परापूर्व कालमा विशेष गरी गाउँ ठाउँमा हालको जस्तो जहीँतहीँ सरकारी तथा गैह्र सरकारी विद्यालयहरू उपलब्ध थिएनन् । सामान्य कर्मकाण्डबाहेक अन्य धार्मिक अनुष्ठान कार्य वा उच्च शिक्षा आर्जन गर्नका लागि बनारस जानुपर्दथ्यो । यही मेलोमेसोमा यहाँका धनी परिवारका भवसागर र सामान्य किसान परिवारका दयाराम नामका दुई जना विद्यार्थी विद्या आर्जन गर्नका लागि बनारस गएका थिए ।

घरको दुःख कष्ट र आर्थिक अवस्थाबाट परिचित दयारामले खान, पान, आहार, विहारमा मितव्ययिता र संयम अपनाई परिश्रम र लगनका साथ अध्ययन गर्दै गयो भने खासै दुःख कष्ट र धनको अभाव महसुस नगरेको भवसागरले पठनमा भन्दा खराब साथीहरूको सङ्गतमा लागेर मोजमस्तीमै अमूल्य समय व्यतित गर्न थाल्यो । एकै ठाउँ एउटै उद्देश्य प्राप्तिका लागि सँगै आएको साथीको नाताले दयारामले पटकपटक सम्झाउने प्रयास ग¥यो तर भवसागरलाई त्यो भालुलाई पुराण सुनाए जस्तै भयो ।

अन्ततः बाह्र वर्षको अध्ययन पश्चात् शास्त्री (स्नातक) सम्मको विद्या आर्जन गरेपछि दयारामले घर फर्कने विचार ग¥यो र म अब भोलि घर फर्कने विचार गरें तिमी के गर्छौ भनी भवसागरलाई सोध्यो । पहिले त भवसागर झस्क्यो अनि अनकनाउँदै अझै दुई चार वर्ष यतै बस्छु घरमा मलाई सन्चै छ भन्दिनुभन्यो । रातभरि के के मनले सोच्यो कुिन्न बिहान त म पनि सँगै जाने भएँ भनी सँगै हिँड्यो ।

बाटोभरि कहिले घर पुगुँला र सफलताको खुसी आमाबाबालाई बाडैाँला भनी दयारामको मन आत्तिरहेको थियो भने, पश्चाताप् र क्षोभले भवसागरको मन पिरोलिरहेको थियो । हप्तौ दिन हिँडेर घर पुग्ने अघिल्लो दिन नदी तरेर जङ्ंगलको सुनसान बाटोमा दयाराम अगाडि र भवसागर पछाडि हिँड्दै थिए, अचानक घक्का दिएर दयारामलाई लडाइँ झोलाबाट खड्ग हातमा लिई अब म तिमीलाई मार्छु भनी भवले भन्दा मैले के विराम गरे र मलाई मार्छौ भव ? भन्दै आखाँभरि आँसु बनाई अनुनय विनय गर्दा तिमी पढेर विद्घान् पण्डित भएर घर गएपछि सबैबाट मान सम्मान र इज्जत पाउने छौ । मेरो बुद्धि भ्रष्ट हुँदा पढ्न सकिनँ अब म घर जाँदा मेरो कुनै इज्जत हुने छैन, समाज र घरबाट समेत तिरस्कृत हुनेछु, म बाँच्नुको कुनै अर्थ हुने छैन । तिमीलाई मारेर म एक्लै गए भने त सबैले मलाई पढेर विद्वान् बनी आएको भन्ने सम्झी सबैले मान मर्यादा गर्नेछन् । वास्तविकता कसैलाई थाहा हुने छैन । त्यसैले तिमीलाई मार्नु सिवाय अर्को विकल्प देखिनँ । लौ ! केही भन्नु छ भने भनिहाल भन्दै टुप्पी समातेर काट्न तयार भयो । दयाराम दुब्लो पातलो र भवसागर मोटो, बलियो, महामूर्ख पनि हुँदा अब ऊबाट बच्ने अर्को कुनै उपाय नदेख्दा र पापको भोग यसले पनि भोगोस् भन्ने सोचेर मलाई नमारी नछोड्ने भए “म सन्चै छु, यतिखेर आउन सकिन” भनेर बाबालाई पत्र लेख्छु, त्यो पत्र पाएपछि बाबाले पीर मान्नु हुनै छैन र तिमीलाई पनि आएन भन्न सजिलो हुने छ भन्दा भवसागरलाई पनि यो कुरा उचित लाग्यो र ल पत्र लेखिहाल त भनेर अनुमति दियो । दयारामले सानो कागजमा केही अक्षर लेखेर दिँदै बाबाले मेरो बारेमा सोध्नुभयो भने पढाइ नसकिएकोले यतिखेर आउन पाइनँ अर्को साल आउँछु भनेको छ । उसलाई सन्चै छ भनी यो पत्र पनि दिनु भनेपछि, पत्र लियो र दयारामलाई हत्या गरी झाडीतिर फालेर सन्तोषको सास फेर्दै घर तर्फ लाग्यो । घरमा पुगेर आफूले मेहनत गरी धेरै विद्या पढी विद्वान् बनी आएको फुर्ति गर्दै गफ सुनायो ।

छोराको सफलतामा खुसी मनाउन र सो कुरा अरूहरूलाई पनि सुनाउन, छरछिमेकी आफन्तहरूलाई बोलाई भोज खुवाई बाबुले पनि हर्ष बधाई ग¥यो । एक कान दुई कान हुँदै यो हल्ला दयारामको बाबुको कानमा पनि पुग्यो । सँगै पढ्न गएका दुई जनामा ऊ एक जना मात्र किन आयो, मेरो छोरा किन आएन ? कारण के हो ? आशङ्काले पिरोलिदै ऊ तत्काल भवसागरकहाँ गएर दयाराम नआउनुको कारण सोध्दा – आफूले ज्यादै मेहनत गरी धेरै विद्या पढी आएको, दयारामले पढ्न नसकी लाजले मसँगै घर नआएको बताउँदै उसले लेखेको पत्र दियो ।

पत्रमा केवल “अ.प्र.शि.ख.” मात्र लेखिएको र त्यसको अर्थ नबुझेर यो पत्रमा लेखिएको कुरा मैले बुझिनँ तिमीले पढी बाँची सुनाइदेऊ भन्दा खै ! पढाइ नसकिएकाले अहिले आउन सकिन केही समयपछि आउछु भन्थ्यो त्यही लेखेको होला । पत्रमा लेखेको अर्थ मैले पनि बुझ्दिन खै ! के लेख्छ लेख्छ तर उसलाई सन्चै छ पीर नमान्नु भन्दै घरभित्र पस्यो ।

दयाराम त्यस्तो अबुझ र अनपढ नै त थिएन किन यस्तो पत्र लेख्यो, खासै नआउनुको कारण के थियो ? यो खुलदुलीले ऊ झन् पिरोलियो र गाउँमा पढे, लेखे, जानेका सबैकहाँ गएर पत्र देखायो । कसैले पनि पत्रको अर्थ बुझ्न बुझाउन सकेनन् । अन्तमा एक जनाले भने, अब तपाई भोज राजाकहाँ जानुहोस् । उनको राजसभामा नवरत्न (नौ जना विद्वान्) छन् रे त्यहाँ गएपछि अवस्य पनि यो पत्रमा लेखिएको अर्थ लगाउने छन् भनी सल्लाह दिए । त्यसपछि त्यो पत्र लिएर भोजराजाको राजसभामा गएर राजालाई पत्र दिएर यस पत्रको अर्थ लगाई पाऊँ भनी बिन्ती चढायो ।

राजाले आफ्ना सहयोगी नवरत्नलाई सो पत्रमा उल्लेखित “अ.प्र.शि.ख.” को अर्थ लगाउन आज्ञा गर्दा नौ जना मध्येका आठ जनाले आआफ्नै किसिमले अथ्र्याए तर राजालाई चित्त बुझेन । अन्तमा कालिदासले “अ.प्र.शि.ख.” लाई यसरी अथ्र्याए, – “अनेन तब पुत्रस्य, प्रसूतस्य वनान्तरे, शिखामाकृष्ट वाम हस्तेन, खड्गेन निहतः शिरः ।” अर्थात् यो पत्र लिई आउनेले, वनमा लडेका तिम्रो छोराको वायाँ हातले टुपी पक्रेर खड्गले शिर काटिदियो । पत्रको तात्पर्य थाहा पाएपछि दयारामको बाबु रुन थाल्यो । भोज राजाले जे नहुनु थियो त्यो भइहाल्यो अब नरुनु बरु, त्यो ज्यानमारालाई सजाय दिनुपर्छ, म त्यसलाई पक्रन सिपाही पठाउँछु, तपाईले त्यसलाई देखाई, चिनाई दिनुभई पक्रन सहयोग गरिदिनुहोला भनी दुई जना सिपाही उसको साथ लगाई पठाए ।

सिपाहीहरूले भवसागरलाई पक्रिल्याएर राजाका सामुन्य उपस्थित गराएपछि उसको बयान लिने कार्य भयो । पहिले त आनाकानी गर्दै थियो । जब “अ.प्र.शि.ख.” शब्दको अर्थ उसलाई सुनाएपछि भवसागरका नौ नाडी गल्दै गयो र पढ्न भनेर दुबै जना बनारस गएदेखि बनासरमा आफूले नपढेको घर फर्कदा मनमा कुभावना जागी आफ्नो निहित स्वार्थ पूर्तिका लागि आफ्नो सुयोग्य मित्रको हत्या गर्नुको तात्पर्यसहित सम्पूर्ण बेहोराको बयान दिई आफूले हत्या गरेको स्वीकार ग¥यो । र सजाय भोग्न तयार पनि भयो । á

कुश्मा पर्वत

मो. ९८५७६३०१९८

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments