सार

(प्रस्तुत अध्ययनमा समाख्यानमत्मक कालव्यवस्थाका कोणबाट हारजित कथाको विश्लेषण गरिएको छ ।न्यायमूर्ति घुरहु र सहयोगी मनोहरमध्ये को बढी आदरणीय हो भन्ने द्विविधामा परेका गाउँलेहरू र त्यहाँका निम्न वर्गीय नेपाली जनजीवनका सामाजिक समस्यालाई लिएर यो कथा तयार पारिएको देखिन्छ । यस विषयलाई प्रस्तुत गर्ने क्रममा समाख्याता कथाभन्दा बाहिर बसी सम्पूर्ण घटनाको द्रष्टाको रूपमा रहेर प्रस्तुत गरेको छ । समाख्यानात्मक कालव्यवस्थाका दृष्टिले हेर्दा पूर्वघटित घटनाहरूको समाख्यानमा समाख्यानात्मक भूतकाल र स्थिति वर्णन, पात्रका भावना, अनुभूति र मनोदशाको वर्णनमा समाख्यानात्मक अभूत (वर्तमान र भविष्यत्) कालको प्रयोग भएको देखिन्छ । समाख्याताले आपूmले पहिले नै देखिसकेको घटनालाई भूतकालिक क्रियापदमार्पmत सम्बोधितलाई सुनाइरहेको हुनाले यसमा समाख्यानात्मक भूतकालको प्रयोग भएको पाइन्छ ।)

बीजशब्द : समाख्याता, कालव्यवस्था, परकथनात्मक, कार्यको विस्तृति,समाख्यानात्मक भूतकाल ।

१. विषय परिचय

नेपाली साहित्यमा कथा, कविता, उपन्यास, निबन्ध, समालोचना जस्ता विधामा कलम चलाउने भवानी भिक्षु

(वि.सं. १९६६–वि.सं. २०३८) बहुमुखी प्रतिभाका धनी हुन् । कथा र उपन्यास विधामा प्रसिद्ध प्राप्त उनका गुनकेशरी

(२०१०), मैयाँ साहेब (२०१७), आवर्त

(२०२४) र अवान्तर (२०३४) गरी चारवटा कथासङ्ग्रह प्रकाशित छन् । हारजित कथा उनको मैयाँ साहेब कथासङ्ग्रहमा सङ्कलित छ । सामाजिक समस्यामूलक प्रस्तुत कथा नेपालको मध्यपश्चिम तराईको स्थानीय जनजीवनमा आधारित छ । यस कथाका दुई प्रमुख पात्रहरू मनोहर महतो र घुरहु महतो उच्च सामाजिक प्रतिष्ठा भएका व्यक्ति हुन् । जमिनदार भए पनि सहयोगी भएकाले मनोहर सम्मानित छ भने न्यायप्रेमी भएकाले घुरहु सम्मानित छ । दुवै पात्रले गर्ने आत्मगौरवपूर्ण सम्मानको सङ्घर्षले यस कथालाई रोचक बनाएको छ । न्यायमूर्ति घुरहु र सहयोगी मनोहरमध्ये को बढी आदरणीय हो भन्ने द्विविधामा परेका गाउँलेहरू र त्यहाँका निम्न वर्गीय नेपाली जनजीवनका सामाजिक समस्यालाई लिएर यो कथा तयार पारिएको देखिन्छ । यस विषयलाई प्रस्तुत गर्ने क्रममा समाख्याता कथाभन्दा बाहिर बसी सम्पूर्ण घटनाको द्रष्टाको रूपमा रहेर प्रस्तुत गरेको छ । कथामा  प्रयुक्त पात्र,  घटनाक्रम, समाख्याताको दृष्टिकोण तथा प्रभावको स्थितिलाई यहाँ समाख्यानशास्त्रको समाख्यानात्मक कालव्यवस्थाका आधारमा निरूपण गर्नु औचित्यपूर्ण रहेको छ ।

आख्यानको सैद्धान्तिक अवधारणाको व्याख्या गर्ने शास्त्रलाई समाख्यानशास्त्र (न्यारेटोलोजी) भनिन्छ । यो कथा वा पाठ प्रस्तुतिको ढाँचा हो । यसले आख्यानको विन्यासक्रम एवम् कथावाचन कलाको अध्ययन गर्दछ । यसले कथाकथनभित्र वाचक, स्रोता, विषय, ठाउँ, संरचना आदि के कुरा कोमार्पmत कसरी आएको छ भन्ने कुराको खोजी गर्दछ । यसरी यसमा आख्यानात्मक संरचना, आख्यानको प्रकार्य तथा सम्बन्धको निरूपण कसरी भएको छ भन्ने कुराको व्याख्या गरिन्छ । यसमा कथा मुख्य केन्द्रका रूपमा रहेको हुन्छ ।

२. उद्देश्य

शीर्षक केन्द्रित समस्यामा केन्द्रित भएर त्यसको पठन र विश्लेषण गरेर प्रामाणिक  एवम् प्राज्ञिक समाधान पहिल्याउनु नै प्रस्तुत अध्ययन पत्रको उद्देश्य हो । यहाँहारजित कथामा प्रयुक्त समाख्यानात्मक कालव्यवस्थाको निरूपण गर्नु मूल उद्देश्य रहेको छ ।

४.पूर्वकार्यको समीक्षा

हारजित कथाको अध्ययन साहित्यका अन्य विविध कोण, आयाम तथा पद्धतिबाट भएको पाइए तापनि समाख्याशास्त्रीय मान्यताअन्तर्गत समाख्यानात्मक कालव्यवस्थाका आधारमा भएको देखिँदैन । यहाँ समाख्याशास्त्रीय उल्लिखित मान्यताका आधारमा मात्र प्रस्तुत कथाको विश्लेषण गरिएको छ ।

८.सैद्धान्तिक पर्याधार

समाख्यानशास्त्रका विविध आधार र उपकरणहरू आख्यानात्मक सम्प्रेषण, समाख्याताको स्वरूप र पहिचान, फोकलाइजेसन, कथनीयता आदिमध्ये यहाँ समाख्यानात्मक कालव्यवस्थासम्बन्धी सैद्धान्तिक अवधारणालाई सङ्क्षेपमा प्रस्तुत गरिएको छः

८.२समाख्यानात्मक कालव्यवस्था

आख्यानमा प्रयुक्त काललाई समाख्यानात्माक काल (न्यारेटिभ टेन्स) भनिन्छ । समाख्यानात्मक काल कथाको समय विश्लेषणसँग सम्बद्ध छ । समय विश्लेषण तीन प्रश्नमा आधारित हुन्छ ः १. आख्यानमा प्रस्तुत कार्य वा घटित घटना कहिले भएको हो ? २. उक्त कार्य वा घटित घटना कति समयसम्म भएको हो ?३. उक्त कार्य वा घटित घटना कति पल्ट भएको हो ? यसमा कहिले भन्ने प्रश्न समाख्यानको समयक्रमसँग सम्बद्ध हुन्छ । कति समयसम्म भन्ने प्रश्न समाख्यानको समयावधिसँग सम्बद्ध हुन्छ र कतिपल्ट भन्ने प्रश्न समाख्यानको कार्य वा घटनाको आवृत्तिसँग सम्बद्ध हुन्छ । आख्यानमा समयको सन्दर्भबिन्दु, घटना वा कार्यको अवधि र तिनको आवृत्ति महŒवपूर्ण हुन्छन् । यी सबै कुराको अभिव्यक्ति समाख्यानात्मक कालअन्तर्गत पर्दछन् । कथामा घटनाको प्राकृतिक क्रमको अनुसरण हुन पनि सक्छ र नहुन पनि सक्छ । प्राकृतिक क्रमको अनुसरण भएको छ भने यसमा अनुक्रम सम्बन्ध रहन्छ । प्रायः परम्परित कथामा प्राकृतिक समयक्रमको अनुसरण भएको हुन्छ भने प्रयोगवादी कथाहरूमा समयक्रम भङ्ग भएको पाइन्छ (गौतम, २०६९ ः ४१) । समाख्याताको कालिक चयनको विषय समाख्यानात्मक काल हो । समाख्याताले पाठक तथा स्रोतालाई केन्द्र मानेर समाख्यानात्मक कालको चयन गरेको हुन्छ । उसले के भयो, भएको थियो वा हुँदै थियो भनेर, के छ, भएको छ वा हुँदैछ भनेर र के हुन्छ वा हुनेछ भनेर पनि प्रस्तुत गर्न सक्छ । यसर्थ समाख्यानात्मक काललाई लेखकबाट गरिने समय व्यवस्थापनको विषय मानिन्छ । समाख्यानात्मक काल समाख्यानात्मक भूत र समाख्यानात्मक अभूत (वर्तमान÷भविष्यत्) गरी दुई वटा छन् । कुनै कथामा भएका घटनाको प्रस्तुतिगत काल समाख्यानात्मक कालसँग सम्बद्ध हुन्छ । प्रायः कथामा समाख्यानात्मक काल स्थिर हुन्छ । घटनाबोधक वाक्यको क्रिया भूतकालमा छ भने समाख्यानात्मक भूत र अभूतकालमा छ भने समाख्यानात्मक अभूत काल हुन्छ (गौतम, २०६९ ः ४२ ) ।

यसप्रकार समाख्यानाशास्त्रमा कालव्यवस्थाले आख्यानात्मक काललाई बुझाउँछ र यो कथनावधि, आख्यानमा प्रस्तुत भएको समय सन्दर्भ वा त्यसको अवधि, कथामा घटित भएका घटनाहरूको समयावधि र त्यो समयसँग सम्बन्धित हुन्छ । आख्यानमा काल व्यवस्थापनको जिम्मेवारी पनि समाख्याता स्वयम्ले पाएको हुन्छ । कहिलेको कथा कति समयमा भन्ने, कुन घटना कति बेला घटित गराउने, कथा सरासर भन्ने वा रोकिँदै भन्ने, समयलाई सरल रेखामा बगाउने वा तलमाथि गर्ने आदि सबै कुराको व्यवस्थापन समाख्याताले नै गर्छ । उसले नै कस्तो स्थितिको प्रस्तुतिमा कुन काल वा कुन पक्षको प्रयोग गर्ने भन्ने कुराको निर्धारण गर्छ । यसरी घटनाको सान्दर्भिकताअनुसारको काल प्रयोगले कथालाई प्रभावकारी बनाउनमा पनि भूमिका खेल्छ । मूलतः कथाको अग्रभूमि निर्माण, पृष्ठभूमि निर्माण र परिवेश सृजनाका क्रममा आएको कालिक तथा पक्षगत संरचना र तिनको परिवर्तन नै कथाको समय विश्लेषणको केन्द्रीय आधार हो ।

यहाँ   प्रस्तुत   हारजितकथामा समाख्यानात्मक कालव्यवस्थाको विश्लेषण यसै सैद्धान्तिक पर्याधारमा आधारमा गरिएको छ ।

१०. हारजित कथामा समाख्यानात्मक कालव्यवस्था

आख्यानका सन्दर्भमा काल भन्नाले कथाले ओगटेको कालावधि ९त्ष्mभ० र समाख्याताले प्रयोग गर्ने व्याकरणिक काल ९त्भलकभ० र पक्षविशेषको प्रस्तुति योजना बुझिन्छ । समाख्यानात्मक कालको प्रस्तुति योजनामा घटना जुन कालमा घटेको भए पनि त्यसलाई समाख्याताले समाख्यानात्मक भूत र अभूत दुवै काल र पक्षविशेषमा प्रस्तुत गरेको हुन्छ । हारजित कथाको समाख्यानका लागि करिब ४० मिनेटको समय लाग्ने देखिन्छ भने कथाभित्र आएका घटना÷प्रसङ्गहरू एक महिना ३ दिनको रहेको देखिन्छ । कथाभित्र आएको खास समयभन्दा अतिरिक्त घटनाहरूको पृष्ठभमि वा स्थिति वर्णनका क्रममा आएका परिवेश वर्णन, घटना वर्णन र पात्रको मनस्थिति वर्णनसमेतले ओगटेको समय ३३ दिनको रहेको हो । यस कथामा समाख्यानात्मक भूत कालको प्रयोग भएको देखिन्छ । समाख्याताद्वारा कथाको गतिवर्णन तथा अग्रभूमि निर्माण र परिवेश वर्णनमा समाख्यानात्माक भूत र पात्रको संवादका क्रममा भने समाख्यानात्मक अभूतको प्रयोग भएको देखिन्छ । जसका कारण कथामा वर्तमान, भूत र भविष्यत् कालको प्रयोग भएको छ । यसमा कथाका पात्रको संवाद तथा तात्कालिक घटनाहरूको वर्णन गर्ने सन्दर्भमा वर्तमान काल र समाख्याताले घटना, पात्र, परिवेश आदिका सन्दर्भहरूको वर्णन गर्ने सन्दर्भमा भूतकालको प्रयोग भएको देखिन्छ । यस कथामा कथाको घटनाक्रम र समाख्याताको वर्णन क्रमशः ३५ प्रतिशत र ६५ प्रतिशत जसो भागमा विन्यस्त भएको देखिन्छ । समाख्याताले कथाको कथन गर्ने सन्दर्भ, घटना, स्थिति तथा पात्रहरूका भावना आवेग, संवेग, अनुभूति तथा जीवन दर्शनको अभिव्यक्ति गरेको छ । कथाको क्रमलाई अगाडि बढाउन विभिन्न वाक्य, समाख्याताको कथन तथा पात्रहरूका बीचको संवादहरूको यहाँ प्रयोग भएको पाइन्छ । “गोटिहवा गाउँको पूर्व–दक्षिण कुनाको ठूलो पोखरीमा अस्ताउन लागेको सूर्यबिम्ब परी पोखरीको पानी नै रातो भइरहेको थियो (पृ. ४६) भन्ने प्रसङ्गबाट समाख्यात्मक भूतकालबाट कथाको प्रारम्भ भएको देखिन्छ । त्यस्तै कथामा“यसरी रतियाको बिदाइ भयो, अलगुवाले पनि सोनवालाई आप्mनै घरमा अब राखी नै रहने कुराको पनि टुङ्गो लाग्यो” (पृ. ६१) भन्ने सन्दर्भबाट पनि समाख्यानात्मक भूतकालमै कथाको समापन भएको देखिन्छ । कथाका विभिन्न घटना, अवस्था तथा पात्रको मनोदशाको वर्णनका क्रममा समाख्यानात्मक अभूतकाल (वर्तमान र भविष्यत्) का क्रियापदहरू प्रयोग भए तापनि यहाँ समाख्याताले आपूmले पहिले नै देखिसकेको घटनालाई समाख्यानात्मक भूतकालका क्रियापदबाट प्रस्तुत गरेको छ । समाख्यातासमाख्यानका घटनासँग संलग्न छैन ।हारजित कथामा समाख्यानात्मक भूतकालका विविध स्थितिहरूलाई यसप्रकार केलाइएको छ ः

गोटिहवा गाउँको पूर्व–दक्षिण कुनाको ठूलो पोखरीमा अस्ताउन लागेको सूर्यबिम्ब परी पोखरीको पानी नै रातो भइरहेको थियो । गाउँका गाईगोरु, भैंसी, बाख्रा वस्तुहरू त्यस गाउँको दक्षिण शिवपुरा गाउँको माझमा पसारिएको गौचरमा चरी साँझ आप्mनाआप्mना गोठतिर लाग्दा त्यसै पोखरीमा पानी खान लागेका थिए । तिनीहरूका लाम्चालाम्चा छाया पाखेरीको पानीमा विस्तारै हल्लिरहेका थिए । घुरहु महतो त्यतैतिर भएको आप्mनो जौ चना बाली हेरी फर्कंदा पोखरीको डिलमा के पुगेका थिए कुन्नि कताबाट आएर अलगुवाले उनको खुट्टा नै छाँदी रुँदै कराउन लाग्यो– “महतो काका तपाईं छँदै अब गाउँ छोड्नुप¥यो, बसिसक्नु भएन । काका, खपी सक्नु भएन ।” (पृ. ४६)

यसमा सूर्यबिम्ब परी पोखरीको पानी रातो हुनु, गाईवस्तुले पोखरीको पानी खानु, तिनीहरूका छाया पानीमा हल्लिरहेका हुनु, घुरहु चनावाली हेरेर फर्कनु समाख्यानात्मक क्रम (न्यारेटिभ सिक्वेन्स) हुन् । कथाकारले समाख्यानात्मक क्रमलाई अग्रभूमिका रूपमा प्रस्तुत गरेका छन् जसको वर्णन पूर्ण भूतकालमा गरिएको छ (भइरहेको थियो, खान लागेका थिए, हल्लिरहेका थिए, पुगेका थिए) । यिनको प्रस्तुति परिवेश वर्णनका रूपमा भएको छ । यहाँ प्रयुक्त स्थितिसूचक क्रियापदले वातावरणको चित्रात्मक प्रस्तुतिमा प्रभाव थपेका छन् । अलगुवा आएर घुरहुको खुट्टामा छाँद हालेर रुनु, कराउनु, अब गाउँमा बसिसक्नु भएन भन्नु, खपी सक्नु भएन भन्नु चाहिँ पात्रका स्थिति र मनोदशा वर्णनसँग सम्बद्ध विषय हुन् । यसमा समाख्याताले चयन गरेको न्यारेटिभ पास्टले स्थितिलाई प्रभावकारी बनाएको देखिन्छ । यसरी यसमा समाख्यानात्मक भूत (पूर्ण भूत र सामान्य भूत) कालीन क्रियापदको प्रयोगबाट कथाको स्थिति वर्णन, पात्रको मनोदशा, परिवेशको प्रस्तुति र कथाको पृष्ठभूमि निर्माणमा सशक्तता थपेको पाइन्छ ।

एकछिन संलग्नतापूर्वक सबै होरहा खान व्यस्त भए । यतिन्जेल उतराहेको छोराले मनोहर कहाँबाट उनको हुक्का उठाएर ल्यायो र देख्नासाथ बदरिया घुरहुकहाँ पनि हुक्का लिन दगु¥यो । होरहा सिद्धिएपछि सबैले रस पिए, गिलासहरू बटुलिए, अनि तमाखु चल्यो । एकाएक उपस्थित मण्डलीमा एउटा मौन हलचलले उकुसमुकुस गरेको प्रस्टै लक्ष्य गरियो । कुरा के थियो भने कुन्नि कताबाट अलगुवा आएर बरन्डाको कुनामा उभिदियो र एकछिनपछि तयफवा पनि आइपुगेर उत्तर कुनामा भुँइमा नै बसी । (पृ. ५४)

प्रस्तुत कथांशमा सबै होरहा खान व्यस्त हुनु, हुक्का ल्याउनु, हुक्का लिन दगुर्नु, सबैले रस पिउनु, गिलासहरू बटुलिनु, तमाखु चल्नु, वातावरण उकुसमुसुक हुनु, अलगुवा आउनु, बरन्डाको कुनामा उभिनु, तयफवा आउनु, भुँइमा बस्नु जस्ता पात्रका घटना, कार्य, स्थिति र अवस्थालाई सामान्य भूतकालीन क्रियापदमार्पmत प्रस्तुत गरिएको छ । यहाँ कथाकारले स्थिति वर्णनमा पनि भूतकालको प्रयोग गरेको देखिन्छ । यहाँ वस्तुस्थिति र कार्यको गतिविधिमा क्रमिक रूपमा विस्तार र विकास भएको सूचनाका लागि सामान्य भूतकालीन संरचनाको प्रयोग भएको हो । नेपालीमा सामान्य भूतकालले बितेको समयमा भएका कार्यको गतिमाथि प्रकाश पार्दछ जस्तैः भए, ल्यायो, दगु¥यो, चल्यो आदि ।

प्रश्न निर्णायक थियो र यसले गाउँलेहरूमा मर्यादाबोध यसरी जाग्रत भएर आयो कि उसबखत एकछिनलाई तात्कालिक रूपमा मनोहरको गाउँमाथिको महाजनी प्रभाव कुन्नि कता लोप भएर गयो । मनोहर पनि हच्क्यो नै ! तर उसको स्पर्धाले टेवा दियो, उसले पनि चारैतिर नजर घुमायो, धेरैजसो उसका खुतका नै थिए र व्यावहारिक जीवनमा उसैमाथि आश्रित ! (पृ. ५७)

यस साक्ष्यमा घुरहु र मनोहरको प्रतिद्वन्द्वितामा मनोहरको मानसिक अवस्थालाई थियो, भएर आयो, भएर गयो, हच्क्यो, थिए जस्ता भूतकालिक क्रियापदले सटिक रूपमा वर्णन गरेको देखिन्छ ।

हारजित  कथा समग्र  रूपमा समाख्यानात्मक भूतकालमा प्रस्तुत भएको भए तापनि यस कथामा पात्रका संवाद, घटना तथा स्थिति वर्णनसँग सम्बद्ध अन्य सन्दर्भहरू भने समाख्यानात्मक अभूत

(वर्तमान र भविष्यत्) काल र तिनका विविध पक्षविशेषमा पनि प्रस्तुत गरिएको देखिन्छ । पात्रका संवाद, मनोदशा, मनस्थिति, अवस्था तथा घटना र स्थिति वर्णनका क्रममा आएका केही सन्दर्भहरूलाई साक्ष्यका रूपमा यसरी उल्लेख गरिएको छ ः

हो, थाहा मैले पनि पाएको छु, … तर अलगू, तेरो छोराको पनि कम्ती दोष छैन है ! स्वास्नीलाई आप्mनै करबलमा राख्नु पर्छ । (पृ. ४६)

यसमा थाहा पाएको छु, दोष छैन, राख्नुपर्छ जस्ता अभूतकालीन (वर्तमान कालीन) क्रियापदको प्रयोगबाट अलगुवा र घुरहुको मनोदशाको उद्घाटन भएको छ । यसरी यहाँ पात्रको संवादमा वर्तमानकालीन क्रियापदको प्रयोग भएको देखिन्छ ।

जुन सोनवा तपाई कहाँ बसिछ, त्यो मजदुरी गर्न आएकी होइन, पोइसँग झगडा गरी आएकी हो । झगडा रोजिन्दै सबैकहाँ हुन्छ, छोरीबुहारी रिसाएर एकछिनका लागि घर छोड्ने धम्की देखाउँछन्, तर गाउँको चलन यही हो कि रिसाएर आएकीलाई सम्झाईबुझाई उसको घरमा लगी हपारी फटकारी सुम्पन्छन् । यो मान–मर्यादाको कुरा हो । दुवै पक्षको बडप्पन र भलापन यसैमा बाँच्छ, फस्टाउँछ । (पृ. ५४)

प्रस्तुत साक्ष्यमा बसिछ, आएकी होइन, हो, हुन्छ, देखाउँछन्, सुम्पन्छन्, हो, बाँच्छ, फस्टाउँछ जस्ता वर्तमान कालका क्रियापदको प्रयोगबाट सानेवा फिर्ता गरिदिन घुरहुले मनोहरसँग गरेको आग्रह प्रस्तुत भएको छ । यहाँ घुरहुको मनस्थितिलाई संवादमार्पmत उक्त क्रियापदहरूले अझ सशक्तता थपेको देखिन्छ । यस कथांशमा वस्तुस्थिति र कार्यको गतिविधिमा क्रमिक रूपमा संवादको विस्तार र विकास वर्तमानकालीन संरचनाको प्रयोगबाट भएको छ ।

…अन्न संगालिएन भने विचरा भोकै मर्नेछ । (पृ. ५५)

… अलगुवाको आप्mनै खेत काट्नुपर्नेछ । (पृ. ५६)

… भुसाकुटीमा मिसाउन चनाको भुस प्रशस्त हुनेछ । (पृ. ५३)

… यसलाई सम्धीकहाँ बिदा गरी पठाउनेछु । (पृ. ५६)

यहाँ प्रयुक्त साक्ष्यमा पात्रहरूका संवादका क्रममा मर्नेछ, पर्नेछ, हुनेछ, पठाउनेछु जस्ता भविष्यत्कालीन क्रियापदबाट पात्रका मनस्थिति र घटनाक्रमलाई प्रस्तुत गरिएको छ । यसरी कथाको विकास र विस्तार तथा घटना र अवस्था वर्णनमा भूतकालीन क्रियापदकै प्रयोग भए तापनि पात्रका क्रियाकलापमा अभूतकालीन क्रियापदको पनि प्रयोग भएको माथिका कथांशबाट प्रस्ट हुन्छ ।

११. निष्कर्ष

परकथानात्मक समाख्यान रहेको हारजित कथामा समाख्याताले कथा संसार र पात्रका विचार बारेमा थाहा पाएको छ । उसले पात्रका कार्यको टिप्पणी गर्दै पात्रका विषयमा पनि र कार्यको विस्तृतिको पनि नियन्त्रण गरेको देखिन्छ । गाउँका दुई प्रतिष्ठित तर बेग्लै चरित्रका व्यक्तित्व घुरहु, मनोहरको चारित्रिक अवस्थाको टिप्पणी तथा अन्य पात्रहरू अलगुवा, सोनवा, तयफवा आदिका बारेमा पनि यहाँ समाख्याताले जानकारी गराएको छ । समाख्यानात्मक कालव्यवस्थाका दृष्टिले हेर्दा पूर्वघटित घटनाहरूको समाख्यानमा समाख्यानात्मक भूतकाल र स्थिति वर्णन, पात्रका भावना, अनुभूति र मनोदशाको वर्णनमा समाख्यानात्मक अभूत (वर्तमान र भविष्यत्) कालको प्रयोग भएको देखिन्छ । समाख्याताले आपूmले पहिले नै देखिसकेको घटनालाई भूतकालिक क्रियापदमार्पmत सम्बोधितलाई सुनाइरहेको हुनाले यसमा समाख्यानात्मक भूतकालको प्रयोग भएको पाइन्छ ।

सन्दर्भ सामग्री सूची

गौतम, देवीप्रसाद, ‘समाख्यानात्मक वाच्यत्व’, प्राज्ञिक संसार, १÷५,२०७०, पृ. १–८ ।

………, ‘आख्यानमा समाख्याता’,वाङ्मय, १५÷१५,२०७१, पृ. १–१७ ।

………, ‘आख्यानमा कालव्यवस्था’, काठमाडौँ ः त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, दर्शनाचार्य तहको कार्यक्रममा प्रस्तुत कार्यपत्र, २०७२ ।

भिक्षु, भवानी (२०१७), मैयाँ साहेब, काठमाडौँ : साझा प्रकाशन ।á

पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार, काठमाडौँ

मो. ९८४३१७८१२८

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments