उहिलेको कथामा धोबीले सीताको बारेमा भनेको कुरा गुप्तचारबाट सुनेर रामले गर्भवती सीतालाई परित्याग गरेका थिए । दुइटा जुम्ल्याहा छोरा पाएपछि सीताले भूमिप्रवेश गरेर आत्महत्या गरेकी थिइन् ।

अहिलेका राम धोबीसँग च्याट गर्दै छन् ।

राम ः धोबीजी, के छ हालखबर ? भाउजुलाई सञ्चै छ ?

धोबी ः त्यसको कुरा नगर्नुस् । त्यसलाई मैले घरबाट निकालिदिएँ ।

राम ः किन ? के भयो ?

धोबी ः म विदेश गएको बेलामा घरमा एक्लै बस्न डर लाग्यो भनेर दिदीभिनाजुकहाँ बस्न गइछे । त्यस्तीलाई मैले कसरी घरमा ल्याउने ? त्यसको पेटको बच्चा मेरै हो भन्ने के ग्यारेन्टी ?

राम ः त्यो कुनै समस्या होइन । टेस्ट गरे त थाहा भइहाल्छ नि ।

धोबी ः के टेस्ट, अग्निपरीक्षा ?

राम ः अग्निपरीक्षा त उहिलेको कुरा हो । अहिले त वैज्ञानिक तरिका आएको छ । डीएनए टेस्ट गरे थाहा भइहाल्छ ।

धोबी ः हे भगवान् ! त्यसो भए सीता महारानीलाई किन वनबास पठाउनु भएको त ?

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments