देश विकासका विविध प्रवाहमा भाषा साहित्य र कलाको महŒवपूर्ण भूमिका रहन्छ भन्ने सर्वसाधारण समेतमा जानकारी भइसकेको एउटा प्रमाणका रूपमा तारेभिर महोत्सवले आयोजना गरेको कविसम्मेलन रहन आएको छ । गत वर्ष पनि यसैगरी महोत्सव गरिएको सन्दर्भले थपेको आकषर्णसँगैै यही २०७६ साल पौष २९ गते यस उत्सवको दोस्रो कविसम्मेलन सम्पन्न भयो । गत वर्षको भन्दा यस वर्षको कविसम्मेलनले यस क्षेत्रको विकास कार्यमा नवीनतम सूत्र तयार गर्नुपर्ने आवश्यकता महसुस गरायो ।
सो सम्मेलनले भूगोल र त्यसको प्रकृतिमा जीवन फुल्ने निश्चिततासँग गाँसिँदै सकारात्मक सोच प्रस्फुटन गराएको छ । कुन ठाउँको कति दूरी र कति सामीप्य खोज्ने मानव चाहनाले विकटलाई सुगम बनाउने चेतनाका भुल्का यहाँ पनि प्रस्टिन लागेका छन् । काठमाडौँ उपत्यकाको एउटा सुन्दर मनमोहक प्राचीन संस्कृति र सभ्यताको उद्गम वागमती र विष्णुमतीका दुई प्रवाहका प्रारम्भिक विन्दु यही विशाल पहाडसँग सम्बन्धित छ– तारेभिर । राजधानी काठमाडौँ केन्द्रको १५–२० किलोमिटर उत्तर पश्चिम– पूर्व फैलिएको पहाड विष्णुमती मुहान विष्णुपादुका शिवपुरी वागद्वार (वागमती मुहान) हुँदै चिनिएको तारेभिर पश्चिमपट्टि बुद्धगुम्बा, बूढानीलकण्ठ, रुद्रेश्वर महादेव र नौलिनदेवी (भद्रकाली) तथा पूर्वपट्टि सुन्दरीजल साँखु, मणिच्यूत, नगरकोट र क्रमशः दक्षिण चाँगुनारायण र गोकर्णेश्वर महादेव आदि प्रख्यात स्थलहरूको निकटतम सम्बन्ध राख्दछ । यति मात्र होइन– उपत्यकाको ९५ प्रतिशत भूभाग यस स्थानबाट देख्न सकिन्छ । यस स्थानबाट देखिने नगरकोटदेखि क्रमशः दक्षिणतिरका साँगा भन्ज्याङ, पूmलचोकी, मञ्जुश्रीको खड्गले काटिएको चोभार छेडो, चन्द्रागिरि, नागार्जुनसम्म र तिनका फेदफेदीका सम्पूर्ण भागको अवलोकनका लागि यो ठाउँ अत्यन्त उपभोगी छ । स्वच्छ र शीतल हावा पानी भएको सुन्दर ठाउँ तारेभिर उपत्यकाको असल पहरेदार हो र इन्द्रको अर्कौ स्वर्गका रूपमा वर्णित (भ्रमण) पर्यटन वर्ष २०२० को महŒवपूर्ण गन्तव्य पनि हो । उक्त कविसम्मेलनमा वाचित कविताहरूको मूल मर्म र अभिव्यन्जना यस्तै थियो । यही सम्प्रेषणको नालीवेली नेपाल अधिराज्यभर फैलिऊन् भन्ने धारणा पनि त्यस कार्यक्रमको उद्देश्य थियो । तामाङ जातिको बाहुल्य भएको यस ठाउँमा उक्त जातिको संस्कृति तिनले प्राप्त गरेका सीप र तिनमा आएका चेतना र जागरणका सन्दर्भ र पेसा व्यवसायका खोजी पनि त्यस कवि सम्मेलनमा भए ।
मानव मन आकर्षित गर्ने शक्ति हो सौन्दर्य । यही सौन्दर्यको अभिव्यक्तिसँग गाँसिएका कविहरूका भावना प्रस्फुटनको एउटा उल्लेखनीय कार्यक्रम थियो तारेभिर कवि सम्मेलन । यस कार्यक्रममा सहभागी ३९ जना कविहरूको आआफ्ना अभिव्यक्तिले समग्रदेशमा विकासको आवश्यकता र पिछडिएका स्थानहरूको प्रचारप्रसार गर्ने विविध संयन्त्रको आशा पनि राखियो । त्योभन्दा बढी यस कार्यक्रमले विकासका लागि जनचेतनाका लहर उठाउने प्रयत्न गरेको कुरा उक्त कार्यक्रममा व्यक्त विचारबाट प्रस्ट हुन गएको छ । छायामा परेका यस्ता रमणीय स्थलहरूलाई साहित्य कलाका माध्यमबाट प्रचार प्रसार र तिनको सादृश वर्णनमा अध्याय थप्ने यो अभियान अत्यन्त सान्दर्भिक र उपयोगी मानिएको छ ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments