नारी साहित्यकार इन्दिरा प्रसाईको ‘मेरो कथा नलेखिदिनू’ नामक कथा सङ्ग्रह २०७४ सालमा प्रकाशित भएको हो । यस कृतिभित्र कथाकार इन्दिराद्वारा लेखिएका प्रेमदूत, नौ नम्बरकी, बिहे अघिको रात, श्री लगायत विभिन्न शीर्षकका सातवटा कथाहरू समावेश छन् । कथाकार इन्दिरा प्रसाईको मेरो कथा नलेखिदिनू विज्ञान विषयक यौन कथासङ्ग्रह हो । यस सङ्ग्र्रहमा रहेका कथाहरूले नेपाली आख्यान परम्परामा एउटा नवीन द्वारको उद्घाटन गरेका छन् । मानवीय रोमाञ्च र पीडाबोध यस सङ्ग्रहका कथाको आत्मा हो । यस सङ्ग्रहका कथाहरूमा मानवीय यौन र प्रेमका भावना तथा प्रकृति र जीवनको बारेमा मनोविश्लेषणात्मक किसिमले व्याख्या गरिएको छ । यो कथासङ्ग्रह आधुनिक नेपाली कथा साहित्यको भण्डारमा थपिएको एउटा गहना हो भन्ने मेरो ठहर छ । आत्मसंस्मरणात्मक शैलीमा मानव मनको विश्लेषण गरिएको यस कथामा नारी पात्रको यौन विश्लेषणका साथै सामाजिक, सांस्कृतिक यथार्थलाई पनि उद्घाटन गरिएको छ । मानिसको प्रथम सम्बन्ध कथासँग हो वा विज्ञानसँग ? कथाकार इन्दिराको मनमा वेलाबखत यो प्रश्न आउँदो रहेछ । कथाकार फगत कल्पनामा रमाउने गर्छिन् । उनको कल्पना साकार होेला अथवा नहोला उनलाई खासै सरोकार पनि हुँदैन । बरु कथाकार आफ्ना कथामा आफूले देखेको सपना वा कल्पनालाई लिपिबद्ध गर्दाको प्रसवानन्दमा बाँच्छिन् । एउटा वैज्ञानिकले देखेको सपना वा कल्पनाका तुलनामा कथाकारको सपना र कल्पनाले यथार्थको जमिन टेक्न हम्मेसी पाउँदैन । मेरो कथा नलेखिदिनू मनोविश्लेषणात्मक कथा भएकोले यसको कथानक सूक्ष्म रहेको छ । नव यौवना फगुनी उत्पन्न भएका यौनका ज्वारभाटालाई प्र्रकट गर्दै मानव जीवनमा यौनको अपरिहार्यतालाई सशक्त रूपमा चित्रण गरिएको मेरो कथा नलेखिदिनू कथासङ्ग्रह यौन मनोविश्लेषणात्मक भएकाले यसको कथावस्तु सूक्ष्म रहेको छ ।

यस कथासङ्ग्रहभित्रको प्रेमदूत शीर्षकको पहिलो कथामा तिम्रो प्रेममा बाँधिन पाए मैले पनि जिउँदो मुर्दाको जीवन बाँच्नबाट मुक्ति पाउने थिएँ अविरलले लेखेको थियो । त्यसो नभन न तिम्रो पीडा म महसुस गर्न सक्छु । तिमीलाई मैले सम्पूर्ण रूपबाट अर्पण गरेकी छैन र ? उताबाट युवतीले लेखेकी थिई । धेरै युवतीसँग अविरलको कुराकानी हुने गरेको भए पनि अविधासँग उसको निकै घनिष्ट सम्बन्ध भइसकेको कुरा पनि उनीहरूद्वारा एकअर्कालाई लेखिएको बेहोराले बोलिरहेको धीराले बुझेकी थिइन् भनिएको छ । नौ नम्बरकी शीर्षकको कथामा रामबहादुरलाई घरै जाने पनि अब के नै आकर्षण रह्यो र आफूले मन पराएर बिहे गरेर घरमा छोडेर आएकी स्वास्नीले पनि पर्खिन सकिन । पाँच वर्षपछि घर जाँदा ऊ अर्कैकी भइसकेकी रहिछे । आमाले माया गर्थिन् उनी पनि स्वर्गे भइसकिछन् भनिएको छ । बिहेअघिको रात शीर्षकको कथामा कामदेव गएपछि रतिले आफूलाई ऐनाको अगाडि निकैबेर कोणप्रतिकोणबाट नियालेकी थिइन् । ऐनामा देखिएको आफ्नो अङ्गअङ्गको सुन्दरताले उनी आफै मोहित भएकी थिइन् । कामदेवको सामान्य शारीरिक बनोटका सामु आफ्नो सुन्दरताको तुलना गर्दा आफैँलाई कताकता अपराधबोध पनि हुन खोज्यो उनलाई भनिएको छ ।

इन्दिराद्वारा लेखिएका कथाहरूमा मूलतः नारी चेतना र संवेग अनि परिवर्तनका आकाङ्क्षाहरू प्रकट भएको पाइन्छ । यसमा नारी नियति छ, सङ्घर्ष र मनोविज्ञान पनि छ । जीवनमा खुसी खोज्ने क्रममा कतिपय मानिसहरूका अगाडि ऊ पटक–पटक टुक्रिएकी छे, आफूलाई दुखाएकी छे । आफ्नो बाल्यपन, किशोर अवस्था र यौवनका क्षणहरूको सम्झना र विश्लेषण गर्ने क्रममा अहिले त्यस नारीलाई लागेको छ मानिसहरू कति स–साना कुराहरूमा अल्झिएर अमूल्य समय केवल गुजार्ने काम गरिरहेका छन् र यो संसारमा आफ्नो स्वार्थबाट मात्रै निर्देशित कुनै प्राणी छ भने त्यो पनि मानिस नै हो यस कथाले भनेको छ । वर्तमान समयमा कथा लेखनमा अत्याधुनिक सोच र नवीनशैली प्रस्तुत हुने गरेका छन् । यस दृष्टिले हेर्दा इन्दिराद्वारा लेखिएका कथाहरू अध्ययन गर्दा शीर्षक, संरचना, विषयवस्तु र प्रस्तुतिमा पनि त्यसको आभाससम्म पाइँदैन । कुनै कथाको खाका बनाइसकेपछि शब्दमा नउतारुञ्जेलसम्म कथाकार इन्दिरालाई एकप्रकारको छटपटी भइरहन्छ । विशेष गरी तिनका पात्रहरूले उनका आँखावरिपरि ओहोर–दोहोर गरेर र अनेक उतार–चढावबाट परिस्थितिहरू गुज्रिएर मनलाई पीडादायी बनाइदिन्छन् । उनले उनका कथाका पात्रहरूसँग धेरैपटक खुसी साटेकी छिन् । उनलाई लाग्दो रहेछ कथा लेख्नु एउटा पीडादायी अनुभूति पनि हो ।कथाकार इन्दिराका कथाहरूले पाठकको संवेदनालाई जुरमुराइदिएको पाइन्छ । कथाले पाठकको सोचाइमा श्रीपेच लगाएर स्पन्दनमा राज गर्न सकेको देखिन्छ । जीवनका प्रत्येक पल कथावस्तु हुन् भने समाजका प्रत्येक घटना कथा हुन् । कथाकार इन्दिराद्वारा लेखिएका कथाहरूमा आफ्नै विशेषताहरू छन् । इन्दिराको सम्पूर्ण कथाकारितालाई अध्ययन गर्दा उनी प्रखर सामाजिक र समकालीन चेतना भएकी अनि विविधतापूर्ण विषयहरूमा कलम चलाउन सक्ने एक नारी कथाकार हुन् । त्यो रात शीर्षकको कथाभित्र उत्तरा बिछ्यौनामा पुगेको केहीबेरमै कम्प्युटरमा स्वाँ… गरेर आवाज आएको थियो र कम्प्युटरबाट इन्द्रधनुष सरहको किरण बाहिर निस्केको थियो । उक्त इन्द्रधनुष हेर्दाहेर्दै मानव आकृतिमा परिणत भयो भनिएको छ । कथासङ््ग्रहको नामसँग जुधेको मेरो कथा नलेखिदिनू शीर्षकको अन्तिम कथामा वस्तुवादी अर्थशास्त्रको प्रभाव अथवा भौतिकताका नशामा परेका विकासोन्मुख मुलुकका अहिलेका अधिकांश हामी प्रौढहरू सन्तानको ऊर्जावान समय विदेशीलाई बेचिरहेका छौँ । मेरा पति र म पनि तिनै प्रौढकै समूहमा छौँ कथाकारले भनेकी छिन् ।

इन्दिरालाई लाग्छ मानिस स्वयम् विज्ञान सम्बद्ध भएका कारण विज्ञानलाई मानिससँग छुट्याएर परिभाषित गर्न सकिँदैन । अनि कथाले खनेको बाटो विज्ञानले पहिल्याउने हुँदा मानिसका लागि दुवै अन्योनयाश्रित छन् भन्ने पनि कथाकारलाई लाग्छ । आख्यान रचना गर्नु सर्वप्रथम उनको रहर थियो । विस्तारै विस्तारै लेखनक्षेत्र उनको आवश्यकता बन्यो र क्रमशः आख्यान रचना उनका लागि धर्म बन्यो । यसै धर्म पालनका क्रममा झन्डै तीस वर्षअघि लेखिएको मास्कमा विज्ञानको प्रवेश गराउने प्रयत्न समेत जोडेर उनीबाट विविध कालखण्डमा सिर्जना भएका कथाहरू सँगालेर मेरो कथा नलेखिदिनू नामक कथासङ्ग्रह निस्कन सक्यो । यस सङ्ग्रहका कथामा प्रेमील जीवनका नारी र पुरुष विभिन्न रङमा आ–आफ्नै संसारमा फुलेका देख्न पाइन्छन् ।

उनका कथाहरू लामा र अभिरुचिपूर्ण छन् । इन्दिरा साहित्य सिर्जनामा हरहमेसा खट्ने ऊर्जा भएकी नारी हस्ताक्षर हुन् । साहित्य लेखनमा डुब्ने लेखकहरू खाली बस्न सक्दैनन् । केही न केही लेखिरहेका हुन्छन् । उनको कथालेखन अगाडि बढ्दै जाओस् । आउँदा दिनमा अरू कथाहरू जन्मन सकोस् भन्ने चाहन्छु । मेरो हार्दिक शुभेच्छा ।

प्रकाशक ः नइ प्रकाशन

संस्करण ः पहिलो २०७४

मूल्य ः रु.२००।–

पृष्ठ ः १३२ á

सामाखुसी, काठमाडौँ

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments