सविनाले आज अचम्भ देखी । उसको साथी एक काली बिराली थिई । ऊ दिनमा, बिहान र रातमा सुत्दा पनि उही बिरालीको साथमा सुत्ने गर्दथी । तर आज उसलाई सुत्न मन लागेन किनभने उसकी बिराली साथमा छैन कहाँ भागी भागी । बिरालीको खोजी गर्दै बुइगलतिर उक्ली । त्यहाँ पुग्नासाथ उसले अनौठो देखी । आफ्नी बिरालीले घरको बुइगलको एक कुनामा केही थाङना भोटाको साथमा गुँडुुल्केर पाँचवटा बच्चा पाइछ । यो देखेर सविना दङ्ग परी । उसले सोची ‘मेरी कालीले आफूजस्तै सानासाना बिरालाहरू कहाँबाट लिएर आइछ ? एउटासँग मात्र खेलिरहेकी थिएँ अब छवटासँग खेल्न पाइने भयो । तर यिनीहरूलाई कसरी खुवाउने होला ! एउटालाई त मैले राम्रोसँग पाल्न सकेकी छैन भने अबदेखि छवटीलाई कसरी पाल्ने ? होइन, यसले यी सानासाना बच्चालाई कहाँबाट ल्याइछ हँ कतिखेर ? मैले त देख्ननै पाइन ।’ ऊ तल ओर्ली र आफ्नी मम्लाई सोधी “मम् ! हाम्री बिरालीले कहाँबाट पाँचवटा बच्चा लिएर आइछ । अब कसरी पाल्ने ?”

“हेर छोरी ती बच्चाहरू यसले अन्तबाट ल्याएकी होइन आफैँले जन्माएकी हो । बिरालीहरू ठूली भएपछि एकैपटक धेरै बच्चा जन्माउन सक्छन् क्या !” आमाले सहज जवाफ दिइन् ।

“म पनि ठूली भएपछि धेरै बच्चा जन्माउन सक्छु ?” सविनाको प्रश्न थियो ।

“तिमी सक्दिनौ छोरी किनभने तिमी मानिस हौ । मानिस ठूलो भएपछि मात्र एउटा वा दुइटा जन्माउन सक्छन् यति धेरै होइन । फेरि हेर यसलाई अब हामीले धेरै दिन पाल्नुपर्दैन किनभने यो आफ्ना बच्चासहित केही दिनमा नै अर्को घरमा बसाइँ सर्छे । तिमी हेरिराख ।” आमाको बुझाइ थियो यो ।

सविनाले बच्चा जन्माउने रहस्य नबुझ्दा नबुझ्दै उसलाई बिराली वसाइँ सर्ने कुराले चिन्ता दिलायो । उसले भनी “नाइ मम् म त यसलाई वसाइँ सर्न दिन्न यहीँ पालेर राख्छु हुन्न ?”

“सक्छ्यौ भने पाल तर हेर तिमी जतिसुकै होसियार भएर बसे पनि यसले आफ्नो बच्चालाई अन्त सार्छे, सार्छे ” आमाको जानकारी थियो ।

सविनालाई अब चिन्ता प¥यो ऊ विद्यालय गएर कक्षा एकमा पढ्न थालिसकेकी थिई । आजबाट उसले काली बिराली कुरेर बस्ने निर्णय गरी । मम्मीले धेरै पटक ‘जाऊ सविना पढ्न बरु मनै यो बिरालीलाई कुरेर बसौँला’ भनेर सम्झाई तर सविनाले मानिन । दिनभरि हेरेरै बसी । खाना पनि ऊ बिराली भएकी स्थानमा लगेर खान्थी । तर एकदिन निद्रालाई रोक्न सकिन । काली हेर्दाहेर्दै भुसक्क भैछ । उता बिरालीले यही मौका हो भने जस्तै गरेर आफ्नो मुखले च्याप्दै सबै बच्चाहरू छिमेकीको घरमा बच्चा सारेर लगिसकिछ । सविना उठी र हेरी काली र उसका बच्चाहरूरू त्यहाँ कोही पनि थिएनन् । यो देखेर ऊ रुन लागी । धेरैले सम्झाउँदा पनि ऊ चुप लागिन । घरका मानिसहरू सबै परेसान भए । उसले खान छोडी । आमाले जतिपटक सम्झाउँदा पनि मानिन र भनी “मलाई काली बिराली र उसका बच्चाहरू नै चाहिन्छ नत्र म खान्नँ के” भन्दै घुक्र्याउने मात्र गर्न थाली । उसको दाजुले थाहा पायो कि काली बिरालीले आफ्ना बच्चालाई यसै गाउँको दशघर परको एक घरमा लगेर राखिछ । आफ्नी बैनीलाई देखाउन लग्यो । बैनीले यो देखेर सन्तोष गरी र खानासमेत खाई । तर बिरालीलाई ल्याउने उसको कोशिश बेकार भयो । तैपनि ऊ सधैँ त्यही बिराली भएको स्थानमा गएर मात्र खाने गर्दथी । एकदिन त्यहाँबाट पनि बिराली अन्तै बसाइँ सरेर गइछ । कहाँ गई कसैले पत्ता लगाउन सकेनन् । सविना बिरालीविनाकी एक्ली भई र सधैँ निदाउरो मुख लाएर मात्र बस्न थाली । यो देखेर उसकी मम् रीतालाई पीर लाग्न थाल्यो र सम्झाउन थालिन् “छोरी यसरी पीर नगर वा । हेर बिरालीको जातनै यस्तै हो । बच्चा जन्माएपछि उसले एकै स्थानमा राखेर हुर्काउँदिन । किनभने ढाडे बिरालोको उसलाई डर हुन्छ । ढाडे बिरालाले देख्यो भने सबै बच्चाहरूलाई मारेर खाइदिन्छ । त्यसैले गर्दा उसले यसरी लुकाइलुकाई ठाउँ फेरिरहेकी हो । बच्चा हुर्केर आफ्नो सुरक्षा आफैँ गर्न थालेपछि भने उसले छाडिदिन्छे र एकै स्थानमा फेरि बस्छे । यो कुरा बुझ छोरी” भन्दै रीता चूप भइन् ।

सविनाले पुलुक्क ममीको मुखमा हेरी र भनी “मलाई अस्ति नै किन नभनेको त मम्मी यस्तो कुरा ?”

“मैले बिर्सेछु नि त छोरी” रीताको उत्तर थियो यो ।

सविनाले भनी “मम् ! बिरालीहरू त मान्छे भन्दा पनि चलाक हुँदा रहेछन् है ? आफ्नो बच्चालाई वचाउन । के तपाईँ पनि यस्तै चलाख हुनुहुन्छ ?” रीता छोरीको मुखमा हेरेको हेरै भइन् । á

 

गोकर्णेश्वर –५, जोरपाटी, काठमाडौँ

मो.९८४३२३४४५०

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments