राणा शासनका संस्थापक जङ्गबहादुर राणाका कान्छा भाइ धीरशमशेरका चौधौँ पुत्र शेरशमशेर पाल्पाका बडा हाकिम थिए । शेरशमशेरका छोरा बुधशमशेरकी साहिँली पत्नी मोहनकुमारीका गर्भबाट कान्छा पुत्ररत्नका रूपमा वि.स. १९७५ साल असार २१ गते पाल्पा जिल्लाको तानसेन बजारमा डायमन शमशेर राणाको जन्म भएको हो ।

उनको पुख्र्यौली घर थापाथलीमा थियो । हजुरबुबा शेरशमशेरले त्यो घर चन्द्रशमशेरलाई बेचेकाले सपरिवार उनीहरूले कुपोण्डोलमा सर्नु परेका थियो । प्रारम्मिक शिक्षा घरैबाट सुरु भयो । बाबु बुधशमशेर कहिले काठमाडौँ कहिले वीरगन्ज कहिले हनुमान नगर सरुवा भई आउने जाने क्रममा उनको पढाइमा एकरूपता कायम हुन सकेन । तैपनि उनलाई घरैमा पढ्ने वातावरणको सिर्जना गरियो । त्यतिखेर चन्द्रशमशेरले आफ्नो छोराछोरी पढाउन भारतबाट एउटा योग्य शिक्षक झिकाएका थिए । जसको नाम थियो अनिमेषनारायण चौधरी । डायमनशमशेर राणाले तिनै अनि मेषनारयण चौधरीसँग अन्तरात्मादेखि जागेको शिक्षारूपी क्षुधा शान्त पारे ।

आफ्नो लगनशीलता, इच्छा एवं तत्परताले प्रवेशिका तयारी गरेकै बेलामा भारतमा स्वतन्त्रताको आन्दोलन भएको थियो । यसले गर्दा त्यहाँको उक्त परीक्षा स्थगित भयो । त्यतिखेर नेपालमा यस.यल.सी. परीक्षा दिने व्यवस्था थिएन । यही कारण राणाको औपचारिक शिक्षामा तगारो नै लाग्यो । अनौपचारिक पढाइ र स्वाध्यायनले गर्दा साहित्यमा पनि चाख लिन थाले । फलतः उनले साहित्यको रसपान गर्दै नेपाली साहित्यलाई गोडमेल गर्न सुरु गरे ।

उपन्यासकार डायमनशमशेर राणाका व्यक्तित्वको चर्चा गर्दा सामान्यतया दुई प्रकारका व्यक्तित्व देखिन्छ– साहित्यिक र राजनीतिक ।

 

१) साहित्यिक व्यक्तित्व ः

डायमन शमशेर राणाको व्यक्तित्वको एउटा पाटो साहित्य हो भने अर्को पाटो राजनीति हो । साहित्य र राजनीति दुई विपरित धु्रवजस्ता देखिन्छन् । उपन्यासकार राणाले साहित्यिक क्षेत्रमा महŒवपूर्ण भूमिका खेलेका छन् । उनले ऐतिहासिक उपन्यास लेखनमा आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । उनको औपचारिक शिक्षा सन्तोषजनक नभए पनि लेखनकलामा भने उनी निपूण देखिन्छन् । स्वाध्यायन नै उनको शिक्षाको प्रमुख आधार थियो । आन्तरिक प्रस्फुटनले उनमा साहित्यिक रचना गर्ने क्षमताको विकास भयो ।

जीवनयात्राको बिहानीमा शिक्षाका क्रममा अनिमेषनारायण चौधरीसँगका सम्पर्कले गर्दा राणाले साहित्य सिर्जना गर्ने प्रेरणा पाएका हुन् । उनै गुरु चौधरीसँगको निकटस्थताले गर्दा उनले शेक्सपियर, बनार्ड सा, बाल्टर स्कट, वाइरन आदिका साथै प्रेमचन्द्र, टाइगोर जस्ता साहित्यकारका कृतिहरू अध्ययन गर्ने मौका पाएका हुनाले उनमा साहित्य सिर्जना गर्ने अभिरुचि बढ्दै गएको देखिन्छ । त्यसैले डायमनशमशेर राणाको साहित्य सिर्जनामा अभिरुचि बढ्नुको प्रथम श्रेय अनिमेषनारायण चौधरीलाई दिन सकिन्छ ।

त्यस्तै राणाको साहित्य सिर्जना गर्ने उत्प्रेरक तŒवका रूपमा तत्कालीन परिवेशलाई पनि प्रमुख मान्न सकिन्छ । उपन्यासकार राणा स्वयम् राणापरिवारका भए पनि राणाहरूको शासन व्यवस्थाप्रति उनी असन्तुष्ट थिए र खुल्लारूपमा विरोध पनि गर्दथे । त्यतिखेर राणा शासनकै जल्दो बल्दो समय थियो । प्रतिकूल समयले गर्दा उनीमा भित्रभित्रै विद्रोहको स्वर गञ्जियो । त्यही आन्तरिक विद्रोहको र असन्तुष्टिको प्रतिबिम्ब नै राणाको ‘वसन्ती’ (२००६) उपन्यास हो ।

पञ्चायतकालमा नख्खु जेलमा बस्दा तारिणीप्रसाद कोइराला, मदनमणि दीक्षित जस्ता विशिष्ट व्यक्तिहरूसँगको सामीप्यले गर्दा साहित्य सिर्जना गर्न विशेष प्रेरणा मिलेको देखिन्छ ।

उपन्यासकार राणाको ‘वसन्ती’ प्रथम उपन्यास हो । अनि नेपाली आधुनिक उपन्यास जगत्मा प्रथम ऐतिहासिक उपन्यास पनि ‘वसन्ती’ नै हो । विशेष गरी ऐतिहासिक विषयवस्तु चयन गर्नुमा टुकराज–पद्मराज मिश्रद्वारा लिखित ‘रजबन्धकी’

(१९९६) र रामकृष्ण कुँवर राणा (१९९९) उपन्यासको प्रभाव परेको देखिन्छ । यिनैबाट ऐतिहासिक उपन्यास लेख्ने प्रेरणा पनि प्राप्त गरेको देखिन्छ ।

उपन्यासकार राणाको प्रथम कृति ‘वसन्ती’ लेखिएको धेरै समयपछि मात्र प्रकाशित भएको हो । ‘वसन्ती’ उपन्यासका बारेमा उपन्यासकार स्वयम् आफ्नो अभिमत प्रकट गरेका छन् भनी प्रा.डा. दीनानाथ शरणले वसन्ती उपन्यासको भूमिका खण्डमा बताएका छन् – “वि.सं. १९९६–९७ तिर नै वसन्ती तयार भइसकेको थियो ।” त्यतिबेला आपूmखुसी केही प्रकाशन गर्न पाइँदैनथ्यो ।” त्यसैले १९९६÷९७ तिर लेखिएको प्रस्तुत उपन्यासलाई २००५ सालमा लेखकले हिम्मत जुटाएर बनारसबाट २ सयप्रति छापेर ल्याए । त्यस कृतिलाई त्यसबेलाका पाठकहरूले किनेर पढ्ने हिम्मत गर्न सकेनन् । यसबाट उपन्यासकार राणामा नैराश्य उत्पन्न भयो । यस उपन्यासको प्रकाशनबाट आर्थिक लाभ त शून्य नै भयो । पछि पन्नालाल श्रेष्ठको सम्पर्कमा उनको उपन्यास दार्जलिङको बजारमा बिक्री भयो । यसबाट लेखकलाई आर्थिक लाभ र सन्तोष पनि प्राप्त भयो । त्यसपछि वि.स. २००६ सालमा दोस्रो संस्करण छापियो । त्यसपछि भने उपन्यासकारमा हौसला, जाँगर र उत्साह बढ्दै गयो । उनको ‘वसन्ती’ उपन्यास हिन्दी भाषामा पनि रूपान्तर भएको छ ।

नेपालीमा ‘वसन्ती’ र ‘भृकुटी’ ऐतिहासिक उपन्यास हुन् । दीनानाथ शरणले वसन्ती उपन्यासलाई ‘दुखान्तको’ संज्ञा दिँदै जीवन र इतिहासलाई एकसाथ मार्मिक अभिव्यञ्जन दिने कृति हो भनेका छन् । उपन्यासकार राणाले ‘वसन्ती’ उपन्यासको प्रकाशनपछि तुरुन्तै अर्को उपन्यास लेख्ने आँट गर्न सकेनन् ।

समयको लामै अन्तरालपछि राणाले अर्को उपन्यास लेखे । वि.सं. २०३० सालमा सेतोबाघ प्रकाशित भयो । यस उपन्यासको विषयवस्तु ऐतिहासिक थियो । राणापरिवारको आपसी कलह, सत्ताप्राप्तिको सङ्घर्ष, खिचातानी हत्या षड्यन्त्र आदिको भण्डाफोरको प्रतिबिम्ब नै सेतोबाघ उपन्यास हो । यसै उपन्यासले लेखकलाई चरमचुलीमा उभ्याएको पाइन्छ ।

सेतो बाघ राणाको सर्वोकृष्ट कृति हो । यसै कृतिबाट उनी चर्चित बन्न पुगे । यस उपन्यासलाई श्रीमती ग्रेटा राणाले दि वेक अफ दि ह्वाइट टाइगर ९त्जभ धबपभ या तजभ धजष्तभ तष्नभच० शीर्षक दिई, अङ्ग्रेजीमा काजी हिरो साइकीले जापानी भाषामा अनुवाद गरेका छन् । फलतः सेतो बाघ उपन्यासको प्रकाशन अनुवादबाट लेखेकलाई धेरै नै आर्थिक लाभ भयो । जसले गर्दा उपन्यासकारलाई नयाँ नयाँ विषय र शैलीका उपन्यासहरू सिर्जना गर्ने हौसला मिल्न पुग्यो ।

सेतो बाघ उपन्यासको प्रकाशनपछि वि.सं. २०३४ सालमा ‘प्रतिबद्ध’ उपन्यास प्रकाशित भयो । यस उपन्यासका कथावस्तु ऐतिहासिक भए तापनि खासै कथानकको निर्वहनमा त्यति ऐतिहासिकता देखिएन । यस उपन्यासबाट उनी त्यति सन्तुष्टि भएनन् ।

यसरी ‘वसन्ती’, ‘सेतोबाघ’ र प्रतिबद्ध आदि औपन्यासिक कृतिहरूबाट राणा सन्तुष्ट हुन सकेनन् । सेतोबाघकै परिपूरकको रूपमा अर्को महŒवपूर्ण उपन्यास ‘सत्प्रयास’ लिएर वि.सं. २०३८ सालमा उनी फेरि नेपाली औपन्यासिक धरातलमा देखापरे । सत्प्रयास उपन्यासमा चाहिँ राजनीतिको छनक देखिन्छ । तर यो उपन्यास पनि त्यति चर्चित हुन सकेन । भाइ–भाइबीचको सत्ताप्राप्तिका निम्ति आएको खिचातानी सङ्घर्ष हानथाप र हत्या हिँसाको प्रतिरूप नै सत्प्रयास हो ।

त्यस्तै वि.संं. २०४३ सालमा डायमनशमशेरको अर्को उपन्यास अनीता प्रकाशित भयो । यस उपन्यासमा इतिहासभन्दा काल्पनिकताको आधिक्य देखिन्छ । यस उपन्यासमा पञ्चायत व्यवस्थाको भण्डाफोर तथा संसदीय व्यवस्थाको वकालत गरिएको छ । अरू उपन्यासको दाँजोमा ‘अनीता’ उपन्यास पनि त्यति चर्चित बन्न सकेन ।

वि.सं. २०५१ सालमा पञ्चायती व्यवस्था र पञ्चायतकालीन परिवेशलाई पुन ः आत्मसात गर्दै ‘धनको धब्बा’ उपन्यास देखाप¥यो । खुल्ला प्रजातान्त्रिक वातावरण, वर्गीय विभेदको कारण असमानता शोषित र शोषक एवम् शोषण आदिको प्रतिच्छाया नै ‘धनको धब्बा’ हो । यस कृतिले पनि त्यति खासै चर्चा पाउन सकेन ।

त्यस्तै वि.सं. २०५९ सालमा आएर ‘गृहप्रवेश’ उपन्यासले स्थान लिन सफल भयो । अन्य उपन्यासमा जस्तै यस उपन्यासमा पनि राजनीतिक, आर्थिक एवम सामाजिक पृष्ठभूमिलाई आत्मसात् गरिएको छ । गृहप्रवेश उपन्यासमा ऐतिहासिक पक्षका साथै काल्पनिक पक्षका पनि सन्निवेश भएको देखिन्छ ।

यसप्रकार समग्र साहित्य लेखनलाई दृष्टिगत गर्दा उपन्यासकार डायमनशमशेर राणाका साहित्य सिर्जनालाई दुई चरणमा विभाजित गर्न सकिन्छ ः

१. प्रथम चरण

२. द्वितीय चरण

प्रथम चरण अन्र्तगत ‘वसन्ती’ र सेतोबाघ उपन्यासलाई लिन सकिन्छ । द्वितीय चरणमा –‘प्रतिबद्ध’, ‘सत्प्रयास’, ‘धनको धब्बा’, ‘अनीता’ र ‘गृहप्रवेश’ आदि उपन्यासलाई लिन सकिन्छ ।

डायमनशमशेर राणा नेपाली साहित्यका विशेष गरी ऐतिहासिक उपन्यासकारको रूपमा चर्चित छन् । उनी साहित्यलाई देश विकासको कारक तत्व ठान्दछन् र साहित्यको विकास हुनु नै देशविकास हुनु हो भन्दै नेपाली टी.भी. च्यानलमा राणासँगको लिएको अन्र्तवातामा उनले भनेका थिए –“साहित्य भनेको देशको ब्याक वोन ९द्यबअप द्ययलभ० हो । साहित्य नभई कुनै पनि देश अगाडि बढ्न सक्तैन । पाश्चात्य देशहरूमा सबै मानिसहरू किताब पढिरहन्छन्, निष्कृय भएर कोही बस्दैनन् तर हामी नेपालीहरू भने त्यसै घाम तापेर बस्छौ । देश बनाउन साहित्य सिर्जना गर्नु पर्छ ।”

 

२. राजनीतिक व्यक्तित्व

साहित्यमा सानैदेखि लागेका डायमनशमशेर राणा राजनीतिक क्षेत्रतर्फ पनि आकर्षित भएको देखिन्छ । राणा परिवारमा जन्मेर राणाकालीन परिवेशमै हुर्केर पनि देश र जनताप्रति झुकाव हुनु भनेको चानचुने कुरा होइन । राणा विरुद्ध कदम चालेर प्रजातन्त्र प्राप्तिका लागि समर्पित राणाको योगदान राजनीतक क्षेत्रमा पनि अतुलनीय देखिन्छ ।

राणाहरूको निरङ्कुश शासन प्रणालीबाट बिचलित भएका डायमनशमशेर आफ्नै राणा वंशकंो पतन भएको हेर्न चाहन्थे । युवावस्थामा पुगेपछि उनले वास्तविकता बुझ्न थाले ।

देश जनताप्रतिको सद्भावनाले राणाशासनप्रतिको आक्रोश दिनप्रतिदिन बढ्दै गयो जसले गर्दा उनीमा राणाहरूप्रति वितृष्णा पैदा भयो । एकतन्त्री जहानियाँ शासन एक विकृतिपूर्ण शासन प्रणाली थियो । यो कुरा जनताप्रेमी डायमनशमशेर राणालाई सुपाच्य भएन । फलत ः उनी राणाशासन समाप्ति अभियानमा सक्रिय राजनीतिक कार्यकर्ता भएर अगाडि सरे । राणाशासन प्रणाली र राणादेखि उनी असन्तुष्टि भएको देखिन्छ । सत्ताधारी व्यक्तिसँग एक्लै जोरी खोज्नु भनेको सिंहको अगाडि खरायो उफ्रनु जत्तिकै थियो । एक्लै केही गर्न असम्भव हुनाले उनी अनुकूल परिस्थितिको पर्खाइमा लागिरहेको थिए ।

मान्छेमा जब आन्तरिक उथलपुथल पीडा, डाह, छटपटी आदि कुनै पनि असन्तुष्ट हुन्छ, तब भित्रको उकुसमुकुस बाहिर निस्कन कुनै निकास वा माध्यम खोज्न थाल्दछ । त्यही मनभित्रका आवेग संवेगहरू स्रष्टा व्यक्तिका लागि साहित्य सिर्जनाको स्रोत भएर छताछल्ल पोखिए । फलत ः ‘वसन्ती’ ‘सेतोबाघ’, ‘सत्प्रयास’ आदि महŒवपूर्ण औपन्यासिक कृतिहरू नेपाली साहित्यले प्राप्त गर्न सकेको हो ।

‘वसन्ती’ उपन्यासमा राणाखलकको भण्डाफोर गरिएको छ । आफ्नै वंशका लागि विद्रोहात्मक स्वर गुन्जिँदा राणापरिवार रिसले मुरमुरियो । त्यस बेलाको राणा सरकारमा रहेका व्यक्तिहरूलाई ठूलो तोड प¥यो । डायमनशमशेर उनीहरूको आँखाको कसिङ्गर बन्न पुगे । उनलाई कालो सूचीमा राखियो ।

तत्कालीन राणा सरकार विरुद्ध वि.स. २००६ सालमा नेपाली काँग्रेसले सशस्त्र क्रान्तिको आह्वान गरेपछि राणा विरोधी अभियानमा उनी पनि सामेल भए । वि.स. २००७ सालमा नेपाली काँग्रेसका क्रियाशील सदस्य पनि बने । उपन्यासकार राणा स्वयम् राणा परिवारको भए पनि राणा विरोधी थिए । भित्रभित्रै श्री ५ त्रिभुवनसँग साँठगाँठ मिलाउन थाले । राणा विरोधी गतिविधिलाई अघि बढाउने र श्री ५ त्रिभुवनको भारतबाट फिर्ता सवारीका लागि इटुमबहालको एउटा घरमा बसेको बैठकमा डायमनशमशेर पनि सहभागी भई राणाविरुद्धको जुलुसमा सामेल भए ।

‘राणाशाही मुर्दावाद’, भन्नुपर्नेमा उनी ‘राणाशाही’ ‘होसियार’ भन्ने नारा लगाउदै हिँडे । राणाहरूले सोचेका थिए, डायमनशमशेर राणाले राणाहरूकै विरुद्ध अवश्यै नारा लगाउदैनन् भनेर । तर उनी नारा लगाएर खुला मैदानमा अगाडि बढे । फलतः उनी पक्राउ परे । जुन थालमा खानु त्यही थालमा चुठ्नु भनेझै “सरकारकै सेनाको जागिरमा रहेर सरकार विरुद्ध खुलेआम विरोध गरेकाले उनलाई कोट मार्शल भयो । त्यसबखत देशभर व्यापक रूपमा विद्रोह हुँदै थियो ।

चारै तिरबाट राणा विरोधी आवाज गुञ्जियो । त्यसबेलासम्म जनता पनि चेतनशील भैसकेका थिए । उपन्यासकार राणाको सहभागिताले जनतालाई थप सघाउ पु¥यायो । कुराकानी गर्दाको क्रममा उपन्यासकार राणाले भनेको थिए –“मेरै कारणले मात्र राणाशाही समाप्त त भएको होइन, तर मलाई लाग्छ राणाशाही खतम गर्न मेरो पनि महŒवपूर्ण भूमिका रहेको छ ।”

अकस्मात् प्रजातान्त्रिक आन्दोलन सफल भएपछि उपन्यासकार राणा स्वत ः चर्चित हुने नै भए तर प्रजातन्त्र पछि बनेको संयुक्त सरकारमा मोहन शमशेर प्रधानमन्त्री र रक्षामन्त्री बनेकाले डायमनशमशेरमाथि कडादृष्टिपात प¥यो । कर्णेलपदमा नियुक्तिको सम्भावना कम थियो । त्यसैले पछि श्री ५ त्रिभुवनबाट तत्कालीन रक्षादल र जङ्गी अड्डाको अफिसर बनाइयो । यस पदमा रही राजासँग सिधै कुरागर्न सक्ने प्रावधान थियो । यस जिम्मेवारीलाई पूर्ण रूपले बहन गरी जागिरबाट अवकाश लिए । पुनः उनी राजनीतिमा सक्रिय हुन थाले । विश्वेश्वरप्रसादको समकक्षमा रही राजनीतिमा सक्रिय रहेका उपन्यासकार राणा वी.पी.लाई नै आफ्नो पथप्रदर्शक मानेका थिए ।

महात्मा गान्धी, नेहरू, माउत्सेतुङ, आदिजस्ता त्यागी राजनीतिक व्यक्तिबाट प्रभावित भएका उपन्यासकार राणा राजनीतिमा एक प्रकारको त्यागी देखिन्छन् । त्यसै त्याग र समर्पण भावनाले र निःस्वार्थ कार्य प्रणालीले आफ्नो घर बनाउनुभन्दा देशको अवस्था सुधार्न उनी सक्रिय भए ।

वि.सं. २०१५ सालको आमनिर्वाचन पछि काँग्रेसको एकमना सरकार गठन भएको बेलामा उपन्यासकार राणा “डेमलम्मेन्ट बोर्ड” का सक्रिय सदस्य बनेका थिए । देश विकासको कार्यमा लागे तापनि पञ्चायती व्यवस्था सुरु हुनेबित्तिकै उनी पक्राउ परेर अरू साथीहरूसहित नख्खु जेलमा थुनिए । फलतः देश निर्माण कार्य केही समयका लागि धराशायी बन्न पुग्यो । तर उनी जेलमा पनि त्यसै बसेनन् । जहाँ इच्छा त्यहाँ उपाय भन्ने उखानलाई चरितार्थ पार्ने क्रममा डायमनशमशेर राणाले जेलमा बसेका कैदीहरूलाई इतिहास पढाउन थाले जसबाट राष्ट्रिय विमूतिहरूबाट प्रेरणा पाएर देशका लागि केही गर्ने साहस बढोस् भन्ने उनको चाहना र उद्देश्य थियो । नख्खुजेलको लामो जेलजीवन पछि वि.सं. २०२२ सालमा उनी रिहा गरिए । उपन्यासकार राणा प्रजातन्त्रका विशिष्ट अनुयायी– एवम् पुजारी थिए ।

यस प्रकार एउटा राणा परिवार सुखसयलमा हुर्किएर पनि देशकै हितका निम्ति समर्पित डायमनशमशेर राणा डटेर क्रान्ति अभियानमा लागि परेका थिए । क्रान्तिकै सिलसिलामा पटक–पटक प्रहरी हिरासत र कारावासमा परेका राणा वि.स. २००७ साल देखि २०१७ साल सम्म पूर्ण रूपले राजनीतिक कार्यमा सक्रिय भई कार्यकर्ताको रूपमा देखा परेका थिए । आफ्नो पूरै जीवनलाई राजनीतिमा आहुति दिने राणा देश र नरेशको सम्मान गर्दछन् । यसक्रममा वीरेन्द्र स्मृति ग्रन्थ (२०५९ पृ.९४) मा आफ्नो मन्तव्य यसरी व्यक्त गरेका छन् – “म राजतन्त्रमाथि आस्था राख्छु । स्वर्गवासी श्री ५ वीरेन्द्रप्रति मेरो गहिरो श्रद्धा थियो । श्री ५ त्रिभुवन निकट रहेर मैले जति काम गर्न पाए त्यति निकटको अवसर त महेन्द्र र वीरेन्द्रसँग पाएको होइन । तैपनि श्री ५ वीरेन्द्रको शासनको तीनदशक लामो कालखण्डलाई मैले राम्ररी नियालेको छु । यस आधारमा मैले मौसुफलाई एक आदर्शको रूपमा पाएको छुु ।”

उपन्यासकार राणा राजनीतिमा पूर्णरूपमा होमिएर पनि साहित्ययात्रामा अवरोध आएको देखिदैन । तसर्थ वर्तमान पुस्ताले पनि डायमनशमशेर राणाबाट शाहस, त्याग र समर्पणभावलाई प्रेरणाका रूपमा ग्रहण गर्न सक्नुपर्छ । यसो गरियो भने मात्र आफ्ना अग्रज स्रष्टाहरूप्रति उचित सम्मान गरेको मानिने छ ।

कोटेश्वर, काठमाडौँ

मो .९८४१४२८४७८

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments