१ विषय प्रवेश

महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध महाकाव्य सुलोचना (२००३) सामाजिक विषयमा आधारित रहेको छ । साहित्यका अन्य महारथीहरूलाई चुनौती दिएर लेखिएको उनको यो दोस्रो महाकाव्य नेपाली साहित्यको मौलिक सम्पत्ति हो । परम्परागत महाकाव्योचित वीर, कुलीन र साहसी नायक रहेको महत् आख्यानका विपरीत सामान्य जीवनको यथार्थलाई यस उपन्यासमा प्रस्तुत गरिएको छ । त्यसैले यो नेपाली महाकाव्य परम्पराको आधुनिक महाकाव्य पनि हो । यस लेखमा यथार्थ घटना, पात्र तथा परिवेशका आधारमा प्रस्तुत महाकाव्यको चर्चा गरिएको छ ।

 

२. घटनाक्रम तथा चरित्रगत विश्लेषण

देवकोटाको सुलोचना महाकाव्यमा राणाकालीन समयको सेरोफेरोलाई महाकाव्यिक घटनाका रूपमा प्रस्तुत गरिएको छ । मध्यम र उच्चवर्गीय शिक्षित परिवारको पारिवारिक घटनालाई यसमा प्रस्तुत गरिएको छ । छोरीलाई केही हदसम्म शिक्षा दिन हुन्छ भन्ने थोरै जनचेतना जागेको बखत लेखिएको यस काव्यमा सुलोचना शिक्षित नारी पात्रका रूपमा रहेकी छन् । उनी यस महाकाव्यको प्रमुख नारी पात्र पनि हुन् । सुलोचनाका पिता शत्रुमर्दन सिंह सन् १९१४–१९१८ सम्मको प्रथम युद्धमा हिन्दुस्तान गई वीरतापूर्वक लडेर कप्तान सम्मको दर्जा पाएका र ज्ञानेश्वरमा घर बनाइ बसेका हुन्छन् । उनी उक्त लडाइँमा आफ्नो एउटा आँखा गुमाएकोले काँचको आँखा लगाइराख्ने एक नामी योद्धा, कूलघरानाका घमण्डी तथा धनी व्यक्ति हुन् । सुलोचनाकी आमा मखना थिइन् । दुई दाजुहरू बि.एल. फाइनल दिनेवाला चण्डमर्दन र तिमिरमर्दन छन् । सुलोचना यौवना भएकी र छोरीलाई बाहिरी संसारसँग धेरै घुलमिल हुन नदिने परम्परागत सोचका कारण उनलाई घरमै शिक्षदीक्षा दिने व्यवस्था मिलाइएको हुन्छ ।

काठमाडौँ बानेश्वरमा बस्ने पण्डित वासुदेव अर्याल र शत्रुमर्दन सिंह साथी थिए । वासुदेवको छोरो अनङ्गनाथ शत्रुमर्दनका छोराछोरीहरूको शिशुकालदेखिको साथी र पछि मर्दन भाइहरूको कलेजको सहपाठी पनि हुन्छ । एकदिन वासुदेव अर्याल र शत्रुमर्दन बीच पासा खेल्ने क्रममा भनाभन हुँदा आवतजावत नै बन्द हुन्छ । तर सहपाठीका हिसाबले अनङ्गनाथ र मर्दन भाइबीच भने घरबाहिर भेटघाट भइरहन्छ । अनङ्ग आकर्षक व्यक्तित्व भएको जवान केटो हुन्छ । उसको सुन्दरतालाई यस महाकाव्यमा यसरी चर्चा गरिएको छ ः

अनङ्गनाथ खत्री जो अग्ला, गोरा मनोहर ।

वान्किला जीउका चट्ट मिलेका नाक औँ मिही ।।

काला भौँका, थोर लाम्चो चेहरा, अति सुन्दर

स्वनि मुख बडो राम्रो हिसीको मृदुलाघर ।

(सर्ग–३ श्लोक १)

आठ वर्षपछि एक दिन मर्दन भाइले अनङ्गलाई आफ्नो घर लगे । त्यहाँ जूनको मधुरतामा मस्त भैकन बैंशकी सुन्दरी सुलोचना गीत गुनगुनाइरहेकी थिइन् । त्यो तीन घडी बितेको रातको एकान्तमा चिरपरिचित अनङ्गको मनोहर दिव्य शरीर देखेर सुलोचना गाना टक्क रोकिई न भागूँ न रहुँ भइन् । अनङ्गप्रति पहिलेदेखि नै आकर्षित अनि आत्मिक प्रेमले टिलपिल टिलपिल भइरहेकी सुलोचना मनोवैज्ञानिक ढङ्गले माथि लैजान प्रयासरत थिइन् तर समयले गर्दा कुनै बेला आउने वचन दिई अनङ्ग त्यहाँबाट हिँड्यो ।

अर्को दिन मर्दन दाजुभाइ र अनङ्गनाथ बीचमा ईश्वर छन् वा छैनन् भनी चलेका बहसमा सुलोचनाले अनङ्गनाथको समर्थन गरी पक्षमा र मर्दन भाइहरूले विपक्षमा कुरा चलिरहेको थाहा पाएपछि आफ्नी छोरी केटाहरू बीच बसेर कुरा गरेकोमा शङ्काको दृष्टिले हेरी एक्कासी तिनीहरूमाझ प्रवेश गरी शत्रुमर्दनले आफ्ना छोराछोरीलगायत अनङ्गलाई तथानाम गाली बेइज्जती गर्दछन् र अब अनङ्ग फेरि आफ्नो घर आएमा खुट्टासमेत भाँचिदिने धम्की दिन्छन् । यो पितृसतात्मक सोच भएको पुरुषप्रधान समाजमा नारी केही अलि ठूलो स्वरमा बोलेको हेर्न नचाहने अनि जवान हुँदै गइसकेपछि अनेक शङ्का उपशङ्काले हेर्ने प्रवृतिको उदाहरण हो ।

आफ्नी छोरी जवान भइसकेकी र आफ्नो जिम्मेवारी पन्छ्याउने ध्येयले उनले सुलोचनाको विवाह आफू जस्तै कूल–घरानीया  कर्णेल  प्रतापसिंहको  एक्लो छोरोसँग गरिदिने निधो गर्दछन् । यो थाहा पाउनासाथ सुलोचनाले विवश बनी आफ्ना आँट र साहसका साथ आमालाई अनङ्गसित आफ्नो प्रेम भइसकेको र कुनै पनि हालतमा विवाह अनङ्गसँगै गरिदिनू भनी जिद्दी गर्दछे । परिवारले तिरस्कार गरे पनि त्यसलाई तोड्न खोज्ने सुलोचनाको यो प्रयास साहसिक देखिन्छ । यसै प्रसङ्गमा उनी भन्छिन् ः

अनङ्ग पनि मानिस हैन ?

धनै नभइ चैन हुँदैन ?

चिजको करमको वश छैन

हुन्छ हुन्छ यदि हुन्न हुँदैन ।

(५–४५)

मानिसको वैयक्तिक रुचि, अरुचि र धारणाभन्दा सार्वभौम वस्तुवादी दृष्टिकोण साथै सामाजिक वस्तुपरक यथार्थमा जोड दिने मान्यताअनुरूप काव्यका घटनाक्रम प्रस्तुत गरिएको छ । मानिस मानिस नै हो, आखिर जो होस् जे होस् । धनै सर्वेसर्वा होइन, धनविना पनि प्रशस्तै चैन गर्न सकिन्छ भन्ने भाव सुलोचनामा रहेको छ तर आफ्नै स्तर सुहाउँदो कूलघरान मिल्नेसँग छोरीको बिहे गरी पछिसम्म छोरीको सुखी र सम्पन्न पारिवारिक जीवन हेर्न चाहने बाबुआमाको मन हुुने भएकाले उनको प्रयास केवल प्रयासमा मात्र सीमित हुन्छ । त्यस बेलाको सामाजिक धरातललाई यसले नाघ्न सकेको छैन ।

आफ्नो मन दिइसकेकी सुलोचनाले अनङ्गलाई नै जीवनको पति मान्ने पक्का अठोट गरेकी हुन्छिन् । त्यसैले दुवैजना भागेर अन्यत्र जाने कुरा चिठीमा लेखी कलामार्फत पठाउँदा अनङ्ग ठीक ठाउँमा आउन सक्दैन र यस्तो योजनाका उसकी आमा मखनाले थाहा पाई झन् कडा बन्देजमा राखी कलालाई घरबाट निकालिदिन्छन् । यस घटनाले छोरी कतैबाट पनि छोरा जस्तो स्वतन्त्र हुन नसक्ने अनि आमाबाबुको इशारामा नै चल्न विवश हुने साथै आफ्ना इच्छा, चाहना, सङ्कल्प सबै परनिर्भर हुन बाध्य पारिने समाजको यथार्थ चित्रण प्रस्तुत गरिएको छ ।

सुलोचनाले आमाबाट पनि सहारा नपाएपछि दाइ तिमिरमर्दनसँग याचना गर्न पुग्छिन् । बहिनीको याचना सुनेर उसको मन पग्लिन्छ अनि ऊ भन्छ ः

के अनङ्ग पनि मानिस ह्वैन ?

थिच्नुमिच्नु दिललाई हुँदैन ।

(७—७७)

आफ्नी बहिनीको समर्थन गरेकाले शत्रुमर्दन छोरो तिमिरमर्दनको जवाफ यसरी दिन्छन्—

हेर त्यो गजवको कत्ति जान्ने

बाबुलाई पनि जित्दछ तान्ने

शास्त्र धर्म सव पार गरेर

बोल्छ हेर सुकुले बतुरेर ।।

(७७८)

आफूले आफ्नो सबथोक सोचेको मान्छे अनङ्गले आँट गर्न नसकी कमजोर अनङ्गलाई सम्झिदै कठोर यातनाले घेरिएकी निरुपाय सुलोचना रुन्छिन् ।

सुलोचनाको विवाह विलाससिंहसँग हुन्छ । मन एउटासँग साँटेकी, जीवनभरि उसकै  भएर  बाँच्न  चाहने  सुलोचना वास्तवमै समाजमा हरेक सच्चा प्रेम गर्ने जोडीको मुखरित भएकी छिन् भने उनको जबरजस्ती बिहे गराइँदाको क्षण हरेक मानवको चेतन तथा अवचेतन मनमा तरङ्गित भाव कविले यसरी व्यक्त गरेका छन्–

बाँधे चुरीले तब हातलाई

घुम्टा लगाए कति झल्मलाई

आत्म उड्यो लौन अनङ्ग भन्दै

मारे नि मारे जिउँदै मलाई (८–२३)

विलाससिंहका कूल घराना मात्र हेरियो सुलोचनाको पनि इच्छा आकाङ्क्षा विना जिउँदो लास बनाई सिँगारेर विलास सिंहसँग अन्माइयो । आखिर यो यथार्थतामा कस्तो हुनुपर्छको दृष्टिले नभई के र कस्तो छका दृष्टिले विषयवस्तुको प्रस्तुति त्यसमा मनोरञ्जकता र कलात्मकतातर्फ कुनै आग्रह नराखी यथातथ्य निरुपणको सिद्धान्त निम्न उदाहरणले प्रस्ट पार्दछ –

एक जीवन छ जीवनलाई

छन त्रास अबलाई मलाई

गर्दछौ यदि बिहा शवलाई

लौ सिङ्गार म मरे अबलाई ।

(७–५९)

बेकामको यो न पुलुक्क हेर्ने

घुम्टो लगाइ निहुरेर मर्ने

त चाल छिटी न छ शब्द मीठो ।

‘गिलास’ हो माखन, यो छ पीठो

(८–२७)

यथार्थता यस काव्यमा प्रत्येक प्रहरमा भेटिन्छ, आदर्श पनि त्यसैगरी झल्किन्छ । सुलोचनाको बिहेपश्चात् मखना र शत्रुमर्दन मख्ख देखिन्छन् भने सुलोचनाकी सासू दूमुर्खा र ससुरा बहिरा रहेको स्थिति काव्यमा झल्कनु काव्यका उतारचढावका ध्येयले नितान्त सामाजिक विषयवस्तु छ भन्न सकिन्छ । पढेलेखेका र गिलासेसँग प्रेममा सल्केका विलाससिंह जस्ता व्यक्ति किन चुपचाप रहेका छन् र विवाहपछि गिलाँसे मखना चामल तथा सुलोचना पीठो बन्न पुगेका छन् भन्ने सन्दर्भले महाकाव्यात्मक विषयलाई उत्कर्षमा पु¥याई स्वैरकल्पनातिर मोडेको छ ।

विलाससिंहका  विधवा  बहिनी माइतमा बस्छिन् । बिजुली चरित्र भ्रष्ट छिन् भनेर माइतीमा हल्ला चलेको थियो । आमाचाहिँ वैंशको रहर नपाएकी भनी माया गरी पुलपुल्याएर राख्थिन् । विधुवा बिजुलीको अवस्था कवि यसरी चित्रण गर्दछन्–

उर छ पुष्ठ न प्रेम रच्यो त्यहाँ

वदन मिष्ट छ, दुष्ट भयो जगत

विधि छ रुष्ट सु पुष्ट कपोलमा

मृदु गुलाफ लिने वन फूलमा

(१०–५८)

चरित्रका हिसाबले द्विचरित्र बोकेकी बिजुली एकतर्फ विधुवा हुन् भने अर्कोतर्फ माइतीमा बस्दै आएकी छन् । विधवा भएपछि समाजले हेप्ने दृष्टिकोण यथार्थता अनि माइतीले पनि आफ्नै माइतमा पाल्नु र उसलाई विवाहित छोरी माइत बस्न दिइनु जस्ता यथार्थताको तीव्र वेग पाइन्छ ।

उनी आफ्नो अतृप्त यौन तिर्खा मेटाउन नोकरसँग सहवास गर्दछिन् । नोकरकै पेट बोक्दछिन् भने नोकर पेट बोकाएर भाग्छ । कर्णेल्नीले घरतिर बिजुली कलकत्ता भागेकी हल्ला चलाउनु यो क्षण निस्साजनक, अपत्यारिलो, तात्कालिक समयमा अनुचित देखिन्छ । यसमा पनि सुन्दरीजलमा मोहीको घरमा बसेकी बिजुली सुत्केरी  हुनु  र  शिशु  कुपोषित  अनि तिमिरमर्दन त्यहीँ भेट्ने बित्तिकै बिजुलीको अलापविलाप र आँसुधारा देखेपछि तिमिरले केही बोल्न नसकी बिजुली र बच्चाको सेवा गर्दै त्यही बसेर सेवा गरी भनेर उनको मानवता तथा समाजसेवी भावनालाई प्रस्ट्याइएको छ ।

तिमिरमर्दनसँग बिजुली आफ्नो अनि आफूजस्तै दयनीय नारीको स्थिति यसरी व्यक्त गर्दछिन्–

गुलाफमा थिए म सिस्नो बनेकी आज

आफ्नै काँडाहरू आफ्ना आँगनमा लिन पो लिन

समाजबाट मिल्केकी रछान् म अमानुषी

राक्षसी दिलकी छोटी खोटी कर्म र मर्मकी ।

धर्मकी शत्रु साराकी पाइतालामा नछोइने

शरीर जस्ती छोराकी, एकलत्का सिगानका

(ढुङ्गेल र दाहाल, २०६० ः ३०७)

यी हरफहरूमा समाजमा नारीको कमजोर र निरीह अवस्थालाई प्रस्ट पारिएको छ । समाजले विधवा नारीलाई मानवीय मूल्यबाट समेत पर्गेल्छ भन्ने सन्दर्भलाई यसले पुष्टि गरेको छ ।

सामाजिक यथार्थ तथा आदर्शोन्मुख यथार्थवादी कृतिहरूमा स्वैरकल्पनाले पनि भूमिका खेलेको हुन्छ । स्वैरकल्पनामा डुबुल्की मार्दै सामाजिक दुर्गतिहरू, प्रचलित व्यावहारिक कुरीतिहरू, दुराचारहरू आदर्शको केन्द्रीयतामा चित्रित र वर्णित हुन्छन्  (प्रधान,  २०६१ः ७७)  ।  यस महाकाव्यमा यस्ता स्वैरकाल्पनिक विषयहरू समेटिएका छन् । तिमिरमर्दनले केही कतै नसोची नसोधी स्वेच्छाले विधवा अनि चरित्रहीन स्त्री बिहे गर्दछन् । यसमा समाजमा विधवा भएपछि विवाह गर्न हुँदैन भन्ने परम्परा यहाँ तोडिएको देखाइएको छ । त्यसै गरी विवाह भनेको मानसिक र शारीरिक दुवै किसिमको सम्झौता हो भन्ने कुरा बिजुलीको चरित्रबाट चित्रण गर्न सकिन्छ । अर्कोतर्फ नोकरी माग्न आएको जैमाने  महिनाको  आठ  रुपैयाँमा विलाससिंहकोमा नोकर बस्छ । बगैँचाको फूल टिपेर ल्याउँछ । कृष्ण मन्दिर बनाउँछ । त्यही मन्दिरभित्र गहभरी आँशु पारी मुरली बजाउँछ । सुलोचना एक दिन फूल टिप्न आइन् र त्यो सुन्दर कलाकृति देखेर हृदयमा आनन्दको अनुभूति गर्न थाल्छिन् । स्वयम् पनि रुन्छिन् । यहाँ पनि कल्पनाको भाव छचल्किएको पाइन्छ । मुरलीको मधुर धुनमा अनङ्ग देखिनु स्वैरकल्पनाको पराकाष्ठा मान्न सकिन्छ ।

यथार्थवादी साहित्यले समसामयिक जीवनका घटनालाई यथासम्भव बौद्धिक इमानदारिताका साथ प्रस्तुत गर्ने प्रयास गर्दछ । यथार्थवादी साहित्य कारणहरूले आफ्ना कृतिमा पात्रलाई मान्छेकै रूपमा चित्रित र उपस्थित गर्ने गर्दछन् । कहिल्यै पनि मान्छेलाई ईश्वरीय वा दानवीय रूप दिने काम गर्दैनन् (आचार्य २०६६ः१९८) काव्यमा पनि कविले जैमानेको प्रवेश पछाडि सुलोचनामाथि शङ्का गर्दछन् । केही खटपट महसुस गरी सुलोचना कहाँ खानतलासी गर्न थाल्दछन् । नभन्दै अनङ्गको लेखापढी हुँदाका दुईवटा चिठी दराजबाट निस्क्यो । अनङ्ग तेरो को हो बता, कृष्णलाई तेरै टाउकोमा फोर्छु भन्दै सुलोचनालाई रगाताम्मै बनाउँछ ।

मानव–मानव बीचको प्रेम त्यहाँ झल्किन्छ, जहाँ करुणा र दयाले बास गर्दछ, जतिसुकै यथार्थको कुरा गरे पनि अलिकति भावना र कल्पनाको दाउ नराखीकन यथार्थ मात्रै साहित््यको श्रेणीमा चढ्न सक्दैन । बरू  स्वच्छन्दतावादी,  नीतिवादी, औपदेशिकवादी जस्ता वादहरूले भन्दा अत्यधिक मात्रामा यथार्थ अनि केही झिनो रूपमा आर्दशलाई केही न केही रूपमा पछ्याएर सिर्जना गरिएको हुन्छ । यसलाई जैमाने जीवनभर अविवाहित रहनु, सुलोचनाको घरमा अनङ्ग नाम बदलीकन जैमाने राखेर नोकरी गर्नु, गुलाबका फूल ओछ्यानमा राख्ने गर्नु जस्ता घटनाले देवकोटा महाकाव्यमा अमर प्रेमको सन्देश दिन चाहन्छन् । प्रेमलाई केन्द्रविन्दु मानेर चरित्रको उद्घाटन गर्छन् । कवि प्रेमको पक्षपाती छन् भने वासानात्मक प्रेमप्रति उनको घृणा छ ।

जब सुलोचना विलाससिंहद्वारा निर्मम कुटिन्छिन् तब घरबाट मध्यरातमा निकाल्ने कुरा गर्दा जैमानेले सहन नसकी विलासको पाउ परी रातको समयमा ननिकाल्नुहोस् भनी आग्रह गर्नु र विलासकी आमाले अनङ्ग को हो ? भनी प्रश्न गर्दा जैमानेले स्पष्ट बताइदिनु आदि घटनाले सुलोचना र अनङ्गको प्रेम थियो भन्ने स्पष्ट हुन पुग्छ । यसबाट प्रेम शरीरसँग होइन, आत्मासँग गरिन्छ भन्ने र आत्मिक प्रेम जीवन्त चम्किरहन्छ भन्ने कविको धारणा छ ।

सुलोचना घरबाट निकालिइसकेपछि पनि अनङ्गले कुनै प्रतिक्रिया नदेखाइकन सुलोचनासँग म अनङ्ग हूँ नभनीकन शिवपुरी जङ्गल पुग्छ । भनिन्छ सास छँदासम्म माया जीवित रहन्छ तर अनङ्गमा गतिहीन चरित्र देखा पर्दछ । यता सुलोचना क्षयरोगले नबाँच्ने भएपछि आर्यघाट लगिन्छ । यस काव्यबाट कूल र इज्जतका झुटा विचारले मृत्यु सैयामा सुतेर जीवन कसरी सधैँ रून्छ भन्ने उपदेश झल्किन्छ । मखना, शत्रुमर्दन, सासू ससुरा भाइ मर्दनहरू र विजुली त्यही पुग्नु यथार्थ हो ।

एकदिन झुत्रो–मैलो लुगा लगाएको न ऋषि भन्नु न पागल भन्नु जस्ता देखिने एकजना व्यक्ति आर्यघाटमा आएर सुलोचनाको मुखमा पुलुक्क हेरेर जानु र सुलोचनाले पनि प्राण त्याग गर्नु एकैपल्ट जस्तो भयो । यहाँ समाजमा हुने र हुनसक्ने कथावस्तु पाउन सकिन्छ । त्यतिवेलासम्म पनि यो अनङ्ग नै हो भन्ने लाग्नु तर अझै कसैले पूर्ण अनङ्ग नै हो भनी भन्न नसक्नु जस्ता कुराले आत्मिक प्रेम अमर हुन्छ र सच्चा हुन्छ भन्ने कुरा देखाइएको छ ।

 

३. निष्कर्ष

देवकोटाको सुलोचना महाकाव्यमा प्रस्तुत घटनाक्रम तथा चरित्रहरूको विश्लेषणबाट सो कृति मौलिक एवम् यथार्थवादी कृति हो भन्न सकिन्छ । यसबाट समाजचित्रणका दृष्टिले सामाजिक सामाग्री लिएँ भन्दै देवकोटाले समाज चित्रण नाटकमा भन्दा यस्ता काव्यमा राम्रो तवरले गर्न सकिने विचार प्रस्तुत गरेको पुष्टि हुन्छ । उनको मौलिक सामाजिक महाकाव्यभित्र सुलोचना महाकाव्य समृद्ध देखिन्छ । सभ्य समाजबाट तिरस्कारपूर्ण जीवन व्यतित गरेर आफूलाई उभ्याउनु कठिनप्रद छँदैछ । समाजमा धनका घुम्टो ओढेका भनाउँदा मान्छेबाट मन चिन्न नसक्नु अनि धनलाई नै र इज्जतलाई सर्वेसर्वा मान्ने तथा कूल घरानाका माध्यमबाट मानवीय मनका छटपटी, पीडा, चाहना तृष्णा जस्ता कुरालाई श्रद्धाञ्जलि दिँदै मानवीयता ह्रास भइसकेको मानव रूपसँग कसैको जीवन सम्झौता गरिदिनु महापाप हो भन्ने यसमा देखाइएको छ । मान्छेमा वर्गीय तथा जातीय विभेदको अन्त्यको चाहना पनि यसमा सशक्त बनेको छ । घटनावलीको पूर्वाधारक्रम सुखमय र मध्यतरक्रम पीडैपीडा अनि अन्त्य पनि पीडायुक्त देखाएर यो काव्य समाप्त भएको छ । यसमा पात्र तथा चरित्रको बाह्य र आन्तरिक दुवै मनोदशा, नारी र पुरुषको स्वतन्त्रतामा विभेद, विशेष गरी नारी स्वतन्त्रतामा लगाम लगाएको स्पष्टै पाउन सकिन्छ भने बिजुली जस्ता नारी पात्र चरित्रहीन र छाडा प्रवृतिका पनि छन् । विलाससिंह र मखनाले द्विचरित्र बोकेको कुरा पछिको आत्महत्या र आत्मआलोचनाले प्रस्ट पार्दछ । तिमिरमर्दन जस्ता व्यक्तित्वले चरित्रहीन बिजुलीसँग हाँसीखुसी विवाह गरेको घटनाक्रम समाजका यथार्थ चित्रण झल्काउने बलिया हतियार हुन् ।

मनका आसक्ति अनि चाहनालाई जबरजस्ती तिलाञ्जली दिँदै मान्छे भएर पाउनुपर्ने जीवनको स्वतन्त्रतामा हतकडी लागाइएको अनि उद्देश्यहीन, लक्ष्यहीन, गन्तव्यहीन, निराशापूर्ण जीवन भोगाइको गाथालाई प्रस्तुत काव्यमा सिलसिलाबद्ध रूपमा प्रस्तुत गरिएको छ । शैली र विचारको श्रृङ्खलामा समेत आदर्श र यथार्थको चित्रण पाइन्छ । अपराधबोध महसुस भई आमा मखना दुःखी हुनु, सुरुमा दमन अत्याचार र सौता हाली चरम नारी पीडा दिने व्यक्ति भए पनि पछि आफ्नो अपराध बोधले आफ्नै छातीमा पिस्तोल हानी आत्महत्या गर्ने विलाससिंह अन्त्यमा अनुकूल चरित्रमा परिवर्तन हुन पुग्दछन् । यस घटनाले यस महाकाव्यलाई सामाजिक जीवनको पारिवारिक पक्षसँग सम्बन्धित बनाएको छ ।

जीवनभरी सुलोचनाको पर्खाइमा मर्ने प्रेमी अनङ्ग जिन्दगीको लामो यात्रामा एकपल्ट पनि आफ्नो प्रेमिकालाई आफ्नो बनाउने प्रयास समेत नगर्नु र यसै सिलसिला चल्दाचल्दै सुलोचनाको अन्तिम अवस्थामा आँखा जुधाएर हेरेसँगै सुलोचनाले प्राण त्याग्नु आदिले यस महाकाव्यलाई सामाजिक यथार्थवादी प्रवृत्तिको बनाएको छ । यसमा मानिस पैसाको पछि लाग्दा सुलोचना जस्ता अबला नारीहरू घरबारविहीन भएको र कूलघरानाका युवाहरू रक्सी र रण्डीकालमा फसेर वर्वाद भएका तथ्य देखाइएको छ । नेपाली समाजका सासू भनाउँदाहरू आफ्ना चरित्रहीन छोरीका अनैतिक कार्यप्रति आँखा चिम्लिने तथा बुहारीको खेदो गर्ने देखाइएबाट समाजको यथार्थ प्रष्टिएको छ । यसैले यसमा प्रस्तुत घटनाक्रम तथा चरित्रचित्रणका माध्यमबाट यसलाई सामाजिक यथार्थवादी प्रवृत्तिको महाकाव्य भन्न सकिन्छ ।

 

सन्दर्भ सामग्री

अधिकारी हेमाङ्गराज र बद्रीविशाल भट्टराई (२०६३), प्रयोगात्मक नेपाली शव्दकोष, काठमाडौ ः विद्यार्थी प्रकाशन प्रा. लि.

आचार्य, कृष्णप्रसाद (२०६६), साहित्यशास्त्र नेपाली समालोचना, कीर्तिपुर ः क्षितिज प्रकाशन ।

प्रधान, कृष्णचन्द्रसिंह (२०६१), नेपाली उपन्यास र उपन्यासकार, ललितपुर ः साझा प्रकाशन ।

भण्डारी, पारसमणि र माधवप्रसाद पोखरेल (२०६३), साहित्यशास्त्र र नेपाली समालोचना, काठमाडौ ः विद्यार्थी पुस्तक भण्डार ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments