म फेरि सिड्नी टावरबाट बङ्लङ्गै ढलेँ । टावरको तीन सय पाँच मिटर उच्चाइमाथि रिभोल्भिङ रेस्टुराँ थियो । केही खाएर ढल्न पाएको भए अलि राहत हुन्थ्यो । असएडले स्टाइपेन बन्द गर्दिहाल्यो । अनि कहाँबाट भरिपेट ढल्न पाइन्थ्यो । मैले सोच्नै नसकेको एउटा स्थितिले हेर्दा मलाई माया गरे जस्तोे तर मर्का पर्ने गरी धाप मा¥यो । यथार्थमा म त थचक्कै भएँ । म पढाइ चटक्कै छोडेर बीचैमा नेपाल फर्कनुपर्ने भयो । यसरी बीचैमा फर्किंदा नेपालमा छर छिमेक, आफन्त तथा साथीभाइहरूको अगाडि के गरी मुख देखाउने ! अरूको अत्यन्त चासो लिएर एकनासले ट्याउँ ट्याउँ गरिरहने नेपालीहरूका मुख के गरी टाल्ने ! के बहाना पारेर उनीहरूबाट उछिट्टिने ! यो समस्या त आफ्नो ठाउँमा छँदै थियो । अर्को उदेकलाग्दो समस्या भनेको सँगै पढ्ने साथीहरूभन्दा म सोझै ६ महिनापछि पर्ने भएँ । सरेन त क्याम्पस ? गरेन त विश्वविद्यालय परिवर्तन ? हुँदो न खाँदोको रिस र कथित जुँगाको लडाइँको कारण ओलङगङबाट सिड्नी सरियो, सिड्नीबाट रकहेम्पटन लखेटियो, रकहेम्पटनबाट सिड्नीमै पढुँला भनेर ह्याकुलाले मिच्न खोज्दा सिधै नेपाल फिर्ता हुने भइयो । सिड्नी क्याम्पस हुँदा मभित्र उत्पातसँग उर्लिएको मेरो फाइँफुइँ ‘उत्ताउली गाई बाघले खाई’ जस्तै भयो । असएडको यो निर्णयबाट म एक प्रकारले चिसिसकेको थिएँ । चिसो दिमागले एक छिन आपूmले आफ्नै मूल्याङ्कन गरेँ । हरेक तह र तप्काका आ–आफ्नै तरिकाका अनुशासन हुन्छ जो मैले नढाँटी भन्नुपर्दा भङ्ग गरिसकेको थिएँ । जसको कारण असएडले मेरो छात्रवृत्ति रद्द पनि गर्न सक्थ्यो तर त्यसो गरेन । तुलनात्मक रूपमा यो डुकुलन्ठन भएर बिताउने समयभन्दा बरु छात्रवृत्तिको समय छ महिना थप्ने ओलङगङकी असएड ‘हसिना’को प्रस्ताव यो निर्णयभन्दा धेरै गुना उपयुक्त थियो । त्यो बेला उसलाई शत्रु सम्झेर उसँग उद्दण्ड भएको मलाई अहिले उसको अभाव खट्कियो । त्यति मात्र हो र ! उसको माया पनि लागेर आयो । तर के गर्नु ! ‘अघि रानी (असली नेपाली उखान राको ठाउँमा राँ…र नीको ठाउँमा डी.. ! हुन्छ क्यार !) मानिन, पछि रानी जानिन, बाघ लाग्यो घिच्याउन, रानी लागि चिच्याउन’ भने जस्तै भयो । त्यतिबेला मैले बाल वास्ता गरिन । यतिबेला म ढीलो भइसकेको थिएँ । ढीलो मात्र भए त हुन्थ्यो नेपालै पो हुत्तिनुपर्ने भो !

नेपाल फर्कन र १९९७ को जुलाई महिनामा केन्द्रीय क्याम्पस ज्वाइन गर्ने अनुमतिपत्रको फ्याक्स सिड्नी क्याम्पसबाट सङ्कलन गरेँ । मेरो ट्युसन फी र स्टाइपेन सम्बन्धी सम्पूर्ण कारोबार असएड ब्रिसबेनको रकहेम्पटनस्थित केन्द्रीय क्याम्पस एकाइ कार्यालयबाट भइरहेकाले यो प्रोसेस त्यहाँबाट सुरु गरिएको थियो ।

म सिङ्गापुर एअरलाइन्सको अफिस गएँ । असएड केन्द्रको रेफरेन्स दिएर मैले आफ्नो नाम बताएँ । टिकट काउन्टरमा बस्ने एउटी बूढीले अभिवादन गरी । हुन त बूढीलाई मेरो नामभन्दा बढी मेरो स्थितिबारेमा अरू अवश्य केही थाहा थिएन । र पनि मलाई उसको त्यो अभिवादन एउटा मर्माहत व्यङ्ग्य जस्तो लागिरहेको थियो । कुरा जे जस्तो भए पनि अरूले सम्मान दिएपछि आदरपूर्वक स्वीकार गरी आपूmले पनि सम्मान व्यक्त गर्न नसक्नु भनेको असभ्य हुने भएकाले मैले पनि टाउको निहुराएर अभिवादन फर्काएँ । फिर्ती टिकट लिँदा हवाई भाडा सस्तो पर्ने थियो । मैले व्यक्तिगत चार सय डलर थपेर असएडले दिएको एकतर्फी रुट सिड्नी–सिङ्गापुर–बैङ्कक–काठमाडौँको अतिरिक्त काठमाडौँ–सिङ्गापुर– ब्रिसबेन–रकहेम्पटन रुट (एक जना) को लागि टिकट बनाएँ ।

म सिड्नीमा साथीहरूसँग भाडा नतिरी बस्थेँ र ओलङगङमा कोठामा नबसिकनै भाडा तिर्थें । एउटा नितान्त व्यक्तिगत प्रसङ्ग सार्थक भइदिएको भए (हुन सक्छ मैले सोचेको जस्तै भइदिएको भए परिवार ल्याउने मेरो कार्यक्रम भाँडिएर अस्ट्रेलिया आउने परिवारको सपना सजिलै बिथोलिन पनि सक्थ्यो !) सायद म ओलङगङमै बसेर ओलङगङ विश्वविद्यालयमै पढिरहेको हुन्थेँ ! अङ्ग्रेजी भाषा कक्षाका सहाध्यायीहरू मध्ये स्पेनकी ‘अमाया’ मेरो साह्रै प्रिय मित्र थिई र सायद उसका लागि पनि म प्रिय नै थिएँ । किन्तु, यहाँ ताइवानकी सरिनाको प्रसङ्ग उल्लेख नगरे हाम्रो त्यो अङ्ग्रेजी भाषा कक्षा अपूरो हुन्छ र सौन्दर्यशास्त्रकै पनि अपमान हुन सक्छ ! सरिना अति राम्री र क्लासमा सबैको आँखाकी (पुरुषहरूको त दिलकी) रानी थिई ! लामो नबाटेको सलसल परेको कपाल ! फराकिलो निधार ! लाम्चो परेलीकोश ! पूmलको पत्र जस्तै पातलो ओठ ! सलक्क मिलेको नाक ! छिनेको कमर ! सदासर्वदा वर्णनयोग्य घाम अस्ताउन लागेको बेलाको नीलो ‘साउथ चाइना सी’ माथि हरियो झन्डा हल्लाएर टिलपिल टिलपिल गर्दै स्वागत सङ्केत दिइरहेको टलक्क टल्कने सेतो डुङ्गा जस्तै थिई—सरिना ! अस्ट्रेलिया आएदेखिन् मैले डुङ्गा चढ्न पाएको थिइन । उसलाई देखेपछि बेला बेला मनभित्र एउटा यस्तो उत्सुकताले कोपरिरहन्थ्यो (हेर्न मिल्ने भए घाउ नै देखिन्थ्यो होला सायद !) कि त्यो साउथ चाइना सीमाथि तैरिरहेको डुङ्गा एक पटक मजाले चढ्न पाए जिन्दगीमा कति रमाइलो हुन्थ्यो ! तर ऊसँग कहिल्यै दोहरो कुरा भएन ।

एक दिन आम सञ्चारका माध्यमहरू जस्तै पत्रपत्रिका, टेलिभिजन, इन्टरनेट र खासगरी सिनेमामा देखाइने अङ्ग–प्रदर्शनलाई कुन हदसम्म सेन्सर गर्नु आवश्यक छ भन्ने विषयको छलफलमा मैले चियर गर्ने मौका पाएँ । मैले सबैको अनुहार हेरेर उनीहरूको निजी बिचार राख्न भने । तर मैले सरिनाको अनुहार हेर्न भ्याइन । मात्र मेरा आँखा टेबलमुनि बेवारिस लत्रिरहे पनि ट्यूबलाइट (फ्लुरेसेन्ट ल्याम्प) बलेसरी टल्किरहेका उसका सेता तिघ्रा जो प्रत्येक क्षेण भूकम्प निम्त्याइरहेको लाग्थ्यो— वरिपरि घुम्न थाले । मलाई के लाग्यो भने सौन्दर्य (अङ्गभन्दा सम्मानजनक शब्द सायद यही हुन्छ होला !) प्रदर्शनमाथि जति बढी दबाब वा प्रतिबन्ध लगायो न्युडिटी (नग्नता) ले त्यति नै बढी प्रश्रय पाउँछ र त्यो फस्टाउँदै पनि जान्छ । अन्तमा सामूहिक निचोड पनि यस्तै निस्कियो । सरिनाको मनमोहक अनुहार र बान्की मिलेको शारीरिक बनावटको कारण ऊ शत प्रतिशत हृदयग्राहिणी थिई । परन्तु, ऊ अन्तर्मुखी स्वभावकी थिई । ऊसँग कुनै त्यस्तो आत्मीयता बढ्नै सकेन ।

खासमा मैले कुरा गर्नुपर्ने विषय अमाया थियो । एक दिन मैले कुरैकुरामा अमायाको नामको पहिलो अक्षर हटाएर नेपालीमा बन्ने नामको अर्थ सुनाउँदा ऊ साह्रै एक्साइटेड भएकी थिई । हेर्दा ऊ पनि भूमध्य महासागरमाथि टिलपिल टिलपिल गर्दै तैरिरहेको मालवाहक जहाज जस्तै देखिन्थी ! भाषा कक्षा जसरी अगाडि बढ्दै गैरहेथ्यो नजाने त्यसरी नै हामीभित्र एक किसिमको आत्मीयता गाढा हुँदै गइरहेको महसुस दुबैलाई हुन थालिसकेको थियो । एक दिन गफगाफमै फ्याट्ट मैले सिड्नी घुम्न जाने प्रस्ताव राखेँ । ऊ एकाएक बयासी किलोमिटर लामो ओलङगङ–सिड्नी ट्रेन यात्रामा मलाई साथ दिन तयार भई । बिना कुनै योजना यति छिटै कार्यक्रम तय भएकोमा हामी दुई केही बेर अवाक भयौँ । उस्को ब्वाइफ्रेन्ड स्पेनमा थियो र मेरी स्वास्नी नेपालमा थिइन् । एक छिन दुबैको मौन हेराहेर भयो । हामी नबोले पनि हामीभित्र कैयन् संवादहरू चल्न सुरु भएको महसुस दुबैलाई भइरहेथ्यो । सायद दुवैको मस्तिष्कमा सिड्नीको रमझम र स्वतन्त्ररूपमा बिताउन पाउने रात अनि सम्भावित बाँकी रातहरूको कल्पनाले ठूलै हलचल मच्चाइरहेको थियो ! केही बेरको मौनतापछि उसले मुस्काउँदै अङ्ग्रेजी परीक्षाभन्दा डेन्जर प्रश्न गरी–

“सिड्नीमा हामी कहाँ बस्ने ?”

मैले उत्सुकताको त्यो टेम्प्रामेन्ट खप्न सकिनँ । केटाकेटी जस्तो हतपताएर भनिहालेँ– “साथीको फ्ल्याटमा बस्ने !”

थुक्क ! मलाई तुरुन्तै के याद भो भने यो भन्न हुने कुरो थिएन । भनिसकेको कुरा फिर्ता लिन पनि मिलेन र सच्याउन पनि मिलेन । मेरो दिमागभरि परिवारकै कुरो खेलिरहेकाले होला उसलाई चित्तबझ्ुदो जवाफ दिन टेक्निकल्ली म असफल भएँ । होटलमा बस्ने भनेको भए मेरो के जान्थ्यो ! अलिअलि खर्च हुन्थ्यो बस्, त्यो पनि अस्ट्रेलियन सरकारले हन्डी दिइरहेकै थियो । कच्चा जवाफ फर्काउने मेरो कच्चा बुद्धिलाई खुब धिक्कारेँ ! मैले उसलाई मेरो साथीकोमा बस्ने भन्न किमार्थ हुँदै हुँदैनथ्यो । उसले यसरी सोध्दा उसैलाई ‘तिमीलाई कहाँ बस्न मन लाग्छ त्यहीँ बसौँला’ भन्न सकेको भए उसको लागि विकल्प पनि हुन्थ्यो र त्यो एउटा चित्तबुझ्दो जवाफ पनि हुनसक्थ्यो ! बडो जान्ने भएर फ्याट्ट भनिहाल्दा मैले यहीँनेर पहिलो मार खाएँ !

भाषा कक्षाको अन्तिम अन्तिमतिर हामी दुबैले यो प्रसङ्ग करिब बिर्सिसकेका थियौँ । भर्ना हुने चटारो चलिरहेको थियो । यतिबेलासम्म मलाई के लागिरहेथ्यो भने अमायालाई मैले कोठामा बोलाएर नेपाली खाना ख्वाउन सकेको भए हुन्थ्यो अथवा ओलङगङ ‘बिच’ गएर किनारछेउ रहेको ढुङ्गामा दुबै सँगै बसेर त्यो नीलो समुद्रबाट आकाश छुने रहरमा उठेर हामीतिर आउँदै गरेको छालसँग ‘स्वीमिङ वेयर’ मा खेलिरहन पाएको भए जिन्दगी कति रमाइलो हुन्थ्यो वा सागरमा उर्लंदै गरेको उखरमाउलो छाल हेर्दै खुल्ला पवमा बसेर दुबैले बियर पिउँदा यो गर्मीमा कति तृप्ती मिल्थ्यो होला ! अथवा ‘फेरी’ (अस्ट्रेलियामा मोटरबोटलाई भनिने नाम) को बाहिरी भागमा पल्टेर अमायाको काखमा टाउको राख्दै नीलो समुद्रमाथिको नीलो आकाश हेर्दै पानीमाथि सयर गर्न पाएको भए त्यो क्षण कति सुन्दर र स्वर्णिम हुन्थ्यो होला ! अनि हाम्रो घनिष्ठता पनि कति बाक्लो भएर झ्याँगिन्थ्यो होला ! आपूmलाई त हरदम परिवारकै ध्याउन्नाले पिरलेको कारण त्यतातिर ध्यान नै दिन सकिएन ।

म देखिरहेथेँ ! हाम्रो लिभिङ रुममा अमाया निदाउरो अनुहार पारेर सोफामा बसिरहेकी छ । हुन सक्छ यतिबेला उसलाई आपूm बस्ने घर, घुलमिल भएको समाज वा सिङ्गो देशकै सम्झना आइरहेछ, वा हुन सक्छ उसलाई उसको ब्वाईफ्रेण्डको सम्झना आइरहेथ्यो या दुवै हुन सक्थ्यो ! यी सम्भावनाहरूको संवेदनशीलतालाई पहिलो प्राथमिकता दिएर सहानुभूति दिने सिलसिलामा उसलाई फकाउन म अगाडि बढिरहेको छु । हात लामो बनाउन मिल्ने भए टाढैबाट उसलाई छुने हतार थियो तर यो सम्भव थिएन । म झ्याल बाहिर पनि हेर्दै छु । एक छिन अघिसम्म मजाले मुस्काइरहेको आकाशमा एक्कासि कालो बादल मडारिन सुरु ग¥यो । हावा पनि अलिअलि गर्दै तीब्र गतिमा बहन थाल्यो । एकै छिनमा गड्याङगुडुङ गर्दै बिजुली चम्कन थाल्यो र पानीका थोपाहरू छानामाथि झर्न थालेको सुनियो । म ऊ छेउ पुग्दा नपुग्दै हुरी बतास सहित पानी दर्किहाल्यो । एक्कासि जाडो जाडो अनुभव भयो । मैले झ्याल बन्द गरेँ र स्वार्र पर्दा ताने । नजिक पुगेपछि उसको छेउमा बस्दै मैले उसको चिउँडो उठाएँ । उसले एक्कासि उसको चिउँडो छुने मेरो हात बिस्तारै च्याप्प समाती । हाम्रा आँखाहरू एक आपसमा ठोक्किए । सायद लाजले होला हामी अलि तल झुक्यौँ । झुकेको झुक्यै मैले सोधेँ—

“यो जिन्दगी भनेको के होला माया ! मलाई त बुझ्नै गाह्रो भो ?”

ऊ खिसिक्क हाँसी ! सायद उसलाई माया भनेकोले होला ! उसले भनीे—

“ईश्वरको सुन्दर सृष्टि ! अनि माया नै मायाको सागर !’ म उसको उत्तर सुनेर लोभिएँ—

“तिमी अनुमति दिन्छौ भने के म यो मायाको सागर तर्न सक्छु ?”

अमायाबाट प्रतिक्रिया आउनु अगावै वा उसले केही भन्न नभ्याउँदै झल्याँस्स मलाई एउटा कविताको सम्झना आयो । सायद आजभन्दा झन्डै तीस÷पैँतीस वर्षअघि आँखीझ्याल साहित्यिक (गोजिका) पत्रिका हो या यस्तै कुनै गोजिकामा प्रकाशित कविता कुपण्डोल, ललितपुर निवासी … राणा नामकी एक कविले लेख्नुभएको थियो—

‘पर्दा उघारी नहेर कोठाभित्र

त्यहाँ एक जोडी रमाइलो गर्दै छन्

पूmलका पत्रहरू चँुडालेर

एक आपसमा छर्दै छन्,

धत् ! कसैले नाउ चढेको पनि हेर्ने हो ?

तिनीहरू त मायाको शान्त नदी तर्दै छन् !’

मलाई यस्तो लागिरहेको थियो कि ती कविले देख्नुभए जस्तै यो कोठा थियो थिएन ! उहाँले भन्नुभए जस्तै यो जोडी थियो थिएन ! यो सत्य हो यहाँ पूmल र पूmलका पत्रहरू थिएनन् । कविले त नाउ चढिसकेको जनाउ दिएर भ्याउनुपर्ने कुराजति मजाले भ्याइदिइसक्नुभएको थियो । तर यहाँ भर्खर मायाको सागर तर्नेे कुरो चलिरहेको थियो त्यो पनि प्रस्तावको रूपमा । स्वीकृति र समर्पणको कुरा त दुइ कोस टाढै थियो !

अमाया गम्भीर थिई र पनि उसले ओठमा सय ग्राम हाँसो ल्याउने प्रयास गर्दै भनी—

“सागर तर्ने तिम्रो रुचि र आँटको खुलेर म सराहना गर्छु तर मलाई यतिबेला मेरो ब्वाईफ्रेन्डको सम्झना आइरहेछ !”

मलाई यतिखेर तत्काल म उसको ब्वाइफ्रेन्डमा अनुवाद हुन पाए हुने जस्तो लाग्यो ! सम्भव नहुने कुरा पनि भइदिए हुन्थ्यो भनेर सायद मैले आम पुरुषको कमजोरी प्रदर्शन गर्न खोजिरहेको हुन सक्थ्यो ! तर पनि यतिखेरको उसको साथी भनेको मै हुँ भन्ने आशयलाई पुट दिँदै मैले भने—

“यहाँ त हामी मात्र छौँँ । ऊ त स्पेनमा छ हैन र ?”

“होऽऽ.!” त्यसपछि लामो मौनता… !

मौनता ब्रेकगर्दै मूल प्रस्तावलाई तार्किक निष्कर्षमा पु¥याउन सजिलो होस् भनेर मैले अर्को सहायक प्रस्ताव राखेँ

(मलाई भने कतै यो हाम्रा राजनेताहरूले दिनका दिन राष्ट्रिय महŒवको मुद्दाहरूलाई तार्किक निष्कर्षमा पु¥याए जस्तै हुने त होइन भन्ने डर पनि लागिरहेको थियो)—

“यो चिसोमा अलिकति ह्विस्की पिउने हो ?”

केटाकेटीले जस्तै मुन्टो हल्लाएर उसले आत्मस्वीकृति दिई जसलाई पछि शब्दमा पनि अभिव्यक्त गरी—

“तिमी पिउँछौ भने म पनि थोरै साथ दिन्छु !”

बल्ल वातावरण आफ्नो फेवरमा आउला जस्तो लाग्यो ! मैले ¥याकबाट एउटा ह्वीस्कीकोे बोतल झिकेँं । फ्रिजबाट स्न्याक्स र बरफसहितको भाँडो अनि किचन ¥याकबाट टङ्ग्स (बरफ च्याप्ने चिम्टा) झिकेँ । हामीले डाइनिङ टेबल प्रयोग गरेनौँ । भुइँमै मजाले बसेर तान्न थाल्यौँ । ऊ मोटी भएकोे र प्यान्ट लगाएको कारण उसलाई बस्न कठिन भइरहेको जस्तो मलाई लाग्यो । मैले उसलाई ‘बस्न अप्ठेरो परेको हो’ भनेर सोधेँ । उसले हाँसेर ‘छैन, म कम्फोर्टेबल छु’ भनी । हामीलाई ह्वीस्कीले झमझम गर्न थालिसकेको थियो । म आज खुसी त यसै थिएँ । यो खुसीको मात्रालाई अझ बढाउने हतारले होला म चाहिँ छिटछिटो गिलास उचाल्दै घ्याप्प घ्याप्प दिइरहेको थिएँ । एक छिनपछि अमायाको गाला गुलाबी हुँदै आयो । ऊ शनैःशनैः राम्री देखिँदै जान थाली । यो निश्चय नै हो उसलाई भन्दा बढी मलाई रक्सीले दनक दिइरहेथ्यो । त्यसैले बेलाबेलामा म अमायालाई दुई–तीनओटा देख्थेँ । यति बेलासम्ममा हामी लजाउन छाडिसकेका थियौँ । र हामी, मात्र एक बित्ताको फरकमा थियौँ । कुन खुसीले हो हामी लगातार पिउँदै गयौँ ! अलिअलि अलिअलि गर्दागर्दै ह्विस्की त पूरै तुर्रेछ । यसरी हामीलाई ह्विस्कीले मजाले ठोक्न थालेपछि हामी अन्तिम सम्झौताको तयारीतिर आइपुग्यौँ । हामी ‘सावर’ का लागि तयार भयौँ । एक्लाएक्लै बाथरुम जाने कि सँगै जाने भन्ने विषयमा एक छिन ठूलो बहस चल्यो । अन्ततः विवस्त्र भएर सँगै जाने कुरामा हतार हतार सहमति जनाउँदै हामी उठ्यौँ ….!

ढोकामा एक्कासि कसैले ढक्ढक् गरेको आवाज आयो ! म त झल्याँस्स भएँ ! मैले अाँखा मिचेँ । अघिका ती मीठा घटना परेलामा अल्झेका छन् कि, परेला टकटक्याएँ ! त्यो अन्र्तमनको एउटा मीठो कल्पना थियो जो आँखा खुल्नासाथ हराइसकेको थियो ।

अमाया होस्टलमा बस्थी । होस्टल विश्वविद्यालय हाताभित्रै थियो । म बस्ने कोठा त्यहाँबाट टाढा थिएन मात्र दस–पन्ध्र मिनट हिँडे पुगिन्थ्यो । म यहाँ आएको पनि डेढ महिना नाघिसकेको थियो । एउटा कुरा साँच्चिकै खुलेर भन्नुपर्दा म त्यस्तो वीतराग हुन सक्दिनथेँ न म ऊध्र्वरेता नै हुन सक्दथेँ ! त्यसैले एक दिन मैले एउटा प्रस्ताव राख्ने साहस गरेँ । हेर्दा सहयोग गर्न खोजे जस्तो तर यर्थाथमा मेरो एकतर्फी स्वार्थ मिसिएको एउटा प्रस्ताव ऊ सामु राखेँ—

“मैले दुई बेडरुम भएको युनिट लिएको छु । एउटामा तिमी बस ! भाडा सेयर गर्नुपर्दैन !”

म यो चाहिरहेथेँ उसले हुन्छ भनिदेओस् ! यस मानेमा मैले सम्झन सकेजति इष्ट देवताहरूको नाम सम्झेँ ! उसले बडो मायालाग्दो पाराले जवाफ दिई—

“एक हप्ता जति चाँडो भनेको भए हुने, मैले केही दिन अघि मात्र होस्टलको छ महिनाको भाडा तिरेँ !”

थुक्क ! मैले यहाँनेर पनि मार खाएँ ! म अस्टे«लिया आएदेखि जे कुरामा पनि ढीलो भइरहेको थिएँ ! ऊ सम्मुख मैले यो प्रस्ताव राख्न ढीलो भैसकेको रहेछ । त्यतिबेला मेरो प्रतिक्रिया समुद्रको किनारबाट हामीतिर उर्लेर आइरहेको हैन कि फर्केर गइसकेको छाल जस्तै भइरह्यो !

हुन त सिड्नीमा साथीहरूलाई मैले पनि भाडा सेयर गर्छु भनेको थिएँ । उनीहरूको जमात धेरै भएकोले पर्दैन भनेका थिए । मैले घरधनी पिटरलाई फोन गरेर केही समयको लागि नेपाल फर्कनुपर्ने मेरो स्थितिको बारेमा बताएँ । मेरो कुराले ऊ एक छिन हडबडायो । ऊ भाडा खाने घरधनी भए पनि मलाई निकै माया गथ्र्यो । उसले सोध्यो—

“तँ त परिवार ल्याउने भन्दै थिइस् । उल्टै तेरो कोर्स नै पूरा नगरी तँ नेपाल फर्किन लागेको ?”

मैले भने— “प्राविधिक कारणले गर्दा म अहिले नेपाल फर्किन्छु र तीन महिनापछि म फेरि अस्टे«लिया आउँछु !”

मैले नेपाल फर्किन लागेको कुरा उसलाई सुनाउनुको मतलब उसले बुझिहाल्यो । टिनान्ट (भाडामा बस्ने व्यक्ति) ले सम्झौतापत्रमा उल्लेख गरेको समय अगावै आपूm बसेको कोठा छोड्न खोज्दा घरधनीले मानेको खण्डमा मात्र रियलस्टेटले बोन्ड बापत राखेको डिपोजिट रकम फिर्ता दिने प्रचलन थियो । उसले नाइँ भनेको भए मेरो केही जोर चल्नेवाला थिएन तर टाई र जुत्ता कहिले नलाए पनि टाई र जुत्ता लगाउने ती कथित भद्र भलाद्मी ‘अजी’ (अस्ट्रेलियनलाई यसो पनि भनिन्छ) भन्दा पिटर भद्र रहेछ । मलाई मर्का पर्ला भनेर बोन्ड फिर्ता गर्ने विषयमा ऊ सहमत भयो । साधारणतया कोठा भाडामा लिँदा न्यूनतम छ महिनाका लागि लिनुपर्ने प्रचलनअनुसार मैले छ महिनाको लागि सम्झौता गरेको थिएँ । मैले भाडा तिर्न थालेको तीन महिना मात्र भएको थियो । यसरी तीन महिना अघि नै कोठा छोड्दा सामान्य हिसावमा प्रति हप्ता १५५ को दरले पिटरलाई झन्डै एक हजार आठ सय साठी डलर घाटा हुनेवाला थियो तर पनि खुसी भएर उस्ले बोन्ड फिर्ता लिने कागजमा सही गरि दियो र ‘बेस्ट अफ लक’ पनि भन्यो ।

मैले नेपाली साथीहरूलाई तीन महिनाका लागि नेपाल फर्कने कुरो गरेँ । त्यतिन्जेल सिड्नीमा नेपाली नयाँ वर्षको रौनक शनैःशनैः बढिसकेको थियो । त्यतिखेरसम्म ससेक्स स्ट्रिटको अलावा स्टे«थफिल्ड, एसफिल्ड र हस्र्टभिलका मित्र भाइहरूसँग पनि घनिष्ठता बढिसकेको थियो । म नेपाल फर्किने दिनको अघिल्लो साँझ सबै साथीहरू मिलेर सिड्नीको सरीहिल्सस्थित ‘हाउस अफ क्याटम्यान्डू’ नामको नेपाली रेस्टुराँमा नयाँ वर्षको रमाइलो मनाउने निधो भए अनुसार हामी सबै जना फेस्टिभ मुडमा थियौँँ । रेस्टुराँ सञ्चालक पुरन सायमी दाइ निकै मिलनसार र भद्र हुनुहुँदो रहेछ । उहाँ स्वयं पनि कार्यक्रममा सक्रिय रूपमा सहभागी हुनुभयो । मलाई त के थियो र तीन महिनाको लागि टुँडीखेलमा खुला छोडिएको राँगो बराबर थिएँ ! हामीले खुब रमाइलो ग¥यौँ । रमाइलो गर्ने सिलसिलामा हामी समूह समूहमा बाँडिएर रेस्टुराँभित्र, बाहिर र फुटपाथसम्म छरियौँ । त्यतिखेर नो मर्सी ब्यान्डको ‘ह्वेर डु यु गो माई लभ्ली, आइ वान्टु नो माइ लभ्ली’ भन्ने गीत सिड्नीमा निकै चर्चित थियो । सूराको सुरमा हामी छेउ फुटपाथ भएर आउने जाने महिलातिर हेरेर हामीले ‘ह्वेर डु यु गो माई लभ्ली !’ भनेर गाउँदा ‘अब्जेक्सन’ गर्छन् कि भन्ने डर त थियो तर उनीहरू हाँसेर गएपछि हामी दङ्ग पथ्र्यौं । पुरन दाइ मसँग निकै प्रभावित हुनुभएछ । उहाँ क्षेणभरमै आत्मीय हुनुभयो र भन्नुभयो—

“नेपालबाट फर्केपछि सिड्नीमै पढ्ने व्यवस्था मिलाए हुन्छ नि, मैले सक्ने हेल्प म गर्न तयार छु ! अहिले समय छैन, उताबाट फर्केपछि म तिमीलाई मेरो घर पनि देखाउन लैजान्छु ।”

मैले भनेँ— “धेरै धन्यवाद दाइ, यति भन्दिनुभो !”

हामी त्यहाँबाट छुट्ने बेला रात राम्रै छिप्पिसकेको थियो ।

भोलिपल्ट अपराह्नतिर सामान सहितको लगेज ठिकठाक गरेर म तयार भएँ । बेलुकी सायद आठ बजेको फ्लाइट थियो । प्रणय भाइले ६ बज्दा नबज्दै गाडीबाट सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रप गरिदिनुभयो । डिपार्चर लाउन्ज छिरेर लगेज चेक गराउन खोज्दा त फ्लाइट नभएको जानकारी पाएँ । कुरो सुन्दा म त झसङ्ग भएँ ! कतै रकहेम्प्टन जाने बेला जस्तै प्लेन उडिसकेको त हैन भन्ने शङ्का पनि लाग्यो ! तर होइन रहेछ । भारतीय पाइलट एसोसियसनले भारतको आकाश माथिबाट कुनै पनि जहाज उड्न नदिने चेतावनीसहित हडताल गरेको कारण उडान रद्द भएको रहेछ । सिङ्गापुर एअरलाइन्सले उपलब्ध गराएको लिमोजिन (बस) चढेर म होटल ‘हिलटन’ गएँ जहाँ त्यो रातको बसोबासको व्यवस्था एअरलाइन्सले मिलाएको थियो । साथमा पाँच मिनेटसम्म अन्तर्राष्ट्रिय कल गर्ने सुविधाको स्लिप पनि पाएँ । कोठामा पुगिसकेपछि धेरै वेर एक्लै बसिरहन अधैर्य भयो । हुन त कोठैमा बसेर फ्रिजमा सजाइएको ‘मिनिबार’ अनि ‘पे च्यानल (एडल्ट मूभी) टीभी’को सुविधा मजाले उपभोग गर्न पाइन्थ्यो तर आफ्नै खर्चमा ! त्यो साह्रै महँगो थियो । मैले नेपालमा आफ्नो परिवारलाई फोन गरिसकेपछि सिड्नीका साथीहरूलाई पनि फ्लाइट क्यान्सिल भएको खबर गरेँ । खबर गरेको चालीस पचास मिनेटभित्र प्रणय र प्रमेन्द्र भाइ होटलमै आइपुगे । उनीहरूको साथमा अस्टे«लियामा सर्वाधिक लोकप्रिय भिक्टोरिया बिटर बियरको झोला पनि थियो । फाइभ स्टार होटलको सुविधा उपभोग गर्ने भनेर दुबै जना हत्त न पत्त बाथरुम छिरेर सावर लिन लागे । म बियर पिउन थालेँ । बाथरुमबाट उनीहरू दुवै बाथरोबमै निस्के र फोटो खिचाए । अनि त्यहाँ भएका लजिस्टिकहरूको एक एक छान मार्न थाले । उनीहरूले होटलको खाना पनि चाख्ने भनेपछि मैले रिसेप्सनमा फोन गरेर खानाको मात्र बढाइ दिन भने ।

निकै समयको व्यग्र प्रतीक्षापछि खाना आइपुग्यो । होटलले खानाको मात्रा के बढाउँथ्यो साला ! एक डल्लो भात, उसिनेको साग, एकटुक्रा पाउरोटी, दुई सानो पोका बटर, एक पिस चिकन र ३० एमएल जति दाल थियो । एक छिन तीनै जना फाइभ स्टार होटलको खाना देखेर मज्जाले हाँस्यौँ र पछि त्यही खाना बाँडेर खायौँ । साथीहरू रातको दस बजेतिर हिँडे । मलाई भने भोलिपल्ट बिहानै कोठा छोड्नुपर्ने थियो ।

बिहान चाँडै निद्रा खुल्यो । नुवाइ–धुवाइ सकिएपछि बिद्युतीय जगमा पानी तताएँ र त्यहाँ उपलब्ध चिया ब्याग र चिनीको पोकाको साथमा एक कप दरो चिया पिएपछि लगेज लिएर ६ बजे नै म चेकिङ काउन्टर पुगेँ । संसारको जुनसुकै कुनामा किन नहोस् होटलको चलन अनुसार काउन्टरमा बस्नेले कमसेकम ‘गुड मर्निङ्ग सर !’ भनेर एउटा औपचारिकता पूरा गर्नुपर्ने थियो तर त्यहाँ बस्ने महाशय हेर्दा कंस जस्तै लाग्थ्यो । त्यो मोरोले त्यस्तो केही नभनी उल्टै सोध्यो—

“तैँले कोठाको मिनिबार प्रयोग गरेको छ ?”

मलाई झनक्क रिस उठिसकेको थियो । कम्प्युटराइज प्रणालीको कारण यदि केही सामान प्रयोग गरिहालेको भए पनि त्यो रिसेप्सनबाटै चेक गर्न सकिन्थ्यो । तैपनि नम्र भएर मैले ‘छैन’ भने । वास्तवमा साथीहरू लगायत मैले पनि केही सामान यताउति गरेको थिएन । तर पनि उसले मलाई होटलबाट सितिमिति छोड्न नचाहिरहे जस्तो लाग्यो । उसले बिलकुलै धक नमानी ‘तेरो नाममा फोनको बिल छ’ भन्यो । मलाई त एकै झाप्पुमा त्यो मोरोको इहलीला समाप्त पारिदिउँ जस्तो लागेको थियो ! म नेपाल फर्कदै थिएँ– त्यसैले सम्हालिएँ । मलाई सिङ्गापुर एअरलाइन्सले पाँच मिनट अन्तर्राष्ट्रिय कल गर्ने सुविधा दिएको स्लिप देखाएपछि उसले ‘सरी’ भन्नेसम्म पनि सौहार्दता देखाएन । अनुहारतिर हेर्दै नेहरी चेक आउट गरिदियो । यसरी अस्ट्रेलियाप्रति वितृष्णाका थपिँदो चरणहरू पार गर्दै म सिड्नीबाट सिङ्गापुर–बैङ्कक हुँदै १९९७ को अप्रिल १५ का दिन काठमाडौँ आइपुगेँ ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments