‘डा…….र्लिङ……..।’

गाडीबाट ओर्लिनेबित्तिकै पति लामो लेघ्रो तान्दै सास फुस्किने गरी चिच्यायो र बतासिएर कोठाभित्र छि¥यो । ग्वाम्लाङ्ग अँगालोमा बे¥यो र मनकामनाका सुन्तलाको केस्रा चुसेसरि उनका ओठ चुस्न थाल्यो ।

पत्नीले सोध्ने त के ? सोच्ने मौकासम्म पाइनन्, यो असमयको चुम्बन किन र केका लागि ? उनले यस क्रियामा न सहभागिता जनाइन्, न इन्कार नै गरिन् । न उत्सुकता देखाइन्, न अनिच्छुक नै भइन् । पतिको क्रियाकलापमा भाँजो भने हालिनन् ।

पत्नी शिक्षित गृहिणी थिइन् । यस बेला पनि स्वेटर बुन्दै टिभीमा ‘तुम्हारी सुलु’ हेरेर टाइम पास गरिरहेकी थिइन् ।

‘कसरी दिन काट्छेस् ।’ आमा केर्थिन् ।

‘टाइम पास गर्ने साधन के छ ?’ साथीहरूको जिज्ञासा हुन्थ्यो ।

‘बोर लाग्दैन ?’ छिमेकी घोच्थे ।

‘म त एकदमै ‘फिट एन्ड फाइन’ छु ।’ उनको रेडिमेड, एकमुष्ठ जवाफ हुन्थ्यो ।

उनको रेडिमेड जवाफजस्तै उनी साँच्चिकै ‘फिट एन्ड फाइन’ थिइन् त ? यक्ष प्रश्न यही थियो । प्रश्नको जवाफका पाना पल्टाउन उनको जिन्दगीसँग जोडिएको हाम्रो समाजमा विरलै देखिने नितान्त अनौठो र अडवाङ्गे कथा खोतल्नु आवश्यक छ ।

उनकी आमा हालको पतिको घरभित्र नोकर्नी भएर छिरेकी थिइन्, साथमा दूधे बालक लिएर । संयोगले पतिको पनि भर्खरै न्वारान भएको थियो ।

यसैले मालिकको छोरो र नोकर्नीको छोरी एक साथ हुर्के । बढे । त्यति मात्र नभएर मालिक उदार मनका भएकाले एउटै स्कुुलमा पढे ।

यतिसम्म असमान्य केही भएन ।

छोरीको जीउमा जवानीका टुसा पलाउन थालेपछि भने छोराले उनलाई लेडी डायनाभन्दा सुन्दर देख्न थाल्यो । प्यारले डायना नामकरण गरिदियो । बाबुआमासँग उनलाई दुलही बनाइदिन घुक्र्याउन थाल्यो । माग पूरा नभए मेटासिड खाइदिने धम्की दिन थाल्यो । दिनको सत्रपल्ट उनीसँग जीवन साथीको रूपमा स्वीकार गर्ने वाचा गर्न थाल्यो । सास रहुन्जेल धोका नदिने कसम खान थाल्यो ।

साथमा अनौठो तर चट्टाने शर्त के राख्यो भने ‘ब्रह्मनालमा पु¥याउनुअगाडि सम्म तिम्रो शरीरमाथि मेरो र मात्र मेरो स्वामित्व रहनेछ ।’

अनपढ आमाले यस्तो अनपेक्षित प्रस्ताव स्वीकार नगर्ने प्रश्नै भएन, सपनामै नसोचेको घरमा सम्बन्ध जो गाँसिँदै थियो । छोरी जो गाडीमा हुइकिने हुँदै थिई । महलमा जो राज गर्न पाउने भएकी थिई । त्यसैले उनी उसको शर्तभित्रको गुढ रहस्य र यसले भविष्यमा पार्न सक्ने सम्भावित असर खोतल्नपट्टि लाग्दै लागिनन् ।

शिक्षित छोरीले रहस्यका गाँठागुठी पहिल्याउन खोजेको भए हुन्थ्यो । उनी पनि यसमा कमजोर विद्यार्थी ठहरिइन्, गलत उत्तर लेखिसकेपछि टाउको ठोक्ने । सही जवाफ खोज्न लागेको भए सायद…।

रहस्यको पोको खुल्दासम्म समय भन्ने जन्तु धेरै फड्किसकेको थियो । उनी कहिल्यै नफुत्किने जन्जिरमा बाँधिइसकेकी थिइन् ।

साँचो अर्कैको गोजीभित्र भएको जन्जिरमा बाँधिए तापनि, कैदी भए तापनि उनको ‘आमा मन’ त स्वतन्त्र थियो नि, एक दम फुक्का ।

०००

‘उमेर छँदै छ नि । एक दिन उसको मन कसो नफिर्ला । बाह्र वर्षमा खोला त फर्किन्छ भन्छन् ।’ उनको आमा मनले ढाढस दिन्थ्यो ।

हो पनि, उनको उमेरले आमा बन्न छेकबार गरिसकेको थिएन । बारबन्देज लगाइसकेको थिएन । तर हाम्रो समाजको सोच र चिन्तनले यसमा धारिला प्रश्न उठाउन थालिसकेको थियो ।

‘बिहा भएको दश वर्ष भइसक्दा पनि… ।’ जिब्रो पड्काउनेहरू, खासगरी सासूआमा उमेरकाहरूको सङ्ख्या दिनानुदिन बढोत्तरी हुँदै थियो ।

भ्रम नपरोस्, उनको कोख रित्तो हुनुमा उनी बाँझी भएर अथवा पति नपुंशक भएर कदापि होइन । भनिहालियो, यसको मुख्य तगारो पतिदेवको शर्त थियो । ऊ सधैँभरि उनको शरीरमाथि एक्लै रजाइँ गर्न चाहन्थ्यो । यस विषयमा पतिदेवलाई ‘खुस्केट’को उपाधि दिँदा अनुपयुक्त नहोला । ‘साइको’ भन्दा उपयुक्त होला ।

‘कसैले तिमीलाई ‘टच’ मात्र गरोस्, चटक्क हात छिनालिदिन्छु । कसैले तिमीतर्फ हेरोस् मात्र, म झिरले कचक्क आँखा फोडिदिन्छु ।’ उसले उनलाई अन्माउनु अगाडिदेखि नै घोषणा गर्दै आएको थियो ।

‘छोराले बुबु चुसे पनि ? थुतुनो काट्ने ?’ पहिले पहिले उनी जिस्किन्थिन् ।

‘मैले सय पटक दोह¥याइ सकेँ । यो जिस्किने विषय हुँदै होइन ।’ ऊ फनफन गर्दै बाहिरिन्थ्यो र हप्तौँसम्म घुप्प फुलेर बस्थ्यो ।

‘यस्तो सनकीसँग तर्क गर्नु, कोख भर्नलाई झोली फैलाउनु बेकार छ । तर समय कसो नआउला ?’ उनी आफैँलाई थामथुम पार्थिन् । ढाढस दिन्थिन् ।

पर्खिनुको विकल्प पनि थिएन ।

०००

‘आज बढ्तै गयो कि क्या ? ल, ल म तयार भइहाल्छु । डान्सबारतिर त जाने होला नि ।’ उनले उसको अँगालोबाट फुत्किने प्रयत्न गरिन् । सँयद मनमा मधुरो आसाको फिलङ्गो पनि उठेको हुँदो हो– ‘बढ्तै पिएको छ, मेरो अधुरो चाहना पूरा भइहाल्छ कि ? हो न हो, पर्खेको समयको बोलावट पो आएको हो कि ?’

उनले पतिको चेहरा पढ्ने कोसिस गरिन् । उसको चेहरामा कामोत्तेजनाको आागो त दन्किरहेको थियो तर उनले खोजेको ‘चाहना’ नामको बुटो थिएन । ऊ ड्रयर खोतल्दै थियो । सायद हिजो अस्तिको जस्तै ‘साधन’ खोजेको हुनुपथ्र्यो ।

‘आज कतै जाने होइन क्या । रातभरि भरमार माया गर्ने । आइ एम भेरी मच एक्साइटेड ।’ कपडा फुकालेर ऊ आफूलाई तयार बनाउन थाल्यो ।

‘के को खुसीयाली हो यो । करोडको चिट्ठा परेजस्तो छ नि ।’ उनले आँखा झिमिकझिमिक पार्दै आफू पनि उत्तेजित भएको स्वाङ पारिन् । जवाफ अलिकति सकारात्मक आएकोमा उनलाई राहत जस्तो केही भयो । ‘महिनावारी भएको पनि दस दिन मात्र भएको छ । आज त …।’ उनले पनि नाइट गाउन भिर्ने सुरसार गरिन् ।

‘कस्तो साइकोलोजी बुझ्न सकेको ? मानेँ । खुसीले विभोर छु म । साँच्चिकै चिठ्ठा प¥यो, चिठ्ठा । कुइरेले पाँच वर्षे भिसा दियो । अब अमेरिका उड्ने भइयो, बुझ्यौ । यो अभागी देशमा कुनै भविष्य छैन । खाते, हुतिहारा बस्ने देश हो यो । अझ हामी जस्ताले त बस्ने नै होइन ।’ उसले हुन सक्नेसम्म दाह्रा फट्टायो र डगरङ्ग खाटमाथि उत्तानो पल्ट्यो ।

‘किन जानुप¥यो अर्काको देशमा । यहाँ पाइने नमस्कार त्यहाँ पाइँदैन क्यार । फेरि हजुर नभएपछि भोका स्याल, कुकुरले मेरो शरीरमाथि आँखा गाडे भने, कुदृष्टि राखे भने, मेरो सुरक्षा गर्ने कोही हुने छैन । यसमा विचार गरिबक्सेको छ ?’ उनले उसका छातीका रौँ खेलाउँदै अन्तिम अस्त्र फ्याँकिन् ।

तर उनको मनभित्र उठेको खुसीको दियो झ्वाप्प निभेर खरानी भइसकेको थियो ।

‘तिमी जेसुकै भन । आज म तिमीसँग बहस गर्ने मुडमा छैन । तिम्रो शरीर, मेरो शर्त कसैले पनि मलाई बाँध्न सक्दैन । म गएँ भने गएँ ।’ उसले उनलाई अँगालोबाट हटाउँदै चुरोट सल्कायो ।

‘त्यो हजुरको निर्णय हो । उचित वा अनुचित, सही वा गलत जेसुकै होस्, म त्यतापट्टि लाग्दिनँ । म हजुरको अर्धाङ्गिनी भएको नाताले यस खुसियालीमा केही माग गर्ने हक मेरो पनि बन्छ ।’ उनी पनि खाटबाट जुरुक्क उठिन् ।

‘भन न भन । आज म हर माग पूरा गर्न तयार छु ।’ ऊ अझै उत्तेजित देखियो ।

‘बिहे भएको दस वर्षसम्म हजुरले मलाई मेरो आमा बन्ने नैसर्गिक अधिकारबाट वञ्चित गराइबक्सियो । अब हजुर उड्ने नै भएपछि मैले मेरो आमा बन्ने अधिकारमा भोटे ताल्चा लगाउनुपर्ने हुन्छ । फेरि विदेशमा गएको मान्छे, जे पनि हुन सक्छ । अशुभ कुरा त सोच्दिनँ, लामो समयसम्म हजुर नआउन सकिबक्सिन्छ । उतै अर्को घरजम हुन सक्छ । फर्केर आइहाले तापनि मेरो उमेरले नेटो काटिसकेको हुन सक्छ । त्यसैले आज हजुरले अप्राकृतिक चिज लगाउन पाउँदै पाइबक्सिन्न ।

चान्स फ्याक्टर हो, यसबाट पनि मेरो चाहना पूरा नहुन सक्छ । त्यसका लागि… ।’ उनले वाक्य अधुरो छोडिन् ।

‘के गज्याङमज्याङ, अस्पष्ट कुरा गरेको ? खुलस्त नभनेर केको गिदी हल्लाइरहेको ।’ ऊ हल्का ‘इरिटेड’ देखियो ।

‘त्यसका लागि मलाई हजुरको वीर्य चाहिन्छ ।’ उनको स्वरमा याचन नभएर दृढता थियो ।

‘के टाउको दुखाउने विषय उठान गरेको ? यस्तो रमाइलो मुडमा ।’ ऊ जुरुक्क उठ्यो । एक पेग ह्वीस्की बनायो र निट पियो ।

‘म हजुरको वीर्य वीर्यबैङ्कमा राख्छु । केही गरी हजुर आउन ढिला भयो भने वा…।’ उनले उद्देश्य खुलस्त बनाइन् । यसो भनिरहँदा उनको चेहरा निर्विकार थियो ।

‘तिम्रो अनुरोध स्वीकार्छु । तर याद गर, तिम्रो शरीरको साँचो मैसँग रहने छ । यसमा तलमाथि प¥यो भने …।’ उसले फेरि कडा चेतावनी दियो ।

०००

लम्बेतान गलफती, अनमन, ठस्काठस्की, विवादपछि आधा रातमा सहमती भयो अर्थात् उनले पतिदेवलाई मनाएरै छाडिन् । उसले वीर्यदान गरेको सातौँ दिनमा कामेन्द्र अमेरिका उड्यो । अमेरिका उडेको केही समयसम्म उनीहरूको बीचमा च्याट भइरहन्थ्यो । च्याटमा उनले आफ्नो मनको पत्र कमै खोलिन् । उसले नै एकालाप गरिरह्यो ।

‘हाइ डार्लिङ ! हाउ आर यु ? आइ एम फाइन ।’

‘म बसेको ठाउँ अत्यन्त ‘प्यानरोमिक’ छ । तिम्रो गालाभन्दा सुन्दर ।’

‘रमाइलोको त कुरै नगर । मनोरञ्जन भन्छ्यौ भने चाहनु मात्र प¥यो, जे पनि पाइन्छ ।’

‘दिनदिनै मोज हुन्छ । मोज र मात्र मोज हुन्छ ।’

‘हा..हा..हा…हा…।’

‘म त चुत्थो नेपालमा फर्कंदै फर्किन्नँ ।’

प्रत्येक च्याटको अन्तमा ऊ अन्तिम वाक्य दोह¥याएरै छाड्थ्यो । तर यो कहिल्यै सोध्दैनथ्यो कि मैले लगाएको ताल्चा खोल्नुपर्छ पर्दैन ।

पछिल्लो वाक्यले उनलाई पिरोल्नुसम्म पिरोल्थ्यो । तातो भुङ्ग्रोभित्र हात घुसारेझैँ हुन्थ्यो । मनभित्र राँको बल्थ्यो । पोल्नुको कारण अरू थोक नभएर उसले लगाएको ताल्चाको साथमा उनको उकालो चढ्दो उमेर थियो । कामेन्द्रले नेपाल छाड्दा उनी तीस वसन्त पार गर्दै थिइन् । यस वर्ष कामेन्द्रले नेपाल छाडेको पाँच वर्ष पुग्दै थियो । यसको सोझो अर्थ उनी करिब पैँतिसको खुड्किलोमा थिइन् ।

‘कामेन्द्र ! मलाई भने आराम छैन । चैन छैन । मेरो ममत्वले मलाई दिनहुँ धम्क्याइरहेको छ । घुक्र्याइरहेको छ । कायर र कातरको तक्मा लगाइरहको छ । प्याच्च प्याच्च थुकिरहेको छ ।

पतिदेव ! तिमी रत्तीभर नडराऊ । म कुनै हालतमा पनि तिम्रो शर्त उल्लङ्घन गर्ने छैन र नारीजातिको अपमान हुने कुनै आचरण गर्ने छैन । तर म नारी भएकोले आमा बन्ने मेरो प्रकृति प्रदत्त अधिकार कसैले छिन्न सक्दैन । तिमी पनि यो अधिकारबाट बञ्चित गर्न सक्दैनौ । म भोलि नै डाक्टरसँग सल्लाह लिन्छु र तिम्रो कुनै प्रतिक्रिया नलिएरै तिम्रै वीर्यबाट गर्भाधान गर्ने प्रक्रिया थाल्छु । वाई…।’ च्याट सकिँदा रातको अन्तिम प्रहर थियो । उनले मनभित्र उर्लिएको छाल मेसेन्जरमा पोखिन् ।

०००

‘सोचविचार गरी निर्णय लिनुभएको हो ? पति अमेरिकामा छन् भन्नुहुन्छ । इन्टरनेटको जमाना छ । सन्देश पठाउन सेकेन्ड लाग्दैन । घरपरिवार पनि हुनुहुन्छ होला । ल, पति र घरपरिवारले पचाउला रे । समाजलाई कसरी र के जवाफ दिनुहुन्छ ?’ डाक्टरले व्यावहारिक रूपमा अँध्यारो पक्ष देखाउने प्रयास ग¥यो ।

‘कसले के भन्छ ? मलाई सरोकार छैन । मलाई यति मात्र थाहा छ, म आमा बन्नुपर्छ र यो मेरो व्यक्तिगत स्वतन्त्रता हो ।’ उनको स्वरमा हदैसम्मको दृढता थियो ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments