहनुस्, बाबा ! म हजुरहरूलाई जोगी बन्न दिन्न ।’ मैले खुलस्त बताएँ ।

‘तिमी हाम्रो कमजोरी हौ । तिम्रो खुशी हराउँदा हामी बेहोसी भएका छौँ । तिम्रो खुसी फर्कियो भने खोलाकै बगरमा रात गुजारौँला । पाखुरी चलाएरै बाँचौँला ।’ बाबाका आँखा रसाएको देखेँ ।

‘तसर्थ छोरी नाइँ नभन । हाम्रा ओठमा मुस्कान नाच्न देऊ ।’ उहाँले थप्नुभयो ।

‘म आफ्नो खुसीका लागि जन्मदाताको गाँसबास छिन्न चाहन्न । परिवारजनलाई नै घरको न घाटको बनाएर रमाउने मन मसँग छैन, बाबा !’ मैले पनि आँसु पुच्दै भनेँ ।

बाबा फेरि चुप रहनुभयो । उहाँले कुनै प्रतिक्रिया देखाउनुभएन । रिसाउनुभयो कि भन्ने मनको भय मेट्न खोजेँ । उहाँ मदेखि रिसाउनुभएको थिएन । किन्तु उहाँ स्वयम् द्विविधामा फँस्नुभएको थियो ।

‘कुनै पीर मान्नुपर्दैन, बाबा ! छानो अड्याउने स्थान छउँञ्जेल पाखुरी चलाएर पनि बाँच्न सकिन्छ । मुन्टो लुकाउने ठाउँ र आफ्ना पाखुरी सदाका लागि साहूलाई बेचेपछि नर्कको जीवन जिउनुपर्छ । बाबा ! हजुरलेमलाई १२ कक्षासम्म पढाउनुभएको छ । म त्यही ज्ञानको उपयोगले बाँच्न सक्छु । मैले जीवनलाई नजिकैबाट चिनेकी छु । अब मलाई मेरो जीवनको फैसला गर्ने सौभाग्य दिनुस् ।’ मेरा कुराले शुरुमा बाबा तर्सनुभयो ।

‘यत्तिकी सुझबुझ भएकी हजुरकी छोरीले दुःखलाई पिउन सिकेकी छे । सुखलाई समाल्न जानेकी छे । धन्दा नमान्नुहोला । मलाई बोल्न दिनुहोला । कुरा मिले ठीकै छ । नमिले पनि बेसै छ । तर गाँस, बास साहूलाई बुझाउन बिल्कुलै मञ्जुर छैन ।’ मैले यसो भनिरहँदा बाबा मुस्कुराउनुभयो तर मुखबाट एक शब्द चुहाउन चाहनुभएन ।

खाना खाने काम सिद्धिएपछि फेरि सभा बस्यो । कारिचनले समेत मसँग एक झमट कुरा गर्ने इच्छा राखे । ढोलन सदा भने कुरोकानी छिनेर हिँड्ने मनस्थितिमा थिए ।

त्यसैबेला म देखा परेँ । सबैलाई नमस्कार गरेँ । एक कुनामा खडा भइरहेँ । केहीबेर पछि मलाई बोल्ने समय दिए ।

‘माफ गर्नुहोला । बाबाले दुईटा कुरा भन्न भुल्नुभयो । पहिलो कुरा उहाँ खर्च गर्न असमर्थ हुनुहुन्छ । दोश्रो कुरा म विवाहित महिला हुँ । दाइजो कम भएको बहानामा सासू, ससुरा र पतिबाट यातना भोगेर आजित भएकी नारी हुँ । यी दुबै कुरा पचाउने व्यक्तिसँग मात्रै म विवाह गर्न राजी छु ।’ मैले हात जोड्दै भनेँ । सबै जना चकित भए । बाबाले मुन्टो निहु¥याउनुभयो । अनुहार कालोनीलो देखियो ।

मेरा कुरा सुनेर ढोलन सदाले बुरुक्क उफ्रँदै भने, ‘यो सरासर हामीलाई घाटामा पार्ने दाउ हो । अब त सात लाखबिना र सात भरी सोनाबिना विवाह हुनै सक्तैन ।’

‘मैले पढ्नका लागि बाबामामूलाई त्योभन्दा बढता खच्र्याएकी छु । अब उहाँहरूलाई अझ नङ्ग्याउन चाहन्न । बरु म बचन दिन्छु, जागिर खाएर त्यत्ति पैसो कमाउँला । बिन्ती छ, दाइजो नमाग्नुस् ।’ मैले विनम्रता जाहेर गरेँ ।

मेरा कुरा सुनेर झन झस्किएका ढोलन सदा यसपटक उठेर हिँडेका मान्छे, फर्कंदै फर्केनन् । उनी सोझै महुली पुगेछन् । उनका पछिपछि अरू पनि गए तर कारिचन भने जाँदै गएनन् । उनलाई मेरो वास्तविकता जान्ने मन रहेछ ।

त्यसबेला मैले कारिचनलाई सुनाएकी थिएँँ– म भर्खर १३ वर्षको उमेरमा दगुर्दै थिएँ । रुपनीको डुमिया सदासँग बिहे भयो । कमै दाइजो ल्याएको भनेर सासू झुमनी सदा र ससुरा दुलिचन सदाको रातोदिनको टोकसोले असह््य बनायो । हरपल गहभरि आँसु बनाएर रहनुपथ्र्यो ।

‘पडोसीके घरमे एकटा मोटरगाडी एलै । छ लाख ढौवा आ पाँच भरी सोना एलै । हमर घरमे बजरखसवी मौगीएटा एलै ।’ बिहेमा छिमेकीकहाँ एउटा मोटरसाइकल, छ लाख रुपियाँ र पाँच तोला सुन आयो तर आफ्नो घरमा भने अभागी आइमाई मात्रै भित्रिन आई भनेर सासू मतिर हेर्दै दाह्रा किट्थिन् ।

‘मुहसे कुछो नही कही । कामसे शारीरिक यातना देही । तब सुकदेव ढौवा ल्याके एतै ।’ मुखले गाली गर्नुभन्दा शारीरिक यातना दिए सुकदेव पैसा लिएर आउँछ भन्ने अभिमत ससुराको हुन्थ्यो ।

पति डुमिया चुपचाप सुनिरहन्थे । बरु थपथाप पार्थे तर त्यस्तो नसोचौँ र नगरौँ कहिल्यै भन्दैनथे । सुत्ने बेला मात्र गुलिया र नरमकरम कुरा गर्थे । उनको दुई जिब्रे मनस्थितिको रहस्य मैले कहिल्यै थाहा पाइनँ ।

बिहान सखारै उठ्नुपथ्र्यो । घर दलान सफा गर्नुपथ्र्यो । करेसाबारी गोडमेल गर्नुपथ्र्यो । घरमा बँचेको भए खाजाको नाममा आधा माना भुजा र नुन–खुर्सानी खानपाइन्थ्यो । नभए भोकै पेट श्रीराम गोसाईं साहूको खेतमा काम गर्न दौडनुपथ्र्यो ।

दिउँसो बाह्र बजे मात्र गोडा चारेक गहुँका सुकेका रोटी, थोरै आलु–प्याज–नुन–खोर्सानीको चटनी पाइन्थ्यो । भोकले सातो उडेका बेला त्यही पनि अमृत हुन्थ्यो । र, मीठो मानेर खाइन्थ्यो ।

घर पुग्दा साँझ गहिरिइसकेको हुन्थ्यो । हातखुट्टा धुन नपाईकन सासूको गनगन सुरु हुन्थ्यो । म जवाफविहीन भएर काममा लागेकी हुन्थेँ । उनी हद नाघ्दै अघि बढ्दथिन् ।

‘बेल्हावाली कोनो कामकाजके नही छै । भरदिन गोसाईं साहूके खेतमे गफ करके दिन विताबैछे । अखन घरमे खाना बनाबैला कहैला परैछै ।’ बेल्हाबाली साहूको खेतमा गफ चुटेर आउँछे, घरमा खाना पकाउन पनि आफैँले भन्नुपर्छ भनेर सासू मलाई नै कराउन थाल्थिन् ।

मेरो माइती बेल्हा भएकाले घरपट्टीका रूपनीबासीले मलाई ‘बेल्हाबाली’ भन्थे । मेरो पति डुमियालाई मेरा माइती पक्षले ‘रुपनीबाला’ भन्थे । यसखाले चलन पुरानो हो । अझै गाउँघरतिर यसो भन्ने रीतिरिवाज यथावत कायम छ ।

दिनभर साहूको काममा जोतिनु, साँझमा विहानका जुठाभाँडा माझ्न नजिकैको पोखरीमा पुग्नु, फर्केर खाना पकाई परिवारजनलाई खुवाउनु र बचे आफू पनि खानु नबचे पानी पिएर भोकै सुत्नु मेरो दैनन्दिन हुन्थ्यो ।

हरेक दिन खाना खुवाएर रातको १० बजेतिर जुठाभाँडा मस्काउन पोखरी पुग्नुपथ्र्याे । सासू, ससुरा र पतिका लगाउने कपडाहरू सफा गर्ने समय पनि रात नै हुन्थ्यो । ओड्ने ओछ्याउने कपडा सफा गर्नुपरेको दिन चाहिँ काममा जानु पर्दैनथ्यो ।

मेलापातमा नगएको दिनमा पनि गाउँकै तालतलैया, पोखरी र खाल्टाखुल्टीमा घुँगी खोज्न, गँगटा समाउन र माछा पक्रन जानुपथ्र्यो । भने जति घुँगी, गँगटा र माछा ल्याउन नसके सासूको हात मेरो कपाल जगट्याउन आइपुग्थ्यो । त्यसैले जसरी भए पनि धेरैभन्दा धेरै भेला पार्न दौडधुप गर्नैपथ्र्यो ।

घाँटीघाँटीसम्म पानीमा डुबेर घँुगी खोज्दा माघे ठण्डीमा ज्यान नै कक्रेर फतक्क खस्लाजस्तो हुन्थ्यो । तैपनि निर्दयी सासू, ससुराको मुखबाट कहिल्यै मीठो बचनसम्म सुन्न पाइन्नथ्यो ।

पति डुमिया रमिते थिए । एकान्तमा गुनासो पोख्दा उनीहरूकै पक्ष लिन्थे । म नतमस्तक भएर झोक्रिरहन्थेँ । जीवन कसरी चल्छ, भविष्य कसरी बन्छ भनेर चिन्तामा रहन्थेँ ।

साहूकहाँ दिनभर काम गर्दा कत्ति पारिश्रमिक पाउँथेँ कुन्नि ! मैले कहिल्यै छुन र हेर्न त पाउँदै पाइनँ, सुन्न समेत भेटिनँ । म काम मात्रै गर्थें । दाम समाउने हात उनीहरूकै हुन्थे ।

डुमियाको घरको यातना सम्झेर पनि औडाहा हुन्छ । नसम्झँदा पनि नहुने र मात्र । नत्र डुमिया, झुमनी र दुलिचन तीनै जनाको नाम जीवनभर लिने थिइनँ ।

रातको त्यही दश नाघेकोे हुँदो हो । छरछिमेकीहरू सुस्ताउन र झकाउन लागेका हुँदाहुन् । म पनि घरको कामकाज सिद्धयाएर विश्राम कोठामा छिरेँ । डुमियालाई कोठामा देखिनँ । पल्लो घरमा रहेका सासू ससुरा गनगन गरिरहेका थिए ।

सत्तरी हजार र डेढ तोला सुन मात्रै दाइजो ल्याएको भनेर सराप्तै थिए । मेरा बाबा र मामूलाई नानाभाँतीका उपमा भिराएर होच्याउँदै थिए । उहाँहरूलाई होच्याएको मैले पटक्कै सहन सकिनँ ।

‘मलाई जे भन्नुस्, जे गर्नुस् र जे ठान्नुस् तर मेरा देवतुल्य बाबामामूलाई केही नभन्नुस् । सारा कमजोरी मेरो हो । म नै दोषी हुँ । मेरा बाबामामूको केही दोष छैन । उहाँहरूलाई भनेको म सहन सक्तिनँ ।’ पिलपिल आँसु झार्दै सबैका सामु मैले मनको ऊहापोह व्यक्त गरिदिएँ ।

‘तैँले खान पाकै छेस् । लाउन भेटेकै छेस् । आनन्दले रहन कसैले रोकटोक गरेकै छैन । अब अरू के चाहियो तँलाई ?’ ससुराले नेपाली भाषामै असन्तोष पोखे ।

‘अहाँ कथिला पहडिया भाषा आ भाखामे बातचित करैछी ?’ ससुराले नेपाली भाषामा बोलेकोमा सासूले असन्तोष पोखिन् ।

‘जीवनको अन्तिम घडीमा मनका कुरा पोखोस् न त यसले पनि ! महुली नजिकै हुर्केकी हुनाले पहाडेहरूको संगत गरेकी छे । बाह्र कक्षासम्म नेपाली विषय लिएर पढेकी छे । मैथिलीमा गम्भीर कुरा गर्न सक्तिनँ । मन खोलेर नेपालीमै गरोस् न त । म पनि राजविराजका पहाडेहरूको संगत गरेर कुरो राम्ररी बुझ्छु र गर्न पनि सक्छु ।’ ससुराले लामो कुरा गरे । सासू अवाक् रहिन् । म भने शुरुको वाक्यको भेउ नपाएर बिलखबन्दमा परेँ ।

‘एकरा हटबैला परतै । ई कोनो काजके मौगी नही छै ।’ म नालायककी भएकीले चाँडो पन्साउन जरुरी रहेको कथन सासूको थियो ।

डुमिया घर भित्रिए । पहिले बाबुआमासँग कानेखुसी गरे । म नजिक आए । लोकल ठर्रा ह्वास्सै गन्हायो । उनका खुट्टा लरबराएका थिए । खाना खान खोजे । मैले पहिले नै खाना खानुभएको हैन भनेर उल्टै प्रश्न तेर्साएँ ।

‘उल्टै प्रश्न गर्छेस्, लु खा ! तैँ खा’ भन्दै जगल्टामा समाएर फनफनी घुमाए । म कोलाहल शब्द गर्दै पर्तिर गएर पछारिएँ । बाँसको खम्बामा ठोक्किएर दाहिने हात नै मर्कियो । म ऐया र आत्था गर्न थालेँ ।

ससुराको सङ्केतले मेरो मुख थुन्दै उनले भने, ‘अरू कराउने भए करा । नाकमुख दुबै समाएर क्षणभरमै तँलाई निष्प्राण बनाएर छाड्छु । अनि धेरै दहेज पाउने अर्की केटी खोजेर बिहे गर्छु । यस धर्तीमा मुसहरका छोरीहरूको के कमी छ र !’

‘खुट्टा भए जुत्ताको के कमी !’ ससुराले समेत थपथाप पारे ।

म छाँगाबाट खसेजस्ती भएँ । जसको आस थियो त्यही पराइ भएपछि मैले चिच्याउनु र पुकारा गर्नुको कुनै तुक देखिनँ । चुपचाप एक कुनामा थच्चिरहेँ ।

सासू मनजिक आइन् । जगल्ट्याउने परिन् भनेर म आफैँ आफ्नो कपाल अठ्याउन पुगेँ । उल्टै उनले हँसिलो मुहार बनाइन् । म छक्क परेर उनीतिर हेरिरहेँ ।

‘प्यारी कन्या, तूँ बढ काज करैछी । ई दुई गिलास पिई आ आराम कर ।’ एउटा हातमा रक्सी भरिएको गिलास र अर्कोमा रक्सीको बोतल अठ्याएर मसँग लेप्पासिएर बसिन् ।

मलाई ‘प्यारी बुहारी’ भनेर सम्बोधन गरेको सुन्दा मुटु नै हल्लन पुग्यो । मैले धेरै काम गरेको उनले ठम्याएको देख्दा र आफ्नै हातले रक्सी पियाउन खोजेको पाउँदा म उल्टै रुँन पो थालेँछु । उनले मेरो आँसु पुछिदिइन् । मलाई मामूलेझैँ मायाले म्वाई पनि खाइन् । सपना पो हो कि भनेर आफैँले आफूलाई चिमोट्न पुगेँ । दुख्यो, विपना नै रहेछ भनेर ढुक्क भएँ ।

कहिलेकाहीँ चाडबाडमा १÷२ गिलास पिइन्थ्यो । पिउने बानी परेको भने होइन । पिउँदै नपिउने र देख्तै घिनाउने बाहुनी बन्न पनि मन थिएन । किनभने जति गरे पनि म मुसहरकै छोरी थिएँ, जे भने पनि कालान्तरमा मुसहर्नी नै कहलाउँथेँ ।

त्यत्ति प्रेमले दिएको वस्तु नपिउने कुरै थिएन । सासूले अझ गुलिया कुरा निकालिन् । म निसङ्ंकोच मनले उनले दिएको गिलास रित्याउन थालें । कति गिलास दिइन्, मैले कति पिएँ र केके भने मलाई केही थाहा भएन ।

म बिउँझिँदा गाई गोठको थोत्रे भकारीमा रहेँछु । चारैतिरबाट तातो बाफ आइरहेको थियो । आँखा खोल्दा चारैतिर उज्यालो देखेँ । मान्छेहरूले सहयोगको याचना गरेजस्तो बोली सुनेँ । तातोपनले असह्य भयो । टाउका माथि माटाले भरिएको धोक्रो झुन्ड्याएको रहेछ । उठ्न खोज्दा खसेर झन् थिच्यो ।

डरले आवाज निकाल्न समेत सकिनँ । मेरै नजिक आगोको लप्का आइरहेथ्यो । सासूको बदलिएको बोलीको रहस्य त्यसबेला मात्र अनुभूत भयो । भित्री मनदेखि नै प्रतिकारको भावना उम्लिएर आयो ।

‘गुहार ! गुहार !! गुहार !!! मलाई सासू भनाउँदी झुमनी सदाले डढाएर मार्न लागिन् । गुहार ! मलाई बचाउनुस् !!!’ मैले जति पुकारा गरे पनि सुन्नेवाला कोही थिएन । सहयोग गर्न कोही आएन ।

बलिरहेको छानो खस्न खस्न लागेको थियो । छाना मेरै टाउकोमाथि खस्नेवाला थियो । मैले न्वारानदेखिको बल झिकेर धोक्रो पन्साएँ । बल्लतल्ल आगो नपुगेको पाखाको कुनातिर टुक्रुक्क बसँे । लुते कुकुर पनि त्यही रहेछ । जुरुक्क उठेर ‘कुइँकुइँ’ गर्दै टाटी च्यातेर भाग्यो । म पनि त्यही ठाउँलाई अलिक फराकिलो पारेर पाखा निस्किएँ ।

त्यतातिर रहरी बारी थियो । गोठको अघिल्लो भागमा दुई, तीन जना मान्छे पानी छ्याप्तै थिए ।अलिक पर्तिर उभिएर झुमनी सदा चारैतिर हेर्दै थिइन् । उनको अनुहार पढेँ । उनी प्रफुल्ल मुद्रामा थिइन् । पश्चिमतिरको छानामाथि दुलिचन चढेका थिए । डुमिया भने दक्षिणतिरको घरको छानामा चढेर सुरक्षा गरिरहेका थिए । उनीहरूको अनुहारमा समेत विषादका रेखा दगुरिरहेका थिएनन् । शरीरमा बेग्लै उमङ्ग छाएको थियो । त्यस मध्यरातमा समेत काम गर्ने भन्दा रमिता हेर्ने मानिस थपिँदा थिए ।

त्यसबेला मेरा आँखा आँसुले पुरिएका थिए । म कसैसँग बोल्ने सोचमा थिइनँ । समाजलाई साक्षी राखेर घरपरिवारले सुम्पेका परिवारले आपसमा मिलेर नै विश्वासघात गर्छन् भने अरूसँग के पीडा व्यक्त गर्नु भन्ने मन भयो । फलतः खेतैखेत वीरेन्द्र बजार चौक आएँ । त्यहाँ पराल लादेको ट्याक्टर खडा रहेछ । त्यसैमा घुस्रिएँ ।

निकैबेर निदाइनँ । कतिखेर आँखा लागे पत्तो भएन । बिउँझिँदा त घाम लागिसकेका रहेछन् । ट्याक्टर पूर्वतिर गुड्न थालेछ । म चुपचाप परालकै बिटाहरूलाई पक्रेर यात्रा गर्दी भएँ । जन्डौल आयो । ड्राइभर र कामदारहरूले चिया पिए । महुलीमा नास्ता खाने भन्दै पुनः ट्याक्टर हाँक्न थाले ।

एकै क्षणमा महुली आयो । एक साइड लगाएर ट्याक्टर रोकियो । म पनि कसैले थाहा नपाउने गरी ट्याक्टरबाट ओर्लिएँ र खोलातिर लागेँ ।

शरीर कक्रेको थियो । शरीरभरि रक्सी र मट्टितेल गन्हाइरहेको थियो । नियालेर हेरेँ– शिरदेखि पाउसम्मका सारा कपडा मट्टितेलले भिजेका रहेछन् । आगोबाट आफू बाँच्न पाएकोमा परमात्मालाई कोटीकोटी प्रणाम गरेँ । शौचकर्म सिद्धयाएँ । र, सरासर बेल्हातिर हानिएँ ।

एकाविहानै कालीनीली भएर म घर पुग्दा बाबाले आत्तिएर सोध्नुभएथ्यो, ‘हँ, तिमीलाई कसले यस्तो बनायो छोरी ?’

मेरो निर्दोष कहिरन सुनेर कारिचनले लामो श्वास तानेँ । उनी उठेर जालान् भनेको त अझ पलेँटी कसेर पो बसे ।

‘म पनि स्नातक पढ्ने सुरसार गर्दै छु । आजसम्म मैले दुःखलाई चिनेकै रहेनछु । लामो कहानी सुनेपछि मलाई विरक्तिले हैन, आशक्तिले गाँजेको छ । विनादहेज विवाह गर्न म राजी छु । म यस्तै जुझारु जीवनसाथी मन पराउँछु ।’ कारिचनले भनेको सुन्दा म उल्टै आश्चर्यचकित भएकी थिएँ ।

‘अरूले वचन वाण प्रहार गरिरहँदा के गर्ने नि !’ मैले मनमा उब्जेको जिज्ञासा राखेकी थिएँ ।

‘हामी दुबै २२÷२३ वर्षका रहेछौँ । कानुनी भाषामा पनि वयस्क कहलिँदा रहेछौँ । तिमी एउटा घर गरेर अनुभवले पाकी मान्छे, सङ्घर्ष गर्न किन पछि हट्छ्यौ ? साथ दिने म हुँदाहुँदै पिरलो मान्नु पर्दैन । मलाई अनावश्यक तवरले कसैले झुकाउन र गलाउन सक्दैन ।’ उनले आफ्नो भनाइ राखेर सके । मेरो बोल्ने पालो आएको थियो तर म चुप रहेकी थिएँ ।

‘अगाडि जस्तोसुकै कराल पहाड तेर्सिए पनि दुबै मिली तोडौँला, फोडौँला र नव इतिहास रचौँला, हुन्न ?’ यस पटक भने उनले मेरो मनको बोली बोलेका थिए । म पनि मुस्कुराएकी थिएँ । बाबा समेत उज्यालो मुहार बनाएर आउनुभयो । मामूको अनुहारमा पनि खुशी छचल्किरहेको थियो ।

‘नाम  सुनेर  गम्दा  तिमी सहनशीलताकी प्रतीक हौ भन्ने झलक मिल्छ । बिचार त पुराना घैलामैलालाई सिनित्तै बढार्ने रहेछ । गाउँले वातावरण र गरिबीमा हुर्केर पनि यस्तो स्वभाव कसरी विकसित ग¥यौ त ?’ कुरैकुरामा सबैका अगाडि कारिचनले मलाई सोधी हाले ।

‘पिताजीले नमान्दा नमान्दै तपाईंले चाहिँ मसँग बिहे गर्ने हिम्मत कसरी गर्नुभयो ? के सोचेर जोखिम मोल्न तत्पर हुनुभयो ?’ जवाफ फर्काउनुको साटो मैले प्रतिप्रश्न गरेकी थिएँ ।

एकछिन उनी अलमलिएका थिए । बाबामामू  मलाई  नबोल्न  सङ्केत गरिरहनुभएको थियो । म साङ्केतिकरूपले नै थोरै मात्र बोल्ने जनाउ दिइरहेकी थिएँ । हाम्रो साङ्केतिक संवाद बारे कारिजन बेखबर थिए ।

आङ मर्काउँदै भनेका थिए, ‘हेर, हामी गाउँघरका मुसहर हौँ । हामी सबै गरिब छौँ । सोच नबदले हामी गरिब नै रहन्छौँ । दुई÷चार अक्षर पढियो । धेरै जनासँग संगत गरियो । अब त केही गर्नुपर्छ भन्ने लाग्यो ।’

म बोलिनँ । बाबामामू पनि मूकदर्शक भइरहनुभयो ।

‘आज कमायो । त्यो नसिद्धिकन काममा जाँदै नगयो । बचाउने नामै नलियो अनि हाम्रो आर्थिक स्तर कसरी उक्सन्छ त !’ उनले नै एकोहोरो भट्याएका थिए । उनका सबै कुरा ठीक लागेका थिए तर मैले निश्चिन्त हुन चाहेको जवाफ त्यो थिएन ।

मेरो मनको कुरालाई सम्बोधन गर्न भने उनलाई सकस परेको रहेछ ।

‘धनको नाममा अर्काको जमिनमा उभिएको बाँसका स–साना तीनओटा कटेरा छन् । दुईटा फरुवा र चारटा हँसिया छन् । रातो दिन अर्काको काम नगरे पेटमा चारो पर्दैन । मैले गोलबजारकै सिर्जना बोर्डिङ स्कूल पक्रेको छु । मासिक बाह्र हजार पाउँछु । परिवार बढे तलब पनि बढाइदिन्छु भनेका छन् । धन्न बेलैमा बाह्र पास गरिएछ र अहिले बोर्डिङको भए पनि ‘सर’ बन्न पाइएको छ । कोसिस गर्दै गए सरकारीको पनि अवश्य बनिएला । आफूमा क्षमता र चाहना भए अरूको आश गर्नुपर्दैन भन्ने लागेको छ ।’ यस पटक भने कारिचनले मलाई प्रश्नविहीन बनाएका थिए ।

अब जवाफ दिने पालो मेरो थियो । कारिचनका  जिज्ञासु  आँखा  मतिर एकोहोरिएका थिए ।

मैले पनि सहजै भनिदिएकी थिएँ, ‘उसबेला रामायणकी सीताजस्तै सहनशील थिएँ । बेहोस पारेर आगोमा डढाएर मार्न लाग्दा सौभाग्यले उम्किएँ । गाँस, बास र कपासको लडाइँमा जुध्नुपर्दा जताततै चोट भेट्टाएँ । त्यसले मलाई विद्रोही बनायो । म ग्रन्थकी हैन, वर्तमानकी सीता हँु, जसले शीत पनि सहन सक्छे, चोट पनि खप्न सक्छे । आफ्ना लागि आफैँ बाँच्न सक्छे ।’

मो. ९८१७७२९५६६

गल्फडिया, उदयपुर

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments