म मान्छे ! मलाई मान्छेको गन्ध मन पर्छ

मान्छे बलेको पनि मन पर्छ, चितामा । हुन पनि हो, मान्छे जल्दाको गन्ध बेग्लै हुन्छ, त्यो गन्धको तुलना, मेरो सोचाइमा अरू कुनै पनि जीवको मासु पोल्दा पनि हुन सक्दैन । त्यसैले म–

त्यसैले म आमाले पख ! पख !! भन्दा भन्दै पनि नटेरी आएँ ।

हाम्रो गाउँकी एउटी बूढीको लास अगिअगि छ, उसका दुई छोरा एक छोरी जिउँदै छन् । छिमेककी बूढी हुँदी उसका शुभचिन्तकहरू अहिले मलामी भेषमा निन्याउरो कवाज खेल्दै पछिपछि छन् । मसानतिर प्रस्थान गरिरहेका यी एकएक मान्छेका अनुहारहरू म आफ्नो दृष्टिले छाम्न थाल्छु र त्यसबाट सारांश निकालेर म स्वयम्सँग बोल्छु “आपूm पनि अनिवार्य लाग्नुपर्ने– बाध्यताको मार्ग अर्थात् प्रत्येकले डढ्नु अथवा गाडिनुपर्ने मसानको पथ पैल्याउन अगि बढिरहेका यी सबै मृत्युका समर्थक मलामीवाद हुन् । कति सजिलो छ यिनीहरूको मौलिक परम्पराले बसालेको बानी ! जिउँदैमा सायदै पाइहोली एक टपरी सिधा कसैको नखुम्चिएको मनबाट– त्यो आज मरेर जाँदै गरेकी बूढीले । “धन्य हो !

यहाँ हरेक अवस्थाले भूमिका निभाइरहेको हुन्छ । हरक्षण अभिनय भइरहेको हुन्छ र दर्शकहरू पनि मनग्गे पाइन्छन्– सानो आँखाबाट विशाल संसारको निरीक्षण गर्नेहरू । त्यस्तै बूढीको लासले कुन्नि कस्तो हो अभिनय ग¥यो, अब उसका प्रिय–अप्रिय दर्शकहरू बोल्न थालेः–

–       च्व च्व ! च्व च्व ! स्वर्गवास होस्

–       राम राम ! वैकुण्ठवास होस्

–       नारायण ! नारायण ! यस्तै हो, कोही अगि, कोही पछि ।

–       सिद्धार्थलाई वुद्ध बनाउने यो पनि एक कारण हो ।

–       ए ! त्यो पो रैछे, ठीकै भो । ! बाँच्नुभन्दा मरेकै जाती । यी छोराहरू हेर न ! अहिले साँखिला भएका ! समयमै आमाको ख्याल गरेकोको भए यस्तो हुन्थ्यो र ! बूढी आमालाई अलपत्र, हरे ! बरु अब त्यो छोरीको पो के खबर हुन हो ?

अरू पनि वरपरबाट शब्दहरू आएका थिए, तर स्पष्ट भएन ।

मलामी हुँदै या मलामीसँगै म मसानमा आइपुगेँ ।

बूढीको मुखमा आगो जेठो छोरोले लगायो । लौ हेर्नाेस् ! कस्तो कस्तो अनौठो छ हाम्रो चलन, अब यसलाई के भन्ने ? जन्म दिने आमाको मुखमा आगो झोस्नु ! कस्तो हृदयविदारक सत्य !

दाउराहरू पड्कन थाले । बूढी बल्न थाली । यसरी ऊ बल्न लागेको मैले अलि टाढाबाट हेर्न मन गरेँ र यो पुलमा आएर बसेँ र नित्य बग्नुका क्रमहरू लिएर पुलमुनिबाट वाग्मती नदी कलकल बग्दै छ । या वाग्मती देखेर मलाई अनायास रिस उठ्यो किनकि हाम्रा प्यारा मान्छेहरूको खरानी बगाउने यो पनि एउटा तुच्छ खोलो हो । बगाउन सक्नुको सट्टा बचाउन सक्ने वरदानले सज्जित भएको भए पनि त यसको मर्यादा माथिल्लो पवित्रताको सोपानमा चम्किने थियो नि ! अझ ’अमृत–गङ्गा’ हुने थियो होला नि !

चिता बल्दै छ, म हेर्दै छु । तर यसबेला मेरो हेराइको आयतन केवल चिता, चिताबाट उडेको धुवाँ र चिता रहेको त्यो ढुङ्गाको भकारीभन्दा परतिर छैन ।

दाउरासँगै बूढीका अङ्गप्रत्यङ्गहरू बल्दै छन् । कुनैबेला भारी बोक्दा बोक्दा ठेला उठेको उसको ढाड अब बल्यो, बल्ल सदाको लागि सन्चो भयो । कुनै बेला उकाली, ओराली गर्दा कहिले आराम लिन नपाएको खुट्टा अब सल्कियो, बल्ल हिँडाइको गति रोकियो, सदाको लागि थकाइ पाई । अनि कुनै बेला आकर्षणको केन्द्र बनेको र पछि उसको पतिका लागि नरम चीज बनेको अनि त्यसभन्दा पनि पछि दुई छोरा र एक छोरीले चुस्दाचुस्दा लाम्टो परेका बूढीका स्तनहरू अब डढे, बल्ल मुण्टा टट्टाउनुबाट मुक्त भई । एवम्रीत ऊ सल्किँदै सिद्धिँदै गई ।

म एक चित्तले त्यो चितामाथि फुसफुस सलबलाइरहेको धुवाँमा ध्यानमग्न भएर हेर्दैछु । ”ओ हो ! त्यो के ? आमै त्यो छाया त एउटी बिलकुल निर्वस्त्र आइमाई पो हो, ऊ किन त्यो धुवाँमा तलमाथि पौडदै छ ? के मलाई छकाएको त होइन ? मैले आँखा मिचेर हेरेँ । अँ हँ ! होइन यो आइमाई आकृति त यस्तो पो छ । क्या हो यो ? झन् ऊ त मुस्काएर नृत्य पो गर्न थाली । कस्तो बनोट मिलेको शरीर नि ! आइमाई हुनु त यस्तो पो हुनु । म विह्वल भएँ, म पक्क भएँ, म आफैसँग अचम्म भएँ । त्यो केशराशि झन् कस्तो ? मलाई त आफ्नो सर्वाङ्गभरि स्पर्श गराउन लोभ लाग्यो । साँच्चै ती सुरिला औँलाहरूले हावाको माध्यम लिएर मलाई कोट्याएको त होइन ? अन्त्यमा त्यो आकृतिले मलाई एकचोटि मुस्कानको फित्ताले जिस्काई । मैले लाजको अनुभव गरेँ र आफ्नै ओठ किचिक्क टोकेंँ ।

तत्पश्चात् शिर झुकाएर अभिवादन गर्दै पिँडुलासम्म लत्रेको आफ्नो कपाललाई घुमाएर सर्लक्क छाती भएतिर ढाकी र पुनः एकचोटि चितातिर पाउ बिसाई । अनि तुरुन्तै धुवाँको एक कालो चक्कासँग आकाशतिर उडी । त्यो अनौठी आइमाई हराई । मैले टोलाएर सोचेँ, यो कस्तो संयोग र कस्तो वियोग ?

बूढीको चित्ता निख्रिसकेछ ।

म पुलबाट र्ओिर्लएँ, एकोहोरिएछु ।

बूढीको छोरीको वेदना भरिएको आँसुले मुछिएको “दाजु, जाउँ… जाने होइन ?” भन्ने वाक्यले पो मलाई फेरि पूर्ण होसमा फित्र्यायो । मैले बोल्नै सकिनँ । मनमनै सोचे– आफ्ना दाजुहरूबाट हेलाँ पाएकी यो केटीले आमाको शरीर भष्म भएपछि के मबाट सहारा र ममता पाउने आशाले ‘“दाजु जाउँ… ” भनेकी त होइन ! कठै बिचरी ।

चावहिल, काठमाडौँ

मो. ९८४१६२६६२६

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments