आरम्भ

श्रव्यकाव्यको आरम्भपछिको विधा नाटक हो भन्ने धेरै विद्वान्हरूको मत छ । हुन पनि भाषाको आरम्भभन्दा पहिले नै मानवले बोल्न नजान्दा नै पनि सङ्केतका रूपमा हात, खुट्टा, मुख, आँखाको हाउभाउबाट आफ्नो भावना व्यक्त गरे भनेर मान्नै पर्छ । मानव जन्मजात अनुकरणशील प्राणी हो । नृत्य र नाटक पनि अनुकरणकै एक रुप हो तर लेख्य रूपमा भने नाटक पूर्व र पश्चिम दुवै धरातलमा काव्य, महकाव्य, गीतिकाव्य, श्रव्यकाव्यभन्दा पछाडि नै देखापर्छ ।

पूर्वीय साहित्य फाँटमा प्राचीनकालमै चीनमा नाटकको उदय भएको विश्वास गरिन्छ । इ.पू. ५५१–४७८ तिरै कन्फ्यूसियसको समयमा चीनमा नाटक अभिनित भएको सङ्केत भेटिन्छ भने यसको परिष्कृत रूप इ.पू. ५८० पछि भएको मानिन्छ । भारतवर्षमा पाणिनीको संस्कृतभाषाको सुसंस्कृत–व्याकरणको उद्भवकाल इ.पू. ५०० अगाडि नै इ.पू. ६०० तिर भएको देखिन्छ । हुन पनि हालसम्म प्राप्त सबैभन्दा पुरानो ठनिएको भासका पाँच एकाङ्की र नौ नाटकहरूको भाषा संस्कृतको पाणिनीय व्याकरणभन्दा अगाडिकै अपरिष्कृत संस्कृत भाषाको समयको हो भन्ने कुरामा कसैको मतभेद देखिन्न ।

विक्रम, शक, गुप्त, नन्द, शुद्रक र युधिष्ठिर आदि ज्ञात संवत्लाई मात्र जोड्दा पनि महाभारतकाल नै करिब बत्तीस सय वर्ष अगाडिको हो भन्ने स्पष्ट भएकै कुरा हो । संस्कृत भाषाको लगभग पाँच हजार वर्षको लामो कालखण्डका लिखित साक्ष्यका रूपमा सत्ययुगको शुक्रनीति र मनुस्मृति, त्रेताको रामायण र योग वाशिष्ठ अनि द्वापरका लेख्य वेद, अठार पुराण र उपपुराण, विभिन्न कालका ११८० उपनिषद् (हाल प्राप्त १८८), भास (इ.पू. ६०० लगभग) देखि विक्रमको उन्नाइसौँ शताब्दीका हाम्रा छविलाल सूरीसम्मका सयौँ संस्कृत ग्रन्थलाई हेर्दा पनि नाटकको आरम्भ यही काल र समयमा भयो भनेर किटान गर्न सकिएको छैन । अझै भविष्यमा नयाँ तथ्य दिने पुराना ग्रन्थ नभेटिएलान् भनेर भन्न सकिने अवस्था पनि छैन ।

जे भए पनि अहिलेसम्म पूर्व र पश्चिम दुवैतिरका विद्वान्ले निरुपण गरेका आधारमा वेद नै सर्वप्राचीन ग्रन्थ हो । वेदमा सूर्य, अग्नि, इन्द्र, मरूत्, उषाहरूको स्तुति गान, यम–यमी, पुरूरवा–उर्वसी आदिका कथन र उपकथन अनि वशिष्ठ–विश्वामित्र आदि अनेक ऋषि वा राजाहरूका आख्यान आदिमा नाटकका लागि आवश्यक तŒव गीत, संवाद, आख्यान र अभिनयको पाइनुको कारण नै नाटकलाई पञ्चम वेद भनिएको हुनुपर्छ र यसरी नाटकलाई पञ्चम वेद भनिनुका कारणले नाटक सर्वप्राचीन विधा हो भन्ने पनि बुझिन्छ ।

अर्कोतिर यजुर्वेदमा नटको उल्लेख पाइनु, रामायणकालमै रामका सामु लवकुशले हाउभाउसहित गीत गाएको प्रशङ्गले कथाका रूपमा प्रवेश पाउनुले पनि लेख्य नाट्यभन्दा धेरै पहिले मौखिक रूपमा गीतिकथा, गीतिकाव्यका रूपमा अभिनयका साथ मानवक्रीडाहरू प्रस्तुत भएको कथाहरू रामायण, महाभारतलगायत अन्य पुराण, उपपुराणहरूमा प्रसङ्ग आउनुबाट पनि नाटक सर्वप्राचीन विधा हो भन्ने कुराको प्रमाण मिल्दछ । इ.पू. ६०० भन्दा अगाडिको भनेर मानिएको हरिवंश पुराणमा ‘रम्भा भिसार’ नाटक प्रदर्शनको सन्दर्भ भेटिनुले पनि यता नाटकको आरम्भ इ.पू. ७०० भन्दा पनि अगाडि नै भएको हो भन्ने थप पुष्टि मिल्छ तर नाटकको सैद्धान्तिक शास्त्र भने अहिलेसम्म इ.पू. १०० का भरत मुनिको नाट्यशास्त्र पाइएको छ । यहाँ सिद्धान्तले सिर्जना जन्माउने होइन बरु सिर्जनाले सिद्धान्तको प्रतिपादन गर्छ भन्ने कुरा पनि भुल्नुहुँदैन ।

उता पश्चिमी साहित्यको जग ग्रीसेली भाषा, साहित्य, संस्कृति नै हो भन्नेमा दुई मत छैन । ग्रीसेली प्रथम लेखक होमर काल इ.पू. ७००–७५० र उनको र काव्य ‘इलियड‘मा गरिएको युद्ध काल इ.पू. ६५०–६८० र ‘ओडिसी’को त्यसपछिको भनेर मानिएको सर्वविदितै कुरा भए पनि इ.पू. ६०० मै थेस्पीसले ‘बाख्री गीत’ नामक गीति नाटक लेखेर खेलेर गाउँ गाउँमा देखाएको र ग्रीक साहित्यले थेस्पीसलाई पहिलो नाटककार, अभिनयकर्ता स्वीकार गरेको देखिन्छ । इ.पू. ४५०–५५० का बीच एस्कालस, सोफोक्लिज, एरोस्टोफेनिज आदिले ग्रीक भाषामा नाटक लेखेको र प्रदर्शन गरेको पाइन्छ भने इ.पू. ३८४–३२२ एरिष्टोटलले काव्यशास्त्र लेखेको भेटिन्छ । ग्रीसेली साहित्य युरोपभर छरिएपछि युरोपका विभिन्न देशहरूमा आआफ्नै भाषामा विकास हुँदै परिष्कारवादी युग, पुनर्जागरण युग, नव परिष्कारवादी युग, स्वच्छन्दवादी युग, आधुनिक युग गरी पाँच चरणमा विभाजन गरिए ।

पूर्वीय नाटकमा संयोगान्त र पश्चिमी नाटकमा वियोगान्त परम्परालाई हेर्दा यी दुईतिर विकसित प्रचलन एक अर्कोको अनुकरण नभई आआफ्नै धरातलमा विकसित भएका हुन् भन्नै पर्छ । संस्कृत साहित्य नाटकमा वियोगन्तलाई वर्जित गरी संयोगान्त (सुखान्त) लाई स्वीकार गर्दछ भने पश्चिमी साहित्य वियोगान्त (दुःखान्त) र त्रासदीलाई स्वीकार गरी संयेगान्तलाई वर्जित गर्दछ । पूर्वीय नाटकले रसलाई महŒव दिन्छ भने पश्चिमी नाटकले अभिनयलाई । संस्कृत र ग्रीसेली नाटकहरूमा रस, शैली, भाव चेतना, उद्देश्य, दृष्टिकोण पनि विलकुल भिन्न भावभूमिमा विकसित थिए । दुवैतिर विकास भएको रङ्गमञ्चको व्याख्यान, आकारप्रकार, सजावटमा पनि निकै भिन्नता रहेको पाइन्छ ।

 

पूर्वीय मान्यतामा नाटकको भेद

रुपक अर्थात् नाटकलाई नाट्यशास्त्र र पूर्वी मीमांसकहरूले रुपक र उप रुपक भनी दुई वर्गमा विभाजित गरेका छन् ।

क) रुपक ः यस वर्गमा नाटक, प्रकरण, भाण, व्यायोग, समवकार, डिम, इहामृत, अङ्क, वीथी, प्रहसन आदि दस वर्गमा विभाजन गरिएको पाइन्छ ।

ख) उप रुपक ः यस वर्गमा नाटिका, त्रोटक, गोष्ठी, सट्टक, नाट्यरासक, प्रस्थानक, उल्लाप्य, काव्य, प्रेङ्खण, रसक, संलाप, श्रीगदित, शिल्पक, विलाशिका, दुर्मल्लिक, प्रकरणिका, हल्लीस, भाणिका आदि अठार वर्गमा विभाजन गरिएको पाइन्छ ।

 

पश्चिमी मान्यतामा नाटकको भेद

पश्चिमी खासगरी ग्रीसेली र पछि अङ्ग्रेजी नाटकमा व्याप्त परम्पराअनुसार नाटकको स्वरूप मूलरूपमा अभिनय काव्य नै हो । पश्चिमी साहित्यका शास्त्र र शास्त्र निर्माताहरूले नाटकलाई कमेडी र ट्रेजेडी अर्थात् सुखान्त र दुःखान्त दुई वर्गमा विभाजन गरेको पाइन्छ । यसको उपभेदका रूपमा नृत्यनाटक, गीतिनाटक र सङ्गीतनाटक भनी तीन वर्गमा गरिएको पाइन्छ ।

अरिस्टोटलको काव्यशास्त्रका अनुसार नै पश्चिममा नाट्य परम्परा विकास भएकाले दुःखान्त अर्थात् वियोगान्त नाटकको प्रचलन पश्चिमी नाटकमा स्थापित भएको छ । स्वच्छन्दवादी धारको विकासपछि पश्चिमी नाटकहरूमा पनि संयोगान्त अर्थात् सुखान्त नाटकहरू लेखिए । पश्चिममा पूर्वमा जस्तो नाटकको भेद उपभेदको व्याख्या विस्तार भने भएको पाइन्न ।

 

नेपाली नाटकको आरम्भ र विकासक्रम

नेपाली नाटक क्षेत्र संस्कृत साहित्यबाट प्रभावित भई आरम्भ भएको भए तापनि पछिल्लो समय पश्चिमी नाटकहरूको प्रभाावमा रुमलिँदै मिश्रित बन्दै अगाडि बढेको पाइन्छ । नेपाली नाटक परम्परालाई पूर्ववर्ती विद्वान्हरूले प्राथमिक, माध्यमिक र आधुनिक कालमा विभाजित गरेका छन् ।

क) प्राथमिक काल

बोली वा सम्वाद नभएको र शब्द, बोली वा संवाद भएको दुई थरी नृत्य काठमाडौँ उपत्यकामा प्राचीनकालमा प्रचलित थिए । देशका विभिन्न अन्य स्थानहरूमा पनि लोक जीवनमा आधारित अनेक नृत्य र हावभावसहितको लोकगीतहरू पनि प्रचलित थिए । आरम्भमा नेपाली नाटकको मूल धरातल संस्कृत साहित्य र त्यसका नाटकहरू नै हुन् । ‘त्रिपुरादह’ एक अङ्के नाटक संस्कृत भाषामा परापूर्वकालमै यस क्षेत्रमा लेखिएको र प्रदर्शित भएको उल्लेख पनि पाइन्छ । पछि १३७५ विसं.मा जयानन्दको समयमा ‘नागानन्द’ र १४३७ जयस्थिति मल्लको समयमा ‘भैरवानन्द’ अनि १६१३–१६३७ जगज्योति मल्लको समयमा ‘हरगौरी विवाह’ नाटकहरू संस्कृत भाषामै काठमाडौँ उपत्यकाभित्र लिपिबद्ध भएको कुरा उल्लेख पाइन्छ । मल्ल कालमै मैथिली भाषामा नाटकहरू लेखिएको सन्दर्भहरू पनि पाइन्छन् । त्यसकालमा जात्रा पर्वहरूमा अभिनयजनित भावभङ्गीमा हुने गरिने अन्य प्रस्तुति पनि नाटककै स्वरुप हुन् । सिद्दि मल्लको पालामा कृष्ण मन्दिरमा देखाइने गीत, सम्वाद र अभिनयको मिश्रित स्वरूपमा ‘नृसिंह’ नाटककै रुप हो भन्नैपर्छ ।

१९४९ रणबहादुर शाहको पालामा शक्तिवल्लभ अज्र्यालले ‘जय रत्नाकर’ र १८५५ मा ‘हास्यकदम्ब’ नाटक लेखेको प्रमाण पनि यद्यपि छँदै छ । ‘हास्यकदम्ब’ नाटक संस्कृत र नेपाली दुवै भाषामा उपलब्ध छ । हालसम्म नेपाली भाषामा प्राप्त सबैभन्दा पुरानो नाटक यही हो । यसपछि भीमसेन थापाका पालामा भवानीदत्त पाण्डेले विशाखदत्तको ‘मुद्राराक्षस’ नेपालीमा अनुवाद गरेको देखिन्छ ।

ख) माध्यमिक काल

१९४४ देखि १९४८ सम्मको समयमा मोतिराम भट्टले ‘पद्मावती’, ‘प्रियदर्शीका’ र शाकुन्तल’ अनुवाद गरे । नेपाली नाटकका शिखर पुरुष बालकृष्ण समका अनुसार शाकुन्तल नै नेपाली भाषाको मञ्चन भएको पहिलो नाटक हो । नाटकको अनुवाद परम्परालाई शम्भुप्रसाद ढुङ्गेल, पहलमान सिहं स्वाँर, केशरशमशेर आदिले अगाडि बढएको पाइन्छ । केशरशमशेरले कलकत्ताबाट फर्केपछि आफ्नो दरबारमा नाट्यशाला बनाएर नाटकहरू मञ्चन गराए । त्यसपछि दरबारी भाइ भारदार र धनीहरूमा रङ्गमञ्च बनाउने होडै चलेको पनि पाइन्छ । यी नाट्यशालहरूमा पहिले उर्दू र हिन्दी नाटकहरू मञ्चल भएको र पछि तिनमा नेपाली गीत र भजनहरू मिश्रण हुँदै गएको देखिन्छ ।

पछि केदार शमसेरले हिन्दीमा गद्य र नेपालीमा पद्य राखेर नाटक लेखेका थिए र पछि यिनैले १९७० मा नेपालीमा ‘वीर ध्रुव चरित्र’ नाटक लेखेर नेपाली नाटकको परम्परा जोगाएको देखिन्छ । यसपछि संस्कृतका नाटकहरू नेपालीमा अनुवाद गरेर मञ्चन गर्ने चलन बढेको पाइन्छ । हुन त १९६० मा आख्यान मिश्रित नाटकको स्वरूपमा ‘ज्ञानभङ्ग तरङ्गिनी’ नामक नाटक प्रकाशित भए पनि यो पूर्णरुपले नाटकीय स्वरूपमा नभएको कुरा विभिन्न विद्वान्ले स्वीकारेको अवस्थामा पनि छ ।

अङ्ग्रेजी नाटककार शेक्सपियरको ‘ह्यामलेट’को कथाबाट पूर्ण प्रभावित भए तापनि १९९२ मा प्रकाशित पहलमान सिहं स्वाँरको ‘अटलबहादुर’ नेपाली जनजीवनको परिवेशलाई आफ्नै मौलिक शैलीमा उठाउन र प्रस्तुतिका कारण सफल पहिलो मौलिक नाटक मानिन्छ । यसका अतिरिक्त पहलमानका ‘विष्णुमाया नाटिका’, ‘विमलादेवी’ र ‘लालुभागा’ मौलिक नाटक पनि लेखे । यिनले संस्कृत नाटकको संयोगान्त परम्परामा ग्रीसेली (पश्चिमी) वियोगान्त परम्परालाई मिश्रण गरेर नेपाली नाटक फाँटलाई आधुनिक युगमा प्रवेश गराएका पनि हुन् ।

ग) आधुनिक काल (नेपाली नाटकको उत्कर्ष)

१९८६ मा बालकृष्ण समको ‘मुटुको व्यथा’ले नेपाली नाटकको आधुनिक काल आरम्भ भएको हो भन्ने धेरै विद्वान्हरूको मत पाइन्छ । पहलमान सिंह स्वाँरबाट आरम्भ भएको नाट्य परम्परालाई अँगालेर केही सुखान्त र धेरै दुःखान्तका लगभग सत्तरी नाटक र एकङ्कीहरू लेखे समले । यसैकालमा देखा परे लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, भीमनिधि तिवारी, तुलसीबहादुर क्षेत्री, रूद्रराज पाण्डे, गोपालप्रसाद रिमाल, गोविन्द मल्ल गोठाले, विजय मल्ल, ईश्वर वल्लभ, वसन्तकुमार शर्मा नेपाल, हृदयचन्द्र सिंह प्रधान, मोहनराज शर्मा, मनबहादुर मुखिया, वाशु पासा, रमेश विकल, ध्रुवचन्द गौतम, अशेष मल्ल, सरूभक्त, गोपाल पराजुली, शिव अधिकारी आदिले नेपाली नाटकको आधुनिक काललाई आदर्शमुखी विचारधाराबाट बनाउँदै भत्काउँदै चढाउँदै यथार्थवादी, प्रयोगवादी, प्रगतिवादी, मनोविष्लेषणवादी, यौनवादी, अमूर्तवादी आदि अनेक धारामा डो¥याए र यो काल नै नेपाली नाटकको उत्कर्ष काल हो भन्ने साबित पनि गरे ।

 

अन्तमा,

यसरी अनुवाद परम्परा समेतलाई जीवित राख्दै पूर्वीय नाट्य परम्पराले दिएको संयोगान्त (सुखान्त) नाटक र पश्चिमी नाट्य परम्पराले दिएको वियोगान्त (दुःखान्त) परम्परालाई आंशिक वा कहिले यताको र कहिले उताको अँगाल्दै नेपाली नाटकले मूल रूपमा आदर्शवादी, यथार्थवादी, प्रयोगवादी, मनोवैज्ञानिक विश्लेषण, प्रतीकात्मक र प्रहसनका स्वरूपमा गीतिनाटक, नृत्यनाटक र ध्वनिनाटकहरू लेखिए ।

वास्तवमै भन्नुपर्दा आधुनिक कालको लगभग पचास वर्ष नेपाली नाटकको उत्कर्ष काल देखा परेको छ । बालकृष्ण समले ठड्याएको नाटकको उत्कर्षता समको अवसानपछि अन्यबाट स्थापितको त के कुरा नाटक नामको साहित्य नै पनि जोगाउन हम्मे पर्न थालेको कुरा आज टड्कारो रूपले स्वीकार्नुपर्ने भएको छ । लेखन सङ्ख्याको हिसाबमा समपछि भीमनिधि तिवारी मात्र एक नाटककार देखापरेका छन् भने नाटकको मर्मलाई जीवित राख्ने र नेपाली नाटकको धारा परिवर्तन गर्नमा गोपालप्रसाद रिमाल, विजय मल्ल र मोहनराज शर्मा, गोविन्द मल्ल गोठाले र सरूभक्त सफल देखिन्छन् ।

लगभग विगत तीस वर्षमा एक पनि उल्लेख्य योग्य नाटक नलेखिनु, नेपाली साहित्यको फाँटमा लेखन र प्रकाशनको साक्ष्य गणितीय हिसाबमा नाटकको लेखन प्रकाशन अति नै न्यून देखिनु, लेखिएका कतिपय नाटक टिभी र फिल्मका लागि सम्वाद लेखिएजस्तो मात्र लेखिनु नै नेपाली नाटकको आजको अवस्था देखापरेको छ । तीतोसँग भन्नुपर्दा नेपाली साहित्य फाँटमा नाटक लेखन मर्दै गएको स्पष्ट देखा परेको छ ।

 

(नाटकमा पूर्व र पश्चिम दुवैतर्फ पात्र, विषय, शैली, विस्तार आदि आदि विभिन्न कुरामा पनि अनेक मत र नियमहरू स्थापित गरिएका छन् ।

यहाँ नाटक विधाको सामान्य चर्चा मात्र गरिएको हो ।)

नाटक ‘निरर्थक त्याग’मा एक नजर

गङ्गा अभिलाषी

लेखक पृथ्वी शेरचन भैरहवा निवासी हुनुहुन्छ । अहिले उहाँको उमेर ८२ वर्ष भयो । उहाँ साहित्यको धरोहर भएर पनि रूपन्देहीमा अवस्थित साहित्यिक संस्थामा घुलमिल हुन चाहनुभएन । नयाँ पुस्ताका साहित्यिक मनहरू उहाँको सामीप्यताबाट टाढै रहेका छन् । पुराना पाका वरिष्ठ स्रष्टाहरूले भने उहाँलाई एउटा कुशल साहित्यकारको रूपमा चिनेका छन् । संयोग वरिष्ठ स्रष्टा शेरचनसँग म २०६४।०६५ सालतिर परिचित हुन पाएँ । यसको श्रेय भने बागलुङ निवासी स्रष्टा काजी रोशनलाई जान्छ ।

मलाई भैरहवा निवासी लुम्बिनी शिशु सदन पहिलो प्राइभेट स्कुल संस्थापक प्रिन्सिपल वाइ बी रसाइली, आफ्नो साथीको बैनी भनेर जानेपछि मैले उहाँको हार्दिक सामीप्यता पाउँदै गएँ । यसैको फलस्वरूप नचिताएको कुरा ०७४ सालमा मेरो पहिलो कृति प्रकाशित भएको खुसीमा सहृदय उहाँले मलाई अप्रत्यक्ष पुरस्कार रु ११ हजार दिनुभयो, आभार प्रकट गर्दछु ।

२०७४ सालमा प्रकाशित नाटक निरर्थक त्याग मलाई २०७४ चैत्र २७ गते लेखकबाट सप्रेम उपहार प्राप्त भयो । २०७५ जेष्ठ महिना १० गतेसम्ममा बल्लतल्ल पढेर भ्याएँ । कारण अरू पनि कृतिहरू पढ्ने पत्रपत्रिकामा लेख छपाउने र साहित्यिक जमघटमा रम्ने भएकोले । यो कृति पढेपछि मनमा लागेका कुराहरू पाठक समक्ष प्रष्फुटन गर्ने जमर्काे गरेँ । म समीक्षक चाहिँ होइन ।

जन्म मिति ७ डिसेम्बर १९३८ इ.स आमा कृष्णकुमारी बाबा भक्तिप्रसाद शेरचन, जन्मस्थान टुक्चे बजार थाक, धौलागिरी अञ्चल, शिक्षा एम.ए., प्रकाशित कृतिहरू ः दुई खुट्टाले टेकेर कविता सङ्ग्रह (२०२४), दुई कप्टेराको माझमा (२०२५) कविता सङ्ग्रह, साँढे चार दशकाको क्रन्दन (२०६९) कविता सङ्ग्रह, सोभियत युनियन र बुलगेरिया भ्रमणको डायरी (२०६८) नियात्रा, कुहिएको कुभिण्डो ः विषमाताको (२०३७) कविता सङ्ग्रह, भीम खोला बहुलाउँदा (२०६८) नाटक, निरर्थक त्याग (२०७४) नाटक, सम्पूर्ण सद्भावनाको साँचो सङ्घात्मक शासन व्यवस्था (२०६८, पहिलो संस्करण) निबन्ध सङ्ग्रह, सम्पूर्ण सद्भावनाको साँचो सङ्घात्मक शासन व्यवस्था (२०६९, दोस्रो संस्करण) निबन्ध सङ्ग्रह । प्रकाशोन्मुख वेवारिसे बलिदान (नाटक) ।

भ्रमण ः रुस, चीन, चेकोस्लोविया, मलेसिया, रोमानिया, युगोस्लेभिया, पोल्याण्ड, पूर्वी जर्मनी, हङ्गेरी, वुलगेरिया, अमेरिका, जापान, सिङ्गापुर, वर्मा, थाइलेण्ड ।

यो कृति काठमाडौँबाट प्रकाशित कृति हो । प्रकाशिका लेखक श्रीमती शान्ता देवी । यो कृति पुस्तक आकारमा ५०० पानाको छ । लेखकीय मन्तव्य ३ पानाको छ, कृति आफ्नी ममतामयी माताप्रति समर्पण गरिएको छ । कुनै पनि विद्वान स्रष्टाहरूको मनतव्य रहेको छैन । भाषा शैली सरल शिष्ट छन् । धेरै जसो कुराकानीहरूले मन रोमान्चित र पुलुकित गराउँछ । हसेउली र ठटेउली शब्दहरूले पनि स्थान पाएको छ । यो कृति वियोगान्त कृति हो ।

मलाई सुरुमा यो कृतिको नाम देख्दा पक्का पनि राजनीतिक घटनामा आधारित कथावस्तुहरू होलान् । आफ्नै जीवनको तीतो यथार्थ होला । मलाई यस्तो किन लाग्यो भन्दा उहाको राजनीतिक इतिहास थाहापाएकोले यो पाठकको मनले पुस्तक नपढी यही कुरा सोच्यो । लेखकीय मन्तव्य अध्ययन पश्चात मैले सोचे विपरीत भयो । तर केही कथावस्तु स्वयं लेखकको नै हो नि भन्ने पनि भान गरायो ।

यो नाटक पारिवारिक, सामाजिक, राजनीतिक ऐतिहासिक परिवेश भित्र केन्द्रित छ । यो नाटक १४ अङ्क सम्म दृष्य १।२।३ रहेको छ । विशेष गरेर लुम्बिनी अञ्चलकै सेरोफेरोमा रहेर कथावस्तुले ठाँउ पाएको छ । साथै गोरखपुर र बनारस पनि पर्दछन् । प्राकृतिक तथा भौगोलिक परिवेशलाई मनोरम ढङ्गमा उनिएको छ । हाम्रो समाजमा दोहोरो चरित्र प्रस्तुत गर्ने व्यक्तिको बारे खुलासा भएको छ । पाठकले सोचे विपरीत अन्त्य भएको छ ।

यस नाटकमा पहिलो अङ्कमा बाबा शब्द सम्बोधन बारे गएिको विश्लेषणले मेरो मन पक्कै छोयो । हुन पनि हो, मैले नि जान्दासम्म छरछिमेकमा सम्बोधन गर्नुपर्दा बाबा भनेको जानिनँ । बरु काका मामा अङ्कल, बडा, ठूला बा भनेको याद छ । यसैै कुरालाई ३ पेजसम्म विश्लेषण भएको छ । यसबारे जानकारी पाएपछि मेरो अवोध भदैनीले मलाई दिदी भनेको सुनेपछि मेरो अन्तरे दाजुले फुपुलाई नि दिदी भन्छेस् तेरी आमाले जन्माएको हो र भनेर भदैनीलाई नराम्रोसँग झपारेको कुरा झलझली याद आयो ।

यो नाटकको मोटाई देखेर सुरुमा त पढ्न खासै जाँगर चल्दैन तर पढ्दै गएपछि भने बिस्तारै रस पस्दछ । अब के हुन्छ उत्सुकता नजानिँदो ढङ्गले जगाइदिन्छ । यो नाटकका मुख्य पात्रहरू नेपालको पहाडी भेग बेनी भन्ने ठाउँबाट तराई फाँटमा सरेको मुख्य पात्र प्रितमको घरपरिवारमा आधारित नाटक हो । यस कृतिमा २००५ साल देखि सुरु भएको कुरा ०४१ सालमा गएर अन्त्य भएको छ ।

यस नाटकका पात्रहरू राजनीतिक क्षेत्रमा प्रवेश गर्दै शिक्षा हासिल गर्दै गरेका पात्रहरूको चयन भएको छ । एम ए पास गरेको पीएचडी गर्नुपर्ने परिवारको चाहना चकनाचुर भएको छ । राजनीति गर्ने केटो प्रितमले आफ्नो प्राण प्यारो घर परिवारसँग कुनै राय सल्लाह नलिकनै विवाह गरेपछि उनको सम्पूर्ण परिवारसँग नाता तोडनुप¥यो, जसले गर्दा जीवन भताभुङ्ग भएको घटनाले मन सारै छुन्छ । यो कथा दामपत्य जीवनसँग आधारित घटना भइदिएको छ । सम्बन्ध विच्छेदन गर्न अड्डाअदालत धाउनुपर्दैन चिठीकै भरले नि नातासम्बन्धमा विच्छेद हुँदो रहेछ भन्ने जानकारी गराउँछ । ससुरा नन्द बाहादुरलाई मोहडा बनाएर तेस्रो पक्षले फाइदा लिएको छ । सम्पत्तिको निहुमा प्रितमको दाम्पत्य जीवन नै भताभुङ्ग भएको छ । प्रितमको सङ्र्घषमय जीवन साथै अन्तिम मोडमा भोग्न परेको व्यथा र विदेशमा देहान्त भएको घटनाले पाठकको मन रुवाँउछ । यस कृतिमा भारतका केही ठाउँहरूको मनोरम दृश्यबारे वर्णन भएको छ । यो लेखकको खुबी लाग्यो ।

दाम्पत्य जीवनमा बाँधिन घरपरिवारको सरसल्लाह अत्यन्तै जरुरी ठहरिएको छ । यस नाटकमा आमा माइजु दाजु र स्वयं प्रितमले लेखेका चिठीहरूले पाठकको मन छोएको छ । जसलाई सहृदय सहयोग ग¥यो उसैबाट ठूलो धोका षड्यन्त्र भएको छ, एउटा पाठ पनि सिकाएको छ । जीवनका कैयाँै मोडहरूमध्ये सबैभन्दा ठूलो मोड भनेको बिहे हो सही बाटो छान्न नसक्ने मानिसले अकल्पनीय दुःखकष्ट र विध्नवाधाको सामना गर्नुपर्दछ ।

वैवाहिक सूत्रमा आबद्ध हुन चाहने बरबधु दुवैले दुवैका व्यक्तिगत र पारिवारिक समेत छिद्रान्वेषण गर्न अत्यन्तै आवश्यक हुन्छ ।…(४४९)

यस नाटकका मुख्य पात्र प्रितमको निधनले यो नाटक दुःखान्त भएको छ । यो नाटक हाम्रै गाँउघर समाजको इतिहास र यहाको परिवेश बोलीचाली चालचलन राजजीतिक कथा वस्तु कम्युनिष्ट सङ्गठन भित्रका आचरण जाली फटाहरूसँगै मित्रहरूको आपसी सम्बन्ध आदि विषयहरूमा केन्द्रित रहेको छ । पाठकलाई यस नाटकले बेनीदेखि बुटवल मणिग्राम, फरेन्दा, परासी, लुम्बिनी अञ्चल वरिपरिका जिल्लाहरू बनारस गोरखपुर अन्य भारतका सहरहरूमा पु¥याएको छ ।

यो कृति आकारमा अत्यन्तै ठूलो भएको छ । एक जना स्रष्टालाई मैले पाँच सय पानाको नाटक पढँेभन्दा ए त्यो त उपन्यास नै भइहाल्यो नि भन्नुभयो । ल हेरम् पढम् भन्ने कुरै छैन । लेखकले पाठकलाई नि यसो मनन गरेको भए राम्रो हुन्थ्यो जस्तो लाग्यो । हाम्रो प्रवृत्ति भनेको आफ्नो कृति अरूले पढुन् भन्ने हो । लेखकले आफ्ना मनका सम्पूर्ण भावनाहरू अत्यन्तै विस्तृत रूपमा पस्कनुभएको छ । यति हुँदाहुँदै पनि प्रितमको बिहेमा जन्ती जानुभन्दा अगाडिका कुराहरू अत्यन्तै लामो ढङ्गमा प्रस्तुत भएको छ तर जन्ती नै नगएको देखाएर एक्केै पटक सुहागरातको कुराले अलि मलाई नमज्जा गरायो । भाषा सरल सिष्ट र मर्यादित छ । यो उमेरमा यति धेरै पेजमा कृतिको जन्म हुनु चानचुने कुरा भने पक्कै होइन । यो कृतिले कोमल हृदय हुने पाठकहरूको आँखा रसाउँछ, मुटु भक्कानिन्छ ।

कृतिको मूल्य छैन । कृतिकारको परिचय नभएर खल्लो महसुस भएको छ । यो कृति पठनीय एवं सङ्ग्रहणीय छ । नेपाली भाषा साहित्य कलाको निम्ति प्रशंसनीय र अमूल्य कृति हो भन्दा फरक नपर्ला ।á

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments