“हेर्नोस्, हाम्रो नारी स्वतन्त्रताका बाधक भनेकै पुरुषहरू हुन् । हामीले पन्छाउनुपर्ने पहिलो बाधा पुरुष मानसिकता हो । त्यसैले स्वतन्त्रता पाउन हामीले पुरुषसँग सङ्घर्ष गर्नैपर्छ, बुझ्नुभो !” कार्यक्रम आयोजक मध्येकी ती वक्ता जोस्ँिसदै अतिथिको स्वागत भाषण गर्दै थिइन् ।

कार्यक्रम चलिरहेको थियो । नारी र पुरुष सहभागिता लगभग बरार देखिन्थ्यो । सहभागीमा विदेशी शृङ्गार र चम्किला गहनामा र तीन चौथाइ अङ्ग खाली देखिने आधुनिक परिधानमा चिरिच्याँट्ट सजिएका सम्भ्रान्त महिलाकै सङ्ख्या अत्यधिक देखिन्थ्यो । तिनका शरीरमा छरिएका विदेशी अत्तरको सुगन्धले कोठा मगमगाइरहेको थियो । पुरुष अतिथि र स्रोताको ध्यान भने भाषण सुन्नमा भन्दा तिनै सम्भ्रान्त नारीहरूको नग्न शरीरको केस्रा केस्रा केलाउनमा तल्लीन थियो । अल्प पोसाकभित्र टिमिक्क कस्सिएर बाहिर निस्कन उत्ताउलिएका आवृत्त अङ्गबाट पुरुषका आँखा हट्नै मान्दैनथे सायद ।

महिला सहभागीको ध्यान पनि भाषणतिर खासै थिएन । उनीहरू सहभागी अन्य महिलाकै चेवाचर्चा गर्नमा बढी व्यस्त थिए । कसैको आँखामा इष्र्याको ज्वाला दन्किरहेको देखिन्थ्यो, कसैकोमा हीनताबोधको घना बादल !

त्यही ईष्र्या र हीनताबोधमा तिनका बीचमा खुसुरफुसुर चलिरहेको थियो ।

“हेर् न त्यो नखर्माउली, लोग्ने अरबको भट्टीमा सेकिएर पैसा पठाउँछ यो भने सिन्को नभाँची स्वतन्त्रताको भाषण दिन्छे !” पहिलो स्वर ।

“त्यो अर्की थसुल्ली पनि के कम छ र ? घरमा आफ्नै लोग्नेलाई नोकरझैँ गर्छे ।” समर्थनमा सुनिन्छ अर्को महिला स्वर ।

“हो नि के सुन्नु यस्तो भाषण । के मतलब हामीलाई यो नारी स्वतन्त्रता को ? उता किट्टीपार्टी सुरु भइसक्यो होला !”

छेउकै सिटमा बसेर सबै कुरा नियाल्दै खुसुरपुसुर सुन्न पुगेका एक जना पुरुष भने आफैसँग प्रश्न गरिरहेको थियो– कस्तो खालको स्वतन्त्रता खोजिरहेका छन् यी ? कसका लागि र कोसँग ?

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments