सार

पाठक वा श्रोताले कुनै पनि काव्यकृति पढेर वा सुनेर उसका मनमा उब्जिने भाव वा अनुभूतिलाई रस भनिन्छ । यसरी उब्जिने भाव वा अनुभूतिले पाठक वा श्रोतालाई आनन्द दिने काम गर्दछ । कुनै पनि काव्यकृतिमा कुनै एक रस प्रधान भएर आएको हुन्छ जसलाई अङ्गी रस भनिन्छ । अङ्गी रसलाई परिपुष्ट गर्नको लागि काव्यकृतिमा एक भन्दा बढी रस अङ्गी रसको पोषकका रूपमा आएका हुन्छन् जसलाई अङ्ग रस भनिन्छ । यसरी अङ्गी रस र अङ्ग रसको समिश्रणबाट एउटा सिङ्गो काव्यकृतिको निमार्ण हुन्छ । कुञ्जिनी खण्डकाव्यमा करुण रस मुख्य वा प्रधान रस भएर आएकोले यस खण्डकाव्यमा अङ्गी रसका रूपमाम करुण रसको चित्रण गरिएको पाइन्छ । कुञ्जिनी खण्डकाव्यमा करुण रसको पोषकको रूपमा शृङ्गार, वीर, विभत्स, शान्त, अद्भूत, भक्ति, रौद्र, भयानक रसहरू अङ्ग रसका रूपमा चित्रित भएका छन् । यस खण्डकाव्यमा करुण रसलाई अङ्गी रसका रूपमा साधारणीकरण गराउनमा सबैभन्दा बढी शृङ्गार रसले महŒवपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । शृङ्गार रसमा पनि वियोग शृङ्गार रसले अझ बढी भूमिका निर्वाह गरेको पाइन्छ । जसको अध्ययन यस आलेखमा गरिएको छ ।

 

विशेष शब्दावली ः रस, आलम्बन विभाव, उद्दीपन विभाव, अनुभाव, व्यभिचारी भाव, स्थायी भाव, अङ्ग रस, अङ्गी रस ।

 

१. विषय परिचय

कुञ्जिनी वि.सं. २००२ मा प्रकाशित महाकावि लक्ष्मीप्रसाद देवकोटोले (१९६६–२०१६) रचना गरेको खण्डकाव्य हो । उनले आफ्ना एक दर्जनभन्दा बढी खण्डकाव्यमा मानवता, प्रकृति चित्रण, कल्पना, भावुकता, हार्दिकता, राष्ट्रप्रेम, आदर्श प्रेमको चित्रण गरेर नेपाली खण्डकाव्यमा स्वच्छन्दतावादी धाराको सुत्रपात गरेका छन् । यसै स्वच्छन्दतावादी धारामा आधारित रहेको कुञ्जिनी खण्डकाव्य आत्मिक÷आदर्श प्रेममा आधारित सामाजिक खण्डकाव्य हो । यस खण्डकाव्यमा मुख्य रूपमा आत्मीय प्रेम, राष्ट्रप्रेम, धनी र गरिब बीचको विभेदले प्रेमीप्रेमिकाले भोग्नुपरेको वियोग तथा कारुणिक अवस्थाको भावलाई अभिव्यक्त गरिएको छ । संयोग शृङ्गार रसबाट थालनी भएर क्रोध, भयानक, अद्भूत, राष्ट्रप्रेम, वियोग शृङ्गार हुँदै करुण रसमा अन्त्य भएको प्रस्तुत खण्डकाव्यमा विथिन्न भावहरूको चित्रण भएको छ । भावहरूको उत्कर्ष तथा परिपाक अवस्थाबाट रसको उत्पत्ति हुने भएकाले कुञ्जिनी खण्डकाव्यलाई रस सिद्धान्तका आधारमा विश्लेषण गर्नु नै प्रस्तुत अध्ययनको मुख्य प्राज्ञिक समस्या रहेको छ ।

प्रस्तुत शीर्षकमा आएको ‘रस’ शब्दले काव्यशास्त्रीय रसलाई बुझाउँदछ । कुनै पनि काव्यकृति पढेर वा सुनेर पाठक वा श्रोताको मनमा उब्जिने भाव तथा अनुभूतिलाई रस भनिन्छ । रसका माध्यमले गर्दा पाठकलाई काव्यकृति पढ्दा एक प्रकारको आनन्द आउने गर्दछ । यसै काव्यशास्त्रीय रसको सिद्धान्तलाई रस सिद्धान्त भनिन्छ । रस सिद्धान्त पूर्वीय काव्यशास्त्रीहरूको देन हो । रस सिद्धान्तको प्रतिपादन इसाको पछिल्लो शताब्दीका आचार्य भरतमुनिले नाट्यशास्त्रका प्रसङ्गमा गरेका हुन् । पछि विभिन्न संस्कृतिका आचार्यहरू (जगन्नाथ, विश्वनाथ, अभिनव गुप्त, भट्टनायक आदि) ले यस सिद्धान्तलाई विकसित गरेका छन् । काव्यकृतिमा विभाव, अनुभाव, सञ्चारी भाव र स्थायीभावको मिश्रणबाट विभिन्न प्रकारको रसको उत्पत्ति भएको हुन्छ । जसलाई रस विधान भनिन्छ । कुनै पनि काव्यकृतिको रस विधानको अध्ययन गर्दा काव्यकृतिमा के कस्ता अङ्ग रसको प्रयोग गरिएको छ ? र ती अङ्ग रसले अङ्गी रसलाई कसरी परिपाक तथा उत्कर्ष अवस्थामा पु¥याएका छन् भन्ने कुराको विश्लेषण गर्नुपर्दछ । त्यसैले प्रस्तुत अध्ययनमा रस सिद्धान्तलाई आधारमानी कुञ्जिनी खण्डकाव्यमा निहीत अङ्ग रस र अङ्गी रसको विश्लेषण गरिएको छ ।

 

२. समस्याकथन

कुञ्जिनी खण्डकाव्यमा विभिन्न रसहरूको अनुभूति गर्न सकिन्छ । यस खण्डकाव्यमा विभाग, अनुभाव र सञ्चारी भावहरूको संयोजनबाट विभिन्न प्रकारका (करूण, शृङ्गार वीर, रौद्र, अद्भूत भयानक, शान्त) रसको आस्वादन गर्न सकिन्छ । त्यसैले रस विधानका आधारमा कुञ्जिनी खण्डकाव्य प्राज्ञिक शोध गर्न लायक तथा योग्य छ । प्रस्तुत अध्ययनको मूल समस्या कुञ्जिनी खण्डकाव्यमा रसविधान भए तापनि यस समस्याको समाधानको लागि प्रस्तुत अध्ययनपत्रमा निम्नलिखित शोधप्रश्नहरू रहेका छन् ः

क) कञ्जिनी खण्डकाव्यमा केकति अङ्ग रसको प्रयोग गरिएको छ ?

ख) कुञ्जिनी खण्डकाव्यमा अङ्गी रसको विधान केकसरी गरिएको छ ?

 

३. अध्ययनको उद्देश्य

समस्याकथनमा रहेका प्राज्ञिक प्रश्नहरूको समाधानका लागि प्रस्तुत अध्ययन निम्नलिखित उद्देश्यहरूमा केन्द्रित रहेको छ ः

क) कुञ्जिनी खण्डकाव्यमा प्रयोग गरिएका अङ्ग रसको पहिचान गर्नु,

ख) कुञ्जिनी खण्डकाव्यमा विधान गरिएको अङ्गी रसको विश्लेषण गर्नु ।

४. अध्ययन विधि

प्रस्तुत अध्ययन तयार पार्नका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू पुस्तकालयीय अध्ययनकार्यका आधारमा सङ्कलन गरिएको छ । यसमा पुस्तकालयीय कार्यबाट सङ्कलित सामग्रीको विश्लेषणका लागि मुख्य रूपमा निगमनात्मक र आगमनात्मक विधिको प्रयोग गरिएको छ । रस सिद्धान्तका आधारमा कुञ्जिनी खण्डकाव्यको अध्ययन अनुसन्धान गरिएकोले यस अध्ययनमा निगमनात्मक विधिको र कुञ्जिनी खण्डकाव्यको अध्ययन अनुसन्धान गरी निष्कर्ष निकालिएकोले आगमनात्मक विधिको प्रयोग गरिएकोछ । यसका साथै सामग्रीको तथ्यको विश्लेषणका क्रममा आवश्यकता अनुसार वर्णनात्मक विधि र विश्लेषणात्मक प्रक्रियाको पनि प्रयोग गरिएको छ ।

 

५. सैद्धान्तिक पर्याधार

यस शीर्षकअन्तर्गत रसको परिचय, रसका उपकरण, रसका प्रकारहरूको चर्चा गरिएको छ ।

५.१ रसको परिचय

पूर्वीय साहित्य सिद्धान्तमा प्रचलनमा रहेका विभिन्न सिद्धान्तहरूमध्ये रस पनि एक प्रमुख सिद्धान्त हो । यस सिद्धान्तलाई इ.पू. पहिलो शताब्दीका आचार्य भरतमुनिले नाट्यशास्त्रको विवेचना गर्ने क्रममा प्रतिपादन गरेका हुन् । भरतमुनिपछि थूर्पै पूर्वीय आचार्यहरू जगन्नाथ, विश्वनाथ, अभिनम गुप्त, भट्टनायक आदिले यस सिद्धान्तलाई विकसित गरेका छन् ।

संस्कृतको ‘रस्’ धातुमा ‘अच्’ (ऊ) प्रत्यय लागेर रस शब्द निर्मित भएको छ । यसको अर्थ वस्तुको आस्वादनपरक गुण वा वस्तुको सारŒव हो (पराजुली, २०७४ ः १) । काव्यशास्त्र÷साहित्यको सन्दर्भमा रसले आस्वादित हुनुलाई जनाउँछ । पाठक वा श्रोताले कुनै पनि काव्यकृति पढेर वा सुनेर उसका मनमा उब्जिने भाव वा अनुभूतिलाई रस भनिन्छ । रसका माध्यमले गर्दा पाठकलाई काव्यकृति पढ्दा एक प्रकारको आनन्द आउँछ । त्यसकारण रस जहिले पनि आनन्दमय हुन्छ । पाठक वा श्रोतालाई काव्यकृति पढेर सुनेर आनन्द दिनु, मनोरञ्जन दिनु यसको विशेषता हो ।

५.२ रसका उपकरण

रस निष्पत्ति प्रक्रियामा जुनजुन तŒवहरू साधनको रूपमा आउँछन् । तिनैलाई रसका उपकरण भनिन्छ । रसका उपकरणलाई रस सामग्री पनि भनिन्छ । रस काव्यको साध्य भएकाले साध्यसम्म पुग्न चाहिने साधनहरू विभाग, अनुभाव, व्यक्तिचारी भाव र स्थायी भाव नै वास्तवमा रस सामग्री हुन् । यिनको सङ्क्षेपमा निम्नानुसार विश्लेषण गरिएको छ ः

५.२.१ विभाव

विभाव शब्दको अर्थ विशेष भाव हो । यसले पाठक वा दर्शकका मनमा भावलाई अङ्कुराउने तथा उत्तेजित गराउने काम गर्दछ । “वास्तविक जीवनमा नरनारीमा रहने रति (प्रेम), क्रोध, घृणा, करुणा आदि चित्त वृत्तिहरूलाई प्रस्फुरित पार्नमा कारक (माध्यम) बन्ने व्यक्तित्व र परिवेश आदि नै काव्य वा नाटकमा विभाव कहलाउँछन (उपाध्याय, २०६७ ः २८) ।” विभाव आलम्बन र उद्धीपन गरी दुई प्रकारको हुन्छ ।

५.२.१.१ आलम्बन विभाव

काव्यवस्तुको आधार नै आलम्बन विभाव हुन्छ । काव्यमा वर्णित नरनारी तथा पात्रहरू नै आलम्बन विभाव हुन् । आलम्बन विभाव पनि विषयालम्बन र आश्रयालम्बन गरी दुई प्रकारको हुन्छ । जसलाई लक्ष्य गरेर स्थायी भाव अङ्कुरित हुन्छ त्यो विषयालम्बन र जुन व्यक्ति, पात्रमा स्थायीभाव उत्पन्न हुन्छ त्यसलाई आश्रयालम्बन भनिन्छ (उपाध्याय, २०६७ ः २९) ।

५.२.१.२ उद्दीपन विभाव

आवलम्बन विभावले अङ्कुरित गराएको भावलाई बढाउने, मलजल गर्ने कारकलाई उद्दीपन विभाग भनिन्छ । काव्य वा नाटकमा वर्णित देश, काल, पर्यावरण आदि उद्दीपन विभाभव हुन् । जसले स्थायीभाव÷रसलाई उद्दीप्त गर्दछ ।

५.२.२ अनुभाव

अनुभाव ‘भाव’ शब्दमा ‘अनु’ उपसर्ग लागेर बनेको हो । जसको अर्थ भावका पछिपछि लाग्नु अथवा भावलाई बाहिर प्रकट गर्नु हुन्छ । आलम्बन विभाव र उद्दीपन विभावले भावको अनुभव गराइसकेपछि देखापर्ने चेष्टा वा कार्यहरू अनुभाव हुन् । अनुभावहरू रसअनुसार फरकफरक हुन्छन् ।

५.२.३ व्यभिचारी भाव

अस्थिर प्रकारका मानसिक चित्तवृत्तिलाई व्यभिचारी भाव भनिन्छ । एउटै रसमा निर्भर नरहेर छिनछिनमा विभिन्न रसहरूमा परिवर्तन वा चलायमान हुने भएकाले यसलाई सञ्चारी भाव पनि भनिन्छ । “स्थायी भावलाई उकास्न सहयोगीका रूपमा आउने अस्थायी भावलाई व्यभिचारी भाव भनिन्छ” (शर्मा र लुइटेल, २०६७२ ः ४५) । व्यभिचारी भाव विभाव र अनुभावका तुलनामा रससित बढी निकट हुन्छन् । स्थायी भावहरूलाई रसावस्थामा पु¥याउन व्यभिचारी तथा सञ्चारी भावहरूको महŒवपूर्ण भूमिका हुन्छ । संस्कृतका काव्यशास्त्रीहरूका अनुसार व्यक्तिचारी तथा सञ्चारी भाव ३३ प्रकारका हुन्छन् ।

५.२.४ स्थायी भाव

काव्यमा पछिसम्म स्थिर भएर रहने र अन्य भावहरूलाई समेत आफूमै समाहित गर्ने भावलाई स्थायी भाव भनिन्छ । स्थायी भाव साधारणीकरणका माध्यमले रसका रूपमा परिणत भएको हुन्छ । “सहायक वा असहायक व्यक्तिचारी भाव आदि भावहरूद्वारा व्यवहित नहुने र रसास्वादनको आधाररूपमा स्थिर रहने भाव नै स्थायी भाव हो (सिंह, २००७ ः २२६) । स्थायी भाव शृङ्गार रसको रति वा प्रेम, हास्य रसको हाँसो, करुण रसको शोक, रौद्र रसको क्रोध, वीर रसको उत्साह, भयानक रसको भय, बीभत्स रसको जुगुप्सा, उद्भूत रसको विस्मय र शान्त रसको शम वा निर्वेद गरी नौ प्रकारको हुन्छ ।

५.३ रसका भेदहरू÷प्रकारहरू

काव्यको पठन तथा नाटकको दृष्यको माध्यमबाट पाठक तथा दर्शकको मनमा उत्पन्न हुने विशेष भाव नै रस हो । रस पाठक तथा दर्शकको अनुभव तथा अनुभूतिमा आधारित हुने भएकाले यसलाई प्रकारगत रूपमा वर्गीकरण गर्ने क्रममा संस्कृतका आचार्यहरूमा मतमतान्तर रहेको पाइन्छ । प्रायतहः संस्कृतका सबै आचार्यहरूले सर्वसम्मत रूपमा रसलाई शृङ्गार, वीर, करुण, रौद्र, हास्य, भयानक, बीभत्स, अद्भूत, शान्त गरी नौ प्रकारमा वर्गीकरण गरेको पाइन्छ

६. कुञ्जिनी खण्डकाव्यमा अभिव्यक्त अङ्ग रस

काव्यमा पाठकलाई दीर्घकालिन समयसम्म प्रभाव नपार्ने तथा अङ्गी रसलाई परिपोषक÷परिपाक बनाउनमा सहयोग पु¥याउने रसलाई अङ्ग रस भनिन्छ । अङ्ग रसलाई सहायक तथा गौण रस पनि भनिन्छ । अङ्गी रस काव्यमा एकभन्दा बढी रहेका हुन्छन् । प्रस्तुत काव्यमा शृङ्गार, वीर, विभत्स, शान्त, अद्भूत, भक्ति, रौद्र, भयानक रसहरू अङ्ग रसका रूपमा चित्रित भएका छन् । शृङ्गार रसले करुण रसलाई अङ्गी रस बनाउनमा बढी भूमिका निर्भाह गरेकाले प्रस्तुत अध्ययन अङ्ग रसका रूपमा शृङ्गार रसको मात्र अध्ययन गरिएको छ ।

६.१ संयोग शृङ्गार

संयोग शृङ्गारमा प्रेमीप्रेमिकाको वा पतिपत्नीको मिलन तथा प्रेमको वर्णन हुन्छ । यस रसमा प्रेमीप्रेमिका तथा पतिपत्नीहरू एकैठाउँमा बसेर प्रेममय वार्तालाप तथा शारीरिक क्रियाकलापको सङ्केतको वर्णन गरिएको हुन्छ । कुञ्जिनी खण्डकाव्यमा कुञ्जिनी र गोरे आलम्बन विभागका रूपमा आएका छन् । यी दुवै पात्र विषयालम्बन र आश्रयालम्बनका रूपमा रहेका छन् । एकान्त स्थान, जङ्गल, कुञ्जिनीको सुन्दरता, कुञ्जिनी र गोरेको बोली तथा संवाद, ठालूसिंहले कुञ्जिनी र गोरेको विवाह गर्ने कुरा गर्नु आदि उद्दीपन विभाव रहेका छन् । गोरेले खुसी प्रकट गर्नु, कुञ्जिनी र गोरेले अङ्माल गर्नु, कुञ्जिनीले खुसी प्रकट गर्नु, कुञ्जिनीले सानीमा सिन्धुसँग सारी, गाजल लगाइ माग्नु, आदि अनुभाव रहेका छन् भने हर्ष, धैर्य, धृति, आवेग, वितर्क, द्विविधा, मति, दैन्य, स्मृति, औत्सुक्य, स्वप्न आदि व्यभिचारी तथा सञ्चारी भाव रहेका छन् । यसमा गोरेले सपनामा कुञ्जिनीलाई देखेको कुराको वर्णन हुँदा स्वप्न भाव, गोरेले घाँसको भारी बोकेको वर्णन हुँदा श्रम भाव, गोरेले कुञ्जिनीलाई सम्झेकोले स्मृति भाव, गोरे कुञ्जिनीलाई भेट्नको लागि आतुर भएकोले औत्सुक्य भाव, गोरेले कुञ्जिनीको रूपरङ्ग सम्झेकोले स्मृति भाव, कुञ्जिनीलाई भेट्न पर्खी बसेको गोरेले कुञ्जिनी आएपछि खुसी भएकाले धृति भाव, गोरेले कुञ्जिनीसँग आफ्नो गरिबीपनको कुरा गरेकाले दैन्य भाव, कुञ्जिनीले गोरेलाई बैंस भन्ने कुरा एकछिन हो यो पछि समाप्त हुने कुरा गर्दा मति भाव, गोरेको प्रेम प्रस्तावमा कुञ्जिनीलाई के गरुँ के नगरुँ भन्नेर द्विविधा उत्पन्न भएकाले शङ्का भाव, कुञ्जिनीको कुरालाई खण्डन गर्न गोरेले कुञ्जिनीलाई धेरै माया गर्ने कुरा गर्दा वितर्क भाव, कुञ्जिनीले प्रेम प्रस्ताव स्वीकार गरेकोमा गोरे खुसी भएकोले तथा आफ्नी छोरी बचाएर ल्याएकोले ठालुसिंहले कुञ्जिनीको विवाह गोरेसँग गर्ने कुरा गर्दा कुञ्जिनी खुसी भएकाले हर्ष भाव र धृति भाव रहेको छ ।

यसरी स्वप्त, श्रम, स्मृति, औत्सुक्य, धृति, दैन्य, मति, शङ्का, वितर्क, हर्ष व्यक्तिचारी तथा सञ्चारी भावले रति÷प्रेम स्थायी भावलाई परिपाक बनाउनमा सहयोग गरेका छन् । यहाँ संस्कृतिका आचार्यहरूले भनेजस्तो शारीरिक क्रियाकलापयुक्त शृङ्गार रस नभएर भावनात्मक शृङ्गार रसको अभिव्यक्त भएको छ । नायकनायिका तथा प्रेमीप्रेमिका राती सँगैमा भएको वर्णन भए पनि यसमा चुम्वन गरेको, ओठ चुसाचुस गर्नु, आलिङ्गन गर्नु जस्ता कुराको वर्णन भएको नभई मानसिक, भावनात्मक प्रेम÷रतिको वर्णन गरिएको छ । जसलाई तलका केही साक्ष्यहरूको पुष्टि गरिन्छ ः

पख्, छाती एकै छिन ता बाटो हेरौँ न

छहरे काँधमा आउँछिन् भेडा चराउन !

(कुञ्जिनी, २ ः १)

यहाँ गोरे कुञ्जिनीलाई भेट्नको लाग आतुर भएकोले औत्सुक्य भाव रहेको छ । यो औत्सुक्य भाव विकसित भएर धृति भावको अवस्थामा पुगेको छ । जसलाई यसरी प्रस्तुत गरिएको छ ः

उ हेर तिनी आइन्

पीर्तिका बथान ल्याइन्

वन नाला बन्दै गाइन्, फूल पयरमा

(कुञ्जिनी, २ ः ५)

कोल्पूको बाढीको भेलबाट कुञ्जिनीलाई बचाएर ल्याएकोले ठालूसिंहले कुञ्जिनीको विवाह गोरेसँग गर्ने कुरा गर्दा गोरे र कुञ्जिनी खुसी हुन्छन् । यस बेला कुञ्जिनीले सानी आमा सिन्धुसँग व्यक्त गरेको हर्ष भावलाई तल प्रस्तुत गरिएको छ ः

गाजल लाइदेऊ सानीमा !

खुल्नेगरी आँखा नानीमा,

लमकोसे पार त्यसै !

कान्तिपुर सारी धानीमा ।

(कुञ्जिनी, १० ः २)

यहाँ कुञ्जिनी गोरेसँग विवाह हुने कुराले हर्षित भएर आफ्नी सानीआमा सिन्धुसँग आफूलाई शृङ्गार गरिदिन आग्रह गर्दछे । आफ्नो प्रेम प्राप्त हुने कुराले कुञ्जिनीमा हर्ष भाव रहेको छ । यो हर्ष भाव धृति भावको रूपमा पनि परिणत भएर रति÷प्रेम स्थायी भावलाई परिपक्क बनाउने काम गरेको छ ।

६.२ वियोग शृङ्गार

वियोग शृङ्गारलाई विप्रलम्भ शृङ्गार पनि भनिन्छ । यस वियोग शृङ्गारमा नायकनायिका तथा प्रेमिप्रेमिका बीच कुनै कारणले बिछोड भएको हुन्छ र तिनीहरू एकअर्कालाई भेट्नको लागि आतुर हुन्छन् वा तिनीहरूलाई एकअर्काको स्मृति भएर पीडाको महसुस हुन्छ । यसमा प्रेमीप्रेमिका टाढा हुन्छन् । कुञ्जिनी खण्डकाव्यमा कुञ्जिनी र गोरे आलम्वन विभाव हुन् भने तिनीहरूलाई एकाअर्काको सम्झना आउनु, गोरेले कुञ्जिनीलाई सपनामा देख्नु उद्दीपन विभाव हुन्छ । त्यस्तै गोरेको यादमा कुञ्जिनी छटपटीनु, कुञ्जिनीलाई खाना नरुच्नु, कुञ्जिनीलाई ज्वरो आउनु, कुञ्जिनी विछिप्त बन्नु, कुञ्जिनी रोएर तथा टोलाएर बस्नु, गोरेले कुञ्जिनीलाई सम्झिरहनु, कुञ्जिनीको यादमा गोरे रुनु, गोरेलाई जाँगर नआउनु अर्थात् शिथिल हुनु, सामान्य घाइने भएर पनि कुञ्जिनीको यादले गोरे गम्भिर घाइने बन्नु आदि अनुभाव हुन् । रति स्थायी भावलाई परिपाक गर्नको लागि यस खण्डकाव्यमा उन्माद, मोह, मति, वितर्क, स्मृति, चिन्ता निर्वेद औत्सुक्य, अश्रु, स्वप्न, बिबोर, उन्माद आदि व्यक्तिचारी तथा सञ्चारी भावको चित्रण गरिएको छ ।

प्रस्तुत काव्यमा गोरेले लडाइँ जानेबेलामा कुञ्जिनी भावविह्वल भएर गोरेसँग मर्ने कुरा गर्दा उन्माद भाव, गोरेसँगको बिछोडका कारण कुञ्जिनीले बरवर्ती आँसु खसालेर रुँदा अश्रु भाव, गोरेसँगको वियोगमा कुञ्जिनीका ज्ञानेन्द्रियले काम गर्न छोडेकोले मोह भाव, सानी आमा सिन्धुले कुञ्जिनीलाई जीवनमा एकछिन मात्र विजोग छ त्यसपछि सुखको दिन आउँछ भनेर सम्झाउँदा मति र निर्वेद भाव, कुञ्जिनीले सानीआमा सिन्धुसँग जिन्दगी र आँसुको दाना मात्र हो सुख होइन भन्दा वितर्क भाव, गोरेले लडाइँमा जानेबेलामा बाटोमा कुञ्जिनीलाई सम्झेकाले स्मृति भाव, गोरेले अब कुञ्जिनीसँग भेट नहोला कि भनेर मानवीरलाई भन्दा चिन्ता भाव, कुञ्जिनीले सिन्धुसँग गोरेलाई भेट्ने इच्छा प्रकट गरेकीले तथा गोरेले कुञ्जिनीलाई सम्झिरहनुले औत्सुक्य भाव, गोरेले सपनामा कुञ्जिनीलाई घाट लागेको देख्दा स्वप्न भाव, सपनाबाट बिउँझिएर गारेले कुञ्जिनीलाई सम्झना विभोर भाव, बिहे हुन लाग्दा सिँगारिएकी कुञ्जिनीले न रुँदा न हाँस्दा अर्थात् टोलाइरहँदा जडता भाव, गोरेको यादमा चेतना शून्य भएर कुञ्जिनीले आत्महत्या गर्न जाँदा उन्माद भाव रहेको छ ।

यसरी उन्माद, मोह, मति, वितर्क, स्मृति, जडता, चिन्ता, औत्सुक्य, स्वप्न, बिबोर, आदि व्यक्तिचारी तथा सञ्चारी भावले रति÷प्रेम स्थायी भावलाई परिपक्क बनाई वियोग शृङ्गार रसको निष्पत्ति गराएको छ । जसलाई निम्नलिखित साक्ष्यले पुष्टि गरिन्छ ः

‘म मर्छु’ भन्छिन् बाँच्दिन भन्छिन् कुञ्जिनी रोएर ।

छातीको घँुक्का आँसुमा वर्षी सारीले छोएर । … (कुञ्जिनी, १२ ः १३)

यहाँ गोरे लडाइँमा जान लाग्दा कुञ्जिनीले गोरेलाई एक्ली बाँच्न गाह्रो हुने, तिम्रो यादले जलन हुने भएकाले मर्छु भन्ने कुरा गरेकीले उन्माद भाव रहेको छ । नभन्दै काव्यको कथावस्तुको अन्त्यतिर कुञ्जिनीले गोरेलाई सम्झँदै त्रिशुलीमा हाम फालेर आत्महत्या गरेकी छे जसको पुष्टि तलको साक्ष्यबाट हुन्छ ।

शिरदेखि पयरसम्म गहना र पोशाक लाएकी,

सबै आँखा छलेर दगुरिन् अमर भावको स्वर्ग धाएकी ।

त्रिशूली डीलमा दरबार गुलाफबारी भएको झल्कियो,

गोरेलाई झलक्क देखिन् फूलथुंगे शरीर मिल्कियो । (कुञ्जिनी, २१(ख)ः ३)

यसरी गोरेको वियोगमा कुञ्जिनीमात्र पीडित नभएर कुञ्जिनीसँगको वियोगमा गोरे समेत विछिप्त बनेको छ । उसले पनि कुञ्जिनीलाई बेलाबेलामा सम्झिरहेको कुरा तलको साक्ष्यले पुष्टि गर्दछ ।

गोरेले देख्यो बाटमा खाली कुञ्जिनी झलल

बादलको टुक्रे छायाझैँ पछि लागेको शीतल ।

चुल्ठोझैँ उनको नागबेली बाटो घुम्दथ्यो फनन,

दायाँ र बायाँ उनकै छाया नाच्दथ्यो भनन ।

सियाले केश पर्वतमा भुक्के मधुरो छाया ली,

विरह बादल तिनमा हेर्थे गहिरो माया ली । (कुञ्जिनी, १४ ः १३)

यस साक्ष्यमा लडाइँमा गइरहेको गोरेले बाटोमा कुञ्जिनीलाई सम्झेको छ । त्यसैले यहाँ स्मृति भाव पनि छ । कुञ्जिनीको सम्झनाले गोरेलाई सताएको । कुञ्जिनीसँगको वियोगले गोरेलाई पीडा भइरहेकोले यहाँ औत्सुक्य भाव पनि छ ।

कुञ्जिनी खण्डकाव्यमा वियोग शृङ्गारको प्रभास विप्रलम्भको अवस्था रहेको छ । यहाँ गोरेले आफ्नी प्रेमिका कुञ्जिनीलाई छोडेर आफू जर्मनको लडाइमा गएको छ । यहाँ प्रेमीप्रेमिकाको बिछोडपछि दुवैलाई बेचैनी र छटपटी भएको छ । जसले गर्दा वियोग शृङ्गार परिपाक अवस्थामा पुगेको छ । यही वियोग शृङ्गाले अन्त्यमा करुण रसलाई परिपाक बनाई यसै (करुण रस) लाई अङ्गी रस बनाएको छ । वियोग शृङ्गार परिपाकपूर्ण अवस्थापछि करुण रसमा परिणत भएको छ । गोरेले जर्मनको लडाइँमा गएपछि उसको यादमा÷सम्झनामा विछिप्त, उन्माद बनेकी कुञ्जिनी काव्यको अन्त्यावस्थामा चेतनाशून्य अवस्थामा पुगी आफ्नो विवाह सेतेसँग भइरहेको दिन सोह्र शृङ्गारले सजिरहेकी अवस्थामा त्रिशुलीमा हाम फाल्न पुगेकी छ । कुञ्जिनीको मृत्युपछि उक्त वियोग शृङ्गार करुण रसको अवस्थामा पुगेको छ । वियोग शृङ्गारमा प्रेमीप्रेमिकाको बिछोड हुन्छ तर तिनीहरूमा पुनर्मिलनको सम्भावना पनि रहेको हुन्छ । यहाँ कुञ्जिनीको आत्महत्याले कुञ्जिनी र गोरेको पुनर्मिलनको अवस्था रहेको छैन भने लडाइँमा घाइने भएको गोरे पनि कुञ्जिनीको सम्झनामा विछिप्त अवस्थामा पुगेको छ । पाठानहरूले खोपेको भालाको घाउभन्दा मनको घाउले कुञ्जिनीलाई सम्झदै गोरेको पनि मुत्यु भएको छ । यसरी कुञ्जिनी खण्डकाव्यमा प्रेमीप्रेमिका दुवैको मृत्यु भएको छ । प्रेमीप्रेमिकाको मृत्यु पूर्वको अवस्था जतिखेर दुवैले वियोगमा एक अर्कालाई सम्झिरहेका थिए त्यो अवस्थासम्मा यस खण्डकाव्यमा वियोग शृङ्गारको परिपाकपूर्ण अवस्था रहेको छ । कुञ्जिनी र गोरेको मृत्युपश्चात् उक्त वियोग शृङ्गारको रति÷प्रेम भाव शोक भावमा परिणत भएपछि यसले करुण रसलाई परिपाक अवस्थामा पु¥याएको छ । करुण रसलाई परिपाक अवस्थामा पु¥याउन सहयोग गरेकाले वियोग शृङ्गार प्रस्तुत खण्डकाव्यमा अङ्ग रसका रूपमा अभिव्यक्त भएको छ ।

 

७. कुञ्जिनी खण्डकाव्यमा प्रयुक्त अङ्गी रस

काव्यमा मुख्य तथा प्रदान भएर आउने रसलाई अङ्गी रस भनिन्छ । काव्यमा विभिन्न प्रकारका सहायक तथा गौण रसहरू पनि हुन्छन् । यी सहायक तथा गौण रसले पनि कुनै एक रसलाई परिपक्क बनाएर पाठक र दर्शकको मनमा पछिसम्ममा प्रभाव उत्पन्न गरेको हुन्छ । पूर्वीय आचार्य विश्वनाथले काव्यमा शृङ्गार, शान्त र वीर रसमध्ये कुनै एक रस अङ्गी (मुख्य) रसका रूपमा र अरू रसलाई अङ्ग (सहायक÷गौण) रूपमा चित्रित हुनुपर्दछ भनेका छन् । तर प्रस्तुत कुञ्जिनी खण्डकाव्यमा करुण रस अङ्गी रसको रूपमा आएको छ । कुञ्जिनी खण्डकाव्यमा घटेका विभिन्न घटनाहरूले पनि करुण रसको विकासमा सहयोग गरेको पाइन्छ । जर्मनको लडाइँमा दुस्मनको गोली लागेर घाइते भई कुञ्जिनीलाई सम्झेर उसकै यादमा डुवेर गोरे राउतको मृत्यु भएको बेला र गोरेसँग बिछोड भएपछि बुबा ठालुसिंहले सेतेसँग विवाह छिनेपछि गोरेको यादमा कुञ्जिनीले त्रिशूलीमा हाम फालेर आत्महत्या गरेको घटनाले पाठकका मनमा वियोग शृङ्गारको भाव अनुभूति गराए पनि यस घटनामा करुण रसले पाठकमा दीर्घकालीन समयसम्ममा प्रभाव पारेको छ । कुञ्जिनी र गोरे दुवैको मिलन असम्भव भएकाले पनि प्रस्तुत घटनाले पाठकको मनमा शोक भाव प्रभाव उत्पन्न गरेको छ । प्रस्तुत काव्यमा गोरेले जर्मनको लडाइँमा जाँदा, मानवीर घाइते भई मूच्र्छित हुँदा, गोरे जर्मनको लडाइँमा पाठानको भालाले घाइने हुँदा, गोरेसँगको वियोगमा कुञ्जिनीको विक्षिप्त अवस्था हुँदा, गोरेले राती नराम्रो सपना देख्दा, ठालुसिंहले कुञ्जिनीको भावना विपरित लखन लप्टनको छोरो सेतेसँग विवाह छिन्ने कार्य गर्र्दा, सिन्धुले राती नराम्रो सपना देख्दाका घटनाहरूले पनि करुण रस तथा शोक स्थायी भावको विकास गरेको छ । त्यसैले प्रस्तुत खण्डकाव्यमा करुण रस अङ्गी (प्रधान÷ मुख्य) रसका रूपमा चित्रित भएको छ ।

इष्टवस्तुको विनाश र अनिष्ट वस्तुको उत्पत्तिको विषादबाट करुण रसको अभिव्यक्ति हुन्छ । आफन्तको तथा प्रियजनसितको वियोग वा तिनको विपत्ति वा तिनको मरण देखेर वा सुनेर अथवा प्रिय वस्तुको विनाश देखेर वा सुनेर मनमा उत्पन्न हुने विकलताबाट करुण रसको उत्पत्ति हुन्छ (उपाध्याय, २०६७ ः ५८) । कसैको दुःखद कहानी सुन्दा वा पढ्दा पाठक तथा श्रोताको मनमा एक किसिमको शोक भावको अनुभूति हुन्छ । जुन करुण रसको स्थायी भाव भएर आउँछ । प्रस्तुत काव्यमा करुण रसलाई उत्कर्षमा पु¥याउनको लागि विभिन्न भावहरूको संयोजन गरिएको छ । यस काव्यमा आलम्बन विभावका रूपमा गोरे, कुञ्जिनी, मानवीर, सिन्धु, ठालूसिंह आएका छन् । जसमा गोरे, कुञ्जिनी, मानवीर विषयालम्बन र मानवीर, सिन्धु, ठालूसिंह आश्रयावलम्बनका रूपमा आएका छन् । त्यस्तै गोरे जर्मनको लडाइँमा जानु, जर्मनको लडाइँमा गएको गोरेको सम्झना कुञ्जिनीलाई आइरहनु, मानवीर र गोरे घाइते हुनु, ठालुसिंहले कुञ्जिनीको विवाह सेतेसँग छिन्नु, सिन्धुले नराम्रो सपना देख्नु गोरेको मृत्यु हुनु, कुञ्जिनीले त्रिशुलीमा हाम फालेर आत्महत्या गर्नु उद्दीपन विभाग हुन् । गोरेसँग भएको बिछोडमा कारण कुञ्जिनी एक्लै टोलाएर बस्नु तथा खाना पनि नखानु, गोरेको याद तथा सम्झनामा कुञ्जिनी विरामी हुनु, सेतेसँग आफ्नो विवाह हुने कुरा सुनेर कुञ्जिनीको कलेजा छियाछिया हुनु, कुञ्जिनीले विष खाएर मरुझैँ गर्नु, मानवीर घाइते हुनु, मानवीरले गोरेसँग अब आफू नबाँच्ने भएकाले गोरेको विवाह हेर्न पनि नपाउने कुरा गर्नु, गोरे र मानवीर अँगालो हालेर रुनु, गोरेको अवस्था झन्झन् विग्रदै जानु, गोरेले कुञ्जिनीलाई मानवीर मार्फत आफ्नो केश मायाको चिनो पठाउनु, कुञ्जिनीको विछिप्त अवस्था देखेर सिन्धुलाई छटपटी हुनु, मानवीरले गोरेलाई अँगालो हालेर रुनु, कुञ्जिनीको वियोगमा÷मृत्युपछि सिन्धु र ठालूसिंह रुनु, ठालूसिंहले पश्चात्ताप गर्नु, सिन्धुलाई कुञ्जिनीको झल्को आइरहनु आदि अनुभाव हुन् । विभाव र अनुभावको मेल भई प्रस्तुत काव्यमा शोक भावलाई उत्पन्न गर्नको लागि उन्माद, मोह, मति, जडता, मरण, चिन्ता, स्मृति, स्वप्न, बिबोर, व्याधि, शोक, अश्रु, विषाद, त्रास, स्वरभेद आदि व्यक्तिचारी तथा सञ्चारी भावको प्रयोग गरिएको छ ।

प्रस्तुत काव्यमा गोरेका यादमा जलेर कुञ्जिनी विक्षिप्त भएकोले तथा कुञ्जिनीको त्यस्तो विक्षिप्त अवस्था सिन्धुले देखेकीले उन्माद भाव, गोरेको वियोगमा विक्षिप्त बनेकी कुञ्जिनी चेतना शून्य अवस्थामा पुगेकीले मोह भाव, जर्मनको लडाइँमा गएको पल्टन चन्द्रगिरीमा पुगेपछि देशलाई (नेपाललाई) सम्झेर रोएको अवस्थाको वर्णन हुँदा स्मृति भाव, लडाइँमा जाने क्रममा गोरेले बाटोभरि कुञ्जिनीलाई सम्झदै हिँडेको अवस्थाको वर्णन हुँदा औत्सुक्य भाव, ठालूसिंहले कुञ्जिनीको विवाह लखन लप्टनको छोरा सेतेसँग छिन्न गएको बखतमा कुञ्जिनीको दयनीय तथा विक्षिप्त अवस्था देखेर कुञ्जिनीलाई केही हुने त होइन भन्ने कुराको वर्णन हुँदा चिन्ता, घाइते भएको मानवीर मुर्छा परेको अवस्थामा मरण भाव, गोरेले राती सपनामा कुञ्जिजनीलाई घाटमा लगेको देखेको वर्णन हुँदा स्वप्न भाव, सपनाबाट विउँझिएर गोरे कुञ्जिनीलाई सम्झेर रुँदा स्मृति र बिबोर भाव, गोरे मनको घाउ र लडाइँको घाउले मुर्छित परेकाले व्याधि भाव, गोरेको मृत्यु भएपछि मानविरले गोरेलाई अँगालो मारेर रुँदा अश्रु तथा शोक भाव, पानी परिरहेको बेला कुञ्जिनीलाई दौडेर त्रिशुलीतिर गइरहेको देख्दा सिन्धुमा त्रास भाव, कुञ्जिनीको मृत्युपछि ठालूसिंहले कपाल लुडेर लडीबुडी खेल्दा विषाद भाव, कुञ्जिनीको मृत्युपछि सिन्धुले रुँदा औत्सुक्य भाव, बेलाबेला कुञ्जिनीलाई सम्झेर सिन्धुले रुँदा स्मृति र अश्रु भाव उत्पन्न भएको छ ।

यसरी प्रस्तुत खण्डकाव्यमा विभिन्न व्यथिचारी तथा सञ्चारी भावले शोक स्थाइ भावलाई उत्पन्न गराई करुण रसलाई परिपाक बनाएको छ । जसलाई तलका साक्ष्यहरूले पनि प्रस्ट पार्न सकिन्छ ः

धेरै छैन अबलाई सँगी दुईचरी बसेन्थ्यौ हाँगामा,

थौटी चरी उडेर जाली आर्की जाली पहाडी हावामा,

घर पुगे भन्दिए सँगी ! पीरतीकी बत्तीलाई सुनाई,

कस्ता हामी नङमासु थियौं कति छाती खोलेर देखाई !

बिहा तिम्रो हेरूँला भन्दा परदेशमा दुश्मनको मारखाई,

आँसु दोटा गिराई गयो मानवीर गुरुङ भनेर उनलाई । (कुञ्जिनी, १९ ः १७)

यहाँ रुँदै पठानसँग मुडभेटमा मानवीर घाइते भएको बखत उसले गोरेलाई अब आफू नबाच्ने भएकाले घर गएपछि कुञ्जिनीलाई हाम्रो मित्रताको बयान सुनाइदिने कुरा गर्दागर्दै बेहोस÷मूर्छित परेको अवस्थाको वर्णन हुँदा मरण भाव रहेको छ भने यो मरण भावले स्थायी भावको शोक भावलाई व्युँताई करुण रसको उत्पत्ति भएको छ ।

गोरे भन्छ अडेर बीच धारा जालको सुकेर झरेझैँ

मुर्दा रातमा पात चाल्ने हावा सेलाएर मधुरो भरझैँ ।

“घर मेरो कोल्पूमा सँगी ! एक टुक्रो केश काटी राखेर,

मेरो चिनो बगाइदेऊ भन्नु कुञ्जिनीलाई एकान्त डाकेर ।

सिंह सरि गर्जेर उफ्री दश दुश्मन हातले गिंडेर ।

आखिर घाउ लागेको कोखो मनको पुग्न नपाई धोको;

गयो तिमी सपनादेखी स्वर्गतिर आँसुले हेरेर ।” (कुञ्जिनी, २० ः २५)

यहाँ लडाइँमा दुश्मनको भालाले घाइते भएको गोरेले मर्नुभन्दा अगाडि मानवीरसँग कुञ्जिनीलाई आफ्नो (गोरेको) केश काटेर दिनु, मैले सिंहको जस्तै उफ्रेर दसवटा दुश्मनलाई मारेको कुरा भन्दिनु भन्ने कुरा गर्दा हुँदा अश्रु तथा शोक भाव उत्पन्न भएको छ । जसको कारणले करुण रसको निष्पत्ति भएको छ ।

मानवीरले अँगालो हाल्यो ! सँगी सँगी भनेर रोएर,

सबै रोए वीरको आखिर सच्चा कुरा उसले फोएर । (कुञ्जिनी, २० ः ३०)

यहाँ जर्मनको लडाइँमा घाइते भएको गोरेको मृत्युपछि मानवीरले गोरेलाई अँगालो हालेर रोएको कुराको वर्णन हुँदा तथा गोरेका अरू साथीहरूले पनि रोएको कुराको वर्णन गरिदा अश्रु÷शोक व्यक्तिचारी भाव उत्पन्न भएको छ । जुन भाव करुण रसमा परिणत भएको छ ।

“कठै मेरी गयौ नि बाबा ! मेरी छोरी कुञ्जिनी अपारकी !

प्यारी मेरी कलेजाभन्दा जुहार यौटी गयौ नि संसारकी,

कठै ! तिम्रो दुखेको दिल ! कठै तिम्रा जलका लोचन,

सम्झी सम्झी फुट्दछ छाती तिम्रा मीठो बोली र बचन !

….

तर तिम्री अस्सरे छाया पृथिवीमा रोएर गयौ नि,

हामी आज टुहुरा जस्ता बत्ती निभी बसेझैँ बन्यौँ नि”

सिन्धुलाई गलामा आई आँसुको भलको घुँक्काले समायो

ओठलाई फर्फर पारी आँखा सलसल बधाली रूलायो ।। (कुञ्जिनी, २१ (घ) ः २)

यहाँ कुञ्जिनीले त्रिशुलीमा आत्महत्या गरेपछि कुञ्जिनीसँगको वियोगमा कुञ्जिनीलाई सम्झेर तथा उसका विगतका क्रियाकलाप र रूपरङ्ग सम्झेर छटपटाइ रहेकी सिन्धुको हृदयविदारक तथा करुणा जन्य स्थितिको चर्चा गरिएकोले स्मृति र शोक भाव रहेको छ । जुन भाव करुण रसमा परिणत भई पाठकलाई समेत भावविह्वल तथा करुणाजन्य स्थितिमा पु¥याउँछ ।

यसरी विभाव, अनुभाव, व्यक्तिचारी तथा सञ्चारी भाव र स्थायी भावको माध्यमले प्रस्तुत काव्यमा अङ्गी रसका रूपमा करुण रसको निष्पत्ति भएको छ । यस काव्यमा वियोग शृङ्गार, रौद्र, वीर, भक्ति आदि रसले पनि करुण रसलाई परिपाक गराई यस (करुण रस) लाई कुञ्जिनी खण्डकाव्यको अङ्गी (मुख्य) रस बनाउनमा सहयोग गरेको छ ।

 

८. निष्कर्ष

काव्यमा मुख्य तथा प्रदान भएर आउने रसलाई अङ्गी रस भनिन्छ । काव्यमा विभिन्न प्रकारका सहायक तथा गौण रसहरू पनि हुन्छन् । यी सहायक तथा गौण रसले पनि कुनै एक रसलाई अङ्ग रस भनिन्छ । अङ्ग रसले काव्यमा वा कृतिमा कुनै एक रसलाई परिपक्क बनाउनमा सहयोग गरेको हुन्छ् । अङ्ग रस काव्यमा वा कृतिमा एकभन्दा बढी पनि हुनसक्छन् । कुञ्जिनी खण्डकाव्यमा करुण रस मुख्य वा प्रधान रस भएर आएकोले यस खण्डकाव्यमा अङ्गी रसका रूपमाम करुण रसको चित्रण गरिएको पाइन्छ । करुण रसलाई अङ्गी रस बनाउनमा तथा यस रसलाई परिपक्व बनाएर पाठकको मनमा पछिसम्ममा प्रभाव उत्पन्न गराउनमा कुञ्जिनी खण्डकाव्यमा शृङ्गार, वीर, विभत्स, शान्त, अद्भुत, भक्ति, रौद्र, भयानक रसहरू अङ्ग रस अर्थात् सहायक रसका रूपमा चित्रित भएका छन् ।

कुञ्जिनी खण्डकाव्यमा घटेका विभिन्न घटनाहरूले यस खण्डकाव्यमाकरुण रसको विकासमा सहयोग गरेको पाइन्छ । जर्मनको लडाइँमा दुस्मनको गोली लागेर घाइते भई कुञ्जिनीलाई सम्झेर उसकै यादमा डुवेर गोरे राउतको मृत्यु भएको बेला र गोरेसँग बिछोड भएपछि बुबा ठालूसिंहले सेतेसँग विवाह छिनेपछि गोरेको यादमा कुञ्जिनीले त्रिशुलीमा हाम फालेर आत्महत्या गरेको घटनाले पाठकका मनमा वियोग शृङ्गारको भाव अनुभूति गराए पनि यस घटनामा करुण रसले पाठकमा दीर्घकालिन सयसम्ममा प्रभाव पारेको छ । यहाँ कुञ्जिनी र गोरे दुवैको मृत्यु भएकाले यी दुवैको मिलन असम्भव भएकाले पनि प्रस्तुत घटनाले पाठकको मनमा शोक तथा अश्रु भाव उत्पन्न गराएको छ । जुन करुण रसका रूपमा पाठकमा साधारणीकरण भएको छ । यस खण्डकाव्यमा करुण रसलाई अङ्गी रसका रूपमा साधारणीकरण गराउनमा सबैभन्दा बढी शृङ्गार रसले महŒवपूर्ण भूमिका निर्वाह गरेको छ । शृङ्गार रसमा पनि वियोग शृङ्गार रसले अझ बढी भूमिका निर्वाह गरेको छ । शृङ्गार रसका साथै वीर, बीभत्स, शान्त, अद्भुत, भक्ति, रौद्र, भयानक रसहरूले पनि कुञ्जिनी खण्डकाव्यमा करुण रसलाई अङ्गी रसका रूपमा पाठको हृदयमा साधारणीकरण गराउनमा भूमिका निर्वाह गरेका छन् ।

 

 

सन्दर्भ सामग्री सूची

उपाध्याय, केशवप्रसाद, पूर्वीयसाहित्य सिद्धान्त, (पाँचौँ संस्क.), ललितपुर ः साझा प्रकाशन, २०६७ ।

गडतौला, नारायण, रस र ध्वनि सिद्धान्त, काठमाडौँ ः प्रगति पुस्तक प्रकाशन प्रा. लि., २०७१ ।

देवकोटा, लक्ष्मीप्रसाद, कुञ्जिनी, (चौथो संस्क.), ललितपुर ः साझा प्रकाशन, २०४७

पराजुली, मोतिलाल, रस सिद्धान्त र प्रयोग, त्रि.वि. ः एम. फिल. कार्यक्रमा प्रस्तुत कार्यपत्र, २०७४ ।

पोखरेल, भानुभक्त, सिद्धान्त र साहित्य, (दोस्रो संस्क.), ललितपुर ः साझा प्रकाशन, २०५९ ।

लम्साल, रामचन्द्र र अन्य, साहित्यशास्त्र, नेपाली समालोचना र शोधविधि, काठमाडौँ ः भुँडीपुराण प्रकाशन, २०६७ ।

शर्मा, मोहनराज र लुइटेल, खगेन्द्रप्रसाद, पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, (चौथो संस्क.), काठमाडौँ ः विद्यार्थी पुस्तक भण्डार, २०७२ ।

सिंह, सत्यव्रत, (सम्पा.), साहित्य दपर्ण, वाराणासी ः चौखम्बा विद्याभवन, सन् २००७ ।

मो. ९८४८४९७४८८

 

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments